कालजयी-संस्मरण

अलबिदा कामरेड जलजला!

यस्तो अनुभव भइरहेछ- जलजलाको मृत्युसँगै मेरो जीवनमा सधैँका लागि सूर्यास्त भएको छ


नयाँ दिल्लीबाट गोमती एक्सप्रेसद्वारा गोरखपुर फर्कँदै छु। गाडी चल्न अझै आधा घण्टा बाँकी छ। म गाडी हिँड्ने प्रतीक्षा गर्दैछु। मलाई यस्तो अनुभव भैरहेछ, अब मेरा अगाडि आफ्नो व्यक्तिगत जीवनमा प्रतीक्षा गर्नका लागि कुनै कुरा बाँकी छैन।

मलाई लागिरहेको छ, मैले आफ्ना व्यक्तिगत जीवनका सबै सुख, प्रसन्नता, आशा र उमंगहरू यहीँ छाडेर जाँदैछु। मलाई अनुभव भैरहेको छ, ती सबै कुराहरू मेरा जीवनबाट हराएर गैसकेका छन्। के थाहा सायद सँधैका लागि? मैले आफूलाई एकदम रित्तिएको अनुभव गरिरहेको छु।

अहिले म अत्यन्त दुःखित र व्यथित छु। मेरो व्यथा बाहिर आउन सकिरहेको छैन। त्यो भित्रभित्रै गुम्सीरहेको छ। त्यसकारण त्यो झन् असह्य भैरहेको छ।

गाडीमा मेराअगाडि थुप्रै मानिसहरू बसेका छन्। जवान स्त्रीहरू। केटाकेटीहरू। उनीहरू प्रसन्नतापूर्वक यताउता घुम्दैछन्र उनीहरूको मुखमा प्रफुल्लता देखिन्छ। उनीहरूले आफ्ना आसपास हरियाली छर्दै हिँडिरहेजस्तो लाग्दछ। तर मलाई त्यो सबै कुनै बेग्लै दुनियाँको कुरा जस्तो लाग्न थालिरहेको छ। म उनीहरूका बीचमा छु। तर नजिक भएर पनि मैले आफूलाई त्यो दुनियाँबाट एकदम टाढा कुनै टापुमा एक्लै बसेजस्तो अनुभव गरिरहेको छु।

केहीबेर पहिले म ६२० नम्बरको बसमा चढेर स्टेसनतिर आउँदै थिएँ। म बस चढ्ने ढोकानेर उभिएको थिएँ। विभिन्न स्टपहरूमा बस अड्दथ्यो। कैयौँ युवतीहरू एकएक गर्दै चढ्दथे। मेरा आँखा उनीहरूका मुखमा गएर अड्दथे। ती चेहराहरूमा मैले एउटा अनुहार खोज्न थाल्दथे– जलजलाको अनुहार। केही दिनपहिले उनी पनि यसै गरेर हिँड्थिन्। चल्थिन्। उभिन्थिन्। यिनै सडकहरूमा। कुनै बसमा उनी पनि यसै गरेर चढ्थिन् होला। अनि उभिन्थिन् होला। तर अब बसमा चढ्ने यात्रीहरूका बीचमा मैले कतै पनि उनलाई देख्दैनथेँ। मेरो प्रत्येक उत्सुकता निराशामा बदलिन्थ्यो। प्रत्येक चेहरा पुनः बिरानो हुन पुग्थ्यो। ती असंख्य चेहराका बीचमा कतै पनि मैले जलजलालाई फेला पार्न सक्दैनथे...।

मैले यो विश्वास नै गर्न सकिरहेको छैन कि जलजला अब हाम्राअगाडि छैनन्। उनले साँच्ची नै हामी सबैलाई छाडेर गैसकेकी छन्। बीचबीचमा कल्पना गर्न थाल्दछु, त्यो कुरा असत्य भैदिए हुन्थ्यो। त्यो कल्पनाले केही शान्ति दिन्छ। तर त्यो सन्तोष क्षणिक हुन्छ। पुन? तुरुन्त यो कटुसत्य मेराअगाडि आएर उभिन्छ– हो, जलजला अब हाम्राअगाडि छैनन्... उनको मृत्यु भैसक्यो।

म बिहानै उठेँ। उठेँ, तर बिस्तारा छाड्न सकिनँ। निंदले छाडिसकेको थियो तर बिस्तारा छाड्न सकिनँ। मैले मनमनै कल्पना गरिराखेँ, म अझै सुतिराख्न पाएको भए हुन्थ्यो। किन मलाई निन्द्राको आश्रय लिन मन लागिरहेको छ? निन्द्रामा मैले आफ्नो दुःख भुल्न सक्दछु। जलजलाको मृत्युबाट उत्पन्न शोक र व्यथाबाट बच्न सक्दछु। तर निन्द्राबाट जाग्नेबित्तिकै जलजलाको दुःखद् सम्झना मेराअगाडि आएर उभिन्छ। त्यसले मलाई चारैतिरबाट घेरा दिन थाल्दछ। पहिलेपहिले प्रायशः यस्तो हुन्थ्यो, जब मलाई सपनामा कुनै आपत् पर्न थाल्दथ्यो–अधिकतर जब पुलिसले मलाई गिरफ्तार गर्न थाल्दथे– म ब्युँझन्थेँ। ब्युँझने बित्तिकै मैले आफूलाई त्यो संकटबाट मुक्त भएको पाउँदथे। त्यसरी निन्द्राबाट ब्युँझदा मलाई सन्तोष दिन्थ्यो। मलाई प्रसन्नता दिन्थ्यो। त्यसले दुःख र कष्टबाट मलाई बाहिर ल्याउँदथ्यो। तर आज मैले उल्टो अनुभव गर्न थालिरहेको छु। जागरणमा अनुभव गरिरहेको दुःखबाट मुक्ति पाउन मैले निन्द्राको आड लिन खोज्दै छु...

गाडी चल्यो। फेरि रोकियो। फेरि चल्यो।

अब गाडीले स्पिड समातिसकेको छ।

गोमती एक्सप्रेस। सुपरफास्ट गाडी..

यति तीव्र वेगले यो कहाँ जाँदैछ? यो कुरा सबैलाई थाहा छ। रेलवे टाइमटेबलमा यो कुरा निर्दिष्ट छ। यहाँबाट यो कानपुर गएर रोकिने छ। त्यसपछि एकैपल्ट लखनऊ। त्यहीँ यसको यात्राको अन्त हो। तर त्यसले मलाई कहाँ लैजाँदैछ? मलाई थाहा छैन। मैले अन्दाज गर्न सकिरहेको छैन। जलजलाको मृत्युपछि ‘गोमती एक्सप्रेस’ले मलाई कहाँ पुर्‍याउने छ? यो यात्राको कहाँ गएर अन्त हुनेछ मलाई थाहा छैन। मलाई आफ्नो चारैतिर कुहिरोले छोपेजस्तो लाग्दछ। चारैतिरबाट अन्धारले ढाक्दै आएजस्तो लागिरहेको छ। गाडी दगुर्दैछ, त्यसका साथै म पनि अगाडि दगुर्दै छु– यो गाडीको चालमा र गतिमा। तर त्यो गतिको प्रकृति यान्त्रिक छ। त्यो गतिमा जीवनको स्पन्दन छैन। मलाई आफ्नो गति पनि ठीक त्यस्तै लाग्न थालिरहेको छ– जीवनको स्पन्दनबाट विहीन र यन्त्रवत्। हिजो मार्ग ३ गते म जलजलाको अन्तिम दाहसँस्कार गरेर फर्केँ। म उनको दाहसँस्कार थरेर फर्केको थिएँ वा स्वयं आफ्नो दाहसंस्कार गरेर? उनको मृत्यु भयो। त्यसकारण उनको दाहसँस्कार भए पनि उनले थाहा पाउन सक्दिनन् कि जीवनमा त्यसको अर्थ के हुन्छ? हामीले कुनै मृत मानिसको दाहसँस्कार गर्दछौँ। तर यथार्थमा त्यो बाँच्नेहरूको दाहसँस्कार हुन्छ। किनभने त्यसबाट उत्पन्न हुने वास्तविक दुःख र पीडा बाँच्नेहरूले नै भोग्नुपर्दछ।

दाहसंस्कारपछि हामीले दाहसँस्कारमा आउने मानिसहरूलाई भोज दियौँ। कैयौँ साथीहरूले भोजको प्रबन्ध गर्न मानिरहेका थिएनन्। तर जलजलाको मृत्युपछि उनको अन्तिम दाहसंस्कारमा सामेल हुनेहरूलाई त्यसै फर्काउन मेरो मनले मानेन। मलाई लाग्यो, त्यसो गर्नु उनको अपमान हुन्थ्यो। उनीप्रतिको अन्तिम कर्तव्य पनि पूरा नगरेर मैले उनलाई दुःख पुर्‍याइरहेको हुन्थेँ। साथीहरूले केही आनाकानी गरे। तर उनीहरूले बढ्ता जोड गरेनन्। राजु नेपाली र बाबुराम भट्टराईहरू बजार जानुभयो। उहाँहरूले केही मिठाई, तरकारी ल्याउनुभयो। एकएक ओटा बौता सबैका अगाडि राख्नुभयो। बौताहरूमा एउटाएउटा समोसा र मिठाईका एउटाएउटा टुक्रा। मैले पनि चुपचापसित खाएँ। म बिहानदेखि भोकै थिएँ, मलाई खान मन लागिरहेको थिएन। तैपनि खाएँ। मेरा अगाडि बसेका सबै साथीहरूले सानासाना टुक्रा पार्दै मिठाई र समोसा खाँदै थिए। त्यो गहिरो दुःख र शोकका बेलामा पनि त्यसबाट मलाई एक प्रकारको सन्तोष लागिरहेको थियो। त्यो दुःखका बेलामा सबैले दिएको साथ र सहानुभूतिले मेरो दुःखलाई निकै कम पारिरहेको थियो। त्यो बेला जलजलाको अन्तिम संस्कारका बेलामा उपस्थित लीलानाथ कुसुम, यमलाल पोख्रेल, बाबुराम भट्टराई, राजु नेपाली, वामदेम क्षेत्री, आदिका शोक सन्तप्त अनुहारहरू अहिले पनि मेरा मनमा घुमिरहेका छन्। मैले ती सबै साथीहरूप्रति गहिरो आत्मीयताको अनुभव गरिरहेको छु।

जलजलाको मृत्युपछि उनको मृत शरीर अझै पुलिस स्टेसनमा थियो। पुलिसको नियमअनुसार मृत व्यक्तिको वारेस उपस्थित नभएमा १२ घण्टापछि मात्र लास मिल्दो रहेछ। त्यसैले दिल्लीका साथीहरूले अझै उनको लास ल्याएका थिएनन्। यदि उनीहरूलाई पहिले नै त्यो लास दिएको भए हिजो नै उनको दाहसंस्कार भइसक्ने थियो र म त्यसमा उपस्थित हुन पाउने थिइनँ। उनको मृत्युपछि उनको अन्तिम संस्कारमा सामेल भएर सन्तोष प्राप्त गर्नेबाहेक मेराअगाडि अरु के विकल्प बाँकी रहेको थियो र? हिजो करिब १० बजे राजु नेपाली, राजु शर्माका साथ हामीहरू डेराबाट निस्कयौँ। पहिले हौजखास गयौँ। त्यहाँ एउटा दोकानमा गएर ढाइगज सेतो कपडा किन्यौँ। अनि एकगज कालो कपडा। नजिक फूलमालाहरू बेच्न राखेको थियो। एउटा माला किनेँ। अनि फोटोग्राफरलाई खोज्यौँ। टाढा जान कोही तयार भएन। हामी हौजखासबाट हिँड्यौँ।

म केही दिनपहिले हौजखास खाएको थिएँ। यहाँ ब्रिटिश स्कुल अफ ल्यांग्वेज छ। यहाँ अंग्रेजी बोल्न तालिम दिने स्कुल छ। जलजलाको अंग्रेजी बोल्ने तालिम लिने ठूलो इच्छा थियो। मैले त्यो स्कुलमा आएर त्यहाँको पाठ्यक्रम र फिसहरूबारे पत्ता लगाएको थिएँ। गोरखपुरबाट हिँड्ने बेलामा मैले उनलाई हौजखासको स्कुलको ठेगाना दिएको थिएँ। हौजखासमा आउँदा मैले ती कुराहरू सम्झेँ र लामो सास फेरेँ।

हौजखासबाट बस चढेर हामी काश्मिर गेट पुग्यौँ। त्यहाँबाट पैदल नजिकैको पुलिस चौकीमा गयौँ। त्यहाँ पुगेर एउटा फोटोग्राफरलाई खोज्यौँ। उनको दाहसंस्कार गर्नुभन्दा पहिले उनको फोटो लिने इच्छालाई दबाउन सकिनँ। त्यसपछि पुलिस चौकीमा गयौँ। साथीहरूले लास लैजानका लागि पुलिससँग गाडी मागे। पुलिसले कर्पोरेशनको गाडी मगाउन फोन गरे। उनको दाहसँस्कार गर्न उनलाई सरकारी गाडीमा लैजाने? मलाई भित्रभित्रै नराम्रो लागेर आयो तर म बोल्न सकिनँ। त्यही बेला फरिदाबादबाट आउनुभएका लीलानाथ कुसुम र अन्य साथीहरूले गाडीमा लैजानु हुन्न, बोकेर लैजानुपर्छ भन्ने कुरा गर्नुभयो। मलाई आफ्नो मनको कुरा अरु कसैले गरिदिएजस्तो लाग्यो। तुरुन्तै भनेर सरकारी गाडीलाई मनाही गर्न पुन? फोन गर्न पठायौँ।

पुलिसहरूले जलजलाको लास बाहिर निकाली दिए। मृत शरीर पाउँदा मलाई एकप्रकारको सन्तोष लागेर आयो। उनको मृत्युको समाचार पाएदेखि मैले उनलाई आफूबाट धेरै टाढा भएको अनुभव गरेको थिएँ। तर त्यसबेला मृतरूपमा भएपनि उनलाई पाउँदा मलाई यस्तो अनुभव भयो कि उनी मेरो नजिकै छन्। मैले आफूले ल्याएको माला उनलाई लगाइ दिएँ। अनि उनको कपाल मुसारेँ। मलाई आफ्नो दुःख केही घटेजस्तो अनुभव भयो। उनको टाउकोनिर बसेर स्ट्रेचर समातेर उनको शरीर माथि उठाएँ। फोटोग्राफरले फोटो खिच्यो। उनको अन्तिम समयमा सँगै बसेर त्यो फोटो खिच्न पाउँदा मेरो मनमा आनन्दको एउटा क्षीण लहर दगुर्‍यो। त्यसपछि त्यहाँ आएका अन्य साथीहरूसँगै बसेर फोटो खिच्यौँ। त्यसपछि उनको लासलाई बाँसको खटियामा चढायौँ। मैले अघिल्तिर दायाँपट्टि उनलाई बोकेँ। अरु तीन जना साथीहरूले अरुतिर बोक्नुभयो। त्यसपछि क्रमशः सबै साथीहरूले उनलाई बोक्दै जानुभयो। एउटापछि अर्कोले, त्यसपछि अर्कोले...

विजय घाटमा पुगेपछि अस्पतालले दिएको पुर्जी दियौँ। उनीहरूले नाम, ठेगाना, बाउको नाम, आदि सबै लेखे। मैले त्यसमा हस्ताक्षर गरेँ। त्यसपछि भित्र कोठामा लगेर हामीले लासलाई निश्चित स्थानमा राख्यौँ। अन्तिम पल्ट मैले कपडा खोलेर पुनः उनको मुख हेरेँ। हातले उनको कपाल मुसारेँ। त्यसपछि त्यहाँका कर्मचारीहरूले हामीलाई पछाडि हट्न भने। हामी सबैजना पछाडि हट्यौँ। मेसिनले उनको लास भित्र लग्यो। हामीले बिजुलीको भट्टीबाट आगोको मुस्लाहरू उनको शरीरमाथि खसेको देख्यौँ। त्यसपछि ढोका बन्द भयो र उनी सधैँका लागि हाम्रा अगाडि अदृश्य भइन्। केहीबेर उभिएर हामीहरूले त्यतातिर हेरिराख्यौँ। अनि सुस्त हामीहरू त्यहाँबाट निस्क्यौँ र चौरमा गएर शोक सभा गर्न थाल्यौँ।

राजघाट, शान्ति वन र त्योसित जोडिएको विजयघाट। राजघाटमा गान्धीको समाधि छ, शान्तिघाटमा नेहरूको। विजयघाटमा लालबहादुर शास्त्रीको समाधि छ। त्यहाँ साधारण जनताको दाहसंस्कार गरिन्छ। त्यहाँ एउटा सानो र सुन्दर घर छ। त्यसका वरिपरी दुबोका चौरहरू र हरिया रुखहरू छन्। ती सबैलाई आधुनिक किसिमले सिंगारिएको छ। त्यही घरभित्र बिजुलीको शवगृह छ।

चिताघरको अगाडिको चौरमा हामी सबै गोलाकार रूपमा बस्यौँ। जलजलाको शोक र आदरमा संक्षिप्त शोक सभा सुरु भयो। त्यहाँ करिब ४० जनाको उपस्थिति थियो। पछि केही साथीहरू थपिनु भयो। त्यसरी करिब ४५ जनाको उपस्थिति थियो। उपस्थित साथीहरूमा दिल्ली, फरिदावाद र गाजियावादमा नोकरी गर्ने नेपालीहरू, जवाहरलाल नेहरी युनिभर्सिटी र दिल्ली युनिभर्सिटीका विद्यार्थीहरू, भारतका विभिन्न माक्र्सवादी–लेनिनवादी ग्रुपहरूका साथीहरू हुनुहुन्थ्यो। उपस्थित साथीहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय, क्षेत्रीय कमिटीहरू तथा दिल्ली, फरिदावाद र गाजियावाद नगर कमिटीका कतिपय पदाधिकारीहरू, अखिल भारत नेपाली विद्यार्थी एसोसियसनका केन्द्रीय पदाधिकारीहरू, भारतका रिअर्गनाइजेसन कमिटी (माले)का दिल्लीस्थित कार्यकर्ताहरू तथा अन्य विभिन्न भारतीय वामपन्थी ग्रुपका सदस्यहरू थिए। सबैका मुखमा शोक थियो, सहानुभूति, समवेदना र आदरको भावना। त्यो शोकसभा सानो थियो। तैपनि यो कुराले मेरो दुःखलाई हल्का बनाइदिन्थ्यो कि जलजलाको मृत्युमा दुई देशका सामाजिक तथा राजनीतिक संगठनहरूमा काम गर्ने कार्यकर्ताहरूको उपस्थिति थियो। ती साथीहरूसित पहिले पनि कैयौँपल्ट भेट हुने गर्दथ्यो। तर यो गहिरो दुःख र शोकका बेलामा ती सबैको उपस्थितिले मैले उनीहरू सबैप्रति अत्यन्त गाढा आत्मीयता अनुभव गरिरहेको थिएँ, मलाई अनुभव भैरहेको थियो कि हामी सबै एउटै परिवारका सदस्य हौँ। सुख–दुःखका अभिन्न, घनिष्ठ र अन्तरंग साथीहरू। वास्तवमा त्यो मेरो कल्पना मात्र थिएन। दुनियाँका सबै क्रान्तिकारीहरू एकअर्काका अभिन्न, अन्तरंग र घनिष्ठ साथीहरू हुन्छन्। क्रान्तिका दौरानमा कायम हुने यसप्रकारको नाता जाति वा परिवारसित जोडिएको वंशानुगत र पारिवारिक नाताभन्दा धेरै गाढा र घनिष्ठ हुन्छ।

बाबुराम भट्टराईले सभाको प्रारम्भ गर्नुभयो। जलजला आफ्नो मृत्यु हुनुभन्दा ५ दिन पहिले मात्र दिल्ली आइपुगेकी थिइन्। दिल्लीमा यो उनको प्रथम यात्रा थियो। यो उनको प्रथम दिल्ली यात्रा थियो। यहाँ उनीसित व्यक्तिगत सम्बन्ध भएका एकजना मानिस पनि थिएनन्। यसबीचमा उनीसित थुप्रै साथीहरूको परिचय र भेटघाट भैसकेको थियो। तर उनको वास्तविक नाम, परिचयसम्म कसैलाई थाहा थिएन। अब उनको मृत्यु भैसकेको थियो र उनको वास्तविक परिचयलाई गुप्द राख्नुपर्ने आवश्यकता बाँकी रहेको थिएन। त्यसकारण मैले उनको संक्षिप्त परिचय दिँदै भनेँ–

‘कामरेड जलजलाको वास्तविक नाम विद्या ढकाल हो। उनको घर चितवन, तोरीबारी हो। उनका घरमा बाउ, आमा, ४ ओटी बहिनीहरू र २ भाइहरू छन्। वीरगञ्जमा पढ्दा विद्यार्थी आन्दोलनका सिलसिलामा उनी केही वर्ष पहिले (साल मलाई याद छैन) ९ महिनाका लागि रौतहटको जेलमा थुनिएकी थिइन्। त्यसको केही वर्षपछि उनी हाम्रो पार्टीको होलटाइमर कार्यकर्ता बनिन्। त्यसपछि पार्टीको निर्देशनअनुसार देशका विभिन्न दुर्गम र पहाडी क्षेत्रहरूमा पुगेर भूमिगत रूपमा एक वर्षजति बसेर पार्टीको काम गरेकी थिइन्। उनी पार्टीको एउटी बहादुर र कर्मठ कार्यकर्ता थिइन्। पार्टीमाथि उनको अत्यन्त ठूलो आस्था थियो। कतिपय अफ्ठ्यारा दिनहरूमा पनि उनको पार्टी र क्रान्तिमाथिको आस्था घटेन। अहिले उनी नेपालको तानाशाही व्यवस्थाका विरुद्धको प्रजातान्त्रिक आन्दोलनका लागि भारतस्थित नेपाली जनता तथा भारतका पनि देशभक्त, जनतान्त्रिक र वामपन्थी जनताको समर्थन जुटाउन र सहयोगका लागि अपिल गर्न भारत आएकी थिइन्।’ तर मलाई अगाडि बोल्न अफ्ठ्यारो भयो। मेरो आवाज रोकियो। मैले आफ्नो कुरा टुंग्याउँदै भनेँ– तर दिल्ली पुगेको ४ दिनभित्र नै उनको मृत्यु भयो।

रिअर्गनाइजेसनका एकजना कामरेडले भन्नुभयो, ‘कुनै पनि देशको शोषित वर्गको मुक्ति र क्रान्तिका लागि काम गर्ने क्रान्तिकारीहरू त्यो देशका मात्र हुन्नन्। उनीहरू विश्वभरका मेहनतकश जनताका अभिन्न अंग हुन्छन। कामरेड जलजला नेपालको पार्टी र क्रान्तिको लडाकु सैनिक हुनुहुन्थ्यो। त्यसकारण उहाँको मृत्यु खाली नेपालीहरूका लागि मात्र होइन, हाम्रा लागि पनि दुःखको कुरा हो। भारत र नेपालजस्ता देशहरूका लागि महिलाहरूका बीचबाट पेसेवर र होलटाइमर कार्यकर्ता तयार पार्नु अत्यन्त कठिन हुन्छ। त्यो अवस्थामा कामरेड जलजलाको मृत्यु पार्टी र क्रान्तिका लागि ठूलो क्षतिको कुरा हो। तर हामी क्रान्तिकारीहरू यसप्रकारको घटनाबाट विचलित र निराश हुनुहुन्न। क्रान्तिका दौरानमा यसप्रकारका घटनाहरू घटिरहनछन्। कामरेड जलजलाको मृत्यु भए पनि जुन उद्देश्य र कर्तव्यका लागि सहीदहरूले आफूलार्य बलिदान दिन्छन्, तिनीहरूलाई पूरा गर्ने प्रतिज्ञा र संकल्प गर्नुपर्दछ। यही नै मरेर जानेहरूप्रतिको हाम्रो सच्चा श्रद्धाञ्जलि हुनेछ।’

यसप्रकारका कुराहरू त मैले धेरै पल्ट गर्दै आएको थिएँ। धेरै पल्ट यसप्रकारको भाषण गर्दै आएको थिएँ। तर आज मलाई के लाग्यो भने मैले त्यसप्रकारका नयाँ कुराहरू सुनिरहेको छु। ती कुराहरूले मलाई निकै सान्त्वना र हौसला दिए। अन्य एकजना भारतीय कामरेड, जसको मैले परिचय थाहा पाउन सकिनँ, ले त्यही प्रकारका उद्गार प्रकट गर्नुभयो। ती कुराहरूले मेरो व्यथालाई निकै कम पारेर लगे।

भित्र बिजुलीको चितामा जलजला जलिरहेकी थिइन्। त्यसमा एउटा लास जल्न करिब २ घण्टा लाग्छ। भित्र लास जल्दै थियो। बाहिर शोक सभाको कार्यक्रम चलिरहेको थियो। अधिकतर समय मौनतामा बित्यो। २ मिनेट हामीले जलजलाप्रति शोक र श्रद्धा प्रकट गरेर मौनधारण गर्‍यौँ। वास्तवमा हाम्रो समयको अधिकतर भाग मौनतामा नै बित्यो। सबै चुप थिए। कोही केही बोलिरहेका थिएनन्।

सभा सिद्धिएपछि साथीहरू क्रमशः विदा हुँदै गए। हामी आठ दश जना मात्र बाँकी रह्यौँ। साथीहरू बाटो लागे, तर म तुरुन्त त्यहाँबाट हिँड्न सकिनँ। म एक्लै कोठाभित्र चितातिर गएँ। कैयौँ बेरसम्म एकटक लगाएर उतै हेरिराखेँ। अब उनको सारा शरीर खरानी बनिसकेको थियो होला। म एक्लै बडबडाएँः ‘जलजला... जलजला.. विदा कामरेड जलजला!’

म त्यहाँबाट हिँडे। बाहिर साथीहरूले पर्खिरहेका थिए। म केही नबोलिकन उनीहरूसित सँगसँगै बाहिर निस्केँ। अब घाम अस्ताउन थालेको थियो। मलाई यस्तो लागिरहेको थियो, स्वयं मेरो जीवनमा नै सूर्यास्त भैरहेको थियो। केही वर्षपहिले जेलमा छँदा मैले कविता लेखेको थिएँ। त्यसको एक अंश यसप्रकार थियोः ‘प्रत्येक दिन पश्चिममा अस्ताउने सूर्य प्रत्येक अर्को बिहान पुनः पूर्वमा उदाउनेछ।’ जनताको क्रान्ति र भविष्यबारे त्यो कुरा सधैँका लागि सत्य हो। त्यो सत्यमाथि आज पनि मेरो अगाध विश्वास छ। तर मेरो जीवनमा के पुनः अर्को बिहान आउने छ र पुनः सूर्योदय हुने छ? यो कुरामा टाढासम्म पनि आशाको कुनै क्षीण रेखा देख्दिनँ। मलाई यस्तो अनुभव भैरहेको छ, जलजलाको मृत्युको साथसाथै मेरो जीवनमा सधैँका लागि सूर्यास्त भएको छ...

हिजो ४ गते बिहान बिस्तराबाट उठ्दा मैले आफूलाई अत्यन्त कमजोर महसुस गरिरहेको थिएँ। मेरा अगाडि बारम्बार जलजलाको अनुहार घुमिराख्थ्यो। राजु नेपालीको डेरामा उनका सामान फैलिएका थिए। दुर्घटना हुँदा उनले लगाएको कपडा त्यहीँ थिए। एउटा साडी, एउटा उनीको सल, ब्लाउज। तिनीहरूमा उनको रगत लागेको थियो। जलजला गोरखपुरबाट हिँड्नुभन्दा अघिल्लो रात मैले उनलाई एउटा सल किनिदिएको थिएँ। उनले एउटा सल मनपराएकी थिइन्। तर बजार बन्द भइसकेको थियो। त्यसैले हतारमा मैले अर्को सल किनिदिएको थिएँ। त्यो बेला मलाई थाहा थिएन कि अन्तमा त्यो सल ओढेर उनी मृत्युको शिकार बन्न पुग्नेछिन्। त्यो सन उनको जीवन र मृत्यु दुवै अवस्थामा उनको साथमा रहेको थियो। उनको रगतले मुछिएको त्यो सललाई मैले कहिल्यै छाड्न सक्दिनँ जस्तो लागिरहेको छ। त्यो सलले मलाई यो अनुभव गराइरहेको छ कि जीवन र मृत्युका दुवै अवस्थाहरूमा उनी मेरा साथ छिन्। राजु नेपालीले उनको रगतले मुछिएका कपडाहरूको धुनलाई बाल्टीमा भिजाइदिएका छन्। मानिसहरूले भन्छन्, त्यस्ता कपडाहरू फालिदिनुपर्छ। तर मैले कसरी बताउँ कि उनको रगतले मुछिएका कपडाहरूको मेरा लागि कति महत्व छ? उनको मृत्युपछि उनका ती कपडाहरूले मलाई यो अनुभव गराउने छन् कि उनी अझै मेरोनजिक छिन्।

राति गोमती एक्सप्रेस लखनउ स्टेसनमा पुगेर रोकियो। त्यही त्यसको अन्तिम स्टेसन थियो। म स्टेसनबाछ ओर्लेँ र प्लेटफर्ममा गएर बसेँ। केही खान मन लागेन। मेरो ध्यान लगातार जलजलातिर गैरहेको थियो। उनीसित जोडिएका सानासाना सम्झनाहरू मेरा दिमागमा घुम्दैथिए। उनीसित जोडिएका सानातिना सामानहरूले मेरो मनमा उनको सम्झनालाई ताजा गराउँथे। जलजला दिल्ली हिँड्नुको अघिल्लो राती मैले उनलाई एउटा तन्ना किन्न दिएको थिएँ। अब उनले स्पर्श गरेका चीजले मलाई मर्माहत बनाउन थालेका छन्। ती प्रत्येक सामानले मलाई उनको सम्झना ताजना बनाउँदछन्। मैले त्यही तन्ना ओच्छ्याएँ। उनको सल, जुन उनले आफ्नो मृत्युको समयमा ओढेकी थिइन्, र जसमा उनको रगतको छाप छ, लाई ओढेँ र म सुतेँ। तर म तुरुन्त सुत्न सकिनँ। कैयौँ बेरसम्म कैयौँ कुराहरू मेरा मनमा खेलिरहे।

५ गते बिहानै मेरा आँखा खुले।

म उठेर बाथरुमतिर गएँ। मेरो साथमा साबुन थिएन। सिद्धिएको थियो। मेरो साबुनको बट्टा छसात महिना पहिले कतै छुटेको थियो। त्यसपछि अर्को साबुनको बट्टा किन्ने विचार गर्दागर्दै पनि मैले किन्न पाएको थिइनँ। जलजलाले मलाई साबुनको बट्टा किनिदिन खोजेकी थिइन्। उनको पनि साबुनको बट्टा थिएन। आफूलाई पनि किन्न खोजेकी थिइन्। तर कैयौँ दोकानहरू हेर्दा पनि उनलाई साबुनको बट्टा मन परेको थिएन र साबनको बट्टा किन्ने काम त्यसै रह्यो। पछि उनले साबुनको एउटा बट्टा किनिछन्। त्यसभित्र लाइफबाय साबुन छ। त्यही साबुन लगेर म बाथरुमतिर गएँ। हात–मुख धोएँ। करिब एक वर्षदेखि मेरो साथमा हातमुख पुछ्ने रुमाल थिएन। उनका सामानमा पुरानो भएर दुई टुक्रा पारेर पुनः सिलाएको एउटा टावेल छ। त्यसैले मैले हातमुख पुछेँ। ती सानासाना प्रसंग र सामानहरूले पनि अब मलाई भावुक बनाउन थालिरहेका छन्। ती प्रसंग र सामान उनको मृत्युपछि उनीसित मेरो भावनात्मक सम्बन्ध जोड्ने कडी बन्न थालेका छन्।

अब म ‘सेव’ गर्न जाँदैछु। पहिले मैले जति पनि सेफ्टी रेजर किन्दथेँ, ती सबै केही महिनापछि नै हराउने गर्दथे। तर उनले मलाई उपहार दिएको यो ‘एरास्मिक सेफ्टी रेजर’ कैयौँ महिनादेखि मसँग छ। उनको मृत्युको समाचार सुनेदेखि नै मैले सेव गरेको छैन। तर आज मैले सम्झिदैँ छु, मैले एक दिन पनि सेव नगर्दा उनले मलाई भन्ने गर्थिन्, ‘आज सेव गर्नुभएन?’ उनले तुरुन्तै पानी र ऐना अगाडि ल्याएर राखिदिन्थिन्। उनी नहुँदा पनि मैले उनको कुरा सम्झन्थेँ र एकदुई दिनमा नै सेव गरिरहन्थेँ। तर अब मलाई सेव गर्न कर गर्ने, त्यसको ख्याल गर्ने कोही छैनन्। तै पनि मलाई लागिरहेको छ, कतै बसेर उनले भनिरहेकी छिन्, ‘किन सेव नगरेको?’

अब म सेव गर्न उठ्दैछु।

त्यसपछि म बजारतिर जानेछु।

उनले आफ्नो अन्तिम पत्रमा सोधेकी थिइन्, ‘कानपुर गएको काम के भयो?’ उनी दिल्ली हिँडेको दोस्रो दिन म कानपुर आएको थिएँ। त्यसका लागि पुनः १८ नोभेम्बरमा त्यहाँ जाने ठेगान भएको थियो। तर मलाई के थाहा र १८ नोभेम्बरमा त म उनको दाहसँस्कार गर्न विजयघाट (नयाँ दिल्ली) पुगेको हुनेछु।

५ मङ्सिर २०३८
लखनऊ, रेलवे जंक्सन

 

प्रकाशित २५ मंसिर २०७३, शनिबार | 2016-12-10 16:18:57
author photo

मोहनविक्रम सिंह पुराना कम्युनिस्ट नेता तथा नेकपा (मसाल)का महामन्त्री हुन्

मोहनविक्रम सिंहबाट थप


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरा महानगर: चैतमै सक्नुपर्ने काम बल्ल सुरु

    ‘न्युरोडमा गिटी बिच्छ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिनँ। यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी...

  • प्रहरीले खोज्दै छ ३४ किलो अवैध सुनको मालिक

    सात महिना पहिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन समातिएपछि पक्राउ परेका अभियुक्तबाट प्रहरीले यो प्रकरणमा दुबईमा रहेका चार जनाको...

  • बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

    बार्सिलोनासँग रुष्ट छन् मेस्सी, यस्तो छ क्लब छाड्ने सम्भावना

    बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको छ।

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

    किन महत्वपूर्ण छ प्रधानमन्त्री देउवाको भारत भ्रमण?

    नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त...