हजार वर्षदेखि लडिरहेको छ मधेस

उहिले धार्मिक उद्देश्यले नेपाल पसेका तिरहुतीयहरू ‘खस’ राज्यको सहयोगमा काटिन्थे



Kshamadevi Group


तस्विरः ह्युमन राइट्स वाच

अहिले पनि तराई–मधेसप्रति काठमाडौंका कुलीन र पश्चिमका ‘खस’ शासकले उपनिवेशको व्यवहार गरिरहेका छन्

०६२/६३ पछि परिवर्तनको लाभमा आफ्नो हिस्सा दाबी गर्दै आएको तराई–मधेसको सवाललाई नेपालको संविधान, २०७२ ले सम्बोधन गर्न नसकेपछि ६ महिना लामो आन्दोलन भयो। तर त्यो सम्बोधन गरेन। सोही अवधिमा अखण्ड सुदुरपश्चिमका नाममा उठेको आन्दोलन भने २० दिन नपुग्दै सफल भयो। यहाँ काठमाडौं, तराई–मधेस र सुदुरपश्चिमको ऐतिहासिक सम्बन्धबारेमा चर्चा गर्ने प्रयास गरिएको छ। 

मधेसबारे काठमाडौं के भन्छ?
मधेस मामिलामा काठमाडौंको हिजो र आज पनि एउटै दृष्टिकोण र कथन छ– मधेसी शासनसत्तामा आए भने राष्ट्रियता खतरामा पर्छ, मधेसीहरूमाथि विभेद भयो भनिनु केही अंगीकृत नागरिकताधारीहरूको मात्र क्रन्दन हो, मधेसको आन्दोलनद्वारा काठमाडौँलाई घुँडा टेकाउने र ‘मधेसीका नाममा’ सत्ताको प्रत्याभूति एवं अवसरको खोजी गर्ने मधेसी नेता, आफ्ना श्रीमतीलाई सांसद बनाएर ‘भत्ता’ असुल गर्ने मधेसी नेता, भारतको इसारामा मधेसको अधिकारको कुरा गर्ने देशविरूद्ध ‘दिल्ली’ धाउने मधेसी नेता आदि।

इतिहासकार र बौद्धिकहरूको रटान पनि ‘काठमाडौं भ्रामक कथन’कै निरन्तरता हो– नेपालको इतिहासमा गम्भीर जातीय द्वन्द्व वा युद्ध भएन, मिश्रित बसोबासको पहिचानले नै नेपाललाई सदियौंदेखि सुदृढ, अक्षुर्ण, सबल, अटल र गतिशील बनाएको छ, नेपालका दरबारमा धर्म, दर्शन, संस्कृति र राजनीतिशास्त्रको विद्वानको रूपमा तिरहुतीया र मैथिल ब्राह्मणहरूले सम्मानित स्थान पाए, राजा जयस्थिति मल्लले मैथिल ब्राह्मणहरूको सहयोगमा थिति बसाए आदि।

एक विद्वान लेख्छन्ः तिरहुतीया रानी देवलदेवीको निर्देशनमा काठमाडौं उपत्यकाको राज्य मात्र चलेन, मल्लहरू आफैं पनि तिरहुतीया हुन पुगे। मल्लहरूले ‘तलेजु भवानी’लाई कूलदेवी माने। पृथ्वीनारायणले वि.सं. १८२५ मा काठमाडौं विजय गरेपछि त्यसअघि ‘मल्ल राजाका’ सेवक रहेका मैथिलहरू उपेक्षाको सिकार भएको भन्ने आरोप झुठा हो। जगदम्बा प्रकाशानद्वारा २०२५ सालमा प्रकाशित पृथ्वीनारायण शाहको उपदेश पुस्तकको पृष्ठ ८९३ मा उल्लेख भएअनुसार राजा पृथ्वीनारायण शाहबाट तेह्रौंतिया ब्राह्मणहरूको जिउ–धनको रक्षा गरिएको हो। यससँगै अर्को (कु)तर्क छ, यदि शाहकालमा मधेसीहरूमाथि विभेद भएको हुन्थ्यो भने रणबहादुर शाहले तिरहुतीया कान्तावतीलाई किन विवाह गर्थे ?(उज्वल चापागाइँ, हिमाल पाक्षिक १–१५ : २०६८)।

इतिहासकार दिनेशराज पन्तको गोर्खाको इतिहास दोश्रो भागअनुसार गोर्खा राज्यमा काठमाडौं विजयअघि नै मैथिल ब्राह्मणहरूको उपस्थिति थियो। माधव मिश्रले वि.सं. १६७९ मै राम शाहका लागि ‘राघवपाण्डीय’ सारेर दिएका थिए। मेघदूत पनि राम शाहकै लागि सारिएको थियो। काशीनाथ नामका अर्का तिरहुतिया पण्डितले डम्बर शाहका लागि वि.सं. १६९२ मा ‘कालिका पूजाविधि’ सारिदिएका थिए।

अर्का विद्वानले मधेस मामिलामा निरन्तर वकालत गर्दै आएका अधिवक्ता दीपेन्द्र झालाई युरोपियन पैसा ल्याएर मधेसमा देशविरोधी अभियान चलाएको आरोप लगाउँदै लेख्छन्? तिरहुतिया विधवा कान्तावतीलाई विवाह गरेका रणबहादुर शाहका पुत्र–प्रपौत्रले २०६३ सालसम्मै शासन गरे। मैथिल ब्राह्मणले जंगबहादुर राणालाई मुलुकी ऐन बनाउन सघाए। तराईमा जंगल फाँडेर काठ बेच्न र आवाद जमिनमा बस्ती बसाएर कुत उठाउन दक्षिणका मानिसहरूलाई बसाइँका लागि प्रेरित गर्ने राणाहरूको नीतिले थप केही जात–जातिलाई नेपाल प्रवेश गरायो(डा. युवराज संग्रौला, नागरिक दैनिक २९ चैत २०७३)।

तराई–मधेसमा ‘मैथिल ब्राह्मण’, जसले नेपालको राजकाजमा अपहेलित भएरै भएपनि नाममात्रको प्रवेश पाएका थिए उनीहरूलाई मात्र देख्ने इतिहासकार र बौद्धिकहरूलाई केही भन्नु नै छैन। तराईमा मुस्लिम, थारू, मधेसी दलित, पिछडा वर्गलगायतका जात–जातिहरूको राज्य संरचनामा सहभागिता र पहिचानको सवाललाई ‘मैथिल ब्राह्मण’सँग जोडेर हेर्नु गलत र नियोजित ‘भ्रामक कथन’भन्दा अरू केही होइन। मधेसको इतिहासमा लुकाइएका यस्ता धेरै तथ्यहरू छन्, जुन खोतल्न अझै बाँकी छ।

मधेसबारे लुकाइएका तथ्यहरू के–के हुन्?
प्राचीन ‘विदेह’को राजधानी जनकपुर थियो र त्यसका राजा जनक थिए। यजुर्वेद संहिता, बौद्ध जातक कथा, विष्णु पुराण, रामायण, महाभारतमा यस क्षेत्रलाई ‘विदेह’ भनिएको छ। सन् १९८९ मा मिसेल विटजेलले गरेको एक अध्ययनअनुसार ईशाको ११००–५०० सम्ममा यो राज्य कुरू र पञ्चालासँगै दक्षिण एसियाको मुख्य राजनीतिक तथा सांस्कृतिक केन्द्रको रूपमा विकास भएको थियो। ‘इन्साइक्लोपिडिया अफ हिन्दूजम’का अनुसार राजा जनकका छोरा मिथिलाले ‘मिथिलापूरी’को स्थापना गरेका थिए जहाँ ५२ राजाहरूले यस क्षेत्रमा राज्य गरेका थिए। तत्कालीन मिथिला सभ्यताको वैभव अहिले पनि तुलना हुन सक्दैन।

तराई–मधेसको अविकासको कारण खोज्नुपूर्व तराई–मधेसमाथि राज्यविभेदको ऐतिहासिक शृङ्खलालाई हेर्नुपर्ने हुन्छ। त्यो विभेदको सुरूवात आजभन्दा करिब ९२० वर्षदेखि सुरू भएको लिखित इतिहास छ।

गोपालराजवंशावली अनुसार वि.सं. ११५४ मा कर्णाटक वंशीय राजा नान्यदेवले सिमरा–वनगढलाई अर्थात् हालको बारा जिल्लाको कलैयादेखि बीस किलोमिटर दक्षिण–पूर्वमा राजधानी बनाई ‘सिम्रौनगढ’ राज्य स्थापना गरे। त्यत्तिबेला उपत्यकामा हर्षदेव राजा थिए भने कर्णाली प्रदेशमा खसराजा नागराजले ‘सिंजा’ राजधानी बनाएर छुट्टै स्वतन्त्र राज्य खडा गरेका थिए।

नान्यदेवले सिम्रौनगढ राज्य स्थापना गरेको करिब १४ वर्षपछि वि.सं. ११६८ मा मल्ल भारदार नरमल्लदेव पोहले तिरहुतीयाहरूलाई खड्कले काटेको उल्लेख गरिएको छ (गोपालराजवंशावली ३२–३३ पत्र)। जब नरमल्लदेवले तिरहुतीयाहरूलाई काटे त्यसपछि नेपाल उपत्यका र तिरहुतको दूरी बढ्दै गयो। त्यस समय तिरहुतीयाहरू काटिनुको कारण इतिहासमा कसैले खोजेन, खोज्न पनि चाहेन। नान्यदेवपछिको शासनकालमा ‘खस’ र ‘मल्ल’ गठबन्धनले तिरहुतीयहरूलाई चेपुवामा पारी उपत्यकाबाट खेदेको इतिहासले यो हत्याको रहस्य खोलिदिन्छ।

जिजुबुवाको पालामा आफ्ना नागरिकमाथि भएको अत्याचारको बदला लिने उद्देश्यले नान्यदेवका पनाति रामसिंहदेवले केन्द्रका राजा अभय मल्लको पालमा वि.सं. १३०१ र १३०२मा दुई पटकसम्म नेपाल उपत्यकामा आक्रमण गरे। तर, उनीहरूले हारे। खंडाधार डाँडामा र भुंथलीमा धेरै तिरहुतीयाहरू काटिए (गोपालराजवंशावली ३४–३६ पत्र)।

धनबज्र बर्जाचार्यको गोपालराजवंशावलीको ऐतिहासिक विवेचनाका अनुसार तिरहुतीय र नेपाल उपत्यकाका राजवंशहरूसँगको पारिवारिक सम्बन्ध वि.सं. १३१६ जयभीमदेवको पालादेखि सुरू भएको थियो। उनका छोरा जयादित्यदेवको विवाह तिरहुतीया कुमारी विस्मादेवीसँग भएको थियो। तत्कालीन एकान्तर राज्य सञ्चालन पद्दतिअनुसार जायादित्य वि.सं. १३३२ मा अनन्त मल्ल राजगद्दीमा छँदा युवराज बनाइएका थिए। अभय मल्लको पालापछि नेपाल उपत्यकामा ‘देव’ र ‘मल्ल’ उपाधिधारीराजाहरू एकान्तर गद्दी आरोहण परम्पराअनुसार एक वंशको राजा हुँदा अर्को वंशको युवराज बनाइन्थे।जयादित्यको विवाह तिरहुतीया कुमारीसँग भएका कारण मल्लहरूलाई र खसहरूलाई मन परेको थिएन। त्यसपछि तिरहूत र केन्द्रबीचमात्र देखिएको द्विपक्षीय संघर्षमा पश्चिमको खस राज्य पनि जोडिन आयो। सुरूमा खस राजाहरूको उपत्यकामा आक्रमण मुख्यतः तिरहूतेहरूको प्रभावलाई निस्तेज गर्नका लागि भएको थियो। यस बखत तिरहुतीयाहरू ‘देव’ उपाधिधारीहरूको पक्षमा र खसहरू ‘मल्ल’ उपाधिधारीहरूको पक्षमा बाँडिए।

जयादित्यदेव ‘मल्ल’हरूसँगको संयुक्त शासनमा आफ्नो प्रभाव बढाउन चाहन्थे। तर, उनको आफ्ना सहोदर भाइ जयानन्ददेवसँग राम्रोसम्बन्ध थिएन। जयानन्दसँग जयादित्यको बेमेल भएको मौकामा मल्ल वंशका युवराज रूद्र मल्लको सहयोगमा खस राजा जितारी मल्लले वि.सं. १३४४, ४५ र ४६ मा गरी तीनपटक नेपाल उपत्यकामा आक्रमण गरे। त्यसको लगत्तै जयादित्यले तिरहुतीया ससुरालीहरूको सहयोगमा आक्रमण गराए। त्यसको केही समयसम्म तिरहुतीयाहरूले नेपाल उपत्यकामा आफ्नो प्रभाव जमाएका थिए (गोपालराजवंशावली २६ पत्र)। यसपटक केही तिरहुतीयाहरू नेपाल उपत्यकामा आएर बसे।

जयादित्यदेवको मृत्युपछि उनका छोरा जयशक्तिदेवले तिरहुतीय मावलीको सहयोगमा वि.सं. १३५६, ६७ र ६८ मा गरी तीन पटक नेपाल उपत्यकामा आक्रमण गरे। त्यत्तिबेला हरिसिंहदेव तिरहूतका राजा थिए। बनेपामा मल्लहरूले(तरि) तराईका थुप्रै मानिस काटेका थिए ( गोपालराजवंशावली ४२–४३ पत्र)। तिरहुतीयाले आक्रमण गरेको तगत्तै खस राजा रिपुमल्लले वि.सं. १३६९ फागुनमा नेपाल उपत्यकाको भ्रमण गरे। उनको भ्रमणको मुख्य उद्देश्य तिरहुतीयाहरूको आक्रमणबाट थलिएका जयानन्द र रूद्रमल्लहरूलाई सहानुभूति दिनु थियो (पूर्ववत्)। त्यसको अर्को वर्ष वि.सं. १३७० मा रूद्र मल्लले दुई वर्षअघिदेखि बसेका तिरहुतीयाहरूलाई नेपाल उपत्यकाबाट धपाएका कारण चुनिगलमा उनको ठूलो स्वागत गरियो (पूर्ववत्)।

विध्यालंकार एस.केले ‘मोडर्न हिस्ट्रि अफ एसियामा’ उल्लेख गरेअनुसार दिल्लीका तत्कालीन सुल्तान ‘गयासुद्धिन तुगलक’ले वि.सं. १३८१ मा गंगा नदीको उत्तरतर्फबाट बंगालतिर बढ्दैजाँदा बाटोमा पर्ने समृद्ध राज्य ‘तिरहुत’को स्वतन्त्र राज्यमाथि पनि धावा बोले। यो आक्रमणको सामना गर्न नसकी तत्कालिन तिरहूत राजा हरिसिंहदेव मन्त्रीहरूसहित नेपालतर्फ लागे। गयासुद्धिनको आक्रमणबाट तिरहूतका सबै सम्पदा र संस्कृति ध्वस्त बनाइयो। त्यसपछि लामो समयसम्म त्यहाँको संस्कृति उठ्न सकेन।

वि.सं. १३८२ मा दोलखाको तीनपाटनमा हरिसिंहदेवको मृत्यु भयो। रूद्र मल्लले सबैलाई पक्रिएर थुनामा हाले। हरिसिंहदेवकी रानी देवलदेवी र छोरा जगतसिंह कुंमरलाई शरण दिएर दरवारमा राखे। दरवारमा देवलदेवीले शरण लिएको रूद्र मल्लका भारदार र खस राजा आदित्य मल्ललाई पनि मन परेको थिएन। गयासुद्धिन तुगलले १३८४ मा नेपाल उपत्यकामा फेरि आक्रमण गरे। गयासुद्धिनको आक्रमणका कारण सुनकोशी किनारैकिनार ज्यान जोगाउन यसअघि उपत्यका छिरेका र लुकेर बसेका बाँकी तिरहुतीयाहरूलाई खस–मल्ल गठजोडले फेरि लखेटे।

वि.सं. १३८३ मा रूद्र मल्लको मृत्यु भयो। रूद्र मल्लकी छोरी नायकदेवीलाई बजै पदुमलदेवीले र देवलदेवीले हुर्काए। यता नायकदेवीको विवाह गर्नका लागि दरवारमा केटा खोज्न सुरू गरियो। मल्ल भारदारहरू पदुमलदेवीलाई सहयोग गर्न तयार थिएनन्। उनीहरू आफै गद्दी हात पार्न चाहन्थे। तत्कालीन प्रचलन अनुसार राजाको उत्तराधिकारी छोरा नभएमा छोरीज्वाइँले समेत राज्य सञ्चालन गर्न पाउने भएकाले पदुमलदेवीले देवलदेवीको सहयोग लिइन्। देवलदेवीको सहयोगमा पदुमलदेवीले नायकदेवीको विवाह गराइन्। विवाहका लागि देवलदेवीले उपत्यकाका मल्लहरूको सट्टा काशीको राजवंशका हरिचन्द्रदेवसँग विवाह गराइदिइन् (गोपालराजवंशावली ४६ पत्र)।

दरबारमा हरिचन्द्रदेवको प्रवेशसँगै मल्ल भारदारहरू उनको खोइरो खन्न थाले। पदुमलदेवी त्यतिबेलै केही भारदारहरूसँग नातिनीज्वाइँको सुरक्षाका लागि सहयोग नै मागिन् (पूर्ववत्)। वि.सं. १३८९ मा पदुमलदेवीको मृत्यु भयो। त्यसको तीनवर्षपछि मल्ल पक्षका भारदार ‘थयित’लगायतले हरिचन्द्रदेवलाई विष प्रयोग गरेर मारे (गोपालराजवंशावली ४७ पत्र)। नायकदेवी एक्लै भएपछि उनको सम्बन्ध देवलदेवीका छोरा जगतसिंह कुँमरसँग बढ्यो। उनले नायक देवीलाई ल्याइते बनाए। यसबीच देवलदेवीका आमा–छोराले शक्तिसाली मल्ल भारदार ‘थयित’सँग पनि राम्रो सम्बन्ध बनाए। तर, लगत्तै वि.सं. १३९१मा खसराजा पुण्य मल्लले आक्रमण गरे। सुरूमा खसहरूले जगतसिंह कुमरलाई साथदिने ‘थयित’लाई मारे। त्यसपछि साखुमा रहेका ४० जना तिरहुतीयाहरूलाई पनि मारे। त्यसपछि खस–मल्लहरूको सहयोगमा जगतसिंह कुमरलाई पनि कैद गरे। त्यससमय उपत्यकामा अरिमल्ल राजा थिए। उनको मृत्यु वि.सं. १४०१ मा भएको थियो।

अरिमल्लपछि देवलदेवीको सहयोगमा राजदेव (जयानन्ददेवका छोरा)राजा भए। देवलदेवीले उनलाई सहयोग गर्नुको कारण उनी तिरहूते चेलीका छोरा थिए। जयानन्ददेवले उत्तरविहारका महापाल राजेन्द्रपाली छोरीलाई ल्याइते बनाएका थिए (गोपालराजवंशावली ४५ पत्र)। राजदेवकै पालामा उपत्यकामा शमसुद्धिनको आक्रमण भएको थियो।

वि.सं. १४०३ मा जगतसिंहकुमरकी छोरी राजल्लदेवीको जन्म भयो। आठ वर्षको उमेरमा हजुरआमा देवलदेवीले दक्षिण मधेसबाट एक युवक झिकाई राजल्लदेवीको विवाह गराइन्, ती युवक थिए जयस्थिति मल्ल। तर, जयस्थितिमल्ल पनि तिरहूते भएका कारण उनलाई गद्दीमा आउन नदिन जयार्जुनदेव, जयसिंहरामहरूले निकै ठूलो बलगरे। जयस्थिति मल्लले १४२९ र १४३७ मा क्रमश जयसिंहरामलाई कैद गरे भने जयार्जुनदेवलाई देश निकाला गरे। उनले मल्लहरूलाई विश्वास गर्न सकेनन् र आफ्नै थलो तिरहूतबाट मैथिल ब्राह्मणहरू झिकाई १४३६ को मानवन्यायशास्त्र निर्माण गरि विभिन्न स्थिति र सुधारका कामहरू गरे। जबकि ‘खाल्डो’का इतिहासकारहरू मल्लहरू समेत तिरहुतको रगत् हुन् भन्ने प्रचार गरिरहेका छन्।

यसरी हेर्दा नान्यदेवको पालादेखि पृथ्वीनारायण शाहको उदय हुनुपूर्वसम्म तिरहुत र नेपाल उपत्यकाबीच संघर्ष चलिरह्यो। यो संघर्षको बीचमा पश्चिमको खस राज्यले नेपाल उपत्यकाको राजगद्दीधारी ‘मल्ल’हरूलाई सहयोग गरे। खसहरूले मल्लहरूलाई सहयोग गर्नुको निहितार्थ नेपाल उपत्यकामा तिरहुतीयहरूको नामोनिसान मेट्नु नै थियो। जब–जब तिरहुतीयहरू धार्मिक उद्देश्यले नेपाल उपत्यका पस्थे उनीहरू ‘खस’ राज्यको सहयोगमा काटिन्थे।

इतिहासकारहरूले सुनेकै भरमा जयस्थिति मल्ललाई ‘मल्ल’ राजा भनिदिए र तलेजु भवानीलाई मल्लहरूकी कूल देवी लेखिदिए, जबकि सिम्रौन गढका राजा हरिसिंहदेवले १३६८ मा आफ्नी कूलदेवी ‘तुलजा भवानी’लाई काठमाडौं ल्याएका थिए। जयस्थिति मल्ल आफै पनि तिरहूतिय थिए। उनलाई मल्ल भारदारहरू जयार्जुनदेव र जयसिंहरामले तिरहुतीय भएकै कारण नेपाल उपत्यकाबाटै लखेट्ने प्रयास गरेको लिखित इतिहास छ। जयस्थिति मल्ल आफै राजा भइसकेपछि पनि मल्लहरूको विश्वास गर्न नसकि तिरहूततिरबाटै मैथिल ब्राह्मणहरूलाई सल्लाहकारका रूपमा नियुक्त गरेका थिए। जयस्थिति मल्लअघि तिरहुतीय हरिचन्द्रदेव र गोपालचन्द्रदेव नेपाल उपत्यकामा काटिएका थिए। त्यस्तै तिरहुतीयहरूप्रति सहानुभूति राख्ने ‘थयित’जस्ता मल्ल भारदारहरूसमेत आफ्नै भारदारद्वारा काटिए। बरू चतुर र राज्य कुशलताका कारण जयस्थिति मल्ल आफै उपत्यकाका मल्लहरूबाट काटिएन्, जोगिए।

मल्लकालमा देवलदेवीले कहिल्यै राज्य चलाइनन्। शरणार्थीको रूपमा नेपाल उपत्यका आएकी देवलदेवीले शरण पाएदेखि नै उनी खसहरूको तारो बनेकी थिइन्। उनी राज्यको हर्ताकर्ता भएको भए आफ्नै माइतीतिरका आफैले बोलाएका हरिचन्द्रदेव, गोपालचन्द्रदेव र आफ्नै छोरा जगतसिंह कुँमरले मल्लहरूबाट मारिनुपर्ने थिएन। रूद्र मल्लकी आमा ‘पदुमलदेवी’ले आफ्ना तिरहुतीय ज्वाइँहरूको रक्षाका लागि भारदार गुहार्नु पर्ने थिएन। आफ्नै नातिनीज्वाईं जयस्थितिले ‘मल्ल’ पदवी धारण गरेर मल्लहरूको चाकडी गर्नुपर्ने थिएन।

इतिहास पुनरावृत्तिका समकालीन प्रमाणहरू
जयस्थिति मल्लपछि पनि तिरहुतीयहरू सहजै नेपाल उपत्यका प्रवेश गर्न पाएनन्। उनीहरूलाई सधै बाहिरियाको व्यवहार गरियो। खस–मल्लहरू आपसमा पनि लड्थे तर तिरहुतीयहरूप्रतिको उनीहरूको धारणा भने एउटै थियो। खसराज्य उपत्यकासम्म राज्य विस्तार गर्न चाहन्थ्यो। तर, यो कार्यमा कला, सिप र ज्ञानका धनी तिरहुतीयहरू बाधक बनेका थिए।

इतिहासकारहरू एकाद झा, मिश्र र मैथिल ब्राह्मणहरूलाई देखाएर मध्यकालदेखि नै तिरहुतीय अर्थात् मधेसीहरू काठमाडौंको नेवार समुदायसँग एकाकार भएका थिए र अझ नेवारी भाषा तामाङ र मैथिली भाषाको संयोजन हो भन्ने जुन तर्क सार्ने गरेका छन् त्यसको कुनै ठोस प्रमाण पाइँदैन। बरू, मुस्लिम आक्रमणपछि मूलथलोमा फर्कन नसकेका र खस–मल्लहरूको कत्लेआमबाट बचेका तिरहूतियहरू ज्यान जोगाउन नेवारहरूकै नाम, थर र संस्कृति ग्रहण गर्न बाध्य भएका थिए।

नेपालमा शाह वंशीय राज्य विस्तार (सन् १७५०—१८४५) भएदेखि होस् या मल्लकाल इतिहासलाई केलाउदा पहिलादेखि नै नेपालको राजनीतिक शक्ति समीकरणमा मधेस ‘पराया’का रूपमा रहेको छ। इतिहासकारहरू (महेशचन्द्र रेग्मी १९८४, ह्योमे के २००५) ले तराईलाई नेपालको शक्तिको श्रोत (कन्स्टिचुयन्ट युनिट) का रूपमा रहेका पहाडे मूलका काठमाडौँका कुलिन र भारदारहरूलाई आर्थिक र अरू किसिमले लाभ पुर्‍याउने उपनिवेशका रूपमा उल्लेख गरेका छन्। त्यसको प्रभावस्वरूप एकीकरणपछि पनि नेपाली शासकहरूले तराईलाई उपनिवेशका रूपमा व्यवहार गरिरहेका छन्।

दुई वर्षअघि वि.सं. २०७२ जेठ २६ मा माओवादी, कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच अन्तरिम संविधानविपरीत ‘सीमाङ्कन र सङ्घीयताबिनाको संविधान जारी गर्ने’ १६ बुँदे सम्झौता भयो। सो सम्झौताविरूद्ध (मध्यकालीनतिरहुतीय) रक्षाराम चमार, रिता शाह र विजयकान्त कर्णले सर्वोच्चमा रिट हाले। सर्वोच्चले अदालतले सरकारका नाममा अन्तरिम आदेश गर्‍यो। सरकारमा हालीमुहाली चलाएका मधेसीइतरका राजनीतिक दलहरूले ६ वटा प्रदेशहरूको संविधानमा व्यवस्था गरे। तर, त्यसविरूद्ध अखण्ड सुदूरपश्चिमको नाममा (खस)सुर्खेत र कैलालीमा प्रदर्शन भयो।

०७२ साउन २४ देखि २० दिनसम्म भएको आन्दोलनमा छ जना मारिए। २० दिनपछि सरकारले आन्दोलनकारीहरूसँग सम्झौता ग¥यो र मुख्य राजनीतिक दलहरू ६ प्रदेशलाई सात प्रदेशमा संशोधन गर्न बाध्य भए। यो आन्दोलनमा शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्ट खुलेर लागे गृहमन्त्री रहेका बामदेव गौतमले समेत आन्दोलनमा सहयोग नै गरे। उनीहरू खाँट्टी खसहरू नै थिए।

मधेसमा ०६२ साल चैतमा मधेसी जनअधिकार फोरमको सक्रियतामा राजतन्त्रविरूद्ध आन्दोलन सुरू भयो। त्यसपछि २०६३ साल माघ २ गते पुनः मधेसमा सुरू भएको आन्दोलन आन्दोलनले उठाएका ८ वटा मागमध्ये मधेस स्वायत्व राज्यको मागसहित तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ साल फागुन १६ गते ८ बुँदे सहमति गर्‍यो। यो आन्दोलनकै बलमा अन्तरिम संविधानमा संघीयता भन्ने शब्दले प्रवेश पायो। तर, ८ बुँदे सहमतिको सरकार पक्षले कार्यान्वयनमा उदासिनता देखाएपछि त्यसपछि पनि मधेस शान्त रहन सकेन।

चार प्रमुख दलबीच २०७२ जेठमा भएको १६ बुँदे सहमतिबाट मधेस फेरि झस्कियो र आन्दोलित भयो। मधेसी समुदाय सरकारको सङ्घीयता र सीमाङ्कनसँग खुसी भएनन्। उनीहरूको मुख्य माग सीमाङ्कन, समावेशी, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व तथा समानुपातिक समावेशीकरणको मुद्दा उठाएर आन्दोलन कायम राखे। करिब ६ महिना आन्दोलनमा होमिएको तराई–मधेसमा आन्दोलनमा ५३ जनाले ज्यान गुमाए। सरकारसँग पटकपटक वार्ता भए तर समस्याको समाधान र मुद्दाको सम्बोधन हुन सकेन।

(तिरहुतीय) मैथिली भाषा र संस्कृति नेपाली (खस) भाषाभन्दा पनि पुरानो छ। मैथिली भाषाको साहित्य लेखन परम्परा सातौ शताब्दीदेखि नै सुरू भएको छ। महाकवि विद्यापति जस्ता कविको जन्म र साहित्य सिर्जना हुँदा नेपाली भाषा खस भाषाको रूपमा पहाडका कन्दरामा मात्र सीमित थियो। खस भाषाको नामाकरण गोर्खाली हुँदै नेपाली भएको एक शताब्दि पनि पुगेको छैन। गोरखा भाषा प्रकाशन समितिको जन्म नै वि.सं. १९७५ मा भएको थियो। शासकहरूले गोर्खाली भाषाको नामाकरण नेपाली राखिएको करिब ७५ वर्ष भएको छ।

नयाँ संविधानले मधेसमा विगतको ९ सय २० वर्ष लामो दलनको राजनीतिक सम्बोधनमात्र होइन, भाषिक सम्बोधन समेत गर्न सकेको छैन। समृृद्ध मिथिला संस्कृति आज मृतप्रायः छ। ज्ञान र दर्शनको उद्गमस्थल आज शुष्क र मुर्छित छ। राज्यविभेदको तहगत प्रभाव अझ फैलाउँदो छ। पहिचान, सीमाङ्कन, समावेशीकरण र माटोप्रतिको अपनत्व मधेसले अझै अनुभूति गर्न पाएको छैन। त्यसैले संघीयता र प्रदेशका सीमांकनहरूमा मात्र सिमित नभई तराई–मधेसको तिरहुतीय(मिथिला स्वर्णयुग) विरासतलाई पुनःजागृत गराउन तराई–मधेस पुनः सशक्त रूपमा उठ्न आवश्यक छ।

प्रकाशित ६ असार २०७४, मंगलबार | 2017-06-20 17:47:06
Max TV
Max TV
Vianet

author photo

शिवहरि ज्ञवाली दलित मानवअधिकारबारे कलम चलाउँछन्

@BaNkaila

शिवहरि ज्ञवालीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।