नेपालखबर अब तपाईंसँग

काठमाडौँबाट भर्खरै नेपालखबर अनलाइन पत्रिका शुभारम्भ भएको छ। केही वर्षदेखिको योजना र छ–सात महिनाको तयारीपछि हामीले सञ्चारको अत्याधुनिक माध्यमका रूपमा उदाएको डिजिटल पत्रिका सुरु गरेका हौँ। स्मार्टफोन र इन्टरनेटमार्फत् अब नेपालखबर डट कम सधैँ तपाईंको हातमा हुनेछ।

हामी सोसल मिडियाको युगमा छौँ र सञ्चार माध्यममा अहिले धेरै विविधता छ। इन्टरनेटको व्यापकतासँगै विश्वभर अनलाइन नयाँ सञ्चार माध्यमका रूपमा उदाएको छ। केही गैरआवासीय नेपाली व्यवसायी सहितको पहलमा सुरु भएको नेपालखबर व्यावसायिक पत्रकारहरूको टिमले सञ्चालन गर्नेछ। यसलाई विश्वभर रहेका नेपालीबीच डिजिटल संवाद फोरमका रूपमा स्थापित गर्ने हाम्रो प्रयास हुनेछ। स्वदेश र विदेशमा रहेका नेपालीलाई जोड्न नेपालखबरले पुलको काम गर्नेछ।

सत्य–तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा हामी कसैसँग सम्झौता गर्ने छैनौँ । राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति नेपालखबर सधैँ प्रतिबद्ध रहनेछ। पाठकका आलोचनात्मक प्रतिक्रिया र सुझावले हामीलाई सन्तुलित र व्यावसायिक रूपमा अगाडि बढ्न दिशानिर्देश गरिरहने विश्वास लिएका छौँ।

विगतमा सत्तापक्ष र विद्रोही पक्ष रहेका राजनीतिक दललाई नयाँ संविधानले एजेन्डागत रूपमा निकट ल्याएको छ। असन्तुष्ट पक्षसँग संवादमार्फत् संविधान संशोधन तथा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न भएपछि राजनीतिक परिवर्तनको एउटा अध्याय पूरा हुनेछ । त्यससँगै मुलुक पुनर्निर्माण, नवनिर्माण र गुणात्मक आर्थिक परिवर्तनतिर अग्रसर हुने विश्वास लिन सकिन्छ।

राजनीतिक दलहरूलाई हामी तिनले बोकेका एजेन्डा तथा गुण र दोषका आधारमा मूल्याङ्कन गर्नेछौँ। सरकारसहित राष्ट्रका महत्वपूर्ण अङ्ग, संस्था र पात्रका हरेक कामलाई नागरिकको आँखाबाट हेर्ने नेपालखबरको मान्यता हुनेछ।

हामी आफूले देखेका विषय निर्भीकतासाथ पाठक, श्रोता र दर्शक समक्ष राख्ने छौँ। व्यावसायिक रूपमा अगाडि बढ्ने क्रममा नेपालखबरले आफ्नो दायरा र गुणस्तर बढाउँदै थप संस्करणहरू समेत ल्याउने लक्ष्य राखेको छ।

नयाँ खबर र विश्लेषणसहित नेपालखबर सधैँ तपाईसँगै हुनेछ।

 

प्रकाशित 2016-07-08 14:11:58