कालजयी–वार्ता

‘राजनीति र ऐशआराम क्षणिक, कलासाहित्य स्थायी’

मबीबी शाहले भनेका छन्, मेरो मुल्याङ्कन अरुले गरुन्


आधुनिक साहित्य नै आजकल लेखिने साहित्य हो भनिन्छ र कसैले त भविष्यका सन्ततिका निमित्त तयार गरिने साहित्य नै आधुनिक हो भन्छन्। तर जे होस् आधुनिक युग सुहाउँदो साहित्य नै आधुनिक साहित्य हो भनी मानेमा उचित होला। र, वास्तवमा साहित्व जन आकांक्षाको पृष्ठभूमिमा उच्चतम अनुभूतिद्वारा सज्जित भएर व्यक्त गरिएको र जुनसुकै बेला पनि मानव समाजको कल्याण गर्ने हुनुपर्दछ र यसलाई नै आधुनिक साहित्य या आजकलको साहित्य जे भनेर नामाकरण गरे पनि हुन्छ। तर आधुनिक भनेर विज्ञान मात्र अँगाली ज्ञानलाई बिर्सनु मानव समाजको निमित्त कत्तिको हितकर होला–यो सोच्नुपर्ने बेला आएझैँ लाग्छ।

‘आधुनिक साहित्यबारे यहाँको के विचार छ?’ भनी आफ्ना जिज्ञासा मेट्न मैले सोधेको प्रश्नको उत्तरमा दिइएको यो जवाफ थियो। मेरो अर्को जिज्ञासा थियो – ‘यो त भयो, आधुनिक साहित्यबारेको धारणा। साहित्य केको निमित्त? यो कलाको निमित्त या समाजको निमित्त या दुवैको निमित्त–केही थाहा पाउन सक्छु कि?’

‘निश्चय नै! साहित्य वास्वतमा दुवैको निमित्त हो। कलात्मक रुपमा समाजको निमित्त नै साहित्यको सिर्जना गरिनुपर्दछ। सायद यही भावना मैले केही व्यक्त गरिसकेको छु। जसरी कलाबिना समाज र समाजबिना कला अधुरो हुन्छ, त्यस्तै साहित्य, कला र समाज अभिन्न वस्तु भन्न सकिन्छ।’

यसै सिलसिलामा मैले फेरि सोधेँ, ‘यी त आधुनिक साहित्य र साहित्य केको निमित्त सम्बन्धी कुरा! आजकल हाम्रो साहित्यको जुन रुपमा विकास भएको छ, त्यो के उपर्युक्त धारणा अनुसार नै भएको जस्तो यहाँलाई लाग्दछ कि या यसले आफ्नो बाटो बिराएको जस्तो लाग्छ? छोटकरीमा सोध्ने हो भने नेपाली साहित्यको विकास गति कस्तो हुनुपर्ने? अहिलेको ठीक छ?’

उहाँको अनुहारमा एक गम्भीर मुस्कान देखाप¥यो। एकछिन कुनै शब्द निस्केन। कोठामा पूर्ण शान्ति छायो। कता हो कता, टाढाबाट मोटर दगुरेको आवाज बीचमा आउँथ्यो र जसरी आवाज आकस्मिक रुपमा सुनिन्थ्यो त्यसरी नै बिलाउँथ्यो पनि! यत्तिकैमा मेरो प्रश्नका जवाफ यसरी सुनिन थाले, ‘मैले भनिहाँले, जनता र समाजको निमित्त नै कलात्मक रुपमा साहित्यको सिर्जना हुनुपर्दछ। आजकलका साहित्यको विकास गति कहिलेकाहीँ अलि कचमचिएको जस्तो पनि लाग्छ। कुनैकुनै युवा लेखकहरु सायद जाशले पनि हुनसक्छ, कहिलेकाहीँ कटु आलोचना वा मर्यादाको अवहेलनालाई मात्र साहित्यको रुपमा प्रस्तुत गर्न अग्रसर देखिन्छन्जस्तो लाग्दछ। साहित्यिक कृति रचिँदा पहिले आफ्नो देश र जनताको मान गर्नुपर्छ, त्यसपछि मात्र त्योभन्दा बाहिर जानुपर्दछ। अर्को कुरा निराशाको अभिव्यक्ति मात्र साहित्यो भन्ने भए, त्यसमा पूर्ण परिपक्वता पाउन सकिन्न, आशाका किरण पनि प्रादुर्भाव गरिनु वा आशावादी हुने के प्रत्येक ज्युँदो प्राणीको स्वभाव हैन र?’

उहाँबाट मैले आफ्ना प्रश्नअनुसारको पूर्ण जवाफ पाउँदै थिएँ। विभिन्न प्रश्न सोधिसकेकोले अब ममा पहिलेको जस्तो अकमकीपन थिएन। मेरो प्रश्नको बढ्दो संख्याको अनुपातमा मेरो सुरुका घबडाहट भागिसकेका थिए। माथि उद्धृत गरिएका प्रश्नोत्तर हेर्दा मैले सामना गर्नुपरेको व्यक्तिको झलक देखा पर्न सकेको छैन, न त म बसेको कोठाप्रतिको नै केही संकेत मिलेको छ।

वास्तवमा म त्यस भवनमा थिएँ, जसलाई साधारण शब्दमा ‘राजभवन’ भनिने गरिएको छ। राजभवनको एक कोठामा म त्यस्तो व्यक्तिको सामु थिएँ, जुन व्यक्तित्व एकै व्यक्तित्वमा सीमित नभएर अनेक महत्वपूर्ण व्यक्तित्वमा विभाजित थियो। दनेपाली व्यक्तित्वको प्रतिनिधित्व गर्ने यो व्यक्तित्वको अर्को अति महत्वपूर्ण व्यक्तित्व हो ‘श्री ५ महाराजाधिराज महेन्द्र वीर वीक्रम शाहदेव’ तर म अहिले श्री ५ महाराजाधिराज सरकारको समक्ष नभई नेपालको एक प्रसिद्ध गीतकार–कवि श्री एमबीबी शाहको समक्ष मात्र थिएँ!

देख्दाखेरी साधारण तर कलात्मक रुपमा सिंगारिएको कोठामा रहेको एक कुनापट्टि सोफामा शाहज्यू तथा अर्को कुनाको छेउमा रहेको अर्को सोफामा म बसेको थिएँ। कोठाको भित्तामा एक उत्कृष्ट नेपाली कलाकृति टाँगिएको थियो। त्यस्तै अरुपट्टिका भित्तामा पनि केही कलाकृति टाँगिएका थिए। एकापट्टि राखिएको टेबुलमा टेबल ल्याम्प, टेबल क्यालेण्डर, होल्डर स्ट्याण्ड, आदि राखिएका थिए। कोठाको विभिन्न स्थानमा खालि ज्योति मात्र देखिने गरी बत्ती जडिएका थिए। यस किसिमको कोठामा मेरो सामुन्नेको अनुहारमा पूर्ण गम्भीरता देखिन्थ्यो र धेरैजसो समय अनुहारमा सौम्यता नै झल्कन्थ्यो। अनुहारको सौम्यता अनुरुप कोठाको अर्कोपट्टि रहेको आकर्षक ¥याकमा विश्वका उत्कृष्ट साहित्यका केही संकलन राखिएका थिए, जसमध्ये दुईचार पुस्तक अध्ययन गर्न झिकिएको जस्तो लाग्थ्यो।

कोठामा रहेको केहीबेरको शान्तिलाई खलबल्याउँदै मैले पुनः सोधेँ, ‘राजनीति र साहित्य अलग हुन्?’ मेरो यो प्रश्न आकस्मिक थियो।

र आकस्मिक प्रश्न भए पनि मैले यसको उत्तर उही सौम्य भावमा पाएँ, जवाफ थियो– ‘विषय वा प्रसंगले नजोडेसमम साहित्य र राजनीति बेग्लाबेग्दै हुन्, यिनीहरुको अस्तित्व नै भिन्नै बौद्धिकतामा निर्भर गर्दछ। राजनीतिको आधार वास्तविक वस्तुस्थिति र साहित्यको आधार आदर्श नीति हुँदा यो अवश्य पनि भन्दिै कुरा हो तर आदर्शको प्रेरणाबिना परिस्थिति सुध्रन वा सुधार्न नसकिने भएकोले खासगरी दलविहीन प्रजातान्त्रिक पञ्चायती व्यवस्थामा यी दुवैको यथार्थमा अभिन्न सम्बन्ध छ।’

यो भनाइ सिद्धिन नपाउँदैमा मैले एक कुरा सम्झिसकेको थिएँ, जुन मैले पहिले नै सोधिसक्नुपर्ने थियो। मैले आधुनिक साहित्यबारेको उहाँको धारणा जान्न मात्र आफ्नो जिज्ञासा व्यक्त गरेको थिएँ, साधारण साहित्यबारेको उहाँको धारणा जान्न मैले आफ्नो कौतुहल व्यक्त गर्नै बिर्सेछु। समय भिड्की नसकेको हुनाले सोधेँ मैले, ‘साहित्य एक पूर्ण एकाइको रुपमा नै रहेको साहित्यबारे यहाँको कस्तो विचार छ नि?’

जवाफ थियो – ‘मेरो विचार अनुसार मनुष्य जीवनका विभिन्न अनुभूतिलाई आआफ्नो ढंगले कलात्मक रुपमा मानव मस्तक उच्चा पार्ने किसिमसँग शब्दांकित गर्नु नै साहित्य हो, तर साहित्यलाई राजनीतिमा ओराल्नु चाहीँ आफ्नो आदर्शलाई शिरमा वा सामु राख्नुको सट्टा पैतालामा राख्नु सरह हुनेछ जस्तो लाग्छ। साहित्यमा आँसु र हाँसो दुवै हुनु यो जहिले पनि समाजलाई असल बाटोमा लम्काउने हुनुपर्छ।’

यसै अवसरमा म अर्को कुरा के जान्न उत्सुक थिएँ भने साहित्यसँग विभिन्न मानवीय जीवनका प्रमुख आधार तथा विश्वासको सम्बन्ध, उहाँको विचार अनुसार कस्तो रुपमा हुनुपर्दछ। आधुनिक साहित्य र साधारण साहित्यको बीच छुट्टेको सिलसिला जस्तै गरी फेरि यसमा पनि सिलसिला नछुटाउने प्रयत्न गरी मैले भनिहाँले– ‘साहित्य र यसको राजनीतिसँगको सम्बन्ध तथा यसका विभिन्न रुपबारेका यहाँको विचार तथा धारणा त थाहा पाएँ। तर यत्तिमै मेरो जिज्ञासा मरिसकेको छैन, यसैले हुनसक्छ भने, कृपया साहित्य र धर्मबीचको सम्बन्ध तथा साहित्य र नैतिकताबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बारेमा पनि यहाँको विचार जान्न सक्छु कि?’

यसको प्रत्युत्तरमा पहिले एक मुस्कान पाएँ अनि त्यसपछि जवाफ – ‘जहाँसम्म साहित्य र धर्मबीचको सम्बन्ध छ, दुवैको लक्ष्य मानवताको संरक्षण र सम्बद्र्धन गर्नु नै भएकोले साहित्यको सम्बन्ध धर्मसँग अटूट रुपमा रहनु स्वभाविकै हो..।’

‘धर्म के हो नि?’ बीचैमा मैले प्रश्न गर्ने धृष्टता गर्दै सोधेँ।

तर जवाफ उही गम्भीर, सौम्य तथा सानो स्वरमा आयो– ‘दैनिक जीवनका प्रत्येक पहलुलाई अनुशासित ढंगले नैतिकतापूर्ण निर्देशन गर्ने नीति वा नियमको नाम नै धर्म हो, जसको प्रादुर्भाव ईश्वरबाट तथा विश्वासबाट हुन्छ। कहिलेकाहीँ यसलाई असजिलो विषय भने पनि हुन्छ। हुन त धर्म भन्ने विषय नै ज्यादा छलफल गर्नुभन्दा अनुभव गर्नु लाभदायक हुन्छजस्तो लाग्दछ र यस्ता गहन विषयमा मैले ठोकेर भन्ने कुरा पनि छैन। यो त विद्वानहरुबाट निर्णय हुने कुरा हो।’

‘अनि साहित्य र नैतिकता...’

‘भन्दैछु। नैतिकता पनि मानवीय जीवनको धर्मजस्तै अभिन्न अंग हो। यसैले स्वभावतः नैतिकतालाई अवश्य पनि साहित्यिक कृतिमा श्रेष्ठतम रुपमा प्रतिनिधित्व गरिनुपर्दछ, नैतिकताको उपेक्षा मानवीय जीवनमा गरियो भने मानव समाजलाई नराम्रो असर पर्नु हुनै अस्वाभाविक कुरा हैन। त्यसैले मैले ज्ञान र विज्ञानबारे माथि भनेको हुँ। यदि हामी कसैले पनि आज विज्ञानलाई मात्र सर्वस्व सम्झन थाल्यौँ भने देवताको बदला दानवलाई मात्र पाउँदैनौँ भन्न सक्तिनँ। त्यस्तै ज्ञानको साथ आधुनिक समाजमा विज्ञान पनि अँगाल्यौँ भने अवश्य पनि हामी सबैको कल्याण अवश्यम्भावी छ र हामी नैतिकतामा पनि पछि पर्ने छैनौँ। अनि मात्र हामीले मानसिक शान्ति पाउने छौँ, सन्तोष पाउने छौँ। नत्र आजको कालाबजार, महंगी, रोग, भोक, पक्षपात, घृणा, अशिक्षा र लोलुपताजस्तो शत्रुलाई जित्न हामी कोही पनि समर्थ हुने छैनौँ। त्यसैले आज त्यस्ता कुरामा प्रत्येक नेपालीले सोचेर पाइला सार्नुपरेको छ। अघि बढ्नुपरेको छ। पछि हटेर अब हामीले आफ्नो लक्ष्यमा पुग्न सक्दैनौँ।’

‘अब विषय क्षेत्रमा अलिकति अन्तर ल्याउँ कि? .. नेपाली साहित्यको विकास र त्यसमा आफ्नो प्रमुख देन के रह्यो भन्ने ठान्नुहुन्छ?’

‘नेपाली साहित्यको विकास त सुवानन्ददास अर्थात् श्री ५ बडमहाराजाधिराज पृथ्वीनारायण शाहको पालादेखि वा त्यसभन्दा अघिदेखि नै भइआएको छ। पछि वीरेन्द्र केशरी, भानुभक्त, शक्तिवल्लभ, मोतीराम, शंभुप्रसाद, लेखनाथ, चक्रपाणी, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, बी.पी. कोइराला, बालकृष्ण समm लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भिक्षु, भीमनिधि, रत्नध्वज जोशी, श्यामदास वैष्णव, आदि आदिले नेपाली साहित्यरुपी वृक्षलाई मलजल हाल्दै झारपात उखेली निक्कै स्याहारसुसार गरी आजको स्थितिमा पु¥याए। र आजकल त साहित्यको विकास निकै भएको छ जुन मैले दोहो¥याइरहनु पर्ने होइन। माधवप्रसाद घिमिरे, केदारमान व्यथित, धर्मराज थापा, जनार्दन सम, किरण खरेल, लक्ष्मण लोहनी, आदिको पनि त आज देन छ। यस विकास कार्यमा मेरो साहित्यिक कृतिले केकति सहयोग पु¥याएको छ भन्नेबारे त म आफूले भन्नुभन्दा अरुले नै मूल्यांकन गर्नु बेस होला। तर आजको नेपाली साहित्यको बन्न थालेको भव्य भवनमा मेरो सयपचास टुक्राटुक्री गीतहरु पनि एक दिन जगभित्र पुरिएको एउटा सानो ईंट हुन सके पनि मलाई पर्याप्त हुनेछ। बरु नेपाली साहित्य र भाषाको उत्थानमा चुपचाप लागेर निरन्तर प्रयास गरिरहने श्री गोपाल पाँडेजस्तालाई पनि सायद हामी कसैले बिर्सन्नौँ होला। त्यस्तै आजका विभिन्न अन्य नेपाली कवि लेखकहरु पनि छन्, सबैको नाम लिएमा त किताबै बन्न सक्ला जस्तो लाग्छ।’

‘साँच्चै आधारभूत कुरा त झण्डै त्यसै छुटेको! शाहज्यूको साहित्यमा कसरी आगमन भएको हो?’

एमबीबी शाहज्यूको जवाफ थियो, ‘नेपालजस्तो मनोरम प्राकृतिक स्थलले मेरो साहित्यिक मनोवृत्तिलाई कुतकुत्याइरहको थियो। कहिले के लेखुँ, के भाव व्यक्त गरुँ जस्तो लागिनैरहन्थ्यो। क्रमशः मेरो व्यक्तिगत जीवनमा विभिन्न त्यस्ता घटना घट्न आइपुगे जसले गर्दा मेरो कलमलाई जगैदेखि रसाइदियो र यसको नतिजा जनसमक्ष प्रस्तुत नै छ।’

‘पहिलो कृति कुन सालतिर लेखिएको हो?’

‘सम्बत् २००३ सालतिर नै। यही सालदेखि नै केही न केही लेख्ने मेरो प्रयास सुरु भएको हो।’

‘अहिलेसम्म कति कृति लेखिइसके?’

‘आजसम्मका साहित्यिक कृतिमध्ये पुस्तकको रुपमा त ‘उसैको लागि’ तथा ‘फेरि उसैको लागि’ मात्र हुन्। तर यसको अलावा अरु फुटकर रचना पनि केही निस्किरहेका छन्।’

‘भविष्यमा अरु लेख्ने योजना केही छ कि?’

‘औसर मिले भविष्यमै देखापर्ने छन्।’ सायद यही नै अन्तर्वार्ताको सबैभन्दा छोटो जवाफ थियो।

‘अहिलेसम्म आफूले लेख्नुभएको गीतमा आफूलाई सबभन्दा राम्रो कुन लाग्छ?’

‘जुन म लेख्दछु, त्यो त मलाई मन परेर लेखिन्छ जस्तो लाग्छ। त्यसैले बहुसंख्यक जनता वा पाठकवृन्दबाट जुनजुनलाई बढी रुचाउँदछन् म आफ्नो सर्वश्रेष्ठ रचना त्यसलाई नै ठान्दछु।’

‘अनि आफूलाई मन पर्ने लेखकमा को....?’

‘विशेष यो, उ के भनुँ। जब गहिरिएर हेर्छु, मलाई सबै आफूजस्तै लाग्छ। त्यसैले मौकाअनुसार भनुँ वा विषयअनुसार मेरो मन नपर्ने विशेष कोही छैनन्। अथवा मेरो छुट्याउने ढंग नपुगेको हो कि? त्यो पनि भन्न सक्दिनँ।’

मैले एकनास गरिरहेको प्रश्नको सिलसिलामा निस्केको प्रश्न यो थियो– ‘यहाँ ज्यादातर कुन समयमा लेख्नुहुन्छ? अर्को शब्दमा भन्ने हो भने लेख्ने मुड कुन समयमा आउँछ?’

‘मुडको बारेमा सजिलोसँग भन्न सकिन्छ जस्तो लाग्दैन। प्रायशः म झुल्केको घामबाट प्रेरणा पाउँछु। खासगरी प्रेरणामा नै सबैको मुड आधारित हुन्छ भने पनि अत्युक्ति नहोला। सायद मुड अनुभव गर्ने कुरा हो– यो मानसिक अनुभूति हो, तर अक्सर मेरो हिजोलाई कदर गर्ने, आज काम गर्ने र भोलिको विचार गर्ने बानी छ।... वास्तवमा मुडबारे ठीक ढंगले कसरी व्यक्त गर्ने हो कुन्नि म यसै भन्न सक्तिनँ।’

दुई व्यक्तिबीचको मधुर संवादलाई झसंग पार्ने गरी सुनिएको घडीको सूचनात्मक टांगटुङले गर्दा म अरु प्रश्न छोट्याउन बाध्य हुन थालेँ। अब अन्तरवार्ताको समयको अन्त नजिक आएको जस्तो लाग्यो। तर जे भए पनि जति समय छ, त्यसको उपयोग गर्नपट्टि लागेँ, ‘कृति रच्दा प्रशासनले बाधा दियो कि दिएन? प्रोत्साहन पनि कतैबाट पाइयो कि?’

उहाँको स्पष्ट भनाइ थियो– ‘निहुँ मात्र गरे हजार कुराको गर्न सकिन्छ तर गर्छु भनेपछि जे पनि गर्न सकिन्छ। असल कुरा, ज्युँदो मानिसले आँटेपछि सबै बाधा आफसेआफ बिलाउँछन् जस्तो लाग्छ। यो कुरा साहित्यको निमित्त मात्र हैन, प्रत्येक प्रयास र कार्यको निमित्त सबैको लागि लागु हुन सक्छ कि क्या? र जहाँसम्म प्रोत्साहनको कुरा छ, त्यो त खास आवश्यकता पनि छैन, तर भएर पनि बिग्रिदैँन, नभएर पनि बिग्रिदैँन। यसलाई मैले सापेक्षिक रुपमा लिएको छु। प्रोत्साहन सँधै आत्मबलको हुनुपर्छ, अर्काको भरले पाइँदैन, जस्तै असल कर्म गर्दा नतिजाको चिन्ता हुनु हुँदैन, कर्तव्यको लागि गर्नुपर्छ जस्तो लाग्छ।’

करिब ४७ वर्षअघि राजघरानाको शानसौखतमा जन्म ली नेपालको इतिहासमा एक अति महत्वपूर्ण स्थान ओगट्ने लक्ष्य राखेको अति व्यस्त व्यक्तिले जनसाधारणको अनुभूतिलार्य आफ्ना गीतमा सफलतापूर्वक प्रयोग गरेकोमा जिब्रो नटोक्ने कमै व्यक्ति होलान्। राजघरानाको ऐशआराममा डुबी गल्लीको धाराको कुाना सायद कहिले नदेखेको व्यक्तिले त्यस कुनामा सम्भावित युवक युवतीको रोमाञ्चक प्रेमकथाको अभिव्यक्ति सफलतापूर्वक व्यक्त गर्नु पनि कम प्रशंसनीय कल्पना होइन।

हुन त नेपालको राजघरानामा कविको जन्म हुनु कुनै नौलो कुरा हैन। एमबीबी शाहज्यू भन्दा अगाडि पनि श्री प्रताप मल्ल तथा श्री ५ राजेन्द्र विक्रम शाह नेपालको साहित्यक क्षेत्रमा उत्रिसकेको कुरा हो तर शाहज्यू जत्रि लोकप्रिय गीतकार–कवि कुनै पनि राजकवि हुन सकेका छैनन्।

पहिले नै भनिसकेँ, समय सिद्धिन लागेको थियो, त्यसैले यस अन्तरवार्ताको आखिरी अनुरोध गरेँ, ‘आफ्ना पाठकपाठिकालाई साहित्यिक सन्देश दिनुहुन्छ कि?’

र यसरी सन्देश पाएँ– ‘आफ्नो देशको ढुंगा र माटो, झर्ना र साँघु सम्झेर साथै भर्खर लम्कन लागेको नेपाली जनसमाजलाई नबिर्सेर आत्मसम्मान कायम राखी आत्मविश्वासमा शिर ठाडो गर्न सकिने साहित्यको खासगरी बुद्धिजीवी वर्गबाट लेखन, चिन्तन र मनन गर्न आआफ्ना जीवनका विभिन्न ध्येयमध्ये एक होस् भन्ने लक्ष्य हामी नेपाली सबैले राख्नुपरेको छ। राजनीति र ऐशआराम भनेको क्षणिक वस्तु हो, साहित्य, सँस्कृति, संगीत र कला परम्परा स्थायी भावना हुन्। यसैमा नेपाल र नेपाली समाजले भर गर्दछ। यो कुरा आजका प्रत्येक नेपालीले ध्यानमा राख्नुपर्दछ।’

प्रश्न अरु पनि धेरै, खासगरी यौन र साहित्यको सम्बन्धबारे गर्नु थियो तर समय नभएकोले फर्की आएँ, अरु कुनै समयको प्रतीक्षामा।
१० फागुन २०२३

(स्रष्टा र साहित्य,०३७)

प्रकाशित ९ पुस २०७३, शनिबार | 2016-12-24 17:17:23

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरा महानगर: चैतमै सक्नुपर्ने काम बल्ल सुरु

    ‘न्युरोडमा गिटी बिच्छ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिनँ। यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी...

  • प्रहरीले खोज्दै छ ३४ किलो अवैध सुनको मालिक

    सात महिना पहिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन समातिएपछि पक्राउ परेका अभियुक्तबाट प्रहरीले यो प्रकरणमा दुबईमा रहेका चार जनाको...

  • बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

    बार्सिलोनासँग रुष्ट छन् मेस्सी, यस्तो छ क्लब छाड्ने सम्भावना

    बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको छ।

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

    किन महत्वपूर्ण छ प्रधानमन्त्री देउवाको भारत भ्रमण?

    नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त...