यस्तो देखियो फर्केर हेर्दा सन् २०१६

अमेरिकी चुनावदेखि टर्कीको निष्फल 'कू'सम्म


धेरैले २०१६ लाई खराब वर्षको उपमा दिएका छन्। ब्रेक्जिट, ट्रम्प विजय, पपुलिज्मको उदय, अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप, सेलीब्रेटी तथा राजनेताको मृत्यु, आदिका कारण मानिसहरुलाई त्यस्तो लागेको हुनसक्छ। २०१६ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्यो। तातो मात्र होइन यो वर्ष अन्य वर्षहरुभन्दा एक सेकेण्ड लामो पनि रहनेछ। सन् २०१६ का मुख्य घटनातर्फ एक नजर लगाऔँः

राजनीति

युरोपेली युनियन छोड्ने बेलायती निर्णय

२०१६ विश्व राजनीतिमा सम्झिनयोग्य वर्ष रहने कुरामा विवाद नरहला। जुन महिनामा बेलायतमा युरोपेली युनियनमा रहने कि निस्किने भन्ने विषयमा भएको जनमतसंग्रहमा युरोपेली युनियन छोड्नुपर्छ भन्ने पक्षले जित हात पा¥यो। यद्यपि सट्टेबाजदेखि सर्वेक्षणहरुमा समेत बेलायत युरोपेली युनियनमै रहनुपर्छ भन्ने पक्षले जित्ने भविष्यवाणी गरेका थियो।

ब्रेक्जिटलाई उदारवादी विश्वमा एउटा आघातको रुपमा व्याख्या गरियो। यसले बेलायतमा मात्र होइन, युरोपेली युनियन र समग्र पश्चिमी मूल्य मान्यतामा भूकम्प ल्यायो। यो घटनालाई विश्व राजनीतिमा आएको महत्वपूर्ण घुम्तीको रुपमा विश्लेषण गरिएको छ। यससँगै राजनीतिमा दक्षिणपन्थी पपुलिस्ट धारको अग्रपंक्तिमा आएको विश्लेषकहरुको भनाइ छ।

जे होस् बेलायत युरोपियन युनियनबाट बाहिरिने भएपछि प्रधानमन्त्री डेविन क्यामरुनले राजीनामा दिए र उनको स्थान टेरेसा मेले लिइन्। यद्यपि बेलायत कसरी बाहिरिन्छ भन्ने विषयमा अझै बहस भइरहेको छ।

दुई महिला राष्ट्रपतिलाई लाग्यो महाअभियोग

नेपालमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई लागेको महाअभियोग निरन्तरको संसद अवरोधका कारण कहिले टुंगिने हो, निश्चित छैन। तर लोकतान्त्रिक विधिबाट चुनिएका ब्राजिल र दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाअभियोग भने पारित भइसक्यो। यी दुई महाअभियोगमा रहेको समानता के छ भने दुवै महिला राष्ट्रपति हुन् र दुवैलाई भ्रष्टाचारको आरोप लागेको हो।

ब्राजिलले पहिलो पटक ओलम्पिक आयोजना गरेको साल नै राष्ट्रपति डिल्मा रुसेफमाथि महाअभियोग लाग्यो। उनलाई सरकारी तेल कम्पनी पेत्रोब्रासमा रहँदा भ्रष्टाचार गरेको, राष्ट्रपति बनेपछि व्यापार घाटा लुकाएर पुनः निर्वाचित हुन खोजेकोजस्ता आरोप लागे। अगस्ट ३१ तारिखमा सिनेटले उनलाई बजेट कानुन उल्लंघन गरेको आरोपमा २० का विरुद्ध ६१ मतद्वारा राष्ट्रपति पदबाट मुक्त गरिदियो।

त्यस्तै दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्वेन हाईकी एक मित्रले लामो समयदेखि राष्ट्रपतिसँगको मित्रतालाई आफ्नो फाइदामा प्रयोग गरिरहेको समाचार अक्टोबर महिनामा सार्वजनिक भयो। त्यसपछि लाखौँ दक्षिण कोरियाली नागरिक सडकमा ओर्लिए र पार्कविरुद्धको प्रदर्शनमा सहभागी भए। डिसेम्बरमा दक्षिण कोरियाली संसदले उनीमाथिको महाअभियोग पारित ग¥यो। त्यसपछि उनी निलम्बित भइन्। हाल उनको महाअभियोग संवैधानिक अदालतमा विचाराधीन छ।

कोलम्बियाली शान्ति सम्झौता

कोलम्बियामा शान्ति सम्झौता हुँदै

कोलम्बियामा शान्ति सम्झौता हुँदै

सन् २०१० मा राष्ट्रपति पदको चुनाव लड्दै गर्दा वर्तमान कोलम्बियाली राष्ट्रपति जुआन म्यानुएल सान्तोसले कम्युनिष्ट विद्रोही फार्कसँगको लडाईंलाई निरन्तरता दिने वाचा गरेका थिए। तर यो साल उनले लडाईंका कारण होइन शान्तिका कारण चर्चा मात्र प्राप्त गरेनन्, नोबेल शान्ति पुरस्कार नै जिते। वर्षौँसम्मको शान्ति वार्तापछि गत २५ अगस्टमा सरकार र विद्रोही दुवै पक्षले शान्ति सम्झौतामा हस्ताक्षर गरे। प्रतीकात्मक रुपमा गोलीको खोकाबाट निर्मित कलमले हस्ताक्षर गरिएको उक्त शान्ति सम्झौतालाई जनमत संग्रहद्वारा पारित गर्नुपर्ने भयो। तर सान्तोसभन्दा अघिल्ला राष्ट्रपति अल्भारो उरिवे र उनको पार्टीको सक्रियतामा कोलम्बियाली जनताले शान्ति सम्झौता अस्वीकृत गरे।

तर सान्तोस र विद्रोही नेता तिमोसेन्कोले हार मानेनन्। दुवैको सक्रियतामा विद्रोहीप्रति केही कडा प्रावधानसहितको दोस्रो शान्ति सम्झौता सम्पन्न भयो र यसपटक त्यसलाई जनमतसंग्रहबाट नभई संसदबाट पारित गर्नुपर्ने निर्णय गरियो। नोभेम्बर २४ मा सार्वजनिक गरिएको सो सम्झौतालाई एक सातापछि संसदले पारित ग¥यो। यसरी अढाई लाखको ज्यान लिएको आधा शताब्दी लामो गृहयुद्ध समाप्त भयो।

सिरियाको घाउ

अरब स्प्रिङ नाम दिइएको आन्दोलन तथा विद्रोहले एकएक गरी अरब मुलुक धराशायी हुँदै गए। ट्युनिसिया, इजिप्ट, लिबिया, यमनलगायतका मुलुकमा सरकार परिवर्तन भए तर सिरियाको लडाईं लम्बिँदै गयो। पश्चिमा शक्तिको पहलमा तानाशाह र शासकहरुको पतनपछि इस्लामिक स्टेटको जन्म भयो, जसको वेगलाई थाम्न अमेरिका, युरोपियन युनियनजस्ता महाशक्तिलाई हम्मेहम्मे परिरहँदा र अधिकांश भूभाग पश्चिम समर्थित विद्रोही र इस्लामिक स्टेटको हातमा पुग्दा पनि सिरियाली राष्ट्रपति बसर अल असद टिकिरहे। त्यसपछि गतसाल रुसले सिरियामा हात हाल्ने निर्णय ग¥यो। २०१६ को जुन महिनामा रुसको सहयोगमा सरकारी सेनाले विद्रोही नियन्त्रित इलाकामा भीषण हमला थाले। एलेप्पो यो आक्रमणको केन्द्र बन्यो। पश्चिमा शक्तिहरुले मानवअधिकारको हनन भएको भन्दै रोइकराई गरे तर आक्रमण रोकिएन। तर डिसेम्बर १५ मा विद्रोहीहरु युद्ध रोकेर एलेप्पो छोड्न सहमत भए। र अन्ततः एलेप्पो पुनः असदको हातमा पुग्यो।

एलेप्पो युद्धको अन्त्य सिरिया युद्धको अन्त्य होइन। अझै थुप्रै इलाका इस्लामिक स्टेटको कब्जामा छ। तर २०१६ को अन्त्यसम्ममा सिरियामा असदको पकड बलियो बनेको देखिन्छ।

टर्कीको असफल कु

जुलाई महिनाको १५ तारिखमा टर्कीमा सैन्य कुको असफल प्रयास भयो। राष्ट्रपति रेसेप तैयप एर्डोगान तानाशाही बन्दै गएको आरोपमा अचानक कु को प्रयास भयो। एर्डोगान सो समयमा मारमारिस नामक समुद्री किनारामा रहेको सहरमा छुट्टी मनाइरहेका थिए। उनले आइफोनको एक एप प्रयोग गरेर टर्कीका जनतालाई कु असफल बनाउन सडकमा ओर्लिन आग्रह गरे। उनको आग्रहलाई मान्दै जनता सडकमा ओर्लिए। कु असफल भयो।

कु पछि एर्डोगानले आफूलाई शंका लागेका मानिसहरुलाई धमाधम गिरफ्तार गरे। झण्डै एक लाख मानिसलाई गिरफ्तार तथा पदबाट खारेज गरिएको अनुमान गरिएको छ।

टर्कीको कुमा सहभागी सैनिकहरु कुप्रयास असफल भएपछि

टर्कीको कुमा सहभागी सैनिकहरु कुप्रयास असफल भएपछि

कुको प्रयास गरेको आरोप एर्डोगानले अमेरिकामा बस्दै आएका फतुल्लाह गुलेनमाथि लगाए। उनले गुलेनलाई सुपुर्दगीका लागि अमेरिकालाई आग्रह गरे। अमेरिकाले सो कुरा अस्वीकार ग¥यो। टर्कीले अमेरिकालाई कुप्रयासको सोझो आरोप त लगाएन तर त्यसपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा बादल छायो। परिणामस्वरुप अघिल्लो वर्ष रुसको दुई लडाकु विमान झारेर रुससँग भीडन्तको नजिक पुगेको टर्कीले हतारमा सो घटनापछि माफी माग्दै रुससँग सम्बन्ध सुधार ग¥यो।

ट्रम्प विजय

ब्रेक्जिटबाट सुरु भएको सन् २०१६ को राजनीतिक आघात अमेरिकी राष्ट्रपतिमा अर्बपति डोनाल्ड ट्रम्प विजयी भएसँगै पूरा भयो। २०१५ को जुन महिनामा उनले उम्मेदवारी घोषणा गर्दा लगभग सबैजसो राजनीतिक टिप्पणीकर्ता तथा विश्लेषकहरुले ट्रम्पले चुनाव जित्ने कुनै सम्भावना नभएको बताएका थिए। तर उनी तमाम बाधा पन्छाउँदै ४५ औँ अमेरिकी राष्ट्रपति भएरै छोडे।

ट्रम्प–क्लिन्टन प्रतिस्पर्धा अमेरिकी इतिहासमै एक फोहोर चुनावी अभियान बन्यो। चुनावी अभियानका क्रममा दुवै उम्मेदवारले जमेर एकअर्काको बेइज्जती गरे र खिल्ली उडाए। ट्रम्पका अभद्र टिप्पणी र व्यवहारलाई नराम्रोसँग उचालियो। त्यसैगरी क्लिन्टनको इमेल प्रकरण पनि निरन्तर बहसको विषय बन्यो।

विजयसँगै ट्रम्प पपुलर भोटमा हारेर पनि राष्ट्रपति बन्ने पाँचौँ अमेरिकी बने भने सरकारी संयन्त्र वा सेनामा कुनै अनुभव नभएको पहिलो राष्ट्रपति पनि उनी नै बने।

ट्रम्प विजयपछि मुस्लिम तथा आप्रवासी मात्रै होइन विश्व राजनीति र व्यापारमा अमेरिकाका साझेदार रहँदै आएका मुलुकहरु पनि चिन्तित बनेका छन्। ट्रम्पको आगमनले अमेरिका–रुस सम्बन्धमा सुधार आउने र चीनसँग दूरी बढ्ने अनुमान पनि गरिएको छ।

अमेरिकी चुनावमा रुसको हस्तक्षेप?

चुनावी अभियान कठिन बन्दै गर्दा डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनले ट्रम्पमाथि आरोप लगाइन्, ट्रम्प पुटिनको बलमा चुनाव लड्दैछन्। निर्वाचन परिणाम आइसकेपछि १७ अमेरिकी गुप्तचर सँस्थाले एकै स्वरमा भने, हो अमेरिकी चुनावमा रुसले खेलेकै हो।

विकिलिक्सले सार्वजनिक गरेको पोडेस्टा इमेल रुसले नै विकिलिक्सलाई उपलब्ध गराएको निष्कर्षमा गुप्तचर सँस्थाहरु पुगेका छन्। यद्यपि सो आरोपको खण्डन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विकिलिक्स सँस्थापक जुलियन असान्ज दुवैले गरिसकेका छन्। ट्रम्पले पनि अमेरिकी निर्वाचनमा रुसको हस्तक्षेप भएको कुरालाई अस्वीकार गरेका छन्।

विश्वभरी नै आफ्नो प्रभाव जमाउने अमेरिकी निर्वाचनमा अर्को मुलुकले खेलेको आरोप लाग्नु आफैँमा बदलिँदो विश्व व्यवस्थाको संकेत भएको मान्नेहरु पनि छन्। जे होस् यस प्रकरणले जनवरी २० मा पदभार सम्हाल्ने तयारी गरिरहेका ट्रम्पलाई अफ्ठ्यारो पार्ने देखिन्छ। किनभने बहिरिँदै गरेका राष्ट्रपति ओबामा इजरायलविरुद्धको प्रस्ताव संयुक्त राष्ट्रसंघबाट पास हुन दिएर होस् या रुसी कूटनीतिज्ञहरुलाई देशनिकाला गरेर होस् ट्रम्पको बाटोमा काँडा बिच्छ्याइरहेका छन्।

अन्य घटना

त्यसैगरी २०१६ मा अन्य महत्वपूर्ण घटना भएका छन्। फिलिपिन्समा रोड्रिगो डुटेर्टे मे महिनामा निर्वाचित भए। यससँगै उनले लागुऔषधविरुद्धको अभियान तीव्र र हिंसात्मक बनाएका छन् र अमेरिकासँग दूरी कायम गरेका छन्।
उत्तर कोरियाले सारा विश्वको विरोधका बावजूद यो साल दुई ओटा परमाणु परीक्षण ग¥यो।

त्यसैगरी फ्रान्स, बेल्जियम, जर्मनीजस्ता सुरक्षित मानिने मुलुकहरुमा आतंककारी हमलाहरु भए।

अमेरिकामा प्रहरीले अश्वेत नागरिकलाई गोली हान्ने क्रम बढेपछि ‘ब्ल्याक लाइभ्स म्याटर’ नामक आन्दोलन सुरु भयो।

जिका भाइरसका कारण विश्वस्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भयो। जिका विरुद्धको खोप र लामखुट्टे मार्ने अनेकौँ तरिकाबारे खोज जारी छ। अप्रिल महिनामा सार्वजनिक भएको पानामा पेपरबाट विश्वभरका धनीमानीले कसरी कर छल्छन् भन्ने कुरा सार्वजनिक भयो।

संविधान सुधारको प्रयास असफल भएपछि इटालीका प्रधानमन्त्री माटियो रेन्जीले राजीनामा दिए।

संयुक्त राष्ट्रसंघको महासचिवमा पोर्चुगलका एन्टोनियो गुटेर्रेस निर्वाचित भएका छन्।

चिनियाँ राष्ट्र सी जिनपिङलाई पाटीभित्र ‘कोर लिडर’को उपाधि दिइयो।

खेल

ब्राजिलमा पहिलो पल्ट आयोजना भएको रियो ओलम्पिकको ठूलो चर्चा भयो। पदकका हिसाबले अमेरिका ४६ स्वर्ण जित्दै अग्रस्थानमा रह्यो भने २७ स्वर्णका साथ बेलायत दोस्रो, चीन २६ स्वर्णसहित तेस्रो, रुस १९ स्वर्णसहित चौथो र जर्मनी १७ स्वर्णसहित पाँचौ स्थानमा रहे। खेलाडीतर्फ अमेरिकी पौडीबाज माइकल फेल्प्सले ५ स्वर्ण एक रजत, केटी लेडेकेले ४ स्वर्ण एक रजत र जिम्न्यास्ट साइमन बाइल्सले ४ स्वर्ण एक कास्य जित्न सफल भए। त्यसैगरी जमैकन धावक उसेन बोल्टले १००, २०० र ४०० मिटर रिले दौडमा तीन स्वर्ण जित्दै तीन ओलम्पिकका भाग लिएजति सबैमा स्पर्धामा स्वर्ण जित्ने रेकर्ड बनाए।

ओलम्पिकमा अमेरिकी जिमन्यास्ट साइमन बाइल्स

ओलम्पिकमा अमेरिकी जिमन्यास्ट साइमन बाइल्स

विश्वका सबैभन्दा धेरै दर्शकको प्रिय खेल फुटबलको कोपा अमेरिकामा अर्जेन्टिना र सुपरस्टार लियोनल मेसी दुवै दुर्भाग्यशाली रहे। फाइनलमा चिलीसँग पेनाल्टीमा हारेपछि अर्जेन्टिना यसपटक पनि खालीहात भयो। उता पोर्चुगलले फ्रान्सलाई हराउँदै युरो कप जितेपछि फरवार्ड क्रिष्टियानो रोनाल्डोले यस पटकको बेलोन डे ओर जिते।

क्लब फुटबलमा पनि वर्षभर चर्चा मेसी र रोनाल्डोकै चलिरह्यो। बार्सिलोनाले लालिगा र कोपा डेल रे जित्दा रियल म्याड्रिडले च्याम्पियन्स लिग र क्लब वर्ल्ड कप हात पा¥यो। लेस्टर सिटीले सबैलाई आश्चर्यचकित तुल्याउँदै प्रियियर लिगको उपाधि उचाल्यो। उसो त गत ९ वर्षदेखि यिनै दुई खेलाडीले फुटबलमा सनसनी मच्चाएका छन्। तर सन् २०१६ को सबैभन्दा बढी गोलकर्ता चाहीँ बार्सिलोना स्ट्राइकर लुइस स्वारेज बनेका छन्। उनले ४० गोल गरेका छन्।

क्रिकेटमा यो साल भारतका लागि राम्रो रह्यो। सालको अन्त्यमा आएर भारत टेस्ट क्रिकेटको पहिलो नम्बरमा उक्लियो। त्यसैगरी एक दिवसीय त्रिकेटमा अष्ट्रेलिया र २० ट्वान्टीमा न्युजिल्याण्ड पहिलो स्थानमा रहेका छन्।

टेनिसमा बेलायती एन्डी मुर्रे शीर्ष स्थानमा उक्लिन सफल भए भने महिला टेनिसमा जर्मनीकी एन्जेलिक केरबर पहिलो नम्बरमा उक्लेकी छिन्।

विज्ञान तथा प्रविधि

प्रविधिका क्षेत्रमा पनि २०१६ उपलब्धिमूलक रह्यो। विद्युतीय सवारीसाधन निर्माता टेस्लाको अटोपाइलट प्रणालीदेखि क्यान्सरको उपचारमा सहयोगी इम्युन इञ्जिनियरिङले चर्चा पायो। त्यसैगरी एकअर्कालाई सिकाउन सक्ने रोबोटको निर्माण र डिएनए एप स्टोरको अवधारणाले पनि उत्तिकै चर्चा पायो।

आइन्स्टाइनको थ्योरी अफ रिलेटिभिटीले एक सय वर्ष मनाउँदै गर्दा वैज्ञानिकहरुले ‘ग्र्याभियसनल वेभ्स’ प्राप्त गरेको घोषणा गरेका छन्।

यसैसाल आइफोन ७ बजारमा आयो। सामसुङको ग्यालेक्सी नोट ७ भने पड्किएका कारण चर्चामा रह्यो। सोही कारण सामसुङको व्यापारमा समेत ठूलो धक्का लाग्यो र उसले सामसुङ नोट ७ को उत्पादन नै बन्द गर्नुप¥यो। अगुमेन्टेड रियालिटीमा आधारित गेम पोकेमन गो ले पनि केही समय खास चर्चा कमायो।

अर्थबजार

अर्थबजारका क्षेत्रमा २०१६ घटनामय रह्यो। ब्रेक्जिटसँगै पाउण्डको भाउ ओरालो लाग्यो र विश्वव्यापी आर्थिक हलचल पैदा भयो। सेयरबजार गि¥यो। तेलको भाउमा आएको ठूलो गिरावटपछि तेलमा निर्भर देशहरुको अर्थतन्त्र अस्थिर बन्यो। वर्षको अन्तमा ओपेक राष्ट्रहरुले तेल उत्पादनमा कटौती गर्ने सम्झौता गरे। भेनेजुयला र भारत दुवै देश वर्षको अन्त्यमा नोटबन्दीका समस्यासँग जुध्दै छन्। भारतले बेलायतलाई छैठौँ ठूलो अर्थतन्त्रबाट विस्थापित गरेको छ। ट्रम्पको निर्वाचनपछि सेयर बजार उकालो लागेको छ। क्रिमिया रुसमा गाभिएपछि आर्थिक प्रतिबन्ध खेपिरहेको रुसको अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको छ।

पुरस्कार

२०१५ का लागि घोषित ओस्कारमा ह्यासट्याग ओस्कार सो ह्वाइट ट्रेन्ड चलेको थियो। जसमा लियोनार्डो डि क्याप्रियोले पहिलो पटक उत्कृष्ट नायकमा सो पुरस्कार प्राप्त गरे। त्यसअघि गोल्डेन ग्लोब अवार्ड पनि उनकै खातामा गएको थियो।

यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाली राष्ट्रपति जुआन म्यानुएल सान्तोस, भौतिकशास्त्र तर्फको पुरस्कार डेविड थुल्स, माइकल कोस्टरलिज र डंकन हाल्डेन, रसायनशास्त्रतर्फको पुरस्कार बेन फेरिन्जा, फ्रेजर स्टोडार्ट र जिन पियएर सुभाले प्राप्त गरे। चिकित्साशास्त्रतर्फको पुरस्कार योसिनोरी ओसुमी र अर्थशास्त्रतर्फको पुरस्कार ओलिभर हार्ट र बेग्ंट होमस्ट्रोमले पाए। तर सबैभन्दा बढी चर्चा गीतकार बब डिलनले साहित्यतर्फको नोबेल जित्दा भयो। उनी पुरस्कार पाएको हप्तौँसम्म चुपचाप बसेका थिए।

बब डिलन

बब डिलन

त्यस्तै यो वर्षको बुकर पुरस्कार पाउल बेट्टीले ‘सेलआउट’ नामक कृतिका लागि पाए भने पुलित्जर पुरस्कारमा फिक्सनतर्फ भियत थान्ह गुयनले ‘द सिम्पथाइजर’ र ननफिक्सनतर्फ पिटर बालाकियनले ‘ओजोन जर्नल’का लागि प्राप्त गरे।

विदाई

सन् २०१६ मा संगीत क्षेत्रले निकै ठूलाठूला हस्ती गुमायो। नेपाली गायक खेमराज गुरुङ विदा भए। त्यसैगरी सुनिल बर्देवा, तबलावादक होमनाथ उपाध्यायलगायतको निधन भयो।

थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेज र विश्व समाजवादी तथा उपनिवेशवादविरोधी योद्धा फिडेल क्यास्ट्रो पनि यसैसाल बिते।

अंग्रेजी गायकहरु लियोनार्ड कोहेन, डेविड बोइ, ग्लेन फ्रे, प्रिन्स, मर्ला हग्गार्ड, पौल क्यन्टर, मौरिस ह्वाइट, जोइ फिक, केइथ इमर्सन, लियोन रसेल, स्यारोन जोन्स ग्रेग लेक र जर्ज माइकल विदा भए।

त्यस्तै फिल्म क्षेत्रले पनि अलान रिकम्यान, बर्ट कुक, एन्टोन एल्चिन, ग्यारी मार्सल, द डिअर हण्टरका निर्देशक माइकल किमिनो, गाइ ह्यामिल्टन, जिन वाइल्डर, ट्रान्सजेन्डर एक्टर एलेक्सिस आर्केट, नौ विवाह गरेर चर्चा कमाएर सासा गबोर, अड्री हेपबर्न, बिल नन र अन्ततः स्टार वार सिरिजकी अभिनेतृ क्यारी फिसर र उनकी आमा डेबी रेनल्डलाई पनि यसैसाल गुमायो। ६० क्यारी फिसरको मृत्यु भएको भोलिपल्ट उनकी ८४ वर्षीय आमा रेनल्डको मृत्यु भएको हो।

फिल्मबाट करिअरको सुरुवात गरेकी जयललिता र बक्सिङ लिजेन्ड मोहम्मद अलीको पनि निधन भयो। हार्पर ली, उम्बेर्टो इको, महाश्वेता देवीजस्ता लेखकहरु सदाका लागि विदा भए।

विदाइ हुनेहरुमा मान्छेमात्र होइन, १३० ओटा बच्चाको बाबु बनेको पानपान नामक विश्वकै सबैभन्दा वृद्ध विशाल पाण्डा पनि रह्यो।

‘पोस्ट–ट्रुथ’लाई सन् २०१६ का लागि अक्सफोर्ड इंग्लिस डिक्सनरीले ‘वर्ड अफ द इयर’ घोषित गरेको छ। यसले वस्तुगत तथ्यहरुभन्दा भावना र व्यक्तिगत विश्वासले सार्वजनिक विचारलाई प्रभावित पार्ने अवस्थालाई जनाउँछ। त्यसैगरी मरियम वेब्स्टर डिक्सनरीको वर्ड अफ द इयर 'सर्रियल' बनेको छ भने डिक्सनरी डटकमको 'जेनोफोबिया।' 

 

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 13:33:01

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरा महानगर: चैतमै सक्नुपर्ने काम बल्ल सुरु

    ‘न्युरोडमा गिटी बिच्छ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिनँ। यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी...

  • प्रहरीले खोज्दै छ ३४ किलो अवैध सुनको मालिक

    सात महिना पहिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन समातिएपछि पक्राउ परेका अभियुक्तबाट प्रहरीले यो प्रकरणमा दुबईमा रहेका चार जनाको...

  • बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

    बार्सिलोनासँग रुष्ट छन् मेस्सी, यस्तो छ क्लब छाड्ने सम्भावना

    बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको छ।

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

    किन महत्वपूर्ण छ प्रधानमन्त्री देउवाको भारत भ्रमण?

    नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त...