यी हुन् काठमाडौंका पहिलो मेयर

‘फूलमार’ चुरोटको पेटीलाई मतपेटिका बनाइयो । नगरप्रमुखलाई मेयर नभनी चेयरमेन भनियो



Kshamadevi Group


काठमाडौंका पहिलो मेयरमा निर्वाचित जनकमान श्रेष्ठ
काठमाडौंका पहिलो मेयरमा निर्वाचित जनकमान श्रेष्ठ

‘तपाईं तयार हुनुस्, हामी भोट दिन्छौँ। यसो गर्दा कांग्रेसले प्रजापरिषद्लाई भोट दिए पनि नौ/नौ भोट हुन्छ र कानुनबमोजिम बराबर हुँदा गोला हाल्नुपर्छ। एकजना कसैलाई प्रभावित गर्न सक्नुभयो भने जितिहाल्नुहुन्छ।’

काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचन यतिखेर देशभरिकै चासोको केन्द्रमा छ। काठमाडौंको मेयर पदमा को विजयी होला भन्ने अनुमान चलिरहँदा यही नगरका पहिलो मेयर जनकमान श्रेष्ठ चाहिँ ८७ वर्षको उमेरमा टेकुस्थित घरमै आराम गरिरहेका छन्।

को हुन् त जनकमान?
वि.सं. १९८५ मंसिर ७ गते जन्मिएका जनकमान श्रेष्ठ २५ वर्षको उमेरमा (वास्तविक त २४ वर्षमै) काठमाडौँको नगरपिता निर्वाचित भएका थिए। त्यसबेला मानविकीतर्फ स्नातक उनले मेयर निर्वाचित भई सरकारको कोपभाजनमा परेर सङ्घर्ष गर्ने क्रममा कानुनमा समेत स्नातक उत्तीर्ण गरेका थिए। २००७–११ सम्म उनी उपत्यकाभित्र असाध्यै सक्रिय र नेकपाका संस्थापक महासचिव पुष्पलालका अत्यन्तै भरोसायोग्य कार्यकर्ता थिए।

त्यसबखत पार्टीका केन्द्रीय नेताहरूको काठमाडौँमा बसोबास असाध्यै कठिन थियो। कमरेड पुष्पलाल आफू किसानको घरमा बसेर पार्टीका अरू नेताहरूलाई यस्तै नेता–कार्यकर्ता र आफन्तजनको घरमा सुविधाका साथ बस्ने प्रबन्ध मिलाउन लागिपर्थे।

नगरपिता श्रेष्ठ स्वयम् पुष्पलालकी माइली फुपूका काइँलो छोरा (भाइ) थिए। पक्राउ पर्नुभन्दा १२ दिनअघि एक दिन दाजु गङ्गालाल फुपूकहाँ आउँदा जनकमानले अंग्रेजी पढ्दै थिए। तर, भाइले पढेको नमिलेपछि आफ्नो घरमा बेलुका आठ बजे आएमा पढाइदिने कुरा गरे। तदनुरूप जनकमान ११ दिनसम्म निरन्तर भेट्न गए, तर कहिल्यै भेट भएन। १२औँ दिन त उनी पक्राउ पो परे भन्ने थाहा भयो। अनि, एकैचोटि शोभा भगवतीमा फाँसीमा झुन्ड्याएर गोली (खुट्टामा एक र पेटमा तीन) हानी हत्या गरेको अवस्थामा मात्रै भेटे।

आफूलाई पढाउने भनेका दाजुलाई पक्रेर फाँसी दिइएकोमा उनी उद्वेलित एवम् आक्रोसित बने र राजनीतिप्रति उनको त्यसबेलादेखि चासो बढ्यो। त्यही प्रेरणाले पछि माइला दाइ पुष्पलालको दाहिने हात जस्तै भएर काठमाडौँमा काम गरे।

मेयर हुनेक्रममै पुष्पलालविरूद्ध पार्टीमा षड्यन्त्र भई उनलाई महामन्त्रीबाट हटाइसकेपछि उनको मन भाँचियो। पछि एक वर्ष ‘सही सन्देश’ दैनिकको सम्पादक तथा हिमहारती प्रेसको सञ्चालक बने। २०१५ सालदेखि न्याय सेवामा प्रवेश गरी चिसापानी इलाका अदालतको न्यायाधीशदेखि बाग्मती अञ्चल अदालतको मुख्य न्यायाधीश र विशेष अदालतको न्यायाधीश भई राष्ट्रसेवा गरे। उनले बीपी र गणेशमान सिंहको मुद्दामा रिहाइको आदेश दिनुका साथै सुच्चा सिंहको सुपुर्दगी प्रकरणमा महत्वपूर्ण (एकमात्र अन्तर्राष्ट्रिय नजीर कायम हुने) फैसलासमेत गरे। तिनै कारण २०३९ मा दरबारको कोपभाजनको सिकार बनाई उनलाई सेवाबाट बर्खास्त गरी निकालियो।

कसरी भए जनकमान निर्वाचित?
००४ सालमा काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचन भयो। त्यतिबेला उपत्यकाको टोलटोलमा जागृतिको नयाँ लहर थियो। बुद्धिजीवीहरू ज्यादै थोरै सङ्ख्यामा थिए। तापनि तिनीहरूले जनस्तरमा मिलेर सरसल्लाह गरी टोलटोलबाट आफ्ना प्रतिनिधि निर्विरोध रूपमा चयन गरे। अर्जुनशमशेर राणा चेयरमेन, शङ्करदेव पन्त (पछि शङ्करदेव क्याम्पसका प्रमुख) उपाध्यक्ष तथा पूर्णबहादुर एमए र शेषराज दलीसहित नगरपालिकाका प्रतिनिधि र सदस्यहरूको उक्त निर्विरोध चयनले काठमाडौँवासीहरूको परिपक्वता र सुझबुझलाई अभिव्यक्त गरेको थियो। खासमा नगरपालिकाले झारू–बढारूबाहेक केही काम गर्नु नपर्ने तथा स्पष्ट परिभाषित काम र भूमिकाको अभावमा दुई/चार महिना बस्दै आजित भएर त्यस टिमले सामूहिक राजीनामा दिएको थियो।

त्यतिबेला नगरपालिका देखावटी स्वरूप र भूमिकामा थियो भने चेयरमेनसहित १८ जनाको निर्वाचन साँच्चिकै प्रजातान्त्रिक अभ्यास र जनमतको आधारमा नगरको शासन/प्रशासन र विकास संचालनका लागि गरिएको थिएन। राणा परिवारभित्रकै अनुदार र उदार खेमाबीचको टक्करमा श्री ३ पद्मशमशेरले आफ्नो उदारवादी शासनशैलीको अभिव्यक्तिका रूपमा त्यसको आयोजना गरेको स्पष्टै थियो। नेपालको वैधानिक कानुन (२००४) को तर्जुमा र नगरपालिका निर्वाचन आदि यस्तै केही कामका कारण मोहनशमशेर नेतृत्वको अनुदारवादी खेमाले पद्मशमशेरलाई गद्दीच्यूत गरी शासनसत्ता आफैँले हत्याएको थियो। जहानियाँ शासनकालको त्यस निर्वाचनमार्फत् निर्विरोध चयन नगरप्रमुखलाई मेयर नभनी चेयरमेन भनिएको थियो। तर, उल्लेखनीय काम र भूमिका केही निर्वाह गर्न नपाई उक्त टिम स्वयम् विघटनमा पुग्यो।

मातृका सरकारले ००९ सालको अन्तयतिर नगरपालिकाको निर्वाचन गर्ने घोषणा गर्‍यो। नगरपालिका ऐन २००८ अनुसार भएको उक्त निर्वाचनमा मूलतः नेपाल कम्युनिस्ट पार्टी, प्रजापरिषद्, नेपाली कांग्रेस र गोरखा परिषद् गरी चारवटा पार्टी प्रत्यासी रहेका थिए। पुष्पलालका मित (समाज दैनिकका सम्पादक) मणिराज शर्माको पहलमा नगरपालिको चुनावमा पुष्करनाथ उप्रेतीलाई निर्विरोध गराउने अथक् प्रयास भयो। धेरैपल्ट प्रजापरिषद्ले चिया र मिठाइपान गराउँदै बैठकहरूसमेत गर्‍यो। ९७ साल पर्वमा राणाहरूको दमनको कोपभाजनमा परेका राजनीतिज्ञ पुष्करनाथको पक्षमा सबैलाई सहमत गराउन अनेक प्रयत्न चल्यो।

त्यतिबेलाको स्थितिलाई सम्झँदै जनकमानले भने, ‘सुरूमा म मेयर हुने अपेक्षामा थिइनँ, पुष्पलाल उपत्यकाबाहिर लामो भ्रमणमा हुनुहुन्थ्यो, त्यतिबेला उहाँको दौडधुप सङ्गठन निर्माणकै लागि केन्द्रित थियो। पार्टीका महामन्त्री मनमोहन अधिकारी हाम्रै व्यवस्थापन र आतिथ्यमा काठमाडौँमा हुनुहुन्थ्यो। छलफल गर्ने क्रममा पुष्करनाथ बोल्नै नजान्ने हुँदा त्यस्ता व्यक्तिबाट नगरपालिका चल्दैन भन्ने सबैलाई लागिरहेको थियो। चुनावमा कम्युनिस्ट पार्टीले १८ मध्ये ६ सदस्य जितेको थियो, तीमध्ये साधना प्रधान त्यौडबाट तथा पीएन राणा र अमीरबहादुर राजभण्डारीसहित थियौँ। तसर्थः हामी एक्लैले मेयर जित्न सम्भव थिएन। नेपाली कांग्रेसका तीन, स्वतन्त्र तीन र प्रजापरिषद्का छ जना सदस्य चुनिएका थिए।’

जनकमान श्रेष्ठ खासमा गौरीलाल श्रेष्ठ (पुष्पलालका साहिँला भाइ) का दौँतरी थिए। महेश्वर छोँचु श्रेष्ठपछि काठमाडौँ जिल्ला र उत्तर गण्डक प्रान्तीय कमिटीको सचिव दुबै पदमा उनी थिए। नगरपालिका ऐनमा सभापति पदको व्यवस्था थियो, जसको अनुवाद गर्दा अंग्रेजीमा ‘मेयर’ गरिएको थियो। पुष्पलालले ‘कुरियर’ (सहयोगी) का रूपमा काठमाडौँका भेटघाटहरूमा जनकमानलाई प्रायः सँगै लैजान्थे। त्यसको प्रभाव र आफ्नै नेतृत्वदायी जिम्मेवारी दुबैका कारण उनले सहमतिका लागि नेपाली कांग्रेसको नेतृत्वसँग कुराकानी गरे। तर बीपीको प्रायः प्रश्न हुने गर्दथ्यो– ‘कम्युनिस्ट’ र ‘सोसलिस्ट’ मिलेको विश्वमा कहाँ छ? छैन। त्यसकारण संयुक्तरूपमा अघि बढ्न सम्भव हुँदैन। आ–आफ्नो ढङ्गले अघि बढौँ।’

निर्वाचित कूल सदस्यहरूमध्येबाटै पहिले मेयर छान्न निकै माथापच्ची चल्यो, तैपनि पुष्करनाथको पक्षमा माहोल बनेन। त्यसैक्रममा तीनजना शेरबहादुर, घनानाथ माइलाबाजे र नारायणजङ्ग पाण्डे बिहान उज्यालो नहुँदै जनकमान श्रेष्ठको घरमै आएर भने– ‘तपाईं तयार हुनुस्, हामी भोट दिन्छौँ। यसो गर्दा कांग्रेसले प्रजापरिषद्लाई भोट दिए पनि नौ/नौ भोट हुन्छ र कानुनबमोजिम बराबर हुँदा गोला हाल्नुपर्छ। एकजना कसैलाई प्रभावित गर्न सक्नुभयो भने जितिहाल्नुहुन्छ।’

काठमाडौंका पहिलो मेयर निर्वाचित जनकमान श्रेष्ठ

काठमाडौंका पहिलो मेयर निर्वाचित जनकमान श्रेष्ठ

जनकमानलाई उनीहरूको कुरा जँच्यो। उनले पार्टी महामन्त्रीसँग सम्पर्क र समन्वय गरी यथार्थ रिपोर्टिङ गरिरहे। महेश्वर छोँचु आफू सिनियर भएकाले मेयर हुन पाउनुपर्ने पक्षमा थिए। तर, अरूको भोटसमेत लिएर जित्नुपर्ने, तीनजना स्वतन्त्र सदस्यले मत दिन वचन दिइसकेको र समग्र स्थितिमा पार्टीले जनकमानलाई नै उम्मेदवार बनाउनु उपयुक्त ठहर ग¥यो। त्यसो गर्दा पार्टीले आफ्नै शक्तिले सम्भव नभए पनि अरूको सहयोग लिई जित्न सकिने स्पष्ट मूल्याङ्कन गरेको थियो। साथै, महामन्त्री मनमोहन अधिकारीले नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रयागराज सिंह सुवाससँग कुराकानी गरी मिलेर जान मनाउने कोसिस गर्नसमेत सुझाव दिए।

तदनुरूप जनकमान श्रेष्ठ बिहानै प्रयागराजको घरमा पुगेर गणेशमान सिंहसँग भेटी सहकार्यको वातावरण बनाउन जोड गर्दै उनलाई उपमेयर दिएर सहमति गर्न तयार रहेको प्रस्ताव गरे। उनी अहिले स्मरण गर्छन्, ‘मैले बिहानै गएर यस्तो प्रस्ताव गरेँ। उनको गणेशमान दाईसँग घनिष्टता थियो। बीपीसँग कुरा गरेर त मिल्न सम्भवै थिएन। तसर्थ, प्रयागराजमार्फत् गणेशमान दाई र उहाँमार्फत् बीपीसँग कुरा गर्नु जरूरी थियो। बीपीले अलिकति टेर्ने र केही डराउने गणेशमान दाइसँग मात्रै थियो। त्यसैले म उनको घरमा पर्खेर बसेँ। दिउँसो तीन बज्यो, तैपनि आएनन्। साढे तीन बजेतिर उनी आए र गणेशमान दाइ ‘सकारात्मक रहेको, तर कम्युनिस्टहरूले बेइमानी गर्नसक्ने हुँदा सचेत हुनुपर्ने कुरासमेत गरेको’ बताए। उनले आफैँ त भनेनन्, तर पछि बुझ्दा गणेशमानले उनलाई लिएर बीपीकहाँ पुगी मिलेर जान सहमत गराउनुभएको रहेछ।’

खासमा ००७ को आन्दोलनको नेतृत्व गरेको पार्टीका रूपमा नेपाली कांग्रेसले तीनवटा मात्रै सदस्य जित्नु र मेयर–उपमेयर दुबै हार्ने स्थिति उचित हुँदैन। कम्तीमा आन्दोलनकारी शक्तिका रूपमा मेयर कम्युनिस्ट पार्टीलाई दिएर उपमेयर लिँदा उचित हुने कुरा मनमोहन अधिकारी र जनकमान श्रेष्ठ दुबैजनाले गणेशमान सिंहलाई पटक–पटक भनेका थिए। अन्ततः जनकमानले मेयर निर्वाचित भएको १५ दिनभित्र उपमेयरको निर्वाचन गराउने र प्रयागराज सिंह सुवाललाई निर्वाचित गराउने, त्यसो गर्न नसके आफूले पनि मेयर पदबाट राजीनामा दिने व्यहोराको कागज लेखी सही गरेरै उनलाई दिए। र, मिलेर चुनावमा जाने सहमति भयो।

नगरपालिकाको चुनावका बखत प्रजापरिषद् र कम्युनिस्ट पार्टीबीचको सहयात्रा/मोर्चाबन्दी टुटिसकेको थियो। तत्कालीन भारतीय राजदूतले पटक–पटक टङ्कप्रसाद आचार्यलाई भेटी कम्युनिस्ट पार्टीसँगको मोर्चाबन्दी छाडी अलग भए प्रधानमन्त्री बनाउने भन्दै बहुतै समातेको स्थिति थियो। टङ्कप्रसाद स्वयंचाहीँ पुष्पलाललाई असाध्यै माया गर्दै माइला भाइ भन्थे। उनले त्यो कुरा पनि नढाँटी बताएका थिए। सुरूमा पुष्पलालले पत्याएनन् र परीक्षण गरेर प्रश्न गरे– ‘के भारतीय राजदूतले प्रधानमन्त्री बनाउने हो?’ जवाफमा टङ्कप्रसादले एक दिन आफ्नो घरमा आउन र हेर्न पुष्पलाललाई निम्तो दिए। उनको भनाइ थियो– ‘मेरो पार्टी झन्–झन् कमजोर भयो। तपाईंहरूको सङ्गत गर्दा त झनै खत्तम भइयो। हामीहरू तपाईंहरूले जस्तो सङ्गठन गर्न पनि जान्दैनौँ। त्यसकारण सल्लाहमै अलग भएर अघि बढ्न सहमत होऔँ।’

एकदिन टङ्कप्रसादको घरमा पुष्पलाल गए र कुराकानी हुने कोठाको भित्रपट्टि बसेर ‘आचार्य र राजदूत’ बीचको संवाद सबै आफैले सुने। तब टङ्कप्रसादले भनेको कुरा सही रहेछ भन्नेमा विश्वास जनाए। त्यसैअनुरूप नै दुई पार्टीबीचको संयुक्त मोर्चा समझदारीमै टुटेको थियो– टङ्कप्रसादलाई प्रधानमन्त्री बन्ने मार्गप्रशस्त गर्न ...!’

यस्तो स्थितिमा मेयर छान्न प्रजापरिषद्का केन्द्रीय सदस्य सूर्यबहादुर भारद्वाजको घरमा चुनाव हुने भयो। त्यतिबेला चर्चित ‘फूलमार’ चुरोटको पेटीलाई मतपेटिका बनाइयो। (रोचक कुरा– नेपालीलाई फूलमार चुरोट खान पहिले मखन र इन्द्रचोकमा तीन–तीनवटा खिल्ली सित्तैमा बाँडिन्थ्यो। र, गङ्गालालले प्याफलमा फूलमार चुरोट किन्न पठाउँदा कान्छा भाइ विजयलाल लडेर निधारमा चोट लागेको थियो। त्यसको ठाडो टाटो (खत) आजपर्यन्त विजयलालको निधारमा देख्न सकिन्छ।)

मतदान अघि पुष्करनाथले उम्मेदवारी फिर्ता लिने भनियो, तर उनले मानेनन्। सहमति लेख्ने मणिराज शर्मा थिए। अन्ततः निर्वाचन भयो। हालको २१ नं. वडाका बासिन्दा तथा तत्कालीन वडा नं. २ का सदस्य जनकमान श्रेष्ठ १८ मध्ये १२ मत ल्याई सभापति (मेयर) निर्वाचित भए। पुस्करनाथको ५ मत आयो भने १ मत बदर भयो।

यसरी पहिलोपल्ट प्रत्यक्ष सदस्यहरूको निर्वाचन तथा सदस्यहरूबाट सभापति (मेयर) चयन गर्दा कम्युनिस्ट पार्टीले आफ्नो एक तिहाइ सदस्यमात्रै मौजूद हुँदासमेत दुई तिहाइ मत प्राप्त गरी मेयरमा दिग्विजय हासिल ग¥यो। नवनिर्वाचित मेयर जनकमान श्रेष्ठले पूर्वसहमतिअनुरूप उपसभापति (उपमेयर)मा प्रयाग राजसिंह सुवाललाई निर्वाचित गराए। साथै, अमृतनाथ, काशीनाथसहित चारजनालाई मनोनयन पनि गरियो। यसरी काठमाडौँ नगरपालिकामा २२ सदस्यीय जनप्रतिनिधिहरूको उपस्थिति कायम भयो।

प्रकाशित ४ जेठ २०७४, बिहिबार | 2017-05-18 09:31:28
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।