‘म यस्तो छु’ गाउने गिरिश भन्छन्ः सेक्समा जत्तिकै गीतमा सन्तुष्टि छ




गिरिश खतिवडा
गिरिश खतिवडा
प्रविन कोइराला

‘मलाई गीत गाउन पाए पुग्छ, हिटको पछि लाग्दिनँ। गीत गाउनु भनेको मेरा लागि सेक्स जस्तै हो। जसरी सेक्समा सन्तुष्टि छ, त्यसरी नै गीतमा पनि सन्तुष्टि छ।’

दिउँसो १२ बजे।

काठमाडौंको बल्खु चोकदेखि सय मिटर पूर्वतर्फको उकालोमा रहेको ‘टुबेल बास्केट्स क्याफे’ मा फोटोपत्रकार साथी प्रविन र म कसैलाई कुर्दैछौँ।

एक महिना अघिदेखिको भेट्ने योजना कहिले उनको त कहिले मेरो व्यस्तताले पूर्ण हुन सकिरहेको थिएन। आज भने उनीसँग मज्जैले गफिने योजना छ।

ढिला नगरी उनी क्याफेभित्र छिरे। मैले कुनाबाट हात उठाएर उनलाई स्वागत गरेँ। कालो चस्मा, रातो क्याप, रातै टिसर्ट र खैरो ट्र्याकमा गिरिश खतिवडा हामी बसिरहेको टेवलमा आएर बसे। सामान्य गफगाफ भयो।

साथीले क्यामेरा र स्ट्यान्ड निकालेको देखेर उनले भने, ‘हामी भिडियो पनि गछौँ?’ साथी र म मुस्कुरायौँ मात्र। उनले बुझिहाले।

‘यहाँ अलि हल्ला छ है’ मैले आइरहेको मानिसहरुको आवाज र बजिरहेको संगीतलाई संकेत गर्दै भनेँ। गिरिशले ‘क्याफेको बाहिरपट्टि जाऊँ’ भने। तर, बस्नलाई त्यहाँ टेवल–कुर्सी थिएनन्।

टेवल त फोल्ड गरेर क्याफेभित्र पो राखिएको रहेछ! उनले हातमा टेवल बोके र बाहिर लगेर फोल्डिङ खोले। त्यसपछि कुर्सी।

‘तपाईं त आजभोलि भूमिगत जस्तै क्या’ मैले उनलाई भनेँ।

‘म मिडियामा आउन खासै रुचाउने मान्छे होइन क्या ब्रो। आफैैसँग रमाउने मान्छे क्या ब्रो। हाहा....!’ उनी क्यूट हाँसो हासेँ।

साथीले क्यामेरा तयार पारिसकेको थियो। अब उनी सतर्क भए। औपचारिक वार्ताको सुरुमै मैले उनलाई विगततिर लगेँ, ‘जतिबेला नेपालमा र्‍याप शैलीको न नाम थियो, न चर्चा नै। ब्रोको दिमाग कसरी यसतर्फ केन्द्रित भयो?’

‘विदेशी कल्चरहरु पछ्याउने संस्कृति धरानमा निकै थियो। त्यहाँ ब्रेक डान्स गर्नेहरु पनि थिए। एक जना मेरो आफन्त पर्ने दाइले ब्रेक डान्सको क्यासेट (हिपहप म्युजिक) बजाएर डान्स गरेको देखिरहन्थेँ’ गिरिश भन्छन्, ‘मलाई मज्जा लाग्यो के त्यो पारा। अनि म पनि नेपाली गीतमा समेत टुक्का मिलाएर गाउन थालेँ। यस्तै भयो ब्रो सुरुमा।’

भिडियोः प्रविन कोइराला

र्‍याप गाउँदा जिन्दावाद–जिन्दावाद
टेवल, थाल जे पाइन्छ, गिरिशले तिनै ठटाउँदै टुक्के गीत गाउन थाले। २०४८ सालतिरको कुरा हो यो, जतिबेला उनी ७ कक्षामा पढ्थे।

उनले कविताको शैलीमा गीतका टुक्का लेख्थे। जसरी कविता, चित्रकलामार्फत् अरुले आफूलाई व्यक्त गर्छन्, गिरिश पनि त्यसैगरी टुक्के गीतमार्फत् आफ्ना भावना पोख्थे।

उनलाई पछिमात्र थाहा भयो– आफूले लेखिरहेको, गाइरहेको टुक्के गीत त र्‍याप पो रहेछ! त्यसपछि त उनमा यसप्रति झन् चासो बढ्न थाल्यो।

एकदिन उनी कलंकीको डिङडङ क्याफेमा बसेर र्‍याप गाइरहेका थिए। ‘टिअर्स ब्यान्ड’ का बालकृष्ण तामाङ त्यहीँ रहेछन्। उनको गीत सुनेर तामाङले गिरिशलाई आफ्नो ब्यान्डमा आउन आग्रह गरे। त्यसको केही समयपछि गिरिश ब्यान्डका सदस्य भए।

ब्यान्डका सदस्यहरु साँझपख एक ठाउँमा जम्मा भएर गीत गाउने अभ्यास गर्थे। गिरिश पनि भ्याएसम्म उपस्थित हुन्थे। त्यसैक्रममा एकदिन उनको गीत रेकर्ड गर्ने कुरा चल्यो। त्यसदिन गिरिशमा खुसीको सीमा नै थिएन।

‘तर, रेकर्ड गर्दा लाग्ने खर्च कसरी जुटाउने?’ टेन्सन यही थियो। परिवारले ‘सपोर्ट’ गर्ने सम्भावना नै थिएन।

टोलमा एक जना सुदिन्दर सरदार दाइको टायर पसल थियो। उनले गोरखकाली टायरको विज्ञापनमा अभिनय पनि गरेका थिए। गिरिशले आफ्नो र्‍यापमा पनि ‘सरदारजी आयो गोर्खाली’ भन्ने शब्द राखेका थिए। उनले एउटा आइडिया निकाले, ती सरदार दाइलाई गीत सुनाउने।

‘दाइ मैले लेखेको गीतमा तपाईं पनि छ है’ भन्दै गिरिशले ती दाइलाई गीत सुनाए। सरदार मख्ख परे। तत्कालै गीत रेकर्ड गर्न आवश्यक १५ सय रुपैयाँ उनको हातमा थमाइदिए।

यसरी गिरिशले आफ्नो पहिलो र्‍याप रेकर्ड गराएः

नो मिनिङ र्‍याप, यो हो मिनिङलेस र्‍याप
नो मिनिङ र्‍याप इज मिनिङलेस र्‍याप

त्यतिबेला उनी मात्र १३ वर्षका थिए। कक्षा ८ मा पढ्थे।

गीत रेकर्ड गरेपछि उनी निकै डराए। क्यासेट आएपछि त झनै। परिवारले थाहा पाउँछ भनेर घरमा क्यासेटसमेत भित्र्याएनन्।

त्यतिबेला विभिन्न चर्चित गायकका गीतहरु समावेश गरेर न्यूरोडको एक क्यासेट कम्पनीले ट्यालेन्ट एल्बम निकाल्थ्यो। त्यसकै लागि एकदिन क्यासेट कम्पनीका मानिसहरु स्टुडियो गएका थिए। त्यहाँ गिरिशको गीतबारे पनि चर्चा भयो। उनीहरुले गीत सुने। गीत मन परेछ क्यारे, उनलाई खोज्दै कम्पनीका मान्छे घरसम्म आइपुगे।

बिडम्बना! उनी घरमा थिएनन्।

यो कुरा साथी (राजु) मार्फत थाहा पाएपछि गिरिश अर्को दिन न्यूरोड पुगे। पहिले र्‍यापरजस्तो देखिन टोपीवाला हुडी किने। पाइन्ट भने बुबाकै लगाएका थिए। त्यहाँबाट क्यासेट कम्पनीको कार्यालयतिर लागे।

उनले एक हजारमा आफ्नो गीत बेचे। मख्ख पर्दै घर आए। पछि उनको गीत ‘ट्यालेन्ट ३’ एल्बममा निस्कियो। एल्बम र उनको गीत दुवै हिट भयो।

त्यतिबेला मानिसहरु र्‍याप गाएको सुन्दा अचम्म मान्थे। मोर्चाबन्दी गरेको, आन्दोलन गरेकोजस्तो के गरेको होला भन्थे।

‘मैले र्‍याप गाउँदा सुन्नेहरु आन्दोलनमा नारा लगाउँदै ‘जिन्दावाद–जिन्दावाद’ भनेकोजस्तो मान्दा रहेछन्’ गिरिश भन्छन्, ‘जे होस् रमाइलो नै हुन्थ्यो।’

क्लासिकल म्युजिकको जवानामा र्‍याप गाउँदा समाजले त्यसलाई गीत भनेन। परिवारले पनि गिरिशको र्‍याप संगीतलाई हावादारीको संज्ञा दियो। परिवारका अरु सदस्यहरु नारायण गोपाल, अरुण थापाका गीतहरु सुन्थे। त्यसैले, उनीहरुका लागि पनि गिरीशले गाएको ‘गीत नभएर आन्दोलनको नारा भइदियो।

बिग्रियो पढाई
गिरिश गीत गाउन कहिले आफू भन्दा सिनियरहरुकहाँ त, कहिले कहाँ अरु साथीहरुकोमा पुग्न थाले। घरमा पनि लुकिलुकी गीत लेख्थे। यतिसम्म कि पढेजस्तो गरेर किताव त समाउँथे। तर, त्यसभित्र सानो कापीको पाना राखेर गीत लेखिरहेका हुन्थे। घरबाट खाजा खान दिएको पैसाले अंग्रेजी हिपहप गीतका क्यासेट किन्न घन्टौँ हिँडेर बजार चाहार्थे।

र्‍यापले उनको पढाई बिगार्न थाल्यो। पढाईमा निकै अब्बल गिरिश कमजोर बने। एसएलसी पहिलो श्रेणीमा पास त भए तर, निकै कम प्रतिशत अंक ल्याएर। प्राय कक्षामा प्रथम भइरहने गिरिशबाट परिवारले यस्तो आशा गरेको थिएन।

उनले र्‍यापको एल्बम निकालेको कुरा परिवारमा पनि थाहा थियो। त्यतिबेला ‘केटीहरु फिल्म लाइन र केटाहरु पप लाइनमा लागे भने बिग्रिन्छन्’ भन्ने चलन थियो। गिरिशको परिवारले पनि यसले ड्रग्स सेवन गर्छ होला भन्ने शका ग¥यो। उनलाई गीत गाउनबाट पूर्णरुपमा रोक लगाइयो।

‘प्लस टु’ मा मोडर्न इन्डियन स्कुलमा भर्ना भए। तर, पढाईमा त्यति मन गएन। उनको अभिव्यक्तिको माध्यम भनेकै र्‍याप थियो। त्यसमै प्रतिबन्ध लागेपछि उनले आफूलाई कसरी सम्हाल्न सक्थे र? मानसिक रुपमा उनी विक्षिप्त बने।

सम्हालिने प्रयासमा उनी गलत साथीहरुको संगतमा लागे। बिग्रिए। भनौँ न, कुलतमा फसे। तर, यो सब उनलाई मान्य थिएन। गलत बाटोबाट सधैका लागि टाढिन चाहन्थे।

‘मेरो सपना के हो, मैले सोचेको के हो र म कुन बाटोमा हिँडिरहेको छु भन्ने लाग्यो’, गिरिश भन्छन्, ‘म निकै आत्तिएँ। भागेर इन्डिया जान्छु भन्ने पनि सोचेँ।’

तर, उनी इन्डिया गएनन्। बरु प्लस टु सकेर विराटनगर हानिए। आफूलाई संगीतबाट टाढा राखे र पढाईमा ध्यान दिन थाले।

ब्याक अगेन एण्ड गो फार
ब्याचलरपछि गिरिश फेरि काठमाडौँ आए। संगीत दुनियाबाट टाढा भएर जागिरे बने।

यसैक्रममा एक दिन न्यूरोडमा हिँडिरहेका बेला गिरिशको भेट राजेश वंशसँग भयो, राजेश तिनै व्यक्ति थिए, जसले विराटनगरमा गिरिशको ‘मिनिङ्लेस’ क्यासेट निकै धेरै बिक्री गरेका थिए।

राजेशले काठमाडौँमा म्युजिक डटकम नामक एक कम्पनी खोलेका रहेछन्। फोन नम्बर साटासाट भयो।

केही समयपछि सोही कम्नीमार्फत् ‘ब्याक एगेन’ एल्बम निकाल्ने सहमतिमा गिरिशले हस्ताक्षर गरे। प्रनिल एल तिमिल्सिनासँग मिलेर निकालेको एल्बमको ‘म यस्तो छु...’ गीत हिट भयो। त्यो गीत अहिले पनि लाखौँ युवाको मनमा बस्न सफल भएको छ।

एल्बम हिट भएपछि उनले केही साथीसँग मिलेर ‘गिरिश एन्ड युनिटी ब्यान्ड’ खडा गरे। फेरि संगीत दुनियामा आफूलाई समर्पित गर्न थाले। तर, परिवारलाई यो कुरा चित्त बुझिरहेको थिएन। मास्टर्स गर्न अमेरिका जान दबाब आउन थाल्यो।

‘संगीतले गर्दा मेरो परिवार दुःखी हुन्छ भने म त्यो बाटोमा हिँड्दिन भन्ने सोचेँ’ गिरिश भन्छन्, ‘उहाँहरुको खुसीकै लागि म अमेरिका गएँ।’

परिवारमा गिरिशले गाएको गीत नेपालमा धेरै टिक्दैन भन्ने थियो। न ‘राम्रो गरिस्’ भनेर भरोशा दिने आफन्त नै कोही निस्के। यही कारण ‘फेरि आफू गलत बाटोमा हिँड्न बाध्य हुन्छुकी’ भन्ने डर गिरिशलाई थियो। त्यसैले उनले देश छाड्ने निर्णय गरे।

हिपहपलाई संगीत नमान्ने र यसले पनि सामाजिक परिवेशमा कुनै भूमिका निर्वाह गर्छ भन्ने नठान्नेहरुलाई गिरिशले जवाफ दिनु थियो। आफू विदेश जान बाध्य हुनुको पछाडि राजनीतिकै हात छ भन्ने पनि उनलाई लागेको थियो।

यस्तो परिस्थितिका बीच पनि उनले साथीसँग मिलेर अर्काे एउटा गीत बनाएः

नोट दिन्छु तिमीलाई कोट दिन्छु
यसको सट्टामा मलाई भोट देऊ
मेरो पार्टी हो एक्स, मेरो चुनाव चिन्ह एक्स
एक्काइसौँ शताब्दीमा स्वागत छ
यो तनमा पुर्खाको त्यो रगत छ
आफ्नो खुट्टामा आफै उभिने तागत छ
आफ्नो जगतको रक्षा गर्ने चाहत छ
हामीलाई चाहिँदैन झूटो आश्वासन
तेरो त्यो नोट, कोट, घर, कार अनि रासन
तेरो त्यो क्यास चेक, नेम, फेम अनि फ्याक्स
सबैको स्रोत हाम्रो मन्थली इन्कम ट्याक्स

अमेरिका हुँदा पनि हिट
अमेरिकामा उनले एमबीए पढाई पुरामात्र गरेनन्, हिपहप संगीतबारे धेरै ज्ञान बटुले र डिजे पनि गरे।

‘अब त मैले मास्टर्स गरेँ यार, मेरो परिवारको सपना पुरा गरेँ भन्ने भयो’ गिरिश भन्छन्, ‘त्यसपछि आफूलाई फेरि संगीतमा समाहित गराउन थालेँ।’

उनले २०६५ सालमा अमेरिकामै आफ्नो युट्युब च्यानल खोलिसकेका थिए। एउटा लाइट र हरियो पर्दा किनेर कोठाको सानो कुनालाई चिटिक्क पारेका थिए। फुर्सद हुनासाथ त्यही कुनामा बस्थे र गीत गाउँथे। युट्युवमा पनि राख्थे।

कतिले हेरे वा हेरेनन् भन्ने कुराको मतलव हुँदैनथ्यो उनलाई। गीत गाएर बाहिर ल्याउन पाएपछि एक प्रकारको सन्तुष्टी प्राप्त हुन्थ्यो।

अर्को कुरा, गिरिश अमेरिका नजाँदै एउटा गीतको मास्टर कपी तयार भइसकेको थियो। जुन गीत थियो– सी इज द बम...

म प्रेममा जीवनको पहिलोपटक
र, मलाई थाहा छ यो साँचो हो
चाहे म जता जाऊँ, उसकै मुहारले
मलाई सताउँछ यो के भाको

गिरिश अमेरिका गएको २ वर्षपछि निस्किएको यो गीतले सर्वाधिक चर्चा पायो। युवाहरुको मन, मुटु र मस्तिष्कमा राज ग¥यो। गिरिशले नेपाल छाडे पनि युवा–युवतीले उनलाई बिर्सिएनन्। युवाहरुले माया गरिरहे, युवतीहरुले प्रेम।

अमेरिकाको ७ वर्षे बसाईपछि गिरिश नेपाल फर्किए। नेपालमा उनको क्रेज झनै बढेको थियो। तर, उनले र्‍याप गाएनन्, बरु विराटनगरमा ‘बिजनेश’ सुरु गरे।

संगीतको भोकले थप सताउन थाल्यो उनलाई। त्यो भोक मेट्न ‘केही लाग्दैन’ बोलको गीत गाए। सम्हालिनै नसक्ने अवस्था आएमा आफ्नो युट्युब च्यानल छँदै थियो। उनी अन्डरग्राउन्ड भएर गीत बनाउँथे र युट्युबमा राख्थे। त्यसैगरी बनेका गीतहरु हुन्, ‘सडकको आर्मी’, ‘जति माया’, ‘जिन्दगीको खेल’ आदि।

गिरिशलाई चर्चा भन्दा पनि गीत गाउन पाए पुग्छ। ‘म हिटको पछि लाग्दिन’ गिरिश भन्छन्, ‘मलाई गीत गाउन पाए पुग्छ। मेरा लागि गीत गाउनु भनेको सेक्सको प्रक्रिया जस्तै हो। जसरी सेक्स एउटा सन्तुष्टिको हो, त्यसरी नै मेरा लागि पनि गीत सन्तुष्टि हो।’

सुगम र यमबुद्धसँग सहकार्य
गिरिश अमेरिकामा भएका बेला सुगम पोख्रेल कन्सर्ट गर्न त्यहाँ पुगेका थिए। सुगम अमेरिकामा बस्दासम्म उनले साथ छाडेनन्। अमेरिकामै गिरिशले सुगमलाई एउटा गीत सुनाए, सुगमले पनि उनलाई ‘कलाकार’ भन्ने गीत सुनाए। ‘मिलेर गर्नुपर्छ’ भन्ने कुरामा दुईबीच सहमति भयो।

गिरिश नेपाल आएपछि सुगमसँग बेलाबेला भेट भइरहन्थ्यो। उनीहरु मिलेर ‘लखरलखर जिन्दगी रक्स’ बनाए।

भेटघाट जारी नै थियो। एकदिन सुगमले लामो समयदेखि बचाएर राखेको ‘कलाकार’ बोलको गीतको कुरा उठ्यो। कम्तिमा ३ जना मिलेर गीत पुर्नलेखन गर्ने र गाउने कुरा आयो। दुई जना त भए, थप अर्को एकजना कसलाई राख्ने?

पछिल्लो समय यमबुद्ध चलेका थिए। गिरिशले उनीसँग कन्सर्ट पनि गरेका थिए। त्यसैले पनि उनलाई यमबुद्धको क्षमता थाहा थियो। यसरी यमबुद्धलाई पनि टोलीमा समावेश गरे। र, ३ जना मिलेर ‘कलाकार’ भन्ने गीत पुर्नलेखन गरे। गाए पनि।

गीतले सुगम, गिरिश र यमबुद्धको जीवन बोलेको थियो। सुगम लामो समयदेखि विभिन्न प्रतिक्रियाका बावजुत पनि सक्रिय रहेका र सफलता हात पारिरहेका पात्र थिए। गिरिश विभिन्न उताव–चढावकाबीच विदेश हुँदै फेरि यसै क्षेत्रमा काम गरिरहेका थिए। अनि, यमबुद्ध संगीत क्षेत्रमा नयाँ भएपनि विभिन्न चुनौतिको सामना गर्दागर्दै पनि यस क्षेत्रमा सक्रिय थिए।

सबैले आ–आफ्नो अवस्थालाई शब्दमा उतारेका थिए। गीतले उनीहरुको मात्र होइन, अन्य थुप्रै कलाकारहरुको भावनासमेत बोकेको थियो। यो र्‍याप रुचाइयो।

अहिले गिरिश निरन्तर रुपमा संगीतमा सक्रिय छन्। उनलाई र्‍याप गर्नु भनेको संगीतमा बोल्नु हो जस्तो लाग्छ। ‘यत्तिकै बोल्दा कस्तो नराम्रो सुनिन्छ नि है ब्रो, तर संगीतमा बोल्दा रक्स सुनिन्छ। त्यही त हो नि र्‍याप’ गिरिश प्रस्ट्याउँछन्।

र्‍याप क्लासिकल संगीत नभएकाले यो पुस्तान्तरण हुँदै जाने उनको बुझाई छ। नयाँ र्‍यापरको जन्म हुनु, नयाँ शैली र प्रस्तुतिको विकास हुनु उनलाई नयाँपन लाग्छ। अर्थात्, सबैले आफूलाई प्रस्तुत गर्ने हो, कसरी गर्ने भन्ने व्यक्तिको रुचि, स्वभाव र हाउभाउमा भर पर्छ।

भ्लगमा हल्का रमाइलो
अहिले गिरिश विन्दास लाइफ बाँचिरहेका छन्। विराटनगरमा उनको बिजनेश छ, परिवार पनि उतै छ। बेलाबेला गइरहन्छन्। विदेश यात्रा र नेपालमै हुने कन्सर्ट त छँदै छ त्यसबाहेक उनले गीत पनि गाइरहेका छन्। केही दिन त भयो, उनको पछिल्लो गीत ‘पृथ्वीनारायण शाहाको पालामा’ युट्युबको रिलिज भएको!

त्यसबाहेक गिरिश भ्लगसमेत चलाउँछन्। आफू पुगेको स्थानमा केही रोचक कुरा वा विषय भेटे भने क्यामेरामा कैद गरिहाल्छन्। इडिटिङदेखि भ्लग तयार गर्दासम्म उपनाउनुपर्ने सबै प्रक्रियाबारे उनलाई जानकारी छ।

उनलाई अहिले पनि याद छ, पहिलो भ्लग। उनी क्यामेरा बोकेर छम्पी घुम्न गएका थिए। साथीहरुसँग रमाइलो गरेको भिडियो खिचे। त्यहाँको सिजन, खेतिपातिको बारेमा स्थानीयसँग कुरा गरे। मकै खाए, बच्चाहरुसँग रमाइलो गरे। उनले त्यसलाई इडिटिङ गरेर युट्युबमा राखे। धेरैले ‘क्या रमाइलो’ भन्दै कमेन्ट गरे। त्यसपछि ‘गोर्खाली जी’ उपनाले हिपहप दुनियाँमा तहल्का मच्याइरहेका गिरिशलाई ‘हल्का रमाइलो’ गर्न मन लाग्यो। अहिलेसम्म त्यही गरिरहेकै छन्।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 13:12:14
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...