महेन्द्रसँग जोगिन जब बीपी हतियार खोज्दै ‘सिआइए एजेन्ट’ कहाँ पुगे



Kshamadevi Group


बीपी र महेन्द्र
बीपी र महेन्द्र
संकलन: सीताराम बराल

थ्रीनटथ्री राइफल लिएर सुटिङ मुडमा रहेको माथिको तस्वीरले राजा महेन्द्र र बीपी कोइरालाबीचको सम्बन्धलाइ संकेत गर्छ। साँच्चै बीपी कोइराला प्रधानमन्त्री छँदा राजा महेन्द्रसँग निकै सुमधुर सम्बन्ध रह्यो त?

प्रधानमन्त्री बनेपछि राजा महेन्द्रसँग यसरी सुटिङमा हिँड्ने गरेका बीपी कोइरालालाई वि.सं. २०१५ को निर्वाचनमा विजय हासिल गरेलगत्तै आफू लगायत नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई तिनै राजा महेन्द्रले पक्रन्छन् वा मारिदिन्छन् भन्ने निकै ठूलो डर रहेछ।

त्यसैले, बीपी कोइराला अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सिआइए) का नेपालस्थित प्रतिनिधि (एजेन्ट) सँग आफ्नो सुरक्षाका लागि हतियार माग्न गएका रहेछन्। यो कुराको खुलाशा सिआइएका तत्कालिन ‘एजेन्ट’ डुआन आर क्लरिजले गरेका छन्। ‘सिआइए’ मा क्लरिजले आफ्नो ‘करिअर’ को क्रममा विदेश अनुभवको सुरुवात नेपालबाटै गरेका थिए।

‘अ स्पाइ फर अल सिजन : माइ लाइफ इन द सिआइए’ शीर्षकको आफ्नो आत्मकथामा क्लरिजले उल्लेख गरे अनुसार, नेपाल प्रतिनिधिको कार्यभार लिएर सन् १९५८ मा काठमाडौँ आउनु अघि ‘सिआइए’ ले नेपालसम्बन्धी जानकारी नयाँदिल्लीबाटै लिने गरेको थियो।

जब उनी सिआइएमा भर्ना भए, आफ्नो पोष्टिङका लागि त्यस्तो नयाँ मुलुक उनी आफैले रोजे, जहाँ ‘सिआइए एजेण्ट’ हरुको भौतिक उपस्थिति थिएन।

क्लरिजदेवारा लिखित पुस्तक

क्लरिजदेवारा लिखित पुस्तक

त्यो मुलुक थियो, नेपाल।

उनी नेपाल आए। उनको जिम्मेवारी नेपालमा चिनियाँ र रुसी गतिविधिबाहेक नेपालको आन्तरिक राजनीतिबारे प्रतिबेदन अमेरिका पठाउनु थियो। आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न उनले काठमाडौँको उच्च राजनीतिक तहमा सम्बन्ध बनाए, बढाए।

त्यसक्रममा राजा महेन्द्र र बीपी कोइराला दुवैसँग उनको सम्बन्ध सुमधुर बन्यो। दुवै जना क्लरिजमार्फत् नै वासिङ्टनलाई कन्भिन्स गर्न खोज्थे। २०१५ मा आम निर्वाचन हुने भएपछि उनको सम्बन्ध कोइरालासँग झन् सुमधुर हुन पुग्यो। कस्तो चुनावी घोषणापत्र लेख्ने भन्ने जानकारीका लागि उनले वासिङ्गठनबाटै आवस्यक कागजातहरु मगाइदिए।

वि.सं. २०१५ को निर्वाचन फागुनमा सुरु भएर २०१६ जेठमा मात्र सकिएको थियो। नेपालको चुनावको सम्बन्धमा वासिङ्टनस्थित अमेरिकी सरकारलाई त्यति चासो थिएन। तर सिआइए एजेन्टको जिम्मेवारीका कारण क्लरिजले यहाँ बसेर राजनीतिक गतिविधि मज्जैसँग नियालिरहेका थिए। बीपी कोइरालासँग उनको निकट र सुमधुर सम्बन्धले निरन्तरता पाएकै थियो।

निर्वाचनमा नेपाली कांग्रेस दुई तिहाई बहुमतका साथ विजयी भयो। तर राजा महेन्द्र चाहन्थे, बीपी प्रधानमन्त्री नहोउन्। उनले नयाँ सरकार गठनका लागि आव्हान गर्न ढिलाई गरे। निर्वाचन सम्पन्न भएको धेरै दिनसम्म पनि बीपी प्रधानमन्त्री बन्न पाएनन्।

बीपीलाई प्रम बनाउन महेन्द्रले नचाहेको बुझेपछि कांग्रेसभित्रै बीपीको बिकल्प खोज्ने काम समेत भयो। स्वयं बीपी पत्नी सुशीला कोइरालाले समेत बीपीको साटो सुवर्ण शमशेरलाई प्रम बनाउन खोजेको कुरा आफ्नो आत्मबृत्तान्तमा बीपीले उल्लेख गरेका छन्।

एक दिन रात छिप्पिँदै गर्दा बीपी आफै क्लरिज निवासको ढोका ढक्ढक्याउन पुगे। बीपीका साथमा उनका मुख्य सहयोगी पनि थिए। सहयोगीका हातमा एउटा सानो सुटकेस थियो। सहयोगीका साथ आफ्नो आएका नेपालका भावी प्रधानमन्त्रीलाई आफ्नो निवासको गार्डले बुद्धिमतापूर्वक बिना सोधपुछ भित्र पस्न दिएकोमा क्लरिजले आफ्नो आत्मकथामा सन्तोष व्यक्त गरेका छन्।

क्लरिजका भनाईमा, त्यसदिन बीपी निकै निराश देखिन्थे। बीपीको बोली पनि निकै हडबडाएको थियो। वीपीको भनाइ उदृत गर्दै उनी लेख्छन्, ‘बीपीले मैले विश्वस्त स्रोतबाट सूचना पाएको छु राजा महेन्द्रले मलाई पक्रन खोजिरहेका छन्। उनी (राजा महेन्द्र) निर्वाचन परिणामलाई स्वीकार नगर्ने र दरबाररको तर्फबाट कू गरेर तानाशाही शासन ल्याउने योजनामा छन्।’

यति भन्दै गर्दा बीपीका सहयोगीले साथमा रहेको सुटकेस खोलिसकेका थिए। सुटकेशभित्र बेलायत निर्मित स्टेन सब मेसिन गन र गोली  थिए। भुइँमा राखेर खोलिएको सुटकेसभित्रका हतियार निकै बेर त्यत्तिकै भुइँमा रहिरहे। त्यसपछि बीपी फेरि बोल्न थाले। ‘यी हतियार मैले मेरो सुरक्षाका लागि राखेको हुँ। तर मैले नेपाली कांग्रेसका अरु नेताहरुलाई पनि जोगाउनु छ’ उनले भने, ‘त्यसैकारण म तिमीकहाँ आएको हुँ।’

क्लरिजका भनाईमा, बीपी उनी (क्लरिज) बाट थप हतियार चाहन्थे।

क्लरिजले बीपी र उनका सहयोगीसँग राजाको थप योजनाका बारेमा विस्तृत जान्न चाहे। उनीहरुले आश्वस्त गराए कि, यो सूचना दरवारबाटै आएको हो। पारिवारिक सम्बन्धका कारण दरवारमा बीपीको राम्रै स्रोत रहेकाले बीपीको कुरामा आफूले विश्वास गरेको क्लरिजले बताएका छन्।

‘यस विषयमा वासिङ्टनमा कुराकानी गरेर तपाईंलाई खबर गर्छु भन्ने कुरामा मैले बीपीलाई आश्वस्त गराएँ’ क्लरिज भन्छन्, ‘जब वासिङ्टनबाट कुनै खबर आउँछ, त्यसपछि तपाईंको सहयोगीलाई सम्पर्क गर्नेछु भनेर मैले बीपीलाई भनेँ।’

बीपी आफ्नो निवासबाट फर्कनासाथ तत्काल क्लरिजले वासिङ्टन डिसीस्थित सिआइए मुख्यालय र नयाँदिल्लीस्थित कार्यालयमा अति जरुरी केवल (चिठी) पठाए। उनले स्वयं बीपी कोइरालाबाटै राजा महेन्द्रले कू गर्न लागेको सूचना पाएका थिए। तर उनले आफ्नो ‘केवल’ मा उल्लेख गरे कि, ‘राजा महेन्द्रले कू गर्दैछन् भन्ने जानकारी विश्वसनीय गुप्तचरी स्रोतबाट यो जानकारी प्राप्त भएको हो।’

जति छिटो उनले वासिङ्टन डिसीस्थित सिआइए मुख्यालयमा विषयवस्तुबारे केवल पठाएका थिए, उताबाट पनि उति नै छिटो त्यसको जवाफ आयो। वासिङ्टनबाट आएको जवाफमा भनिएको थियो, ‘वासिङ्टन यो मामिलामा सहभागी हुन ईच्छुक छैन।’

बीपीका सहयोगीलाई उनले तत्काल वासिङ्टनको मुडबारे जानकारी गराए।

तर, बीपीले दावी गरेजस्तो राजा महेन्द्रले तत्काल कुनै ‘कू’ गरेनन्। महेन्द्रको अनिच्छाका बाबजुद बीपी प्रधानमन्त्री नियुक्त भए। प्रधानमन्त्री बनेको उपलक्ष्यमा बीपीले एउटा भोजको आयोजना गरेका थिए। जहाँ क्लरिज पनि निम्त्याइए। भोजमा बीपी–क्लरिजले एकापसमा हात मिलाए। ‘त्यसबेला बीपीले मप्रति सानो स्वरमा मेरो प्रसंशाका प्रयोग गरे’ क्लरिज लेख्छन्, ‘त्यसपछि बीपीसँग मेरो कहिल्यै भेट भएन।’

क्लरिजका भनाईमा, जब वासिङ्टनबाट राजा महेन्द्र र बीपीको मामिलामा सहभागी नहुने जवाफ वासिङ्टनबाट आयो र त्यो जानकारी उनले निकट सहयोगीमार्फत् बीपीकहाँ पुर्याए, बीपीले क्लरिजप्रति कुनै असन्तुष्टि व्यक्त गरेका थिएनन्। वासिङ्टन र क्लरिजलाई कुनै आरोप पनि लगाएनन्।

क्लरिज

क्लरिज

बीपीले त्यति विश्वास गरेर गरेका ती सहयोगीले चाहिँ त्यसपछि आफूलाई निकै अप्ठेरोमा पारेको र बीपीलाई पनि धोका दिएको क्लरिजले उल्लेख गरेका छन्।

‘ती सहयोगीले मलाई सधैँ अप्ठेरो पारिरहे, मैले मुखले उनलाई कुनै जवाफ दिइनँ’ उनले लेखेका छन्, ‘बीपीका ती सहयोगीपछि राजा महेन्द्रको पक्षमा उभिए। सायद उनी पहिल्यै राजाको पक्षमा गइसकेका थिए। उनी तीब्र महत्वाकांक्षी थिए र समयक्रममा राजाले उनी महत्वाकांक्षा पुरा पनि गरिदिए।’

बीपीले त्यति विश्वास गरेका ती महत्वाकांक्षी सहयोगी को हुन्? डा तुलसी गिरि, विश्वबन्धु थापा वा अरु नै कोही? सीआइएका यी भेट्रान गुप्तचरले ती व्यक्तिको नाम उल्लेख गरेका छैनन्। न त वि.सं. २०१७ पुष–माघताका काठमाडौँबाट नयाँदिल्ली स्टेसनमा सरुवा भएका क्लरिजले राजा महेन्द्रको १ पुष २०१७ को फौजी कूबारे पुस्तकमा केही उल्लेख गरेका छन्।

१ पुष २०१७ मा राजा महेन्द्रले गरेको ‘कू’ मा अमेरिकी भूमिका र हतियार माग्न आफूकहाँ पुगेका ती सहयोगीको नाम ‘सस्पेन्स’ राखेर दुई बर्षअघि क्लरिजले यो संसार छाडिसकेका छन्।

प्रकाशित २९ चैत २०७५, शुक्रबार | 2019-04-12 12:10:49
Max TV
Max TV
Vianet

author photo

सीताराम बराल नेपालखबर सम्पादक हुन्

@sitarambaral

सीताराम बरालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...