शङ्करमाथि साहित्य चोरीको आरोप र साथमा उनको यस्तो जवाफ


चर्चित लेखक स्वः शंकर लामिछानेलाई कुनै बेला कुमुदिनी नामक पाठकले साहित्यिक चोरीको आरोप लगाए। पछि निवन्धकार शंकरले एक प्रकारले उनको आरोपलाई स्विकार गरे पनि। त्यति मात्र होइन उनले आफूले नलेख्ने प्रतिज्ञा पनि गरे। यस्तो दियो कुमुदिनीको आरोप र शंकरको जवाफ-


 

शङ्कर लामिछानेज्यू,
शङ्कर लामिछानेको कवि, लेखक, आलोचकप्रति मेरो मनमा अखण्ड आदर छ, अटुट सम्मान छ र छ अनावश्यक पूजा भाव। म आज पनि, उसैगरी उहाँको विद्वत्ताको, उहाँको अध्ययनशीलताको, उहाँको बौद्धिकताको र उहाँको ‘मारवलस’ लेखन–शैलीको उत्तिकै कदर गर्छु– सायद आवश्यकताभन्दा ज्यादा नै सम्मान गर्छु। म उहाँलाई खोजी–खोजी पढ्छु। लामिछानेप्रतिको मेरो आग्रह देखेर, म आफैँ सोच्छु, म उनको अन्धपूजा गरिरहेकी छु।

यस्तै सन्दर्भमा, उहाँको एउटा (अपूर्ण ?) लेख ‘आभाँ गार्देको सौन्दर्यशास्त्र’ (रुप–रेखा ११२ र ११४) पढ्ने सौभाग्य, केहीअघि, मिलेको थियो। यस लेखको दुई किस्ता (हुन त बाँकी पछि, भनिए पनि त्यसको अरु अंश प्रकाशित भएको मैले देखिनँ।) हुनसक्छ, पुस्तकालयबाट (अमेरिकन पुस्तकालय? मैले त त्यही हेर्ने मौका पाएकी थिएँ) उधारो लिइएको त्यस किताबलाई म्यादभित्रै फिर्ता गर्नुपर्दा त्यस्तो भएको होस्। अथवा ‘रुप–रेखा’ले शङ्कर लामिछानेको त्यो ‘चालबाजी’ दुई अंश प्रकाशित गरिसकेपछि थाहा पाएर त्यस्तो भएको होस्, प्रकाशित भैसकेको छ। प्रस्तुत लेख पहिलोपटक प्रकाशित गर्दा, त्यसको पुच्छारमा ठिक त्यस्तै टिप्पणी–अर्थात् ‘माइकल कर्बीको लेखमा आधारित’ छ भन्ने टिप्पणी–निक्लेको छ, जस्तो उहाँको उत्कृष्ट कथा– ‘अर्धमुदित नयनको पुच्छारमा विदेशी लेखकहरुको ‘प्रभाव’ स्वीकारिएको छ । यसरी माइकल कर्बीको किताब– ‘द आर्ट अफ टाइम एसेस अन द एभाँ–गार्द’ लाई उल्लेख नगरेर अर्थात्, लामिछानेज्यूले ‘आफ्नो’ लेखलाई केबल माइकल कर्बीको ‘लेख’मा ‘आधारित’ मात्र गराएर (‘अर्धमुदित नयनको कथामाजस्तै) आफ्नो मौलिकताको दाबी गर्दैछन्। यसरी नै, लामिछानेको आफ्नो मौलिकताको बचावट गर्ने र आफ्नो लेखलाई पनि मौलिक ‘हुनु’को ‘प्रतिष्ठा’बाट जोगाउने प्रयास जसरी गरेका छन् त्यो, निःसन्देह नेपालको अन्तर्राष्ट्रिय साहित्य–प्रतिष्ठा मानिने शङ्कर लामिछानेको लेखकीय प्रतिष्ठालाई कदापि सुहाउने कुरा थिएन। लामिछानेज्यू, यस्तो ‘तुच्छ’कुरा पनि तपार्इंले कसरी बिर्सिदिनु भो?

यही शङ्कर लामिछानेको भनिएको त्यस लेखमा एउटा आश्चर्यपूर्ण मनोवैज्ञानिक रहस्य तथा जटिलताको अर्को उपलब्धि पनि छ। उनले प्रस्तुत गरेको ‘उनको–लेख’लाई माइकल कर्बीको ‘लेख’–बाट सोझै अनूदित भन्ने अफ्ठ्यारो कसरी प¥यो हँ, उनलाई ? किन यस्तो हिच्किचाहट? के त्यस लेखलाई अनूदित भन्दा, माइकल कर्बीको त्यस किताबको नाम र ‘सहायता’ लिइएका पृष्ठहरू उल्लेख गर्दा पनि उनको ख्यातिमा र उनको विद्वत्ता र मौलिक प्रतिभाशीलतामा कुनै ठूलो कलङ्क लाग्ने थियो र? (यी सबैका जवाफ त उनलाई मात्र थाहा होला) के यसरी उनको सर्वतोमुखी प्रतिभाशालीतामा कुनै चोट पर्ने थियो र? यही, केवल यही मात्र त्यस लेखको र त्यसका लेखक शङ्कर लामिछानेज्यूको ‘महत्ता’ रहेको छ।

यसरी लामिछानेको आजसम्मको ‘प्रतिष्ठा’(?) जोगिँदैछ या झन् लुप्त हुँदैछ? यो प्रश्न पनि म उनैसित सोध्न चाहन्छु। आशा गरुँ, उनले जवाफ नदिने कञ्जुसीबाट आफूलाई रोकुन्।

जसरी, ‘आभाँ गार्देको सौन्दर्यशास्त्र’ माइकल कर्बीको लेखमा (शब्दशः अक्षरशः) आधारित ‘लेख’ हाम्रा शङ्कर लामिछानेजस्ता लब्धप्रतिष्ठ साहित्यकारको आफ्नै लेख हुन सक्छ, ठीक त्यसरी नै खोक्रो मान्छे शीर्षकीय कविता (अनु. शङ्कर लामिछाने रुप–रेखा १, २ः २०१७ भदौ असोज) इलियटको ‘द हलो मेन’मा आधारित शङ्कर लामिछानेको आफ्नै कविता किन हुन सकेन? (मलाई आश्चर्य छ) यहाँ पनि त उहाँ अनूदितको बदला आधारित लेखेर आफ्नो मौलिकताको चर्को ढोल पिट्न सक्नुहुन्थ्यो। (उहाँ भन्नुहोला, सेक्सपियर र भानुभक्तहरुलेझैँ मैले पनि आधार मात्र लिएको छु– यो मेरो मौलिक प्रतिभाको मात्र उपज हो। तर ‘अनुवाद’ गरेर पनि ‘मौलिकता’को दाबा गर्नु–त्यो पनि एउटा प्रबन्धमा कतिसम्म साहित्यिक अपराध मानिन सक्ने हो, ठूलो प्रश्नको विषय छ) ‘खोक्रो मान्छे’जस्ता कैयन् कविताहरुको ‘आधार’ लिएर आफू ‘इलियट’– स्तरीय नेपाली कवि आलोचक बन्न पाउने मौका उहाँले किन त्यसै गुमाउनु भयो, ठूलो रहस्यपूर्ण प्रसङ्ग हो।

हो, प्रतिष्ठा बढेपछि, (प्रतिष्ठाले कलङ्कलाई दबाउँछ,– यसका साँचा उदाहरण उहाँ भेट्न सक्नुहुन्छ– फ्रान्सिस वेकन, आन्द्रे जिद,– र ‘छैन शङ्करको नङ्गा मगन्ते भेष निन्दित’– आदिलाई पढेर) सेक्सपियरले ‘टु बी एन्ड नट टु बी’ लेखेर पनि सम्मान पाएजस्तै जे पनि लेखिदिए हुन्छ भन्ने उहाँ सोच्नुहुन्छ भने यो उहाँको ठूलो ‘भूल’ नमानिए पनि ‘अ–ठूलो’ भूल त जरुर मानिने छ तर के कुरा पनि साँचो छ भने प्रतिष्ठाले, सम्मानले पूजाले दोषलाई पनि गुण तुल्याइदिन सक्छ। (हो, मन परेको मान्छेको पाद पनि बसाउँछ) यस्तै, आफ्नोपनको पूर्वाग्रह (लामिछानेप्रतिको)बाट म ग्रसित छु पनि। यदि माइकल कर्बीको लेखमा आधारित मेरो लेख भन्नु र माइकल कर्बीको अनूदित लेख भन्नुका बीचमा कुनै विरोध छैन, कुनै अन्तर छैन भने, लामिछानेज्यू म, कैयन विदेशी अथवा स्वदेशी भाषाका (महाकाव्यदेखि लिएर उपन्याससम्म) लेखमा आधारित लेख लेखेर (उहाँको प्याजले जस्तै) नेपालको लोकप्रिय नोबेल पुरस्कार जित्न सक्छु। त्यस बखत मलाई आफूमाथि गर्व गर्नुपर्ने छ, आफ्नो कलाकारितामाथि गर्व हुनेछ र म शङ्कर लामिछानेलाई धन्यवाद दिइरहेकी हुनेछु। (मभित्र शङ्कर लामिछानेको प्रतिष्ठा हुनेछ।)

भन्नोस् शङ्करज्यू, मलाई उपदेश दिनोस्। के म यही चालबाजी अपनाएर आफ्नो ‘प्लेजियारिज्म’ लुकाउन सक्छु? हो, भने मलाई पनि अर्को माइकल कर्बी खोज्न विवश हुनुपर्ने छ।

यो करामत यति अघिसम्म, अघि बढेको छ, रुप–रेखा– ११४ मा माइकल कर्बीको नामसम्म पनि उल्लेख गरिएको छैन, जब लामिछानेज्यूले त्यस लेखमा यत्रतत्र माइकल कर्बीले आफ्ना लागि प्रयुक्त गरेका ‘म’ तथा ‘मेरा’जस्ता आत्मबोधक– (याने कर्बी–बोधक) सर्वनाम– शब्दलाई पनि हत्याएका छन्, ठीक त्यसरी नै, जसरी एउटा हाई–स्कुल–स्तरीय घोकन्ते छात्रले परीक्षामा पहिलो प्रश्नको उत्तर सुरु गर्छ– ‘अघिल्लो परिच्छेदमा भनिए जस्तै’बाट र जसरी डिक्टेसन गरिरहेको चौथो कथाको बोधो छात्राले (‘)लाई पनि कमा भनेर लेखिदिन्छ। एउटा प्रतिष्ठित लेखकबाट यो भन्दा ठूलो चमत्कार होस् पनि कसरी? (कि, यो शङ्कर लामिछाने अर्कै हो मेरो मतलब, त्यो होइन, जसले प्याज लेखेर मदन पुरस्कार स्वीकार गरी, मदन पुरस्कार गुठीलाई माथि उठाएको दाबी गरिन्छ। शङ्करज्यू, तपाइँ आफैँ बताइदिनोस् त्यो तपार्इं नै हो? या तपाईंको नामलाई नै उपनाम राखेर, कुनै पनि पत्रिकामा आफ्नो पहिलो लेख छपाएर मख्ख पर्न खोज्ने कुनै अर्कै सिकारु साहित्यकार? म दोधारमा फसेकी छु।)

अँ, यदि त्यो साहित्यिक तपार्इं नै हो (दुर्भाग्यवश) भने– के यिनै ‘ट्रिक’ र यिनै ‘ट्याक्टिस’ अपनाएर, म अर्को शङ्कर लामिछाने बन्न सक्दिनँ र ? (म, तपाईकै मुख या लेखनीबाट, तपार्इंलाई अप्ठेरो पर्छ भने व्यक्तिगत रुपमै भए पनि यस पत्रका सबै प्रश्नहरूको उत्तर–सफाइ सुन्न चाहन्छु यदि यसलाई धृष्टता मानिँदैन र तपाईको ‘कष्टसाध्य कृपा’ पाउँछु भने।)

कुमुदिनी
२४६, पकनाजोल


शङ्कर लामिछानेको जवाफ:

प्रिय बहिनी,
शङ्कर लामिछाने स्वयंलाई लेखक ठान्दैन। यस पाँच वर्षभित्र उसले चार, पाँचवटा विश्वको ‘महान् इतिहास’ र लेखन शैलीसमेत चोरेको छ। यो उसले गर्नुपरेको कारण हो– उसको जागिर थिएन र उसलाई बाँच्नु थियो। तपार्इंले एउटा मात्र पाउनु भयो, बाँच्नको निमित्त मैले त त्यस्ता पाँचछ वटा बदमासी गरेको छु। तपाईंले पिकासोको जीवन हेर्नुभयो भने पनि त्यस्तो अवस्था आउँदो रहेछ भनेर थाहा पाउनुहुनेछ। बाँच्नुजस्तो ठूलो कुरा जीवनमा अरू केही रहेनछ। मैले कसैलाई मारिनँ त्यो मेरो भाग्य हो। मेरा साथीले दिएको दुर्भाग्य मेरो निमित्त साँच्चि नै दुर्भाग्य हो। म सायद साहित्यिक क्षेत्रबाट सन्यास लिँदैछु र अब म लेख्ने पनि छैन होला।

कुमुदिनी, मैले पछि लेखिहालेँ भने पनि त्यस बेला तपाईंलाई शिकायत गर्ने कुनै मौका पनि दिने छैन होला, त्यस सुअवसरको प्रतीक्षा ‘रुप–रेखा’को पानामा नै गर्नुहोला ।

बहिनी, नेपाली साहित्यलाई तपार्इंजस्तो पाठकको जागरुकताको आवश्यकता छ, यो भएन भने मजस्तो मानिसले बीचबीचमा बदमासी गर्ने सम्भावना हुन्छ। तपाईंजस्तो बहिनीको तिलक लगाएर मात्रै हामी सङ्ग्राममा उभिन सक्छौँ। धन्यवाद!

शङ्कर लामिछाने

(शङ्कर लामिछानेमाथि कुमुदिनीले लगाएको चोरिको आरोप र लामिछानेको यो आत्मस्वीकृति रूपरेखामा भदौ २०२९ मा प्रकाशित भएको थियो।)

प्रकाशित १ पुस २०७३, शुक्रबार | 2016-12-16 15:56:48

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरा महानगर: चैतमै सक्नुपर्ने काम बल्ल सुरु

    ‘न्युरोडमा गिटी बिच्छ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिनँ। यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी...

  • प्रहरीले खोज्दै छ ३४ किलो अवैध सुनको मालिक

    सात महिना पहिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन समातिएपछि पक्राउ परेका अभियुक्तबाट प्रहरीले यो प्रकरणमा दुबईमा रहेका चार जनाको...

  • बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

    बार्सिलोनासँग रुष्ट छन् मेस्सी, यस्तो छ क्लब छाड्ने सम्भावना

    बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको छ।

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

    किन महत्वपूर्ण छ प्रधानमन्त्री देउवाको भारत भ्रमण?

    नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त...