Exclusive
त्यो समय

त्यो रेल चढेपछि कोरियो ईश्वरवल्लभको यो जीवनरेखा




तेस्रो आयाम टिमः बायाँबाट ईश्वरवल्लभ, इन्द्र बहादुर राई र वैरागी काइँला (फाइल फोटो)
तेस्रो आयाम टिमः बायाँबाट ईश्वरवल्लभ, इन्द्र बहादुर राई र वैरागी काइँला (फाइल फोटो)

‘कोठाभित्रबाट ठूलो आवाज आयो, हामी भित्र पस्दा आमाले खुकुरीले घाँटी सेरेर आत्महत्या गरिसक्नुभएको रहेछ’, ईश्वरवल्लभ त्यो दुखद क्षण सम्झिन्छन्, ‘यो घटना भएपछि पुलिस अउला भनेर पिता मुरलीधर शर्मालाई हत्तपत्त भगाइयो।’

त्यसबेला उनीहरू काठमाडौंको कालीमाटीमा बस्थे, जहाँ उनी जन्मिएका थिए। उनकी आमा राममाया पण्डित मुरलीधरकी दोस्री श्रीमती थिइन्। पिताजीले नेवार परिवारकी कन्यासँग अन्तरजातीय विवाह गरेका थिए। राममाया चाहिँ मुरलीधरको पुराणवाचनको मोहनीमा तानिएर श्रीमती हुन आएकी थिइन्। त्यसबेला अरूअरू पण्डितका जीवनमा पनि यस्ता घटना घट्थे। पुराणवाचनबाटै आसक्त भएर आफ्नी सानीआमा पनि पण्डित कोमलनाथ अधिकारीसँग दाम्पत्यमा गाँसिन गएको कथा सुनाउँथे ईश्वरवल्लभ।

पिताजी जेलबाट बाहिरी दुनियाँमा आएपछि उनीहरूलाई ‘अब त जीवन सहज होला’ जस्तो लागेका थियो। फेरि उनीहरूको परिवार सम्पन्न भयो। आमासँगै भोगेका ती कठिन आठ वर्ष बिस्तारै विस्मृतिमा जान थाले। पिताजी फेरि पुरानै दिनचर्यामा फर्किए। मुरलीधरको पुराणवाचनले फेरि गति लियो। ईश्वरको बालमन एकपटक फेरि खुसीले रमायो, उफ्रियो र नाच्यो। तर यो खुसी पनि उनको भाग्यमा धेरै दिन भोग्न लेखेको रहेनछ।

पुराणवाचनको कलाले नै तानेर पिताजीले घरमा अचानक अर्की आमा भित्र्याए। पतिको अनुपस्थितिमा त्यति बुहार्तन खेप्दा पनि एक थोपा आँसु नदेखाएकी, आफ्ना पतिको रिहाइका लागि जुद्धशमशेरलाई पटकपटक फिराद गर्न गएकी राममायाको जीवनमा यसरी अकल्पनीयरूपमा सौता खापिँदा उनको मनमा कति रेक्टर स्केलको भैँचालो गयो होला? ईश्वरवल्लभ त्यस परिस्थितिको अनुमानसम्म गर्न सक्तैनथे।

‘त्यस बखत मेरी आमामाथि कति अन्याय भयो होला म अनुमान गर्न सक्तिनँ’, उनले त्यस दिन टिलपिलाइरहेका परेलीमा आफ्नो बाहुलाको फेरो घुमाउँदै भनेका थिए, ‘कुनै पनि पतिव्रता पत्नीको जीवनमा योभन्दा ठूलो अर्को वियोग हुँदैन।’

ईश्वरले भनेका थिए, ‘हो, पिताजी प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो, ज्ञानी, प्रतिष्ठित हुनुहुन्थ्यो। हामी सबैलाई माया पनि गर्नुहुन्थ्यो। तर एउटी पत्नीका लागि सौता खाप्नुभन्दा ठूलो सजाय सायद अरू केही हुनसक्तैन।’

यस घटनापछि पति–पत्नीबीच खटपट भयो। त्यस दिन उनी आमाको छेउमै थिए। पिताजी पनि सँगै थिए। उनले आमा रिसाएकीेसम्म सम्झेका थिए। यो रिसाइ अरू दिनभन्दा अलि चर्कै थियो। आमा र पिताजीबीच लामै खटपट चल्यो। रिस र आवेगको सुरमा आमा जुरुक्क उठेर अर्को कोठामा पसिन्। एकैछिनमा केही ढलेको ठूलो आवाज आयो। उनीहरू हडबडाउँदै भित्र पसे।

‘हामी भित्र पस्दा आमाले खुकुरीले घाँटी सेरेर आत्महत्या गरिसक्नुभएको रहेछ’, ईश्वर सम्झिन्छन्, ‘एक निमेषकको अन्तरालमा यो घटना घटेको थियो।’

आमाको शरीरबाट रगतको भेल बगिरहेको थियो। कोठा रगताम्य भएको थियो। तर पनि आमाको सास सुस्तसुस्त चलिरहेको थियो। कलिलो मन, ईश्वरले सोचे– आमा बाँच्छिन्। तर यो त उनको अनुमान न थियो, जो सत्य हुनसकेन। आमाले त्यही कोठामा जीवनको अन्तिम सास फेरिन्। हठात् यस्तो घटना भएपछि सबै किंकक्र्तव्य विमूढ अवस्थामा पुगे। यो दुर्घटना भएपछि सायद छेउछाउका छिमेकीहरू पनि भेला भए होलान्। अवस्था अलि सम्हालिएपछि सायद कसैले सल्लाह दियो– पण्डितजी यहाँ बसिरहे भने प्रहरीले दुःख दिन्छ, उनलाई भगाउनुपर्छ।

अनि मुरलीधर शर्मालाई त्यहाँबाट हत्तपत्त भगाइयो। ईश्वर र विश्ववल्लभ आमाको मृत शरीर हेर्दै छटपटाइरहे।

‘धेरै पछि त्यसैको पृष्ठभूमिमा मैले लेखेको हुँ कविता– मेरी आमाले आत्महत्या गरेको देश’, ईश्वरवल्लभले खुलाए, ‘यसबारे कैयौँ घटना–परिघटनाहरू छन्, जसलाई म आफैँभित्र राख्न चाहन्छु। केही कुरा त मैले आफूभित्र पनि त राख्न पाउनुपर्छ नि।’

बढो द्रवित भावमा यसो भनेका थिए उनले। र, अन्ततः ती सारा दुखद घटनाहरू उनले आफैँसँग लिएर गए।

ईश्वरवल्लभ मुडी थिए। एउटा कवि कति हदसम्म मुडी हुनसक्छ? उनी त्यही हदसम्म मुडी थिए। उनी नम्र थिए– जति एउटा कविमा नम्रता हुनुपर्छ। उनी बुझ्नेका लागि सारै सरल र सहज व्यक्ति थिए– जुन गुण प्रायः व्यक्तिमा दुर्लभ हुन्छ। तर नबुझ्नेका लागि उनी आयामेली थिए– ‘आगोका फूल हुन्, आगोका फूल होइनन्।’

‘मलाई मारिदेउ, मलाई भाँचिदेऊ’ जस्ता गीत लेख्ने विद्रोही गीतकार–कवि थिए उनी। सायद आमाले आत्महत्या गरेको त्यो कहालीलाग्दो अनुभूति जीवनभर आफैँसँग लिएर हिँड्ने क्रममा उनी विद्रोही भए।

२०४५ सालमा स्वरसम्राट नारायणगोपालले ‘स्वर्णिम–सन्ध्या’ मा ईश्वरवल्लभको गीत ‘मेरो बेहोसी आज’ गाउनुअघि भनेका थिए– ‘ईश्वरवल्लभको गीत बुझ्न कठिन छ, ईश्वरवल्लभका गीत बुझ्न उनलाई पनि बुझ्नुपर्छ।’

नारायणगोपालको मनमा यो कुरा हठात् आएको थिएन। ईश्वरवल्लभलाई बुझेर नै उनले त्यसो भनेका थिए।

उनका पिता त्यस बेलाका कहलिएका पुराणवाचक थिए। पण्डित मुरलीधर शर्मा भनेपछि त्यसबेलाको राजधानीमा नचिन्ने शिक्षितवर्गका व्यक्तिहरू विरलै भेटिन्थे। उनी पुराणवाचनसँगसँगै राणाविरोधी अभियानमा लागे। सहिद शुक्रराज शास्त्री, धर्मभक्तहरूसँग पिताजीको राम्रो हिमचिम थियो। कवि ईश्वरवल्लभ मुरलीधरका जेठा छोरा थिए। राणाविरोधी आन्दोलनको आगो भित्रभित्रै सल्किरहेको थियो। त्यही बेला मुरलीधर गान्धीलाई भेट्न भारतको वृन्दावन पुगे। ईश्वरवल्लभ पनि पिताजीसँग डोहोरिँदै त्यहाँ पुगेका थिए। यो विसं १९९६ सालको कुरा हो। त्यहाँबाट फर्केने क्रममा थानकोट आइपुग्नासाथ राणाका सिपाहीले मुरलीधरलाई गिरफ्तार गरेर सीधै जेल चलान गरे। पिताजीलाई जन्मकैदको सजाय सुनाइयो।

त्यतिबेलासम्म कान्छो भाई विश्ववल्लभ गर्भमा थिए। तर स्वतन्त्रवल्लभ चार वर्षका भइसकेका थिए। पिताजी जेलमै हुँदा स्वतन्त्रवल्लभको आकस्मिक निधन भयो। अनि उनकी आमा राममायाको जीवनमा कहालीलाग्दा दिनहरू सुरु भए। एक त पति जेलमा थिए, त्यसमाथि काखको छोरा अचानक बित्दा उनको हृदय कति कहालियो होला? अनुमान मात्र गर्न सकिन्छ, व्यक्त गर्न सकिँदैन।

आम्दानीको मूल स्रोत मुरलीधर जेलमा, अनि दुई छाकको गर्जो आफैँमा उक्ली नसक्नु पहाड भएर राममायाको सामु उभिएको थियो। त्यसपछि राममाया र ईश्वरवल्लभहरूले दुःखका अनेकौँ आयामहरूसँग साक्षात्कार गर्नथाले। प्रकाण्ड विद्वानकी श्रीमती भएर पनि आमा कुल्ली काम गर्न बाध्य भइन्। कालीमाटीमा हृषीकेश शाहका पिताको घर निर्माण हुँदैथियो। राममायाले त्यहाँ सुर्की फोर्ने (इँटा र ढुङ्गालाई फोडेर धूलो पार्ने) काम गरिन्। उनका हातभरि ठेला उठे, पैताला चरचरी चिरिए। तर जब उनी दुई छोराको अनुहार हेर्थिन्, ममत्व बाढी भएर उर्लिन्थ्यो। अनि जति नै कष्टसाध्य जीवन बाँच्नुपरे पनि त्यसलाई सामना गरेरै बाँच्ने सङ्कल्प गरिन्। त्यसैले यति संघर्षपूर्ण र निसहाय नियति भोग्नुपर्दा पनि उनले छोरालाई पढाउन छोडिनन्। ईश्वरवल्लभलाई दरबार हाइस्कुलमा भर्ना गरिदिइन्।

उनले पतिको मुक्तिका लागि पनि आफ्नो बलबुताले भ्याएसम्म प्रयत्न गरिरहिन्। दिनहुँजसो श्री ३ जुद्धशमशेरकहाँ फिराद गर्न टुँडिखेल धाइन्। काखीमा विश्ववल्लभलाई च्यापेर ईश्वरवल्लभलाई डोर्याउँदै त्यहाँ गएर आमा फिराद गर्थिन्– महाराज, हजुरको जय होस्, मेरा पति जेलमा हुनहुन्छ। उहाँलाई क्षमादान बक्सियोस् प्रभू। हजुरको कल्याण हुनेछ।

‘मेरी आमा यति कष्टसाध्य जीवन खेपेकी महिला हुनुहुन्थ्यो’, वल्लभ भन्थे, ‘पिताजी आठ–आठ वर्ष जेल बस्दा मेरी आमाले यति कष्टकर जीवन बिताउनुभयो, जसको चर्चा गर्न मसँग शब्द नै छैनन्।’

ईश्वरवल्लभले दरबार हाइस्कुलमा कक्षा आठसम्म अध्ययन गरे। यसैबीचमा आमाको फिरादले हो या राणाको मनको कुनै कुनामा बाँकी रहेको करुणा पलाएर हो, २००२ सालमा पिताजी आममाफी पाएर जेलमुक्त भए। अनि किन हो मुरलीधरले उनलाई त्यस विद्यालयबाट निकालेर इलाहावाद बोर्डबाट प्राइभेट परीक्षा दिने व्यवस्था मिलाइदिए र वल्लभले विसं २००६ सालतिर त्यो परीक्षा उत्तीर्ण गरे।

त्यसपछि पनि पिताजीप्रतिको अगाध आस्था र आदरमा कुनै कमी आएन। पिताजी त्यसरी नै छोराहरूलाई माया गर्थे। तर आमाले आत्महत्या गरेपछि ईश्वरलाई काठमाडौंमा एक निमेष पनि बस्न मन लागेन। इलाहवादबाट उनले म्याट्रिक गरेकाले त्यो ठाउँ उनका लागि त्यति अपरिचित थिएन। त्यसैले उनी इलाहवादतिर लागे। त्यहाँ उनले ट्युसन पढाउँदै आफूले पनि पढे। पिताजीबाट कन्जो दाम सहयोग लिएनन्। पाँच–छ वर्ष इलाहावाद बसेर उनले संस्कृतमा उत्तरमध्यमा पास गरे। संस्कृत भाषामा त पिताजीकै प्रभावले उनमा राम्रो पकड थियो नै साथै इलाहवादबाट शिक्षा हासिल गरेर काठमाडौँ फर्किंदा उनी निकै शिक्षित भइसकेका थिए। तर आमा नेवार परिवारकी भएकाले ब्राह्मणले ब्राह्मण स्वीकार नगर्ने अनि नेवारले नेवार नमान्ने। उनी एक किसिमले सम्प्रदायविहीन हुनपुगे। अनि उनी यस जातीयताको द्विविधाको मारमा लामो समयसम्म पिल्सिइरहे।

विसं २०१०–०११ सालतिरको कुरा हो। ईश्वरवल्लभ इलाहवादबाट फर्किँदै गर्दा पटनामा रामहरि जोशीसँग उनको जम्काभेट भयो। वास्तवमा त्यही जम्काभेटले उनको जीवनलाई रूपान्तरित गरिदियो। जोशी उनका पिताजीका समकालीन थिए। अनि जोशीले कताबाट आएको, कहाँ जान लागेको भन्ने जिज्ञासा राखे। त्यति बेला ईश्वरवल्लभ एउटा अनिश्चित मोडमा उभिएका थिए। कता जाने भन्ने निर्णय गर्न सकिरहेका थिएनन्। जोशीले उनलाई आफूसँगै लिएर नेपाल फर्के र सर्लाही मलंगवाको हाइस्कुलमा शिक्षकको काम थिए। जोशी त्यहाँका हेडमास्टर थिए।

ईश्वरवल्लभ भन्थे, ‘मेरो जीवनमा रामहरि जोशी र पछि इन्द्रबहादुर राईको सबैभन्दा बढी प्रभाव रह्यो।’

उनी त्यहाँ पनि लामो समय बसेनन्। दुई वर्ष काम गरेपछि घर फर्किने इच्छा भयो र भारतको कटिहार पुगे। त्यहाँ दुइटा बाटा थिए– एउटा रक्सौल हुँदै काठमाडौँ आउने र अर्को अन्यत्र कतै जाने। ईश्वरवल्लभ टिकट काट्ने लाममा थिए, कसैले दार्जिलिङको कुरा झिक्यो। दार्जिलिङबारे त उनले काठमाडौँमा पनि प्रशस्त सुनेका थिए। उहिल्यै पिताजीसँग वृन्दावनमा गान्धीजीलाई भेट्न जाँदा उनले त्यहाँ दार्जिलिङका केही ठिटाहरूलाई पनि भेटेका थिए। दार्जिलिङमा नेपाली भाषा थियो र नेपालीहरूकै बाक्लो बसोबास पनि। पारसमणि प्रधान, धरणीधर शर्माजस्ता दिग्गज विद्वान्हरू त्यहीँ थिए।

‘अनि मैले नेपाल फर्किने इच्छालाई थाती राखेँ’, उनले भनेका थिए, ‘पढेकै छु, अङ्ग्रेजी पनि अलिअलि जानेकै छु, दार्जिलिङ गएर त्यहीँ कुनै स्कुलमा शिक्षक काम गर्छु।’

कटिहारबाट उनी काठमाडौँको ठीक विपरीत दिशाको रेलमा चढे र सिलगुढी हुँदै दार्जिलिङ पुगे। यो २०१३–०१४ सालको कुरा थियो। दार्जिलिङमा ओलिँदा पहिलोपटक उनले अनुभव गरेको कुरा थियो– जाडो। उनी त मधेशबाट पहाड उक्लिएका थिए। कुर्ता–कमिजबाहेक अर्को न्यायो कपडा उनीसँग थिएन। दार्जिलिङको मौसम। हरघडी पानी परिरहने। झन् अप्रिल महिनाको झरीसँग उनको साक्षात्कार भयो। अनि कुर्ता–कमिजभित्रको उनको क्षीणकाय शरीर यसरी काम्यो, जाडोले उनी एकै डल्लो परे। यत्तिकैमा एकजना कालाकाला वर्णका मानिस उनीसामु दैव भएर प्रकट भए। उनले ईश्वरवल्लभलाई आफ्नो घरमा लिएर गए र तात्तातो चियाले सत्कार गरे। उनले दार्जिलिङ पसेपछि खाएको पहिलो चिया नै त्यही थियो।

‘त्यो चियालाई म अहिले पनि सम्झिन्छु, त्यसले मेरो जीवन र शरीर दुवैलाई सहज र न्यानो बनायो’, उनले भनेका थिए।

ती व्यक्तिले उनलाई राती खाना पनि खुवाए र एउटा गोदामजस्तो ठूलो हलमा सुत्ने व्यवस्था गरिदिए। ती लुगा सिलाउने काम गर्दा रहेछन्। र, ती कालावर्णका परियार थरका मानिसले उनको भविष्यको रेखाङ्कन गरिदिए। उनले एक बिहान ईश्वरवल्लभलाई डोर्याउँदै टर्नबुल हाइस्कुल पुर्याए र त्यहाँका हेडमास्टरसँग चिनाजानी गराइदिए। हेडमास्टरले भोलिपल्ट स्कुलमा आउनु भनेर बिदा गरे। उनी भोलिपल्ट बिहानै स्यूस्यू गर्दै टर्नबुल हाइस्कुल पुगे। हेडमास्टरले उनलाई सीधै संस्कृत पढाउने कक्षामा छिराइदिए।

स्कुलमा पढाउन जाँदा बकाइदा सुटेडबुटेड भएर जानुपथ्र्यो। किस्ताबन्दीमा दुई–तीन दिनभित्र सुट पनि तयार भयो। उनी पहिलोपटक त्यहाँ शनिबार पुगेका थिए, मंगलबारदेखि टाईसुटमा सजिएर संस्कृत र नेपाली पढाउन थाले। त्यहाँ उनले गुमानसिंह चामलिङ, पिटर जे कार्थकलगायतलाई पढाए। अनि जीवन अलि सहज हुनथाल्यो। मासिक छ सय पचास रुपैयाँ तलव थाप्न थाले। त्यसले जीवन चलाउन मनग्य हुन्थ्यो।

ईश्वरवल्लभ

‘इन्द्रबहादुर (आईबी) राई त्यो स्कुलको हेडमास्टर भएका थिए कुनै बेला’, उनले भनेका थिए, ‘तर म त्यहाँ जाँदा आईबी थिएनन्। संयोगले म जसरी नेपालबाट भागेर दार्जिलिङ पुगेको थिएँ, आईबी त्यसैगरी दार्जिलिङबाट भागेर इलामको कर्फोक हाइस्कुलमा हेडमास्टर हुन पुगेका रहेछन्।’

दार्जिलिङमा उनले सुरुमा कविताभन्दा गद्यमा बढी कलम चलाए। दार्जिलिङबाटै प्रकाशित हुने ‘गोर्खा’ र बनासरबाट प्रकाशित हुने ‘दीपक’ मा उनका कथा, निबन्धहरू छापिन थाले। इन्द्रबहादुर राई पछि फेरि पनि टर्नबुल हाइस्कुलमै फर्के। यता कवि वैरागी काइँलासँग ईश्वरवल्लभको घनिष्ट सम्बन्ध भइसकेको थियो।

‘ईश्वरवल्लभका सुरुका कविताभन्दा कथा र गद्यलेखन मलाई प्रभावकारी लाग्थे। हामी दार्जिलिङका साहित्यगोष्ठीहरूमा बाक्लै सहभागी हुनथाल्यौँ’, ईश्वरवल्लभबारे सहयात्री वैरागी काइँला भन्छन्, ‘बनारसको इलाहावादमा पढेकाले होला उनको हिन्दी भाषामा पनि राम्रो पकड थियो। नेपालमा सर्लाही बसे तापनि मैथिली भन्दा अवधी भाषा राम्रो थियो।’

वल्लभ र काइँला दुई मूर्धन्य साहित्यकार भेट भएपछि साहित्यिक गतिविधि अलि सक्रियरूपमै हुनथाल्यो। आर्यसमाजीहरूको एउटा प्रेस थियो, त्यसले ‘जनदूत’ नामक २०–२५ पृष्ठको सानो पत्रिका निकाल्थ्यो। वल्लभ र काइँला ‘जनदूत’ मार्फत् झन् घनिष्ट भए। उनीहरूले दार्जीलिङमै हातले लेखेको पहिलो भित्तेपत्रिका प्रकाशित गरे, चोकबजारको भित्तामा।

२०१५ सालको चुनावको प्रचारका क्रममा विश्वेश्वरप्रसाद कोइराला सिमापार गरेर दार्जिलिङ पुगेका थिए। त्यसबेला इलामदेखि ताप्लेजुङ पुग्नलाई दार्जिलिङ हुँदै पशुपतिनगरको बाटो भएर जानुपथ्र्यो। कोइराला त्यहाँ पुगेको अवसरमा उनको सम्मानमा एउटा बृहत् कार्यक्रम राखियो, गोर्खा दुःख निवारक सम्मेलन (जीडीएनएस) को हलमा। कोइरालाले आफ्नो मन्तव्यका क्रममा समकालीन विश्वसाहित्यमा आएको परिवर्तन र नवीनतम प्रवृत्तिबारेमा धेरै जानकारी गराए। तत्कालीन विश्वसाहित्यलाई धेरै नजिकबाट अध्ययन गरिसकेका उनले त्यहाँ आधुनिक साहित्यको कुरा गरे, अत्याधुनिक साहित्यको भाषा, शैली र प्रवृत्तिमाथि बढो नवीनतम कुरा बोले। उनले आफ्नो अभिभाषणमा अस्तित्ववाद र विसंगतिवादका कुरा गर्दै केही वर्षअघि नोवेल पुरस्कार पाएको अल्बेयर कामुको ‘प्लेग’ का साथै ‘स्ट्र्यान्जर’ उपन्यासका पात्रको पनि चर्चा गरे। कोइरालाले पहिलोपटक त्यहीँ भनेका थिए, ‘राजनीतिमा म प्रजातन्त्रवादी हुँँ र अर्थनीतिमा पक्का माक्र्सवादी हुँ। तर साहित्यमा अराजकतावादी हुँ।’

वैरागी काइँलाले वार्तामा लेखेजस्तै कालान्तरमा बीपीको यो विचार निकै प्रख्यात बन्यो।

बीपीको मन्तव्यले वल्लभ र काइँला लगायतको दिमाग भुट्यो। उनीहरूको विचारलाई हल्लाइदियो। अनि उनीहरूमा केही नौलो गर्ने सोच जागरण भयो। काइँलाले आफ्नै कोठामा ‘कोठेगोष्ठी साहित्य प्रतिष्ठान’ खोले र यी दुई कविहरू त्यही कोठामा कोठेगोष्ठी गर्नथाले। उनीहरू ‘केही नयाँ गरौँ’ भन्ने भावनाले निरन्तर भुटभुटिए र केही न केही गतिविधि गरिरहे। यसै बेला हो उनीहरूले ‘केही नयाँ गर्ने’ अवधारणाअन्तर्गत विद्यालयस्तरीय रामायण–वाचन प्रतियोगिता पनि आयोजना गरे।

बीपीको विचारबाट प्रभावित भएर नयाँ ढङ्गको लेखनलाई अघि सार्नुपर्छ भनेर काइँला प्रकाशक र ईश्वरवल्लभ सम्पादक भएर सन् १९६१ मा ‘फूल पात पत्कर’ भन्ने पत्रिकाका दुई अङ्क पनि निकाले।

त्यसबेला ईश्वरवल्लभ काइँलाकै कोठामा मिलेर बस्न थालेका थिए। काइँला आफ्ना मीतबा मन्तुलाल छेत्रीकहाँ बस्थे र तिनकै होटलमा खान्थे। वल्लभ पनि यसैमा मिसिए। मन्तुलाल चाहिँ जेठी छोरी कमललाई ट्युसन पढाउने शिक्षक खोजिरहेका थिए। अनि काइँलाले अलिअलि आर्थिक गर्जो पनि टर्ने भन्ठानेर मीतबालाई भनेर वल्लभलाई कमलको ट्युसन मास्टर राखिदिए। ट्युसन पढाउँदापढाउँदै वल्लभ र कमलबीच प्रेम सम्बन्ध प्रगाढ भएछ, जुन सम्बन्ध विवाह–सूत्रमा बाँधिन पुग्यो।

यो प्रसङ्मा वैरागी काइँलाले भनेका छन्, ‘मेरी मीत बहिनीले वल्लभलाई मन पराई त हालिन्। बाबुआमालाई पनि आफ्नी असाध्यै प्यारी छोरीको कुरा काट्न सकस। फेरि नेपालका प्रख्यात पण्डितका छोरा वल्लभ। तर मैले कोठामा साथी राखेको, बहिनीलाई ट्युसन पढाउन सिफारिस गरेकोे मान्छेले छोरी मागेपछि मीतबाबु र मीतआमा मसँग रिसाउनु भयो। जे होस् मेरी मीतबहिनीसँग वल्लभको विवाह भयो। त्यसपछि पनि वल्लभ र मेरो खाने भान्छाघर त एउटै भयो तर सुत्ने कोठा अलगअलग।’

पछि उनका भाइ विश्ववल्लभले पनि कमलकी बहिनी हरिसँग बिहा गरे।

वल्लभ विचित्र स्वभावका थिए। काइँलाका भनाइमा कसैसँग पटक्कै नदब्ने, सम्झौता पनि नगर्ने। हतारमा भन्दा त यस्तो बानीलाई हामी घमण्डी वा एकलकाँटे स्वभावको भन्छौँ। तर उनी थिए, अलि अप्ठ्यारा।

बायाँबाट ईश्वरवल्लभ, इन्द्रबहादुर राई र वैरागी काइँला

ईश्वरवल्लभलाई लोभ्याउने बागबजारको त्यो झ्याल
प्रसङ्ग हो, कोठेगोष्ठी साहित्य–प्रतिष्ठानको आयोजनामा भएको एउटा साहित्यिक गोष्ठीका लागि वल्लभले लेखेको निम्तोपत्रको। यो २०१८ साल अन्त्यतिरको कुरा हो, जतिबेला तेस्रो आयामको खाका बुनिएकै थिएन।

त्यसबेलासम्म इन्द्रबहादुर राई, ईश्वरवल्लभ र वैरागी काइँला संयुक्त भइसकेका थिए। कोठेगोष्ठी साहित्य–प्रतिष्ठानको आयोजनामा एउटा गोष्ठी गर्ने निर्णय भयो। निम्तो पत्र लेख्ने र छपाउने कामको जिम्मेवारी वल्लभलाई दिइयो। सबै काम हतारहतार गर्नुपथ्र्यो। त्यतिबेला वल्लभले निम्तोपत्रको व्यहोरोमा के लेखे भन्नेमा पनि कसैले ध्यान दिएन। जब निम्तोपत्र छापिएर आयो र बाँड्ने बेला भयो अनि त्यसको व्यहोरा पढेर राई र काइँला दुबै चकित भए। तर अब त्यसलाई सच्याउने समय पनि थिएन। त्यतिकै बाँडियो।

वल्लभले लेखेको निम्तोपत्रको व्यहोरा यस्तो थियो– कविगोष्ठीमा बुद्धि भएका र कविता बुझ्नेले मात्र आउनू। नबुझ्नेले नआए हुन्छ। हामीलाई बुझ्ने श्रोता चाहिन्छ, भीड होइन। भीडतन्त्रको हामी विरोधी छौँ।

निर्धारित दिन र समयमा उनीहरू तीनैजना जम्मा भए जीडीएनएसको सभाकक्षमा। र आमन्त्रित सहभागीहरूलाई धेरै बेर पर्खेर बसे। अन्त्यमा जम्मा तीनजना व्यक्ति मात्र आए, त्यो पनि उदास अनुहार बनाएर। तीमध्ये एक थिए– प्रसिद्ध लेखक, कथाकार जी. छिरिङ्ग। छिरिङले मन्तव्यका क्रममा एकदमै जङ्गिएर भने, ‘यो बुद्धि हुनेले मात्र सुन्ने कविगोष्ठी रे, होइन? बुद्धि नहुने, कविता नबुझ्ने हामीलाई किन निम्तोपत्र पठाएको त? कसले सुन्छ नबुझिने कविता तिमीहरूको? को हौ तिमीहरू आफैँ मात्र जान्ने र बुझ्ने भन्नेहरू? भीड नचाहिने रहेछ, किन बोलाएको त मानिसहरू?’

छिरिङले यति भनेपछि ती तीनैजना कार्यक्रम बहिस्कार गरेर हिँडे। यी तीनजना अवाक् भएर उनीहरू गएको टुलटुलु हेरिहे।

योभन्दा अघि पनि वल्लभले दिल्लीबाट प्रकाशित हुने एउटा पत्रिकाका सम्पादकलाई यसरी नै झोक्किएर पत्र पठाएका थिए। वास्तवमा वल्लभ बहुप्रतिभाशाली थिए। माथि नै उल्लेख भइसक्यो– उनी हिन्दी र अवधी भाषामा पनि राम्रो पकड भएका व्यक्ति थिए। दिल्लीका ती सम्पादकले वल्लभको पत्रिकाका लागि हिन्दीमै एउटा रचना पठाएका थिए। तर छापिएन। बल्लभले ती सम्पादकलाई उल्टै कडा भाषामा गाली गरेर पत्र पठाए। सम्पादकले पनि त्यस्तै भाषामा उत्तर दिए। यस्ता मुडी र अनौठो स्वभावका थिए कवि ईश्वरवल्लभ, आफ्नो मान्यताबाट एक इन्च पनि यताउता नहल्लिने। यस्तै स्वभावले गर्दा टर्नबुल हाइस्कूलबाट पनि उनले राजीनामा गर्नुपरेको थियो।

सरकारी कलेजमा पढिरहेका बैरागी काइँला त्यसबेला क्षयरोगले ग्रस्त भएर डा. जी.एस. गुरुङको उपचार र निगरानीमा देशबन्धु चेस्ट क्लिनिकमा भर्ना भएका थिए, विसं २०१९ को हिउँदमा। आईबी र ईश्वरवल्लभ भेट्न आइरहन्थे। त्यसपछि यी तीनजना घनिष्ट हुनपुगे।

एक दिन बिरामी काइँलालाई हेर्न आएका बखत आईबीले भने, ‘केही नयाँ थोक गर्नुपर्छ, नयाँ पाराको काम।’

काइँला देशबन्धु चेस्ट क्लिनिकको ओछ्यानमै थिए। उनीहरूबीच साहित्यमा नयाँपनमाथि सधैँ विमर्श हुन्थ्यो। त्यस दिन बिहान ‘च्याप्टो’ साहित्यविरुद्ध ‘डल्लो’ साहित्य लेखनका लागि पत्रिका निकाल्ने कुरा भयो। तीनजनामध्ये अलि हुनेखाने काइँला नै थिए– जमिनदार डबल सुब्बाका छोरा। अनि अर्थको चाँजोपाँजो मिलाउने र पत्रिकाको न्वारान गर्ने दायित्व पनि उनैलाई जिम्मा आइलाग्यो। वल्लभले भनेका थिए, ‘बिहान पत्रिकाको नाम काइँलाले राख्ने भनेका थियौँ, दिउँसोको भेटमा काइँलाले नामसमेत सोचिसकेछन्– ‘थर्ड डाइमेन्सन’। अनि यसैलाई नेपालीकरण गरेर जन्मियो– ‘तेस्रो आयाम पत्रिका।’

यसरी ‘तेस्रो आयाम’ को पहिलो अङ्क प्रकाशित भयो– असार, २०२० मा। त्यसमा ईश्वरवल्लभ र वैरागी काइँलाका दुई–दुईटा कविता छापिए। वल्लभका ‘आयतनमा जिन्दगी’ र ‘बन्द कुहिरोमा नानीका पाइला’ कविता प्रकाशित भए भने काइँलाका ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसँग’ र ‘साँझः रेखाचित्र’ कविता प्रकाशित भए। काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसँग’ कविता आजपर्यन्त चर्चित छ। राईको ‘काजु, बदाम र ब्ल्याकआउट’ कथा प्रकाशित भयो। त्यस अङ्कमा अगमसिंह गिरीको ‘चिहान यहाँ बोलिरहेछ’ कविता पनि प्रकाशित थियो।

जम्माजम्मी २० पृष्ठको ‘तेस्रो आयाम’ मा आईबी राईले लेखेको २० पङ्क्तिको पहिलो अङ्कको सम्पादकीय नै ‘तेस्रो आयाम’ को दर्शन बन्यो। सम्पूर्णताको दर्शन र समग्रताको लेखनबारे आईबी राईको त्यस विचारोत्तेजक सम्पादकीय आयामिक लेखनको आधारशिला बन्नपुग्यो।

यसरी तेस्रो आयामका जम्मा छवटा मात्र अङ्क प्रकाशित भए। वल्लभका भनाइमा ‘तेस्रो आयाम’ को आरम्भदेखि पछिसम्म नै उनीहरूले चर्को विरोधको सामना गर्नुपर्यो। अन्ततः यही विरोधले नै नेपाली साहित्यमा ‘तेस्रो आयाम’ लाई स्थापित गरायो पनि। उनीहरू तीनै जनामा एउटा अर्कै, नयाँ सोच आइसकेको थियो।

‘एउटा मानिस शङ्कराचार्य पनि हुनसक्छ, पण्डित, शिक्षक, राजनीतिज्ञ, बाबु–आमा, सबै हुनसक्छ। यो सबै जोडेर पो सग्लो मानिस हुनसक्छ भन्ने हाम्रो अवधारणा थियो’, तेस्रो आयामबारे वल्लभले भनेका थिए, ‘यो नयाँ झङ्कारले मानिसलाई छुनथाल्यो। अनि परम्परित राग अलाप्दै आएका प्रतिष्ठित कवि–लेखकहरूबाट विरोध हुनथाल्यो।’

यसको अगुवा विरोधीमा थिए, स्वयम् प्रतिष्ठित कवि अगमसिंह गिरी। त्यसबेलाको दार्जिलिङको नेपाली साहित्यमा अत्यन्त सम्मानित, शसक्त र लोकप्रिय कवि थिए, अगमसिंह गिरी। बेलुकातिर रक्सी खाएर खुट्टा लरबराउँदै हिँडे पनि उनले मातेर कसैको बिझ्याइँ गरेनन् र कोहीसँग झगडा पनि गरेनन्। वल्लभले जहिलेसम्म गिरीलाई देखे, हरेकचोटि गिरी दौरा–सुरुवाल र कोटमा ठाँटिएका भेटिए। कवि भनेर नचिन्नेले पनि गिरीको यो छवि एकपटक देखेपछि फेरि कहिल्यै भुल्दैनथे। उनी स्थानीय एउटा हाइस्कुलका हेडमास्टर थिए। मातृक छन्दमा कविता लेख्थे। अम्बर गुरुङले आफ्नै सङ्गीतमा उनको ‘नौलाख तारा’ गाइदिएपछि त झन् गिरी दार्जिलिङमा अझ मानक व्यक्तित्वका रूपमा स्थापित भएका थिए। यिनै अगमसिंह गिरीले ‘तेस्रो आयाम’ विरुद्ध मोर्चाबन्दी गरिदिएपछि वल्लभहरूलाई सुरुमा निकै कठिन परिस्थितिसँग सामना गर्नुपर्यो। तर उनीहरू योजना बनाएरै आयमेली आन्दोलनमा लागेका थिए, खुट्टा कमाएर मोर्चाबाट भागेनन्। बरू अझ नयाँनयाँ बान्की र स्वरूपहरूमा आफ्ना सिर्जनाहरू उमार्न थाले। अन्ततः गिरीहरूको विरोधले उनीहरूलाई चर्चित बनायो र निरन्तर नवीनतम सिर्जनाहरूले स्थापित पनि गरिदियो।

ईश्वरवल्लभको जीवनमा स्थायी जीवनवृत्तिको माध्यम कहिल्यै जुटेन। यसमा पनि उनको कसैप्रति नझुक्ने र आफ्नो मान्यताविपरित सम्झौता नगर्ने स्वभावले अहम् भूमिका खेल्यो। तर पनि नेपाल आएपछि उनी शाही नेपाल सांस्कृतिक संस्थानमा जागिरे भए। वास्तवमा ईश्वरवल्लभ भन्ने व्यक्तिले नजानेको र नगरेको कुनै काम छैन होला सायद। कहाँ दार्जिलिङमा ‘तेस्रो आयाम’ को शङ्खनाद गरेर आएका मानिस, कहाँ चलचित्रमा काम गर्न पुगे। सुन्दा अनौठो लाग्छ। तर उनले त्यहाँ पनि काम गरेरै देखाए। यादव खरेल शाही नेपाल चलचित्र संस्थानका महाप्रबन्धक थिए। उनले ईश्वरवल्लभको खुबी बुझेर त्यहाँ जागिर दिए।

वल्लभ भन्थे, ‘मलाई सञ्चारजगत्मा ल्याउने मानिस नै यादव खरेल हुन्।’

उनले चलचित्र संस्थानमा १४ महिना काम गरे। उनलाई चलचित्रको प्रविधि थाहा थिएन तर सिके, जाने र गरे। नेपालमा त्यतिबेला ३९ वटा हल थियो। उनले ती सम्पूर्ण हलहरूको निरीक्षण गरेर प्रतिवेदन प्रस्तुत गरे। चलचित्रका बारेमा समीक्षा लेखे।

त्यहाँको जागिर सकिएपछि उनी जगदीश घिमिरेको आग्रहमा परिवार नियोजन हेर्ने संस्था सीआरएस प्रोजेक्टमा आवद्ध भए र विभागीय प्रमुख भएर दुई वर्ष काम गरे।

‘त्यहाँ अझै काम गर्थें होला तर एकजना दरबारिया हाकिमसँग कुरा मिलेन र छोडिदिएँ’, उनले कतै भनेका छन्।

उनी केही समय स्वतन्त्र लेखनबाटै जीविका चलाउँछु भनेर कम्मर कसेर लागे। त्यही बेला फेरि यादव खरेलकै सिफारिसमा जनसङ्ख्या आयोगको ‘टुकी’ पत्रिकाको सम्पादन गर्न थाले। स्वाभाविक छ, जहाँ ईश्वरवल्लभ हुन्छन्, त्यहाँ उनका मान्यता र विचार पनि हुन्छन्। ती मान्यता र विचारमाथि कसैले प्रहार गर्ने चेष्टा गर्यो भने वल्लभ भोलि के गर्ने भन्ने सोच्दैसोच्दैनथे। सम्झौता उनका लागि अपराध बराबर हुन्थ्यो। जनसङ्ख्या आयोगका एकजना सचिवसँग उनको कुरा मिलेन, अनि आफैले बालेको ‘टुकी’ लाई त्यत्तिकै छोडिदिएर त्यहाँबाट पनि निवृत्त भए। २०४६ सालको जनआन्दोलन सफल भएपछि फेरि उनको जीवनले आर्थिक र प्रतिष्ठाका दृष्टिले पनि अलि मानमनितो पायो। उनी नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका सदस्य हुनपुगे। उनका सहधर्मी वैरागी काइँला पनि उनीसँगै त्यहाँ प्राज्ञ गए।

उनकै सहकर्मी वैरागी काइँलाले भनिसकेपछि उनी कति भावुक र मुडी कवि थिए भन्नेबारे थप भनिरहनु पर्दैन। खासमा उनी थिए त मनका मालिक। मनका कविता थिए र बोल्थे कविताकै भाषामा। २०४० सालको आसपासको कुरा हो। हामी बागबजारमा जीवन आचार्यको ‘डिजाइन राइटर्स’ मा डेरा जमाएर बस्थ्यौँ। प्रायः ईश्वर दाइ पनि त्यहाँ आइरहन्थे। जीवनको ‘डिजाइन राइटर्स’ बाट पद्मकन्या कलेजअगाडिको मूल सडक प्रस्ट देखिन्थ्यो। कहिलेकाहीँ रातभरिको ‘ह्यङ्ओभर’ मेटाउन कवि हरिभक्त कटुवाल पनि सडकछेउको पेटीमा लम्पसार भेटिन्थे। एक दिन जीवनले अफिस सार्ने कुरा गरे। ‘भाडा महँगो भयो, अलि कुनातिर कोठा खोजेर सर्नुपर्यो’ भने।

जीवनको कुरा सुनेर वल्लभ दाइ जङ्गिए, ‘तपाईंले के कुरा गर्नुभएको जीवन भाई। तपाईंले जति नै राम्रो कोठा खोजे पनि यो झ्याल पाउनुहुन्न।’

हामीले वल्लभ दाइका कुरा सुन्यौँ तर बुझेनौँ। रविन नेपाली, राजेन्द्र शलभ र विधान आचार्य पनि सँगै थियौँ। हामी सबैले उनको अनुहारमा हेर्यौँ। अनि वल्लभ दाईले जीवनको ढाडतिर फर्केको उत्तरतिरको झ्याल खोले र एकपटक परपरसम्म दृष्टि गोचर गरे। र, भने, ‘जीवन भाई एक दिन जनताले यहाँको शासकलाई लखेट्ने छन्। त्यस दिन त्यो शासक खालीखुट्टा यही बाटो भएर भाग्दै जाने छ। त्यो दृश्य यहाँबाट भन्दा प्रस्ट अरू कुन झ्यालबाट हेर्नू? त्यसैले यो कोठा सर्ने विचार त्यागिदिनूस्।’

उनी विद्रोही कवि थिए र त्यस दिन पनि त्यो विद्रोह मुखरित भएको थियो। आज ईश्वर दाइ छैनन्। तर कुनै दिन उनले जीवनको झ्यालमा उभिएर गरेको घोषणा कालान्तरमा यथार्थ हुनपुग्यो। त्यो झ्याल आज पनि बागबजारबाट मूल सडकतिर सबुत चिहाइरहेछ। 

प्रकाशित १२ माघ २०७५, शनिबार | 2019-01-26 10:26:52
Max TV
Max TV
Vianet

author photo

रमण घिमिरे कला–साहित्य क्षेत्रका वरिष्ठ पत्रकार हुन्

रमण घिमिरेबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण...

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।