फेसबुकका जुकरबर्गलाई अर्बौं डलरको प्रश्न


Infocus



अर्बौं डलरको प्रश्न छः के फेसबुकका दुई अर्बभन्दा बढी प्रयोगकर्ताको भलाइका लागि आफ्नो आम्दानीमा कटौती गर्न जुकरबर्ग इच्छुक छन्?

NIC ASIA

जब वैज्ञानिकहरुले चुरोट र क्यान्सरबीचको सम्बन्ध पत्ता लगाए, समग्र सूर्ती उद्योगले तिनको आवाज दबायो। दशकौँपछि मात्रै कानुनको दबाबमा उनीहरुले चुरोटको नोक्सानीलाई केही हदसम्म स्वीकार गरे। त्यसरी अनुसन्धानकर्ताको आवाज दबाउनुको सट्टा उनीहरुले अनुसन्धानको निष्कर्ष प्रकाशित गर्न दिएको भए अथवा ती अनुसन्धानका निष्कर्षहरुलाई महशुस गरेर चुरोटका लतीहरुको फाइदाका लागि आफ्नो पैसा कमाउने भाँडो बन्द गरेको भए के हुन्थ्यो होला, कल्पना गरौँ।

फेसबुकलाई क्यान्सरको कारक बनेको आरोप कसैले लगाएको छैन तर अहिले मार्क जुकरबर्ग त्यस्तै दोबाटोमा उभिएका छन्।

फेसबुकका लगानीकर्ता र पूर्व कार्यकारीहरुले सार्वजनिक रुपमै फेसबुक मनोवैज्ञानिक रुपले नसालु तथा लोकतन्त्रका लागि हानिकारक हुने बताउँदै आएका छन्। उनीहरुको यस्तो दबाबका बीच यसका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जुकरबर्गले फेसबुकका खराबीलाई ठीक गर्ने र यसमा बिताइएको समय सार्थक बनाउने वाचा गरेका छन्।

जुकरबर्गले आफ्ना लगानीकर्तालाई हालै आफ्नो कम्पनीले ‘अर्थपूर्ण सामाजिक अन्तरक्रियालाई प्रोत्साहित गर्ने’ र ‘समय बिताउनु मात्र यसको उद्देश्य नभएको’ बताए।

त्यसोभए अर्बौं डलरको प्रश्न छः के फेसबुकका दुई अर्बभन्दा बढी प्रयोगकर्ताको भलाइका लागि आफ्नो आम्दानीमा कटौती गर्न जुकरबर्ग इच्छुक छन्?

जुकरबर्गले पहिले नै झुठो समाचार र रुसी हस्तक्षेपलाई रोक्न थुप्रै ‘कन्टेन्ट मोडरेटर’ नियुक्त गर्ने बताइसकेका छन्। यसले पनि उनको नाफा घटाउनेछ। तर उनले प्रयोगकर्ताका मानसिक स्वास्थ्यका लागि फेसबुकको ‘अल्गोरिदम’ मा आधारभूत परिवर्तन गर्ने छन् कि छैनन्, त्यो चाहिँ बताएका छैनन्।

जुकरबर्गले कलेजमा हुँदा फेसबुकको सुरुवात गरेका थिए। यो कम्पनी अहिले यति धेरै परिवर्तन भइसकेको छ कि यसका जन्मदाताहरु नै फेसबुकको विश्वव्यापी शक्तिले सिर्जना गरेको यथार्थलाई भेट्टाउने प्रयास गरिरहेका छन्।

गत जुनमा जुकरबर्गले आफ्नो कम्पनीको अभियानलाई ‘संसारलाई जोड्दै’ बाट बदलेर ‘मिलेर संसारलाई नजिक्याउँदै’ बनाएका थिए। मानिसहरुलाई आवाज प्रदान गर्दा त्यसले संसारलाई राम्रो बनाउने आफूले ठान्ने गरेको तर अझै पनि समाज विभाजित रहेकोले झन् बढी काम गर्नुपर्ने जिम्मेवारी आफूहरुमा आइपरेको उनले बताएका थिए।

डिसेम्बरमा फेसबुकका अनुसन्धानकर्ताहरुले आफ्नै कम्पनीबारे सर्वेक्षण गरेका थिए। उनीहरुले प्रयोगकर्ताहरुबीच प्रत्यक्ष सम्पर्क र अन्तक्र्रिया हुँदा त्यसको सकारात्मक असर पर्ने तर अरुको पोस्ट मात्र हेर्दै स्क्रोल गरिरहने व्यक्तिहरुलाई यसले दुःखी बनाउने सार्वजनिक रुपमै बताएका थिए।

२०१७ को सुरुमा बेलायतको रोयल सोसाइटी फर पब्लिक हेल्थले १५०० युवाहरुलाई पाँच ओटा सबैभन्दा ठूला सामाजिक सञ्जालको मूल्यांकन गर्न भनेको थियो। सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा राम्रो वा नराम्रो कस्तो प्रभाव पार्छ पत्ता लगाउन यो अनुसन्धान गरिएको थियो। अध्ययनको नतिजाअनुसार पाँचमध्ये चार सामाजिक सञ्जालले प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएको छ। फेसबुक, ट्विटर, स्न्यापच्याट र फेसबुककै स्वामित्वमा रहेको इन्स्टाग्रामले सर्वेक्षणमा सहभागीहरुलाई नकारात्मक असर पारेको थियो। उनीहरुले आफ्नो जीवनलाई अरुको भन्दा विपरीत देखेका थिए। यो समस्यालाई सामाजिक तुलना भन्ने गरिन्छ। यसमा एकमात्र अपवाद युट्युब बनेको थियो। केही हदसम्म युट्युब एकबाट धेरैतर्फ सञ्चार हुने र व्यक्ति–व्यक्ति सम्पर्क कमेन्टमा मात्रै हुने भएकोले यसको नकारात्मक असर कम परेको हुनसक्छ।

तेल अभिभ युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अर्को अध्ययनमा पनि फेसबुकले मानिसहरुलाई आफ्नो जीवन अरुको जत्तिको नभएको महसुस गराउने निष्कर्ष निकालेको थियो। अझ रोचक कुरा त के छ भने यो असर कम उमेरका मानिसमा बढी देखा पर्छ र उमेर बढ्दै जाँदा हराउँदै जान्छ। ३० भन्दा माथिका व्यक्तिहरुमा लगभग यस्तो असर नपर्ने एक अनुसन्धानकर्ता ओहाद बार्जिले बताउँछन्।

साथीहरुमाझ हामी नहुँदा उनीहरुबीच रहेको सामाजिक सम्बन्धबाट हामी वञ्चित भएको महसुस गराएर पनि सामाजिक सञ्जालले हामीलाई दुःखी बनाउने ड्युक युनिभर्सिटीकी पिएचडी अध्ययनरत ज्याकलिन रिफ्किन बताउँछिन्। साथीहरुभन्दा बढी मजा लिइरहेको मानिसलाई समेत यस्तो प्रभाव पर्दछ।

तपाईं सामाजिक सञ्जाल कति प्रयोग गर्नुहुन्छ भन्ने कुरा यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्नेजति नै महत्वपूर्ण हुने अनुसन्धानहरुले सुझाएका छन्। यो कुरा मानिसले उपभोग गर्दै आएको इतिहासका हरेक कुरामा उत्तिकै सत्य हुन्छ। त्यसैले यो आश्चर्यजनक निष्कर्ष होइन।

‘मानौँ फेसबुक प्रयोगलाई सीमित गर्नु र सातामा एक पटक मात्रै हेर्नु उपयुक्त हुने अनुसन्धानको एउटा निष्कर्ष निस्कियो भने त्यसको व्यापारिक परिणाम के हुन्छ?’ २० वर्षभन्दा बढी अनलाइन समुदायको अध्ययन गरेका कार्नेगी मेलोन युनिभर्सिटीका प्राध्यापक रोबर्ट क्राउट भन्छन्। उनले फेसबुकका अनुसन्धानकर्ताहरुसँग पनि सहकार्य गरेका थिए।

यसको उत्तर हामी चाँडै थाहा पाउनेछौँ। हानिकारक रुपमा फेसबुक प्रयोग गर्ने तरिकाबाट हामीलाई रोक्ने शक्ति यो कम्पनीसँग छ। हामीलाई उसको उत्पादन र विज्ञापनमा ‘इन्गेज’ गराउन फेसबुकले हालसम्मकै अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिरहेको छ। प्रयोगकर्ताहरुलाई कुलतबाट रोक्न पनि यही शक्ति प्रयोग गर्न सकिने संकेत फेसबुकका सार्वजनिक अभिव्यक्तिमा देखिन्छ।

केही हदसम्म फेसबुकले आफ्नो सेवामा परिवर्तन पनि गरिसकेको छ, खासगरी न्युजफिड खण्डमा। उसको क्लिकबेट र झुठो समाचारलाई लुकाउने तथा प्रोमोट गरिएका साथीहरुको पोस्टलाई रोक्ने यो कदमले फेसबुकको ‘इन्गेजमेन्ट’ घटाउने कम्पनीका मुख्य अनुसन्धानकर्ताले नै जनाएका छन्।

अनुसन्धानहरुले हाम्रो मानसिक स्वास्थ्यका लागि राम्रो ठानिएको विषयहरुमा फेसबुकले अहिले सुधार गरिरहेको छ। प्रयोगकर्ताहरुले आफ्नो व्यक्तिगत जीवनका कुरा फेसबुकमा सेयर गर्ने क्रम घटिरहँदा यो कम्पनीले आफ्नो ‘ग्रुप फंक्सन’ मा जोडिन र त्यसलाई प्रयोग गर्न उक्साइरहेको छ। व्यक्ति–व्यक्ति सीधा सम्पर्क हुने मेसेन्जर एपमा अहिले फेसबुकले बढी विज्ञापन देखाउन थालेको छ।

फेसबुकले भनेजस्तै संसारलाई निकट ल्याउने उद्देश्यका साथ यसको निर्माण भएको छ। तर जुकरबर्गले सामना गर्नैपर्ने विडम्बना चाहिँ यही सम्पर्कको माध्यम हो। जसलाई कम्पनीले शिष्ट भाषामा ‘इन्गेजमेन्ट’ भन्छ भने अन्य विशेषज्ञले यसलाई ‘लत’ का रुपमा व्याख्या गर्छन्। यही ‘इन्गेजमेन्ट’ जुकरबर्गले निकै जोड दिएर भन्ने गरेको मानिसको उन्नतिका लागि हानिकारक देखिन्छ। यद्यपि विगतमा तिनका उत्पादनको नोक्सानीबारे कुरा गर्दा क्रुद्ध हुने सिइओहरुभन्दा अलग जुकरबर्ग त्यस्ता नोक्सानीहरुलाई स्वीकार गर्न बढी तयार देखिन्छन्।

फेसबुकले आफ्नो घोषित लक्ष्य पूरा गर्न सक्छ। अथवा, यो आर्थिक लोभमा झुक्न पनि सक्छ। सन् २०१७ को सुरुवाती ९ महिनामा मात्रै न्युज फिड अल्गोरिदमले कम्पनीको आयमा ४७ प्रतिशत वृद्धि गर्न सहयोग गरेको थियो।

(वाल स्ट्रिट जर्नलमा प्रकाशित आलेखको भावानुवाद) 

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 13:08:28
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...