जो रानी ऐश्वर्यकी साथी भइन्, गिरिजा–सुशीलको माया पाइन्



Kshamadevi Group


मञ्जु काँचुली
मञ्जु काँचुली

साहित्य क्षेत्रमा उनको आफ्नो छुट्टै पहिचान छ। उनलाई साहित्यकार भीमनिधि तिवारीकी कान्छी छोरीको रुपमा भन्दा मञ्जु काँचुली तिवारीको रुपमा धेरैले चिन्छन्।

मञ्जु काँचुली– यो परिचय त्यसै बनेको होइन। लामो संघर्ष र मेहनतबाट उनी साहित्य जगतमा सफल भएकी हुन्।

घरको साहित्यिक माहोलले साहित्य क्षेत्रतर्फ आकर्षित भएकी मञ्जु २०१७ सालमा १० वर्षको उमेरमै लक्ष्मी पदक प्राप्त गर्न सफल भइन्। त्यसपछि उनले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।

कथा, कविता, उपन्यास र नाटक गरी आधा दर्जनभन्दा बढी कृति प्रकाशित गरेकी मञ्जु पढाईमा पनि उत्तिकै अब्बल थिइन्। उनले आईएमा पद्मकन्या क्याम्पस र एमएमा ‘क्लिनिकल साइकोलोजी’ विषयमा त्रिभुवन विश्वविद्यालय टप गरिन्।

सामाजिक यथार्थतालाई आफ्नो लेखनमा समाहित गर्न सिपालु मञ्जुको लेखनमा समाज परिवर्तनका बिम्ब पाइन्छन्। साहित्यमार्फत् मात्र होइन, नारीवादी आन्दोलनको अग्र मोर्चामा रहेर उनले समाज परिवर्तनका लागि आवाज उठाएकी छन्।

मञ्जु रानी ऐश्वर्य शाहकी मिल्ने साथीसमेत हुन्। १३ वर्षको उमेरमै एसएलसी पास गरेपछि उनी पद्मकन्या क्याम्पस भर्ना भइन्, जहाँ उनको भविष्यकी बडामहारानी ऐश्वर्यसँग भेट भयो, दोस्ती गाँसियो।

रानी ऐश्वर्यासँगको सम्बन्ध
२०२० को दशकको पूवाद्र्धमा पद्मकन्या क्याम्पसमा मञ्जुको भेट चाँदनी राणासँग हुन पुग्यो। तिनै चाँदनीको राजा वीरेन्द्रसँग बिहे भएपछि उनी ‘रानी ऐश्वर्य’ का रुपमा चिनिन थालिन्।

उनीहरु कक्षा कोठामा एउटै बेञ्चमा बस्थे। तेस्रो बेञ्चमा बस्ने तीन विद्यार्थीमध्ये मञ्जु ऐश्वर्यकी सबैभन्दा मिल्ने साथी थिइन्। यो कुरा ऐश्वर्यले नै विभिन्न अन्तर्वार्ताका क्रममा भनेकी पनि थिइन् ।

ऐश्वर्य, मञ्जु र उनीहरुसँग बस्ने अन्य केही साथी निकै शान्त स्वभावका थिए। काम पर्दा वा कुनै विशेष परिस्थितिमा मात्र दोहोरो संवाद गर्थे।

मञ्जुका अनुसार ऐश्वर्य निकै शालिन स्वभावकी थिइन्। उनमा कुनै तडकभडक थिएन। उच्च घरानिया राणा परिवारको सन्तान भएकोमा घमण्ड पनि थिएन। गम्भीर प्रकृतिकी थिइन् उनी।

‘उहाँमा धैर्यता थियो। हरेक कुरामा सम्यमता अपनाउनुहुन्थ्यो। कुनै उछृङ्खलता थिएन’ उतिबेलाकी ऐश्वर्यबारे मञ्जु भन्छिन्, ‘राणाको सन्तान भएकै कारण कतिपयले शिक्षकसँग अभद्र व्यवहार गर्ने, भनेको नमान्ने, शिक्षकलाई अपहेलित गर्ने गर्थे। तर, उहाँ अरुभन्दा निकै भिन्न हुनुहुन्थ्यो।’

भिडियाे

ऐश्वर्य कहिलेकाहीँ कविता लेख्थिन्। तर, आफूले लेखेका कविता कहिल्यै सुनाइनन्। कारण थियो, उनको लजालु स्वभाव।

यसैबीच एकदिन क्याम्पसमा ‘युवराज वीरेन्द्रले उनलाई बिहे गर्ने रे’ भन्ने हल्ला चल्यो। बिएमा पढ्दै गरेकी फलानो युवतीसँग ‘वीरेन्द्रले बिहे गर्ने रे’ भन्ने खालका हल्ला त्यसअघि पनि थुप्रैपटक हुने गरेका थिए। त्यसैले मञ्जुलगायतका उनका साथीहरुले यसलाई पनि हल्लै सम्झिए।

आईएको परीक्षा भर्खरै सकिएको थियो। त्यति नै बेला मञ्जुले गोरखापत्रमा राजा वीरेन्द्रसँग ऐश्वर्याको फोटो देखिन्। जुन फोटो बिहेको शुभकामना तथा बधाईस्वरुप छापिएको थियो।

‘फोटो देखेर म चकित भएँ’ मञ्जु भन्छिन्, ‘म सँग एउटै बेञ्चमा बस्ने साथी युवराज्ञी भएको देख्दा कस्तो महसुस हुन्छ होला?’

उनको भनाईमा, वीरेन्द्र र ऐश्वर्यको मित्रता भने पहिल्यैदेखि थियो। बिहेअघि उनीहरु सँगै ब्याडमिन्टन खेल्ने गरेको कुरा मञ्जुले आफ्नी आमामार्फत् सुन्ने गर्थिन्।

बिहेपछि भने मञ्जुको ऐश्वर्यसँग खासै भेटघाट तथा कुराकानी भएन। तर, एकदिन उनका बुबा भीमनिधिले रानी ऐश्वर्यसँग आफ्नी छोरी मञ्जुबारे सोधेछन्। ऐश्वर्यले पनि उनीबारे बताइछन्।

ऐश्वर्यले आफूलाई नबिर्सिएको कुरा उनले त्यतिबेला चाल पाइन्।

यहाँसम्म सबै ठिकै थियो। तर, २०३६ सालमा मञ्जु तत्कालिन राज्य सत्ता विरोधी आन्दोलनमा लागिन्। राजतन्त्रको विरोधी आन्दोलनमा उनले सडकमा कविता वाचन गरेकी थिइन्।

ऐश्वर्य बडामहारानी भइसकेकी थिइन्। बडामहारानी ऐश्वर्यले तत्काल प्रतिक्रिया जनाइछन्, ‘ओ हो, त्यो मञ्जु तिवारी पनि हामीविरुद्ध आन्दोलनमा लागेकी छ?’

त्यो घटनापछि ऐश्वर्य र मञ्जुको सम्बन्धमा चिसो पस्यो। मञ्जुमाथि निगरानी बढाउन थालियो। मञ्जु भन्छिन्, ‘त्यसपछि म कालोसूचीमा परेँ। जागिरका लागि लिइने हरेक अन्तर्वार्तामा मलाई फेल गराइयो।’

प्रहरी घरमै आएर दुःख दिने, अनेक प्रश्न गर्ने गर्न थाले। कविता पाठ गर्नमा रोक लगाउँथे। मानसिक यातना दिन्थे। कहिलेकाहीँ यस्ता गतिबिधि नगर्न फकाउँथे पनि ।

तर, मञ्जु झुकेर ऐश्वर्यको ढोका ढकढकाउन कहिल्यै पुगिनन्। आफ्नो कर्म गर्दै गइन्, पञ्चायती व्यवस्थाको विरोध गर्न छाडिनन्।
उनलाई आफ्नी साथी ऐश्वर्य वा राजा वीरेन्द्रसँग कुनै गुनासो थिएन। उनी व्यवस्थाविरुद्ध लडेकी थिइन्। जनता थिचोमिचोमा पर्ने, आफ्ना कुरा स्वतन्त्रपूर्वक गर्न र लेख्न र बोल्न नपाउने व्यवस्था उनलाई मन परेको थिएन।

गिरिजा-सुशीलको माया 
व्यवस्था परिवर्तनका निम्ति मञ्जुले कलममात्र चलाएकी छैनन्, विभिन्न आन्दोलनमा अग्रस्थानमा उभिएर चिच्याएकी छन्, कराएकी छन्। २०६२–६३ सालको परिणाममुखी आन्दोलन होस् या त्यसअघि भएका राज्य व्यवस्थाविरोधी आन्दोलन, उनी कैयौँपटक अग्र मोर्चामा उभिएकी छन्।

मञ्जु कांग्रेसका दिवंगत पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सुरक्षा घेराको अग्र स्थानमा रहेर लोकतन्त्रका लागि लडेकी छन्।

२०६२–६३ सालको आन्दोलन उनी कहिल्यै बिर्सन सक्दिनन्। मञ्जु मुखमा कालोपट्टी बाँधेर गिरिजाप्रसाद र सुशील कोइरालाको अगाडि बसेर अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बोलिन्। अर्थात्, मञ्जुले यी दुई नेताको सुरक्षा कवचका रुपमा आफूलाई समाहित गरिन्।

आन्दोलनलाई दबाउन प्रहरीले बल प्रयोग ग¥यो। तर, मञ्जु पछि हटिनन्। प्रहरीले उनलाई भ्यानमा कोचेर लग्यो। त्यतिबेला उनको खुट्टामा चोट लागेको थियो भने हातबाट रगतसमेत बग्यो।

गिरिजा मञ्जुलाई पत्रिका चलाउने सल्लाह दिन्थे। निरन्तर कलम चलाउने सुझाव दिन्थे। कहिलेकाहीँ उनीहरुबीच राजनीतिक र साहित्यिक गफगाफ पनि हुन्थ्यो।

यसले देखाउँछ, गिरिजा र सुशील दुवैको निकटमात्र होइन, प्रिय पनि थिइन् मञ्जु। 

मञ्जुको गिरिजाभन्दा सुशीलसँगको सम्बन्ध अझ आत्मीय थियो। सुशीलले मञ्जुका कैयौँ कृतिहरु पढेका छन्। बाटोमा कतै भेट हुँदा मञ्जुसँग हात मिलाउँदै लामो समय गफिन्थे उनी।

‘दुबैजना मलाई असाध्यै माया गर्नुहुन्थ्यो’ मञ्जु भन्छिन्, ‘उहाँहरुको कला, साहित्यप्रतिको सम्मानका कारण पनि होला सायद।’

राजनीति र साहित्य
उनमा सानैदेखि साहित्यप्रति लगाव थियो। ७ वर्षको उमेरदेखि नै उनी कानेटोपी लगाएर विभिन्न सभा, गोष्ठीमा कविता वाचन गर्दै हिँड्थिन्।

राजनीति भने क्याम्पस पढ्न थालेपछि बल्ल राम्रोसँग बुझ्न पाइन्। विस्तारै उनमा वैचारिक तथा राजनीतिक विषयप्रतिको चेत बढ्दै जान थाल्यो। उनलाई शासकीय राज्य व्यवस्था मन परेन।

उनका बुबा भीमनिधि उच्च ओहदाका सरकारी कर्मचारी थिए। उनकी मिल्ने साथी रानी ऐश्वर्या शाह (त्यतिबेलाकी चाँदनी) राणा परिवारकी सदस्य।

तर, मञ्जुले नाता–सम्बन्धको कुनै वास्ता नगरी तत्कालिन राजनीतिक व्यवस्था परिवर्तनका लागि लड्ने निधो गरिन्।

केही साथीहरु जम्मा पारेर पद्मकन्या क्याम्पमा नेपाल विद्यार्थी संघ (नेविसंघ) जन्माइन्। उनी त्यसको उनी महासचिव बनिन्।

भन्छिन्, ‘क्याम्पस पढ्न थालेपछि राजनीतिक चेत पलाउँदै गयो। मलाई पञ्चायती व्यवस्था मन परेन। त्यसैले व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर विद्यार्थी आन्दोलनमा लागेँ।’

मञ्जुले यसरी राजनीति त थालिन्। तर, साहित्यलाई सधैँ राजनीतिभन्दा माथि नै राखिन्। उनी आफ्ना विचार, धारणाहरु साहित्यमा त मिसाउँछिन्। तर, उनलाई प्रसारवादी साहित्य पटक्कै मन पर्दैन।

भन्छिन्, ‘राजनीति र साहित्य दुई फरक पाटो हुन्। मैले दुबैलाई सँगै अघि बढाएँ। व्यवस्था परिवर्तनका लागि राजनीति आवश्यक थियो। तर, मेरो झुकाव साहित्यमै थियो।’

साहित्यमा राजनीतिलाई लाद्न खोज्नेहरुमा कलाको स्वरुप नहुने मञ्जुको भनाई छ ।

भन्छिन्, ‘साहित्यकार भएर राजनीतिमा लागेका व्यक्तिले अन्र्तरमनले आएका विचारलाई आफ्नो लेखनमा समावेश गर्नु र राजनीतिक स्वार्थ हावी गराउनुमा निकै भिन्नता छ।’

देशमा लोकतान्त्रिक गणतन्त्र आउनुमा साहित्यकारको महत्वपूर्ण भूमिका रहेको मञ्जु बताउँछिन्। कलमले मात्र नभएर सडकबाट समेत साहित्यकारले परिवर्तनका निम्ति आवाज उठाएको उनको अनुभव छ।

साहित्यकार पार्टीको विचारभन्दा माथि उठ्नुपर्ने धारणा राख्ने मञ्जु भन्छिन्, ‘साहित्यकारमा वैचारिक स्वतन्त्रता हुनुपर्छ। जो स्वतन्त्र छैन र राजनीतिको भजनमात्र गाउँछ, त्यो असल साहित्यकार हुनै सक्दैन।’

मञ्जु काँचुली

मञ्जु काँचुली

उनी बिपी कोइरालालाई आफ्नो आदर्श मान्छिन्। उनको भनाईमा, बिपीले साहित्यको प्रयोग जनताका निम्ति गरे र राजनीति पनि जनताकै लागि गरे। अर्थात् राजनेता भएर पनि उनले साहित्यमा राजनीति हावी हुन दिएनन्।

मञ्जुको दावी छ, उनीमाथि पनि कहिल्यै राजनीति हावी भएन।

उनी हिजो व्यवस्था परिवर्तनका लागि राजनीतिको आड लिएर आन्दोलनमा होमिएकी थिइन्। उनी अब आफ्नो बाँकी समय साहित्यलाई नै दिन चाहन्छिन्।

भन्छिन्, ‘जीवनको कालखण्डको ७ दशक पार गरिसकेँ। तर, म अझै थाकेकी छैन। जीवनको अन्तिम पलसम्म लेखिरहनेछु।’

प्रकाशित ३० पुस २०७५, सोमबार | 2019-01-14 13:51:47
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...