टाढाबाट

निल्ने कि मिल्ने?





जीवन शर्मा जिन्दगीभर वामपन्थीको साँस्कृतिक भारी बोक्छन् ‘गधा’ झैं। कोमल वली घोडा बनेर दौडिन्छिन् उनका अघिल्तिर।

केही दिनअघि कुनै एउटा नेपाली टेलिभिजनमा राधाकृष्ण मैनालीको अन्तर्वार्ता हेरिरहेको थिएँ, जहाँ उनी वाम गठबन्धनको विश्लेषण गर्दै भनिरहेका थिए– निल्ने, कि मिल्ने?

गज्जबका दुई शब्द व्यक्त गरिरहेका थिए मैनाली– निल्ने कि मिल्ने।

नेपाली राजनीतिको चरित्र वर्णन गर्न, उल्लेखित दुई शब्द, शायद आजसम्मकै उत्कृष्ट शब्द हुन्, मेरो विचारमा।

ती दुई शब्दले नेपालका राजनीतिक दल र तिनका नेताको मात्र होइन, समग्रमा नेपाली समाज र व्यक्तिको पनि चरित्र चित्रण गर्छन्।

हुनत यो, समग्रमा विश्वव्यापी मानवीय चरित्र हो– सके निल्ने, नसके मिल्ने (मिल्ने शब्दले यहाँ सकारात्क अर्थ दिँदैन, यो स्वार्थसँग जोडिएको छ)। अर्थात जसरी पनि आफ्नो स्वार्थ पूरा गर्ने।

नेपालका सन्दर्भमा भने यो अलि बढ्तै छ।

नेपालमा कुनै राजनीतिक सिद्धान्त छ भने ‘निल्ने कि मिल्ने’ सिद्धान्त मात्रै छ। बाँकी सबै बकबास मात्रै हुन्। नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद होस् कि एमालेको जनताको बहुदलीय जनवाद। माओवादीको एक्काइसौं शताब्दीको जनवाद होस् वा उबेलाको नेपाली माटो सुहाउँदो पन्चायत। यी सबै बहाना मात्र हुन्।

एकचोटी फेरि म दोहोर्याएर भन्छु– यी सबै, बहाना मात्रै हुन्।

खासमा छ त, एउटै सिद्धान्त– कि निल्ने कि मिल्ने।

नेपाली इतिहासलाई एक पछि अर्को गर्दै हेर्ने हो भने यो बाहेक अरु केही देखिँदैन।

सात सालअघि, राणाशासन ‘निल्दै’ थियो, त्यसपछि ‘मिल्ने’ चरणमा प्रवेश गर्यो। पन्ध्र सालसम्मको अस्थिरता मिल्ने क्रममा भएको स्वार्थको टकराव थियो। पन्ध्र सालको निर्वाचन र नेपाली कांग्रेसको जित, राणा शासनको बचेखुचेको प्रभावलाई ‘निल्ने’ अन्तिम खुट्किलो थियो, जुन खुट्किलो पछि आफै सत्र सालमा सोत्राम भयो। र, पन्चायत आयो, जसले ‘निल्न’ खोज्यो दलहरुलाई। छयालिससम्म गरिएको दलहरुलाई ‘निल्ने’ पन्चायती प्रयास जनआन्दोलनपछि फेरि ‘मिल्ने’ चरणमा प्रवेश गर्यो। र, आयो सम्वैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्र।

सम्वैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्रलाई ‘निल्न’ उदायो– माओवादी। माओवादीले राजतन्त्रलाई निल्यो, तर बहुदलीय प्रजातन्त्रलाई ‘निल्न’ सकेन। फेरि राजनीति ‘मिल्ने’ चरणमा प्रवेश गर्यो।

यस बीचमा ‘मिल्ने र निल्ने’ अनेक प्रयासहरु भैरहे। कहिले को सँग को, कहिले को सँग को। सिद्धान्त र दर्शनहरु सबै हावा खाए। स्वार्थहरु हावी भए। अनुकुलताको खोजी र अभ्यास मात्रै भए। कहिले कांग्रेसले माओवादी वा एमालेलाई निल्न खोज्यो, कहिले तिनैसँग मिल्न खोज्यो। कहिले एमालेले माओवादीलाई निल्न खोज्यो र कांग्रेससँग मिल्न पुग्यो। कहिले माओवादीले एमालेलाई निल्न खोज्यो र कांग्रेससँग मिल्न पुग्यो।

अब यस्तो स्थिति आयो कि, एमाले र माओवादी मिलेर कांग्रेसलाई निल्न खोज्दैछन्– वाम गठबन्धनका नाममा। तर त्यहाँभित्र पनि कुरा उही छ। एमालेले माओवादीलाई निल्न खोज्दैछ कि माओवादी एमालेसँग मिल्न खोज्दैछ।

यो मिल्ने र निल्ने कसरत त्यहाँभित्र पनि जारी छ। निल्न खोज्नेले पनि आफ्नो स्वार्थ हेरेको छ र मिल्न खोज्नेले पनि आफ्नो स्वार्थ।

दलका नेताहरु त लोभी पुजारीजस्ता छन्, जो सुन भए ठिक नभए चाँदी, नभए तामा वा पित्तल भएपनि चल्छ भन्छन्। पुजारीको सिद्धान्त पुजा गर्ने र आफ्नो घर धन्दा चलाउने हो, तर ती सधैं धर्म र बिधिका कुरा गर्छन् र त्यसलाई परिस्थिति अनुसार व्याख्या गर्छन्। सिद्धान्त र मान्यतामा ती अडिग हुन्थे भने तिनले सुन चाहिने ठाउँमा सुन नै चाहिन्छ भन्थे, चाँदी वा पित्तलले हुँदै हुँदैन भन्थे। ती पुजारीहरु आफ्नो र जजमान दुवैको हैसियत हेर्छन् र, बिधि बिधान बनाइदिन्छन्। ठिक नेपालका राजनीतिक दलका नेताहरु जस्तै। यसैले मलाई नेपालका राजनीतिक दलका नेता र कर्मकाण्डीय पुजारीहरुबीच केही फरक लाग्दैन।

फेरि तेस्रो पटक दोहोर्याउँछु– सिद्धान्त र दर्शनका कुरा सबै बकबास हुन्।

सिद्धान्त र दर्शनप्रति साँच्चिकै गहिरो लगाव हुन्थ्यो भने कहाँ माओवादी एमालेसँग मिल्न र एमाले माओवादीसँग मिल्न यति सजिलै तयार हुँदा हुन्। अहिले ती दुई पार्टीका नेताहरु कर्मकाण्डी पुजारीका जस्ता सुन भए सुन, नभए पित्तललेपनि काम चल्छ भन्नेजस्ता भाषा बोल्न थालेका छन्।

नेपालका राजनीतिक दल, तिनका कतिपय नेता र समाजका अन्य कतिपयका चरित्र र स्वभाव हेर्दा यस्तो लाग्छ– ती जता जे गर्न पनि तयार छन्।

कहिलेकाहीँ त यस्तो लाग्छ– नेपाली कांग्रेसको कुनै दोस्रो वा तेस्रो तहको नेतालाई एमालेले प्रधानमन्त्री बनाउँछु, मेरो पार्टीमा आउनुस् भन्यो भने ऊ पनि सरक्क एमालेमा जानेछ। र, नेपाली माटो सुहाउँदो एमालेको कुरा गर्न थाल्नेछ। नेपाली माटो सुहाउँदो भनेको कस्तो हो? यसबारे म अर्को पटक लेख्नेछु।

अहिलेलाई यति भनौं– नेपाली माटो, फरक फरक समयमा फरक फरक मान्छे र सोचसँग सुहाउँदो रहेछ।

माओवादी एमालेसँग मिल्दा पनि सुहाएकै छ। हृदयेश त्रिपाठी एमाले बन्दा पनि सुहाएकै छ। कोमल वली एमालेबाट राष्ट्रिय सभाको सांसद हुँदा पनि सुहाएकै छ।

बिचरा, न सुहाउने त जीवन शर्माहरुलाई हो। नसुहाउने त, राधा ज्ञवालीहरुलाई हो। बिचरा, नसुहाउने त देवी ज्ञवालीहरुलाई हो। नसुहाउने त, विश्वप्रकाश शर्मा र धनराज गुरुङहरुलाई हो। बिचरा यी, न ‘निल्न’ जान्दछन् न ‘मिल्न’ जान्दछन्।

जीवन शर्मा जिन्दगीभर वामपन्थीको साँस्कृतिक भारी बोक्छन् ‘गधा’ झैं। कोमल वली घोडा बनेर दौडिन्छिन् उनका अघिल्तिर।

भारतका प्रसिद्ध कथाकार प्रेमचन्दले कुनै कथामा गधाको सोझोपन र अती सहिष्णुताको वर्णन गर्दै लेखेका छन– ‘दुख सुख लाभ हानी, कुनै अवस्थामा पनि गधा बदलिएको देखिएको छैन। गधा कहिल्यै रिसाएको सुनिएको छैन। ऋषीमुनीमा जति गुण छन्, ती सबै गधामा छन्। र, पनि मान्छे उसलाई मुर्ख सम्झन्छ।’

हँ, साँच्ची त्यति सरल र त्यति दुख सहने प्राणी मानव समाजमा किन मुर्खता र बुद्धिहिनताको प्रतिक बनेको होला? 

किनकी गधाले प्रतिक्रिया जनाउँदैन। किनकी ऊ आक्रोश व्यक्त गर्दैन अरु जनावरहरु जस्तो। मालिकले जे जसो गराउँछ, ऊ लुरु लुरु त्यसै त्यसै गर्दै जान्छ। भारीले थिचिएर भुँइमा लतारिन्छ बरु, तर मालिकमाथि झोक देखाउँदैन।

हो, झोक देखाउन नजानेरै जीवन शर्माहरुलाई कोमल वलीहरुले पछारेका छन्। मान्यवरहरु, प्रष्ट भए हुन्छ– कहाँ यहाँ सिद्धान्तको खेल छ र?

प्रकाशित १५ माघ २०७४, सोमबार | 2018-01-29 07:33:25



प्रतिकृया दिनुहोस

Loading...
  • जनकपुरमा प्रम ओली र भारतीय समकक्षी मोदी

    मोदीको खेललाई म कसरी समयको खेल भनुँ?

    भारतका कीर्ति आजादहरुले जनकपुरलार्इ भारतमा गाभ्नुपर्छ भनिरहेकै दिन, जनकपुरमा त्यहाँका मुख्यमन्त्री भारतीय प्रधानमन्त्रीलाई आफ्ना दुखेसो पोखिरहेका...

  • समकक्षीलाई दिइएको सैनिक सम्मानमा मोदीसँगै प्रधानमन्त्री ओली

    ‘राष्ट्रवाद’ माथि भद्दा मजाकः राष्ट्रको अपमान

    हाम्रै देशको सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसलाई त नाकाबन्दी भन्नका लागि दुई वर्ष लाग्यो भने भारतले तात्तातै भनिहाल्छ भन्ने अपेक्षा कति पूरा...

  • जनकपुरमा मोदीको स्वागत

    मोदी भ्रमणको जनकपुर सन्देश

    जुन पार्टीका मन्त्रीले उतिबेला मोदीको जनकपुर भ्रमण नहोस् भन्ने चाहेका थिए, त्यही पार्टीको सरकार र मन्त्रीहरु मोदीको जनकपुर भ्रमण सफल गराउन खटिए।

  • चिनियाँ राष्ट्रपति सी (दायाँ), नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, सीता दाहाल र भारतीय प्रधानमन्त्री मोदी।

    भूराजनीतिक भुँवरीमा नेपाल

    अग्रजहरुले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको निर्माण र रक्षाका लागि लिएको अडान र गरेको योगदानलाई हामीले नेपाल–भारत सम्बन्धको मुख्य...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    २१ घण्टा विमानस्थल सञ्चालनका चुनौती

    हाल विमानस्थलमा १ सय १८ एयर ट्राफिक कन्ट्रोलरको आवस्यकता छ। तर, विमानस्थलसँग जम्मा ६७ मात्र छन्। एक सिफ्टमा कम्तीमा ३२ एयर ट्राफिक कन्ट्रोलर आवस्यक...

  • संघीय संसदको निर्वाचनमा सहभागी हुँदै मधेशी मतदाता

    नयाँ कोर्षमा मधेशी राजनीति

    अब मधेशी दलहरूको भूमिका फेरिएको छ। काठमाडौंसँग संघर्ष पनि गर्नु परेको छ भने जनकपुरमा शासनपनि। एउटै शक्तिलाई शासक र आन्दोलनकारी बन्न सजिलो हुनेछैन।

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।