सदीक्षा श्रेष्ठः डाक्टर बन्न छाडेर बिजनेश प्लानर

सदीक्षा श्रेष्ठ
सदीक्षा श्रेष्ठ
प्रविन कोइराला

मिस नेपालको विजेताका लागि कार उपहार राखिएको थाहा पाएपछि सदीक्षाले आमालाई जिस्काउँदै सोधिन्, ‘ममी हजुरलाई यो कार चढ्ने मन छ?’ नभन्दै सदीक्षाले मिस नेपाल बनेर त्यो कार जितिन्, अहिलेसम्म पनि उनी त्यही चेरी कार चढ्छिन्।

सदीक्षा सेन्टजेभियर्स कलेजमा बीबीएस पढ्दै थिइन्। एकदिन उनको मोबाइलमा जर्मन कार फक्सवागनको नेपालमा आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलका महाप्रबन्धक विवेक बिजुक्छेको फोन आयो। विवेकले उनलाई सुजुकी स्कुटर लन्चका लागि आइदिन आग्रह गरे।

सदीक्षाले विवेकको आग्रह स्वीकारिन्। उनी तोकिएको समयमा वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर पुगिन्। स्कुटर लन्च गरिन्।

सोही बखत विवेकले सदीक्षालाई सोधे, ‘आजभोलि के पढ्दै, के गर्दै हुनुहुन्छ?’

सदीक्षाले आफू बीबीएस पढिरहेको बताइन्। विवेकले उनको रुचीबारे सोधे। सदीक्षाले मार्केटिङ फिल्डमा आफ्नो रुची रहेको सुनाइन्। साथै उनले १ वर्ष आफूले एसिई ट्राभल्स्मा ‘कर्पोरेट कम्युनिकेशन अफिसर’ भएर काम गरेको समेत बताइन्।

केही समय उनीहरुबीच फक्सवागनको विषयमा कुरा भयो। सदीक्षाको सबै कुरा सुनेपछि विवेकले उनलाई फक्सवागमा जागिरका लागि अफर गरे।

त्यसपछि उनीहरुबीच केही चरणमा छलफल भयो। यसरी सदीक्षाले विश्वकै सर्बाधिक बिक्री हुने कारहरूमध्ये एक फक्सवागनको नेपाल अफिसमा ‘इभेन्ट्स एन्ड ब्रान्ड कोअर्डिनेटर’ का रुपमा काम गर्न थालिन्।

यो २०७१ साल कात्तिकको कुरा हो। जतिबेला सदीक्षाले मिस नेपालको ताज पहिरिएको ४ वर्ष पुगेको थियो।

‘यसरी म फक्सवागनमा प्रवेश गरेँ र झन्डै डेढ वर्ष काम गरेँ’, सदीक्षाले प्रतिष्ठित कार कम्पनीसँग आफू जोडिएको प्रसंग सुनाउँदै भनिन्। 

थाइल्यान्डमा मास्टर्सपछि फेरि फक्सवागन
सदीक्षा २०७२ मा मास्टर्स तहमा अध्ययन गर्न थाइल्याण्ड पुगिन्। एसिया इस्ट्च्यिुट अफ टेक्नोलोजीमा एमबीए गरेर दुई वर्षपछि नेपाल फर्किइन्। गोल्ड मेडलिस्ट भएर नेपाल फर्किएपछिको दुई–तीन महिना त्यत्तिकै बित्यो।

‘मलाई जागिरका लागि अफरहरु आइरहेको थियो’, सदीक्षा भन्छिन्, ‘तर, के गर्ने, कहाँ काम गर्ने भन्ने कुरामा म अलमलमा थिएँ।’

अलमल हुनुको कारण पनि थियो। सदीक्षालाई १०–५ बजेको परिबन्धमा बसेर जागिर खानु थिएन। पूर्व मिस नेपाल भएकाले आफ्ना ब्यक्तिगत काम र जिम्मेवारी पनि थिए।

सोही बखत सदीक्षालाई पुरानै कम्पनीबाट विवेकले सम्झिए। उनीहरुबीच भेटघाट भयो। सदीक्षाले १०–५ वाला आफ्नो कुरा प्रष्ट राखिन्। उनको अन्य जिम्मेवारीको सम्मान गर्दै फक्सवागनले फेरि कामका लागि बोलायो। त्यसयता डेढ वर्षदेखि सदीक्षा फक्सवागनमा ब्रान्ड म्यानेजरका रुपमा कार्यरत छिन्।

सदीक्षा फक्सवागन फर्किएपछि उनको सक्रियतामा थुप्रै इभेन्टहरु भए। ग्राहकको सेवालाई प्राथमिकतामा राखेर विभिन्न क्याम्पेनहरु गरिए। महिलाको नाममा गाडि नामसारी गरेको खण्डमा हिराको औँठी उपहार दिने कार्ययोजना ल्याइयो। नेपालमा फक्सवागनको यात्रा १० वर्ष पुगेको अवसरमा ‘ग्राहक वर्ष’ मनाउने कार्यक्रम तय भएको छ। आफ्नो जिम्मेवारीका विषयमा आफै र आफ्ना सिनियरमार्फत् गर्नुपर्ने कामको समन्वय गरेर फक्सवागनलाई अघि बढाउने काम गरिरहेकी छन् सदीक्षा। 

डाक्टर बन्न छाडेर मार्केटिङ
सदीक्षाले मिस नेपाल बनेपछि बल्ल आफ्नो क्षेत्र रोजेकी हुन्। छोरीलाई डाक्टर बनाउने आमाबुबाको सपना पूरा गर्ने लक्ष्यका साथ उनले आइएस्सी पढेकी थिइन्। आइएस्सीपछि मिस नेपाल बनिन्। त्यसपछि सदीक्षाको दिमागमा विभिन्न कुराहरु खेल्न थाले– डाक्टर बन्दा पढ्नुपर्ने मोटा–मोटा किताबहरु, दिनुपर्ने थुप्रै परीक्षाहरु, आफ्ना सिनियरले गरेको दुःख आदि।

उनलाई अभिनय वा फिल्ममा पहिल्यैदेखि रुची थिएन। कुन विषय पढ्ने भन्ने कुराले उनलाई सताउन थाल्यो। सदीक्षा सानैदेखि मानिसहरुसँग कुरा गर्नमा रुची राख्थिन्, अरुलाई सजिलै कन्भिन्स गर्न पनि सक्थिन्, विभिन्न विज्ञापन हेर्दै त्यसलाई सुक्ष्म ढंगले केलाउँथिन्। त्यसैले पनि उनले बिजनेश र मार्केटिङ पढ्ने निर्णय लिइन्।

अहिले उनको पढाई र रुची मिलेको छ। फक्सवागनका लागि नेपालमा बिजनेश प्लान बनाउने र मिडिया डिल गर्ने जिम्मेवारी सम्हालेकी सदीक्षा आफ्नो काममा रमाइरहेकी छन्।

सदीक्षाको काम देखेर उनका बाबुआमाले गर्व गर्छन्। ‘विश्वकै उत्कृष्ठ मध्येको एक कार कम्पनीका लागि काम गर्दा मेरो परिवार पनि निकै खुसी छ’, सदीक्षा भन्छिन्।

बाटोमा वा अन्त कतै भेट्दा कतिपय मानिसले सदीक्षालाई ‘तपाईं फक्सवागनमा काम गर्नुहुन्छ होइन’ भनेर प्रश्न गर्दा रहेछन्। यस्ता प्रश्न उनलाई रोमाञ्चक लाग्छन्। मिस नेपाल भएपछिको उनको आफ्नै पहिचान त छँदै छ त्यसमाथि फक्सवागनले पनि उनलाई धेरैमाझ परिचित गराएको छ, व्यवसायिक रुपमा।

फक्सवागनको काम सँगसँगै उनले आफ्नो अन्य भूमिका र जिम्मेवारी सँगसँगै अघि बढाइरहेकी छन्। चैत १५ र १६ गते काठमाडौंको सोल्टी होटलमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनजस्तो बहुप्रतिक्षित र चासोको कार्यक्रम उनले नै होस्ट गरिन्। यस्ता कार्यक्रमका लागि उनले अफिसबाट पनि छुट्टी पाउँछिन्।

मिस नेपालको कार
मिस नेपालको अडिसनका लागि पत्रिकामा विज्ञापन छापियो। विजेताका लागि उपहार राखिएको थियो कार। सो विज्ञापन देखेपछि सदीक्षाले आफ्नी आमालाई जिस्काउँदै भनेकी थिइन्, ‘ममी हजुरलाई यो कार चढ्ने मन छ?’

नभन्दै सदीक्षाले मिस नेपाल बनेर सोही कार जितिन्। सुरुमा उनलाई कार चलाउन आउँदैनथ्यो। त्यो कार केही समय उनका बुबाले चलाए। पछि सदीक्षाले ड्राइभिङ सिकिन्। र, आफै चलाउन थालिन्। 

सदीक्षालाई कार सिक्न भने निकै समय लाग्यो।

‘खासमा म अल्छि भएर हो’, सदीक्षा खुलाउँछिन्, ‘ड्राइभिङ कोर्स पूरा गर्नै समय लाग्यो। कहिले के हुने, कहिले कुन काम पर्ने। त्यस्तै त हो नि।’

तर, उनले ट्रायल भने एकैपटकमा पास गरिन्। पास गरेको केही समय उनले ड्राइभर राखेर यात्रा गरिन्। सधैं कति अरुको भर पर्ने भन्ने लागेपछि उनले आफै कार हाँक्न थालिन्।

‘डरायो भने त मैले कहिल्यै चलाउन सक्दिनँ होला भन्ने सोचले मलाई कार चलाउन पर्फेक्ट बनायो’, सदीक्षा भन्छिन्।

सदीक्षा कुन ब्रान्डको कार चढ्छिन् त? फक्सवागनको ब्रान्ड म्यानेजरले अरु ब्रान्ड रोज्लान र?

तर हैन। सदीक्षा अहिले पनि मिस नेपाल भएपछि आफूले उपहार पाएको ‘चेरी क्यूक्यू३’ कार नै चढिरहेकी छन्।

भन्छिन्, ‘यो कारसँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ। त्यसैले पनि म यसलाई त्याग्न सक्दिनँ।’

उनकी आमाले पनि यस कारलाई लिएर ‘इमोसनल ब्ल्याकमेल’ गर्छिन् रे।

भविष्यमा कार फेर्नुपरे फक्सवागनकै कार चढ्ने बताउँछिन् सदीक्षा। आफू काम गरिरहेकाले मात्र होइन अन्य ग्राहकको प्रतिक्रियाले सदीक्षालाई यस्तो लागेको हो।

‘फक्सवागनले सेफ्टीलाई फोकस गरेको छ, यसको डिजाइन क्लासिक छ, ब्रान्डेड छ’, सदीक्षा भन्छिन्, ‘फक्सवागनको पोलो र भेन्टो कार नेपाल सुहाउँदो छ।’

सदीक्षा कहिलेकाहीँ ग्राहकहरु आउँदा फक्सवागनको कार चलाएर उनीहरुलाई विशेषता बताउँदै गुड्छिन्। उनलाई यसरी फक्सवागनमा यात्रा गर्न आनन्द लाग्छ।

‘कारको हेडलाइट बाल्न नआएपछि फोनमा ड्याडीलाई सोधें’

सदीक्षाले आफै कार चलाउने निर्णय लिएकी थिइन्। तर, केही होला कि भन्ने डर मनमा छँदै थियो। सुरुवाती दिनमा उनी यतिसम्म डराउँथिन् कि थापाथली (अफिस) बाट घर (बानेश्वर) जाँदा मन थररर हुन्थ्यो। उकालो–आरोलो आयो भने सातो उडेझैं हुन्थ्यो।

यतिसम्म कि अफिसबाट घर जाँदा बाटोबाटै आमालाई गेट खोल्न लगाउँथिन्, कतै कार रोक्न सक्दिनँ कि भनेर। एकदिनको यस्तै घटना उनलाई याद छ।

भन्छिन्, ‘त्यो आइतबारको दिन थियो। पहिलोपटक घरबाट आफै कार चलाएर अफिस गएकी थिएँ। अफिसबाट घर फर्कंदाको कुरा हो। म पसिनाले भिजिसेककी थिएँ। छोरी कतिबेला घर आउँछे भनेर ममीले पनि मलाई बाहिर बसेर कुरिरहनु भएको रहेछ।’

घर पुगेपछि भने उनमा खुसीको सीमै रहेन। संसार नै जितेजस्तो लाग्न थाल्यो।

सदीक्षालाई कारसँगको एउटा रमाइलो घटना याद छ। रात परेपछि गाडी चलाउन डर लाग्ने भएकाले अँध्यारो नहुँदै घर जान्थिन्। एकपटक भने साथीको घरमा खाना खाएर आउँदा रात नै पर्यो।

अब सबै साथीहरुलाई चेरीमा चढाएर सदीक्षाले नै घर छाड्दिनुपर्ने भयो। उनले गाडी स्टार्ट गरिन्। तर, हेडलाइट बाल्नै आएन।

‘हेडलाइट कहाँबाट अन गर्ने भन्ने नै थाहा पाइनँ’, सदीक्षा खुलेर हाँस्छिन्, ‘त्यसपछि ड्याडीलाई फोन गरेर हेडलाइट कसरी बाल्ने भनेर सोधेपछि बल्ल बल्यो।’

हेडलाइट त बल्यो, साथीहरुले भने सदीक्षालाई शंका गर्न थाले, उनलाई गाडी चलाउन नै आउँदैन कि भनेर। तर, अन्य विकल्प पनि थिएन। सबैले डराइडराई यात्रा गरे। सदीक्षाले सजग भएर कार हाँकिन र सुरक्षित रुपमा सबैलाई घरसम्म छाडिदिइन्। 

काठमाडौंमा कारः जाम र पार्किङ समस्या
सदीक्षालाई काठमाडौंको बाटो त्यति मन पर्दैन। तर, कार चलाउन एकदमै मन पर्छ। धेरै लामो यात्रा छ भने पछिल्लो सिटमै बस्न रुचाउँछिन्।

‘जति जाम भए पनि, जति चलाउनु नपरे हुन्थ्यो भन्ने लागे पनि म काठमाडौंमा आफै कार चलाएर हुँइकिन्छु’, सदीक्षा भन्छिन्, ‘तर, लामो यात्रा वा काठमाडौंबाहिर जाँदा भने पछिल्लो सिटमा बस्न नै रमाइलो लाग्छ ।’

फेरि उपत्यका बाहिर जाँदा ब्यक्तिगत भन्दा पनि अफिसियल कामका लागि जानुपर्ने भएकाले गाडिको ब्यवस्था पनि गरिएको हुन्छ।

सदीक्षालाई काठमाडौंमा गाडीमा हिँड्दा धुलो–धुवाँ र प्रदुषणबाट बच्नु र आरामदायी यात्रा गर्न पाउनु दुई राम्रा पक्ष हुन् जस्तो लाग्छ। तर, हतारमा कतै जानुपर्दा मोटरसाइकल वा स्कुटीजत्तिको छिटो जान नपाउनु र पार्किङका लागि हैरानी ब्यहोर्नु दुई खराब पक्ष हुन् उनको निस्कर्षमा।

सानो सहर काठमाडौंमा कारमा यात्रा गर्दा आउने झन्झट हटाउन सरकारले पनि ध्यान दिनुपर्ने सदीक्षाको भनाई छ। उनलाई लाग्छ, सरकारले प्राइभेट र पब्लिक गाडीका लागि छुट्टाछुट्टै बाटो बनाउनुपर्छ।

‘यसो गर्दा दुवैतर्फबाट झेल्नुपर्ने जामको समस्या हल हुन्छ’, सदीक्षाको सुझाव छ। 

७०–८० को स्पीड
अहिले सदीक्षा ढुक्कसँग कार हाँक्छिन्। खाली बाटो पाएको बेलामा स्पीड पनि बढ्दै जान्छ।

‘कतिसम्म पुग्छ स्पीड?’

‘ला, यो त भन्दिन म’, सदीक्षा फेरि हाँस्छिन्, ‘जे हो म निडर भएर चलाउँछु तर, कन्सियस भने छु।’

सदीक्षा प्रायः ३०–४० को स्पीडमा गाडी चलाउँछिन्। काठमाडौंको बाटोमा योभन्दा धेरै स्पीडमा चलाउने अवस्था पनि छैन। तर, खाली बाटो पाइन् भने मौकामा चौका हानिहाल्छिन्।

त्यस्तोबेला कतिसम्म स्पीड पुग्छ त?

यसपटक भने उनले रहस्य खोलिन्, ‘७०–८० त पुग्छ होला नि।’

गाडी चलाउँदा आफू आफै सुरक्षित हुनुपर्छ भन्ने मान्यता राख्ने सदीक्षा स्मार्ट छिन्। ट्राफिक नियमको पालना गर्छिन्। त्यसैले अहिलेसम्म ट्राफिकको फन्दामा परेकी छैनन्। तर, एउटा दुर्घटना भने भएको रहेछ।

एक दिन सदीक्षा कारमा साइड लाइट बालेर आफ्नो घरतर्फ अघि बढ्दै थिइन्। उनले गाडी मोड्न लागेको संकेत दिएपछि पछाडि केही बाइक रोकिएका थिए। तर, अर्को साइडबाट स्कुटर आएर गाडिलाई ठोकिदियो। जसका कारण उनको गाडीको एकापट्टीको साइड ग्लास फुट्न पुग्यो।

स्कुटी भूँइमा ढल्यो। हेलमेट पनि नलगाई स्कुटी चलाइरहेकी महिला स्कुटी उठाएर आफै भागिन्।

यही घटनाका कारण उनलाई आमाले बेलाबेला भन्छिन्, ‘सधै नचाखो भएर चलाउनु है’ र, सदीक्षा आमाको त्यो सुझाव सधै पालना गर्छिन्।

आमाले ‘अब त बाबाले भन्दा तिमी राम्रो चलाउने भइसक्यौ छोरी’ भनेको सुन्दा सदीक्षालाई आफ्नो ‘ड्राइभिङ स्कील’ राम्रो भएछ भन्ने लाग्छ।

कतै पार्टीमा जानु पर्दा होस् या परिवारका सदस्य घुमघाममा निक्लनु पर्दा सदीक्षा नै गाडी हाँक्छिन्, सररर ...।

(नेपालखबर डटकमको सहप्रकाशन अटोस्पीड म्यागेजिनबाट)

प्रकाशित 2019-04-28 07:00:33