Exclusive

कफी पिउनासाथ मभित्रको लेखक बाहिर आउँछः नारायण वाग्ले




नारायण वाग्ले
नारायण वाग्ले
प्रविन कोइराला

‘त्यतिबेलाको प्रजातन्त्र रेडिमेड थियो र कफी पनि रेडिमेड। नो मोर च्वाइस इन बोथ। जसरी जनताले प्रजातन्त्रको गुण–दोष पहिल्याउन सकेनन्, मैले पनि कफीको गुण–दोष छुट्याउन सकिनँ।’

लेखक एवं पत्रकार नारायण वाग्लेले बिहान ९ बजेर ११ मिनेट जाँदा म्यासेज पठाए– क्यान यू कम टू द जाभा एट १० प्लिज।

केही दिनअघि मैले उनीसँग कफी गफ गर्ने प्रस्ताव राखेको थिएँ। सोहीअनुसार अघिल्लो दिन ‘फस्ट आवर’ मै थापाथलीको ब्लुबर्ड कम्प्लेक्समा रहेको हिमालयन जाभामा भेट्ने तय भएको थियो।

समय भने उनले ‘पछि भन्छु’ भनेका थिए। उनले ‘पछि’ भन्नुको कारण मलाई थाहा थियो। वाग्ले समयमा पक्का छन्। निर्धारित समयभन्दा बरु आफू ५ मिनेट छिटो पुग्लान् तर, अरुलाई कुराउन रुचाउँदैनन्।

मैले ‘हुन्छ, भेटौंला’ लेखेर पठाएँ। म ब्लुबर्ड कम्प्लेक्समै रहेको नेपालखबरको कार्यालयबाट निस्केर १० बजेर ४ मिनेटमा जाभामा छिर्दा वाग्ले आइसकेका रहेछन्। आफैलाई अलि अप्ठेरो लाग्यो।

‘कुन कफी लिने कृष्ण’, उनले नै मेरो कफी ब्राण्ड सोधे।

‘आज दाईको रोजाईमा’, मैले भनें।

उनी आफै उठेर काउन्टरतिर लागे अनि दुईवटा क्यापाचिनो अर्डर गरे। एकछिन व्यक्तिगत गफगाफपछि मैले उनको अगाडि रेकर्डर तेस्र्याएँ। उनी केही सचेत भए। अनि हामी गफिन थाल्यौं कफीको चुस्कीसँगैः

मैले तपाईंलाई जीवनमा पहिलोपटक कफीको चुस्की लिएको तिथिमिति सोधें भने?
ठ्याक्कै याद छैन। त्यतिबेलाको कफी २०४७ सालमा आएको रेडिमेड प्रजातन्त्र जस्तै उन्नत खालको थियो। त्यतिबेलाको प्रजातन्त्र जसरी नेपाली नेताको स्मृतिमा थियो, त्यतिबेलाको कफी पनि बट्टामा रेडिमेड धूलो आउँथ्यो।

म त्यतिबेला धेरै हिँड्थेँ। खासमा त्यो समय मेरो विद्यार्थी काल पनि थियो। कफी दूधालु र गुलियो हुन्छ भन्ने थियो। अर्थात, कफी चिनी र दूधको मिश्रणले बन्ने हुँदा यसको स्वाद चाख्ने हुटहुटीले मलाई कफीप्रति आकर्षित गर्यो।

कफी पो रेडिमेड हुन्छ, प्रजातन्त्र कसरी?
त्यतिबेलाको प्रजातन्त्र रेडिमेड थियो र कफी पनि रेडिमेड। नो मोर च्वाइस इन बोथ। जसरी जनताले प्रजातन्त्रको गुण–दोष पहिल्याउन सकेनन्, मैले पनि कफीको गुण–दोष छुट्याउन सकिनँ। त्यसैले पनि मैले प्रजातन्त्रलाई कफीसँग दाँजेका हुँ।

त्यस्तै, प्रजातन्त्र आउनुअघि जनताले दूधिला र गुलिया सपना देखेका थिए। तर, ती सबै सपना तिता भइदिए, मैले कल्पना गरेको र पिएको रेडिमेड कफीजस्तै।

धेरै वर्षको अभ्यासपछि मैले आफू अनुकुल कफीको गुण–दोष पत्ता लगाउन सकेँ। जसरी नेपाली प्रजातन्त्रमा जनताले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक यथार्थ चाल पाए।

तपाईंमा कफीको लत चाहिँ कहिले र कसरी बस्यो?
लत कहिले बस्यो भन्ने थाहा नै हुँदैन। यो गीतको धुनजस्तै कतिबेला फूर्छ थाहा नहुने तर, गुनगुनाउँदै हिँडिरहने चीज रहेछ। भित्र विकास भइरहेको हुन्छ तर, एक्कासी प्रकट हुँदैन। पछि आएर आफूलाई महशुस मात्र हुन्छ। त्यो पनि धेरै पछि। तलतल लागेको कुरा आफूलाई थाहा हुँदैन, केबल भित्र अनुभूतमात्र हुन्छ। अलि पछि त्यो तलतल नै लत हो भन्ने थाहा हुने हो। तर, मिडियामा समाचारको जस्तो त्यसको कुनै ‘डेटलाइन’ भने हुँदैन।

पहिलापहिला ब्राजिल, इन्डोनेसिया, कोलम्बियाबाट आउने कफीको दाना फिल्टर गरेर कफी पिउने गरिन्थ्यो। तर, नेपालमै पहिलोपटक ठमेलमा हिमालयन जाभाले आउटलेट खोलेपछि भने फरक–फरक स्वादमा कफी आउन थाल्यो। त्यसपछि नै हो, नेपाली अग्र्यानिक कफी पपुलर भएको पनि। त्यसपछि मैले कफीको फरक–फरक स्वाद चाख्न थालेँ।

कस्ता–कस्ता स्वाद चाख्नुभयो?
अघि बिहान मैले डिपियो (डबल एक्सप्रेसो) पिइसकेँ। मेरो मनपर्ने कफी पनि त्यही हो। डबल एक्सप्रेसो निकै तितो हुन्छ। यसले मेरो दिमागमा हलचल मच्याइदिन्छ। त्यसैले स्वाट्ट–स्वाट्ट पारेर डबल एक्सप्रेसो पिउँछु। त्यसको बलमा मनमा भावनाहरु जागृत हुन्छन् अनि कलम चलिरहन्छ।

नेपालमा विशेषगरी कफीको विकास भइसकेपछि म लात्ते पिउँथे। त्यसपछि क्यापाचिनो पिउन थालेँ। क्यापाचिनोपछि अमेरिकानोमा मन गयो। तर, ह्वीस्कीमा पानी वा आईस राखेर पिएको जस्तो लाग्न थालेपछि अमेरिकानो पिउन छाडिदिएँ। यसरी समय र परिस्थितिअनुसार कफी पिउने गरेको छु।

दैनिक कम्तिमा ५ कपसम्म कफी पिउनुहुन्छ भन्ने छ। नेपालमा कफी महंगो पनि छ, पैसाको व्यवस्थापन कसरी गर्नुहुन्छ?
पत्रकारितामा म भाग्यशाली भएकाले सुरुकै दिनदेखि तलबबिहिन हुनु परेन। जनमञ्चमा काम गर्दा नेपालकै आकर्षक तलब सुविधा मिल्यो। विदेशीको समेत आकर्षणको केन्द्र ठमेलमा कफी पिउनु पैसाको हिसाबले धेरै नै महंगो हो। तर, मैले पनि आफ्नो औकातअनुसार पकेट खर्च कटाएर कफीका लागि पैसा छुट्याउँथेँ। यसरी नै चल्दै आएको छ।

दैनिक कति खर्च हुन्छ कफीमा?
त्यो त म हिसाब गर्न सक्दिनँ। हिसाब गर्ने मेरो व्यवस्थापकीय क्षमता पनि छैन। हिसाब गर्ने, मासिक व्यवस्थापन गर्नेमा रुची या परकपन नभएकाले पनि होला। फेरि आफूलाई आनन्द आउने कुरामा नाफा–घाटा भन्ने पनि नहुँदो रहेछ।

काठमाडौंमा तपाईंको कफी जक्सन चाहिँ कहाँ हो?
एउटै ठाउँ छैन। आजभोलि कफी हाउस पनि विभिन्न डिजाइनका बनेका छन्। कुनैमा र्‍याकमा विभिन्न पुस्तकहरु कलात्मक ढंगले सजाएर राखिएका हुन्छन्। त्यसले लोभ्याउँछ र त्यहाँ जान रुचाउँछु। कफी पिउँदै पुस्तक पढ्नुको बेग्लै आनन्द छ।

कुनैमा पूर्व पट्टीको घाम लाग्छ, कुनैमा पश्चिम पट्टीको लाग्छ त कुनैमा घाम नै लाग्दैन। कफी हाउसअुनसार आ–आफ्नै व्यवस्थापकीय पक्ष हुन्छन्। आन्तरिक सजावटमा रंगको सजावट पनि फरक–फरक हुन्छ। लोकेशनको पनि एउटा केन्द्रीय महत्व हुन्छ। कतै अग्लो, कतै होचो। यसरी कफीसँग परिवेश पनि जोडिन आउँछ। मेरो मुडअनुसार रंग, प्रकाश, समय, क्षणहरु र लोकेशन हेरेर कफी हाउसमा छिर्ने गर्छु।

कफी किन पिउनुहुन्छ?
कफी त केवल एक बाहाना हो। मलाई लेख्ने, पढ्ने बाहाना चाहिएको हुन्छ अनि म कफी पिइदिन्छु। अर्थात, मलाई कफी पिएपछि लेख्ने मुड आउँछ, पढ्न मन लाग्छ, छलफल तार्किक बनिदिन्छ। त्यसैले म आफूलाई धेरै कफी पिउने भनेर फूइँ लगाउन रुचाउँदिन। यसलाई केवल सिर्जनाको एउटा माध्यममात्र बनाएको हुँ।

प्रायः राजधानीबाहिर गइरहनुहुन्छ, जहाँ राम्रा कफी सप नहोलान्। त्यसबेला कफीबिना आफूलाई कसरी सम्हाल्नुहुन्छ?
कफीबिहिन हुनुपर्ने प्रायः पहाडतिर जाँदा हो। तर, त्यहाँ त झन् मसला चियाको स्वाद लिन पाइन्छ। ल्वाङ, सुकमेललगायतका चिजबीज हालेर कित्लीको भाँडोमा दाउरामा उमालेको चियाले कफीको तलतल मेट्छ।

गाउँका चिया पसलको सौन्दर्य सहरको जस्तो बनिबनाउ हुँदैन। प्राकृतिक वातावरणमा रमाउँदै गाउँले चिया पिउँदा आनन्द आउँछ। फेरि कफी मेरा लागि चुरोट या रक्सीको तलतलजस्तो पनि होइन। मेरा लागि कफी केवल एक बाहाना न हो। त्यसैले, प्रेमपूर्वक बनाएको मसला चियाले तलतल मेटाउन नसक्ने कुरै छैन।

तपाईंको दैनिक जीवनबाट कफी हटाइदियो भने के होला?
अनशन होला। यदि अनशन बस्नु पर्यो भने म कफीबिना बस्न सक्छु।

काठमाडौंमा कतै हिंड्दै नारायण वाग्ले (तस्बिरः अनुप काफ्ले)

बजारमा चलेको नारायण वाग्ले कफी पिएक्कड हो, कफीबिना बस्नै सक्दैन’ भन्ने हल्लामा कति सत्यता छ?
हल्ला केवल एक भ्रम हो। कफी पिउनकै लागि पिउनु र बाहानाका लागि पिउनुमा फरक छ। काठमाडौंका राम्रा भनिएका हरेक कफी हाउसमा म पुगेको छु। यतिसम्म कि मुड चल्यो भने हिँडेरै भित्री बाटो हुँदै थापाथलीबाट महाराजगञ्जसमेत पुगिदिन्छु।

कफी एउटा बाहाना हुन्छ तर, हिँड्दा म केही सोच्छु, केही आफैमा हराउँछु अनि केही समय र परिवेशलाई बुझ्छु। मलाई हिँड्न मनपर्छ। हिँड्नुको आफैमा कुनै प्रयोजन हुँदैन। तर, कसैले कहाँ हिँडेको भन्यो भने म कफी पिउन भनिदिन्छु। त्यसैले फेरि पनि भन्छु कफी त केवल एक बहाना हो।

लेख्नका लागि कफी पिउनुहुन्छ या कफी पिएर लेख्ने मुड आउँछ?
कफी मेरा लागि केवल एक बाहानामात्र भएको भएर केही लेख्दा आइडिया आएन भने कफी नभएर होला भन्ने सोच आइहाल्छ। त्यसैले कफीले आफैलाई एउटा निकास दिन्छजस्तो लाग्छ। तर, सायद कफीमा कुनै एउटा यस्तो तत्व छ, जसले मस्तिष्कमा सिर्का हान्छ। यसमा केही न केही चीज पक्कै छ। पात्र निर्माण कार्य प्रभावित भयो, सोचाई राम्रो आएन, विचारबिहीनताको बन्दी भइयो भने त्यसबाट उम्कनका लागि कफी एउटा निहुँ बन्छ।

जीवनलाई कफीसँग कसरी दाँज्नुहुन्छ?
कफी पिउनु भनेको बाख्रालाई किलोमा डोरीले बाँधेर वरिपरी रहेको हरियो घाँसमा चर्न दिनुजस्तै हो। जसरी बाख्राले आफू बाँधिएर पनि हरियो घाँस खान पाउँछ, त्यसरी नै म कफीमा मीठो स्वाद पाउँछु।

कफीले भावनाहरु, उमंगहरु, उत्साह र प्रश्नहरु वरिपरी राखेर आफूलाई बाँधिरहन्छ। त्यसैले तलतल भनेको बाख्रालाई बाँधिने डोरीजस्तै हो। कफी अगाडि हुँदा विभिन्न भावनाहरु प्रस्फुटन हुन्छन् अनि यसको सुगन्धमा हराएर कल्पनामा डुब्नुको मज्जा बेग्लै छ। मेरा लागि यो दैनिकी नै हो। जसरी जीवन एउटा जिउने आधार हो कफी पनि त्यसैगरी दैनिकी बिताउने एउटा माध्यम हो।

कफी पिएको सपना कहिल्यै देख्नुभएको छ?
देखेको छु। धेरै देखेको छु।

कुनै सपना याद पनि होलान्, भन्न मिल्छ?
सपना भन्नु भनेको एउटा भ्रम हो। सपना भनेको मलाई यस्तो लागेको थियो भन्ने हो। त्यसैले सपनाको ब्याख्या गर्न नेताहरुले मात्र सक्छन्। उनीहरुले सपनालाई आधार बनाएर जनतालाई प्रयोग गर्न खोज्छन्। लेखकले भनेको कुरा सपना हो कि, कल्पना हो कि, भोगाई हो भन्ने कुरा उसको लेखाईमा आउँछ।

सपनामा देखिएका कुराहरु झल्याकझुलुक आउँछन्। अँ, एकछिनअघि यस्तो भएको थियो भन्ने लाग्छ। तर, त्यसको लामो मेमोरी हुँदैन। कसैले सपनामा यस्तो रंगको लुगा लगाएर यहाँ गएँ, यहाँबाट हाम फालेँ, यस्तो भयो वा उस्तो भयो भन्न सक्छन्। सायद उनीहरुको कल्पना शक्ति बलियो या सपनाको दृश्य संग्रह गर्न सक्ने क्षमता बढी होला। तर, म सक्दिनँ।

कुनै समय कान्तिपुरको कोसेलीमा तपाईंको ‘कफी गफ’ स्तम्भ निकै चर्चित भयो। त्यसपछि ‘पल्पसा क्याफे’ उपन्यासमा तपाईंले कफी गफका किस्साहरू उल्लेख गर्नुभयो। र, अहिले नयाँ कृतिको नाम नै ‘कोरियाना कफी गफ’ राख्नुभयो। कफी गफमार्फत आफ्नो जीवन व्यक्त गर्नुहुन्छ या कुनै घटनाक्रम वा परिवेशलाई पोख्नुभएको हो?
भन्न सकिँदैन। कथा, ध्वनी, प्रशंग, पात्र र त्यसभित्रको यथार्थताले मलाई लेख्न प्रेरित गर्छ। त्यसैले कल्पनाको एउटा कुनै निश्चित ढंग छैन र ढर्रा पनि छैन। मनमा उकुसमुकुस भएका पात्र, किस्सालाई निकाश दिने काम पनि हो मेरो लेखाई। यसरी कफी गफमार्फत दिमागमा आफूलाई सिर्का हानिरहेका कुराको निकाश गर्न खोजेको हो।

अर्को कुरा, लेखक आफ्नो कथनबाट भाग्न सक्दैन। लेखकले जे लेख्छ त्यो उसको छायाँ हो। किनकी लेखाई भनेको लेखकको सोचाई हो र सोचाई आउने भनेको भोगाई वा कल्पनाबाट, मात वा उन्मातबाट, इच्छा वा चाहनाबाट, सफलता वा असफलताबाट हो। यी सबै कुरा लेखकको नीजि परिवेश भएकाले रचनामा उसको अनुहार पनि लुकेको हुन्छ। अर्थात, रचनाको आकार भनेको लेखकको अनुहार हो।

‘नारायण वाग्ले आफ्नो कृतिमार्फत रियालिटीलाई फिक्सनाइज गर्नुहुन्छ’ भन्दा म कति सही हुन्छु?
मैले लेखेका कुराहरु रियल नै हुन्। त्यसलाई व्यक्त गर्ने विभिन्न तरिका हुन्छन्। समयक्रमसँगै आफ्नो पढाई, लेखन, स्वादको रुचीलाई पाठकसँग संवाद गर्ने सजिलो शील्प भनेको मेरो लेखाई हो। जुन शैली म आफैले विकास गरेको हो। 

तथ्यको कथ्य के हो र कथ्यको सत्य के हो भन्ने मानिसको सोचाई हुन्छ। सत्य मानिसको कल्पना हो कि होइन, स्मृति सत्य हो कि होइन? यसको पोलिमर टेस्ट कसरी गर्न सकिन्छ। लेखकको पोलिमर टेस्ट गर्न थालियो भने सबै किताबको हाल के होला? त्यसैले म कुनै समयको भोगाई वा बुझाईलाई शब्दमा उतारेको हुँ भन्न रुचाउँछु।

समाचारमा फलानो (स्रोत) लाई उद्धृत गरेर भन्ने गरिन्छ। त्यसैले समाचार धेरै यथार्थपरक छ भन्ने गर्छौं हामी। तर, लेखनमा कसैलाई टेको लगाइँदैन। टेको लगाउने आफ्नै पात्रहरु हुन्छन्। कि आफू, आफू नभए अरु वा आफ्नो छाँयाहरु हुन्छन्। यसरी अफ्नो कल्पनाको आकारमा आएका पात्र वा विषयलाई कति यथार्थ भन्ने?

त्यसैले कफी गफ कति यथार्थ भन्ने प्रश्न मलाई त्यति सान्दर्भिक लाग्दैन। यसमा मैले आफ्नो त्यो सुविधा प्रयोग गरेको हुँ, जुन पत्रकारितामा भन्दा फरक छ। पत्रकारिता प्रमाणको अधिनमा हुन्छ भने सिर्जनशील लेखनमा चाहिँ प्रमाणहरुको अधिनस्थमा बस्नु पर्दैन बरु उल्टै त्यसलाई आफ्नो अधिनमा राख्न सकिन्छ। यो स्वतन्त्रता लेखकमा हुन्छ।

सबै यथार्थ हो भने नारायण वाग्लेले रचेको भ्रम चाहिँ के हो त?
नारायण वाग्लेले निकै धेरै कफी पिउँछ भन्ने कुरा नै मैले रचना गरेको सबैभन्दा ठूलो भ्रम हो। स्तम्भको नाम कफी गफ भएका कारण यसले ब्यापक कफी पिउँदो रहेछ र यो भयानक गफाडी रहेछ भन्ने भ्रम मानिसमा छ। यी दुवै सत्य होइनन्। म बोल्न सक्ने, गफ गर्न सक्ने मानिस होइन, धेरै अरुका कुराहरु सुन्न रुचाउने मानिस हुँ। बोल्दा मेरा हातका औँलाहरु हल्लिरहेका हुन्छन्। ओठबाट आउनुपर्ने कुराहरु औँलाबाट आइरहेका हुन्छन्। मेरा औँलाबाट शब्द र ध्वनी निस्कन्छन् र त्यसकै आधारमा म आफूलाई अभिव्यक्त गर्छु।

तपाईंसँग ठोक्किन आउने मानिस (पात्र) कथा बन्छन् या कुनै कथामा पात्र मिसाउनुहुन्छ?
पात्रमार्फत कथा बन्ने हो। पात्र भनेको परिस्थितिले सिर्जना गर्ने भएकाले त्यसमा परिवेश पनि लुकेको हुन्छ। फेरि, परिस्थिति र पात्र भनेको चाहिँ मनस्थिति हो। अर्थात, त्यहाँ यथार्थ हुन्छ जसले कल्पनाका लागि प्रेरित गर्छ।

भनेपछि तपाईं कथा निर्माणका लागि पात्रलाई कफी हाउसमा बोलाउनु हुन्नँ?
हो, म पात्र निर्माण गर्नका लागि मानिसलाई कफी पिउन निम्ता टक्रयाउँदिन। कफी हाउसमा कारणबस् ठोक्किन आएका मानिसलाई पात्र बनाइदिन्छु। तर, पात्र छनोट भने पक्कै गर्छु। मसँग ठोक्किन आउने मानिसको कुनै कुराले मलाई प्रेरित गर्नुपर्छ। त्यसैले, कफी गफका पात्रहरु भनेका मेरा हृदयका पात्रहरु हुन्। सबै अस्तित्वका पात्रहरु हुन्।

कुनै उद्देश्यका साथ कसैलाई बोलाउने, कसैलाई समाउने काम पत्रकारले गर्ने हो। लेखकलाई त्यो सुविधा हुँदैन। उसले त थाहै नदिई कसैलाई अवलोकन गर्छ र पात्र बनाइदिन्छ। आजभोलि केही लेखकहरु गैरआख्यानमा पत्रकारिताको अभ्यास पनि अपनाउँछन् तर, मेरो सवालमा त्यो हुँदैन। आफूले संगत, सहयात्रा वा अभ्यास गरेका पात्रलाई म छनोट गर्छु।

ती पात्रलाई स्मृतिमा राखेर पछि कथामा समावेश गर्नुहुन्छ या तत्काल नोट गर्नुहुन्छ?
कुनै यात्रामा छु भने हरेक दिन राति केही न केही कुरा नोट गर्छु। आफूलाई भोलि बिर्सिएला कि भन्ने डर भएका कुराहरु नोट गरेर राख्न रुचाउँछु। कतिपय सजिला कुराहरु मस्तिष्कमा पनि नोट हुन्छन्। तर, पनि बिर्सने सम्भावना भएको हुनाले प्रायः नोट कपीमा टिपोट गर्ने गरेको छु।

कफी र पत्रकार नारायण वाग्लेबीचको सम्बन्ध अनि कफी र लेखक नारायण वाग्लेबीचको सम्बन्धमा के फरक छ?
पत्रकारको रुपमा साथीभाई भेट्दा, कामको प्रकृतिअनुसार कसैसँग भेट्नुपर्दा कफी पिउने गर्छु। तर, म प्रायः लेखकको रुपमै कफी पिउँछु। कफी पिउनासाथ मभित्रको लेखक बाहिर आउँछ।

तपाईंका लागि कफी हाउस के हो?
कफी हाउस मेरो दोस्रो घर वा अफिस होजस्तो लाग्छ कहिलेकाहिँ। कनिकी म आफूलाई त्यहाँ बिसाउन पाउँछु। आफ्नो कोट फुकालेर कतै झुन्ड्यायो, मोबाइल निकालेर टेबलमा राख्यो, किताब पढ्यो, लेख्न मन लागे लेख्यो। यसरी म आनन्दित हुन्छु। सायद मसँगै कफीको कप वा मग आएर बस्ने भएकाले पनि होला त्यस्तो लागेको। मलाई वास्तवमा कफी हाउस अनुकुलताको सुविधाजन्य ठाउँ होजस्तो लाग्छ।

विदेश जाँदा कफी हाउस कत्तिको चाहार्नुहुन्छ?
विदेश जाँदा कुनै पनि नयाँ सहरमा पुग्नासाथ सबैभन्दा पहिले म नक्सामा रेल्वे स्टेशन वा बस स्टप कहाँ छ भन्ने हेर्छु। त्यसपछि, नजिकै कफी हाउस कहाँ छ खोज्छु। कसैलाई भेट्नु छ भने कफी हाउसमै बोलाउँछु। तर, कफी हाउसमा बुक शप छैन भने म त्यहाँ धेरै रमाउँदिनँ। त्यसपछि आर्ट ग्यालरीहरुमा जान्छु। जहाँ शुन्यताको संगीत पाउँछु, जहाँ प्रकृतिको स्वच्छन्द परिवेश अनुभूत हुन्छ।

कफीका फाइदा वा बेफाइदाबारे कत्तिको अध्ययन गर्नुहुन्छ?
त्यो त म गर्छु। कतै कफी पिउँदा निद्रा बिग्रन्छ भन्ने लेखिएको भेटिन्छ त कतै दैनिक एक कप कफीमात्र पिउँदा स्वास्थ्यलाई फाइदा गर्छ भन्ने कुराहरु आउँछन्। आफ्नो जीवनसँग जोडिएका कुराहरुमा अपडेट हुनुपर्छ भन्ने पनि लाग्छ। तर, कफीको हानी पढ्न भने म रुचाउँदिनँ। बरु आफ्नो क्षमता, अवस्थाअनुसार प्रयोग गर्न रुचाउँछु।

कफी व्यक्तिको शारीरिक डाइजेस्टिक सिस्टमसँग पनि जोडिएको हुनाले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर कफी पिउनुपर्छ भन्ने मलाई लाग्छ। कफीप्रति नै एडिक्ट हुनुभन्दा पनि यसलाई एउटा बाहाना बनाएर सिर्जनशील काम गर्दा मजस्ता कफी प्रेमीलाई यसले फाइदा नै गर्छ भन्ने हो मेरो बुझाई।

अघिल्लो पुस्तकमा क्याफे घुसाउनुभयो, पछिल्लोमा कफी। दुईबीच कुनै सम्बन्ध वा अन्तरविरोध छ?
कतिपय कुराको न कुनै कारण हुन्छ न जवाफ नै। त्यसैले मसँग पनि यसको जवाफ छैन। म व्याख्या र तर्क गर्न त सक्छु तर, त्यसले खासै अर्थ बोक्दैन। किनकी मेरा कथाहरु पात्रद्वारा सृजित हुन्छन्।

म अहिले के कुरा सोचिरहेको छु र साँझ के सोच्छु भन्ने कुराको जसरी कुनै उत्तर हुँदैन, त्यसैगरी यसको पनि कुनै उत्तर छैन। मेरा हरेक कृति हाँस्दै, रुँदै, खेल्दै लेखिएका मानवीय भावहरुका संगालो हुन्। जसमा फरक–फरक स्वादका मानवीय मुद्राहरु, भावहरु समाहित छन्।

‘कोरियाना कफी गफ’ ले कुनै अर्थ त बोकेको होला नि?
यो कफीलाई निहुँ पारेर लेखिएको कफीभित्रको कथा हो। कफीको कपबाट निस्किएका विविध पक्षको चित्रण हो। जसका पात्र समाजिक हुन्, यथार्थ हुन्। पात्रहरु निर्माण गरिएका होइनन्, चयन गरिएका हुन्। पाठकले पढिरहँदा आफै पनि त्यहाँ उल्लेख भएका पात्रहरु सबै रियल हुन् भनेर ठम्याउन सक्छन्।

अर्कोकुरा कोरियाना कफी गफ मेरो कफी घरजस्तै हो, जहाँ पाठकहरु छिरेर मसँगै कफीको स्वादमा हराउन सक्छन्।

अन्तमा, केही कुरा छुट्यो कि?
छुटेको कुरा छ, धेरै छ। त्यो के भने छुटेको कुरा कोरियाना कफी गफमा छ।

प्रकाशित २५ माघ २०७५, शुक्रबार | 2019-02-08 18:51:49
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...