चुनावले लोकतन्त्रलाई दुई तह माथि उठाएको छ



२०३७ सालमा ‘बहुदलीय प्रजातन्त्र कि निर्दलीय पञ्चायती व्यवस्था’ भनेर छनोट गर्ने जनमत संग्रहमा मैले पहिलो पटक मतदान गरेको थिएँ। बिहिबार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने जनकल्याण माध्यमिक विद्यालय महांकालको चौरमा रहेको मतदान केन्द्रमा मतदान गरें। २०३७ सालयताको मतदान प्रक्रियामा निरन्तर भाग लिइरहेको छु।

पहिलो पटक मैले मतदान गर्दा प्रजातन्त्र भन्ने नै थिएन। विस्तारै प्रजातन्त्र हुँदै लोकतन्त्रको युगमा प्रवेश गर्यौं। त्यहाँबाट गणतान्त्रिक लोकतन्त्रमा प्रवेश गरिसकेका छौं। आज आएर मैले २०७२ सालको संघीय गणतान्त्रिक संविधानले व्यवस्था गरेको निर्वाचनमा मतदान गरें। यस अवधिमा नेपाली समाजले धेरैवटा चक्र पार गरिसकेको छ। धेरै राजनीतिक परीक्षाहरुमा बसेको छ।

३७ साल एउटा राजनीतिक परीक्षा थियो। पञ्चायतभित्रको चुनाव अर्को खालको परीक्षा थियो। सुधारिएको पञ्चायतको चुनाव अर्को परीक्षा थियो। ४६ सालको ठूलो परिवर्तनपछि भएका ४८, ४९ र ५६ सालका चुनावहरु अर्कै खालका परीक्षा थिए। ६४ र ७० सालको संविधानसभाको निर्वाचनपछि अहिले जुन चुनाव भएको छ, यसले नेपाली समाज र नेपाली लोकतन्त्रलाई एक दुई तह माथि उठाएको छ।

यी सबै चुनावलाई हेर्दा नेपालीहरुमा धेरै परिपक्वता आएको देखिन्छ। नेपाल आर्थिक रुपले पिछडिएको होला तर लोकतान्त्रिक अधिकार प्रयोग गर्ने मामिलामा विश्वमा अग्रणी छ भन्ने निर्वाचनले प्रमाणित गरेको छ। बिहिबारको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावलाई मान्छेहरुले एकदम स्वाभाविक रुपले लिइरहेको पाएँ, जीवनको सामान्य अभ्यासको रुपमा स्विकारेको पाएँ।

मान्छेहरु मतदान केन्द्रमा आए र नियमपूर्वक मतदान गरे। त्यहाँ कुनै तर्क बितर्क छैन। भीड पनि छैन। हामीले विगतका चुनावबाट धेरै कुरा सिकेका रहेछौं। निर्वाचन आयोग, कर्मचारी र मतदाताले समेत सिकेछन्। म मतदान गर्न गएको केन्द्रमा एकदमै स्वाभाविक रुपमा मतदान चलिरहेको थियो। पहिलोपल्ट म २०–२५ मिनेटमै मतदान सिध्याएर हिंडिसकेको थिएँ।

प्रत्यक्ष तर्फको मतपत्र यति छोटो थियो कि त्यसमा अलमल गर्नै परेन। व्यवस्थापन पनि चुस्त थियो। यी सबै हेर्दा नेपाली समाजले एक खालको परिपक्वता हासिल गरेको देखिन्छ। अहिले भएका ३ प्रकारको मतपत्रको जटिलताका बाबजुद यसपालि कम मत बदर हुने देखेको छु। किनभने स्थानीय निर्वाचन भन्दा धेरै छिटो निर्वाचन प्रक्रिया अगाडि बढेको देखिन्थ्यो। यो परिपक्वता केही महिनाअघि भएको स्थानीय निर्वाचनले पनि हुनसक्छ। तथापि त्यसमा सुधार्न सकिने ठाउँ पनि थियो।

तर धेरै मान्छे समानुपातिकमा मत दिन अलमल गरिरहेका देखिन्थे। किनकी त्यो मतपत्र निकै ठूलो थियो। दुई वटा मत दिनु थियो, त्यसमा मान्छे झुक्किइरहेका थिए। यदि मतपत्र दुई वटा दिएको भए त्यो जटिलता पनि सहजै हल हुने रहेछ।

समाजमा उठेका धेरै मुद्दाहरु यस्ता चुनावले ठेगान लगाउँछन्। अन्ततः शासनसत्ता सञ्चालनको बैधता यस्तै निर्वाचनले दिने हुन्। यस्तै मतदान मार्फत् मुद्दाका छिनोफानो हुने गर्छन्। जस्तैः गएका २–३ वटा चुनावले ‘हिंसा ग्राह्य छैन’ भन्ने देखाइदियोे। ‘हिंसा बाहेक मतदानबाट आउँछौ’ भने स्वागत छ भन्ने जनादेश आएपछि हिजो हिंसाको सहारा लिनेहरुले पनि हिंसा त्यागेर निर्वाचनको बाटो समातेका हुन्। यसपालिको चुनाव प्रचारमा उनीहरुले नै हिंसाको विरोध गरेको हामीले देख्यौं।

हो, यसैगरी नचाहिने र अवान्छित मुद्दाहरुलाई निर्वाचनले किनारा लगाइदिन्छ र चाहिने मुद्दालाई केन्द्रमा ल्याइदिने काम गर्छ। चाहिने मुद्दालाई बैधता प्रदान गर्दै जान्छ। यसका लागि पनि निर्वाचन भैरहनुपर्छ। विकास, स्थिरता र समावेशीता अहिलेका चुनावले केन्द्रमा ल्याइदिएका मुद्दा हुन्। १०–१२ वर्षयता उठेको समावेशीताको मुद्दालाई मूलधारमा ल्याई बैधानिकता दिएर स्थापित गरिदिएको चुनावले नै हो। बारम्बार हुने चुनावले चुनावी लोकतान्त्रिक संस्कारको विकास गरिदिन्छ। यहि अभ्यास हामीले गर्दै गयौं भने भारतका उत्तर प्रदेश, बिहारमा हुने जस्तो बिकृतिमा हामी फस्दैनौं।

हाम्रो चुनाव बढी सुरक्षाकर्मीहरुमाथि निर्भर छ। यो राज्यसंयन्त्र हावी हुने परम्परागत निर्वाचन पद्धति हो। तर हामीले चुनावलाई बढी राजनीतिक र नागरिकमुखी बनाउन सक्नुपर्छ। यथार्थ के हो भने प्रहरी र सेनाले सुरक्षा दिएर मात्र चुनाव हुनै सक्दैन। सुरक्षा निकायले त साना मसिना कुरा मात्र व्यवस्थापन गर्ने हो। सारा चुनावी माहोल बनाउने र विश्वासको वातावरण श्रृजना गर्ने त राजनीतिले नै हो। चुनावले यो काम गर्छ।

चुनावी सुरक्षामा यसपालि छिटफुट घट्ना भए। यो ठूलो त होइन तर यस्ता प्रवृत्तिलाई पालेर राख्नु हुने थिएन। सबै दलहरुले यस्ता घट्ना घटाउनेहरुप्रति आफ्नो दृष्टिकोण प्रष्ट बनाउन सक्नुपथ्र्यो। यदि यो राजनीतिक मुद्दा होइन भने यसमा दलहरुले आफुलाई अलग राखेपछि ‘ल एण्ड अर्डर’ मा राख्ने काम सम्बन्धित निकायले गर्छ। तर त्यसो नगरेर उपयोग गर्दै पालेर राखेपछि त्यस्ता तत्वलाई भोलि अरुले प्रयोग गरिदिन सक्छन्। हिजो मुलुक जसरी द्वन्द्वमा फस्यो भोलि त्यसरी नै द्वन्द्वमा फस्न सक्छ। किनभने त्यसलाई अर्कोले खेलाइदिन्छ। समाज र देशकै शत्रुले प्रयोग गरिदिन सक्छ। त्यसैले यो खराब र घातक प्रवृत्ति हो। यस्ता प्रवृत्तिलाई कसरी निवारण गर्ने हो गरिहाल्नु पर्छ।

यो निर्वाचनले प्राविधिक रुपले संक्रमणकालको अन्त्य गर्छ। संविधानसभाको मुद्दा २००७ सालदेखि नै उठ्दै आइरहेको हो। मैले ३६ सालमा पनि संविधानसभाको कुरा सुनेको हुँ। त्यो मुद्दा अहिले चुनावले थान्को लगाइदिएको छ। तर साँचो रुपमा संक्रमणकाललाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुको इमान्दारितामाथि निर्भर हुन्छ। तिनले जनमतलाई कसरी लिन्छन् र व्यवहार देखाउँछन् त्यसमा भरपर्छ। त्यसैले म व्यवहारिक रुपमा यो चुनावले संक्रमणकाल सकिन्छ भन्न सक्ने स्थितिमा छैन।

किनकी अहिलेपनि राजनीतिक दलहरुले आफ्नो सुविधा अनुकूल निर्णय गर्न छाडेका छैनन्। जस्तै तिनले प्रदेशको चुनावलाई नै ओझेलमा पारिदिए। प्रदेशको नाम र राजधानी नै छैन। प्रदेश कसरी संचालन गर्ने भनेर गृहकार्य गरेकै देखिँदैन। यहाँनेर चाहिं इमानको काम भएको देखिंदैन। यसले अन्योल बढाउँछ। मैले प्रदेशसभाका लागि पनि मतदान गरेर आएँ तर त्यो प्रदेश कहाँ हुन्छ, कसरी काम गर्छ मलाई केहि थाहा छैन। एउटा सानो घर बनाउन पनि हामीलाई ब्लुप्रिन्ट चाहिन्छ तर सिंगो प्रदेश बनाउन हामीसँग ब्लुप्रिन्ट छैन। यसलाई एक खालको अत्याचार नै भन्न सकिन्छ। त्यसैले आश्वस्त भैहाल्ने अवस्था देख्दिनँ।

मलाई के लाग्छ भने व्यवहारिक रुपमा संक्रमणकाल लम्ब्याउन पो लागिएको हो कि? यसरी लम्ब्याइँदा सत्ता उनै पुरानाहरुको पोल्टामा जाने र उनीहरुकै मियो वरिपरी घुम्ने हुँदा तिनले यस्तो गरेका हुनसक्छन्। २०४६ सालको परिवर्तनमा पनि उनै सत्तामा ६३ र ७२ को संविधान आउँदा पनि तिनै सत्तामा। एउटा वर्गले रजाइँ गरिरहेको देखिन्छ। यो फाइदा उठाइरहेका दल, नेता र व्यक्तिले नै यो संक्रमणकाल नसकियोस् भन्ने चाहेको हो कि जस्तो देखिन्छ। यसमा मिडियाले बढी खबरदारी गरिरहन जरुरी छ।

(नेपालखबरका जेवी पुन मगरले नेपालखबर लाइभका लागि गरेको कुराकानीमा आधारित)

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 22:48:20

author photo

राजेन्द्र दाहाल शिक्षक मासिकका सम्पादक, राजनीतिक विश्लेषक हुन्

@RDahal62


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा

    देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्?

    जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो।

  • नेपालगञ्जस्थित सोल्टी होटलमा शाह

    एक्लै काठमाडौं फर्के पूर्वराजा ज्ञानेन्द्र शाह

    मध्यपश्चिम र सुदुर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो।

  • मुख्यमन्त्री र सभामुख साटासाट गर्न एमालेलाई माओवादी प्रस्ताव

    राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुखलाई सपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त भएका साट वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई शपथ गराएकी छिन्।