त्यो समय

त्यसपछि ‘वागमती बा’ ले गरे ‘वागमतीमा आफ्नो सदगद नगर्नू’ भन्ने कागजमा हस्ताक्षर




हुतराम बैद्य
हुतराम बैद्य
तस्वीरहरु: रमण घिमिरे

त्यतिखेर ज्ञानेन्द्रले राज्यसत्ता आफ्नो हातमा लिएका थिए। राजा ज्ञानेन्द्रको चकचकी चलेको समय थियो त्यो। उनी जनताका चाहना बुझ्ने बहानामा देशव्यापी भ्रमणमा निस्किन्थे। दाजु वीरेन्द्रको वंशनाशपछि राजा भएका उनी ‘जनताको दुःखकष्ट र उनीहरूका चाहना बुझ्ने’ बहानामा मेची–महाकाली चाहार्थे। कुनै पनि मठमन्दिर नछुटाई पूजा गर्थे। अनि, आफ्नो ‘दर्शन’ का लागि लामवद्ध जनतासँग ‘के छ ?’

कसैले ‘ठीक छ सरकार !’ भन्थे, कसैले ‘मलाई यस्तो समस्या छ सरकार!’ भन्थे।

तर जनताले जे भने पनि उनको एउटै आश्वासन हुन्थ्यो, ‘ठीक छ, बुझेँ, राम्रो।’

तत्कालीन राजा ज्ञानेन्द्रका यस्ता क्रियाकलापमाथि टिप्पणी गर्दै हुतराम वैद्यले भनेका थिए, ‘तपाईंहरूले यस राजाले राम्रो काम गरेको छ भनेर नसोच्नू होला। उनी खालि देश भ्रमण गर्छन्, जनताका हातबाट फूलका गुच्छा थाप्छन्, गलामा फूलका माला लगाउँछन् र जनतालाई ‘मैले बुझेँ, ठीक छ’ मात्र भनिरहेछन्।’

उनी राजा ज्ञानेन्द्रको त्यो क्रूर शासनकालमा समेत सार्वजनिकरूपमा उनको विरोध गर्ने सामथ्र्य राख्थे।

तर उनको घरभित्र राजनीतिक कुरा गर्न चाहिँ बर्जित थियो।

हुतराम वैद्य जति निर्भिक र स्पष्ट वक्ता थिए, त्यति नै मेहनती अनि नयाँ काम गर्न सधैँ अघि सर्ने व्यक्ति थिए। उनी सरल जीवन उच्च विचारका हिमायती पनि थिए।

उनका पिता रत्नदास वैद्य नेपालका पहिलो चिकित्सक थिए। शिक्षित परिवारमा जन्मेकाले पढ्नुपर्छ भन्ने प्रेरणा उनले परिवारबाटै पाए। दरबार हाइस्कुलबाट प्रवेशिका गरी त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर अध्ययन गरे। त्यसपछि उनले भारतको इलाहावाद एग्रिकल्चर इन्स्टिच्युटबाट कृषिमा इन्जिनियरिङ गरे।

हुन त त्यस समय यो विषय प्रायः कुनै पनि विद्यार्थीको रोजाइमा पर्दैनथ्यो। इलेक्ट्रिक, मेकानिकल, सिभिल जस्ता विषयहरूलाई नै त्यस बेला प्राथमिकता दिइन्थ्यो। तर, हुतराम जब इलाहाबाद पुगे, त्यहाँ कृषि विषयमा पनि इन्जिनिरिङ्को अध्ययन हुने रहेछ भन्ने थाहा पाए, अनि उनी कृषि विषयमै इन्जिनियरिङ् गर्ने निर्णयमा पुगे।

खासमा ‘नेपाल कृषि प्रधान देश हो’ भन्ने धारणाका कारण उनले यो विषय छनोट गरेका थिए। हुनपनि त्यस बेला ९० प्रतिशत जनता कृषिमा आधारित थिए। त्यसैले कृषि विषयमै अध्ययन गरेर देशका कृषकलाई सहयोग पु¥याउन सकिन्छ भन्ने उनले सोचे। यही अवधारणाको जगमा टेकेर उनले २००७ सालमा इलाहावाद विश्वविद्यमलयबाट कृषिमा इन्जिनिरिङ् गरे।

यसरी आफ्ना पिता देशको पहिलो चिकित्सक भएजस्तै उनी देशको पहिलो कृषि वैज्ञानिक भएर नेपाल फर्के। र, १४ वर्ष कृषि विभागमा काम गरे, त्यसक्रममा रामेछाप, सिन्धुली जस्ता विकट जिल्लाका गह्रागह्रामा पुगे। र, स्थानीय स्तरमा कृषिलाई खेतीपातीको व्यवहारिक प्रविधि सिकाउँदै हिँड्न थाले।

बैद्य आफूले हासिल गरेको ज्ञान कार्यालयको कुर्सीमा बसेर आफू मातहतका कर्मचारीलाई अह्राए–खटाएको भरमा सम्बन्धित क्षेत्रको विकास हुन सक्तैन भन्ने सोचाइ राख्थे। कृषकहरूमाझ नै गएर आफूले आर्जन गरेको प्रविधि बाँड्नु पर्छ भन्ने उनको धारणा थियो। र, यो धारणलाई उनले व्यावहारिक रुपमा मूर्तरुप पनि दिइरहेका थिए।

उनलाई विद्यावारिधि गरेका विद्वान्ले लेखेका पुस्तकमा पटक्कै रुचि थिएन। उनी भन्थे, ‘विद्वान्का किताबमा कोरा सिद्धान्तहरू मात्र लेखिएका हुन्छन्। बरू कोही किसानले पुस्तक लेखेको छ भने त्यो महत्वपूर्ण हुन्छ, म त्यसलाई अध्ययन गर्छु।’

तर विडम्बना! उनलाई यसो गर्न दिइएन। पञ्चायती व्यवस्थाको उदयकालमा जनताका घरघरमा पुगेर आफ्नो ज्ञान र सीप बाँड्ने कुनै पनि व्यक्तिलाई राजनीति गरेको आरोप लगाइन्थ्यो र जागिरबाटै निकालिन्थ्यो। २०१७ सालमा उनलाई पनि यसरी नै निकालियो। त्यसपछिका १० वर्ष उनको जीवन आर्थिक सङ्कटग्रस्त भएर बित्यो। उनी भन्थे, ‘त्यस बेला मलाई परिवार पाल्न नै धौधौ भयो, दुई छाकको गर्जो टार्न पनि बढो मुस्किल हुनथाल्यो’ एउटा बसाइमा उनले मसँग भनेका थिए, ‘श्रीमतीले पनि ‘तपाईं यसरी केही काम नै नगरी बसेर कसरी परिवार चल्छ?’ भनेर करकर गर्न थालिन्।’

यस्तो हुनु स्वभाविक पनि थियो। घर–परिवारको आर्थिक जोहो गर्ने जिम्मेवारी त उनकै थियो। तर कहीँ कतैबाट आम्दानी नहुँदा उनी बढो निरास भएको थिए।

तर एक दिन अचम्म भयो। कसरी अचम्म भयो, त्यसबारेको कथापनि उनले मलाई सुनाएका थिए।

बैद्यसँग लेखक

बैद्यसँग लेखक

उनीहरूको परिवार छुट्टिसकेको थियो। भुइँतलामै भान्छा कोठा थियो। बिहानीपख थियो, लोग्ने–स्वास्नी मस्त निन्द्रामा थिए। श्रीमती एकैचोटि ठूल्ठूलो स्वरमा चिच्याउँदै ‘मलाई सपनामा नागले भान्छाकोठामा लखेट्यो’ भन्दै ब्यूँझिइन्।

हुतरामपनि सपनामै थिए। तरसपनामा उनी त्यही भान्छाकोठामा भात खाइरहेका थिए र सपनामै उनका अगाडि नाग नाचिरहेको थियो।

कस्तो अचम्म, सपनामा श्रीमतीलाई नागले लखेट्ने, उनलाई चाहिँ घरको मूली भनेर नागले नाच देखाउने! वैज्ञानिक मानिस, विश्वास र अन्धविश्वासको द्विविधामा परे बैद्य।

हुन त एकजना गुभाजूले पहिले पनि ‘यहाँ नाग छ, तिमीहरूले यस ठाउँलाई सधै सफा र चोखो राख्नु, भात नपकाउनु, नत्र भात पकाउने मानिसलाई पिर्छ’ भनेका थिए। तर, त्यति बेला वैज्ञानिक मनले यो कुरा पत्याउनै मानेको थिएन।

तर एकै दिन दुबैले भिन्नाभिन्नै सपनामा एउटै नागका दुई रूप देखेका थिए, त्यसैले उनलाई पनि विश्वास भयो। यसमा केही रहस्य त पक्कै छ भन्ने उनलाई लाग्यो। त्यसपछि उनको सोचाइ पूरै परिवर्तित भयो। उनले उठ्नेबित्तिकै त्यो चुल्हो भत्काइदिए। आमाले कराउँदै थिइन्, उनलाई पनि गुभाजूको तर्क सुनाएर सम्झाए।

‘हाम्रो संस्कारमा चुल्हो सार्दा घरकी जेठी स्वास्नीमान्छेको सहमती दिनुपर्छ, मैले आमाको सहमति लिएर चुल्हो सारेँ’ त्यस दिन यस लेखकसँग उनले भनेका थिए, ‘तर पनि कतैबाट सुकोदाम आम्दानी भएन।’

त्यसपछि उनले पाटनको एकजना परिचित मानिसलाई नागको मूर्ति बनाउन लगाए र भत्काएको त्यही भान्छाकोठामा राखेर त्यसको पूजा गर्न थाले।

‘अचम्म के भयो भने त्यसको भोलिपल्टै मेरो ढोकाको घन्टी बज्यो’ उनले भनेका थिए, ‘मैले ढोका खोल्दा एकजना अपरिचित उभिरहेका रहेछन्। मैले तिनलाई भित्र बोलाएँ र आउनुको कारण सोधेँ। उनले कुनै बैँकबाट ऋण लिन खोजेका रहेछन्। तर यसका लागि कुनै कृषि विशेषज्ञको सिफारिस मागेको रहेछ। खासमा उनी मेरो सिफारिस लिन आएका रहेछन्।’

उनले तत्काल सिफारिस बनाइदिए। त्यसबापत ती व्यक्तिले अलिकति पारिश्रमिक दिए। त्यसपछि एकपछि अर्काे गर्दै सिफारिस लिनेहरूको लर्को लाग्न थाल्यो उनको घरमा। त्यसपछि उनी झल्याँस्स भए, यो त नागदेवताकै प्रताप हो। अब उनले प्रत्येक दिन बिहानै नागदेवताको पूजा गर्न थाले। उनी आध्यात्मिक हुन पुगे।

केही दिनपछि एकजना परिचित उनको घरमा आए। तिनले भने, ‘युएसएडमा तपाईंलाई हुने एउटा दरबन्दी खाली रहेछ। मैले तपाईंको नाम सिफारिस गरेको छु। भोलि नै नियुक्तिपत्र आउँछ। जागिर खानु होला।’

संयोगै–संयोगबीच अर्का एक ज्योतिषी उनको समिपमा पुगे। ‘डुब्न लागेको मान्छेलाई परालको सहारा’ भनेझैँ त्यो ज्योतिषसँग हुतरामले आफ्नो चिना देखाए। ज्योतिषले धेरै बेरसम्म पाटीमा हिसाब कोरे, त्यसपछि भने, ‘तपाईंलाई भ्रामरी, साढे सात र शनि तीनवटा दशाले छोपेको रहेछ। तर यी दशाहरू भर्खरै सकिए। सानातिना एक–दुइ वटा दशा त अझै पनि छन्। तर तपाईंको पृष्ठभूमिमा वृहस्पति बसेकाले अब कुनै हानी हुने देखिँदैन।’

अर्को अचम्म, हिजो मात्र युएसएडमा जागिरको कुरा भएको, आज ज्योतिषीले भन्छ, ‘अब तपाईंका सबै ग्रहदशा कटिए, तपाईंलाई राम्रो हुन्छ।’

नभन्दै उनी युएसएडमा जागिरे भए। पञ्चायती व्यवस्थाले उनको जागिर खोसिदिएको थियो। त्यसैले, जागिर दिने बेला उनीसँग शर्त राखियो, ‘सिँहदरबारभित्र कहिल्यै नजानु होला।’

०००
सरकारी सेवामा हुँदा एकसमय उनी वीरगञ्जमा कार्यरत थिए। त्यहाँ उनी मातहत एकजना मधेशी पशुचिकित्सक काम गथ्र्र्यो। ऊ पशुसम्बन्धी ‘विकासे कार्यकर्ता’ भएर आएको थियो। भारतीय परिवेशमा हुर्के–बढेको थियो ऊ। त्यसैले उ राम्रो नेपाली बोल्न सक्दैनथ्यो, अरुले बोलेको चाहिँ बुझ्थ्यो। माथिल्लो तहको हाकिमले बोलाउँदा तनक्क तन्केर सुरक्षाकर्मीले जस्तै ‘एस सर’ भन्ने उसको स्वभाव थियो। हाकिम आउँदा–जाँदा पनि जुरुक्क उठ्थ्यो। हुतराम उसकै अघिल्तिरबाट आफ्नो कार्यकक्ष जान्थे। त्यो विचरा हुतराम आउँदा–जाँदा दिनहुँ उठेर तनक्क तन्किन्थ्यो। हुतरामले उसलाई ‘यस्तो गर्नु पर्दैन’ भने। ‘हामीकहाँ यस्तो चलन छैन, तिम्रो कत्र्तव्य, तिम्रो जिम्माको काम मात्र गर्ने हो भन्थेँ’ उनले भनेका थिए, ‘म उसलाई तिमीले आफ्नो काम इमानदारपूर्वक गर्दिएपुग्छ, यसरी चाकरी गर्नुपर्दैन, नचाहिँदो अदब पनि गर्नुपर्दैन, सरकारले तिमीलाई आफ्नो योग्यतामाफिकको काम गर्न लगाएको हो।’

धेरैचोटि हुतरामले उनलाई यसै भनेर सम्झाइरहे। तर लागेको बानी कहाँ छुट्छ र? उसले मान्दै मानेन।

‘अनि एक दिन त मलाई एकदमै रिस उठ्यो र उसलाई बोलाएँ, कोठा थुन्न लगाएँ र साफ हकारेँ’ उनले यो प्रसङ्ग जोड्दै भनेका थिए, ‘आइन्दा फेरि पनि तिमीले यसै गरिरह्यौ भने म तिमीलाई सरुवा गरिदिन्छु।’ उसले फेरि पनि तनक्क तन्किँदै मागी माग्यो र भन्योे, ‘अबदेखि कहिल्यै यस्तो गर्ने छैन, मेरो सरुवा नगरिदिनूस्।’

नभन्दै त्यसपछि उसले यस्तो ‘अदब’ प्रदर्शनी कहिल्यै गरेन।

हुतराम भन्थे, ‘मैले जीवनमा कसैको चाकरी पनि गरिनँ र कसैलाई चाकरी पनि गराइनँ।’ त्यसपछि त्यो व्यक्ति हुतरामसँग सबैभन्दा निकट भए।

ऊ त्यहीँको अस्पतालमा परिवारसहित बस्थ्यो। बेलुका उनीहरू सँगै घुम्न जान्थे। उनीहरूको सम्बन्ध त्यसपछि यति प्रगाढ भयो कि, जीवनको अन्तिम समयसम्म उनी त्यो व्यक्तिलाई सम्झिरहन्थे।

हुतरामले १० बर्ष काम गरेर त्यो जागिर छोडे। उनको ठाउँमा जानकीप्रसाद प्रधान भन्ने व्यक्ति निर्देशक भएर गए।

एक दिनको कुरा हो, उनी घर (त्रिपुरेश्वर) मै बसिरहेका थिए। कसैले उनको ढोका ढकढक्यायो। उनले ढोका खोल्नुअघि नै एउटा मान्छे ढोका खोलेर भित्र पस्यो। त्यो त्यही पशुचिकित्सक थियो। त्यसले हातमा एउटा फाइल बोकेर ल्याएको थियो। त्यसले आफ्नो हातमा रहेको त्यो फाइल उनी सुत्ने ओछ्यानमा फ्यात्त फ्यालिदियो। छेउको कुर्सीमा पल्टियो र ‘खुइय’ सुस्केरा हाल्यो। हुतरामले ‘के भएछ यसलाई’ भन्ने सोचे।

हुतरामकी श्रीमतीले ‘यो कस्तो मधेशी रहेछ, सोमहत नै नभएको’ भनेर नेवारीमा गाली पनि गरिन्। ऊ नेवारी बुझ्दैनथ्यो, त्यसैले उसलाई हुतरामकी श्रीमतीको गालीले कुनै असर गरेन।

त्यो व्यक्ति अलिक शान्त भएपछि हुतरामले सोधे, ‘के भयो तिमीलाई? किन यस्तो गरेको?’

उसले भन्यो, ‘सर मलाई आज हाकिमले गधा भन्यो।’

‘कसले तिमीलाई गधा भन्यो ?’

‘अरु कसले भन्छ र?’ उसले भन्यो, ‘मेरो डाइरेक्टरले भन्यो मलाई गधा।’

हुतरामले सम्झाए, ‘तिमीलाई नै गधा भनेको नहुन पनि त सक्छ!’

‘डाइरेक्टरले त्यहाँ जति कुरा गरे, खालि ममाथि नै केन्द्रित थिए’ उसको जवाफ थियो, ‘त्यसैले, गधा मलाई नै भनेको हो।’

त्यहाँ कार्यरत छँदा हुतरामले के नियम बसाएका थिए भने, उनी कार्यालयको कुर्सीमा बसेका बेला मात्र हाकिम हुन्, त्यति बेला मात्र मातहतका कर्मचारीले उनले भनेको कुरा मान्नु पर्छ। कार्यालयबाट बाहिर निस्किसकेपछि सबै समान हुन्छौँ। हाकिम र कारिन्दाबीच कुनै भेदभाव हुँदैन। कार्यालय बाहिर मलाई ‘सर’ पनि भन्नु पर्दैन। कार्यालयबाहिर म यो ‘सर’ शब्दलाई घृणा गर्छु।

हुतरामले छोडेर गएपछि त उसले ‘सर’ भन्न नै बिर्सिएछ। त्यसैले नयाँ आउने हाकिम ऊमाथि खनिएका रहेछन्।

०००
युएसएआइडीमा १० वर्ष काम गरेर विदाई हुनुभन्दा २ बर्ष अघिको कुरा हो, एउटा घटनाका कारण भावी जीवनमा कसरी क्रियाशील हुने भन्ने सोचाई उनमा आउन थाल्यो।

त्यही बेला अमेरिकी ‘पिसकोर’ कार्यक्रम उनले सञ्चालन गर्नुपर्ने भयो। उनले काम थाले। पिसकोरका स्वयंसेवक हरूले एक दिन उनीसँग भने, ‘नेपाली हिन्दूवाद र भारतीय हिन्दूवादमा अन्तर रहेछ। हामीलाई यसबारे जानकारी चाहियो।’

हुतरामले तिनीहरूलाई कवि धरणीधर कोइरालाकहाँ पु¥याए, दार्जिलिङमा। अमेरिकीहरू त धरणीधरको व्यक्तित्व देख्नासाथै झस्किए। लामालामा दाह्री पालेका मानिस। उनीहरूले यस्ता लामा दाह्री र कपाल पालेका हिप्पीहरू मात्र देखेका थिए, साधुसन्तजस्तै लाग्ने यस्ता मानिस देखेका थिएनन्। धरणीधरका अगाडि उनीहरूको वाक्य नै फुटेन।

धरणीधर कोइराला प्रिन्सिपल रहेको फर्पिङस्थित त्रिभुवन आदर्श माविमा समय शिक्षकका रुपमा कार्यरत रहेका पिसकोर स्वयंसेवी जेम्स फिसर, बिसं २०२५-२५ ताका

धरणीधर कोइराला प्रिन्सिपल रहेको फर्पिङस्थित त्रिभुवन आदर्श माविमा समय शिक्षकका रुपमा कार्यरत रहेका पिसकोर स्वयंसेवी जेम्स फिसर, बिसं २०२५-२५ ताका

हुतरामले तिनीहरूसँग भने, ‘सोध! तिमीहरूले बुझ्न र जान्न चाहेको कुरामा उहाँले सहयोग गर्न सक्नुहुन्छ!’

तिनीहरू पाँच मिनेटसम्म एकोहोरो टोलाएर धरणीधरको अनुहार मात्र हेरिरहे। बल्ल एउटाले त्यही दाह्रीलाई विचारेर सोध्यो, ‘तपाईंको उमेर कति?’

धरणीधरले अंग्रेजीमा उत्तर दिए, ‘७० वर्ष।’

फेरि उस्तै लामो मौनता। ‘भनेँ नि, धरणीधरको व्यक्तित्वबाट उनीहरू यति हच्किएका थिए कि के सोध्ने भन्ने नै आँट गर्न सकेनन्’ हुतरामले त्यो अवस्थाको वर्णन गरेका थिए, ‘धेरै बेरपछि बल्ल अर्कोले सोध्यो, ‘तपाईं अहिले के गर्दै हुनहुन्छ?’

हुतरामका भनाईमा, त्यसपछि कोइरालाले आफ्नै शैलीमा जवाफ दिए, ‘म विद्यालयमा पढाउँछु र त्यसैबाट जीविका चलाउँदै आएको छु। कविताका किताबहरू लेख्छु, राजनीतिमा म त्यति संलग्न छैन, म समाज सेवा गर्छु।’

कोइरालाले त्यसपछि आफूले गर्ने सामाजिक सेवा के हो भन्ने कुराको व्याख्या गर्दै हिन्दूवाद के हो? नेपाली र भारतीय हिन्दूवाद के हो? क्रिस्चियनवाद के हो? भन्ने बारेमा विस्तारमा व्याख्या गरिदिए।

करिब दुई घण्टा यिनै विषयमाथि एक किसिमले प्रवचन नै दिएपछि कोइरालाले भनेका थिए, ‘म आफ्नै पुनर्जन्मका लागि बाटो खन्दैछु।’

‘म पुनर्जन्मका लागि बाटो खन्दैछु’ भन्दा म झस्किएँ’ हुतरामले सुनाएका थिए, ‘किनभने म पनि पचास काटेर दुई वर्षपछि साठी लाग्न लाग्दै थिएँ। त्यसपछि अब के गर्ने भन्ने कुरा सोच्दै थिएँ। समाजसेवाका बारेमा त मैले सोचेकै थिइनँ। म त सरकारको नोकर हुन मात्र खोजिरहेको थिएँ। उहाँको पुनर्जन्मको कुराले मेरो मनमा छोयो। अनि मैले त्यसपछिको जीवन बाँच्ने बाटो पाएँ।’

धरणीधरको प्रभाव उनीमाथि यति गहिरोसँग प¥यो कि उताबाट फर्केपछि युएसएआइडीको कार्यालयमा गएर उनले भने, ‘अबको दुई वर्षपछि म काम गर्दिनँ। मेरो ठाउँमा अर्को मानिस खोज्नुस्। बरू म त्यो व्यक्तिलाई आफूले गरेका सारा कामबारे सम्झाउने छु। ६० वर्षे अवकासको कागजात बनाइदिनुस्। यी १० वर्षमा मेरो रगतमा यति धेरै पिसकोर पसिसकेको छ, म त्यसलाई निर्मल बनाएर सफा गर्न चाहन्छु।’

त्यसपछि नै हो, उनी ‘वागमती बचाऊ’ अभियानमा लागेको पनि। खासमा कवि धरणीधर कोइरालाको ‘म आफ्नै पुनर्जन्मका लागि बाटो खन्दैछु’ भन्ने कुराबाट प्रभावित भएर आफ्नो पनि पुनर्जन्म सार्थक पार्न उनले यो अभियानको सुरुवात गरेका थिए।

त्रिपुरेश्वरमा जन्मे–हुर्केका हुतराम कुनै बेला वागमतीमा पौडी खेल्थे। किशोरवयसम्म पनि वागमती सफा थियो, सङ्लो थियो। त्यस्तो सङ्लो र स्वच्छ वागमती जनसंख्या बृद्धि र वातावरणप्रतिको बेवास्ताका कारण फोहोर र हिलोले छोपिन थालेको थियो। वागमतीको यस्तो हालतले उनको संवेदनशील मनलाई घाइते बनाउँदै थियो।

फोहोर वागमती किनारामा बैद्य

फोहोर वागमती किनारामा बैद्य

त्यसैले, धरणीधर कोइरालासँगको त्यो भेटपछिका झन्डै २५ वर्ष वागमतीको सफाइ अभियानमा लागे।

‘वागमती बचाऊ’ अभियानका एक अभियानकर्ता भैरव रिसालले ‘हिमाल’ खबर पत्रिकामा उल्लेख गरेअनुसार यस अभियानका एउटा प्रवाह नै आयो। यसका मियो थिए, यिनै नेपालको पहिलो कृषि इञ्जिनियर हुतराम वैद्य, जो त्रिपुरेश्वरका रैथाने थिए। उनको अभियानपछि वागमतीको फोहोर हालतले राष्ट्रिय जीवनका विभिन्न फाँटका मान्छेलाई मात्र घोचेन, राष्ट्रिय व्यक्तित्वहरूलाई पनि नराम्ररी ‘एलर्जी’ बनायो।

त्यही कारण थापाथलीको वागमती पुलमुनि ६६ जना जम्मा भई एक ‘इच्छापत्र’ मा हस्ताक्षर गरियो। २०५४ मा हस्ताक्षरित इच्छापत्र यस्तो थियो, ‘सङ्लो र पवित्र पानी बग्ने वागमती नदी काठमाडौँवासीको उदासिनता र जिम्मेवार पक्षहरूको अकर्मण्यताले गर्दा मलमूत्र बग्ने ढलमा परिणत भएकाले यस्तो स्थिति रहेसम्म, हाम्रो मृत्यु भएमा हामी तपसिलका व्यक्तिहरूको सद्गत वागमतीमा नगर्नू। सफा पानी बग्ने उपत्यका नजिकको अरू कुनै नदीछेउमा गरियोस् भन्ने चाहन्छौँ। यसैले, यस इच्छापत्रमा हस्ताक्षर गरेका छौँ।’

बिसं २०१९-२० ताकाको बागमती

बिसं २०१९-२० ताकाको बागमती

हस्ताक्षर गर्नेहरूमध्ये कति जनाको जातीय संस्कार, कुल–परम्पराअनुसार वागमतीमा सद्गत नै गरिँदो रहेनछ। वागमती नदी सभ्यताको पक्षमा जीवनभर नै आफूलाई समर्पण गरेका हुतराम पनि फोहोर वागमतीमा आफ्नो सद्गत नगर्नु भन्नेमा थिए। तर, आफ्नो परिवारलाई भने सुटुक्क ‘कूल परम्पराअनुसार कालमोचन घाटमै सद्गत गर्नू’ भनेका रहेछन्। त्यसैले, उनका सन्ततिहरुले पशुपति आर्यघाटमै उनको सद्गत गरे।

र, कवि धरणीधरले भनेजस्तै ‘पुनर्जन्मका लागि बाटो खन्दै’ उनी जीवनका अन्तिमकालका २५ औँ उकालीहरूमा वागमतीलाई बचाउन दिलोज्यानले लागि नै रहे।

उनी आज हाम्रा सामु छैनन्। तरपनि उनी ‘वागमती बा’ को उपनामले हाम्रो हृदयमा बाँचिरहे छन्, बाँची नै रहने छन्। 

प्रकाशित १८ फागुन २०७५, शनिबार | 2019-03-02 12:40:38
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

रमण घिमिरे कला–साहित्य क्षेत्रका वरिष्ठ पत्रकार हुन्

रमण घिमिरेबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...