नेपालखबर अर्काइभ

त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

खुशीराम पाख्रिन भन्छन्ः मुग्लिन–नारायणगढ बाटो खन्ने कुल्लीहरूको सम्झनामा यो गीत तयार पारेँ



खुशीराम पाख्रिन
खुशीराम पाख्रिन
सन्देश दुमरु

म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो हुँदै हामी गोरखा जान्थ्यौं। त्यहाँ जान हामी मुग्लिनभन्दा अलि तल गाइघाटबाट डुङ्गा चढेर पारी तथ्र्यौं। त्यस्बेला पहाड जाने त्यही मात्र बाटो थियो। बाँदरले माथिबाट ढुङ्गा खसालेर मार्ला जस्तो बाटो थियो। एकदम खतरनाक। अहिले देखिने गाउँ त्यसबेला थिएन। फाट्टफुट्ट घरहरू देखिन्थे। माथि डरलाग्दो घना जङ्गल थियो। हामी त्यही बाटो आउने जाने गर्थ्यौँ।

०३७/०३८ सालतिर त्यही बाटो हिँड्दाहिँड्दै पारिपट्टी बाटो खनेको देखिन्थ्यो। बाटो बनाउने रे, अब गाडी चल्ने रे भन्ने कुरा सुनिन्थ्यो। पहाड आउजाउ गर्दागर्दै त्रिशुलीको भित्तामा मान्छेहरू ठाडो भिरमा झुन्डिँदै हल्लिँदै पहरामा दुलो खोपेर ब्लास्टिङ गर्थे। ठूलो आवाजमा पड्काएको सुनिन्थ्यो। कसैले बेल्चाले माटो फ्याँकिरहेको देखिन्थ्यो। साना–साना नानी बोकेका महिलाहरू, स्याउलाको छाप्रोअगाडि सिलावरको भाँडा झुन्डिरहेका, त्यसको नजिक तीनवटा ढुङ्गा जोडेर आगो फुक्दै गरेको अनि धुँवाले छाप्रोलाई घेरा हालेको देखिन्थ्यो। धेरैपटक हिँड्दा त्यो दृश्य मेरो मनमा ‘छाप’ बनेर बसिरह्यो।

त्यतिबेला श्रमजीवी मानिसको पक्षमा गीत लेख्नुपर्छ भन्ने चेतना ममा थियो। ती मजदुरहरूले गरेको मेहनतको गीत लेख्छु भन्ने मनमा लाग्न थाल्यो। त्यसपछि ३८ सालमा मैले यो गीत लेखेँ। गीत लेखियो, तर सङ्गीत कस्तो बनाउने भन्ने फसाद पर्यो। गुनगुनाउँदा गुनगुनाउँदै एउटा संगीत फुर्यो। त्यसपछि हार्मोनियममा बसेँ। घरमा कताबाट एउटा पुरानो हार्मोनियम आइपुगेको थियो। त्यही हार्मोनियम बजाएर यो गीतमा मैले लय भरेको हुँ। 

त्यसबेला म चौथो महाधिवेशन पार्टीमा थिएँ। पार्टीको अभियान चलिरहेको बेला यो गीत लगेर मैले सबैभन्दा पहिले लमजुङको अल्बोटारमा सुनाएँ। गीत सुन्दा मान्छेहरू मत्रमुग्ध भए। कतिले त आँसु पनि झारे। पछि मैले जहाँ–जहाँ कार्यक्रम गरेर हामी पुग्थ्यौं, त्यहीँ–त्यहीँ यो गीत गाउन थालेँ। अनि गाउँगाउँका मान्छेले गीत टिपिहाल्थे। पञ्चयातको बेला हामी व्यवस्थाविरोधीहरू एकै ठाउँमा धेरै बस्दैनथ्यौँ, हिँडिहाल्थ्यौं। पछि बिस्तारै गीत जनताबीच चर्चित भयो। यही गीतको लोकप्रियतापछि मलाई थप जिम्मेवारी बढेको महसुस भयो। जनताको पक्षमा लेख्नुपर्छ भन्ने उत्प्रेरणा पनि जागृत भयो। 

०३८ सालतिरकै कुरा हो। चितवनको सन्तबगैंचामा भएको सांस्कृतिक कार्यक्रममा म यही गीत गाउने तयारीमा थिएँ। मुग्लिनकै बाटो बनाउने बेला थाइल्यान्डको कम्पनीले छाडिगएको हरियो गाडीमा चढेर एक हुल पुलिस आए। सबैको हातमा लौरो थियो। उद्घोषक साथीले ‘नडराउनुस् नडराउनुस्, बाघ होइन, भालु होइन, किन डराउने?’ भन्दै थिए। तर, पुलिसहरू स्टेजमा लौरोले ड्याङ्ड्याङ् ठटाउँदै र सिट्ठी फुक्दै साथीहरूलाई पनि लौरोले पिट्न थाले। त्यतिबेला म स्टेज पछाडिबाट बाहिर निस्कन मात्र के लागेको थिएँ, बङ्गरामा ड्याम्म मुड्कीले हानिहाले। मुखमा नुनिलो थुक निस्कियो। उनीहरूले लौरो उज्याएर मलाई हान्न खोजे तर मैले च्याप्पै समाए। समाउन त समाएँ अब के गर्ने? मलाई अप्ठेरो पर्यो। पछाडि तारबार थियो। भाग्न सक्ने कुरा भएन। भाग्नु पर्ने ठाउँमा पुलिसहरू टन्नै आइपुगे। लौरो खोसेर जबरजस्ती उनीहरू भएतिर हुत्तिएँ। उनीहरूले बाटो छाडेजस्तै गरे, त्यसपछि टाप भागेँ। हाम्रा बाजागाजा, साउन्ड सिस्टम सबै उनीहरूले लगे। हामी भागेपछि एक जना सल्यानी बाजे भन्ने बुढो मान्छेलाई उनीहरूले धेरै कुटेछन्। ६ महिना पछि ती बुढो मान्छेको मृत्यु भएको खबर सुनियो। त्यतिबेला पनि म ‘गैंती–बेल्चा उचालेर’ गीत गाउने तयारीमै थिएँ।

यसरी भागदौडसँगै म निरन्तर जनताको पक्षमा गीत गाउँदै हिँडि नै रहेँ। पछि मैले स्थायी प्रकृतिको सांस्कृतिक टोली बनाएँ। त्यो टोली चितवनका गाउँगाउँ र गण्डकीका पहाडी इलाकामा समेत हामी पुग्यौँ। त्यही गीतले मेरो परिचय बनायो।

यो गीत रेकर्ड हुन भने झण्डै एक दशक कुनु पर्यो। जनताबीच स्थापित भएपनि बहुदल आएपछि मात्रै यो गीत रेकर्ड भयो। यसलाई लोकगायक नारायण रायमाझीले एरेन्ज गरे। कोटेश्वरतिरको एउटा स्टुडियोमा तारा भुजेल र मेरो स्वरमा रेकर्ड गरियो र पछि ‘जलजला’ एल्बममा यो राखियो। मैले यो गीत भारतका विभिन्न ठाउँमा जाँदा पनि गाएँ। पहिलोपटक ०३९ सालतिर राँचीमा रामेश, रायन र मन्जुलसहित गएको कार्यक्रममा पनि मैले यो गीत गाएको थिएँ। मद्रास, गोरखपुरका नेपालीमाझ पनि मैले यो गीत गाएँ। जनयुद्धमा पनि साथीहरुले यो गीत ठाउँठाउँमा गाउँदै हिंडे। पछि यो गीत ०७० सालमा रिमेक गरेका छन्। त्यसमा रमण थामी र धनु ग्याङ्मीको स्वर छ।

गीत– गैंती बेल्चा उचालेर

गैंती बेल्चा उचालेर 
पहरालाई छिचोलेर 
डाँडाकाँडा बाटो बनायौ
के खायौं नि कुल्ली दाइले 
के खायौं नि कुल्ली भाइले 
अर्कैले ट्याक्सी गुडायो

हामीले टेक्ने ढुङ्गे गेगर खस्न तयार थियो 
टाउको माथि पहराहरू झर्न तयार थियो 
तल हेर्दा खोला बगर टाउको रिँगाइदिन्थ्यो 
छिनो माथि घनले हानी झिल्को निकालिन्थ्यो

आफ्नो आँत छिनाएर
प्राणको बाजी लगाएर
भिरपाखा बाटो बनायौ
के खायौ नि कुल्ली दाइले
के पायौ नि कुल्ली भाइले 
ठेक्दारले पैसा कमायो

डबल जिउकी भाउजू पनि त्यही पहरामा बास
बाँचुला र खाउँला भन्ने छैन केही आश
त्यही पहरामा नानी जन्म्यो गैंती ठोकी ठोकी
कति ढुङ्गा पन्छायौ नि रातो नानी बोकी

घामपानी नभनेर 
भोक तिर्खा नभनेर
पूर्व पश्चिम बाटो बनायौ
के खायौ नि कुल्ली दाइले
के पायौ नि कुल्ली भाइले 
दुनियाँलाई बसमा कुदायौ

सधैं हामी ब्लास्टिङ बोकी बाँदर लड्ने भिरमा
मर्ने काल टाढा छैन मुटु छैन थिरमा
काम सक्यो ज्याला सक्यो हाम्रो खल्ती रित्तै 
साहु ठालुको मोटरले चढाउदैनन् सित्तै

कति मरे किचिएर 
कति मरे पुरिएर 
ब्यर्थै हाम्रो जीवन गुमाएर 
के खायौ नि कुल्ली दाइले 
के पायौ नि कुल्ली भाइले 
नानीहरू टुहुरा बनाएर

जुर्मुरिएर उठ्नु पर्यो सबै कुल्ली साथी 
दुष्टहरूले परेड खेल्यो हामी छाती माथि 
हाम्रो गीत खेर गयो चुप लागेर बस्दा 
ठूला ठालु डराउँदैछन् हामीले कम्मर कस्दा 

हाम्रो जीवन नचिन्नेलाई 
हाम्लाई मान्छे नगन्नेलाई 
हाम्लेपनि अब चिन्या छौं 
भिरमा खेल्ने साहसहरू
पहरा छेड्ने तागतहरू 
संघर्षमा अब लगाइदिऊ!

---------------------

प्रस्तुतिः राजु स्याङ्तान

प्रकाशित १७ मंसिर २०७३, शुक्रबार | 2016-12-02 15:53:39
author photo

खुशीराम पाख्रिन गायक तथा सङ्गीतकार हुन्


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...