कुमार नगरकोटी भन्छन्: १२ वर्षसम्म लगातार मदिरा पिएँ, अब पुग्यो (अन्तर्वार्ता)




कुमार नगरकोटी
कुमार नगरकोटी

साहित्यकार कुमार नगरकोटीको आफ्नो छुट्टै संसार छ। उनलाई मसानघाट र काठमाडौँका अध्यारा गल्ली प्रिय लाग्छन्। कुनै गल्ली, बाटो या चौपायमा देख्नेहरु उनलाई जोगी, साधू या गुण्डा भनिदिन्छन्। तर, पनि उनी कुनै गुनासो गर्दैनन्। उनकै भाषामा भन्ने हो भने, ‘हु केयर्स।’

यिनै नगरकोटीसँग नेपालखबरका लागि कृष्ण आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंलाई बुझेका र पढेकाहरु कुमार नगरकोटी अनौठो खालको लेखक हो भन्छन्। तपाईं जति अनौठो हुनुहुन्छ, त्यति नै अनौठा तपाईंका पात्रहरु पनि हुन्छन्। पात्रमार्फत् आफूलाई ब्यक्त गर्नुभएको हो?
हो, मैले उब्जाएका पात्रमा म नै बगिरहेको हुन्छु। म जसरी असामान्य छु, त्यसरी नै मेरा पात्रहरु असमान्य हुन्छन्। किनभने साहित्य सिर्जना गर्दा म समाजभन्दा अलि बढी ‘पर्सोना’ मा जान्छु। ‘पर्सोना’ मा जाँदा असमान्य किसिमका पात्रहरु मेरो दिमागमा घुम्छन्। कहिले आफूले निर्माण गरेका पात्रजस्तो बन्ने मन लाग्छ, कहिले आफैजस्तो पात्र निर्माण गर्न मन लाग्छ।

मलाई लाग्छ, मेरा पात्रहरु अन्य लेखककाभन्दा अलि बेग्लै हुन्छन्। जो समाजमा भेटिदैनन्, देखिदैनन्। मेरा पात्रहरु आउने भनेको भेषभूषा, बस्त्र र जीवनशैलीबाट हो। त्यसो हुनाले मेरा पात्रहरु असाधारण देखिन्छन्। त्यस्ता पात्र अरुलाई ठीक खालका नलाग्न सक्छन्। त्यहाँ कुनै अन्तरद्धन्द्ध हुन्छजस्तो लाग्दैन। यो पात्रलाई मैले यसरी नै प्रस्तुत गर्नुपर्छ भन्ने कुरामा म पूर्णरुपमा सन्तुष्ट हुन्छु।

पात्र निर्माणमा मन या मस्तिष्क के बढी हाबी हुन्छ?
मन कवितामा काम लाग्छ भने मस्तिष्क निबन्धहरुमा काम लाग्छ। मेरा लेखाइहरुमा यस्ता कुराको कुनै पनि कारण नहुन सक्छ। आख्यानमा विशेषगरी कविताहरु भेट्न सकिन्छ। तर, मेरो रचनामा मन र मस्तिष्क कहाँनिर गरेर ठोकिन्छ भन्ने कुराको ‘फ्युजन’ पाउन सकिन्छ। आध्यात्मिक, कोमल, सुन्दर बाँक्यांशकहरुको रचना गर्दा मन हावी हुन सक्छ। पूर्ण रचना भने मन र मस्तिष्कको गतिलो सहकार्य र मेलबाट नै तयार हुन्छ।

तपाईं आफै नगरकोटीलाई पढ्नु स्वास्थ्यका लागि हानिकारक छ भन्दै हिँड्नुहुन्छ। त्यसको तात्पर्य के?
स्वास्थ्यभन्दा पनि अझ मस्तिष्कका लागि हानिकारक होला। किनकि मेरा रचनाहरुले मानिसलाई फरक संसारमा लैजान्छन्। यदि तपाईं त्यहाँ जान चाहनुभएन भने त कठिन भयो नि। त्यसैले मेरा पुस्तक पढ्दा यो संसार छाडेर मैले बनाएको अर्को संसारमा जान पनि तयार हुनुपर्छ, नत्र गाह्रो हुन्छ। यही भन्न खोजेको हुँ।

रचनाले कसैको जीवन नै परिवर्तन गरिदिन्छु भन्ने मलाई कहिल्यै लाग्दैन। मेरा रचनाहरु पढ्दा मनलाई आनन्द आउनुप¥यो। केही समय पुस्तकको गहिराइमा हराउनुप¥यो। त्यसका पात्रहरुसँग घुलमेल हुनुप¥यो। फरक संसारको सुख महसुस गर्न सक्नुप¥यो।

कसैले तपाईंलाई साधु सम्झिएर दिएको पाँच रुपैयाँको नोट घरमा सजाएको राख्नुभएको छ भन्ने छ। त्यो नोट अहिले पनि छ?
बेलाबेला यस्तो हुन्छ। कुमारी गल्लीमा हिँडिरहेको थिएँ। एउटा मानिस मलाई बाबा सम्झिएर नमस्कार गर्दै आयो। आशीर्वाद पनि दिन लगायो। मैले हात उठाएर आशीर्वाद भनेँ। उसले टाउको छोएरै आशीर्वाद दिन लगायो। मैले त्यसै गरेँ।

उसले आफ्नो पारिवारिक समस्या मसँग राख्यो। मैले ‘समस्या भनेको यस्तै हो, सबै ठीक हुँदै जान्छ’ भन्ने सुझाब दिएँ। ‘सबै भलो हुँदै जानेछ’ भनेपछि उसले पाँच रुपैयाँ दक्षिणा दियो। त्यो पैसा मैले घरमा सजाएर राखेको छु। पहिलोपटक बाबा सम्झिएर उसले मलाई दक्षिणा दिएकाले पनि होला, त्यो मलाई खास लाग्यो।

त्यस्तै अर्को घटना पनि छ। म पाटनको कुनै गल्लीमा साथीसँग बसिरहेको थिएँ। एक जना महिला आएर साथीसँग आफ्नो श्रीमान् डेढ महिनादेखि हराएकाले सहयोग गरिदिन आग्रह गरिन्। मलाई (बाबा सम्झिएर) भनेर पत्ता लगाउन उनले यस्तो सहयोग मागेकी थिइन्। मैले ती महिला नजिक गएर उनको श्रीमानको नाम भनिदिएँ। ती महिला ‘कसरी यसले मेरो श्रीमानको नाम भन्यो’ भन्ने कुराले चकित परिन्। खासमा मैले उनले भनेको सुनेर भनेको थिएँ। मैले ‘एक हप्ताभित्र तपाईंको लोग्ने आइपुग्छ, म घरमा गएर पाठ गरिदिन्छु’ भनेँ।

एकदिन त्यही साथीसँग भेट भयो। उसले ती महिलाको लोग्ने घरमा फिर्ता आएको र मसँग भेट्न खोजेको बतायो। यस्ता घटनाहरु थुप्रै छन्। बेलाबेला यस्ता घटना भइरहन्छन्।

कसैले ‘बाबा’ भन्दै आशीर्वाद माग्दा ‘म बाबा होइन’ चाहिँ किन भन्नु हुँदैन?
म खुसी साथ आनन्दपूर्वक बाँच्न चाहन्छु। मसँग कुनै कुराप्रति पनि नकार छैन। कसैले ‘यो खत्तम हो, खराब मानिस हो’ भन्छ भने पनि म त्यसलाई स्वीकार्छु। ‘तैँले यस्तो भन्ने?’ भन्दै झगडा गर्न थाल्यो भने पीडा सुरु हुन्छ। मानिसले आफ्नो दृष्टिकोणबाट मलाई कसरी हेर्छन् भन्ने उनीहरुको व्यक्तिगत कुरा हो। म ‘के हुँ र के होइन’ भन्ने मलाई थाहा छ, किन अरुसँग विवाद गर्दै हिँड्नुप¥यो।

आधा रातमा काठमाडौँका गल्ली चाहार्नुहुन्छ। खास केका लागि हो?
मलाई यसरी हिँड्न मज्जा आउँछ। केही समयअघिको कुरा हो, साँझपख न्यूरोडको एक गल्लीमा गएको थिएँ। दुई–तीन जना महिलाले बाल्टिनमा अण्डा बेचिरहेका रहेछन्। मैले चार–पाँच वटा अण्डा मगाएँ। उनीहरुले बोक्रा छोडाएर, पत्रिकामा बेरेर अण्डा दिए। मैले अण्डा मुखमा हाल्नै लाग्दा त्यहाँ पत्रिकाको अक्षरहरु टाँसिएको देखियो। मलाई त्यो हेर्न बडो आनन्द आयो। त्यसपछि त म त्यहाँ अण्डा खान अरु दिन पनि जान थालेँ। मलाई यस्तो कुरामा बडो आनन्द आउँछ।

एउटा अन्तर्वार्तामा आफूलाई आफैले ‘सुपर पापी’ घोषणा गर्नुभएको थियो। खासमा तपाईं कस्तो खालको पापी हो?
मेरो जीवनमा यस्ता चिजहरु छन्, जसलाई मानिसहरु अनैतिक भन्छन्। मलाई चाहिँ अनैतिकताको मापदण्ड नै छैनजस्तो लाग्छ।

जीवनका भोगाइहरु खोल्ने क्रममा मेरा सबै कुरा बाहिर आए। मानिसले त्यसलाई अनैतिक भने, मलाई अराजक भने। तर, कसरी तपाईंले आफ्नो बाटो बिराएपछि अनैतिक हुने? कस्तो व्यक्तिलाई सामाजिक भन्ने? यो कुराको उत्तर त कसैसँग छैन नि! मैले कानुन मिचेर केही गरेको पनि होइन।

आफूले गरेका कुरामा त म ‘इन्ज्वय’ गरिरहेको छु। यस्तो अवस्थामा मैले गरेका कामलाई लिएर कसैले मलाई ‘तँ पापी होस्’ भन्छ भने हो म पापी नै हुँ। म जे हो, त्यही लेख्छु र त्यस कुरालाई लिएर कसैले मप्रतिको धारणा बनाउँछ भने केही छैन बनाओस्।

आजभोलि मसानघाट चाहिँ कत्तिको जानुहुन्छ?
जान चाहिँ जान्छु। तर, केही कम भने भएको छ। कुनै समय त घाटप्रति मेरो निकै लगाव थियो। आजभोलि म घाटमात्र होइन, घाटबाहेकका ठाउँमा पनि कम जाने गरेको छु। कुनै समय सिनेमा हलमा गइरहन्थेँ, आजभोलि जादिनँ। मलाई एकलपना नै मनपर्छ।

मध्यरातमा घाटमा के कुरामा ‘इन्ज्वय’ गर्नुहुन्छ?
घाटमा हुनु भनेकै सबैभन्दा ठूलो कुरा हो। म जब घाटमा हुन्छु, घाटमा छु भन्ने कुरामा नै रमाइरहेको हुन्छु। हामी जे छौँ, जहाँ छौँ, त्यसमा रमाउन नसकेर हामी आनन्द लिन सकिरहेका हुँदैनौँ। त्यसैले हामी दुःखी छौँ।

घाटप्रति कुनै ईच्छा बाँकी छ कि? त्यहाँ पुगेर यस्तो गर्न पाए हुन्थ्यो, उस्तो गर्न पाए हुन्थ्यो भन्ने?
त्यस्तो केही छैन। घाटमात्र होइन, मलाई कुनै पनि चिजप्रति ईच्छा वा गुनासो छैन।

आफ्नै आत्ममूल्यांकन गर्नुप¥यो भने कसरी गर्नुहुन्छ?
केही गर्दिनँ। हामी प्राय आफैँप्रति फैसला गर्छौं। कुनै पनि कुराप्रति सन्तुष्टि जनाउन सक्दैनौँ। तर, मलाई त्यस्तो लाग्दैन। तिमी जे छौँ, त्यो तिमी हौँ। हरेकका आ–आफ्ना अस्तित्व हुन्छन्। हरेकले आफ्नो अस्तित्वलाई स्वीकार्नु पनि पर्छ। म पनि स्वीकार्छु।

हामी कुनै खोजको पछि लागिरहेका हुन्छौँ। जीवन के हो, प्रेम के हो भन्ने प्रश्नको कुनै जवाफ हुन्छ जस्तो लाग्दैन। किनकी तपाईंको भोगाई नै तपाईंको जीवन हो। मानिसहरु अरुले आफूलाई राम्रो भनिदियोस् भन्ने चाहना राख्छन्। तर, ममा त्यस्तो कुनै चाहना छैन। मेरा सबै कुरा बाहिर आइसकेका छन्। मानिसहरु ती कुरालाई लिएर मप्रतिको धारणा बनाउन स्वतन्त्र छन्।

कुनै समय भट्टी पसलमा तपाईंले अड्डा नै जमाउनु हुन्थ्यो। आजभोलि त्यहाँ पनि जान छाड्नुभयो। यसरी परिवर्तन हुनुको कारण चाहिँ के?
रक्सी अब मलाई पुग्योजस्तो लाग्यो। मैले १२ वर्षसम्म लगातार रक्सी पिएँ। रक्सी नपिएको कुनै पनि दिन छैन होला। म त्यतिबेला मदिराको प्रेममा डुबेको थिएँ। तर, अहिले पनि मेरो मदिराप्रतिको धारणा फेरिएको छैन। मदिरा मलाई संसारकै सुन्दर रचनामध्येको एक लाग्छ।

जीवनमा यो गर्न पाए हुन्थ्यो भन्ने केही छ कि?
कहिल्यै ‘यस्तो गरौँ, मेरो लक्ष्य यस्तो हो’ भन्ने सोचिनँ। मेरो जिन्दगी जसरी अघि बढ्दै गयो म पनि त्यसेगरी अघि बढ्दै गएँ। मलाई कसैप्रति पनि आशा, आकांक्षा वा महत्वकांक्षा छैन। आफू आफैमा हुनु नै रमाइलो लाग्छ।

प्राय कोठाभित्रै बस्नुहुन्छ। मानिसहरुसँग पनि भेटघाट गर्न रुचाउनुहुन्न। एकै ठाउँमा लामो समयसम्म बसिरहँदा उराठ लाग्दैन?
बाहिर निस्कन बिरक्त लाग्छ। मानिसहरुसँग त्यति भेटघाट गर्न पनि मन लाग्दैन। गुफामा (कोठाभित्र) बसेर केही न केही लेखिरहेको हुन्छु। त्यो पललाई ‘सेलिब्रेट’ गर्न रुचाउँछु। निकै आनन्द आउँछ, त्यसरी बस्न र लेख्न।

आफूलाई रहेक क्षेत्रमा समाहित गर्नुहुन्छ। कथा, उपन्यास, निबन्ध, कविता र नाटकसम्ममा योगदान पु¥याउनु छ। किन फरक–फरक विधामा हात हाल्नुभएको?
म मेरो आफ्नै ब्रह्माण्ड निर्माण गर्न चाहन्छु। ममात्र होइन, मजस्ता स्रस्टा सबैले आफ्नो ब्रम्हाण्ड निर्माण गर्नुपर्छ भन्ने लाग्छ। हरेक विधाबाट मैले आनन्द उठाइरहेको छु। अर्थात्, मलाई कुन कुराले आनन्द दिन्छ, म त्यही गर्छु। हरेक मानिसका आनन्दका स्रोतहरु बेग्लाबेग्लै हुन्छन्। कसैलाई फिल्म हेर्दा आनन्द आउला, कसैलाई यौनमा आनन्द आउला, कसैलाई घुम्न आनन्द आउला। लेखकका रुपमा मलाई फरक–फरक विधामा कलम चलाउन आनन्द आउँछ।

म आफ्नो जीवनलाई यसैगरी ‘सेलिब्रेट’ गरिरहेको छु। त्यसैले, म भन्न चाहन्छु- आई एम सेलिब्रेटिङ माई लाईफ ओर क्रियसन। मेरो ‘सेलिब्रेसन’ सबैलाई मन पर्नुपर्छ भन्ने पनि छैन। कसैले मन पराउलान्, कसैले मन नपराउलान्। तर, आफू आफ्नो कामबाट सन्तुष्ट भने हुनुपर्छ, जसरी म सन्तुष्ट छु।

आख्यान या गैरआख्यानभन्दा नाटक लेख्दाको फरक मज्जा चाहिँ कुन कुरामा हुँदोरहेछ?
नाटकको आनन्द बेग्लै छ। जुन आनन्द अन्य विधामा उपलब्ध छैन। यो सुविधा कवि, उपन्यासकार र निबन्धकारलाई छैन। कुन अर्थमा भने, तपाईं कुनै पनि कथा, कविता वा उपन्यास लेख्नुहुन्छ भने त्यसमा भएका शब्दहरु मरेर जान्छन्। पाठकले त पढ्लान्। तर, झन् पछि झन् त्यसको महत्व हराउँदै जान्छ। तर, नाटकमा लेखिएका शब्दहरु मर्दैनन्। मञ्चमा कलाकारले ती शब्दलाई जीवन्त बनाइदिन्छन्।

फेरि भन्नुहोला, एकपटक सुनेपछि फेरि सुन्न नपाइने शब्द कसरी मर्दैनन्? यस्तो प्रश्नको जवाफ नहोला। त्यो महसुस गर्ने कुरा हो। म गर्छु। अरु के सोच्छन् भन्ने कुरामा मलाई खासै चासो हुँदैन।

आफू नाटकघर अगाडि बसेर कलाकारको मुखबाट आफूले लेखेका शब्द सुन्दाको आनन्द फरक हुन्छ। यो आनन्दको सुविधा आफ्ना कृति पढ्दा आउँदैन। मैले हालसम्म थुप्रै पुस्तकहरु लेखिसकेँ। तर, ती सबैमा भन्दा आनन्द नाटकमा आउँछ। म नेपाली लेखकलाई नाटक लेख्न सुझाव दिन्छु। किनकी एउटा लेखक नाटकबिना अधुरो हुन्छ भन्ने मेरो बुझाई छ। नाटककारले आफूले गरेको नाटक कहिल्यै हेर्नै पाउँदैन। यसको अर्को रोमाञ्चक पक्ष यो पनि हो। मलाई यस्ता कुराले आनन्द दिलाउँछ।

तपाईं अरुभन्दा फरक चाहिँ कसरी हुनुहुन्छ?
म प्रकृतिप्रेमी मान्छे होइन। कुनै सुन्दर ठाउँ देखेर दंग पर्ने खालको मेरो स्वभाव छैन। नयाँ ठाउँमा भएपछि त्यस ठाउँलाई बुझ्ने कुरा त छँदैछ। म नयाँ ठाउँमा छु भन्नेमा नै आनन्द लिन्छु।

मलाई मानिसले बनाएका चिजहरु बढी प्रिय लाग्छन्। म्युजियम, आर्ट ग्यालरीतिर रमाउँछु। मानव निर्मित कुराहरुमा बढी ‘इन्ज्वय’ गर्छु। म यस्तै छु। अरुभन्दा फरक।

प्रकाशित ५ फागुन २०७५, आइतबार | 2019-02-17 10:25:06
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...