रेमिट्यान्स अर्थ–राजनीति

अरबमा श्रमिकले कमाउँछ, देशमा दलालले चलाउँछ



फाइल फोटो
फाइल फोटो

अहिले चीन र भारतमा जस्तै थोरबहुत नेपाली पनि स्वदेश फर्किएका छन्। तर उनीहरू नेपाललाई माया गरेर वा यहाँ अवसर पाएर भन्दा पनि विदेशमा भोग्नु पर्ने विभेदका कारण फर्किएका हुन्।

अहिले करिब ३० देखि ४० लाख नेपाली विदेशमा काम गरिरहेका छन्। प्रत्येक महिना उनीहरुले कमाएको ७० देखि ८० करोड रुप्रयाँ देशमा भित्रिइरहेको छ। कुनै समय यो रकम १ अर्ब आयो होला, कुनैबेला ४० करोड पुग्यो होला। २०१६ रेमिट्यान्सको लागि स्थिर वर्ष रहयो। यसपालि चाहिं पोहोरको तुलनामा रेमिट्यान्स घटेको छ। एकताका विदेश उड्नेको संख्या प्रत्येक दिन २७ सयसम्म पुगेको थियो। अहिले औसत १४–१५ सय गैरहेका छन्। यो संख्या १३ सयसम्म पनि झरेको छ।

सउदी अरब सरकारको खर्च कटाउने नीतिका कारण त्यहाँ जाने नेपाली कामदार घटे। साथै त्यहाँ काम गरिरहेका श्रमिकहरुको तलब पनि घट्यो। नेपाली श्रमबजारको ठूलो हिस्सा हो सउदी अरब। श्रम बजारको ठूलो हिस्सा ओगट्ने मलेसियामा पनि नेपाली कामदारलाई नलिने र भएकालाई पनि हटाइने गरियो। यसको प्रभाव रेमिट्यान्समा पर्यो। तर भूकम्पपछि विदेश जाने संख्या उताबाट फर्किनेको तुलनामा कम भएको देखिन्छ।

अघिल्लो आर्थिक वर्षमा सात सय ४० अर्ब रेमिट्यान्स भित्रिएको थियो, जसमध्ये भूपू गोर्खा सैनिकको पेन्सनबाट ४० अर्ब र अन्य कामदारले कमाएको सात सय अर्ब हो। यो वर्ष रेमिट्यान्स आठ सय अर्ब पुग्ने अनुमान छ। 

वैदेशिक रोजगारको श्रोत मधेश र गण्डक
क्षेत्रगत रुपमा वेदेशिक रोजगारीमा जाने र पैसा कमाएर पठाउने प्रवृत्तिलाई मूलभूत रुपमा दुईओटा क्षेत्रमा छुट्याएर हेर्न सकिन्छ। एउटा पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, बाग्लुङ लगायतका गण्डक क्षेत्र हो भने विदेश जाने अर्को क्लस्टर सिराहादेखि महोत्तरीसम्मको तराई हो। विदेश जाने प्रवृत्ति सिरहा र धनुषासँग जोडिएका कमला वारी र पारिको क्षेत्रमा सघन छ। त्यहाँ छोरा मान्छे नै भेटिँदैनन्।

मधेश आन्दोलनका बेला अरु ठाउँबाट विदेश जानेको संख्या घट्यो। तर माथि उल्लेख गरिएको तराई क्षेत्रबाट विदेश जानेहरुको संख्या चाहिं बढ्यो। घरमै बस्दा राजेन्द्र महतो र महन्थ ठाकुरका योद्धा भएर निस्कनु पर्यो। पैसा पनि आउने होइन। पैसा जति सबै नेताले खाइदिन्छन्। चन्दा उठाएको, लुटेको , स्मगलिङ गरेको पैसा सबै तिनले खान्छन्। कार्यकर्ताको हातमा पर्दैन। तिनले त ल्याएर नेताको हातमा बुझाउने हो। पुलिसको कुटाई पनि खानु छ, पैसा पनि पाउनु छैन। भोलि मरेपछि ५० लाख दिन्छु भनेको छ। ‘मरेपछि कुटुम्बै राजा’ भनेझैं तिनले त्यो लोभमा बस्नु भन्दा विदेश जान ठिक ठाने। मधेश आन्दोलनको बेला सिराहादेखि धनुषासम्मको माईग्रेन्ट संख्या बढेको छ।

वैदेशिक रोजगारीका लागि तेश्रो विश्व उड्ने श्रमिकहरू सुदुर पश्चिमबाट एकदम कम छन्। उनीहरुले नयाँ गन्तव्य थाहा पत्तै पाएनन्। त्यसैले उनीहरुको गन्तव्य भारत नै बनिरह्यो। यसो हुनुमा साक्षरताको कमी पनि हो। काठमाडौंसँगको दुरीले पनि हो। अर्को, मेनपावर एजेन्सी संचालकहरुका कारण पनि त्यो हुँदोरहेछ। यो व्यावसायमा पाल्पा, कास्की, पर्वत, स्याङ्जाका मानिस बढी छन्। यी व्यावसायीका सम्पर्कका कारण पनि क्षेत्रगत रुपमा प्रभावित पारेको देखिन्छ।

विदेश उड्नुको कारण पैसा मात्र हैन
धेरै मान्छे बाहिर गएको आर्थिक आवश्यकताले मात्र हैन। यहाँ बैराग्य लागेर पनि हो। सफा ट्वाइलेट छैन, जता गयो गन्हाउँछ। काठमाडौंमा त खानेपानी पनि आउँदैन। विदेशमा दबाउने बित्तिकै खानेपानी आउँछ। उता अग्ला टावर छन्। जताततै रेष्टुरेन्ट छन्। जताततै सफा र चिल्लो छ। सडक सफा छन्, यहाँ जस्तो धुलो उड्दैन। गाउँको मानिसलाई गाउँ भन्दा रमाइलो काठमाडौं लाग्छ, काठमाडौंमा बैराग लागेपछि उसलाई क्वालालमपुरमा मज्जा लाग्छ। दोहामा रमाइलो लाग्छ। वैदेशिक रोजगारीमा पैसा कमाउन भन्दा धेरै रमाइलोका लागि गएका छन्। सभ्य समाज देख्न गएका छन्। विदेशी मुलुकको सुखसुविधा उपभोग गर्नाका निम्ति गएका छन्।

अर्थतन्त्रले संख्यात्मक रोजगार श्रृजना गरेर मात्र हुँदैन। गुणात्मक रोजगारी पनि वृद्धि गर्नुपर्छ। गुणात्मक भनेको ज्याला मात्र होइन। मान्छेले यहाँको ३० हजारको जागीर छाडेर गएको छ। यहाँका हुनेखाने परिवारका मान्छेहरुले अष्ट्रेलिया गएर म्याकडोनाल्डमा काम गर्छन्। किन त्यसरी गैरहेका छन् भनेर हामी कहाँ खोजिनीति नै हुँदैन।

यहाँ उत्तरदायी सरकार छैन। त्यता हुन्छन्। तपाईंले त्यहाँ जानेबित्तिकै उत्तरदायी सरकार पाउनुहुन्छ। धेरै पीरमर्काहरु सरकारी प्रणालीबाट सुनिन्छन्। कोही बिरामी पर्यो भने सरकारले हेरिदिन्छ। यहाँ बिरामी पर्यो भने आफै दौडनु पर्यो। डाक्टरले उपचार राम्रो गर्दिने हो कि नगर्दिने हो, अस्पतालमै मारिदिने हो कि, कोही कसैप्रति उत्तरदायी छैन।

यहाँ १८ लाख कमाउनु भो भने कर बुझाउनै प्रलय छ। तपाईं कर बुझाउन जानु भो भने उल्टै गाली गर्दै सोधिन्छ ‘किन आउनु भएको, कर पनि बुझाउने? चोरी भएर पुलिसमा गयो भने ‘यस्तो चोरी भएको पनि टिपाउन आउने, आफै मिलाउनोस्’ भनेर फर्काइदिन सक्छ। कम्तिमा विदेशमा पुलिसले सुनुवाई गर्छ। प्रणालीले सजिलो बनाउनु पर्नेमा हाम्रोमा झन् अप्ठेरो बनाइदिएको छ। काम नै गर्दैनन्। कुनै कुरामा सर–सुविधा छैन।

अष्ट्रेलियामा गएपछि यी सबै देख्नु पर्दैन। कसैलाई भनसुन गर्नु पर्दैन। विधिले काम गर्छ। यहाँ ६ लाख कमाइरहेको छ, त्यहाँ ६ सय डलर (७२ हजार) मात्र पाएपनि मान्छे त्यतै जान ठिक ठान्छन्। किनभने त्यहाँ जीवन सहज छ, टन्टा छैन। चन्दा माग्न कोही आउँदैन। अनावश्यक कसैले दुख दिंदैन। यी सब कारण हुनेखाने मान्छे पनि काम खोज्दै विदेश गैरहेका छन्।

यहाँ डोजर चलाउने मान्छेको तलब ६० हजार छ। ति पनि विदेश जान चाहिरहेका छन्। पहाडमा डोजर चलाएर बसेको एकजना चालकसँग मैले ‘कतार जान पाए जानुहुन्छ?’ भनेर सोधेको थिएँ। उनको जवाफ थियो, ‘यो धुलोमा मर्नु भन्दा जाने। कम्तिमा त्यहाँ सफा त हुन्छ।’ उनको मासिक तलब ६६ हजार रुपैयाँ थियो। तर पैसा भएर के गर्ने? पैसा कमाएपछि मान्छेले मनोरन्जन खोज्दछ। तर यहाँ त्यो पनि सहज छैन।

क्वालालमपुरमा ३५ हजार कमाउने कामदार काम सकिने बित्तिकै एउटा चिसो बारमा जान्छ। बियर पिउँछ। त्यसपछि अलिपरको डान्सबारमा जान्छ। एकछिन नाच हेर्छ। भोलिपल्ट सिनेमा हेर्न जाला। तर ६६ हजार कमाउने डोजर ड्राइभरका अगाडि केहि बिकल्प नै छैन। साँझ परेपछि ट्वाक लगायो सुत्यो, बिहान उठ्यो काममा गयो। त्यसैले हो कतार जान खोज्ने। त्यसैले मान्छे ३० हजार पाएपनि ६६ हजारको जागिर त्यागेर त्यहाँ जाने सोचाईमा छ। कल्पनाले उसलाई त्यहाँ पुर्याउँछ। काम गर्ने राम्रो वातावरणका लागि दक्ष श्रमिक पनि बाहिर जान खोज्दा रहेछन्।

यदि हाम्रो अर्थतन्त्र असल चक्रमा गैदिएको भए पैसाका कारण पनि मान्छे फर्किएर आउँथे। अहिले काठमाडौंमा दैनिक ज्यालादरीमा काम गर्ने हो भने आठ नौ सय मज्जाले पाइन्छ। भुकम्पपछि धमाधम घर बनाउन र मरमत गर्नु पर्यो कामदार नै छैन। भुकम्पको एक वर्ष अगाडि पनि जब लाजिम्पाट करिडोरमा बाटो फराकिलो बनाउन थालियो, घरहरु धेरै भत्किए, कामदार कम भए, त्यतिबेला चार सय ज्याला बढेर छ सय भयो। छ सयबाट एक्कासी साढे नौ सय र पछि ११ सय त्यहि बेला पुगेको हो। त्यो रेट अहिलेसम्म घटेको छैन।

अहिले नौ सयभन्दा कममा कोही काम गर्न चाहँदैनन्। नौ सय भनेको महिनाभरी काम गर्ने हो भने २७ हजार हो। यति पैसा त कतारमा पनि पाउन मुश्किल छ। तरपनि कामदार किन कतार जान खोज्छ भने यहाँ कामको संख्यात्मक र गुणात्मकता वृद्धि दुवै छैन। विदेशमा सामाजिक सुरक्षा छ। यहाँ छैन। एउटा श्रमिक यति मात्र चाहन्छ– तलब राम्रो होस्। कमाएको पैसा ढुक्कसँग खर्च गर्न पाइयोस्। कोही चन्दा माग्न नआओस्। जीवन सहज होस्। प्रहरीले सुरक्षा देओस्। यी सबै हाम्रोमा छैन।

गरिबको पैसा दलालको हातमा
राष्ट्र बैंक या अन्य निकायले गरेको सर्वेक्षणले रेमिट्यान्स पाउने परिवारले पाएको सय रुपैयाँमध्ये ९० देखि ९४ रुपैयाँसम्म उसले उपभोग्य सामाग्रीमा खर्च गरेको देखिन्छ। यसले रेमिट्यान्सको रकम परिवारको पालनपोषण र छोराछोरीको शिक्षामा लगानी भैरहेको बुझिन्छ।

काठमाडौंका बैंकहरुमा अँग्रेजी महिनाको पहिलो हप्ता महिलाहरुको लामो लाइन हुन्छ। ती विदेशबाट पठाइएको पैसा बुझ्न त्यसरी लाइनमा लागेका हुन्। उनीहरुलाई परिवार पाल्नु पर्यो, छोराछोरीको शिक्षामा खर्च गर्नुपर्यो, कोही बिरामी छन् भने गाउँबाट यहाँ ल्याएर उपचार गर्नु पर्यो। उताबाट आएको पैसा यसैमा खर्च भएको छ। उनीहरु बिभिन्न गाउँबाट आएर छोराछोरी पढाउन यहाँ बसेका छन्। काठमाडौंको जनसंख्या बढ्नुको एउटा कारण रेमिट्यान्स पनि हो।

रेमिट्यान्स आर्जन गर्ने व्यक्तिले शहरी क्षेत्रमा घरजग्गामा लगानी गरेको हेर्ने हो भने तुलनात्मक रुपमा त्यो संख्या कम छ। उनीहरु आफैले घरजग्गामा लगानी गरेका छैनन्। शुरुमा उताबाट बैंकमा पैसा जम्मा हुन्छ। यता परिवारले घरमा चाहिने जति निकाल्छ। बाँकी पैसा बैंकमा रहिरहन्छ। यसलाई सरल भाषामा यसरी बुझ्न सकिन्छ– नेपालका मान्छे श्रम बेच्न बाहिर गए। तिनले कमाएको पैसा यहाँ आएर बैंकमा जम्मा भयो। रोकिने पहिलो बिन्दु बैंक भयो। बैंकमा रोकिने बित्तिकै तरलता बढ्यो। यो क्रम रोकिएन– कि स्थिर रहयो कि बढिरहयो।

यसरी बैंकमा विदेशबाट आएको पैसा प्रत्येक महिना असी नब्बे करोड जम्मा भैरहेको छ। बैंकसँग तरलता बढ्नासाथ उसले लगानी गर्ने क्षेत्र खोज्दछ। तरलता कम गर्न बैंकले चाँडै नाफा आउने ठाउँमा लगानी गर्छ। नेपाली बैंकहरुले गरेको लगानी हेर्दा रेमिट्यान्सको रकम शेयर कारोबारी, घरजग्गा दलाल र रियल स्टेट ब्यापारीको हातमा गैरहेको देखिन्छ। अहिलेको अवस्थामा चाँडै नाफा आउने भनेको शेयर र घरजग्गा नै हो। यहाँको अर्थचक्र यसरी घुमिरहेको छ।

अघिल्लो आर्थिक वर्षमा आएको सात सय ४० अर्ब रेमिट्यान्समध्ये प्राप्तकर्ता आफैले घरजग्गामा लगानी गरेको रकम साठी सत्तरी करोड भन्दा बढी छैन। अरु सबै दलाल मार्फत शेयर बजार र घरजग्गा दलालको कारोबारमा गैरहेको छ। भोलि शेयरको मूल्य बढ्छ र ऋणीले तिरिहाल्छ भन्ने प्रक्षेपणको आधारमा बैंकले शेयर बजारमा लगानी गरिरहेको छ।

दलालहरू बढी ब्याज तिर्न पनि तयार हुन्छन्। जग्गामा पनि त्यही हो। सामान्यतः कृषिमा ६ प्रतिशतमा लगानी गर्नुपर्यो। उद्योगमा १० प्रतिशतमा लगानी गर्नुपर्यो। कतिपयले वार्गेनिङ पनि गर्छन्। शेयर र जग्गाका दलालहरुले त वार्गेनिङ पनि गर्दैनन्। उसलाई ऋण पाउनु नै ठूलो कुरा हो। हातहातै जग्गा किनेर १० दिन कुरेर नाफा खाएर अर्कालाई पास गर्न सकिन्छ। नामसारी गर्नुभन्दा अगाडि नै दश बाह्र चोटी पास गरिसकेका हुन्छन्।

यसरी अतिरिक्त पैसा कमाउन पाएपछि यस क्षेत्रमा दलाली फस्टाएको छ। बैंकले पनि यसैमा लगानी गरिरहेको छ। जग्गाको मूल्य बढ्नाले दलालको ऋण तिर्ने क्षमता त बढ्यो। तर यो क्षेत्रमा गएको पैसाले रोजगारी श्रृजना गरेन। बरु सम्पत्तिको मूल्य घटिदियो भने उल्टै बैंक समस्यामा पर्न सक्छ। हाम्रो अर्थतन्त्रले लिएको उल्टो बाटो हो यो। देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने रेमिट्यान्स ठिक ठाउँमा गैरहेको छैन। यसले देशलाई सम्द्धितिर लैजाँदैन।

यदि यसको साटो रेमिट्यान्सबाट आएको पैसा हाइड्रोपावर विकास, सिमेन्ट उद्योग या कुनै घरेलु उद्योग खडा गर्न, गाइपालन जस्ता कृषिमा लगानी गरिएको भए त्यसले लगानी गएको भोलिपल्टैबाट रोजगारी श्रृजना गर्न शुरु गथ्र्यो। जस्तो हाइड्रोपावरमा लगानी गरिए उसले आफुले त रोजगारी श्रृजना गथ्र्यो गथ्र्यो उत्पादन भएको बिजुलीले उद्योग पनि चल्थे। उद्योगले सानातिना व्यावसाय श्रृजना गथ्र्यो। त्यसले रोजगारी बढाउँथ्यो। पर्यटनतिर होटल नै चल्ला। त्यसले अरु थप रोजगारी श्रृजना गथ्र्यो।

यो चक्रमा हाम्रो अर्थतन्त्र गएको भए हामीले बाहिर गएका मान्छेलाई फर्काएर ल्याउन सक्थ्यौं। तिनका लागि देशमै बाटो खुल्थ्यो। अरबमा मासिक २० हजार कमाइरहेको श्रमिकले पठाएको रेमिट्यान्स उत्पादनशील क्षेत्रमा लगानी गरेको भए नेपाली अर्थतन्त्रले उसलाई मासिक ३० हजार कमाउनेगरी रोजगारी श्रृजना गरिदिन्थ्यो। त्यसपछि उसको छनौट आफ्नै देश हुनेथियो।

रेमिट्यान्सले बनेका पनि छन्
विश्वभर रेमिट्यान्स हुँदै आर्थिक समृद्धिमा प्रवेश गरेका चीन जस्ता देशलाई हेर्ने हो भने त्यहाँको पहिलो चरणको विकास विदेशमा गएर फर्किएकाले गरेको हो। संसारका सबै ठूला शहरमा चाइना टाउन भेटिन्छन्। चिनियाँ कुनैबेला आफ्नो देशमा बस्न नसकेर हुलका हुल विदेश भागेका हुन्। भारतीय भन्दा बढी चिनियाँ विदेश गए।

त्यसैले विश्वभर फैलिएका भारतका सीखहरु भन्दा चिनियाँ बढी भेटिन्छन्। चिनियाँ क्रान्ति अघि एउटा सम्राटको पालामा ठूलो भोकमरी भयो। खेतिपाति राम्रो हुन सकेन। साँस्कृतिक क्रान्तिमा पनि त्यो अवस्था यथावत रहिरहयो। भोकमरी बढ्यो। त्यसपछि उनीहरु विश्वभर छरिए। जब देङ सियाओपेङले चीनमा अवसर खुल्ला गरिदिए, विदेशिएका चिनियाँहरू पैसा र सीप बोकेर फर्किए। पैसा भन्दापनि उनीहरुले सीप र प्रविधि बोकेर आए। काम गर्ने तौरतरिका ल्याए। नयाँ संस्कृति ल्याए। उनीहरुले विश्वका ठूल–ठूला शहरमा ब्यापार गरेका थिए। कतिपय सांघाईमा नातेदार भेट्न पनि आए र यतै ब्यापार पनि थाले।

भारतमा सुचना प्रविधिमा जुन फड्को आयो त्यो राज्यले गरेको होइन। विदेशबाट फर्किएका युवाहरुले गरेका हुन्। पिभि नरसिंह राव प्रधानमन्त्री र मनमोहन सिंह अर्थमन्त्री भएको बेला भारतमा शुरु गरिएको खुल्ला अर्थव्यवस्थाका कारण अमेरिका पढेका र त्यहाँ काम गरिरहेका युवाहरु फर्किएर सुचना प्रविधिको विकास गरेका हुन्। सरकारले विदेशी मुद्रामा खाता खोलिदिने र लगानी पनि सहज गरिदिने आश्वासन दिएपछि उनीहरू फर्किएका थिए।

उनीहरु अमेरिकामा काले र एशियन भनेर हेपिनु भन्दा आफ्नै देशमा शानका साथ काम गरौं भनेर फर्किए। ‘अमेरिकामा दास बन्नु भन्दा देशमै मालिक बन्छु’ भनेर फर्किएका हुन्। विदेशबाट त्यस्ता युवाहरु फर्किएपछि चीन र भारतमा ठूलो परिवर्तन आएको छ। विदेशबाट फर्किएकाले सीप, प्रविधि र बजारसँगको सम्पर्क पनि लिएर आए। त्यहाँको बजार बुझेर आए र भारतमा बसेरै अमेरिकामा ब्यापार गर्न सक्ने भए।

अहिले थोरबहुत नेपाली पनि फर्किएर आएका छन्। तर उनीहरू नेपाललाई माया गरेर वा यहाँ अवसर पाएर भन्दा पनि विदेशमा भोग्नु पर्ने विभेदका कारण फर्किएका हुन्।

नेपालमै सम्पत्ति भएका, पढे लेखेका र पारिवारिक इज्जत भएकालाई विदेशमा बस्न गाह्रो हुन्छ। अमेरिकामा हामीलाई काले एशियन भनेरै हेप्छन्। मेरी छोरी फर्किएर आइन। केही नभए बुवा आमाको सम्पत्ति छ भनेर फर्किएर आइन। अमेरिकामा राम्रै जागिरे भएपनि, राम्रौ डलर कमाएपनि उनलाई त्यहाँ एशियन भनेर हेपेको मन परेन। रेष्टुरेन्टमा गए पनि त्यहाँ हेपिने नै हो। यहाँभन्दा हेपाई त्यहाँ बढी हुन्छ। यहाँ जनजाति, मधेशी, पहाडे, पुरुष भनेर झगडा लगाएपनि हेपाई उता बढी हुन्छ। सहन सकिँदैन।

बाहिर कतै नगएको ब्यापारीले सिंगापुरमा ब्यापार गर्न सक्दैन। तर त्यहाँ बसेर फर्किएकाले त्यसो गर्न सक्छ। रेमिट्यान्स बढी भित्र्याउने पहिलो देश चीन र दोश्रो भारतमा त्यही भएको हो। हामीकहाँ पनि फर्किएर आएका केहीले गाई पालेका छन्, कसैले खेती गरिरहेका छन्। त्यो उतैबाट सिकेर आएका हुन्। कसैले सामान निर्यात गरिरहेका छन्। एकजना मलेसिया बसेर फर्किएका नेपालीले चीनमा मासु र माछा सप्लाई गरिरहेका छन्।

(पूर्व अर्थसचिव खनालसँग जेवी पुन मगरले आइतबार गरेको लामो कुराकानीको सम्पादित अंश)

प्रकाशित २५ असोज २०७४, बुधबार | 2017-10-11 16:36:02

प्रतिकृया दिनुहोस

Loading...
  • केपी शर्मा ओली

    यो चुनावले हामी हिंड्ने बाटो निर्धारण गर्दैछ

    हामी देशको यस्तो राजनीतिक अवस्थामा छौं, जहाँबाट देश कतातिर जाने भन्ने बाटो फाट्छ। राष्ट्रियतालाई बलियो बनाउने बाटोतिर जाने कि, राष्ट्रियतालाई कमजोर...

  • डेढ वर्षअघि बेइजिङमा राष्ट्रपति सीसँग भेट्दै तत्कालीन प्रधानमन्त्री केपी ओली (फाइल फोटो)

    सीको दोस्रो कार्यकाल नेपाललाई थप अवसर

    चीनमा सीको पुनरावृत्तिको अर्थ हो– अर्को ५ वर्ष चीनको विकासले तीव्र गति लिनेछ र त्यसमा विशेषगरी छिमेकी देशहरूलाई समाहित गरिनेछ। महाधिवेशनमा प्रस्तुत...

  • दल एकिकरण समारोहमा कांग्रेस सभापति देउवासँग गच्छदार

    मधेसी राजनीतिको यस्तो विचित्र पक्ष

    मधेस राजनीतिमा कुनै बेला हृदयेश त्रिपाठी र विजय गच्छेदार एक अर्काका प्रतिस्पर्धी थिए । तर एक दशकभित्रै दुबैलाई मधेसी राजनीतिबाट बिकर्षण पैदा भएको...

  • गल्फले खोज्दैछ एनआरएनएको नजर

    हामी गर्वका साथ भनिरहेका छौं, रेमिट्यान्स झण्डै एक वर्षको बजेट बराबर आउँछ। त्यो रेमिट्यान्स पठाउने तिनै नेपाली हुन्, जो वैदेशिक रोजगारीमा छन्। तर,...

  • सी जिनफिङ

    सी जिनफिङः पाँच वर्षका पाँच उपलब्धि

    गरिबी विरूद्धको अन्तिम युद्ध लड्न चीनले सबै खाले प्रयास जारी राखेको छ। १८औं राष्ट्रिय कांग्रेसले पाँच वर्षमा लिएको लक्ष्य थियो, गरिबीबाट उम्किएर...

  • शेरबहादुर देउवा

    कस्तो होला प्रम देउवाको चौथो प्रस्थान?

    एमाले–माओवादी केन्द्रबीचको मिलनबाट आत्तिएर संसद विघटनसँगै अस्वाभाविक कदम चाल्न थाले भनेचाहिँ निश्चित छ, ओलीजस्ता चतुर नेतालाई समेत चक्मा दिँदै...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...