कथा

सुन्तला मिठाई



Kshamadevi Group


साँच्चै उसको दाँत किराले खानुको कारण मिठाई नै थियो त? या आमाले मलाई गुलियो धेरै खायो भने दाँत किराले खान्छ भनेर डर देखाउनका लागि त्यसो भन्नुभएको हो? यसको जवाफ मसँग थिएन। जे होस्, दाँत किराले खान्छ भन्ने डरले मैले मिठाई खान छाडिनँ। र, उसको जस्तो मेरो दाँत किराले पनि कहिल्यै खाएन।

ऊ मेरो छिमेकी थियो। हामी मिल्ने साथी थियौँ। सँगै पढ्ने, सँगै खेल्ने। उसको नाम– खुमप्रसाद। म उसलाई प्रायः खुमे भनेर बोलाउँथेँ । मेरो नाम श्यामप्रसाद भए पनि ऊ मलाई श्यामे नै भन्थ्यो।

गुच्चा खेल्दा होस् या होमवर्क गर्दा कहिल्यै छुट्टिएनौँ हामी। कहिलेकाहीँ कुरा नमिल्दा भकुराभकुर पनि ग¥थ्यौ तर मनमा रिस, राग भने दुवैले राखेनौँ। झगडाको दिन ठुस्कन्थ्यौँ र अर्को दिन बोलिहाल्थ्यौँ। सायद त्यो उमेर नै त्यस्तै थियो। त्यसैले त सधैँ प्यारो लाग्छ मलाई मेरो बाल्यकाल। अनि खुमेसँग जोडिएका ती मीठा पलहरु।

उसका दुवैतिरका चार–चार वटा दाँत किराले खाएका थिए। सबैले त्यसको दोष मिठाईलाई दिन्थे। तर, उसले मिठाई खान कहिल्यै छाडेन। ५ वर्षको उमेरमा उसलाई दाँतभन्दा मिठाई नै प्यारो लाग्यो। ऊ मिठाईप्रति उसको अद्भूत खालको मोह थियोर एकदिन स्कुलमा भएको गायन प्रतियोगितामा सान्तवना भएर पाएको कापी बेचेर मिठाई किनेर खाएको थियो।

मिठाईका लागि उसले आमाको सुर्के थैलोदेखि बाबुको पाइन्टको गोजीसम्ममा आफ्नो हात छिराएको छ। र, पैसा झिकेबापत कयौँपटक भेटेको छ, रामधुलाई।

एकदिन उसले निन्याउरो मुख लगाउँदै भनेको थियो, ‘यार, मलाई एक रुप्पे सापट दे’न कस्तो मिठाई खान मन लागेको छ।’ उसलाई त्यति निराश मैले कहिल्यै देखेको थिइनँ। त्यसैले पनि होला मेरो मन पग्लियो र आमाको थैलीबाट एक रुपैयाँ चोरेर उसलाई दिएँ। दुवै सँगै पसल गयौँ। उसले सुन्तला मिठाई किन्यो। दुई वटा मलाई दियो र दुई वटा आफूले खायो।

मलाई सुन्तलाभन्दा ल्याक्टो मिठाई मन पथ्र्यो। तर, सुन्तला मिठाई एक रुपैयाँको चार वटा आउँथ्यो भने ल्याक्टो दुई वटामात्र। त्यसैले ऊ धेरै आउने मिठाई किन्थ्यो। कहिलेकाहीँ सँगै पसल गएका बेला म ल्याक्टो मिठाई किन्थेँ भने ऊ सुन्तला। उसले आफ्नो मिठाई देखाउँदै भन्थ्यो, ‘मेरो चार वटा, तेरो जम्मा दुईटा।’

उसको यस्तो कुराले मेरो मन खिन्न हुन्थ्यो। बेकारमा ल्याक्टो मिठाई किनेझैँ लाग्थ्यो। सायद मेरो भाव बुझेर हुनुपर्छ उसले आफ्नो हातमा दुई वटा सुन्तला मिठाई राखेर हात मतिर बढाउँदै भन्थ्यो, ‘ले साटम। तैँले एउटा दे, म दुईटा दिन्छु।’ त्यसपछि दुवैको हातमा तीन–तीन वटा मिठाई हुन्थे। हामी दौड्दै घरतिर लाग्थ्यौँ।

खासमा मैले ल्याक्टो मिठाई किन्नुको अर्को पनि कारण थियो। त्यसको खोल तन्काएर एक हातको बनाए अर्को मीठाई पाइन्छ भन्थे साहुजी। त्यसकै लोभमा म ल्याक्टो किन्थेँ र खुब तन्काउँथँे। कहिलेकाहीँ एक हातको हुन्थ्यो पनि। तर, साहूजी कहिले बीचबाट दूलो परेको छ भएन भन्थे त कहिले यता च्यातियो त कहिले उता।

अथक प्रयासपछि एकदिन भने राम्रैसँग एक हात लामो तन्कियो, ल्याक्टो मिठाईको खोल। म दौड्दै पसलमा गएँ। साहुजीलाई देखाएँ। उनले सुन्तला मिठाई दिँदै भने, ‘ल्याक्टो पाउँला भन्या थिस् होला, पाको पाई हो त्यो त।’ त्यसपछि मैले कहिल्यै किनिन ल्याक्टो। साहुजीसँग रिस फेर्न त्यसदिन राति सुटुक्क गएर खुमे र मैले उनको पसलको सटरमा पिसाब फेरिदिएका थियौँ। कसैले देख्यो कि भन्ने डरले त्यो रातभर निद्रै लागेन।

उसले मिठाई किनेका बेला एउटा जहिल्यै बचाएर राख्थ्यो। मसँग भेट भएपछि गोजीबाट निकाल्थ्यो, मुखले टोक्थ्यो र भन्थ्यो, ‘ल आधा–आधा खाम।’ म पनि त्यसै गर्थेँ। हाम्रो मित्रता अजीवको थियो। हो, मेरा लागि प्राणभन्दा प्यारो थियो, खुमे। सायद, उसका लागि म पनि।

कसलाई के थाहा थियो र हाम्रो मित्रता मेरै गल्तीले टुट्छ भन्ने। एकदिन स्कुलमा टिफिन टाइम भएको थियो। मैले नजिकैको पसलमा गएर सुन्तला मिठाई किनेर ल्याएँ। ऊ स्कुलको कम्पाउन्डमा खेल्दै थियो। त्यसैले सदाझैँ एउटा मिठाई गोजीमा राखेको थिएँ। उसँग बाँडेर खानका लागि।

टिफिन टाईम सकियो। ऊ क्लासमा छिर्यो । मैले गोजीबाट मिठाई निकालेँ। मुखमा हालेँ। टोकेँ। बाहिर निकालेँ। आधा मिठाई उसलाई दिनै के आँटेको थिएँ सम्झनाले हात अघि बढाइ। ऊ मलाई राम्री लाग्थी। म प्रायः लुकिलुकी हेर्थे उसलाई। त्यसदिन क्लासबाहिर नजानुको कारण पनि उही थिई। त्यसैले पनि उसले मिठाई माग्नु अनि मैले नदिनु सम्भव थिएन। मैले केही सोच्दै नसोची आधा मिठाई उसको हातमा राखिदिएँ र अर्को आधा आफ्नो मुखमा हालेँ। खुमे जिल्लियो। उसको मुख रातोपिरो भयो। आँखाबाट आँसु नै झार्यो। केही नबोली किताब–कापी बोकेर क्लासबाट निस्कियो र सरासर घरतिर लाग्यो।

त्यसदिन ऊ घरबाट बाहिरै निस्किएन। उसको घरमा जाँदा उसकी आमाले, ‘खुमे त ज्वरो आएर सुतिरहेको छ’ भन्नुभयो। ऊ त्यसैगरी दुई दिनसम्म सुतिरह्यो। तेस्रो दिन निको भएछ। मलाई नपर्खी स्कुल गयो। मसँगै बेन्चमा पनि बसेन। मैले बोलाउँदा पनि बोलेन। अर्कैसँग खेल्न थाल्यो। मलाई भने नरमाइलो लाग्यो। ऊ मसँग रिसाएको थियो। मैले फकाउँन खोजेँ। उसको अगाडि कान समातेँ, उठबस गरे तर उसले सबै बेवास्ता गरिदियो।

यसैगरी एक हप्ता बित्यो। कक्षा दुईको अन्तिम परीक्षा आयो र सकियो। त्यै पनि ऊ बोलेन। अर्को हप्ता त उनीहरु बसाई सरेर सहर गए। उसले त्यतिबेला पनि मसँग बिदाईका हात हल्लाउन आवश्यक ठानेन। सायद मेरो त्यस्तो व्यवहारले उसलाई निकै पीर परेछ। उसको मनमा म नमिठो गरी बसेछु।

उसले छाडेर गएपछि म एक्लो भएँ। सबै उजाड लाग्न थाल्यो। घरिघरि उसकै यादले सताउन थाल्यो। कहिलेकाहीँ त सपनामा समेत आउथ्यो ऊ। भन्थ्यो, ‘कट्टी, म तँसँग कहिल्यै बोल्दिन।’

खासमा गल्ती मेरै थियो। अहिले सोच्छु, ‘सम्झनालाई दिएर बचेको त्यो आधा मिठाई मैले नखाएर उसलाई दिएको भए...।’

प्रकाशित ९ चैत २०७५, शनिबार | 2019-03-23 11:12:27
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...