त्यो समय

राजा महेन्द्रको हृदयमा जब दीप श्रेष्ठको गीतले तरङ्ग चलायो



Kshamadevi Group


दीप श्रेष्ठ
दीप श्रेष्ठ
प्रविन कोइराला

बन डढेलोजस्तो एउटा हल्ला व्याप्त भयो– गायक दीप श्रेष्ठको निधनको। यो सुनेर दीपका फ्यानहरू कैयौँ दिनसम्म विलाप गरेर बसे। कति किशोरीहरू शोकले मूर्छा परे!

त्यसदिन उनी धरान बसपार्कबाट निस्केर छाताचोकतिर लागेका मात्र थिए, मानिसले उनलाई देखेर परैबाट अभिवादनका हात हल्लाए। उनलाई देखेर कोहीकोही मुस्काइरहेका पनि थिए। परिचित अनुहारहरू सबै उनैलाई नियालिरहेका थिए। उनलाई यस्तो लागिरहेको थियो, मानौँ– धरानबजार आज उत्सव मनाइरहेछ। तर कसको?

पहिला पनि यी मानिसहरू भेटिएकै हुन्। सद्भाव र शुभेच्छा आदान–प्रदान पहिला पनि भएकै हो। तर आज किन फरक लागिरहेछ? हरेक मानिस उनीतिरै उत्सुकताले भरिएका दृष्टि किन ओच्छ्याइरहेका छन्?

खासमा दीप श्रेष्ठ २०२५ सालको पुस अन्तिमतिर काठमाडौँबाट फर्केर धरान आइपुग्दा त्यहाँका ‘बुढासुब्बा’ र ‘विजयपुर’ जस्तै लोकप्रिय भइसकेका रहेछन्। हरेकको मुखमा उनका लागि प्रशंसा र स्याब्बासीका शव्द हुन्थे। धेरै मानिस उनीसित एकपटक बोल्न, एकपटक उनलाई अभिवादन गर्न, उनीसित हात मिलाउन लालायित देखिन्थे। पहिला त उनले आफु एक महिनाको अन्तरालमै कसरी यस्तो ‘हिरो’ भए भन्ने बुझ्नै सकेनन्। तर जब नजिकका मित्रहरू विशेषतः उनका गीतकार साथी विजय श्रेष्ठले यसको रहस्योद्घाटन गरिदिए। अनि, उनी आश्चर्य र खुशी मिश्रित अनुभूतिमा चुर्लुम्म डुब्न पुगे।

२०१८–०१९ सालतिर विजय श्रेष्ठसित ‘दोस्ती’ बसेपछि उनीहरूमा सिर्जना टुसाउन थाले। विजय गीत लेख्थे, दीप गितारका तारहरू झनझनाउँदै त्यसमा धुन हालेर गाउँथे। विजय–दीप श्रेष्ठको जोडी बनेपछि यो क्रम निरन्तर जारी रह्यो। गायक–सङ्गीतकार दीप श्रेष्ठलाई यो उचार्इमा पुर्याउन विजय श्रेष्ठको त्यस बेलाको प्रोत्साहनले महत्वपूर्ण योगदान पुर्याएको बिर्सेका छैनन् दीपले आज पनि।

किनभने, विजयसित नभेटेका भए उनी राम्रो अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अब्बल विद्यार्थी हुने थिए, सायद गायक–सङ्गीतकार हुने थिएनन्।

‘म पढाईमा मेधावी विद्यार्थी थिएँ, कक्षामा पहिलो, दोस्रो भइरहन्थेँ, कालिम्पोङमा पढ्दा र धरानमा पनि’, छ दशक पछि छुटेको त्यो समय–खण्ड सम्झिन्छन् दीप, ‘विजयको सङ्गतले सङ्गीतमा लागेपछि मलाई पढार्इमा भन्दा सङ्गीतको सम्मोहनले तान्यो।’

त्यही सम्मोहनले डोर्याएर नै आज उनलाई नेपाली सुगम सङ्गीतका थोरै कलाकारले हासिल गरेको प्रतिष्ठित स्थान दिलाउन सफल भयो। संयोगले यसै बर्ष १ पुसमा उनले रेडियो नेपालमा पहिलो गीत गाएको ठ्याक्कै पचास बर्ष भएछ। आजसम्म पनि उनी गाइनै रहेका छन्।

बीसको दशकको सुरुवातमै धरान र पूर्वका आसपास भेगमा दीप लोकप्रिय गायक भइसकेका थिए। विजय–दीपको सहकार्यमा पचासभन्दा बढी गीत–सङ्गीत सिर्जना भइसकेका थिए। दीपले स्थानीय तहका कार्यक्रमतिर आफ्नो सङ्गीत र स्वरको परीक्षण पनि गरिसकेका थिए। मञ्चमा गाउँदा दीपको स्वरमा लट्ठिएका शुभचिन्तकहरू उनलाई काठमाडौँ जाने सल्लाह दिन्थे। ती शुभचिन्तकहरूको सुझाव पनि सही नै थियो।

किनभने, काठमाडौँ टेकेर रेडियोबाट गीत नघन्किएससम्म कोही पनि खासै गायक हुँदैनथ्यो। नातिकाजी, शिवशंकरजस्ता दिग्गज सङ्गीतज्ञहरू काठमाडौँमै थिए। बच्चुकैलाश, प्रेमध्वज, माणिकरत्न, नारायणगोपाल, तारादेवीजस्ता स्वर–साधकहरू काठमाडौँमै थिए।

योभन्दा पनि गाँठी कुरा, यिनका स्वर–सङ्गीत प्रसारण गर्ने एक मात्र रेडियो नेपाल काठमाडौँमै थियो। त्यसैले, साँच्चिकै गायक हुन राजधानीमा पुगेर रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गराउनु अनिवार्य थियो।

तर त्यसबेला दीप रेडियोमा गाउने यस ध्येयले होइन, राजधानीको राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा मात्र दुईवटा गीत गाउने अवसर पाएर आएका थिए। अनि यो संयोग जुरेको थियो, १ पुस २०२५।

पञ्चायतकालमा १ पुसको ठूलो महत्व थियो। संविधान दिवसका रूपमा यस दिनलाई देशव्यापी उत्सव गरेर मनाइन्थ्यो। राजधानीमा त झन् महोत्सव हुने नै भयो। यस अवसरमा जिल्ला–जिल्लाबाट छानिएका कालाकारहरूलाई सांस्कृतिक कार्यक्रम देखाउन काठमाडौँ ल्याइन्थ्यो।

त्यस वर्ष धरानबाट काठमाडौँ आउने अवसर पायो, स्थानीय सांस्कृतिक संस्थानले पनि। यस संस्थानले काठमाडौँमा ‘पुस १’ मनाउन भीमनिधि तिवारीको नाटक ‘शिलान्यास’ को मञ्चन गर्ने निर्णय गर्यो। अनि नाटकको अभ्यास निकै उत्साहका साथ गरियो।

नाटकमा दृश्य परिवर्तन गर्नुपथ्र्यो। छोटो समयको दृश्य परिवर्तनमा पर्दा तानेर छिट्छिटो सेटिङ् अदल–बदल गर्दा हुन्थ्यो। तर नाटकको एक ठाउँमा दृश्य परिवर्तनका लागि लामै समय लाग्थ्यो। यो नाटकको मध्यान्तर थियो। त्यसबेला नाटक मञ्चनसँगै बीचबीचमा गायनलाई पनि मिसाउने चलन थियो। त्यसैले आयोजकले मध्यान्तरमा कालो पर्दा तानेर दर्शकलाई त्यही कालो पर्दा हेरिरहनु पर्ने सास्ती दिनुको साटो उनीहरूलाई भुलाउन कसैको गायनको कार्यक्रम राखिदियो भने बेस हुन्छ भन्ने ठाने।

यसका लागि त्यस इलाकामा दीपभन्दा सुमधुर गायक अर्को थिएन। यसरी ‘शिलान्यास’ सँगै दीप राजधानी आएका थिए।

त्यो सांस्कृतिक कार्यक्रम हेर्न राजा महेन्द्र स्वयम् दर्शकदीर्घामा उपस्थित थिए। त्यही साँझ दीपले दुइटा गीत गाए। बिहान दीपले उमेरको १८औं खुट्किलामा पाइला राखेको समय पनि थियो त्यो बिहान। हेर्दा अल्लारे ठिटो भए पनि भए उनले गाएको वियोगान्त गीतले अरू श्रोता–दर्शक त मोहित भए–भए, राजा महेन्द्रको हृदयमा पनि तरङ्ग चलाएछ।

जवानीमा राम्रोसँग पाइला राख्न जानेको छैन, तर गीत भने यति माझिएको स्वरमा यति वियोगान्त गाउँछ। महेन्द्रलाई दीपको गायनले साँच्चै द्रवीभूत गराएछ। राजनीतिमा कठोर भए पनि कलापारखी मानिन्थे राजा महेन्द्र। अनि नाचघरबाट निस्कँदानिस्किँदै आफ्नो सचिवलाई हुकुम दिएछन्, ‘यो ठिटोका जति पनि गीत छन्, ती सबै तुरुन्त रेडियो नेपालबाट रेकर्ड गरी प्रसारण गर्ने व्यवस्था मिलाउनु।’

यही हुकुम मुताबिक ३ पुषमा उनले रेडियोमा पहिलोपल्ट ‘म पत्थरको देवता होइन’ गीत रेकर्ड गराए। उनले दुइटा गीत गाउने अवसर पाएका थिए र आफैले लेखेको अर्को गीत गाए, ‘मायालु रूप छ तिम्रो, माया गरेँ त के बिराएँ।’

त्यसपछि हेटौंडाको बाटो भएर बीरगञ्जपारि रक्सौलबाट रेल चढेर कटिहार, जोगवनी आए र त्यहाँबाट बसमा विराटनगर हुँदै धरान बसपार्कमा ओर्लिंदासम्मका दिनमा रेडियो नेपालले दीप श्रेष्ठको ‘पत्थरको देवता’ लाई घन्काउँदा–घन्काउँदै धरानमा दीपलाई नै स्वरको देवता बनाइसकेको रहेछ। उनैले सुनेका थिएनन्, आफूले गाएको त्यो गीत। तर धरानका युवाहरूले कण्ठै पारिसकेका रहेछन्।

त्यस दिनको सम्झना गर्दै अहिले दीप भन्छन्, ‘म धरान पुग्नुभन्दा पहिला मेरा गायकीले धरानमा हल्लीखल्ली मच्चाइसकेको रहेछ।’

त्यसैले, जुन गीतले धरानबजार हल्लाएको थियो, उनले त्यस गीतको झट्का निकै पछि मात्र सुन्न पाए।

रेडियोबाट पहिलोपल्ट बजेको गीतले यति धेरै प्रशंसा पाएपछि उनी सङ्गीतमा अझ हुरुक्क भएर लागे। पहिलोपटक रेडियोमा जुन दिन ‘पत्थरको देवता’ सुने, त्यसदिन उनलाई पनि गायनमा लाग्दा हुनेरहेछ भन्ने लाग्यो। जब उनी स्थापित भइसकेका थिए, राजा महेन्द्रको यो ऋण तिर्न पछि उनले महेन्द्रको एउटा गीत गाए, ‘नजाऊ छोडी यो देश, आमालाई रुवाएर।’

उनले गाएको यो गीत नेपाली राष्ट्रिय गीतको लहरमा अब्बल नम्बरमा पर्छ।

त्यसबखत बच्चुकैलाश, प्रेमध्वज, माणिकरत्न, नारायणगोपाल, फत्तेमानहरूको स्वरले नेपाली गायनलाई ढपक्कै ढाकेको थियो। यिनीहरूको गायकी शिखरमा गुञ्जिरहेको थियो। अब यस घुइँचोमा आफ्नो गायकीको बेग्लै र श्रोताका लागि मन छुने गीत गाउने बाटो खोज्नु दीपका लागि चुनौती थियो। तर उनले यी कुनैलाई आफ्नो प्रतिस्पर्धी ठानेनन्। उनलाई त सङ्गीत भर्ने र गाउने रहर थियो र उनी जसरी पनि यो रहर पूरा गर्न चाहन्थे।

‘म फगत आफ्नो साधनालाई माझ्न समर्पणका साथ लागेँ’, उनी त्यस बेलाको आफ्नो मनस्थितिलाई प्रस्ट पार्दै भन्छन्, ‘मेराअघि को–को छन्, मसँगै हिँड्ने को–को छन् र मेरो पछाडि आइरहेकाहरू को–को छन् भन्नेपट्टि मैले पटक्कै ध्यान दिइनँ।’

हो, उनी आफ्नो बाटो आफैँ बनाएर त्यसैमा हिँड्न चाहने साधक थिए, निरन्तर हिँडिरहे।

त्यसपछि २०२५–०२८ को अन्तरालमा उनका धेरै गीतहरू रेडियो नेपालले घन्काइसकेको थियो। र, उनी बेग्लै गायकी भएको कलाकारका रूपमा लोकप्रिय पनि भइसकेका थिए। यसबीचमा सङ्गीतज्ञद्वय नातिकाजी र शिवशङ्करले उनलाई रेडियो नेपालले हरेक बर्ष २० चैतमा आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा भाग लिन आउन धेरैपटक आग्रह गरेका थिए। यही आग्रहलाई शिरोपर गर्दै उनले पहिलोपल्ट यस प्रतियोगितामा भाग लिए।

आफूले गाएका हिसाबले उनलाई त्यही बेला पहिलो हुन्छु भन्ने लागेको थियो, तर भए तेस्रो। फेरि अर्को वर्ष त्यही उत्साहले भाग लिए पनि तेस्रोभन्दा माथिको उपाधि पाउन सकेनन्। तर पनि उनी हार खान तयार थिएनन्। अनि, तेस्रो वर्ष पनि त्यही उत्साह र तयारीका साथ आफ्नै सङ्गीतमा शिवशङ्कर थापाको रचनामा त्यस बेलाका लागि बढो अनौठो गीत गाए, ‘विधवालाई सिन्दुरको रहर, छातीमा टाँसेर।’

भिडियोः

यसपटकको गायनले उनको छातीमा सर्वोत्कृष्ट गायकको ‘मेडल’ झुन्ड्याइछाड्यो।

दीप श्रेष्ठका पिता जयनारायण श्रेष्ठ पनि गीत गाउँथे। उनी भ्वायलिन र मुरली बजाउनमा त त्यतातिर कहिलिएकै कलाकार थिए। आमा इन्दिरा पनि गाउँथिन्। आमाले दीपले गाएको मन पराउँथिन्। तर पितालाई त्यति मन पर्दैनथ्यो। त्यस बेलाका अन्य बाबुहरू जस्तै उनका बाबु जयनारायण आफ्नो छोरो अरू कुरामा नअलमलिई खुरुखुरु पढाइमै ध्यान देओस् भन्ने चाहन्थे। तर नवयुवावस्थामा ठूलाबडाले जे नगर्नु भन्यो, त्यही गर्ने सनक चल्छ। दीप पनि पिताले नगाओस् भन्दाभन्दै गायनमा लागेका व्यक्ति हुन्।

उनको भनाइमा, एक अर्थमा उपद्रो नै गर्न गायनमा लागेका थिए उनी। र, सायद पिताले उनलाई यति बन्देज नलगाएको भए ‘आफू यस कोटीको कलाकार हुने थिइनँ’ भनेर अहिले पनि गम खान्छन्।

उनलाई लाग्छ, उनको जीवन भोगाइका क्रममा धेरै थरी पीडा–वेदनाहरूले आक्रमण गरे। वास्तवमा उनले तिनै विरहलाई आफ्नो सङ्गीत र गायनमा अभिव्यक्ति दिने प्रयत्न गरे। उनले गीत छनौट गर्दा पनि मानिसले भोग्ने कति थरीका पीडाहरू हुन्छन्, एक–एक गरेर छान्न थाले। लेख्नेले पनि उनले भोगेका पीडाहरू नै मिसाइदिए गीतहरूमा।

उनले कहिल्यै खुसीका गीत गाउन चाहेनन्। खुसीको गीत गाउन त मनमा खुसी पनि हुनुपर्यो नि भन्ने उनको मान्यता रह्यो। त्यसबेला पिता जयनारायण धरान वरिपरि कहलिएका जमिनदार थिए। सम्पत्तिको छेलोखेलो थियो। धरानभरिमा कसैको गाडी थियो भने जयनारायणको मात्र थियो। डाकसेवाका चिट्ठीपत्र ओसार्ने सवारी त्यही गाडी हुन्थ्यो।

तर अचानक पिताजीको देहावसान भयो। उनी त्यसबखत १२ बर्षका मात्र थिए। उनी अहिले पनि त्यस घटनापछिका एक–एक प्रसङ्गहरू सम्झिन्छन्। त्यसपछि उनको जीवनमा वेदना मिसियो। पिताजीको काजकिरिया सक्दानसक्दै सारा श्रीसम्पत्ति स्वाहा भयो। कसैको ऋण, कसैको सापटी– अनेक खालका आसामीहरू निस्किए। त्यो तिर्दातिर्दै भएभरको नगदी सकियो।

उनी पढाइमा अब्बल थिए। नौ कक्षामा पढ्दा नै उनी त्यसै कक्षाका विद्यार्थीलाई पढाउँथे। पछि २०२३ सालमा एसएलसी सकेर धरानमा भर्खर खुलेको ल्याब्रोटोरी विद्यालयमा अङ्ग्रेजी र गणित पढाउने शिक्षकमा भर्ना भए। त्यसबेला उनी १६ वर्षका थिए। कालिम्पोङमा पढेकाले अङ्ग्रेजी अपेक्षाकृत राम्रो थियो, त्यसमाथि विद्यालयका पनि मेधावी विद्यार्थी भएकाले ९० रुपैयाँ महिनावारी पाउने गरी शिक्षण पेसामा लागे। करिब पाँच बर्ष नियमित शिक्षण गरेपछि उनको तलब १ सय १३ रुपियाँ पुर्याइयो। सम्पूर्ण परिवार उनको यही कमाइमा आश्रित थियो। पछि बहिनीले पनि एसएलसी सकेर जागिर खान थालेपछि परिवार चलाउन अलि सहज हुँदै गयो।

यसबीच उनको गायन यात्राले पनि राम्रै मोड लिन थालेको थियो। उनी धरान–काठमाडौँ बाक्लै ओहोर–दोहोर गर्न थालेका थिए। रेडियो नेपालमा गाएका हरेक गीतहरू जनजिब्रोमा बसिसकेका थिए। मञ्चीय कार्यक्रममा पनि उनको माग बढ्न थालेको थियो। यसबाट पनि थप कमाइ हुन्थ्यो र परिवारको गुजारा अझ सहज हुन थालेको थियो।

ठीक यसैबेला उनले फेरि अर्को दुखान्त अवस्था भोग्नुपर्यो। जुन घरमा उनीहरू बर्षौंदेखि बसोबास गर्दै आएका थिए, त्यो पनि उनीहरूको स्वामित्वमा रहेनछ। त्यो घर उनका पिताजीले नै बनाएका थिए। यो कुरा उनलाई थाहा थियो। तर एक दिन अचानक त्यसको हकवाला भएर अर्कै व्यक्ति देखापर्यो। सानेबाबु (दिलबहादुर श्रेष्ठ) ले ‘त्यो घर मेरो हो’ भनेर अड्डामा नालिस हालेर कब्जा गरे। मन्त्रीसम्म भइसकेका शक्तिशाली व्यक्ति थिए सानेबाबु। उनीसँग पौँठेजोरी खेल्ने कसको पिताम?

सानेबाबुले जयनारायणका टुहुरा छोराछोरीको पनि मुख हेरेनन्। अनि आमाले दशतिर हारगुहार गरेर सापट खोजिन्। दीपले गीत गाएर केही रकम जम्मा पारे। अनि एक लाख रुपैयाँमा बसिरहेको यो घर निखने।

हुन त, उनका अर्की आमातिरका दाजु–दिदीहरू पनि थिए। तर खै किन हो, उनीहरूले यो सकसावस्थामा त्यति चासो राखेनन्। उनीतिरका दुई बहिनी र एक भाई थिए। यसरी एकै झमटमा दीपको परिवार टाकुराबाट खसेर गडतीरमा अड्केको अवस्थामा पुग्यो।

आफ्नी आमाका उनी जेठो छोरा थिए। उमेर कलिलै थियो। तर जेठो भएपछि उमेर जति नै भए पनि परिवारको जिम्मेवारीले काँध फेर्न दिँदोरहेनछ। त्यस उमेरदेखि नै उनले जीवनमा अनेकौँ वियोगान्त मोडहरू पार गर्नुपर्यो। अनेकौँ अभाव र प्रतिकूलताको सामना गर्नुपर्यो। त्यसपछि उनको जीवनमा मात्र होइन, उनको मनले पनि खुसीको गीत गाउन मानेन।

२०३१ सालतिरको कुरा हो, बनडढेलोजस्तो भएर एउटा हल्ला व्याप्त भयो। हल्ला थियो, गायक दीप श्रेष्ठको निधनको। उनका फ्यानहरू कैयौँ दिनसम्म विलाप गरेर बसे। कति किशोरीहरू यो खबर सुनेर शोकले मूर्छा नै परे होलान। हल्ला कताबाट आएको थियो, थाहा छैन। तर त्यस हल्लाले धेरैलाई स्तब्ध र शोकसन्तप्त बनायो। त्यसबेला दीपको शोकमा मानिसले ‘कति कमजोर रहेछ भाग्य, तिम्रो सिँउदो कोर्न सकिनँ’, ‘मुटु चिरी रगत पोखेँ’, ‘म पत्थरको देवता होइन’ जस्ता गीतहरू गाउँदै हिँडे। तर उनी ज्यूँदै थिए, मृत्युको मुखनजिक पुगेर बाँचिरहेका थिए।

पहिलोपटक क्षेत्रीय भ्रमणअन्तर्गत राजा वीरेन्द्र धनकुटामा शिविर जमाएर बसेका थिए, आफ्नी रानीका साथ। स्वाभाविक थियो, राजा यसरी राजधानीबाहिरको लामो भ्रमण शिविर जमाएर बस्दा उनलाई मनोरञ्जन पनि चाहिन्थ्यो। धरानबाट गाउन दीपलाई झिकाइयो। उनलाई केही महिना अघिदेखि नै हातगोडा फतक्क गलेजस्तो हुने, थकाइ मात्र लाग्ने भइरहेको थियो। तर उनले यसलाई समान्य ठाने। उनी विरामी अवस्थामा धनकुटामा राजालाई गीत सुनाउन पुगेका थिए। दुइटा आधुनिक गीत र एउटा स्वागत गीत पनि गाइदिए।

तर यसैबीच एउटा भोजपुरी नृत्यगीतमा ढोलक बजाउनुपर्ने भयो। वास्तवमा ढोलक बजाउने जिम्मा लिएर काठमाडौँबाट सङ्गीकार प्रकाश गुरुङ गएका थिए। तर उनी जरुरी कामले बीचैमा काठमाडौँ फर्किनुपर्ने भएछ। अनि दीपले प्रकाशसितै त्यस नृत्यगीतका लागि ढोलक बजाउन सिके। जुन साँझ दीपले ढोलक बजाए, त्यसको भोलिपल्ट उनी निकै बिरामी भए। पहिला त त्यसको कारण ढोलकलाई दिएर चित्त बुझाउने प्रयत्न गरे। तर दिन जतिजति बित्दै जान्थे, उनी त्यतित्यति सिकिस्त हुन थालेपछि चाहिँ उनलाई पनि लाग्यो, अवश्य कुनै रोगले च्यापेको छ।

यता उनको स्वास्थ्यवस्थाबारे राजाका स्वकीय सचिवलाई धरानका उनका दाइहरूले जानकारी दिएछन्। ती सचिवले पनि दीपको स्वास्थ्यप्रति गम्भीर चासो लिए। सचिवले उनलाई एउटा घोडा खोजेर धरान पठाउनुअघि सल्लाह दिए, ‘तपाईं तुरुन्तै काठमाडौँ गएर डा नर्वदालाल मास्केलाई भेटेर उपचार गर्नुस्, म उनलाई भनिदिन्छु।’

डा मास्केले नै पहिलोपल्ट दीपलाई क्षयरोग भएको निदान गरे। त्यसबेला यो रोग क्षयरोगभन्दा पनि टीबीका नामले बदनाम थियो। बदनाम कुन अर्थमा भने, यो रोगले मानिसलाई समाजमा पनि बदनाम गराउँथ्यो। यो रोग लागेको मानिसलाई अछुतलाई जस्तो व्यवहार गरिन्थ्यो। त्यसैले, दीपले पनि यसको उपचार गुपचुप रुपमा गराउँदा–गराउँदै हल्लाले मृत्युकै खबर बनाइदिएछ। यसरी दीप श्रेष्ठले जीवित अवस्थामै आफ्नो मृत्युको खबर सुन्नुपर्ने नियति भोगे।

डा मास्केबाट पनि पूर्ण उपचार हुन नसकेपछि उनले धरानको घोपाक्याम्पमा त्यहीँका प्रशासनिक अधिकृतको सल्लाह र सहयोगमा उपचार गर्न थाले। उनको खकारजाँच गर्न बेलायत पठाइयो। उताबाट रिपोर्ट आउन एक महिना लागेपनि घोपाका अंग्रेज डाक्टरले उपचार सुरु गरिसकेका थिए। उताबाट रिपोर्ट आएपछि दुई महिना अस्पतालमै बेसर उपचार गरेपछि मात्र उनी घर फर्किए। तर उनलाई पूरै जाती हुन झन्डै चार वर्ष लाग्यो।

यसरी २०२८–०३२ को समय दीप श्रेष्ठ गायनबाट पूरै भूमिगत भए। यी वर्षहरूमा उनले खासै गीत गाएनन्। एक त, शारीरिक दुर्बलताले धेरै परिश्रम गर्न सक्दैनथे, त्यसमाथि आफ्नो औषधि खर्च त्यही सङ्गीतबाट चलाउनु पर्ने, तर गाएको एक पैसै नदिने आयोजकहरू मात्र फेला पर्थे। अनि यस समयावधिमा उनले गीतै गाएनन् भन्दा पनि हुन्छ। तर सबैभन्दा धेरै सङ्गीत–रचना यही कालमा गरे। ‘झीरमा उनिनु’, ‘क्षितिजको अग्लाइ’ लगायत ७०–८० वटा सर्वकालीन लोकप्रिय गीतहरूमा उनले त्यही बेला धुन भरेका हुन्। तीमध्यैका अझै धेरै गीतका धुनहरू आजसम्म उनका स्वरलिपि पुस्तिकामै मात्र अङ्कित भएर बसेका छन्।

दीपको विजय श्रेष्ठले लेखेको एउटा गीत औधी नै लोकप्रिय भयो त्यसबखत, त्यो हो, ‘साहिँली बरै चियाबारीमा।’ यो गीत लेख्दा विजयले चिया–बगान त के, चियाको बुट्टा र पातसम्म देखेका थिएनन्। दार्जीलिङबाट आएका लाहुरेसँग सोधेर जानेको कुरा थियो, ‘एक सुइरो दुई पात।’ अर्थात् चियामा एउटा सुइरो र दुईपात हुन्छ। यही आधारमा गीत लेखे विजयले, ‘एक सुइरो दुई पात टिप्नलाई, साहिँली बरै चियोबारीमा’ र दीपले गाइदिए।

चियाको बुट्टै नदेखी लेखेको यो गीतमा ‘गुराँसको फूल सिउरी’ भन्ने शब्द पनि छ। ती पनि कल्पनामै बुनिएका शब्द थिए। चियाबारीमा कहाँबाट गुराँस हुनु? त्यसको धेरै समयपछि जब उनी दार्जिलिङ गए, अनि मात्र उनले ‘चियामा एउटा सुइरो र दुइटा पात मात्र होइन, चियाको त झ्याङ नै हुँदोरहेछ, बगानैबगान हुँदोरहेछ’ भन्ने थाहा पाए।

हुन त, दीप श्रेष्ठ अहिले सुखी छन्। श्रीमती र दुई छोरी छन्, शृङ्खला र दृष्टि। यिनै छोरीका नाममा दुइटा एल्मब पनि निकालेका छन्। तर बाल्यकालदेखिका दुःखको त्यो अनुभूति आजसम्म पनि उनको हृदयबाट निस्किन सकेको छैन।

तर उनी निराश छैनन्। किनभने गायनमा यही दुःखले नै उनलाई सफलता दिएको थियो र दिइरहेको छ। जसको साथी नै दुःख हुन्छ, उसलाई दुःखसँग केको चिन्ता? १२ वर्षको उमेरदेखि आजपर्यन्त दुःखसित हातेमालो गरेर बसेका छन् दीप। गीत दुःखकै मात्र गाउँछन्। ती दुःखका गीतलाई धुनवद्ध गर्दा पनि उनी दुःखलाई इमानदारपूर्वक साथ दिन्छन् र धुन गर्दै रोइदिन्छन्।

किनभने, उनी दुःखलाई आफुभित्र आह्वान गरेर गीतमा रोइदिन्छन्। त्यो रुवाइ विरही सङ्गीत र कारुणिक स्वर भएर प्रष्फुटित हुन्छ। त्यसलाई श्रोताले आफ्नो आत्मीय लय मानेर गुनगुनाउँछन र हृदयमा सजाउँछन्। यसैमा दीप श्रेष्ठको गायकी र सङ्गीत जीवन्त भइदिन्छ।

अर्थात्, फूल रोए शीत हुन्छ, दीप रोए गीत।

प्रकाशित २६ माघ २०७५, शनिबार | 2019-02-09 10:23:25
Max TV
Max TV
Vianet

author photo

रमण घिमिरे कला–साहित्य क्षेत्रका वरिष्ठ पत्रकार हुन्

रमण घिमिरेबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...