रणनीतिक बहस छुट्यो, हामी मेस्सी भयौं





विश्वेश्वर प्रसाद कोइराला र पुष्पलाल श्रेष्ठहरुले वैचारिक बहस नचलाएको भए भुपाल राई, राजेन्द्र महर्जन र हामीहरु यसरी सोच्ने हुँदैनथ्यौं।

नेपाली समाजलाई अध्ययन गर्दै जाँदा चिन्तन परम्पराको आधारभूत पक्षहरुको विरोध गर्ने संस्कृति हामीकहाँ बढ्दै गएको मैले पाएँ। आलोचनात्मक चेतलाई परम्पराले नखप्ने, नमान्ने, बाउँठो कुरा गर्‍यो भन्ठान्ने, कुनै विषयमा प्रश्न उठायो भने यो बिग्रिएको मान्छे हो वा अराजक हो जस्तो ठान्ने। आधा भाग महिलालाई त बोल्नै नदिने, करिब चौथार्इ भाग दलितहरु र असाध्यै तल परेका जनजातिहरुलाई पढ्नै नदिने। बाह्र प्रतिशत मान्छेहरुले पढ्न पाउने, त्यसमध्ये महिला छ प्रतिशत घटाइसकेपछि छ प्रतिशत मात्र बाँकी रहने।

पढेका मान्छेहरु पनि अधिकांश पुरेत्याइँमा जाने। पुरेत्याइँमा त कुनै चिन्तन हुँदैन। जे तोकेको छ त्यही–त्यही गरिदिने हो। भन्नुको अर्थ एकदमै थोरै मान्छेले मात्रै चिन्तन गर्ने र नयाँ कुराका बारेमा सोच्ने प्रचलन रहेछ हाम्रो समाजमा।

तर पुष्पलाल श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइरालाहरुले नेपाली समाजको पुरानो चिन्तन परम्परालाई तोड्दै केही प्रगतिशील पूँजीवादको जग हाल्न थाले। कहिले लोकतान्त्रिक आन्दोलन, कहिले कम्युनिस्ट आन्दोलन भनेर नेपालमा विचारमा नयाँ ढंगले सोच्ने कुरा अगाडि बढ्यो र हामी अहिले गणतन्त्रको युगसम्म आइपुग्यौं। त्यही पुरानो परम्परालाई भत्काउन पुष्पलाल, विश्वेश्वरप्रसाद कोइराला लगायतका योद्धा, विचारक र चिन्तकहरुले समाजलाई अगाडि बढाउन खोजेको हुनाले नै हामी यहाँसम्म आइपुग्यौं।

अहिले हेर्दा के देखियो भने आजभन्दा पन्ध्र सोह्र वर्ष अगाडिदेखि नेपाली समाजमा राजनीति, साहित्य लगायत जीवनका विविध आयामहरुमा रणनीतिक बहसहरुको अन्त्य भएर केवल कार्यनीतिक प्रकारका बहसहरुमात्र चल्दै आएका छन्। पहिला बहस थियोः समाज परिवर्तनका लागि युद्ध चाहिन्छ कि चाहिँदैन? एउटाले चाहिँदैन भन्थ्यो, अर्कोले चाहिन्छ भन्थ्यो। तर नेपालमा कुनैबेला सुन्दरी प्रतियोगिताको विरोध हुन्थ्यो, सुन्दरी प्रतियोगिताको विरोधमा जाँदा मान्छेहरुका खुट्टा भाँचिन्थे भन्ने कुरा अहिलेका बीस–बाइसे युवायुवतीलाई कथाजस्तो लाग्छ। अथवा जीवनका विविध आयामहरुमा रणनीतिक बहस छुट्यो।

बितेका पन्ध्र वर्षको बहस फेसबुक कसरी चलाउने, ट्वीटर कसरी चलाउने, सलमान खान वा राजेश हमालको नायकत्व कस्तो छ भन्ने कुरामै अलमलिएछ। प्रचण्डको कोट वा केपी ओलीको टोपीको कुरा गर्ने। त्यो गर्न नहुने कुरा त थिएन तर बहस त्यसको वरिपरी मात्रै घुम्यो यो पन्ध्र वर्ष। जसका कारण अहिले २२ वर्षको युवालाई यो फेशन किन गरेको भनेर सोध्यो भने त्यसको जवाफ पाउन सकिन्न। साथीले पनि लगाउँछ त्यही भएर लगाएँ भन्छन्, त्यसभन्दा बढी छैन।

हामी केही लेखिरहेका छौं, कोही फिल्मकर्ममा छौं, कोही ललितकलामा छौं, कोही पत्रकारितामा छौं। त्यसो हुनाले अलि बढी सूचनाको बीचमा छौं तर पचासौं लाख युवाहरु जो यो पन्ध्र वर्षको बीचमा हुर्किए उनीहरुको दिमागमा जीवनका विविध रणनीतिक विषयमा उत्तरहरु छैनन्। एकदम भइपरी आउने कार्यनीतिक कुराहरु मात्र छन्। पर्यावरण ध्वस्त हुँदैछ, विश्व ध्वस्त हुँदैछ, युवाहरु उपभोक्तावादको लतमा धराशायी हुँदैछन् तर तिनका उत्तरका विषयमा यो पन्ध्र सोह्र वर्षमा छलफल हुनै सकेन।

यही पन्ध्र वर्षमा पार्टीका मुखपत्र बन्द भए। मुल्यांकन, युवाजस्ता पत्रिकाहरु यही पन्ध्र वर्षमा बन्द भए। यही बीचमा पारिजातहरुले सुरु गरेका अस्मिताजस्ता पत्रिकाहरु बन्द भए। बौद्धिक रुपले यो १५ वर्षमा जति योजनाबद्ध रुपमा रणनीतिक बहसमा युवापुस्तालाई लानुपर्थ्यो त्यो हुन सकेन।

०५८, ०५९ सालमा दश वर्ष रहेको व्यक्ति अहिले छब्बीस वर्षको भयो। त्यसबेला पन्ध्र वर्षको मान्छे अहिले तीस–एकतीस वर्षको भयो। यी पन्ध्र वर्ष उसका यस्ता वर्षहरू थिए, ब्राह्मण परिवारमा हुर्किएको युवती भए दलित युवकसँग प्रेम परे स्वीकार्न सक्ने उमेर थियो। कट्टर धार्मिक परिवारमा हुर्किएको मान्छेलाई मार्क्सवाद वा भौतिकवाद पढ्न मन लाग्ने उमेर थियो। १५–२५ वा २०–३५ वर्षको उमेर भावनात्मक रुपले अग्लाअग्ला पर्खालहरु नाघिदिने उमेर हुन्थ्यो। त्यस्तो उमेर समूहको नेपाली युवाले विगत पन्ध्र वर्षभरी जीवनको रणनीतिक विषयमा बहस गर्नै पाएनन्। उसको दिमागमा बजारले उपभोक्तावाद भर्दै गयो र अहिले हामीसामु निक्कै ठूलो वैचारिक खाडल परेको समाजको चित्र देखिन थाल्यो।

अर्कोतर्फ यी कार्यभार नागरिक समाजले पूरा नगर्दा पनि राजनीतिक पार्टीहरु तन्दुरुस्त भएको अवस्थामा उनीहरुले पूरा गर्थे। जब विश्वेश्वरप्रसाद कोइरालाहरु कांग्रेसको राजनीति अगाडि बढाइरहेका थिए, उनीहरुले वैचारिक कुरा गरिरहेका थिए। ठिक–बेठिक आ–आफ्ना कुरा हुन्। कसैले ठिक देख्ला कसैले बेठिक देख्ला। तर जीवनका आयामहरुमा उनीहरुले बहस चलाएका थिए। जब पुष्पलालहरु आए, कम्युनिस्ट पार्टीहरुमा बहस चल्थे, यसले जीवनका बारेमा युवाहरुलाई एउटा दिशातर्फ लगिरहेको हुन्थ्यो। त्यो बेठिक हुन सक्थ्यो होला, कसैलाई बेठिक लाग्न सक्थ्यो होला। तर कम्युनिस्ट पार्टीहरुले वैचारिक बहस चलाउँथे, कांग्रेस–लोकतान्त्रिक पार्टीहरुले वैचारिक बहस चलाउँथे। कमसेकम मेरो पुस्ताचाहिँ त्यही कारणले यहाँसम्म आइपुग्यो। विश्वेश्वर र पुष्पलालहरु हुँदैनथे भने भुपाल राई, राजेन्द्र महर्जन र हामीहरु यसरी सोच्ने हुँदैनथ्यौं।

यो १५ वर्षमा राजनीतिक पार्टीहरुले के गरे त? राजनीतिक पार्टीहरुले यो पन्ध्र वर्षमा मुलभूत रुपमा वैचारिक छलफलहरु चलाएनन्। आफ्ना मुखपत्र बन्द हुँदा पनि उनीहरुलाई केही वास्ता भएन। आफूले चलाउँदै आएका साप्ताहिक पत्रिकाहरु बन्द हुँदा पनि तिनलाई कुनै वास्ता भएन। रेडियो टेलिभिजनहरु सबै बजारको कब्जामा गयो। बजारले जे चाहन्छ, त्यही पस्कियो। अन्तर्वार्ता चाहन्छ अन्तर्वार्ता पस्कियो, अन्तर्वार्ता चाहँदैन अर्कै चीज पस्कियो। राजनीतिक दलहरुले यो पन्ध्र वर्षमा हुर्किएको पुस्तालाई ठिक ढंगले वैचारिक कुरा दिन सकेनन्। र अहिले विचारको कोणबाट आगामी नेपाली समाजको भविष्य हेर्दा निक्कै नै अन्धकारमय देखिन्छ। थोरै हामीहरु पढिरहेका छौं, लडिरहेका छौं तर सिंगो भीडको कुरा गर्ने हो भने पचासौं लाख युवाहरुले जीवनका आयाममाथि रणनीतिक बहस गर्ने अवसर पाएका छैनन्।

त्यो पुस्तासँग हामीले ठिक ढंगले संवाद स्थापना नगर्ने हो भने नेपाली समाज प्रगतिशिलतातर्फ उन्मुख हुनै सक्दैन। म कहाँबाट झस्किएँ भने पारिजातसम्बन्धी एउटा कार्यक्रम भइरहेको थियो। त्यहाँ १८–१९ वर्षकी एकजना पत्रकार बहिनी आएकी थिइन। उनले सोधिन, ‘पारिजात भनेको को हो?’

त्यो प्रश्न सुनिसकेपछि मेरो दिमागमा भुइँचालो गयो र मलाई महसुस भयो, यहाँ धेरै डरलाग्दो दुर्घटना हुँदैछ। पारिजात जसले नेपालको महिला आन्दोलनको वैचारिक बीज रोपिन, त्यो मानिसलाई आजको पुस्ताले चिन्दैन भनिसकेपछि हामी कता जाँदैछौं? फेसबुक चलाउने तर कसरी चलाउने? कसले भन्दिने? अहिले कोही पनि मुखले बोल्दैनन् तर हरेकका मोबाइलमा पोर्नोग्राफी छ। हामीमध्ये कोही त्यस्ता नहौंला अर्कै कुरा हो। यसबारे कसरी दृष्टिकोण बनाउने? हिजो पितृसत्ताले महिलाहरुमाथि दमन गर्न भनेर जुन सिद्धान्त बनाएको थियो त्यसको सबैभन्दा बढी अनुकरण अहिले पोर्नोग्राफीमा भइरहेको छ। मानिसहरु हातहातमा त्यो लिएर हिँडिरहेका छन् र महिलाहरुमाथि दमन गर्ने नयाँ प्रकारका युवाहरु जन्मिरहेका छन्, जन्माइएका छन्। त्यसबारे बहस कसले गर्ने? पाठ्यक्रमहरु मौन छन्, विश्वविद्यालयहरु मौन छन्। उनीहरु औपचारिकतामा बसिरहेका छन् र केही सूचनाहरु बाँडिरहेका छन्। उनीहरु जीवनका विविध गम्भीर आयामहरुमा बहस गरिरहेका छैनन्।

अब युवाहरुको ठूलो पंक्तिलाई आलोचनात्मक चेतसहित हुर्काउन जरुरी छ, उनीहरुसँग संवाद गर्न जरुरी छ।

मैले उज्वल प्रसाईंलाई महेश मास्केले ०४६ सालको आन्दोलनमा मरिचमानको अनुहारको व्याख्या गरेर एउटा लेख लेखेका छन्, त्यो पढ्नुभएको छ भनेर सोधें। युवा पुस्तामा उज्वल धेरै पढ्नेमध्ये मानिन्छन्। उनले पनि त्यो लेख पढेको छैन भने। उज्वल नै ०४६ सालको पुस्तासँग छुट्यो भनेपछि अरु कति छुटे होलान? म राजनीतिमा अलि बढी खटेको बेला भुपालको एउटा कविता संग्रह निस्किएको रहेछ। मैले हेर्न पाएको रहेनछु। त्यो पाएपछि मलाई अचम्म लाग्यो। कतिखेर लेखेछन् भनेर थकथकी लाग्यो। हामी धेरै नै छुटेका छौं यी योगदानहरुबाट।

आजको विश्व व्यवस्था जसलाई कसैले पूँजीवाद भन्छन्, कसैले लोकतन्त्र भन्छन्, कसैले साम्राज्यवाद पनि भन्छन्। आजको विश्वव्यवस्थाले मान्छेलाई मेसिन बनाइदियो। मेसिनको अर्थ छिटोछिटो उत्पादनको कुरामात्रै होइन। मेसिनले तेल खायो, मेसिनले उर्जा खायो तर मेसिनले आफ्नो बारेमा केहीपनि सोचेन। पूँजीवादले मान्छेलाई पनि मेसिनजस्तै बनाइदियो। आफ्नो बारेमा सोच्नै नसक्ने मान्छे, आफ्नो बारेमा सोच्नै नभ्याउने मान्छे। आफ्नो बारेमा जसले सोच्न भ्याउँदैन त्यो मान्छेले के गर्छ? त्यसले समाजको बारेमा सोच्न भ्याउँदैन, झन् त्यसले यही तरिकाले गए विश्व ध्वस्त हुँदैछ भन्ने पनि सोच्नै भ्याउँदैन।

विश्वबजारले मान्छेलाई आज जतातिर लगेको छ, त्यो भ्रमका विरुद्ध हामीले प्रतिरोध गर्नुछ। आज विचारका मञ्चहरु बजारले कब्जा गरिदिए। यस्ता उपन्यास निस्किन थाले, जसलाई पढेर जीवनको गहिराइतिर जानुभन्दा मान्छेहरु हावादारी कुरा गर्नतिर लाग्न थाले। विश्वव्यवस्थाले युवाहरुलाई जसरी मेसिन बनाएको छ, टुक्राटुक्रामा विभाजन गरेको छ, त्यससँग लड्न सक्ने र मानव समाजलाई बदल्न सक्ने चिन्तन दिनुको सट्टा भीड जम्मा गरेर साहित्यको व्यापार गर्नुछ यहाँ मान्छेहरुलाई।

बजारले विचारका मञ्च पनि कब्जा गर्न थाल्यो। विचारका मञ्च बजारले कब्जा गर्न थालेपछि हामी लेखकहरु बिकाउ वस्तु हुने भयौं। हामी मेस्सीजस्ता हुनेभयौं। नाम सबैले सुन्ने भए तर मेस्सी त खेल मजदूर हो। मेस्सीजस्तो खेलाडी त सबैले भन्ने भए तर कमाउन चाहिँ क्लब मालिकले कमाउने भयो। हामी उपन्यास, फिल्म लेख्ने भयौं, हाम्रो नाम पनि पत्रिकाले छापिदिने भयो। तर हाम्रो नाम छापे बापत पैसाचाहिँ प्रकाशकले जम्मा गर्ने भयो र हामीचाहिँ लेखन मजदूरमा परिणत हुने भयौं। कला मजदूरमा परिणत हुने भयौं। हाम्रो शोषणबाट यहाँ व्यापार चल्ने भयो। यसको प्रतिरोध हामीले गर्ने कि नगर्ने? हामी पूरै असक्षम हौं त?

होइन। हामी निश्चय नै असक्षम छैनौँ। तर सक्षम छौँ भनेर हामीले प्रमाणित गर्नुपर्ने बेला आएको छ।‍

 

प्रकाशित १५ पुस २०७४, शनिबार | 2017-12-30 13:57:06



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।