एउटा विद्यार्थी शिक्षक वा नेता बन्ने सपना किन देख्दैन?


Infocus


विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्मा

एउटा शिक्षकको मलामी जाँदै गर्दा सबैले प्रशंसै गरिरहेका हुन्छन्। तर राजनीतिज्ञकाे मृत्युपछि लाश घाटमा लाँदै गर्दा उसकाे त्यति सर्वप्रशंसा हुन सक्दैन। किन?

NIC ASIA

प्लस टु पढ्दै गरेको एउटा विद्यार्थीलाई तिमी भविष्यमा के बन्न चाहन्छौ भनेर सोध्दा उसले डाक्टर भन्छ, इञ्जिनियर भन्छ अथवा पाइलट भन्छ।

उसले एयर होस्टेस, बिजनेशम्यान, प्रोफेसर, साहित्यकार भन्न सक्छ। तर किन कुनै पनि विद्यार्थीले म भविष्यमा शिक्षक बन्न चाहन्छु भन्दैन? के शिक्षक बिनाको नेपाल अबको नेपाल हुन सक्छ? सवाल शिक्षकको मात्र छैन। किन एउटा विद्यार्थीले भविष्यमा राजनीतिज्ञ भन्छु भन्दैन। यो पनि आजको महत्वपूर्ण प्रश्न हो। के अबको नेपाल राजनीतिज्ञ बिनाको नेपाल हुनसक्छ? यी प्रश्नबारे तपाईं शिक्षकहरुले गम्भीर रुपममा मनन् गर्न जरुरी छ।

हामीजस्ता राजनीतिज्ञहरुले यो प्रश्नलाई नजरअन्दाज गरेको खण्डमा त्यसले गम्भीर परिणाम ल्याउने निश्चित छ। त्यसैले यो प्रश्नको जवाफ जरैसम्म पुगेर खोजिनुपर्छ। र यसको समाधान पनि जरैदेखि निकाल्नुपर्छ।

म विद्यालय शिक्षक कहिल्यै रहिन। तर ३२ वर्ष पढाएर जीवनको अन्तिम कालखण्डमा प्रधानाध्यापक भएर विदा भएकी आमालाई मैले नजिकबाट देखेकाे छु। उहाँकाे गृहस्थ जीवनसँगै हुर्किँदा मैले शिक्षकका कैयाैं अनुभूति अात्मसात गरेकाे छु। त्यसैले शिक्षकका व्यक्तिगत र सामाजिक जीवनमा रहेका अनुभूतिबारे म पूर्ण रुपमा जानकार छु। त्यही आधारमा म अाज तपाईंहरुलाई भन्दैछु, भविष्यमा शिक्षक बन्छु भन्दा श्रीमतीबाट किन उत्तर सकारात्मक आउँदैन? श्रीमती शिक्षक बन्छु भन्दा किन श्रीमानबाट उत्साह थपिँदैन? किन कुनै आमाबुवाले छोराछोरीलाई शिक्षक बनाउने सपना देख्नुहुन्न? हामीजस्ता राजनीतिकर्मीका स्कुल, कलेज पढ्दै गरेका छोराछोरीहरुले किन बाबाजस्तै राजनीतिमा लाग्छु भनेर भन्न सकिरहेका छैनन्? हाम्रा सम्मेलनहरुमा, महाधिवेशनहरुमा यी एजेण्डा नभए पनि हाम्रा मन, मस्तिष्कमा यी एजेण्डाहरु जानुपर्छ। यो स्थिति बदल्न शिक्षक एउटा निर्विकल्प राज्यको दूत नै हाे।

जसरी एउटा राजनीतिकर्मीले देशको वर्तमानलाई हाँकिरहेको छ। एउटा शिक्षकले देशको भविष्यलाई हुर्काइरहेको छ। तुलनात्मक रुपमा हेर्दा यी दुईवटै कुरा विशेष रुपमा महत्वपूर्ण छन्। आजको क्षण, अहिलेको क्षण राजनीतिज्ञको हातमा होला। तर भविष्य राजनीतिज्ञको हातमा छैन, भविष्य शिक्षकको हातमा छ। शिक्षकले राजनीतिज्ञतर्फ र राजनीतिज्ञले शिक्षकतर्फ फर्किएर प्रश्न गर्दा निश्चय नै हामीले साझा ढंगले सम्बोधन गर्ने यी विषयतर्फ स्मरण गर्नुपर्छ।

कहिले कहीँ म इलामका पुण्य गौतम सरलाई सम्झन्छु। उहाँले सुनाएको एउटा कथा मेरो सम्झन्छु। एकचोटी राजनीतिज्ञ र शिक्षक एकसाथ मृत्यु भएर स्वर्ग पुगेछन्। स्वर्गको ढोकामा पुग्नासाथ नगरा बजाएर, फुलमाला अबिर गरेर रथमा चढाएर नेतालाई लगिएछ। शिक्षक त त्यो हुलमा कतै हराए। बाजा बजेको छ, अप्सराहरु नाचेका छन्। वातावरण संगीतमय छ। पुष्पबृष्टि गरिएको छ। शिक्षकको मनमा लागेछ, नेतालाई त्यत्रो स्वागत मलाई किन केही छैन? नेपाल भन्ने देशमा पनि फूलमाला र अबिर नेताले पाउनुपर्ने, स्वर्गमा पनि उनैले पाउने भनेर शिक्षकलाई झोक चलेछ। अाक्राेशित उनी चित्रगुप्त कहाँ पुगेछन्।

'मबाट के गल्ती भयो महाराज ?' शिक्षकले चित्रगुप्तसँग प्रश्न राखेछन्।

'हेर, यो नेपालमा जतिपनि शिक्षक मरे प्रायः स्वर्गमै आउँछन्। नर्कमा कोही शिक्षक पनि जाँदैनन्। स्वर्गमा यति शिक्षक आइरहन्छन् कि तिनीहरु स्वागत गर्ने हो भने यहाँ अरु काम केही भ्याइँदैन। तर नेता यहाँ झुक्किएर मात्रै आइपुग्ने हुन्। धेरै उतै नर्कतिर जान्छन्। त्यसैले आएको बेलामा उनलाई प्रोत्साहन गरौं भनेर पुरस्कारस्वरुप स्वागत गरेको सन्देश दिनका यो व्यवस्थापन गरेको हो।'

मलाई यो कथाले बडो मन छोयो। मैले पनि स्मरण गरें, मेरी माताजीको मलामी झापा जिल्लाको निन्द नदीको किनारमा जाँदै गर्दा पक्कै पनि विद्यार्थीले सम्झिए होला। गुरुआमाले यसरी पढाउनुहुन्थ्यो भनेर स्मरण गरे होलान्। उहाँले यसरी सिकाउनुहुन्थ्यो भने होलान्। कुनै दिन मेरो लास पनि त्यही निन्दा नदीको किनारमा जाला। के मेरा मलामीहरुले मलाई त्यतिकै श्रद्धाले हेलान्? म कहिले कहीँ यसरी सोच्छु। एउटा शिक्षकको मलामी जाँदै गर्दा सबैले प्रशंसै गरिरहेका हुन्छन्। तर राजनीतिज्ञकाे मृत्युपछि लाश घाटमा लाँदै गर्दा उसकाे त्यति सर्वप्रशंसा हुन सक्दैन। किन? याे पक्ष निश्चय नै हामी बाचुञ्जेल गर्ने कर्मले तय गर्ने विषय हाे।

मैले धेरै ठाउँमा भन्ने गरेको छु, नेपाल देश दुईवटा छ। यो दुईवटा देश रहने कहिलेसम्म? दुईवटा नेपाल देशको दुरीलाई घटाउने कहिले? यो अलग कुरा हो कि मेचीदेखि महाकालीसम्म फैलिएको एउटा नेपाल छ। नेपालदेखि बाहिर पनि अर्को नेपाल छ। मेचीदेखि महाकालीसम्म फैलिएको नेपालसँग भुगोल र भावना दुवै छ। मेचीदेखि महाकालीसम्म फैलिएको नेपालबाहिर फैलिएको नेपाल ४० लाखको संख्यामा छ। त्योसँग भुगोल छैन केवल भावनामात्र छ। त्यो नेपालबाहिर फैलिएको अर्को नेपालको अहिले मैले कुरा गरेको होइन। मैले यही भुगोलभित्र रहेको दुईवटा नेपालको कुरा गरेको हो।

एउटा नेपाल बिहानको दश बज्दा घाँटीमा टाई झुण्ड्याउँछ, जुत्ता टलक्क टल्काउँछ, राम्रो ब्याग बोक्छ र स्कुल प्रस्थान गर्छ। अर्को नेपाल दिनको २ बजिसक्दा पनि होटलको टेबल पुछिरहेको हुन्छ। चियाको ग्लास उठाइरहेको हुन्छ। त्यो तपाईँ जान्नुहुन्छ, म जान्दछु– बालबालिकाहरुको दुईवटा नेपाल छ। किन कक्षा १ मा भर्ना भएका विद्यार्थीहरुको संख्या १२ कक्षामा उक्लिँदा २५, २६ वा २७ प्रतिशतमा सीमित हुन्छ? बाँकी ७५ प्रतिशत कहाँ गइरहेका छन्?

युवाहरुको पनि एउटा होइन दुईवटा नेपाल छ। एउटा नेपाल काठमाडौं वा बुटवल विराटनगर वा धनगढी कहीँ डनगिरी गरेर बसिरहेको छ। अर्को यहाँबाट धेरै टाढा कतार, साउदी वा मलेसियाको कुनै मजरामा भेडा चराएर ५० डिग्रीभन्दा बढीको तापक्रममा काम गर्दैछ। त्यो कुनबेला काठको बाकसमा भरिएर स्वदेश फिर्न पनि सक्छ।

हो हामीले गणतन्त्र ल्यायौं, संविधान बनायौं र संविधान कार्यान्वयन गर्यौं। तर तपाईँको कक्षाकोठामा आइसकेपछि पढाई पूरा नगर्दै किन विद्यार्थी विदा भएर मलेसिया र कतारतिर लागिरहेछन्? नौडाँडापारी गएर बसेको त्यो नेपालको सन्दर्भमा के राज्यले कुनै दृष्टिकोण बनाउनु पर्दैन? अब देशको सफलताको एउटा मानक बनाउनै पर्छ। त्यो मानकको निर्धारण लाखौं सपना छोडेर जीवनका अनेकौं संघर्ष झेल्दै विदेशी भूमिमा पसिना बगाउन जाने युवा हेरेर तय गरिनुपर्छ। आगामी दशवर्ष भित्रमा यो प्रतिशत कति घट्छ? यो एउटा महत्वपूर्ण सवाल हो। यो देशको सफलता वा असफलताको मानक पनि त्यही नै हो।

कुण्ठा भर्ने काम नगराैं

गाउँमा धेरै आमाबुवाहरु आँगन वा अँगेनाको डिलमा बसेर नाति नातिनासँग भन्नुहुन्छ, यो जिन्दगीमा मैले त केही गर्न सकिन बाबु तिमीहरुले गर्छौ भन्ने आशा राखेर मृत्यु पर्खिरहेछु। हाम्रा बुवाआमामा किन यस्तो कुण्ठा? उहाँहरुको के कुरा शिक्षक, राजनीतिज्ञ, आम नेपालीमा कुण्ठाले जरा गाड्दै गएको छ। सामान्य नागरिकको कुरा छाडौं, मुलुकको मन्त्री, प्रधानमन्त्री भएका मान्छेसँग पनि त्यो कुण्ठा देखिन्छ।

आफूलाई असफल ठान्ने कुण्ठाको औषधि कहाँ प्राप्त गर्ने? अहिलेको नेपालमा यो सबैभन्दा यक्ष प्रश्न हो। र निश्चय नै कुण्ठाको उपचार स्कुलहरुबाटै प्राप्त हुने हो। शिक्षकबाटै आउने हो। जहाँ उभिएर जे कर्म गरिरहेका छौं त्यो कर्मप्रति इमानदारीपूर्वक योगदान गरिरहेका छौं भने विद्यार्थीलाई उज्यालो देखाउने कर्तव्य शिक्षककै हो। कुण्ठाको ठाउँमा उज्जवल भविष्य देखाउने काम शिक्षककै हो। तर बिडम्बना मैले कैयौं शिक्षक साथीहरु भेटेको छु जो आफैं कुण्ठाले ग्रसित छन्।

दशैँ वा अन्य कुनै औपचारिक, अनौपचारिक कार्यक्रममा जब एसएसली पढ्दाका साथी भेट हुन्छन्, बडा रोमाञ्चक लाग्छ। स्कूल पढ्दाका सखी भेट्दा सबैलाई रोमाञ्चक हुन्छ नै होला। त्यतिबेला तँ त मोटाइछस्, तँ अल्लि दुब्लो भइछस् जस्ता कुराहरु उठ्छन् नै। योसँगै अर्को एउटा विषय पनि उठ्छ। तँ के गर्दैछस् होउ, के छ उन्नति, प्रगती? दश जना एसएलसीका ब्याचमेट बसेर छलफल गर्दा कसैले भन्देला ‘यार म बिजनेस गर्दैछु।’ अर्कोले भन्ला, ‘राजनीति गर्दैछु, पार्टीको यस्तो जिम्मेवारीमा छु।’ डाक्टर हुनेले शानसँग म डाक्टर छु भन्ने नै भयो। एवं रितले शिक्षकलाई पनि यो प्रश्न सोधिने नै भयो। अनि शिक्षकले भन्छ–‘म त के गर्नु यार गाउँतिर एउटा स्कुलमा हल्लिराको छु।’ यो हाम्रो वास्तविकता हो, यो हाम्रो बिडम्बना हो। भगवानको प्रतिनिधि हो शिक्षक। देशलाई उज्यालो भविष्य देखाउने प्रतिनिधि हो शिक्षक।

एउटा स्कुलको जिम्मेवारी पूरा गर्नु सानो कुरा होइन। त्यो निक्कै ठूलो र जिम्मेवार कुरा हो। तपाईँहरु महान कर्म गरिरहनुभएको छ। तपाईँहरु प्रत्येकले भविष्यको नेपाललाई उर्जावान बनाउन लाग्नुभएको छ। तर, स्कुल हिँडिरहेको विद्यार्थी अथवा सडकमा हिँडिरहेको युवालाई कुण्ठा भर्ने कुरा, निराशा भर्ने कुरा, देश बन्दैन भन्ने कुरा त्यतिबेलासम्म रोकिने छैन जबसम्म शिक्षकले ‘यो देश बन्दैन’ भनेर भन्न छोड्दैन। हो, शिक्षकले यो देश बन्दैन भन्न छोडेको दिनदेखि देश बन्ने काउन्ट डाउन सुरु हुनेछ।

विद्यार्थीको मस्तिष्कमा निराशा, कुण्ठा हालिएका छन्। हरेकमा भएको निराशा र कुण्ठाका उपियाँलाई हटाउन पनि तपाईं गुरुहरुको महत्वपूर्ण भूमिका छ। एकताबद्ध प्रयासद्वारा हाम्रो दिमागमा हालिएका यी निरासाका उपियाँहरुलाई हटाउन जरुरी छ। त्यसमा तपाईँ शिक्षकहरुको भूमिका महत्वपूर्ण छ। अकाट्य छ।

(नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेस प्रवक्ता शर्माले दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित २७ फागुन २०७४, आइतबार | 2018-03-11 07:30:00
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...