केरुङको तिब्बती क्लबमा ‘आज दिल हे पानी पानी’

केरुङको नाइट क्लबमा हिन्दी गीतमा नाचिरहेका तिब्बती युवा
केरुङको नाइट क्लबमा हिन्दी गीतमा नाचिरहेका तिब्बती युवा
नवीन बराल

ल्हासा बियरसँगै झुमिरहेका चिनियाँ, तिब्बती, नेपाली र विदेश पर्यटक रहेको क्लबमा ग्राहक सन्तुष्ट पार्न डान्सरहरु हिन्दी गीतमा कम्मर मर्काइरहे, ‘आज दिल हे पानी ... पानी ... ।’

रिभर कन्जर्भेसन ट्रष्टको संयोजनमा ‘कर्णालीको दीगो विकास कसरी गर्न सकिन्छ’ भन्ने विषयमा अध्ययन गर्न एउटा टोली कर्णालीको शिरदेखि पुछारसम्मको यात्राका लागि जाने भयो। टोलीमा मेरो नाम पनि थियो। अघिल्लो दुई दिनसम्म म जाने–नजाने निश्चित थिएन। यात्रा ४४ दिनको थियो।

डेढ महिनाको यात्रा हुने कुराले म झस्किएको थिएँ। रातदिन सोचेपछि लाग्यो, यो मेरा लागि सौभाग्यको कुरा हो। चीनको तिब्बतस्थित कैलाश मानसरोबरको यात्रा अझ रोमाञ्चक थियो। फोटोग्राफरका रुपमा जीवनमा यस्तो अवसर यसअघि कहिल्यै मिलेको थिएन।

तिब्बतबाट सुरु हुने कर्णाली नेपालको पहाड हुँदै भारतसम्म पुग्छ भन्ने थाहा थियो। तीन देशको यात्रामा शिरदेखि पुछारसम्मको कर्णालीको सुन्दरता कस्तो होला? मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो। यी स्थानलाई आफ्नो क्यामेरामा कैद गर्न पाउने कुराले मलाई लोभ्याउन थाल्यो।

अन्ततः मैले टोलीमा सहभागी हुने निर्णय गरेँ।

000
२९ भदौ २०७५। बिहान ६ः१० बजे।

यात्रामा मसहित इसिमोडका हिमालय चरण क्षेत्रका एक विशेषज्ञ, अमेरिकी मानवशास्त्री अस्टिन लर्ड, पानी विशेषज्ञ सन्तोष नेपाल, नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, वातावरण पत्रकार रमेश भुसाल र अन्य २ जना सहयोगी थिए।

पूर्व निर्धारित योजनाअनुसार उनीहरुसँग नयाँ बजारमा भेट भयो। हामीलाई लिन टुरिस्ट बस आएको रहेछ, चढ्यौँ। बाटोमा खाना बनाउन आवश्यक खाद्यान्न पनि यतैबाट लोड भयो। करिब ७ बजे बस रसुवातर्फ लागियो।

भुकम्पका कारण आएको पहिरो

भुकम्पका कारण आएको पहिरो

धुन्चे (रसुवा) पुग्नुअघि त्रिसुली नदीको माथिल्लो डाँडामा देखिएका केही दृश्यले हामीलाई आकर्षित ग¥यो। बस रोक्यौँ। त्यहाँ २०७२ को भूकम्पका कारण गएका ठूला–ठूला पहिरो देखिन्थे।

मानवशास्त्री अस्टिनले पहिरो भूकम्पको कारणले मात्र नभएर पहाडभित्र खनिएको सुरुङका कारण पनि गएको हुनसक्ने बताए। हुन पनि रसुवामा विद्युत् आयोजना नभएका कुनै नदी छैनन्। हरेक नदीमा विद्युत् आयोजना छन्। तिनमा सुरुङ खनिएका छन्। सुरुङ खन्न बम विस्फोट गर्दा पहाडमा पहिरो जाने गरेको उनको दावी थियो।

३ बजे धुन्चेबाट रसुवागढीतर्फ अघि बढ्यौँ। कच्ची बाटो, त्यसमाथि निकै साँघुरो। हिलाम्य पनि। बसले उफार्नु उफा¥यो। शरीर नै थिलोथिलो भएजस्तो अनुभव भयो। कर्णाली सम्झिएर मैले त्यो पीडा भुलिरहेको थिएँ।

रसुवागढीमा सयौँ गाडी लाइनमा थिए। हामी जाममा प¥यौँ। लाइन करिब ३ किलोमिटर लामो पो रहेछ!

त्यो दिनको हाम्रो गन्तव्य नेपाल–चीन नाका रसुवागढी नजिकको टिमुरे थियो। चीनबाट आयात भएर आउने सामानको यो एक मात्र नेपाल भित्रिने विन्दू हो। सामान लिन केरुङ जानका लागि दुई दिनदेखि कन्टेनर पालो कुरेर बस्दा रहेछन्।

हामी त्यसदिन टिमुरेको एक होटलमा बस्यौँ ।

दिन– २
मौसम निकै चिसो। सिरकभित्र आफूलाई घुसारिरहेको थिएँ। साथीहरुको हो–हल्लाले उठायो। हामी हतार नगरी रसुवागढी नाकातर्फ लाग्यौँ।

नेपालतर्फको नाकाको अध्यागमन चेकजाँच गर्न टेबल राखेर सरकारी अधिकारी बसेका थिए। उनीहरुले हातैले छामछुम गरे। झोला खोतलेजस्तो गरे। पारी चिनियाँ भूभागमा बडेमानको भवन देखियो। रसुवागढी नाका भन्दै मान्छेहरुले फेसबुकमा पोष्ट गर्ने गरेको भवन त्यही थियो।

यहाँ आएपछि थाहा भयो, त्यो त चीनतिरको अध्यागमन कार्यालय रहेछ। चिनियाँ अध्यागमनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अध्याधुनिक बायोमेट्रिक प्रणालीको चेकजाँच हुने रहेछ। हाम्रो मोबाइलमा रहेका फोटो समेत चेकजाँच गर्ने चिनियाँ अधिकारीले हेरे। दलाई लामाको फोटो वा उनीसम्बन्धी कुनै विषय फेसबुकमा सेयर गरेको समेत यहाँ चेकजाँच हुने रहेछ। हामीलाई गाइडले यी सबै विषयबारे पहिल्यै सचेत गराइसकेका थिए।

तिब्बतमा खुलेआम फोटो खिच्न कडाई गरिन्छ भन्ने सुनेको थिएँ। मसँग साथमा हार्डडिस्क, क्यामेरा, ट्राइपर्ट थिए। यी सामान साथमा लैजान नदिने हुन् कि भन्ने लागिरह्यो। तर, सोचेजस्तो केही असहज भएन। सहजै बोर्डर पास भइयो।

हामीलाई लिन तिब्बती गाइड, एउटा मिनी ट्रक र माइक्रो बस लिएर आएका रहेछन्। सामान मिनी बसमा र हामी माइक्रोमा चढेर अघि बढ्यौँ। नेपालभन्दा फरक, तिब्बतमा चालक त गाडीको देब्रेतिर बस्दा रहेछन्।

चिनियाँ भूभागसँगै जोडिएको भए पनि रसुवागढी नदी वारि र पारिको कथा फरक रहेछ। नेपालपट्टि सरकारी कार्यालयहरु पूर्वाधारबिहीन थिए। दुई देश छुट्याउने नदीको पुल पनि आधा सिमन्टेड र आधा फलामे रहेछ। दुई लेनको चिल्लो सडक, पहिरो छल्न हालिएका आकाशे पुलहरुले तिब्बतको समृद्धिको झल्को दिए। मलाई हाम्रो मनाङ पुगेजस्तो महसुस भयो।

नेपालमा पहिरो आएको वा आउने सम्भावना भए पनि त्यही पहिरो माथिबाट गाडी चलाउने बाटो बनाइन्छ। तर, तिब्बतमा पहिरो आउने ठाउँमा कृत्रिम सुरुङ बनाइएको रहेछ। यस्तो भएपछि पहिरो वा ढुङ्गा खसे ढलानमाथिबाटै बगेर जाने।

भौगोलिक र वातावरणीय हिसाबले उस्तै भए पनि विकासका हिसाबले केरुङ मनाङभन्दा कहाँ हो कहाँ माथि।

८ः३० बजे रसुवागढीबाट हिँडेका हामी ११ बजे केरुङ पुग्यौँ। मेरो क्यामेरा पनि बल्ल खुल्यो। सीमा पास भएपछि गाइडले फोटो खिच्दा होस् गर्नु भनेकाले मैले बीचमा क्यामेरा नै झिकिनँ।

केरुङमा पर्यटकहरुले इन्ट्री गर्नुपर्ने रहेछ। हाम्रो गाइड निङ्माले सबैको पासपोर्ट लगेर इन्ट्री गरिदिए।

घरमा आफू सुरक्षित रहेको जानकारी दिनु थियो। यसो मोबाइल हेरेँ। फेसबुक चल्दैन रहेछ। मेसेन्जर, ह्वाट्स एप, भाइबर केही नचल्ने रहेछन्। घरबाट हिँड्नु अघि प्रतिभाको मोबाइलमा ‘वी च्याट’ डाउनलोड गर्न लगाएको थिएँ। धन्न, त्यसबाट सम्पर्क हुन सक्यो।

‘वी च्याट’ पनि उनीहरुको निगरानीमा हुँदोरहेछ। शंका लाग्नासाथ बन्द गरिदिने रहेछन्। हामीसँग गएको एक जना साथीले केरुङको भिडियो खिचेर नेपाल पठाएको थियो। केही समयपछि उसको ‘अकाउन्ट’ नै ‘सस्पेन्ड’ भयो।

होटलमा सामान राखेर हामी केरुङ घुम्न निस्कियौँ। निकै अग्ला–अग्ला आधुनिक घरहरु रहेछन्। ठूला–ठूला होटलहरु, झिलिमिली बत्तीले आकर्षित गर्यो। गाडी र मान्छेको चहलपहल थोरै भएपनि प्रत्येक ‘जेब्रा क्रस’ मा ‘ट्राफिक लाइट’ थिए।

मैले फेरि मनाङ सम्झिएँ। चामेको बाटो पिच भएको र ट्राफिक लाइट बलेको कल्पना गरेँ। यो मेरो कल्पना मात्र थियो। यसरी विकास हुनुको पछाडि चीनको केन्द्र सरकारले तिब्बलाई विशेष प्राथमिकता साथ पूर्वाधार विकासमा लगानी गर्नु नै मुख्य कारण हो।

चिनियाँ रेल नेपाल जाने बिन्दू पनि यही हो। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने भनिएको रेलमार्गको एउटा स्टेशन यहीँ केरुङमा निर्माण हुने चर्चा छ। ठूलो धनराशी लगानी पर्ने रेलमार्ग निर्माणमा चीन र नेपाल सरकार सहमत भए रेलमार्ग काठमाडौँ पनि पुग्नेछ। लगानी मोडल निश्चित नभए पनि पछिल्लो समय रेल चर्चासँगै केरुङको नाम काठमाडौँमा चर्चित भइसकेको छ।

हामी केरुङ बजार घुम्न थाल्यौँ। त्यहाँ एउटा पगोडा शैलीमा निर्माण भएको पुरानो मन्दिर रहेछ। त्यो एउटा कोणबाट हेर्दा मन्दिरजस्तो, अर्को कोणबाट हेर्दा गुम्बाजस्तो देखिँदो रहेछ। मैले श्रद्धापूर्वक नियालेँर हेरेँ। चिनियाँका लागि त्यो गुम्बा भए पनि मेरा लागि मन्दिर नै हो। मैले यही निस्कर्ष निकालेँ।

केरुङमा रहेको मन्दिर

केरुङमा रहेको मन्दिर

अर्को कुरा, देश र भाषा फरक भए पनि भूगोल र संस्कृति रसुवा र केरुङको उस्तै पाएँ। त्यहाँका मानिसहरु पनि सबै उस्तै–उस्तै देखिन्थे। उनीहरुले लगाउने कपडादेखि कानमा लगाएको मुन्द्रासमेत उस्तै थियो। राजनीतिक सीमाले छुट्याए पनि दुवैको संस्कृति केन्द्र एकै हुनुपर्छ।

केरुङ घुम्दै गर्दा नेपालीहरु ठोक्किन आइपुगे। रोजगारीको सिलसिलामा थुप्रै नेपालीहरु त्यहाँ पुगेका रहेछन्। ३ जना किशोरसँग हाम्रो संवाद भयो। उनीहरु त्यहाँको ‘डान्स बार’ मा काम गर्दा रहेछन्।

त्यहाँ रहेका राम्रा खालका तीन ‘डान्स बार’ मा धेरैजसो नेपाली नै भएको उनीहरुले सुनाए– स्टाफदेखि डान्सरसम्म। युवतीहरु भने निकै कम। उनीहरुको मासिक कमाइ २० देखि २५ हजारसम्म हुने रहेछ।

रात्रिकालिन केरुङ बजार

रात्रिकालिन केरुङ बजार

तीमध्येकै एक नेपालीलाई हामीले एउटा गज्जबको ठाउँमा घुम्न लान आग्रह गर्यौं। उनले हामीलाई एउटा अचम्मको झरनामा पुर्याए। एउटा आदिम पुरातात्विक जस्तो देखिने खोलाले आफ्नो बाटो बनाउँदै जाँदा गहिरो गल्छी बनाएको रहेछ। त्यो करिब सय मिटरभन्दा बढी गहिरो थियो। हामीले माथिपट्टिबाट तल खस्दै गरेको झरना हेर्यौं, निकै रोमाञ्चक लाग्यो।

त्यस्तो ठाउँमा पनि तिब्बतीहरुले झोलुङ्गे पुल बनाएर पर्यटकीय गन्तब्य बनाएका रहेछन्। झोलुङ्गे पुल हटाएर अब त्यहाँ गाडी चल्ने पुल बनाउने तयारी भइरहेको रहेछ। तिब्बतीहरुले कसरी विकास गर्दैछन् भन्ने कुराको यो अर्को संकेत थियो।

केरुङमा रहेको पुल

केरुङमा रहेको पुल

केरुङको रात्री जीवनका किस्साहरु अलिअलि सुनेको थिएँ। रातको समय त्यहाँका पसलहरु झकमक्क हुने रहेछन्। म एउटा यार्सागुम्बा पसलमा पसेँ। पसलेसँग कुरा गरेपछि बल्ल थाहा भयो, केरुङ त यार्सागुम्बा हब पो रहेछ। नेपालभन्दा गुणस्तरको यार्सागुम्बा त्यहाँ पाइँदो रहेछ।

यार्सागुम्बा बिक्री गर्दै तिब्बती व्यापारी

यार्सागुम्बा बिक्री गर्दै तिब्बती व्यापारी

केरुङमा बिक्रीका लागि राखिएको यार्सागुम्बा

केरुङमा बिक्रीका लागि राखिएको यार्सागुम्बा

पसलमा नेपालको यार्सागुम्बा पनि बेच्न राखिएको थियो। नेपालबाट गएका बुद्धचित्तका माला, करुवा, चाउचाउ पनि थिए। यी सामानहरु भन्सार तिरेर वैधानिक बाटोबाट यहाँ आए वा अवैध रुपमा, मेरो दिमागमा यो प्रश्न चलिरह्यो।

अर्को रमाइलो के देखियो भने भारतीय कम्पनीले उत्पादन गरेका प्रेसर कुकरहरु नेपाल हुँदै त्यहाँ पुग्दा रहेछन्। टिम्ला, फुटुरा ब्रान्डका कुकरहरु केरुङमा पाइने रहेछन्।

बजार घुम्दै गर्दा रात छिप्पिन थाल्यो। हामी त्यहाँको एउटा डान्स क्लबमा पस्यौँ। नेपालीहरु प्रसस्त थिए। नाचिरहेका पनि नेपाली, वेटरको काम गरिरहेका पनि नेपाली र आगन्तुकलाई बियर पिउन उक्साउने पनि नेपाली। चिनियाँ, तिब्बती, नेपाली र केही विदेश पर्यटक क्लबका ग्राहक थिए।

अचम्म त के थियो भने, ल्हासा बियरमा झुमिरहेका ग्राहक सन्तुष्ट पार्न डान्सरहरु हिन्दी गीतमा कम्मर मर्काइरहे, ‘आज दिल हे पानी... पानी ... ।’

प्रकाशित 2019-04-27 14:59:20