एनजिओ आइएनजिओ- २

डलर खेती नराम्रो काम हो?-२

एनजिओ: समाजसेवी कि आत्मसेवी



तस्बिर साभारः इम्पुल्सो डट कम
तस्बिर साभारः इम्पुल्सो डट कम

नेपालीले नेपालीका लागि चलाउने गैससका समग्र कामकाज, सूचना, विज्ञापन तथा सम्पूर्ण प्रकाशन पूर्णतः नेपाली भाषामा हुनुपर्छ, प्रपोजल र रिपोर्टलाई अबोधगम्य फर्म्याटबाट मुक्ति दिलाएर ग्रामीण नेपालीले पनि तयार गर्न सक्ने ढाँचामा ढाल्नैपर्छ

भाषिक सामन्तवादको भुलभुलैया
हरेक सुविधा, प्रक्रिया र तहसम्म आम जनताको पहुँच हुनुपर्छ भन्ने गैससहरूको प्यारो आदर्शवाक्य हो। तर गैसस सञ्जालभित्र छिर्न र अघि बढ्न अंग्रेजी अनिवार्य छ। शिक्षा र चेतनाको दृष्टिले सीमान्त तहमा रहेका वास्तविक लक्षित समुदायको त कुरै छाडौं, साक्षर, औसत शिक्षित र अपेक्षाकृत जान्ने–बुझ्नेका लागि पनि अंग्रेजी यस्तो तर्साउने ख्याक बनेको छ, जसले त्यो पहुँचमा अलंघ्य पर्खाल खडा गर्छ। 

समुदायलाई के चाहिएको छ भन्ने प्रपोजल पनि अंग्रेजीमा लेख्नुपर्ने र भएको कामको रिपोर्ट पनि अंग्रेजीमै पेश गर्नुपर्ने बाध्यताले आम नेपाली समुदाय र गैससबीच आपसी तादात्म्य, हार्दिकता र आत्मीयता उत्पन्न हुनै नदिने खाडल खनेको छ। अंग्रेजी नजानेकै मात्र कारणले समुदायका सदस्य र कार्यकर्तामा असहाय मनस्थिति एवं हीनभावना गाढा बन्दै गएको तीतो सत्य अब लुकाएर लुक्न सक्ने अवस्था छैन। यसैले ‘आम जनताको पहुँच’ का सन्दर्भमा गैससहरूको यो आदर्श हात्तीको देखाउने दाँतझैं एउटा ढोंगी नाराबाहेक केही होइन भन्ने धारणा तिनै आम जनताले बनाएका छन्।

शिक्षित समुदायबीच हुने गोष्ठी–सेमिनारमै पनि छलफल र विमतिको सम्भावना न्यून गर्नुछ भने अंग्रेजी माध्यममा कार्यक्रम चलाउने रणनीतिक चलाखी अपनाइन्छ। त्यसबेला अत्यधिकांश सहभागीहरू आधाउधि मात्र कुरो ठम्याएर पूरै बुझेजस्तो अभिनय गर्न र हाँसोको पात्र होइने डरले झ्वाट्ट प्रश्न सोध्नबाट बच्न विवश हुन्छन् भने अंग्रेजीको तरबार टाउकामाथि झुण्ड्याइदिएपछि आम नेपालीको हालत के होला, सहजै अनुमान गर्न सकिन्छ। कार्यक्षम र लगनशील भन्दा पनि अंग्रेजी भट्याउन र अंग्रेजीमा प्रपोजल–रिपोर्ट तयार गर्न सक्ने मानिस नै गैससको पहिलो प्राथमिकतामा पर्छ जसले एउटा अर्को आडम्बरी दुनियाँ खडा गरेको छ।

यो भाषिक सामन्तवादले जनतालाई सधैं भुलभुलैयामा राख्ने, बौद्धिक रूपमा परमुखापेक्षी बनाउने, मानसिक रूपमा अंग्रेजीबाजको कृपामा निर्भर तुल्याउने र समग्रमा हीन मनोवृत्ति सृजना गर्ने मात्र उपलब्धि हासिल गरेको छ। यहींनेर, आम जनताका मस्तिष्कमा जब्बर प्रश्नहरूले शिर उठाउँछन्- गैससहरू कसका लागि काम गर्छन्, नेपालीका लागि कि विदेशीका लागि? नेपालीका लागि हो भने यो भाषिक कुचक्र किन? के समुदाय यसैगरी बलियो हुन्छ? यही बाटोबाट उसमा आत्मसम्मान र आत्मविश्वास जगाउन सकिन्छ? पारदर्शिता र पहुँच बढाउने आधार यही हो? जति सक्षम र समर्पित समाजसेवी भए पनि अंग्रेजी नजान्नासाथ, पुरानो नेपाली उखानको ‘ज्यालामा नमिलेको डुम’ हुनुपर्ने यो कस्तो जातपातविरोधी, समतामुखी, सामाजिक अवधारणा हो? गैससका आडमा के गर्न खोजिएको हो? यो माखेसाङ्लो तोड्न नेपाली गैससहरू किन पहल गर्दैनन्?

दिशाहीन र लाचार सरकार
गैससहरूको नियमन, अनुशासन, समन्वय र अनुगमनको जिम्मेदारी सरकारको हो। त्यसनिम्ति नियम–कानूून र औपचारिक निकायहरूको व्यवस्था नभएको होइन। तर आफ्नै कमजोरी र अनुशासनहीनताका कारण गैससबारे सरकार दिशाहीन, अन्योलग्रस्त र असहाय देखिँदै आएको छ। नियम–कानून अनुसार चल्न चाहनेलाई ऊ अनावश्यक झमेलामा फँसाएर हतोत्साहित पार्छ अनि नियमकानून छल्ने र नटेर्नेलाई केही गर्न नसकेर लाचार बन्छ।

एउटा उदाहरण हेरौं, गैससले विदेशी आर्थिक सहयोग लिनुपर्दा समाज कल्याण परिषद्को स्वीकृति लिनुपर्ने कानून छ तर अधिकांशले त्यसलाई टेरपुच्छर लाएका छैनन्। कानून बमोजिम कार्बाही चलाउन नसकेपछि एकपल्ट एउटा सूचना जारी गरियो– कम्तीमा आजसम्मको अडिट रिपोर्ट त पेश गर भनेर। तर करोडौंको बजेट खेलाउने गैससहरू रिपोर्ट देखाउनुको सट्टा क्रुद्ध भएर विरोधमा उत्रे। जिम्मेदार निकाय लोप्रेकान लगाएर चूूप लाग्यो। जो रिपोर्ट लिएर हाजिर भए, ती ससाना गैससहरूलाई प्रोत्साहन दिनुको सट्टा अनेक चक्करमा फँसाएर थकित पारियो। देशभित्रकै गैससलाई त कानूनी घेराभित्र हिँडाउन नसक्ने सरकारले अन्तर्राष्ट्रिय दाता गैससलाई अँचेट्न सक्ने कुरै भएन। त्यसैले गुपचुप पैसा प्रवाहित गर्ने र हिसाबकिताब लुकाउने तिनको धन्दा ढुक्कै जारी छ।

विश्व स्वास्थ्य संगठन र युएसएड जस्ताबाट आएका परियोजनाको समेत हिसाबकिताब लुकाइएको पोल महालेखा परीक्षकको प्रतिवेदनले खोलेको छ भने उच्च तहका सरकारी हाकिमहरूले परियोजनाको रकम व्यक्तिगत खातामा पुर्‍याउने गरेको र संझौतादेखि समाप्तिसम्मको गोलमालमा दाताहरूको समेत मिलोमतो रहने गरेको गुनासो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको छ। बहालवाला उच्च सरकारी अधिकारीहरू नै ठूलठूला गैससका अंशियार भएपछि यस्तो नहोस् पनि कसरी? सरकार उच्च नैतिक धरातलयुक्त, दरो र आत्मविश्वासपूर्ण भएको खण्डमा मात्र यसको उपचार सम्भव हुन्छ तर दुर्भाग्यवश लामो समयदेखि त्यस्तो सरकार देखा पर्न सकेको छैन। फलतः गैससहरूका सन्दर्भमा आफैंप्रतिको निरीहता र लाचारी नै सरकारको दृष्टिकोण बन्न पुगेको छ।

राजनीतिका माध्यम
सरकारको नेतृत्व गर्ने राजनीतिक पार्टी (यदाकदा पार्टीविहीन समेत)ले हो। राजनीतिक खेलाडीहरूका दृष्टिमा गैससहरू पनि राजनीतिकै माध्यम हुन्। जो गैसस कुनै पार्टी वा पक्षलाई सघाउ पुर्‍याउने उद्देश्यले काम गर्दैनन् तीबारे खासै ध्यान दिनु उनीहरू जरूरी ठान्दैनन्। तर आफूलाई पैसादेखि जनशक्ति र संगठन विस्तारसम्मका काममा सघाउने तथा आफ्ना कार्यकर्ताद्वारा सञ्चालित गैससहरूको संरक्षण गर्न, जति बदमासी गरे पनि प्रतिरक्षा गर्न र तिनका आडमा आफ्नो राजनीतिक एवम् अन्य अभीष्ट पूरा गर्न, सत्तामा रहँदा होस् वा विपक्षमा, उनीहरू एकदमै संवेदनशील र सक्रिय देखिन्छन्। तिनका दृष्टिमा ती गैसस आफ्नै अंगजस्ता, भ्रातृसंस्था जस्ता हुन्। भनिरहनु नपर्ला, इतर पार्टी वा पक्षसँग सम्बद्ध त्यस्तै गैससहरूप्रति चाहिं हरेक पार्टीको दृष्टिकोण सधैं नकारात्मक हुन्छ। सकेसम्म तिनको खेदो खन्नु उनीहरूले आफ्नो धर्म मानेका हुन्छन्। दाताहरूसँग आफ्नै क्षमताका आधारमा राम्रो सम्बन्ध विकास गरिसकेका र तिकडमले मात्र तल खसाल्न नसकिने इतर पक्षसम्बद्ध बलिया गैससहरू प्रत्येक पार्टी एवं पक्षका लागि टाउकोदुखाइको विषय बनेका छन्। मौका पर्नासाथ तीबारे विषाक्त टिप्पणी गर्न नेताहरू पछि पर्दैनन्।

अपरिपक्व सञ्चारमाध्यम
जहाँसम्म सञ्चारमाध्यमको कुरो छ, गैससका बारेमा उसले सम्यक् दृष्टिकोण विकसित गर्न सकेकै छैन। सोझो भाषामा भन्दा उसको दृष्टिकोण अत्यन्त सतही, अस्थिर र अपरिपक्व छ। जसले गोष्ठी–सेमिनार र होहल्ला गर्छ, तडकभडक देखाउँछ, घुमाउन लैजान्छ, प्रेस वक्तव्य दिन्छ, पत्रकार सम्मेलन गरिरहन्छ, लेख–रचना उपलब्ध गराउँछ उसकै मात्र आवाज अझ ठूलो स्वरमा बारम्बार प्रतिध्वनित गर्ने काम नै सञ्चारमाध्यमबाट भइरहेको छ। तिनको अन्तर्निहित उद्देश्य, प्रच्छन्न स्वार्थ, योग्यता–अयोग्यता र खराब नियतका कारण लुकेका–लुकाइएका पक्षलाई आफ्नै प्रयासले अगाडि ल्याउन र गैससका आडमा चलिरहेका गलत धन्दा, माफिया शैलीका क्रियाकलाप एवं भ्रष्टाचारका अन्तरकथा अनावरण गर्न, आकस्मिक संयोग बाहेक, डेगिलो प्रयास भएकै छैन।

पजेरो चढ्ने राजनीतिक नेताहरूका विरुद्ध अनवरत खनिइरहने पत्रकारिता जगत्लाई निस्वार्थ समाजसेवा गर्छु भन्ने सामान्य आर्थिक हैसियतको व्यक्तिले पाँच–सात वर्षभित्रै पजेरो, महल र अथाह सम्पत्ति जोडेको रहस्य खोतल्न, अपवाद बाहेक, फिटिक्कै जाँगर नचल्नु उदेककै कुरो मान्नुपर्छ। त्यसको विपरीत, ठूलठूला गैससको नियमित तलब खाएर समाचार तथा विश्लेषणको बर्को ओढाउँदै तिनको नियमित विज्ञापन गर्ने र तिनले बल्छीका रूपमा राखेको पुरस्कारको चारो टिप्ने ध्येयले प्रचारमुखी लेखहरूको उत्पादन गर्ने प्रवृत्तिचाहिँ बाक्लै पाइन्छ। जसले स्वच्छ र निस्वार्थ भावले होहल्ला नगरी काम गरेको छ उसको आवाज बन्ने अथवा जहाँ गैसस पुग्नु जरूरी छ त्यतातिर बाटो देखाउने तहमै सञ्चारमाध्यम उक्लन सकेको छैन भने गैससको सर्वाङ्गीण चित्र तथा गन्तव्य यसमा सम्यक् प्रतिबिम्बित हुने युग कहिले आउला, अहिल्यै भन्न सकिंदैन।

यतिबेला भन्न सकिने के मात्र हो भने नेपालको सञ्चारमाध्यम आफ्नो भूमिका बिर्सेर गैससहरूले डोर्‍याएकै बाटोमा हिंडिरहेको छ– प्रायः तिनकै एक्टिभिस्ट जस्तो बनेर त कहिले झ्वाट्ट दुश्मन जस्तो बनेर। मानौं ऊ घना जंगलमा छिरेर हराएको त्यस्तो मानिस हो, जो कुनै आवाज कानमा पर्नासाथ अत्तालिएर दगुर्छ, कहिले आवाजतिर त कहिले विपरीत दिशातिर।

सर्वसम्मति
प्रश्न उठ्छ, अरूले त धेरै नकारात्मक कुरा गर्छन् तर गैससहरूबारे स्वयं गैससहरूको दृष्टिकोण चाहिँ कस्तो छ? यहाँनेर पञ्चायतकालको सम्झना आउँछ। मण्डलेका रूपमा ‘व्यक्तित्व’ बनाएका र त्यसैका आधारमा आफ्नो हैसियत कायम गरेका विभिन्न व्यक्ति त्यसबेला मन्त्री हुन्थे। तर पत्रकारहरूसँग कुरा गर्दा उनीहरू देशलाई मण्डलेले खत्तम पारेको बताउँथे र आफूबाहेक अरू सबैको नाम लिएर तिनै मण्डलेले देश सिध्याए भन्दै सत्तोसराप गर्थे। गैससबारे गैससको मूल्यांकन पनि यस्तै हुने गरेको छ। हरेक गैसस आफू र आफ्नो दाता अथवा मित्र गैससले इमान्दारीसाथ काम गरेको बताउँछ र अरू साराले डलर खेती गरेको निष्कर्ष निकाल्छ। नागरिकहरूले जे जस्ता आरोप लगाउँछन्, आफूबाहेक अरू सबैका सन्दर्भमा ती शतप्रतिशत सही हुन् भन्ने उसको अभिमत हुन्छ र आफ्नो सही मूल्यांकन कसैले नगरेको गुनासो हुन्छ। गैससहरूको चरित्र र नियतबारे गैससहरूबीचमै यस्तो बृहत्तर सहमति कायम भएपछि अरूले आक्षेप लगाए भनेर के चित्त दुखाइराख्नु?

यक्षप्रश्न
हाम्रो परम्परागत मान्यता अनुसार समाजसेवा भनेको आफूलाई स्वेच्छाले समाजका निम्ति वितरित गर्ने जीवनशैली हो। विना करकाप, विना कुनै आशा। पैसाको मात्र होइन, यश र इज्जतको आशाभन्दा पनि माथि उठेपछि मात्र समाजसेवाको पवित्र संसारमा प्रवेश हुन सक्छ। आत्मसन्तुष्टि यसको एकमात्र प्राप्ति र उपलब्धि हो। ‘मलाई राज्यको कामना छैन, स्वर्गको आकांक्षा छैन, अरू त अरू मुक्तिको समेत अभिलाषा छैन, पीडित मानिसहरूको पीडा नाश गर्न पाऊँ, यही एकमात्र चाहना छ,’ राजा रन्तिदेवको यो उद्गार समाजसेवाको आदर्शवाक्य मानिन्छ। एउटा हातले दिएको अर्को हातले थाहा नपाओस् भन्ने हाम्रो आदर्शले समाजसेवा र प्रचारबाजीको सहअस्तित्व हुन नसक्ने मात्र प्रस्ट्याउँदैन, यो वैयक्तिक अहंकारलाई भस्म पारेर सर्वतोभावेन विनीत बन्ने प्रक्रिया हो भन्नेतर्फ पनि संकेत गर्छ। लक्षित समुदाय भन्दा आफूलाई उच्च र विशिष्ट ठान्ने अनि विलासी जीवनशैली अपनाउन रुचाउनेले आफूलाई समाजसेवी भन्न सुहाउँदैन।

यस परिप्रेक्ष्यमा, सर्वप्रथम स्वयं गैससहरू स्पष्ट हुनु जरूरी छ- उनीहरू समाजसेवी हुन् कि आत्मसेवी? गैससकर्मीहरू के हुन्- स्वयंसेवी कि तलबी कर्मचारी? समाजको समुन्नयनका लागि समर्पित रहेको दाबी त पर्याप्त गरिन्छ तर अन्तर्राष्ट्रिय दाताहरूले रकम प्रवाहित नगरे कति गैसस कायम रहलान्? पैसा नपाइने हो भने कति गैससकर्मी त्यो काम गर्न रुचाउलान्? यही सेरोफेरोमा उनीहरूका सामु खडा भएको ज्वलन्त यक्षप्रश्न हो– आफूमाथि लागेका आरोप र लाञ्छनाबाट उन्मुक्ति पाउन गैससहरूले के गर्नुपर्छ? यसको सही र स्पष्ट उत्तर गैसस आफैंले नठम्याएसम्म उनीहरूले विश्वासको संकटबाट मुक्ति पाउन सम्भव छैन। अहिलेसम्म त मर्यादा, नैतिकता, नियत र प्रतिष्ठामाथि लाञ्छनाको मात्र सामना गर्नुपरेको होला, तर भोलि त्यसका अन्य रूप पनि देखा पर्न सक्छन्।

अरूले देख्नुपर्ने
बिर्सन नहुने कुरा के हो भने यो असल छविका आधारमा काम गर्नुपर्ने क्षेत्र हो। गैससले राम्रो काम गरेर मात्र पुग्दैन, राम्रो नियतले काम गरेको पनि देखिनुपर्छ। आफूले देखेर हुँदैन, आफूसँग कहिल्यै सवालजवाफ गर्न नसक्नेहरूले त्यस्तो देख्न र महसूस गर्न सक्नुपर्छ। प्रत्येक कदममा, सधैभरि। कैयौं गैससहरूले इमान्दारीका साथ राम्रो काम गरेका छन्। उनीहरूका कारण समाजमा चेतना बढेको छ, विकृतिविरुद्ध लड्न सक्ने आत्मबल सिर्जना भएको छ, हेपिएका र पछि परेकाहरूमा आत्मविश्वास जागेको छ, तिनीहरू पुरुषार्थी र स्वावलम्बी बनेका छन्, तिनको व्यक्तित्व बढेको छ र समग्रमा सामाजिक रूपान्तरणलाई बल पुगेको छ।

तर, त्यसको विपरीत, अनेकौं गैससहरूकै बेइमानी र गलत कार्यशैलीले गर्दा यस क्षेत्रले लाञ्छना पनि खप्नुपरेको छ। दोषीका कारण निर्दोषहरू बदनाम भएका छन् र निर्दोषलाई ढाल बनाएर दोषीहरू छाती फर्काउँदै हिंडेका छन्। यस्तो अवस्थामा, नगरेको गल्तीको आरोप खेप्नुपर्दा स्वच्छ गैससकर्मीहरूलाई चित्त दुख्नु अस्वाभाविक होइन। तिनलाई लाग्दोहोला, यति धेरै राम्रा काम भएका छन्– तिनको चर्चा किन हुँदैन र खराब कुराले मात्र किन चर्चा पाउँछन्? केहीले गलत काम गर्दा होलान् तर किन सबैलाई एकै घानमा पारिन्छ? किन डलर खेतीको आरोप लगाइन्छ?

कारण अस्पष्ट छैन। पहिलो कुरा त, गैससलाई समाजसेवी संस्थाका रूपमा व्याख्या गरिने हुँदा समाजले उनीहरूबाट हाम्रो पारम्परिक मान्यता अनुुसारकै स्वच्छ एवं निस्वार्थ चरित्र र व्यवहारको अपेक्षा गर्छ। जब त्यस्तो देखिँदैन, आलोचना शुरू हुन्छ। जहाँसम्म डलर खेतीको प्रश्न छ, समाजले डलर खेती स्वयंलाई नराम्रो मान्दैन। उसले त डलर आर्जन गर्ने उद्योगी–व्यापारीहरू र विदेशबाट डलर कमाई पठाउने कामदारदेखि उच्च तहसम्मका व्यक्तिहरूलाई प्रशंसाकै दृष्टिले हेर्छ अनि बढीभन्दा बढी डलर ल्याउन र संचिति गर्न सक्ने सरकारप्रति गर्व नै गर्छ। समाजले त समाजसेवाको दम्भ गर्ने तर विदेशीका दान–दातव्यमा प्राण अड्काउने प्रवृत्तिलाई मात्र घृणा गरेको हो। सामाजिक रूपान्तरणको नारा दिने तर हरिया नोटलाई केन्द्रीभूत लक्ष्य बनाउने प्रवृत्तिलाई मात्र अवाञ्छनीय मानेको हो। यो त स्वागतयोग्य विषय हो, यसलाई अन्यथा लिने कामै छैन।

समाजको दुर्दशा देखाएर पैसा थाप्ने र लटरपटर गरेर आफ्नो खल्तीमा हाल्ने प्रवृत्ति वाञ्छनीय हुनै सक्तैन। दोस्रो कुरा, गैससलाई कुनै व्यक्ति वा समुदायले प्रार्थना गरेर, हाम्रो उद्धार गरिदिनुपर्‍यो भनेर खडा हुन लगाएको होइन, बरु उनीहरू आफ्नै इच्छा र चाहनाले निस्वार्थ सेवा गर्छु भन्दै खडा भएका हुन्। स्वेच्छाले गर्ने कामको उपलब्धि त्यसको प्रभावकारिता र आत्मसन्तुष्टिमा खोजिनुपर्छ, अरूले गर्ने प्रशंसामा होइन। प्रशंसा हुनु राम्रो हो, त्यो बेग्लै कुरा। राम्रा कुराको प्रशंसा भएन भन्ने आधारमा, क्षतिपूर्ति खोजेझैं, नराम्रा कुराहरूको पनि चर्चा नभए हुन्थ्यो भन्ने अपेक्षा गर्न त झन् किमार्थ मिल्दैन। प्रशासनदेखि राजनीतिसम्मका विभिन्न क्षेत्रहरूबारे स्वयं गैससकर्मीहरूबीच नै के कस्ता टिप्पणीहरू हुने गर्छन् भनेर ऐना हेर्ने हो भने गैससबारे अरूका टिप्पणी स्वतः स्वाभाविक लाग्न थाल्नेछन्। तेस्रो कुरा, एउटा बिराउने, शाखा पिराउने उखान गैससका बारेमा मात्र अपवाद हुन सक्तैन। तर, सगोलमा जेजस्ता टिप्पणी भए पनि, जसले यथार्थमा स्वच्छ तवरले प्रभावकारी काम गरेका छन् त्यस्ता गैससले त्यस समुदायमा राम्रो आदर, सम्मान र स्नेह पनि त पाएका छन्। तीमाथि अरूले अनाहक आक्षेप लगाए भने समुदाय नै प्रतिरक्षामा उत्रने गरेको पनि त छ नि। यो सानो उपलब्धि हो र?

पारदर्शी जवाफ
सही उत्तर ठम्याउन नसक्ता संकट आइलाग्ने प्रश्न नै यक्षप्रश्न हो। गैससमाथि लाग्ने गरेका आरोप र लाञ्छना पनि उपर्युक्त यक्षप्रश्नको उत्तर ठम्याउन गरिएको धिङ्न्याइकै उपज हुन्। तीबाट उन्मुक्ति पाउन के गर्नुपर्छ भन्ने उपाय वस्तुतः तिनै आरोप र लाञ्छनाको गर्भमा निहित- एकदमै स्पष्ट, सरल एवं पारदर्शी। एउटै वाक्यमा भन्नुपर्दा- जुन काम अरूबाट छलेर–लुकाएर गर्नुपर्छ र कसैले थाहा पाउला भनेर सधैं डराउनुपर्छ त्यस्तो काम नगर्नु नै त्यो उपाय हो। यही हो यक्षप्रश्नको सही उत्तर। आफूले गर्न हुने तर अरूले थाहा पाउन नहुने कुनै पनि काम सामाजिक संस्थाको लक्ष्मणरेखाभित्र पर्दैन। गैससहरू यति सामान्य कुरा बुझ्न नसक्ने स्तरका पक्कै छैनन्। तर, सुतेकालाई ब्यूँझाउन सकिन्छ, ब्यूँझेकालाई उठाउन अरूको जोर चल्दैन। त्यसका लागि उसकै चाहना र इच्छाशक्ति आवश्यक हुन्छ।

स्पष्ट छ, गैसस आत्मसेवी नभएर समाजसेवीका रूपमा अगाडि आउनुपर्छ। गैससकर्मी मूलतः स्वयंसेवी हुनुपर्छ। आफ्नो मात्र होइन परिवारको समेत रोजगारी चलाउने धन्दाबाट मुक्त हुनुपर्छ। गैससको नीति, नियम, सञ्चालन र व्यवस्थापन सबै पारदर्शी हुनुपर्छ। सरकार र अरूलाई दोष दिएर पानीमाथिको ओभानो बन्नेतिर होइन आफू के गर्दैछु भन्नेतिर अभिमुख हुनुपर्छ। सरकार पुग्न नसकेका ठाउँमा पुग्ने र उसले गर्न नसकेको सेवा प्रदान गर्नेतिर लाग्नुपर्छ। जनताको विश्वास एवम् आत्मीयता आर्जन गर्न हुरुक्क हुनुपर्छ। सरकारको परिपूरक र सहयोगी हुँदाहुँदै पनि सरकारको प्रत्यक्ष जिम्मेदारी रहेका आधारभूत आवश्यकताका क्षेत्रमा सोझै, प्रत्यक्ष फाल हाल्नबाट जोगिनुपर्छ।

विकास कार्य र सामाजिक सेवाबीचको सीमारेखा पहिल्याउन सक्नुपर्छ। दाताहरूलाई एजेन्ट गैससको उत्पादन बन्द गरेर भएका गैसस मार्फत नै काम गर्न सहमत गराउनुपर्छ र नेपालमा जे पनि गर्न–गराउन सकिन्छ भन्ने धारणा बदल्न व्यवहारतः बाध्य बनाउन सक्नुपर्छ। केन्द्रीय गैससले फील्डमा आफैं प्रोजेक्ट चलाउने काम परित्याग गरेर समुदायमा आधारित गैससहरूलाई मात्र त्यसमा परिचालित गराउनुपर्छ र आफूलाई नीति बनाउने, लबिङ गर्ने, तालिम–सहयोग–अनुगमन गर्ने, जनशक्ति विकास गर्ने जस्ता कार्यमा केन्द्रित एवं सीमित गर्नुपर्छ। समुदायका गैससमा त्यहींका मानिसले मात्र सम्पूर्ण काम गर्ने व्यवस्था हुनुपर्छ, यतिमात्रले पनि भ्रष्टाचारको सम्भावना स्वात्तै घटाउँछ।

रह्यो भाषाको कुरा। नेपालभित्र नेपालीले नेपालीका लागि चलाउने गैससहरू र तिनले गर्ने समग्र कामकाज, सूचना, विज्ञापन तथा सम्पूर्ण प्रकाशनहरू पूर्णतः नेपाली भाषामा मात्र सञ्चालन हुने परिपाटी शुरू गर्नैपर्छ। प्रपोजल र रिपोर्टलाई अबोधगम्य शब्दाडम्बर र जटिल फम्र्याटबाट मुक्ति दिलाएर सामान्य नेपाली लेखपढ गर्न सक्ने ग्रामीण नेपालीले पनि तयार गर्न सक्ने ढाँचामा ढाल्नैपर्छ। होइन भने जनताको सशक्तीकरण, पहुँच, पारदर्शिता जस्ता शब्द उच्चारण गर्ने ढोंग छोड्नुपर्छ। दाताहरूले नेपाली नबुझ्ने हुँदा उनीहरूसँग गरिने लेखापढी र व्यवहारमा अंग्रेजीको विकल्प नहोला, तर अंग्रेजीको प्रयोग एवम् उपयोग त्यत्तिका लागि र त्यही सीमाभित्र मात्र हुनुपर्छ। विदेशी दाताहरू र नेपाली संस्था तथा लक्षित समुदायबीच प्रत्यक्ष–अप्रत्यक्ष संवादका लागि छुट्टै अनुवादक संयन्त्र केन्द्रमा खडा गरिनुपर्छ। उनीहरू दुई–चारजना अनुवादक राख्नै नसक्ने गरीब त पक्कै छैनन् होला।

आफ्नै रोजाइ
बखतबहादुर हुने कि बलबहादुर, विनीता बन्ने कि देवकी, गैससकै रोजाइको विषय हो। जस्तो खेल खेल्न चाहने हो, त्यसका लागि मैदान खुला छ। समाजसेवाको संसारमा कर्म–फलको सिद्धान्तबाट छुटकारा पाउने कुनै उपाय छैन। बलबहादुरको काम गरेर बखतबहादुरको नाम कमाउने अथवा देवकीको गोरेटोमा हिंडेर विनीताको ठेगानामा पुग्ने चाहना राख्नु आफंैलाई धोका दिनु हो। त्यसले आफ्नो प्रशंसा आफैंले मात्र गरिहिँड्नुपर्ने र त्यो सुन्दा अरूलाई झिँझ्याट लाग्ने स्थितितर्फ धकेल्छ। बखतबहादुरको नाम खोज्ने हो भने काम पनि बखतबहादुरकै जस्तो गर्नुपर्छ। होइन भने, गैसस र तिनका क्रियाकलापप्रति समाजमा जति व्यापक एवं गहिरो असन्तुष्टि बढ्दैछ अनि प्रत्येक स्तरबाट जस्ता प्रतिक्रिया आउँदैछन् त्यसले कुनै दिन विस्फोटक रूप पनि लिन सक्छ। मुलुक अत्यन्त अस्थिर, तरल र अन्योलग्रस्त राजनीतिमा रुमल्लिंंदै गएको यो बेला असन्तुष्टिको यो अगुल्टो उपयोग गर्न कुनै गैरजिम्मेदार राजनीतिक शक्ति अघि बढ्यो भने त्यसबाट लाग्ने डढेलोले गैसस सञ्जाल मात्र होइन अरू धेरै थोक पनि ध्वस्त पार्न सक्छ। विचार त त्यहाँसम्म पुर्‍याउनुपर्ला नि!

यो पनि पढ्नुस्ः

एनजिओ आइएनजिओ शृङ्खला- १ : डलर खेती नराम्रो काम हो?

 

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 11:59:58

प्रतिकृया दिनुहोस

Loading...
  • केपी शर्मा ओली

    यो चुनावले हामी हिंड्ने बाटो निर्धारण गर्दैछ

    हामी देशको यस्तो राजनीतिक अवस्थामा छौं, जहाँबाट देश कतातिर जाने भन्ने बाटो फाट्छ। राष्ट्रियतालाई बलियो बनाउने बाटोतिर जाने कि, राष्ट्रियतालाई कमजोर...

  • डेढ वर्षअघि बेइजिङमा राष्ट्रपति सीसँग भेट्दै तत्कालीन प्रधानमन्त्री केपी ओली (फाइल फोटो)

    सीको दोस्रो कार्यकाल नेपाललाई थप अवसर

    चीनमा सीको पुनरावृत्तिको अर्थ हो– अर्को ५ वर्ष चीनको विकासले तीव्र गति लिनेछ र त्यसमा विशेषगरी छिमेकी देशहरूलाई समाहित गरिनेछ। महाधिवेशनमा प्रस्तुत...

  • दल एकिकरण समारोहमा कांग्रेस सभापति देउवासँग गच्छदार

    मधेसी राजनीतिको यस्तो विचित्र पक्ष

    मधेस राजनीतिमा कुनै बेला हृदयेश त्रिपाठी र विजय गच्छेदार एक अर्काका प्रतिस्पर्धी थिए । तर एक दशकभित्रै दुबैलाई मधेसी राजनीतिबाट बिकर्षण पैदा भएको...

  • गल्फले खोज्दैछ एनआरएनएको नजर

    हामी गर्वका साथ भनिरहेका छौं, रेमिट्यान्स झण्डै एक वर्षको बजेट बराबर आउँछ। त्यो रेमिट्यान्स पठाउने तिनै नेपाली हुन्, जो वैदेशिक रोजगारीमा छन्। तर,...

  • सी जिनफिङ

    सी जिनफिङः पाँच वर्षका पाँच उपलब्धि

    गरिबी विरूद्धको अन्तिम युद्ध लड्न चीनले सबै खाले प्रयास जारी राखेको छ। १८औं राष्ट्रिय कांग्रेसले पाँच वर्षमा लिएको लक्ष्य थियो, गरिबीबाट उम्किएर...

  • शेरबहादुर देउवा

    कस्तो होला प्रम देउवाको चौथो प्रस्थान?

    एमाले–माओवादी केन्द्रबीचको मिलनबाट आत्तिएर संसद विघटनसँगै अस्वाभाविक कदम चाल्न थाले भनेचाहिँ निश्चित छ, ओलीजस्ता चतुर नेतालाई समेत चक्मा दिँदै...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी

    मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा...

  • रोहित, अनिल र अासिफ

    यी हुन् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने युवा खेलाडीहरु

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बरमा हुने युएई विरुद्धको खेलको तयारीका लागि यसअघि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुकाे नाम...

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...