गोर्खाल्याण्डको नारा सत्ता हत्याउने खेल बन्यो: साहित्यकार छुदेन काविमो (अन्तर्वार्ता)



Kshamadevi Group


छुदेन काविमो
छुदेन काविमो

अहिलेलाई यत्ति बुझौँ, अहिलेको दार्जिलिङ हरेक कुरामा नेपालभन्दा निकै पछाडि छ।

दार्जिलिङमा जन्मिएको, संघर्ष र अभावका बीच त्यहीँ हुर्किएको र साहित्यलाई आफ्नो कर्म बनाएको एउटा नाम हो, छुदेन काविमो। छुदेन पछिल्लो समय ‘फातसुङ’ उपन्यासमार्फत् नेपाली साहित्यमा प्रवेश गरेका छन्।

दार्जिलिङमा कथा संग्रह ‘१९८६’मार्फत् २०१८ को ‘युवा साहित्य अकादमी पुरस्कार’ प्राप्त गरेका छुदेन दार्जिलिङमा पत्रकारिता पनि गर्छन्। प्रस्तुत छ, नेपालखबरका लागि कृष्ण आचार्यले दार्जिलिङको राजनीति, साहित्य र उनको पछिल्लो पुस्तक र व्यक्तिगत जीवनका सम्बन्धमा आधारित भएर छुदेनसँग गरेको संवादः

दार्जिलिङलाई तपाईं आफूसँग जोडेर कसरी परिभाषित गर्नुहुन्छ?
बाहिरबाट हेर्दा दार्जिलिङ एउटा पर्यटकीय हब हो, जुन विभिन्न भागमा विभाजित छ। जस्तैः मेरो आप्पाले रासन कार्डमा दार्जिलिङ लेखेर जिन्दगी चलाउनुभयो। तर, उहाँले असली दार्जिलिङ नै चिन्न पाउनु भएन। किन कि उहाँ दार्जिलिङका हरेक स्थान घुम्न पाउनु भएन। दार्जिलिङ कस्तो भन्दा, यो भारतको पश्चिम बंगालमा रहेको एउटा जिल्ला हो। जुन महाभारत पहाडमा अवस्थित छ। चियाका लागि प्रसिद्धि कमाएको दार्जिलिङ पर्यटकीयसँगै शैक्षिक गन्तब्य पनि हो। साहित्यमा भने दार्जिलिङ निकै पछाडि छ।

म दार्जिलिङको कालेबुङको अभेक गाउँमा हुर्किएको हुँ। त्यहाँ प्राथमिक विद्यालय थियो, माध्यमिक विद्यालय (मावि) थिएन। म स्कुल पढ्न दैनिक ६ घण्टा (आउँदा–जाँदा) हिँड्थेँ। बरबोट हाईस्कुल पुग्न बिहान ६ बजे उठेर हिँड्थेँ र ९ बजे पुग्थेँ। ३ बजे छुट्टी भएपछि घर आउँदा साँझको ६ बजिसकेको हुन्थ्यो।

बाल्यकालमा गोजीमा १ रुपैयाँ पनि नहुँदाको अनुभव पनि मसँग छ। विद्यार्थी जीवनलाई ‘गोल्डेन लाईफ’ भन्ने गरिन्छ। तर, मेरो जीवन त्यस्तो भएन। तैपनि ती सबै कुराहरु सम्झना बनेर बसेका छन्। समग्रमा भन्नुपर्दा मेरो बाल्यकाल स्कुलको हिँडाइमा नै बित्यो भन्नुपर्ला।

दार्जिलिङ धेरै ठूलो छ। त्यसमध्ये म एउटा एरिया (कालेबुङ)को मान्छे हुँ। स्कुल पढ्न जाने पहिलो ब्याचको विद्यार्थीहरुमा म पनि एक हुँ। पढ्न हिँडेर धेरै टाढा जानुपर्ने भएकाले मेरा अन्य साथीहरुले बीचमै पढाई छाडे। अन्तिममा बोर्ड परीक्षा दिने समयमा ममात्र बाँकी थिएँ। अहिलेको अवस्था पनि त्यही हो। म बस्ने ठाउँमा अहिले पनि एउटा ठूलो हाईस्कुल छैन।

‘दार्जिलिङ सहर झिलि र मिली बिजुली बत्तिले’ बोलको चर्चित गीत छ। यसकै आधारमा नेपालीहरुले पनि दार्जिलिङमाथिको धारणा बनाएका छन्। वास्तविक दार्जिलिङ के गीतले संकेत गरेजस्तै सुन्दर छ?
एसियामै पहिलोपटक बिजुली बाल्ने सहरमध्ये दार्जिलिङ पनि एक हो। तर, बिजुली आउँदैमा सबै गाउँ उज्यालो हुने भन्ने कुरा त हुँदैन नि!त्यहाँका समस्या, त्यहाँको अवस्था त आफ्नै खालको छ। अब्यवस्थित सहरीकरणले गर्दा दार्जिलिङ कुरुप बनेको छ। अहिलेलाई यत्ति बुझौँ कि, अहिलेको दार्जिलिङ हरेक कुरामा काठमाडौंभन्दा पछि निकै पछाडि छ।

दार्जिलिङको मूल समस्या के हो?
सन् १९८६ देखि जनताले छुट्टै राज्यको माग गर्दै ठूलो आन्दोलन गरे। दुई वर्ष आन्दोलन भएपछि त्यो विफल भयो। विफल भएपछि क्षेत्रीय व्यवस्थासहितको नयाँ सत्ता बन्यो। त्यसपछि दार्जिलिङको राजनीति नै परिवर्तन भयो। शक्ति र सत्ता एउटा मानिसको अधिनमा रहन गयो। त्यसको प्रभाव तल्लो तहसम्म फैलियो। मानिसहरुले जुन सपना देखेर आन्दोलन थालेका थिए, त्यसको ठ्याक्कै उल्टो किसिमको प्राप्ती भयो। शिक्षा, स्वास्थ्य, बाटोको समस्या देखिन थाल्यो। त्यसको कारण राजनीति बनिदियो। आम जनता आन्दोलन गर्ने र नेताले त्यसलाई ‘बिजनेश’ बनाउने समस्या बिकराल बन्दै गयो।

लामो समय नेपाली भाषीहरु गोर्खाल्याण्डका लागि आन्दोलनमा होमिन्छन्, गोर्खाल्याण्डको मुद्दालाई जोडतोडका साथ उठाउँछन्। तर, चुनावमा कलकत्ता वा दिल्लीको उम्मेदवारले जित्छ। यस्तो किन हुन्छ?
दार्जिलिङको हिमाली क्षेत्रमा ६ लाख मतदाता होलान्। समथल भूभागमा ९ लाख मतदाता छन्। त्यो मिलाएर एक जना एमपी निर्वाचित हुने हो। समस्या के हुन्छ भने सबै दलको आ–आफ्नो स्वार्थ छ। स्थानियरुपमा राजनीति गर्नेहरु पनि एकढिक्का हुँदैनन्। आफ्नो फाइदाका लागि जे पनि गर्न तयार भइदिन्छन्। त्यसैले पनि चुनावमा कहिले दिल्ली त, कहिले कलकत्ताले जित्छ। तर, दार्जिलिङले कहिल्यै जित्दैन।

यसको मतलब, त्यहाँका जनतामा राजनीतिक चेतको विकास भइनसकेको भन्ने हो?
समस्या यही नै हो। खासमा दार्जिलिङमा आवेगको राजनीति हुन्छ। भावनामा बहकिएर मानिसहरु आन्दोलनमा होमिन्छन्। तर, त्यसभित्र लुकेको राजनीतिक स्वार्थ बुझेका हुँदैनन्। प्रयोगात्मक राजनीति के हो भन्ने जानकारी नै नभएपछि राजनीतिक चेत छ भन्न पनि मिलेन। गोर्खाल्याण्डको आन्दोलनमा होमिनुको पछाडि पनि दार्जिलिङबासीको भावना जोडिएको छ र उनीहरुको भावनामाथि टेकेर राजनेताले आफ्नै स्वार्थ पुरा गरिरहेका छन्। आम मानिसको चेतनास्तर बृद्धि भयो भने त भोलि सत्ताको विपक्षमा पनि जान सक्ने अवस्था आउने भयो। त्यसैले जनता जहाँको तहीँ, जस्ताको तस्तै रहुन् भन्ने चाहना सत्ताको छ।

बालकृष्ण समले कुनै समय ‘नेपालले आज सोच्ने कुरा दार्जिलिङले हिजै सोच्छ’ भन्नुभएको थियो। अहिले अवस्था ठ्याक्कै उल्टो भएको हो?
हो, पहिले हामी धेरै माथि थियौँ। १९८६ पछि भएको ठूलो आन्दोलनपछि सयौँ मानिस मारिए। त्यसपछि लासमाथि पनि उच्च घरानिया राजनीति सुरु भयो, जसले समाजमा भयानक प्रभाव पारिदियो। हरेक समस्याको समाधानका लागि राजनीतिको मुख ताक्नुपर्ने अवस्था निम्त्याइयो। हरेक क्षेत्रमा राजनीतिले हस्तक्षेपकारी भूमिका खेल्न थाल्यो। समाजलाई यसरी डोर्याएर लैजाँदा सामाजिक विकास, निर्माणका कामहरु हुन सकेनन्। यसरी समाज झन् पछि पर्दै गयो।

गोर्खाल्याण्ड आन्दोलन यही अवस्था सुधारका लागि भएको होइन र?
दार्जिलिङ ऐतिहासिक र भाषिक हिसाबले फरक भएकाले छुट्टै राज्य बन्नुपर्छ भन्ने हिसाबले आन्दोलनको सुरुवात भएको हो। यसको उद्देश्य जे भए पनि तात्पर्य सामाजिक व्यवस्थाको सुधार नै हो। तर, पछिल्लो समय आम जनता आन्दोलनमा होमिने, नेताले भने आन्दोलनलाई आफ्नो राजनीतिक चलखेलको माध्यम बनाउने गरेका कारण मानिसको सपना टुट्दै गइरहेको छ। नेताहरुले सर्वसाधारणलाई उक्साउने, सडकमा ल्याउने, आगो बाल्ने र आन्दोलन चर्काउने, अनि अन्तिममा सत्ताका लागि लचिलो बनिदिने परिपाटीको विकास भएको छ।

मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेसँगै गोर्खाल्याण्ड आन्दोलन ब्युँतिएको भन्ने बुझाई छ नि नेपालमा?
फरमान जारी भएकै हो। तर, चौतर्फी विरोध भएपछि फिर्ता लिने अवस्था आइसकेको थियो। तर, चुनाव नजिक आइरहेकाले राजनेतालाई मुद्दा चाहिएको थियो। त्यसैले, गोर्खाल्याण्डको आन्दोलन ब्युताइँयो। यसरी द्वन्द्व बढेको हो। नत्र त्यसले त्यति ठूलो समस्या निम्त्याएको जस्तो मलाई लाग्दैन। बेनर्जीको त्यस कदमलाई एउटा मुद्दा बनाएर दार्जिलिङबासीको ‘सेन्टिमेन्ट क्याच’ गर्न खोजिएको हो।

यत्रो आन्दोलन चर्किदा केन्द्र सरकार किन चुप छ?
केन्द्रका लागि दार्जिलिङ त एउटा सानो भूभागमात्र हो। आन्दोलनको कुरा मात्र होइन, दार्जिलिङमा के भइरहेको छ भन्ने कुरा केन्द्रसम्म पुग्दै पुग्दैन। आगलागी होस्, ठूलै बितण्डा मच्चियोस्, दिल्लीलाई वास्तै छैन। त्यहाँको राजनीतिले सञ्चार माध्यमलाई पनि प्रयोग गर्छ। गोर्खाल्याण्डको आन्दोलन हुँदा केन्द्रीय मिडियाले जातीय आन्दोलनको संज्ञा दिन्छन्।

नेता इमानदार हुने हो भने आन्दोलनको कुनै निष्कर्ष निस्कन्थ्यो होला। तर, नेता नै इमानदार नहुने, आन्दोलनका मुद्दालाई पैसासँग साँट्ने भएपछि जति आन्दोलन गरेपनि उपलब्धी शुन्य नै हुन्छ।

दार्जिलिङमा गोर्खाल्याण्ड आन्दोलनले उग्र रुप लिँइरहँदा नेपालमा पनि राम्रै चर्चा हुन्छ। अझ नेपालिको त त्यहाँका नेपाली भाषी छुट्टै राज्य स्थापना गरेर त्यो राज्यलाई नेपालमा गाभ्न चाहिरहेका छन् भन्ने बुझाई छ। खास कुरा के हो?
त्यस्तो केही होइन। सरकारले गोर्खाल्याण्ड आन्दोलन बिखण्डतावादी हो भनेर राजनीति गरिदियो। नेपालसँग जोडेर आन्दोलनलाई बदनाम गराउन र दबाउने रणनीति हो। खासमा दार्जिलिङमा रहेका नेपाली भाषीको माग भनेको भारतमै बस्ने, तर बंगालभन्दा छुट्टै बस्ने भन्ने हो। अर्थात्, भारतमा रहेका २९ वटा राज्यजस्तै एउटा नयाँ राज्य थपिनुपर्छ भन्नेमात्र हो।

१९८६ पछि भएका आन्दोलनमा हजारौँ सहीद भए। उनीहरुको परिवारको अवस्था कस्तो छ?
परिवारले एक सदस्य गुमाउँदाको पीडाभन्दा भयानक अवस्था अरु के नै हुन्छ र? परिवारको युवा सदस्यसँग अन्यको पनि सपना जोडिएको हुन्छ। उनीहरुको निधनपछि परिवारले आफ्नो सपना कुल्चिएर बसिरहेको छ। केही राहत बाँडेजस्तो देखिन्छ। तर, त्यसले उनीहरुको जीविकोपार्जन कति दिन चल्ने? अझ राहत पनि सबैको पहुँचमा पुगेको छैन। राजनीतिक रुपमा सिपमूलक काममा लगाउने, एजेन्सीमार्फत् काममा लगाउने वा उद्योगको स्थापना गरिदिने घोषणा हुन्छ। तर, त्यो घोषणामा नै सीमित भइदिन्छ।

गोर्खाल्याण्ड आन्दोलनले साहित्यमा कस्तो प्रभाव पार्यो?
आन्दोलनले साहित्यमा पनि निकै प्रभाव पारेको छ। इन्द्रबहादुर राईको समयमा दार्जिलिङ साहित्यमा धेरै माथि थियो। तर, झन् पछि झन् खस्कँदै गयो। न प्रकाशन गृहहरु खुले, न साहित्यकारहरु सशक्त ढंगले नै आउन सके।

अहिले त, दार्जिलिङको पठन संस्कृति पनि त्यति राम्रो छैन। यो सबै आन्दोलनको प्रभाव नै होजस्तो लाग्छ। हुन त, साहित्यिक–सांस्कृतिक पक्षले आन्दोलन बलियो बनाउन भूमिका खेल्नुपर्ने हो। तर, त्यस्तो अवस्था रहेन। झन् कमजोर हुँदै गयो।

तपाईंले भनेजस्तो हो वा इन्द्रबहादुर राई, कुमार प्रधान, गोपाल योञ्जन, अम्बर गुरुङको अभाव खड्किएको हो?
अभाव भन्दा पनि उहाँहरुले गर्नुपर्ने काम गरिसक्नुभएको छ। तर, भनिन्छ नि, समाज र साहित्य एक अर्कासँग जोडिएका हुन्छन्। त्यसैले दार्जिलिङको राजनीतिक आन्दोलनले साहित्यमा असर पार्यो। जसले एउटा ग्याप उत्पन्न गरिदियो। राजनीतिले समाजलाई जस्तो बनायो नि, त्यसमा साहित्य पनि दबेर रह्यो।

अर्को कुरा, लेखकले जे लेख्यो त्यही फाइनल हुन्छ। अनि आफै किताब छापेर आफै बजारमा लगेर बेच्नुपर्ने अवस्था छ। न राम्रा प्रकाशन गृहहरु छन्, न पठन संस्कृतिको विकास नै भएको छ। समग्रमा भन्नुपर्दा, साहित्यमा हामी नेपालभन्दा एक दशक पछाडि छौँ।

पत्रपत्रिकाहरु निस्कने, पुस्तकहरु निस्कने तर, जसले जे पायो, त्यही लेखेर निकालिदिँदा ‘यस्तै त रहेछ नि’ भन्ने परिसकेको छ। गुणात्मक रुपले अघि आउन सकिरहेका छैनौँ हामी। अबको ५–७ वर्षपछि केही हुन्छ भन्ने छ।

पछिल्लो समय त्यो ग्याप पुरिँदै छ या अवस्था उस्तै छ?
अझै पनि दार्जिलिङको आफ्नै उपन्यास कुन त भन्दा हामी इन्द्रबहादुर राईकै ‘आज रमिता छ’ सम्झन बाध्य छौँ। त्यसैले आख्यानमा खासै उपलब्धि हुन सकेको छैन। हिजोको समय र आजको समयमा अझै पनि ठूलो खाडल छ। हामीजस्ता केही युवा त्यो खाडल पुर्न लागिरहेका छौँ। चुनौतिहरु थुप्रै छन्, त्यसलाई कत्तिको तोड्न सकिन्छ, त्यो भने समयले नै बताउला।

तर, विस्तारै साहित्यिक गतिविधि बढ्दै जानु र मजस्ता लेखकलाई नेपालमा स्पेश दिने काम हुनुले साहित्यमा लाग्नेलाई पक्कै पनि प्रेरणा मिलेको छ। दार्जिलिङको साहित्यिक विकासमा नेपालको पनि हात रहनेछ भन्ने मेरो विश्वास हो।

दार्जिलिङसँग आसाम  सिक्किमको सम्बन्ध कस्तो पाउनुभएको छ?
दार्जिलिङ भारतीय भूमिमा रहेको नेपाली भाषीहरुको केन्द्रबिन्दु हो। त्यसैले पनि दार्जिलिङलाई राजनीति र साहित्य दुवैको रुपमा यी राज्यहरुले हेरेको पाइन्छ। मलाई जहाँसम्म लाग्छ सबैसँग दार्जिलिङको सम्बन्ध सुमधुर नै छ। सबैभन्दा महत्वपूर्ण कुरा भाषा हो। आफ्नो भाषा मिल्ने जमात जहाँ छ, त्यहाँका हरेक कुराहरुप्रति प्रेम वा लगाव हुनु स्वाभाविक नै हो भन्ने मेरो बुझाई छ।

दार्जिलिङको साहित्य भारतभन्दा नेपालसँग नजिक देखिन्छ। किन होला?
नेपालमा पछिल्लो समय राम्रो पठन संस्कृतिको विकास भएको छ। तर, दार्जिलिङमा त्यो अवस्था छैन। नेपालमा दार्जिलिङका नेपालीभाषी लेखकलाई स्वीकार्ने अवस्था छ। नेपालीहरु अझै पनि दार्जिलिङबासी भनेपछि प्रेम गर्छन्। तर भारतमा त्यो अवस्था छैन। दार्जिलिङप्रति भारतको मुख्य केन्द्रले हेर्ने दृष्टिकोण नै फरक छ। अर्थात् अलि हेपाहा प्रबृत्तिको छ। यस्तोमा त्यहाँ प्रतिस्पर्धा गर्न पनि सहज छैन।

अर्को कुरा, हामी नेपाली भाषी भएकाले पहिलो प्राथमिकतामा आफ्नो भाषा सुहाउँदो देश (नेपाल) परेको हो। भारतमा डेढ करोड नेपाली छन् भनिन्छ। तर, पठन संस्कृतिको विकास भइसकेको छैन। त्यसैले, दार्जिलिङमा मात्र सीमित हुने अवस्था पनि छैन।

साहित्यको बजार सानो भए पनि गुटबन्दी पनि उत्तिकै छ भनिन्छ नि त्यहाँ?
साहित्य पनि कुनै धार र विचारबाट प्रभावित भएको हुन्छ। लेखकअनुसार र उनीहरुको विचारअनुसार धारहरु, समूहहरु निर्माण हुने कार्य हुनु स्वाभाविक नै होला। यसरी साहित्यकारहरु विभाजित भएका होलान्। तर, कुनै कार्यक्रमहरु हुन थाल्यो या साहित्यिक गतिबिधि हुन लाग्यो भने हामी एक हुन्छौँ। यो हाम्रो विशेषता हो।

तपाईंको पुस्तक ‘फातसुङ’ मा दार्जिलिङका युवाहरुको सपनालाई महत्व दिनुभएको छ। खासमा उनीहरुको सपना चाहिँ के हो?
दार्जिलिङका नेपालीभाषी भारतीयको सपना भनेको दार्जिलिङ अलग राज्य हुनुपर्छ भन्ने हो। तर, यो सपनालाई राजनीतिले कुल्चिदिएको छ। म त्यस्तो ठाउँमा जन्मिएको मान्छे हुँ, जहाँका मानिसहरु सपनासमेत देख्दैनन्। मैले आफू कहीँ पुग्नका लागि पहिले सपना त देख्नुपर्छ नि भन्ने मान्यता स्थापित गराउन सपनाको कुरा गरेको हुँ।

‘इन्दिरा आवास’ र ‘कंग्रेसको लोन’ सँग पनि दार्जिलिङबासीको सपना जोडिएको कुरा पुस्तकमा उठाउनुभएको छ? यो आफूले देखेको सपना हो वा त्यहाँ बाँडिएको?
यहाँनिर मैले आफूले देखेको सपनाको कुरा गरेको हुँ। र, मैले देखेको सपना अरुसँग पनि मेल खान्छ। ती सपना बाँडिएकाले नै म देख्न बाध्य भएको हुँ। हजारौँ मानिसहरु गरिबीको रेखामुनि छन् र उनीहरुको पारिवारिक अवस्था दयनीय छ। त्यही अवस्थामाथि सरकारले राजनीति गरिरहेको छ।

विभिन्न सपनाहरु बाँडिएका छन् र बाँडिएको सपना पछ्याउन हामी बाध्य छौँ। ‘इन्दिरा आवास’ र ‘कंग्रेसको लोन’ पनि तिनै सपनामध्येका दुई पाटा हुन्। पुस्तकमा यस्तै सपना बाँडेर त्यसमाथि कसरी तुषारापात भएको छ, कसरी सपनामाथि कुल्चिएको छ भन्ने कुरा देखाउन खोजिएको छ।

पुस्तकमा बाइबल र क्रिश्चियनको प्रशंग पनि आएको छ। दार्जिलिङ धर्मका नाममा पनि विभाजित हुन पुगेको हो?
अहिले त त्यस्तो छैन। तर, जतिबेला हामी हुर्कंदै थियौँ, त्यतिबेला यस्तो समस्या धेरै थियो। गाउँमा स्कुल, सडक, बत्ति, बिजुली केही पुगेको थिएन। ती कुरालाई सपना बनाएर धर्मको नाममा राजनीति गरियो। त्यसैले सपना बाँड्दै, प्रलोभन देखाउँदै विदेशीहरुले आफ्नो धर्मको प्रचार गरेको अवस्थालाई नकार्न सकिँदैन। साथै, गाउँमा के हुँदैछ भन्ने कुरा केन्द्रमा थाहा नै हुँदैनथ्यो। यस्तो अवस्थामा सोझासाझा गाउँलेलाई हिन्दुबाट अन्य धर्ममा आकर्षित गर्ने काम भयो। तर, पछिल्लो समय यस्तो अवस्था छैन।

दार्जिलिङमा जातीय विभेदले सीमा पार गरेको छ भन्ने सुनिन्छ नि!
नेपालमा जस्तै त्यहाँ पनि यस्तो समस्या समान्यरुपमा छ। बिहे हुँदा होस् या कुनै धार्मिक वा सांस्कृतिक कार्यमा विभेदहरु पाइन्छन्। म तपाईंलाई यस विषयमा एउटा उदाहरण दिएर प्रष्ट्याउन चाहन्छुः हामीले अलग राज्य माग्नु भनेको छाता जस्तै हो। छाता सबैको साझा भएपछि त्यसको करङ पनि एउटै हुनुपर्ने हो। तर, त्यो भने फरक छ।

दार्जिलिङबासी नेपाली भाषीको नेपालप्रतिको हेराई, दृष्टिकोण वा बुझाई कस्तो छ?
सबैभन्दा महत्वपूर्ण कुरा त भाषा नै हो। नेपाली र हाम्रो भाषा मिल्ने भएपछि आफ्नोत्तो पनि स्वतः बढ्दो रहेछ। मानौँ, दार्जिलिङमा फुटबल प्रतियोगिता भएको छ, लखनऊ पुलिस र नेपालबीच प्रतिस्पर्धा चलिरहेको छ भने यस्तोमा दार्जिलिङबासीले नेपालकै समर्थन गर्छन्। त्यसैले, हामीबीच रहेको सम्बन्ध भावनात्मक हो भन्ने लाग्छ। अर्को कुरा, त्यहाँ नेपाली रेडियो, मिडिया, गीतहरु, पुस्तकको प्रभाव पनि धेरै छ।

दार्जिलिङमा रहेका धेरै नेपाली भाषी चियाबगानका श्रमिक छन्। उनीहरुको पछिल्लो अवस्था कस्तो छ?
नेपालीहरुको स्थितिमा खासै फरक आएको जस्तो लाग्दैन। गोर्खाल्याण्डको माग केवल चुनावी मुद्दा हो भन्ने कुरा जनताले विस्तारै थाहा पाउन थालेपछि अहिले श्रमिकका विषयहरु चुनावी मुद्दा बनेका छन्। अर्थात्, अहिले दार्जिलिङमा ‘टि पोलिटिक्स’ सुरु भइसकेको छ। श्रमिकका विषयलाई मुद्दा बनाएर चुनावी प्रचार गरिन्छ। तर, अन्त्यमा श्रमिक जहाँको तहीँ र टाठाबाठा नेता बनेर कहाँ हो कहाँ पुग्छ। श्रमिकले भने दैनिकरुपमा पाउनुपर्ने न्यूनतम ज्याला पनि पाएका छैनन्।

दार्जिलिङबासीको मुख्य आयस्रोतका माध्यमहरु के–के हुन्?
चिया बगान नै हो। त्यसपछि पर्यटन हो अर्को। मिसिनेरीहरुको सहयोगमा विभिन्न स्कुलहरु खुलेका छन्। विदेशीहरु पढ्न आउने गरी स्कुलहरु खोल्ने, होस्टल खोल्ने र पढ्न पनि विदेशबाट नै विद्यार्थी आउने भएपछि आयस्रोतका पाटाहरु बढ्ने नै भए। तर, पछिल्लो समय आन्दोलनका कारण स्कुलहरु खुल्नेक्रम निकै कम भएको छ। युवा रोजगारीका लागि विदेशतिर जान थालेका छन् ।

प्रकाशित २६ चैत २०७५, मंगलबार | 2019-04-09 12:26:48
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...