पत्रकार किशोर श्रेष्ठ, जसले चीनमा ३७ उडान भरे


२०४९ सालमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा एउटा टोली चीन जाने तयारीमा थियो। त्यो टोलीमा पत्रकार किशोर श्रेष्ठको नाम पनि थियो। पछि श्रेष्ठको नाम काटेर पार्टीका तत्कालीन प्रचार विभाग प्रमुख केपी ओली आफै चीन गए।

त्यसबेला हु जिन्ताओ चिनियाँ कम्युनिस्ट पार्टीको चौथो नम्बरका नेता थिए। पछि हु पार्टी महासचिव र राष्ट्रपति भए। मदन भण्डारीको टोलीले हुसँग पनि भेट्ने अवसर पायो, जसमा माधव नेपाल, केपी ओली, अमृत बोहरा लगायत थिए। तर किशोर श्रेष्ठ छुटे।

‘प्रचार विभाग प्रमुख म आफै गएपछि किन पत्रकार चाहियो?’ भनेर ओलीले श्रेष्ठलाई भ्रमण टोलीबाट हटाएका थिए। टोली छेन्दु पुगेपछि ओलीले नै दृष्टि साप्ताहिकका लागि खबर टिपाए। श्रेष्ठ भन्छन्, ‘दृष्टि साप्ताहिकलाई एमाले प्रचार विभाग प्रमुख केपी ओलीले टिपाउनु भएको समाचार अनुसार भनेर रिपोर्ट बनाइयो। ओलीको काम अनुसार गर्नु पर्ने त्यही थियोे।’

२०५४ सालमा दोस्रो पटक पनि श्रेष्ठलाई चीन जानबाट रोक्न नाम काट्ने प्रयास ओलीले गरे। श्रेष्ठकै संयोजनमा एमाले प्रचार विभागको टोली २०५४ सालमा चीन भ्रमणमा जाने टुङ्गो लाग्यो। तत्कालीन प्रचार विभाग प्रमुख राधाकृष्ण मैनालीको नेतृत्वमा अग्नि शिखा, हरि रोका, सूर्य थापा, बोधराज त्रिपाठीसहित श्रेष्ठ पनि ७ जनाको टोली सदस्य थिए।

मैनालीको अडानका कारण ओलीले श्रेष्ठको नाम काट्न त सकेनन् तर उनको नाम टोलीको पुछारमा राखियो, जसले गर्दा उनले अपमानित महशुस गरे।
ल्हासा पुगेपछि होटलको एकतला माथि भ¥याङको छेउमा श्रेष्ठलाई बस्ने कोठा मिलायो। छेन्दुमा पनि उनलाई कमसल होटलको कोठामा बस्ने व्यवस्था गरियो। ‘पत्रकारिताको अनुभव र अरु साथीहरुभन्दा सिनियर भएकाले यो मेरो अपमान हो भनेर मैले फर्कने मनस्थिति बनाएको थिएँ’।, श्रेष्ठ भन्छन्, ‘साथीहरुले लतारेर छेन्दु पु¥याए, तर त्यहाँ पनि मेरो अवस्था त्यस्तै रह्यो।’

पत्रकारिताको तालिम लिन उत्तर कोरिया जाने क्रममा श्रेष्ठले पहिलो पटक २०४७ सालमा बेइजिङमा पाइला टेकेका थिए। त्यसयताका २५ वर्षमा उनले ३७ पटक चीन भ्रमण गरिसकेका छन्।

खासगरी सन् २००९ मा नेपाल–चीन मिडिया फोरम गठन गरेर त्यसको संयोजक भएदेखि श्रेष्ठको चीन भ्रमण बाक्लिएको हो। उनको पहलमा साढे तीन सयभन्दा बढी पत्रकार तथा नेताले चीन भ्रमण गरिसकेका छन्।

नेपालभन्दा ६७ गुना ठूलो चीनको आधाभन्दा बढी भूभाग घुमेको श्रेष्ठ बताउँछन्। चीनका दुर्गम गाउँदेखि तिब्बतका भित्री ठाउँसम्म पुग्ने अवसर पाएका श्रेष्ठका चीनमा दर्जनौँ मित्रहरु छन्। उनी भन्छन्, ‘मिडियाकर्मी, प्रोफेसर, राजनीतिज्ञ, सरकारी कर्मचारी, सुरक्षा निकाय, चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ता सबै खालका साथी छन्।’

नेवार समुदाय पनि भोट–बर्मेली परिवारबाट आएकाले चिनियाँ संस्कृतिसँग आफू निकट हुन पुगेको उनको बुझाइ छ। ‘आर्थिक लेनदेनमा म विश्वास गर्दिन र मैले चीनसँगको मित्रतालाई कहिल्यै आफ्नो स्वार्थमा प्रयोग गरेको छैन। चीनसँगको सम्बन्धबारे श्रेष्ठ भन्छन्, ‘नेपाली मिडिया, नेपाललाई दुःखपर्दा चिनियाँ सहयोग जुटाउन मैले मेरो सम्बन्धलाई उपयोग गरेको छु।’



नेपाल–चीन मिडिया फोरमबाट श्रेष्ठले मधेसदेखि हिमाली क्षेत्रसम्मका सञ्चाकर्मीलाई चीन भ्रमणको अवसर जुटाएका छन्। पूर्वमन्त्री जेपी गुप्तादेखि राजेश अहिराज, चन्द्रकिशोर झा, लक्ष्मी साह, मुरलीप्रसाद यादवसमेत श्रेष्ठकै अगुवाईमा चीन पुगेका छन्। चीन घुमेर फर्केपछि मधेसका नेता, पत्रकार र लेखकहरूको बुझाइमा फरकपना आएको श्रेष्ठ बताउँछन्।

चिनियाँ नेतादेखि सञ्चारकर्मीसम्म गहिरो अन्तक्र्रिया गरेका श्रेष्ठ नेपालमा चीनको ठूलो सद्भाव रहेको तर नेपालले चीनबाट फाइदा लिन नसकेको ठान्छन्। श्रेष्ठ भन्छन्, ‘चिनियाँहरु नेपाललाई असल छिमेकी ठान्छन्। एकदम चुरोमा कुरा गर्दा नेपालको अस्थिरताप्रति चीनको सुरक्षा चासो जोडिएको देखिन्छ तर हाम्रो नेताको बोलीमा ठेगान नभएकोमा उनीहरूको सरोकार छ।’

नेपालमा राजनीतिक स्थिरता होस् भन्ने चीनको मुख्य सरोकार रहेको र चीन, नेपाल, भारत त्रिदेशीय साझेदारीलाई बेइजिङले प्रवद्र्धन गर्न खोजिरहेको श्रेष्ठको बुझाई छ। ‘चीनले गरेको सर्वे अनुसार नेपालमा डेढ लाख मेघावाट विद्युत उत्पादन गर्न सकिन्छ, र जलविद्युतमा लगानी गर्न चीन निकै उत्सुक पनि छ’, उनले भने।

श्रेष्ठले देखेको चीन
चीनमा ‘माछा दिने होइन, माछा मार्न सिकाऊ’ भन्ने भनाइ प्रख्यात छ। त्यही भनाइ अनुसार चलेकाले नै चीनले प्रगति गरेको हो। योग्यता, अनुभव र क्षमताको आधारमा जिम्मेवारी दिँदा चीनले प्रगति गरेको हो।

‘अघिल्लो पटक जाँदा गर्भनरका रुपमा भेटेको व्यक्ति अर्को पटक जाँदा प्रान्तीय पार्टी प्रमुख भइसकेको हुन्छ’, श्रेष्ठ भन्छन्, ‘यसबाट मैले के अनुभूति गरेँ चीनमा कामको आधारमा जिम्मेवारी बाँडफाँड हुँदोरहेछ।’

राजनीतिक स्थायित्व र एउटा प्रणालीमा काम हुने भएकाले चीनले प्रगति गरेको हो। भिजनसहितको नेतृत्व र अनुशासित रुपमा काम गर्ने शैलीले चीन विश्व शक्तिका रुपमा उदाएको हो। नेपालले तीन–चार हजार युवालाई चीनमा सीप र काम गर्ने शैली सिक्न पठाउने हो भने फर्केर आएपछि उनीहरूले केही गर्न सक्ने श्रेष्ठको भनाइ छ।

श्रेष्ठले २५ वर्ष अघि देखेको चीन र अहिलेको चीनमा आकाश–पातलको फरक आइसकेको छ। त्यो बेला भर्खरै समाज खुला हुँदै थियो। चिनियाँहरू खाकीको पोसाक लगाउँथे। तर यही अवधिमा चीनले आर्थिक विकास गर्यो र अहिले अमेरिका र युरोपलाई पछि पार्ने चमत्कारिक प्रगति समेत गरेको छ।
विकासको सन्दर्भमा कुरा गर्दा पनि एक वर्ष अघि देखेको शहर अर्कै रुपमा व्यवस्थित भइसकेको हुन्छ। ‘सबैभन्दा ठूलो कुरा मानसिकता र प्रणालीको विकास हुनुपर्ने रहेछ’, चीन अनुभवको निष्कर्ष सुनाउँदै श्रेष्ठले भने।

प्रकाशित ८ पुस २०७३, शुक्रबार | 2016-12-23 13:38:21

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरा महानगर: चैतमै सक्नुपर्ने काम बल्ल सुरु

    ‘न्युरोडमा गिटी बिच्छ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिनँ। यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी...

  • प्रहरीले खोज्दै छ ३४ किलो अवैध सुनको मालिक

    सात महिना पहिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन समातिएपछि पक्राउ परेका अभियुक्तबाट प्रहरीले यो प्रकरणमा दुबईमा रहेका चार जनाको...

  • बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

    बार्सिलोनासँग रुष्ट छन् मेस्सी, यस्तो छ क्लब छाड्ने सम्भावना

    बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको छ।

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

    किन महत्वपूर्ण छ प्रधानमन्त्री देउवाको भारत भ्रमण?

    नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त...