सारङ्गीको धुनले ठडियो बर्ताको ‘महल’



Kshamadevi Group


बर्ता गन्धर्भ
बर्ता गन्धर्भ
फोटो/भिडियो: प्रबिन कोइराला

८ वर्षको कलिलो उमेरमा बर्ता गन्धर्वको हातमा आमाले सारङ्गी थमाइदिइन्। सिसाकलम समाउने हातले सारङ्गी बोकेर भोजपुरका कुना–कान्लाहरुमा बर्ता उकाली–ओराली गर्नुपर्ने भयो।

आमाले जबरजस्ती हातमा सारङ्गी थमाएको बर्तालाई चित्त बुझेको थिएन। तर, उनमा प्रतिकार गर्ने हिम्मत जुटेन। निरिह बनेर एक कुममा सारङ्गी भिडिन्।

आमाको पनि आफ्नै ब्यथा थियो। सारङ्गी रेटेर पैसा कमाउन सिक्किम–दार्जिलिङ गएका उनका पति डेढ वर्षसम्म घर फर्किएनन्। बर्तापछि अर्को सन्तान जन्मिएको थियो। घरमा जीविकोपार्जनका लागि एक सुक्को छैन। कसरी पालिने आफू, कसरी पाल्ने आफ्ना सन्तान?

कुराकानी गर्दै जाँदा चम्किरहेको बर्ताको मुहारमा यो प्रसङ्ग आएपछि एकाएक मलिनता छायो। ‘आमासामू अर्को विकल्प पनि त कहाँ थियो र’ उनले भनिन्, ‘तर, यो कुरा मैले धेरैपछि मात्र बुझेँ।’

यसरी बर्ताले अर्काको पिँढीमा बसेर सारङ्गी रेट्न थालिन्। सारङ्गीबाट न राम्रो धुन निस्कन्थ्यो, न उनलाई गीत गाउन नै आउँथ्यो। तैपनि उनको भावुकता देखेर, पिठ्युँमा बच्चा बोकिरहेकी उनकी सुत्केरी आमालाई देखेर मान्छेहरु पैसा दिन्थे, चामल दिन्थे।

३ महिनापछि...
सारङ्गीसँग परिचित भएको ३ महिनापछि बर्ता यसको धुन र धुनसँगै निस्कने संगीतसँग राम्रैसँग परिचित भइन्। सारङ्गी रेट्दा गाइने केही गीतहरु उनले कन्ठस्थ पारिन्, गुनगुनाउन पनि थालिन्।

६ महिनापछि त उनको सारङ्गी र गीतसँग प्रेम नै बस्यो। उनले सारङ्गीबाट निकालेको धुनसँगै लय हालेर गीत गाउन थालिन्, ‘माइती किन जाँदैछौँ टाढा गाउँघरै बिर्सेर...।’

बर्ताको स्वरमा मधुरता थियो। धेरैले मन पराए। उनको गीत र संगीत सुनेर कतिले आँसु बहाए, बर्तालाई याद छैन।

गायनसँगै आम्दानी पनि बढ्दै गयो। उनका बुबा पनि फर्किएर आए। त्यसपछि बर्ता बुबासँगै गीत गाएर हिँड्न थालिन्, भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङका गाउँ र सदरमुकामहरुमा।

यसरी नै ३ वर्ष बित्यो ।

जीवनमा नयाँ मोड
एक दिन।

बुबा–छोरी गीत गाउँदै संखुवासभा पुगेका थिए। टुम्लिङटार एयरपोर्टमा बर्ताले गीत गाएको अधिवक्ता गोपाल सिवाकोटीले सुने। बर्ताबारे उनका बुबासँग सोधपुछ गरे। त्यसपछि बर्तालाई काठमाडौँ ल्याएर आए आफूले सहयोग गर्ने आश्वासन दिए।

बर्ताका बुबाले सिवाकोटीले भनेजस्तै गरे। यसरी उनी सिवाकोटीको घरमा घरायसी काम सघाउँदै पढ्दै गर्न थालिन्।

पछि सिवाकोटीले बर्तालाई होस्टेलमा बसेर छात्रबृत्तिमा पढ्ने अवसर जुराइदिए। उनले होस्टेलमै बसेर एसएलसी पास गरिन्। यसबीच उनको सारङ्गीसँगको सम्बन्ध पूर्णरुपमा टुटिसकेको थियो।

सारङ्गीसँग मात्र होइन, परिवारका सदस्यसँग पनि उनको सम्पर्क थिएन। न घरकाले बर्ताबारे सोधिखोजी गरे, न उनी नै घर सम्झिएर गइन्।

काठमाडौँमा अब बर्तालाई आफ्नै खुट्टामा उभिनु थियो। आफ्नै पौरखमा केही गर्नु थियो। तर, गर्ने के?

गीत गाउने।

उनीसँग यही एउटा उपाय बाँकी थियो। तर, असम्भवप्राय। बर्ताले गाउँमा सारङ्गी रेटेर गाएको गीतलाई त काठमाडौँ सहरले गीत नै भन्दोरहेनछ!

यो कुरा उनले स्कुल पढ्दा नै अलिअलि चाल पाइसकेकी थिइन्। किनकी उनले स्कुलमा गाएको गीत सुनेर साथीहरु खित्का छाडेर हाँसेका थिए। बर्तालाई गिज्याएका थिए।

त्यसपछि उनमा गीत गाउने आँटै आउन छाडेको थियो। तर, मन खानेहरु उनलाई संगीत पढ्न सुझाउँथे। उनीहरुलाई थाहा थियो, बर्ता लुकेकी प्रतिभा हुन्, उनलाई मार्गदर्शन र अवसरको खाँचो छ भन्ने।

१५ सयको त्यो जागिर
एसएलसी पास भएको केही समयपछि (२०६२ सालमा) बर्ताले मासिक १५ सय रुपैयाँ पाउनेगरी रिसेप्सनमा जागिर पाइन्। उनको संगीतप्रतिको रुचि मरिसकेको भने थिएन। मनमा इख पनि छँदै थियो। हिजो उनको गीत सुनेर हाँस्नेहरुलाई देखाउनु थियो आफ्नो क्षमता। त्यसैले उनी ललितकला क्याम्पसमा भर्ना भएर संगीत सिक्न थालिन्।

जीवन सामान्य ढंगले चल्दै थियो। एकदिन बर्ताको भेट एक जापानी नागरिकसँग भयो। उनकै सहयोगमा बर्ताले एउटा डुकमेन्ट्रीमा संगीत भर्ने काम पाइन्।

बर्ताको कामबाट प्रभावित ती जापानीले उनलाई हार्मोनियम किनिदिए। त्यसको केही समयपछि उनकै पहलमा बर्ताको भेट ‘कुटुम्ब म्यान्ड’ की म्यानेजर नयनतारा गुरुङसँग भयो।

बर्ताको संगीतबाट प्रभावित नयनताराले उनको नाममा ३ वटा कन्सर्ट गर्ने घोषणा गरिन्। बर्तामा खुसीको सीमा रहेन।

कन्सर्टपछि उनी एकाएक चर्चामा आइन्। पढाइलाई पनि सँगसँगै अगाडि बढाइन्। ललितकला पढ्न थालेपछि बर्ताले धेरै कुरा सिक्ने अवसर पाइन्– संगीतबारे मात्र होइन, समाजबारे पनि।

‘ललितकला जानुअघि म सारङ्गी रेट्न र गीत गाउन ‘पर्फेक्ट’ छु जस्तो लाग्थ्यो’ बर्ता भन्छिन्, ‘तर, होइन रहेछ। संगीत पढ्न थालेपछि बल्ल संगीतबारे बुझेँ, सारेगम भनेको के हो भन्ने चाल पाएँ।’

बर्ता विस्तारै धेरैमाझ चिनिन थालिसकेकी थिइन्। उनले पढाइलाई पनि निरन्तरता दिँदै गइन्। ललितकलापछि नेपाल संगीत विद्यालयमा छात्रबृत्तिमा संगीत पढ्न थालिन्।

पढ्दै गर्दा उनले २०६४ सालमा चीन जाने अवसर पाइन्। त्यहाँ विभिन्न कन्सर्टमा भाग लिइन्। त्यस्तै, सोही वर्ष संगीतसम्बन्धी एक प्रतियोगीतामा उत्कृष्ट भएर उनका लागि नर्वेको ढोका खुल्यो।

विदेशबाट फर्किएपछि उनी संगीतको शिक्षिका बनिन्। त्यसपछि ‘जाफ्टा फेस्टिभल’ मा भाग लिन श्रीलंका पुगिन्। प्रशिक्षार्थी बनेर थाइल्याण्ड र स्वीडेनसम्म जाने अवसरपनि पाइन्। अर्कोपटक नर्वे जाने अवसर पनि जु¥यो।

‘सुरुमा त आफूभन्दा पढाईमा सिनियर, हेर्दा पनि खाइलाग्दा विद्यार्थी देखेर कसरी सारङ्गी सिकाउने होला भनेर लजाएकी थिएँ’ बर्ता भन्छिन्, ‘तर, त्यहाँ त गुरुलाई निकै आदर गर्दा रहेछन्। उहाँहरुको सम्मानले मेरो हौसला बढ्यो।’

नर्वेबाट फर्कँदा बर्ताले नोकिया मोबाइल किनेर ल्याएकी थिइन्। त्यही मोबाइलबाट गाउँमा फोन गरेर आमासँग कुरा गरिन्। आमाको स्वर सुन्दा उनको आँखामा आँसु भरियो।

‘हिजो आमाले मेरो चाहनाविपरित हातमा सारङ्गी थमाइदिँदा मैले मनमनै उहाँलाई गाली गरेकी थिएँ’, बर्ता त्यो दिन सम्झदै भन्छिन्, ‘उहाँले त्यसो नगरेको भए म आज यहाँसम्म आइपुग्ने थिइनँ। अहिले म धेरै खुसी छु। आज म जहाँ छु, त्यसको सबै जश आमालाई नै जान्छ।’

‘भ्वाइस अफ’ नेपालको यात्रा
२०७४ सालसम्म बर्ताको जीवन सामान्य ढंगले चलिरहेको थियो। चिन्नेहरु उनलाई सारङ्गी शिक्षिका र कुशल सारङ्गी वाद्यकका रुपमा चिन्थे।

२०७५ को कात्तिक महिना बर्ताका लागि बहार बनेर आयो। बर्ताले रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ मा प्रस्तुति दिने अवसर पाइन्। त्यसैबाट बर्ताको लुकेको कला धेरैमाझ पुग्यो।

देश तथा विदेशमा उनले बजाएको सारङ्गीको धुन र मीठो स्वर मन पराउनेहरु दिन प्रतिदिन बढ्दै गए। उनी लाखौँमाझ चिनिन पुगिन्। बर्तालाई फेसबुकमा म्यासेज र मोबाइलमा फोनको ओइरो लाग्न थाल्यो।

‘भ्वाइस अफ नेपाल’ को ‘टप २४’ बाट बाहिरिए पनि उनलाई गीत गाउनका लागि थुप्रै प्रस्तावहरु आउन थाले।

भिडियो:

त्यसयता उनले ५ महिनाको अवधिमा ५ गीत गाइसकेकी छन्।

‘भ्वाइस अफ नेपालमा मेरो प्रस्तुति हेरेपछि धेरै दर्शकको माया पाएँ’ बर्ता भन्छिन्, ‘त्यहाँबाट मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति नै यही हो।’

बर्ता ‘भ्वाइस अफ नेपाल’ मा जसरी चर्चामा आइन्, त्यसरी नै रातारात उनको जीवनशैली भने फेरिएको छैन।

उनी सामान्य रुपमा आफ्नो जीवन निर्वाह गरिरहेकी छन । उनीसँग आफ्नै साधन छैन। सार्वजनिक यातायातमा हिँड्छिन्। दैनिक कीर्तिपुरको माइक्रो चढेर रत्नपार्कमा ओर्लन्छिन् र त्यहाँबाट हिँडेरै ठमेल (कार्यालय) पुग्छिन्।

गाडी वा बाटोमा देख्नेहरु उनीसँग सेल्फी खिच्न आउँछन्। यसलाई स्रोताको माया सम्झन्छिन्। उनलाई ‘म सेलिब्रेटी हुँ’ भन्ने घमण्ड पनि छैन।

‘धेरै पैसा कमाउन त सकिन होला तर, आफ्नो कर्मबाट प्राप्त हुने खुसी, आनन्द, सन्तुष्टि जे–जे हो, मैले सबै प्राप्त गरेकी छु’ बर्ता भन्छिन्।

कर्मको फल
भनिन्छ नि, कर्मको फल मीठो हुन्छ!

आज बर्ताले आफ्नै मेहनत र संघर्षपछि त्यही कर्मको फल चाखिरहेकी छन्। अर्थात्, उनी काठमाडौँको कीर्तिपुरमा घर ठडाउन सफल भएकी छन्।

विदेशमा संगीत सिकाउन जाँदा प्राप्त गरेको रकमबाट बर्ताले आनाको ४ लाखको दरले साढे ३ आना जग्गा किनेकी थिइन्।

सोही जग्गामा ७ लाख खर्चिएर घर निर्माण गरिन्। यसका लागि उनका श्रीमान्ले पनि सहयोग गरे। सुरुमा केही ऋण लिएर घर बनाएपनि अहिले भने उनले ऋण तिरिसकेकी छन्।

‘काठमाडौँमा यसलाई घर भन्दा पनि टहरा भन्दोरहेछन्’ बर्ता मुस्कुराउँछिन्, ‘तर मेरो लागि त यो घर नै हो।’

जस्ताले छाएको ३ कोठे घर उनका लागि घरमात्र पनि होइन, महल नै हो; आफ्नै परिश्रमले खडा गरेको महल।

र, त्यही महलभित्र सजिएको छ, आमाले बर्ता ८ वर्षकी हुँदा हातमा थमाइदिएको त्यही सारङ्गी!

प्रकाशित १३ चैत २०७५, बुधबार | 2019-03-27 15:49:03
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...