त्यो समय

देवी बनिन् त छयानब्बेकी मेरी आमा?




‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो भने यो भएको पनि १२ वर्ष पो बितिसकेछ।

‘तिमेरु फोनै गर्दैनौ!’

आमाको अक्सर गुनासो यति मात्र हुन्छ।

आमालाई ढाँट्न मुस्किल छ। तर पनि म ढाँट्ने कोसिस गर्न खोज्छु, ‘गरि त राखेका छौँ नि!’ अझ धेरै ढाँट्न खोज्छु, ‘अस्ति भर्खरै गरेको होइन? एक हप्ता त भएको छैन!’

आमा भन्नुहुन्छ, ‘ग¥यौ, अस्ति? एक महिना भइसक्यो तिमेरुले फोन नगरेको। मलाई ढाँट्न खोज्छौ!’

आमा अचेल टाढा बसेका सन्तानबाट बढी अपेक्षा गर्छिन्। स्वाभाविक हो, जो आफ्ना वरिपरि छन्, ती छँदै छन्। त्यसैले, तिनको त्यति वास्ता हुँदैन। तर जो टाढा छन्, तिनको बढी सुर्ता हुन्छ। त्यसैले, आमा हामीलाई बढी खोज्छिन्।

जतिखेर हामीलाई दुई छाकको गर्जो टार्न पनि दुष्कर थियो, त्यतिबेला पनि आमा शान्त थिइन्। बा सचिव थिए, तर धेरै पैसा आउँदैनथ्यो त्यसबखत। अलिअलि आम्दानीको बाटो धानखेती नै हुन्थ्यो। त्यस उब्जनीले पनि ठूलो परिवारलाई वर्ष दिनको छाक टार्न धौधौ नै हुन्थ्यो। आधा वर्षमै भकारी रित्तिन्थ्यो। अनि कसरी हाम्री आमाले हाम्रा पेटमा चारो हालिदिन्थिन् होला?

त्यसमा नुन, चिनीजस्ता खेतमा उब्जनी नहुने खाद्य सामग्री त बजारबाटै किनेर ल्याउनु पथ्र्यो। यसका लागि त्यही धान बेचेर काम चलाउनु पथ्र्यो। त्यसमाथि हाम्रो पढाइ खर्च, स्कुल ड्रेस, कापी–कलम, किताबको जोहो पनि त उनैले गर्नुपथ्र्यो। कसरी तार्थिन् आमाले होला हामीलाई एक्लैले यत्रो विशाल भवसागर? अहिले सोच्दा मलाई आश्चर्य लाग्छ। तर उनले रिनपान गरेर भए पनि हामीलाई कहिल्यै भोको पेट राखिनन्, नाङ्गो जिउ हिँडाइनन्।

जिमदारले हाम्रा बालाई इलामबाट झापा झारेका थिए। बा असाध्यै प्रतिभाशाली र मेहनती थिए। झापामा जिमदारको सयौँ बिघा जमिन थियो। उनका सन्तानहरू सानै थिए र अध्ययनका लागि कसैलाई दार्जिलिङ र कसैलाई इलाम बजारमा पढाउँदै थिए। जिमदार कृष्णबहादुर (केबी) भट्टराई कांग्रेसमा लागेकाले २०१७ सालपछि ‘अराष्ट्रिय तत्व’ मा परे र भारत निर्वासित भए। त्यसपछि उनको त्यो महाभारत थामिदिने आमा–बा मात्र थिए। जिमदारले बालाई फकाएर झापा झारे।

थाहै छ, त्यस युगमा झापा आउनु भनेको कालसँग जुध्नु बराबर थियो। एक माना चामल बोकेर आयो भने किरिया गर्न समेत पुग्छ भन्ने त कथनै थियो। मलेरियाको त्यस्तो बिगबिगी थियो। तर बाले काललाई पनि चुनौती दिँदै आमालाई लिएर झापा झरे।

झापा जङ्गलामुलुक थियो। बस्ती भनेको राजवंशी, धिमाल, मेचे, सतार र करुवा आदि आदिवासीहरूको थियो। पहाडिया बस्ती भनेको चामलमा अलमलिएका बियाँ जस्तै थिए, एक हातका औँलामा गन्न पुग्दैनथ्यो। हाम्रा बा त्यस पृष्ठभूमिमा अहिले हामी बसेको मेचीनगर नगरपालिकाको गोमनसरी गाउँमा आएका थिए। पछिसम्म पनि त्यो गाउँ ज्यामिरगढी गाउँ पञ्चायतअन्तर्गत पर्ने एउटा वडाको पातलो बस्ती थियो। आमा अहिले पनि भनिरहन्छिन्, त्यो बेला मच्छरले टोक्यो भने मलेरिया लागेर सिधै परम्धाम पुगिन्थ्यो। तर बा बढो जिम्मेदार मानिस थिए। उनलाई आफ्नो ज्यानभन्दा पनि जिमदारको सम्पत्तिको सुरक्षा गर्नुमा बढी चिन्ता थियो।

२०२१ सालमा लागू भएको भूमि सुधार ऐनले जग्गाको हदबन्दी २५ बिघा प्रतिव्यक्ति तोकिदियो। अब आँखाले हेरेर नभ्याउने जिमदारको जमिनको कसरी सुरक्षा गरिदिने? पारि भारतको बतासीमा बालाई डाकेर जिमदार हरबखत दबाब दिइरहन्थे। ‘तिमीले एक धुर जग्गा पनि सरकारी बनाउनु हुँदैन। मैले तिमीलाई विश्वास गरेर त्यहाँ बोलाएको हुँ, तिमी जसरी हुन्छ फस्र्याऊ!’

जिमदारका सात भाइ छोरा थिए। तिनमा पनि दुई त नाबालखै। तर पनि बाले खै कसरी हो? यस सङ्कटलाई निकास दिए। जिमदारको एक धुर जमिनमा पनि सरकार लाग्न दिएनन्।

अहिले सम्झिँदा हाम्रा बा अलिकति अव्यावहारिक र बढी इमानदार रहेछन्। इमानदार भएकाले त्यत्रो एउटा क्षितिजदेखि अर्को क्षितिजसम्म फैलिएको जमिन उनकै छोरा र आफन्तका नाममा मात्र नामसारी गरिदिए। अव्यावहारिक भएकाले एक पाइलो जमिन पनि आफ्ना नाममा राखेनन्। उनको यो इमानदारी र अव्यावहारिकताको पीडा हामीले पछिसम्म पनि भोगिरह्यौँ। बाले पहाडको जग्गाजमिन बेचबिखन गरेर केही बिघा जग्गा आफ्नै बुताले किने। त्यसैको भरमा हाम्रो मुखमा माड लाग्थ्यो। आमाले पनि बालाई कुनै हस्तक्षेप गर्थिनन्।

तर व्यवहार आमाले नै गर्नुपथ्र्यो। बा बिहान एक बटुको चिया खाएर निस्किन्थे। गाउँलेका झगडा मिलाउँदै अफिस जाने समय भइहाल्थ्यो। बेलुका अफिसबाट फर्केपछि पनि तिनै गाउँलेका समस्या मिलाउन यसरी खटिन्थे, मानौँ, त्यो पनि उनको जागिर हो। अनि आमाले हाम्रो व्यवहार नसम्हाले कसले सम्हाल्ने?

बर्खा लागेपछि रोपाइँको चटारो हुन्थ्यो। आमा बिहान सखारै उठेर आफैँ कलाउ (खाजा) पकाउँथिन् र बोकेर खेतमा पुग्थिन्। अनि बीउ उखेल्थिन्, रोपाइँ हुने गह्राका ठाउँठाउँमा बीउ राखिदिन्थिन्। रोपाहारलाई रोप्न पनि सघाउँथिन्। यति चटारो सकेर फेरि घर फर्केर आफैँले दिउँसोको दालभात तयार गर्नुपथ्र्यो। अहिले सम्झिँदा हाम्री आमा यतिसम्म खट्न सक्थिन् भन्ने कुरामा मलाई आश्चर्य लाग्छ।

पछि बाले जागिर छोडेपछि आमा अलि फुर्सदिली जस्ती भइन्। तर हरुवाचरुवा खोज्ने, तिनको काम विभाजन गरिदिने, धान कुटाउन पठाउने, खेतमा कति काम भयो, त्यसको निरीक्षण गर्ने आदि–इत्यादि काम आमाले नै गर्थिन्। बालाई गाउँघरका मानिसको तमसुक लेखिदिने र झैँझगडा मिलाउँदा नै फुर्सद हुँदैनथ्यो।

बाले दुःख पाएको पनि जान्ने भएर नै हो। उनलाई सारा ऐनस्रेस्ता कण्ठ थिए। नियमकानुन कण्ठस्थ थिए। उनका अक्षर छापाका जस्ता थिए। खेस्रा पनि नगरी सोझै नेपाली कागजमा उनी यसरी लेख्थे, मानौँ कुनै किताबका हरफहरू सारिहेछन्। मिलेका अक्षर, धर्को तानिएको कापीमा लेखेजस्ता सीधा। अनि त उनले दुःख पाउने भइहाले। अशिक्षित समाज, गाउँमा एउटै पाठशाला थिएन। सानो राजीनामा या भपाई लेखाउन पनि बा नै चाहिन्थ्यो, गाउँमा। ‘नाइ, आज भ्याउँदिन’ भन्न नजान्ने। ‘घरको काम त पछि गर्दै गरूँला नि, मलाई सम्झेर आउनेको काम पहिला गरिदिनु पर्छ’ भन्थे बा। बाको यस्तो समाजसेवाले आमालाई कामको थुप्रो लाग्थ्यो। तर उनी विनाकुनै गुनासो सबै काम आफैँ गर्थिन्।

आमाको काम घाम झुल्किनुअघिदेखि नै सुरु हुन्थ्यो। जाडो महिनामा हाम्रो स्कुल बिहान लाग्थ्यो। आमा भालेको घडी बज्नुअघि नै उठेर हामीलाई साँदेको गुद्रुक या केही तरकारीसँग तात्तातो भात खुवाएर विदा गर्थिन्। अनि आफ्नो दैनन्दिनीको डायरीमा हात चलाउन थाल्थिन्।

हाम्रा गाउँका आमाका समवयी पुरुषहरू सबै हाम्रा मामा हुन्थे। अचेल पनि केही मामाहरू हाम्री आमाको इतिहास बोकेर जीवतै छन्। तिनीहरूलाई आमाले दाजु भनेपछि हामीले पनि तिनीहरूलाई मामा भन्नै प¥यो। आफ्ना मामाहरू त इलाममै छोडिएका थिए। आमाले दाजु बनाएर भएका मामाहरू पनि हामीलाई आफ्नै भानिजजस्तो स्नेह दिन्थे। बा नभएका बखत भइपरी आउँदा आमालाई सहयोग गर्ने पनि तिनै मामाहरू थिए।

दसैँ आएपछि हामीलाई रमाइलो लाग्थ्यो। दसैँ आउँदैछ भन्ने सूचना दिन्थे- हाम्रा गाउँका आदिवासी करुवा बा-आमा, दाजुभाइ-दिदीबहिनीहरू। भदौ अन्तिमतिर रोपाइँको मैजारो हुन्थ्यो। अनि दुई महिना हिलोमा काम गरेका काला हातखुट्टा पालिया खोलामा गएर ढुङ्गाले घोटीघोटी पालिस लगाएजस्तो टल्काउँथे। र, साँझ ढल्केपछि आ-आफ्ना घरका मादल बोकर खुला बारीमा जान्थे र ‘धिङ्ति निधिङ तिङ, धिङति निधिङ, धिङति निधिङ, तिङ’ गर्दै बजाउन थाल्थे। हामीलाई त्यसले ‘दसैँ आउँदै छ है’ भन्ने रमाइलो अनुभूतिले भित्रसम्म छोएर जान्थ्यो। युवक-युवती एकअर्कालाई अँगालेर गोलाकार भई खुट्टा अघिपछि गर्दै नाच्दा मन हर्ष र उन्मादले हुरुक्क हुन्थ्यो। यता राजधानीमा मालश्रीले जस्तै उता हाम्रो गोमनसरीमा करुवाको मादलको ‘धिङति निधिङ तिङ, धिङति निधिङ, धिङति निधिङ, तिङ’ ले दसैँको आगमन भएको सूचना दिन्थ्यो।

दसैँ आएपछि हामीलाई लाग्ने अर्को घटना रमाइलो अझ रोचक र रोमञ्चक लाग्थ्यो। आमा हामीलाई लिएर धुलाबारी बजार जान्थिन् र दसैँका लागि नयाँ लुगा किनिदिन्थिन्। पैसा हुँदैनथ्यो। धान पाकेपछि तिर्ने सर्तमा साहु–महाजनले जति भने पनि उधारो दिन्थे। दसैँका टीकाका दिन त्यो लुगा लगाएर आमा–बाको टीका थापेर हामी चार भाइ मेला घुम्न जाँदा ‘यिनीहरू कार्बारी बाजेका छोरा हुन्’ भनेर सबैले खुट्याइहाल्थे। किनभने हामी चारैजना दाजुभाइका लुगाा एउटै थानबाट काटिएका हुन्थे। त्यसो त, गाउँका सबै पहाडी परिवारका छोरा–छोरीका लुगा पनि एउटै थानबाट काटिएर सिलाइएका हुन्थे। यी लुगाहरूले पनि को कुन परिवारको हो भन्ने छुट्याउन सजिलो हुन्थ्यो।

म अहिले सम्झिन्छुः एउटा दसैँमा बा र आमा दुबै गएर हामीलाई प्यान्ट–सर्ट हालिदिएका थिए। त्यस बेला धुलाबारी बजारमा भर्खर एउटा खलिफा (लुगा सिलाउने मुसलमान दर्जी) ले सिलाइ सुरु गरेको थियो। त्यो खलिफा भारततिरबाट आएको खुब सिपालु ‘टेलर’ मा गनिएको थियो। धुलाबारीका धनीमानी राइटर र खनाल परिवारका लुगा पनि त्यही खलिफाले सिलाउँथ्यो। त्यसले सिलाई खर्च पनि नेपाली दर्जीले भन्दा बढी नै लिन्थ्यो।

यसपटक हामीले पनि आमालाई हाम्रा लुगा त्यसैसँग सिलाइदिन जिद्दी ग¥यौँ। आमाले पहिला त मान्नु भएन। तर बाले ‘केटाकेटीले रहर गरिहाले, एकपटकलाई दिइदिऊँ न त!’ भनेपछि आमा पनि तयार भइन्। त्यो जमाना भर्खर टाइटफिटिङ् प्यान्ट लगाउन सुरु भएको जमाना थियो। दिलिप कुमार, राजेश खन्ना, नवीन निश्चलहरू यस्तै टाइट फिटिङ्मा सजिएर हिन्दी फिल्ममा देखा पर्थे। खलिफाले हामीलाई घुमाइघुमाइ जीउको नाप लियो र एक हप्ताको भाका दियो। हामीलाई त्यो एक हप्ता पनि वर्षौं लामो जस्तो लाग्यो।

केटाकेटी मन जे पनि भन्नेबित्तिकै चाहिन्थ्यो। मलाई राम्ररी समझना छ, त्यो शुक्रबारको दिन थियो। किनभने त्यस दिन हटिया लागेको थियो। हामीले लुगा लिएर हतारहतार घर आयौँ र लगायौँ। लगाउनु के? पिँडुलाभन्दा माथि नै गएन प्यान्ट त! अनि हामी हान्निँदै एक घन्टाको बाटो धुलाबारी, त्यस खलिफाकहाँ पुगेर कड्कियौँ, ‘यति टाइट प्यान्ट किन सिलाइदियौ ? खुट्टैबाट छिरेन, कसरी लगाउनू?’

खलिफाले त हामीलाई उल्टै हपा¥यो, ‘त्यसै टाइटफिटिङ्? लाउन जान्नु छैन अनि रहर गर्ने सक्दैनौँ ! यो फेसनै यस्तै हो। पहिला अलिअलि टाइट हुन्छ, अनि बिस्तारै खुकुलो हुँदै जान्छ। यस्तो फेसन लगाउन पनि सिक्नुपर्छ। जाओ, घरमा गएर लगाउन सिक।’

साँच्चै भन्ने हो भने, हामीले त्यो प्यान्ट राम्ररी, रहर पुग्ने गरी लाउनै पाएनौँ। घुँडा खुम्च्याउनै नहुने। पलेटी कस्नु त परकै कुरा, उपरखुट्टी लगाएर बस्दा पनि च्यार्र हुने हो कि भन्ने त्रास। यो कुरा आमालाई पनि भनेनौँ। गाली खाने डर थियो। त्यो दसैँ, हामीले तानतुन पारेर बल्लतल्ल गोडाबाट घुसारेर टाइट फिटिङ् प्यान्टको धोको पूरा ग¥यौँ, टर्रो अनुभूतिका साथ।

जमानामा हाम्री आमा पनि निकै सोखिन थिइन्। घोडा चढेर बासँग सिनेमा हेर्न भद्रपुर जान्थिन्। दाजुहरू पहाडमै थिए। निकैपछि मात्र मधेश आए। म एक्लो छोरो बा-आमाको बीचमा बसेर सिनेमा हेर्न जान्थेँ।

पछि पनि आमाले मेरो हरेक इच्छा पूरा गरिदिन्थिन्। म त कान्छो छोरो, त्यसै पुलपुलिएको। बर्खामा हाम्रो स्कुल बिदा हुन्थ्यो, दुई महिना। म विहान एकछिन गाई–बाख्रा चराइ टोपल्थेँ र घरमा ल्याएर बाँधेपछि आमासँग पैसा मागेर नक्सालबारी सिनेमा हेर्न टाप कस्थेँ। आमासँग पैसा छैन भने पनि सरसापट गरेर दिनै पथ्र्यो। नत्र खानै नखाई त्यस्तो भदौरे गर्मीमा पनि म सिरक ओडेर सुतिदिन्थेँ।

अचेल त्यो बेलाका मेरा घुर्की सम्झिँदा आफैँलाई ग्लानिबोध हुन्छ। उनले मेरा कुनै पनि रहर, इच्छा, अभीष्ट जे भने पनि- एक वचनमा पूरा गरिदिन्थिन्। मुखबाट वचन मात्र निस्किनु पथ्र्यो, त्यो वचन तुरुन्त तामेल हुन्थ्यो। मेरी आमा यस्ती थिइन्। उनले हाम्रो परिवारलाई यसरी गम्लङ्ग ढाकेकी थिइन्, जसरी पोथीले चल्लालाई आफ्ना पखेटामुनि लुकाउँछे।

०००
अचेल मेरी आमा दुखिरहन्छिन्। उनलाई आफ्ना घाउहरू पनि थाहा छैनन्। तर उनलाई सञ्च पनि छैन। धेरै त आफ्नै अतीतले दुखाएको हुँदो हो। पतिवियोगमा झन्डै तीन दशक भोगिसकेकी उनी कहिलेकाहीँ बालाई सम्झेर कहालिन्छिन्, तर त्यो पनि देखाउँदिनन्। खालि भित्रभित्रै सुँकसुँकाउँछिन्। आँसु पनि भित्रभित्रै जमाएर पोखरी बनाएकी छन्।

अलिकति वर्तमानले पनि दुखाउँदो हो। सारै काष्टसाध्य अवस्थामा घरबार जोडिन्।समय र सामथ्र्य हुँदा हुकुम पनि चलाउँथिन् उनी। तर अहिले अरूको निगाहामा बाँच्न बाध्य छु भन्ने लाग्दो हो उनलाई। र, खरहेझैँ सुसाउँछिन्। त्यो पनि भित्रभित्रै।

बाहिर देखिने त उनको चाउरी परेको अनुहार हो। बुढेशकालले गाँजेको शरीर हो। अतीततिर फर्किंदा त्यतिबेला आफूले घुमेका ठाउँ र मानिसहरूसँग ठोक्किन पुग्छिन्। तर यथार्थमा शरीरले उनलाई बसेको ठाउँबाट उठ्न पनि दिँदैन। कति नै भयो र उनी घर-व्यवहारबाट निवृत्त भएको?

त्यही घर हो, उनलाई भेट्नेहरूको घुँइचो लाग्थ्यो कुनै बेला। ती अनुहारहरू पनि दुनियाँबाट बिस्तारै विलीन हुँदै गए। अहिले उनी आफैँमा विलीन जस्ती भएर बाँचिरहेकी छन् एक्लै।

आमाका कुरा पनि त्यति बुझ्दैनौँ, बोली त प्रस्ट छ। तर उनका भाव बुझ्न सक्दैनौँ हामी। उनी सपनाका कुरा गर्छिन्। कहिले कुनै अज्ञात प्रदेशमा देवी, देउता भेटेको कुरा गर्छिन्। कहिले ‘बाले सपनामा मेरो चिन्ता गर्नुभयो’ भन्छिन्। अमूर्त हुनथालेका छन् उनका भावाभिव्यक्तिहरू।

कसैले आमाका कुरालाई उमेरको बेसुरापन भन्लान्। तर मलाई त्यस्तो लाग्दैन। अक्सर उनी देवी, देउतासँग राती बात मारेको कुरा गर्छिन्। दिउँसै पनि तन्द्रामा ‘अहिले भर्खर देवी प्रकट भएकी थिइन्’ भन्छिन्। कहिलेकाहीँ हामी उनलाई उल्लीबिल्ली पनि पार्न खोज्छौँ। तर उनी आफ्नो त्यस विश्वासमा पटक्कै हल्लिनन्। ‘तिमेर्ले मलाई जति उडाओ न, मैले देवीलाई देखेकै हुँ’ उनी भन्छिन्, ‘तिमेर्ले देवी, देउतालाई चिने पो पत्याउँछौ। नपत्याए पनि केही छैन। तर मेरा देवी-देउता मलाई भेट्न आइरहन्छन्।’

अहिले ठ्याक्कै छयानब्बेकी भइन् मेरी आमा। उनको चौरासी गरेको पनि १२ वर्ष बितिसकेछन्। ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो भने यो भएको पनि १२ वर्ष पो बितिसकेछ।

मलाई अब विश्वास हुन थालेको छ, ‘सपनामा देवी–देउता भेटेँ, भेटेँ’ भनिरहने मेरी आमा कतै आफैँ देवी त भएकी होइनन्?

प्रकाशित ४ फागुन २०७५, शनिबार | 2019-02-16 12:44:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

रमण घिमिरे कला–साहित्य क्षेत्रका वरिष्ठ पत्रकार हुन्

रमण घिमिरेबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...