कालजयी-व्यङ्ग्य

पण्डितजीको चिट्ठी

साहित्यिक पत्रकारिताबारेको आठ दशक पुरानो व्यङ्ग्य-रचना


Infocus



NIC ASIA

सम्पादक महोदय,
मेरो चिट्ठी अवश्य पढ्नुहोस्। प्रायः पत्रपत्रिकाका सम्पादकहरू अनेकौँ मानिसले पठाएका लेखहरू पढ्दा पढ्दा आजित भएका हुन्छन्, तर याद राख्नुहोस् म ती चान्चुने लेखकहरूमध्येको होइन।

लेखकहरूमा सर्वश्रेष्ठ गणेशजी ठहरिएका छन्। गणेशजीको नाम हो– ‘लम्बोदर’ (अर्थात् ‘लम्ब’ माने लामो, ‘उदर’ माने पेट)। अब ता बुझ्नुभो कि। मेरो पनि ता नाकलगायत मेरो अङ्ग प्रत्यङ्ग सबै थोक गणेशजीसँग झन्डै झन्डै मिल्दछ, केवल गणेशजीको वाहन मलाई मन परेको छैन। गणेशजीले जस्तो धान चोर्ने जन्तुमाथि म चढ्दिनँ– नता गणेशजीका बुबाले जस्तो हलो जोत्ने जन्तुमाथि। वस्तुतः कलम जोत्ने जीव नै मेरो प्रिय वाहन हो। जुन कलम जोत्ने जीवलाई मेरो समालोचनात्मक चाबुक मन पर्दैन त्यसलाई म बर्नार्ड शाको पदवी पनि दिन्न। तपाईंलाई थाहै होला बर्नार्ड शाले आफ्ना जीवनका प्रत्येक आदर्श घटनाको उल्टो अर्थ लगाउने एउटा समालोचक मरेपछि निजले लेखेको– तर प्रकाशित गर्न नपाएको एउटा पुस्तक आफ्ना खर्चले छपाई सर्वसाधारणका अघिल्तिर राखिदिए। परिणाममा समालोचकलाई सबैले बेकूफ ठहराए। बर्नार्ड शाको कीर्ति झन् जग्मगायो। यसको माने हो म चढेको जन्तु कस्तै होओस् त्यो अवश्य जनप्रिय बन्दछ। मिस मेयोले लेखेको मदर इन्डियाको ३५ करोड भारतवासीले तीव्र विरोधात्मक टीका टिप्पणी गरेर विज्ञापनको काम नगरिदिएको भए त्यस किताबबाट उनी लाखौँ रुपियाँ कमाउन सक्ने थिइनन्! मेरो मतलब अब ता बुझ्नुभो कि, म कस्तो मङ्गलकारी जन्तु रहेँछु ! अस्तु।

कलम जोत्ने जीवहरूमध्येमा पनि जो सबभन्दा मोटो छ, पहिले म त्यसैमाथि चढ्दछु। ‘‘सबभन्दा मोटो’’ माने हो– ‘सम्पादक’। यसकारण पहिले ता म तपाईंकै उपर हुन चाहन्छु, किनकि लेखकहरूको आश्रयदातालाई ‘मोटो लेखक’ नसम्झे म कसलाई सम्झू? म तपाईंमाथि सवार हुनलाई आज अकस्मात् किन हाजीर भएँ यसमा पनि कारण छ, सुन्नुहोस्।

शारदा र गणेश एकै चीजका व्यापारी हुन्, यस कारण यिनी दुवैको आपसमा इखाइख हुनु स्वाभाविक कुरा हो। मलाई पनि शारदा निस्कन्छिन् भन्ने सुन्दा डाह लाग्यो। आफ्नो जोरी–पारीलाई आफ्ना वशमा तुल्याउन मितेरीजस्तो बढिया नीति अर्को कुनै छैन। यही एकमात्र कारणले गर्दा मैले शारदाको ग्राहक हुनु जरुरी ठहर्‍यो। शारदाको ग्राहक ता हने तर विन मूल्य (सित्तै) मा हुने मेरो जन्मसिछ सिद्धान्त छ। श्रीपञ्चमीभित्रमा २५ वटा ग्राहक बनाइदिनेले एक वर्षलाई पत्रिका सित्तैमा पाउँछ रे भन्ने पनि सुनेँ। बस के थियो, मैले मेरा मित्र मण्डलीका च्यामे, कसाई, भान्छे, नोकर इत्यादि मैले भनेको मान्नेजति सबलाई ‘शारदाको टिक किन’ भन्ने उर्दि दिएँ। यिनीहरूलाई अगाडि ता मैले मासिक पत्रिकाको टिकट हो भन्ने कुरा सोझै कुरा बताएँ, तर जब महोदयहरूले ‘मासिक पत्रिका’ भन्ने कुरा कुन चरोको नाम हो भनेर सोधे अनि मलाई होश आयो। सोझो औंलाले घिउ नआउने देखेर मैले ‘यो चिट्ठाको टिकट हो, वर्षभरिमा जम्मा १२ चोटि पर्दछ, त्यसमा पनि विशेषता यो छ कि नपरिछोड्दैन। यति मात्र होइन परेको जिनिसलाई धेरै दिनसम्म जोगाएर राख्न सक्यो भने दोब्बरभन्दा पनि बढता दाममा बिक्न सक्तछ’ पनि भनेँ। यति भन्नासाथ धडाधड बिक्यो। (किन्न ता उनिहरूले किने तर उनिहरूको कैयौँ मैह्नाको तलबको पेश्की ढ्याके व्याजमा ऋण मैले नै दिनुपर्‍यो)। तर दुर्भाग्यवश २४ वटा मात्रै, पच्चिसवटा पुर्‍याउनलाई एउटा बाँकि थियो त्यो बेच्न कोशिस गर्दा गर्दै श्रीपञ्चमी आइपुगिहाल्यो। एउटा ग्राहक आफैले समेत बन्नेदेखिबाहेक २५ वटा ग्राहक पुर्‍याउने अरु कुनै उपाय मेरो गिदीलाई सुझेन। ‘गाँठ गुमाउँ त आफैँ मरिजाउँ’ भन्ने सिद्धान्त भएको मैले सात ताल्चाभित्र लुकाएर राखेको सेतासेता सात मोहर खास गरेर आफ्नो निम्ति झिक्ने साहस गर्न सकिन। यति हुँदा हुँदै शारदाको मूल्य ४ रुपियाँ पुग्यो। कुनै खर्चबाट चार रुपियाँसम्म कसरात निस्कन्छ कि भन्ने विचारले माघ मैह्नाभरिको हिसाबलाई ओल्टाई पल्टाई हेरेँ, चार रुपियाँको त के कुरो शारदाको निम्ति चार पैसाको गुन्जाइस् पनि मैले देखिनँ। मेरो माघ मैह्नाको खर्च तपाईंलाई पनि सुनाउँछु, सुन्नुहोस्ः–

माघे संक्रान्तिमा किफायतपूर्वक केवल आधा खसीके रु. ४।
ऐ. के तेल घिउ र गरम मसला आदि के किफायत साथ गरिएको खर्च रु. ४।
संक्रान्तिका दिन ज्वाइँ भानिजलाई भाग दक्षिणालगायतके बहुतै किफायत साथ केवल रु. ४।
जाडो मैह्नामा स्वास्थ्य रक्षाका निम्ति नभै नहुने कुरा डि. जान्स कड लिभर आयेल सिसी १ के रु. ४।
मैह्नाभरको चुरोठ तमाखु अर्थात् नयाँ सभ्यताको चिह्नरक्षाबापत खर्च रु. ४।
श्रीमती भूँडे पण्डितनी बज्यैज्यूको चूरा, पोते, धागो, क्लिप, पाउडर, सुगन्धी तेल, अत्तर, लालीलगायत शृंगार, सौभाग्य अर्थात् जुन नहुँदा मै मर्ने डर छ त्यस जरुरी सामग्रीको किफायती खर्चके रु. ४।
मेरो शान र इज्जतको रक्षक सनसाइन (मोटरसाइकल) को पेट्रोलके रु. ४।
मानिसको स्वभाव भूल गर्ने हो भन्ने सिद्धान्तको रक्षा गर्नाका निम्ति तरङ्गमा बाटामा खसेको रु. ४।
मैले ढ्याके ब्याज र पाथे ब्याजमा लहनी लगाएको रु. मेरो जीन्दगीभर नउठ्ने छाँट देखिन गएको हुनाले सो रु. को असूल तहसीलमा तरताकीता गर्न औ रुपियाँ नउठे तापनि कमसेकम असामीहरूको मासु ता अवश्य अमिलो पार्ने काममा भर्ना भएको प्यादा एकके मैह्नावारी तलब रु. ४।
मेरो शान र इज्जतलाई डबल बढाउने जापानी जुत्ता र मोजाके रु. ४।
मैह्नाभरमा दिन दिनै भएको अजीर्णको औषधि, पान, सुपारी, सोडा, पाचक इत्यादि अत्यावश्यक खर्चके रु. ४।

यै हो मेरो हिसाब। मैह्नाको रु. ६० को आमदानी छ, एक कुरामा होइन, दुई कुरामा होइन, एककम एक दर्जन कुरामा कैयौँ रुपियाँ स्वाहा भैसके। छ जना जहाँ छौँ, बाँकी १६ रु. छ। त्यसमा घिउ दूधको कुरो छोडिदिनुहोस्, नून, तेल, दाउरा र रंगुने चामल किन्न पनि पुग्दैन। अब तपाईं नै बताउनुहोस् शारदा किन्ने पैसा म कहाँबाट उब्जाऊँ? साथ साथै मेरो जगत्प्रसिद्ध भूंडि केले भरुं?

यसकारण मैले एउटा अर्कै उपाय शोचें। त्यो उपाय हो– शारदाको लेखक बनेर पुरस्कार लिने। तर त्यसमा पनि कठिनता देखियो, किनकि पुरस्कार दिने वा नदिने विषयको पूरा विचार गर्ने अधिकार सम्पादकलाई मात्र रहेछ। सम्पादकले पनि ‘ग्राहक बढाउने लेखमा मात्र पुरस्कार दिने’ भन्ने पनि बुझियो। यसकारण ग्राहकलाई पनि चाख लाग्ने सम्पादकका मनमा पनि बिझने एक मात्र सर्वोत्तम उपाय सम्झेँ– शारदाको समालोचनात्मक चाबूक लिएर सम्पादकैमाथि सवार हुनु! यति गर्दा कमसेकम एक वर्षलाई शारदा विना मूल्य पुरस्कार रूपमा पाइन्यैछ, कदाचित् पाइएन भने सिंगै एक कटौरा दूधको खावामा फालहालेर यो अनित्य जीवनलाई तिलाञ्जलि दिने मेरो भविष्यको प्रोग्राम छ। अब म तपाईंलाई म कसरी चाबूक ठाक्तै जान्छु त्यो शारदाका ग्राहकले आगामी अङ्कहरूमा थाहा पाउँदै जानेछन्।

तपाईंको पूज्यपाद
भूंडे पण्डितजी
गफशास्त्री, व्यङ्ग्यतीर्थ, हास्याचार्य
आदि आदि
शारदा, १.३ वैशाख १९९२, पृ. २४–२६

(ईश्वर बराल सम्पादित ‘सयपत्री’बाट)

प्रकाशित २३ पुस २०७३, शनिबार | 2017-01-07 14:35:05
Max TV
Max TV
Zen Travels

प्रेमराज शर्मा पौड्यालबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...