त्यो समय

प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा



Kshamadevi Group


जीवन शर्मा
जीवन शर्मा

‘बन्दुक उचालेको शक्तिलाई सोध्नूस्। ती हरेक (मााओवादी) योद्धाले हाम्रा गीतबाट प्रेरित भएर बन्दुक उचालेका थिए, गोली ठोकेका थिए।’

गीत–संगीतमार्फत् वामपन्थी विचारको पक्षमा जनमत बनाउँदै हिंडेका गायक तथा सङ्गीतकार जीवन शर्मा रक्तिम सांस्कृतिक अभियानको अध्यक्षका रुपमा आफुलाई चिनाउन चाहन्छन्। दशौं वर्षदेखि सर्वसाधारणले टिप्न सक्ने भाकामा गीत गाउँदै आएका शर्माको छवि त्यसैले ‘जनताका लागि जनताको गीत गाउने’ गायकका रुपमा बनेको छ। उनले गाएका दर्जनौं गीत श्रोताका जिब्रोका बोली भएका छन्। गीत मार्फत आफुले माओवादी जनयुद्धमा जनतालाई बन्दुक उचाल्ने जोश भरेको उनको दावी छ। यसपाली नेपालखबरको ‘त्यो समय’ स्तम्भमा तिनै जनगायक जीवन शर्मासँगको यो वार्ताः

तपाईं रक्तिम सांस्कृतिक अभियानसँग सम्बद्ध हुनुुहुन्छ हैन?
हो। रक्तिमको अध्यक्ष छु अहिलेसम्म।

रक्तिम सांस्कृतिक अभियान भनेको राजनीतिक पार्टीसँग निकट सांस्कृतिक मोर्चा हो, होइन त?
यसो भनौँ, यो देशमा सामन्ती राज्य–सत्तालाई उखेलेर नौलो जनवादी राज्य–सत्ता स्थापना गर्न लागेका शक्तिहरूलाई सांस्कृतिक फाँटबाट ऊर्जा दिने एउटा संस्था हो, रक्तिम।

तपाईंहरूले दिएको ऊर्जाले ती शक्तिहरूको पुर्जालाई छोएजस्तो लाग्छ त?
एक हदसम्म छोएकै हो। यो ऊर्जाले गणतन्त्र नेपाल स्थापना गर्ने हदसम्म उच्च प्रकारको उपलब्धि दिएको छ। त्यसपछिका दिनहरूमा अब यस राज्य–सत्तालाई पनि पन्छाएर अझ उच्चस्तरको जनताको व्यवस्था ल्याउनु्पर्छ भन्ने दिशामा हामीले काम गरिराखेका छौँ।
यही नै व्यवस्था सबैभन्दा ठीक हो भन्ने पक्षमा हामी छैनौँ।

यो व्यवस्था पनि जनआन्दोलनबाट नै स्थापना भएको हो। तपाईंहरू पनि त्यो आन्दोलनमा सहभागी नै हुनहुन्थ्यो, हैन?
ठाडै सामन्ती व्यवस्था नै त नभनौँ तर यो व्यवस्था सामन्ती प्रकृतिको व्यवस्था हो। पुरानै सामन्ती व्यवस्थाले स्थापना गरेको राज्य–सत्ता छ। त्यसैले स्थापना गरेका अड्डा–अदालत छन्। त्यसैले स्थापना गरेका सुरक्षा निकायहरू छन्। राज्य–सत्तामा कुनै परिवर्तनको अनभूति भइरहेको छैन। यत्ति हो, राजनीतिक वृत्तमा थोरै पात्रहरू परिवर्तित भएका छन्।

आजको समयमा तपाईंले भनेजस्तो राज्य–सत्ताको आमूल परिवर्तन सम्भव छ त?
परिवर्तन भन्नाले सबैलाई निकालेर नयाँ राख्ने भनेको होइन। तर सबैको सामन्ती मनोवृत्तिलाई परिर्वतन गर्न जरुरी छ। जो परिर्वतन हुन सक्तैनन्, तिनलाई निकालिदिने हो।

देशमा गणतन्त्र आएकै १३ वर्ष भइसक्यो, तपाईंहरूले भनेजस्तो परिवर्तन किन हुन सकेन?
भारतमा गणतन्त्र आएको ७२ वर्ष भयो। तर अहिले पनि त्यहाँ सामन्तवाद कायमै छ।

ए, उसो भए गणतन्त्रले सामन्तवादलाई फाल्न नसक्ने रहेछ, हैन?
हो, गणतन्त्रले सामन्तवाद फाल्छ भन्ने कुरा ठीक होइन। भारतमा गणतन्त्र स्थापना भएको सात दशकसम्म पनि भारतीय सरकार मूलभूतरूपमा सामन्तवादी नै छ। यद्यपि सामन्तवादबाट पूँजीवादतिर उन्मुख हुँदैछ। तर त्यसको मुख्य भावना भनेको सामन्तवाद नै हो।

भनेपछि रातारात परिवर्तन त कतै पनि सम्भव रहेनछ नि, हैन? गाह्रो छ नि। प्रधानमन्त्रीहरू फेर्दैमा यत्रो सामन्ती संरचना एकैचोटि ढल्छ भन्ने कु्रा कहाँ सम्भव हुन्छ र।

परिवर्तन त्यत्ति सहज छैन भन्ने जान्दाजान्दै पनि तपाईंहरू गरेरै छाड्छौं भनेर ढिपी कस्दै कसरी लागिरहन सक्नु भएको छ?
हामीले परिवर्तन हुँदैन भनेका छैनौँ। समय लाग्छ भनेका मात्र हौँ। परिवर्तन एकैचोटि, रातारात हुँदैन। रोम एकै रातमा बनेको थिएन। शदियौँदेखिको जुन संस्थापन छ, दुई–चार वर्षमै कहाँ परिवर्तित हुन्छ र?

अहिले सत्तामा रहेको पार्टी पनि दशकौँ लामो ‘क्रान्ति’ गरेरै आएको हो, तपाईंले भनेजस्तो परिवर्तन गर्नै भनेर। तर परिवर्तन त फेरि पनि भएन, कि कसो?
क्रान्ति कहाँ टुंगिएको छ र? यो त मात्र सम्झौता हो। क्रान्ति सफल भएको होइन। क्रान्ति साँच्चिकै सफल भएको भए, त्यो क्रान्तिले सारा स्ुरक्षा निकाय, अड्डा–अदालत, प्रशासन सबै सफाई गरिदिन्थ्यो।

आजको युगमा त्यस्तो आमूल सफाई झन् सम्भव छ र?
किन सम्भव छैन? रसियामा सम्भव भयो, चीनमा सम्भव भयो, पेरुमा लगभग सम्भव हुन थालेको थियो। क्युवामा सफल भयो। जर्मनमा सम्भव भयो। सम्भव छ।

अब मलाई जनगीतले सत्ता परिवर्तन गरेको एउटा उदाहरण दिनसक्नु हुन्छ?
गीतले सत्ता परिवर्तन गर्ने होइन। सत्ता परिवर्तन त बन्दुकको नालबाट मात्र सम्भव छ।

बन्दुक नउठाई सत्ता परिवर्तन हुँदैन?
जनगीत गाउँदैमा सामन्तले समातेको बन्दुक कतै छाडिदिन्छ र? कदापि छाड्दैन।

अनि किन क्रान्तिकारी गीत गाएको त तपाईंहरूले?
हाम्रा गीतले बन्दुक उचालेकालाई ऊर्जा र नउचालेकालाई उचाल्न साहस र जोस दिन्छ।

उसो भए बन्दुक पड्काउन लगाउनका लागि तपाईंहरूले गाएका गीतले अहम् भूमिका खेलेका हुन्छन्?
खेल्छन, खेलेका हुन्छन्। तपाईं गएर बन्दुक उचालेका शक्तिहरूलाई सोध्नूस्। बन्दूक उचालेका हरेक (माओवादी) योद्धाहरूले हाम्रा गीत सुनेर तिनबाट प्रेरणा लिएर गोली ठोकेका थिए। र, उनीहरूलाई यी गीत सुनेरै बन्दु्क उचाल्न जानुपर्छ भन्ने भावना जागृत भएको थियो।

तर सत्ता परिवर्तन भएपछि बन्दुक उचाल्ने ती हातहरू शिथिल नै भए त?
मैले भनिसकेँ त सत्ता परिवर्तन भएकै होइन। एउटा राजनीतिक व्यवस्था मात्र परिवर्तन भएको हो। राजनीतिक व्यवस्था र सत्तामा ठूलो अन्तर छ।

राजसंस्था गएर गणतन्त्र आयो, तैपनि सत्ता परिवर्तन भएन भन्न मिल्छ?
राजा जाँदैमा सत्ता परिवर्तन कहाँ हुन्छ? राजाका ठाउँमा अरु राजाहरू आए। पुरानै प्रकृतिको राज्यसत्ता छ। पहिला राजालाई सुरक्षा दिने सेनाले अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुरक्षा दिइरहेको छ। पहिला मरिचमान सिंहलाई जसले सुरक्षा दिएका थिए, अहिले केपी ओलीलाई पनि तिनैले सुरक्षा दिइरहेछन्।

यिनै सेनालाई परिवर्तन गरेर सत्तामा परिवर्तन ल्याउन सकिँदैन?
यी सेनालाई लालसेना बनाउन कहाँ सम्भव छ र?

अघि त यिनैको सामन्ती मनोवृत्तिमा परिर्वतन गरेर सत्ताअनुकूल ढाल्नुपर्छ भन्दै हुनुहुन्थ्यो, अहिले कुरा फेरियो नि?
यिनीहरूमा त्यो मनोवृत्ति हुनप¥यो नि त। त्यो मनस्थिति नै छैन। चिन्तन नै छैन। तालिम–प्रशिक्षण पनि छैन। यस किसिमको मनोदशा पनि छैन। अब त हाम्रो डिजाइनमा कुनै राजनीतिक शक्ति आउँछ भने ओके, साथ दिने हो। यदि हाम्रो डिजाइनभन्दा फरक खालले जान खोज्छ भने तिनलाई बर्खास्त गरिदिने हो। अहिले यही सामन्ती राज्यसत्ताको डिजाइनमा व्यवस्था चलिराखेको छ।

लाग्छ, तपाईंले राजनीतिक परिर्वतनको कुनै अनुभव नै गर्नसक्नु भएको छैन ...
परिवर्तन भएको छ। तपाईंसँग मैले खुलेर आफ्ना विचार अभिव्यक्त गर्न पाएको छु, राजनीतिक परिवर्तनका कारणले। तर यो ठूलो कुरा होइन। सत्तामा परिवर्तन आउनुपर्छ। अनि बल्ल गरिब–दुःखीको चुलोमा आगो बल्छ। मैले यहाँ बोल्न पाएको छु तर मेरो घरको चुलो चीसै छ। किनभने यस राज्यसत्ताले शोषक–सामन्तलाई मात्र सेवा–सहयोग गरिराखेको छ।

कम्युनिष्ट व्यवस्थामा त्यही बोल्ने स्वतन्त्रता पनि खोसिएका धेरै उदाहरण छन्, तपाईंले अहिले खुलेर बोल्न त पाउनु भएको छ ...
(कम्युनिष्ट मुलुकमा पनि) बोलिराखेका छन् त।

कहाँ बोल्न पाएका छन्?
चीनमा त बोलिरहेकै छन्।

उत्तर कोरियामा त यहाँजस्तो बोल्यो भने गोली हान्छन् भनिन्छ ...
खै, गोली हानेको त मलाई थाहा छैन (हाँसो)।

तपाईं सर्वहारा कम्युनिष्ट कि बुर्जुवा कम्युनिष्ट?
म सचेत सर्वहारा।

त्यो भनेको के?
(हाँस्दै) सर्वहारा दुई किसिमका हुन्छन्– लम्पसार र सचेत सर्वहारा। म सचेत सर्वहारा। देशको निम्ति सोच्छु, जनताका लागि गीत गाउँछु। राष्ट्रका निम्ति लड्छु।

अब मलाई एउटा कुरा बुझाइदिनूस्, तपाईंहरू जनतालाई बन्दुक उचाल्न–पड्काउन प्रेरित गर्ने गीत गाउनु हुन्छ। त्यसबाट तपाईंले भनेजस्तो राजनीतिक परिवर्तन पनि आउँछ। तर त्यसपछि ती गीत गाउनेहरू किन पाखा लाग्छन्? पूर्व एमाले र माओवादीमा यस्ता थुप्रै उदाहरण छन्, हैन?
पहिलो कुरा प्रचण्ड सत्तामा आए कि परिवर्तित राजनीतिक व्यवस्थामा आए? नयाँ व्यवस्थाको उच्च ओहोदा सम्हालिसकेपछि प्रचण्डलाई त्यसबेला बोकेर हिँड्ने लालसेनाले सुरक्षा दिएका छन् कि पुरानै सत्ताका सेनाले? फरक यहीँनिर छ।

लालसेना त नेपाली सेनामै समायोजित भैसक्यो नि, अब जसले सुरक्षा दिए पनि के फरक भयो र?
सेना समायोजन गर्न प्रचण्ड बाध्य भए। किनभने उनी सम्झौता गरेर सत्तामा आएका हुन्। लालसेनाले कब्जा गरेर ल्याएको सत्ता होइन यो।

तपाईं रक्तिम परिवारको अध्यक्ष हुनुहुन्छ। कुनै राजनीतिक दलसँग आवद्ध पनि हुनुहोला। अहिले पनि तपाईंका गीत सुनेर कसैले बन्दुक उचालिराखेका छन् त?
बन्दुक उचाल्ने त्यो समय आउँछ।

कहिले आउँछ?
बन्दुक त अन्तिम लडाइँ हो। त्यही बेला उचाल्ने हो।

माओवादीले पनि ‘अन्तिम लडाइँ’ भनेरै बन्दुक उचालेका थिए ...
तर तिनीहरू सफल भएनन्। सम्झौतामा अल्झिए। हामी सम्झौता गर्नुपर्ने स्थितिमा होइन, अन्तिम आरपारको अवस्थामा बन्दु्क उचाल्ने छौँ। लेनिनले क्रेमलिनमा हान भनेजस्तो स्थितिमा। तर त्यो अगाडि उनको ठूलो तयारी थियो। उनका शक्तिशाली लालसेना थिए। र, त्यो क्रान्ति सफल भयो।

अहिले भनिन्छ नि, आफ्नै जीवनकालमा देश बनाउने। त्यस्तै त्यो अन्तिम लडाइँ पनि तपाईंकै जीवनकालमा सफल होलाजस्तो लाग्छ?
मेरो जीवनमा आए ठीक, नआए बेठीक भन्ने कुरा त होइन। तर आउँछ। जबसम्म समाजमा शोषण, अन्याय, अत्याचार, असमानता रहन्छ तबसम्म विद्रोह, आन्दोलन र लडाइँका नयाँनयाँ रूपहरू अगाडि बढिरहन्छन्।

अब अलि फरक तर गीत–सङ्गीतसँगै सम्बन्धित जिज्ञासा राख्छु।
राम्रो प्रसङ्ग।

गीतमा प्रेम हुन्छ। तर तपाईंहरू यस्ता गीतलाई मान्नु हुन्न र, बुर्जुवा गीत भन्नुहुन्छ। गीतमा खालि क्रान्ति हुनुपर्छ भन्नु हुन्छ। यो कस्तो व्याख्या हो, कस्तो परिभाषा हो?
गीत आ–आफ्ना विचारधाराका हुन्छन्। गीतले कसको सेवा गर्छ, त्यही आधारमा परिभाषा हुन्छ। भजनकीर्तन छन्, ईश्वरको नाममा पनि गीत गाइन्छ। यस्ता गीतलाई हामी बुर्जुवा गीत भन्दैनौँ। ईश्वरवादी गीत भन्छौँ, भजन नै भन्छौँ। त्यसले ईश्वरको सेवा गर्छ। गीतले लोकको भाका बोकेर हिँडेको हुन्छ। हामी त्यसलाई लोकगीत भन्छौँ। तर यदि गीतले बुर्जुवाकै सेवा गर्छ भने त्यस्ता गीतलाई हामी बर्जुवा गीत भन्छौँ। गीत गाउने व्यक्तिलाई हामीले बुर्जवा भनेको होइन, गीतलाई बुर्जुवा भनेका हौँ।

गीतमा प्रेमका भाव आए भने बुर्जुवा गीत भन्नु हुन्छ, गाउनेलाई पनि बुर्जुवा गायकको उपाधि दिनुहुन्छ, होइन र?
हामीले गीत गाउनेलाई होइन, गीतलाई मात्र बुर्जुवा भनेको हौँ।

तपाईंकै अग्रज कलाकारले पनि नारायणगोपालका गीतलाई बुर्जुवा गीत भने। पछि तपाईंहरूकै नेता सत्तामा पुगेपछि तिनै नारायणगोपाललाई ‘मेरा मनपर्ने गायक’ भने। यो कस्तो व्याख्या हो तपाईंहरूको?
म नारायणगोपालको सङ्गीत र स्वरलाई सम्मान गर्छु। तर उहाँका गीतहरूले जुन सन्देश दिन्छन्, तिनले बुर्जुवाको सेवा गर्छन्। त्यसैले नारायणगोपालले गाएका गीतलाई बुर्जुवा गीत भनेका हौँ।

नारायणगोपालले गाएका गीत प्रेमगीत होइनन् र? प्रेमगीत गाउनु बुर्जुवा हो?
त्यहाँ प्रेमका गीत पनि छन् र अरू खालका गीत पनि छन्। सामन्तवादलाई सेवा गर्ने गीतहरू पनि छन्।

नारायणगोपालले कहाँ, कुन त्यस्तो गीत गाए जसले बुर्जुवाको सेवा गर्छ?
चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

त्यो गीतमा त मायाको कुरा मात्र छ। तपाईं स्वयंले पनि प्रेम गरेरै विवाह गर्नु भएको हो। अनि प्रेमको गीत गाउँदा कसरी नारायणगोपालका गीत बुर्जुवा भए?
मानिसले जेजे कर्म गर्छ ती सबै गीतमा गाउनै पर्छ?

चाँदनी शाहको गीत गाएकै कारण नारायणगोपाल बुर्जुवा गायक हुने त?
गीतमा श्लीलता हुनुपर्छ। प्रेमको कुरा होइन यो। हामी प्रेमलाई दुई भागमा वर्गीकरण गरेर हेर्छौं। एउटा बुर्जवा प्रकृतिको प्रेम हुन्छ, अर्को सर्वहारा प्रेम हुन्छ।

के अब ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ गाउनु बुर्जुवा प्रेमको गीत भयो त?
त्यहाँ अन्तरामा अरू टुक्काहरू पनि छन्।

पटक्कै छैनन्। त्यस गीतमा त माया र विश्वासलाई परिभाषित गरिएको छ। यस गीतमा न कतै बुर्जुवापन छ, न कतै अश्लीलता नै। तर चाँदनी शाह अर्थात् तत्कालीन रानी ऐश्वर्यको गीत गाएकै आधारमा नारायणगोपाललाई बुर्जुवा गायक भन्न मिल्छ?
हामीले गीतमा मूल सन्देश हेर्ने हो। त्यसले कसलाई फाइदा पु¥याइरहेको छ? त्यसले क्रान्तिलाई फाइदा पु¥याइरहेको छ कि? त्यसले परिवर्तनलाई फाइदा पु¥याइरहेको छ कि? नेपाली जनताको आन्दोलनलाई फाइदा पु¥याइरहेको छ कि अथवा बसेर खाने यस्तै गीत सुन्नेहरूलाई मात्र फाइदा पु¥याइरेको छ?

ए बाबा, कसैलाई फाइदा नपु¥याउने तर हानि नगर्ने कुरा पनि त हुन्छन् नि दुनियाँमा। ती सबै कुरा बुर्जुवा भए त?
मैले त्यसरी व्यक्ति नारायणगोपाललाई बुर्जुवा भनेको छैन।

अहिले म तपाईंसँग अन्तर्वार्ता गरिरहेको छु, यो मेरो स्वार्थ हो। यसबाट मलाई मात्र फाइदा पुग्नसक्ला। के यो पनि बुर्जवा भयो त?
यो अन्तर्वार्ताको प्रसङ्ग छुट्टै छ। तपाईंले मेरो गीतबारे अन्तर्वार्ता लिँदै हुनुहुन्छ, म दिँदैछु। यसमा हाम्रो दोहोरो संवाद छ। यो अन्तर्वार्ता लिनु र दिनुको अभिप्रायबीच भिन्नता छ। म यो अन्तर्वार्ता किन दिइरहेछु भने यसमार्फत् सर्वहारा वर्गमा सांस्कृतिक चेतना फैलिन्छ। अनि तपाईंले लिएको यो अन्तर्वार्ता प्रकाशित भएपछि यसले जीवन शर्मालाई न्याय गरेको ठहर्ने छ। यसमार्फत् समाजका समग्र सर्वहारामा फाइदा पुग्नेछ। यसमा अन्तर छ।

त्यस्तै नारायणगोपालको व्यक्तिगत जीवनसित गीत–सङ्गीतप्रतिको जुन अवधारणा छ, त्यसलाई तुलना गर्न मिल्दैन। एउटा सर्वहारा छ, जसले पूँजिपतिको सेवा गरिरहेको हुन्छ। त्यहाँ दृष्टिकोणको कुरा आउँछ।

नारायणगोपाल त मरिचमान होइनन् नि त?
नारायणगोपाललाई मैले अपमान गर्न खोजेको होइन। कुनै पनि हालतमा म त्यसो गर्दिनँ। म पनि सर्वहारा–चेत नखुल्दै उहाँको गायन–सङ्गीत सुनेरै प्रभावित भएको हुँ। हाम्रा गाउँमा बाले ल्याएको एउटा मात्र रेडियो थियो। बा त्यो रेडियो बाँसको टुप्पोमा राखेर गाउँभरिकालाई गीत सुनाउनु हुन्थ्यो। त्यो रेडियोमा नारायणगोपालका गीत मात्र बढी बज्थे। उहाँका तिनै गीत सुनेर मभित्र सांगीतिक चेतना पसेको हो। त्यसैले म उहाँलाई कुनै पनि हालतमा अपमान गर्न सक्तिनँ।

तर दृष्टिकोणको सवाल निर्मम हुन्छ। दृष्टिकोणमा सम्झौता गर्न सकिँदैन। उहाँ र मेरो दृष्टिकोण फरक छ।

प्रकाशित ४ माघ २०७५, शुक्रबार | 2019-01-18 15:03:39
Max TV
Max TV
Vianet

author photo

रमण घिमिरे कला–साहित्य क्षेत्रका वरिष्ठ पत्रकार हुन्

रमण घिमिरेबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...