त्यो समय

बीपी र महेन्द्र जोडिएपछि यसरी चम्कियो ‘कृष्ण पाउरोटी’ ब्राण्ड (भिडियो)




घनश्याम राजकर्णिकार
घनश्याम राजकर्णिकार

‘कृष्णबहादुरले बीपी कोइरालाका लागि कृष्ण पाउरोटी भण्डार भित्र एउटा गोप्य कोठा बनाइदिएका थिए। बलदेव ठाकुर नामका एक जना हजाम सोझै आउँथे र त्यही कोठामा बीपीसँग गोप्य रणनीतिक भेटघाट गर्थे। बलदेव राजा त्रिभुवनका हजाम रहेछन्, जो बीपी र त्रिभुवनबीच पुलको काम गर्थे।’

राणाको मेख मार्न कृष्णबहादुर राजकर्णिकारले २००५ सालमा आफ्नै नाममा ‘कृष्ण पाउरोटी भण्डार’ त खोले तर त्यसले खासै गति लेला जस्तो छाँट देखाएन। राणाको मेख मार्नु त परको कुरा परिवारलाई सुख दिने सपना पनि तुहिएला जस्तो भयो। उनले जसरी कोलकातामा पाउरोटी किन्नेहरूको लाम देखेका थिए, यहाँ त्यो पटक्कै लागू भएन। पाउरोटी खाने ‘ह्याबिट’ नै बसेको थिएन नेपालीमा। गुलियो हलुवा, जेरी, पेडा, बर्फी खाइरहेको जिब्रोमा पाउरोटीको अमिलो अमिलो स्वाद बस्न मानेन। त्यसमाथि ब्राह्मण समुदायका केहीले ‘यसमा त रक्सी मिसाएर बनाइँदो रहेछ, खानु त के त्यो छुनु पनि हुँदैन’ भन्ने निराधार हल्ला फिँजाइदिए।

पाउरोटी फुलाउन विभिन्न जडिबुटीसँगै ‘हब्स’ नामको धूलो प्रयोग गर्नुपथ्र्यो। अचेल त्यसका ठाउँमा ‘इस्ट’ भन्ने पदार्थ प्रयोग हुन्छ। मानिसहरूले झट्ट हेर्दा पाउरोटी बनाउने त्यो प्रविधि रक्सीको भट्टीजस्तो पनि देखियो। त्यसको गन्ध पनि अलि फरक खालको भएकाले नेपाली नाकका लागि अनौठौ नै थियो। अनि काठमाडौँमा रातारात ‘कृष्णे साहूले त रक्सीबाट पाउरोटी बनाउँछ’ भन्ने सनसनी फैलाइयो। अलिअलि पाउरोटी बिक्री हुन थालेको थियो, यो हल्लाले जिरोमै झर्यो ।

कृष्ण पाउरोटीका पछि हल्लाका खेती त कति भए भए। मानिसलाई गफ चुट्न पनि केही न केही खुराक त हुनुपर्यो । अनि यस्तै हल्लाको शिकार हुनपुग्यो कृष्ण पाउरोटी भण्डार। ‘यो त खुट्टाले मिचेर बनाइन्छ, त्यसैले पाउरोटी नाम राखिएको हो, खानु हुँदैन’ भन्ने फेरि अर्को ढोल व्यापकरूपमा ठोकियो। हो, भारतका कतिपय ठाउँमा पाउरोटीको पीठो मुछ्दा गमबुट लगाएर खुट्टाले नै मुछिन्थ्यो। तर कृष्णबहादुर कट्टर धार्मिक प्रवृत्तिका मानिस थिए। त्यसैले उनलाई पाप–धर्मको पूरापूरा हेक्का थियो र हातैले मुछ्न लगाएर पाउरोटी बनाउँथे। तर मानिसको मुख कसले थुन्न सक्ने? यस्ता हल्लाले पाउरोटीको बिक्रीमा मन्दी छायो र कृष्णबहादुरको मन पनि पाउरोटीजस्तै अमिलियो।

तर पाउरोटी भण्डार बन्द गर्नु उनका लागि राणाहरूका अघि हार खानुसरह थियो। एक किसिमले राणासँग विद्रोह नै गरेर उनी कोलकाता पलायन भएका थिए। यसरी सीप सिकेर एउटा अदना ‘रैती’ ले नयाँ काम गर्नखोज्नु उनीहरूका लागि चुनौती पनि थियो। त्यसैले उनी पछि हट्नु भनेको फेरि कुनै राणाको गुलामी गर्न जानु थियो। त्यो गर्न उनको इखले दिएन। राणाहरूको चाकर भएर काम गर्दा उनले ठक्करैठक्कर मात्र खाएका थिए। यी ठक्करहरूले उनलाई फलामजस्तो बनाएको थियो। उनलाई ‘सत्य डग्दैन, झुटो टिक्तैन’ भन्ने आहान पनि थाहा थियो।

अनि कृष्णबहादुरले टोलिया शिक्षित भद्रभलाद्मीहरूलाई पाउरोटी कारखानामा डाके र यो सबै कुराको निरीक्षण गराएर उनीहरूलाई आश्वस्त पारे। त्यसपछि कृष्ण पाउरोटी भण्डारको बोर्डसँगै अर्को एउटा सानो बोर्ड झुन्ड्याए– ‘ताजा, शुद्ध, चोखो पाउरोटी’। अनि ‘हब्स भन्ने पदार्थ रक्सी बनाउने मर्चाजस्तो होइन, यसले पाउरोटी फुलाउने मात्र काम गर्छ’ भनेर सम्झाए। हातैले पाउरोटी मुछिन्छ भनेर देखाए पनि। यसरी उनले विभिन्न भ्रमहरूलाई चिर्ने काम त गरे तर त्यसपछि पनि उनले चाहेजस्तो पाउरोटीको बिक्री ह्वात्त बढेन। दिनमा बढीमा २० वटा पाउरोटी बिक्थे। एक मोहर प्रतिगोटाका दरले दिनमा १० रुपियाँजति आम्दानी हुन्थ्यो। यद्यपि त्यसबेला यति आम्दानी हुनु पनि घाटाकै व्यापार भने थिएन।

यत्तिकैमा एक दिन एकजना राणाजी आए। उनलाई पाउरोटीबारे केही थाहा रहेछ। उनले एकैदिन भएभरका १५–२० वटा पाउरोटी उठाएर लगे। र हप्ता दस दिनमा फेरि आएर त्यति नै लैजान थाले। यसले कृष्ण पाउरोटी भण्डारको आर्थिक मेरुदण्डलाई थोरै भए पनि भरथेग गर्न थालेको थियो।

२००६ सालको कुरा हो। एक दिन कृष्ण पाउरोटी भण्डारमा विश्वेश्वरप्रसाद कोइरालाको आगमन भयो। जब बीपीले कृष्ण पाउरोटीमा बसेर पाउरोटी र चिया खाएको हल्ला फैलियो, त्यसपछि यस पाउरोटी भण्डारबारे कपोकल्पित रूपमा चलेका सारा बजारहल्लाहरू मत्थर भए। सम्पूर्ण भ्रमहरू चिरिए र यहाँका मानिसमा पाउरोटी खाने संस्कारको विकास हुन थाल्यो।

त्यसबेला बीपी भूमिगतरूपमा क्रान्तिको आगो सल्काउँदै काठमाडौँ पसेका थिए। र, भित्रभित्रै कार्यकर्तालाई भेला गरेर जनक्रान्तिको तयारी गर्दै थिए। बीपी कृष्णबहादुरलाई ‘कृष्ण दाई’ भनेर सम्मानका साथ बोलाउँथे। कृष्णदाईको विचलित मनस्थितिलाई बुझेर उनले एक दिन भनेछन्– ‘हेर्नोस् कृष्ण दाई, अब देशमा प्रजातन्त्र आउने पक्कापक्की नै भइसकेको छ। तपाईं यो पाउरोटी भण्डार बन्द गर्ने विचारै नगर्नोस्। प्रजातन्त्र आएपछि सारा बन्देहरू फुक्का हुनेछन् अनि तपाईंको पाउरोटी खानेहरूको यहाँ लाम लाग्ने छ।’

‘त्यति बेला कमलपोखरी क्षेत्र काङग्रेसीहरूको गड मानिन्थ्यो। बीपी गोप्यरूपले राणाका सुराकीहरूलाई छलेर त्यहाँ आइरहन्थे। उनलाई भेट्न एकएक जना गर्दै कार्यकर्ताहरू आउँथे र भीड लाग्थ्यो। बीपी चिया र पाउरोटी खाँदै कार्यकर्ताहरूसँग भलाकुसारी गर्थे। पाँच पैसा कप थियो चियाको मोल।

‘बेलाबेला ड्वाङड्वाङ गोली पनि चल्थ्यो, हामी केटाकेटीहरू डरले थुरथुर काम्दै घरभित्र पस्थ्यौँ’, घनश्याम राजकर्णिकार त्यो धमिलो स्मृतिलाई कोट्याउँदै भन्छन्, ‘बीपीलाई कार्यकर्ताहरू सान्दाजु भन्थे। उहाँ त्यहीँ बसेर आफ्ना कार्यकर्र्ता भेट्नु हुन्थ्यो।’

घनश्याम त्यसबेलाको अर्को रहस्योद्घाटन गर्दै भन्छन्– कृष्णबहादुरले बीपीका लागि गोप्य कुरा गर्न पाउरोटी भण्डार भित्र एउटा सानो कोठा बनाइदिएका थिए। एकजना बलदेव ठाकुर नामका हजाम पनि कमलपोखरीमै बस्थे। तर ती हजाम चानचुने हजाम थिएनन्। उनी सोझै आएर त्यही गोप्य कोठामा बीपीसँग रणनीतिक गोप्यमन्त्रणा गर्थे।

‘उनलाई हामी बलदेव काका भनेर बोलाउँथ्यौँ। ती काका राजा त्रिभुवनका हजाम थिए र बीपी र त्रिभुवनबीच सम्पर्कको पुलको काम गर्थे’, घनश्याम भन्छन्, ‘बीपी त्यसैले पनि लुक्दैछिप्दैै हाम्रो पाउरोटी भण्डारमा आउनु हुन्थ्यो।’

उनका पिताजीको मालसामान ढुवानी गर्ने एउटा साइकल थियो। जुन साइकल बीपीले पनि धेरैपटक चढेका छन्। यसरी बीपी र कृष्णबहादुरबीच घनिष्ट सम्बन्ध स्थापित भयो। यस घनिष्टताले सारा काङ्ग्रेसीजन कृष्ण पाउरोटीका स्थायी ग्राहक बने।

घनश्याम सम्झिन्छन्, ‘वास्तवमा बीपीकै कारण मेरा पिताजी र कृष्ण पाउरोटीप्रति काङ्ग्रेसीहरूको मनमा स्नेह र सम्मानको न्यायो भावना जागृत गरायो। यो क्रम २००६ सालको अन्त्यसम्म निरन्तर रह्यो। त्यसपछि राणा शासकको नजरमा कृष्ण पाउरोटी भण्डार काङ्ग्रेसको अखडा हो भन्ने परेपछि त्यहाँ बीपी आउन छाडे।

बीपीलाई पहिलोपटक देख्दा घनश्यामको मनमा अलि फरक विचार आएको थियो। सबैले बीपीलाई ठूलो मानिस भनेको उनले सुनेका थिए। तर उनलाई यी ठूला मान्छे हुन् भन्ने विश्वासै लाग्दैनथ्यो। किनभने उनले ठूला मानिस भनेर राणाजीहरूलाई देखेका थिए। ती ठूला मानिसहरू महँगामहँगा पहिरनमा सजिएर शरीरमा अत्तर बसाउँथै हिँड्थे। तर बीपी त सामान्य एउटा कमिज र सुरुवालमा हिँड्थे। उनीहरूसँगै बसेर सामान्य चिया र पाउरोटी खान्थे। अलिपछि बुझे– मानिस पहिरनले होइन विचारले ठूलो हुँदोरहेछ। अनि बीपीप्रति उनको मनमा श्रद्धाको न्यानो छाप बस्यो। उनलाई पूरापूरा विश्वास छ– ती एकजना राणाजीको अलिकति र विश्वेश्वरप्रसाद कोइरालाको धेरै हौसला नपाएको भए उनका पिताजी कृष्णबहादुरले कृष्ण पाउरोटी भण्डारमा उहिल्यै ताला लगाइसक्थे।

२०१५ सालको कुरा हो, देशमा प्रजातन्त्र आइसकेको थियो। उनको पिताजीको कारखानामा एक मोहरको पाउरोटी र पाँच पैसाको चिया खाँदै बलदेव हजामसँग गोप्य कोठामा मन्त्रणा गर्ने विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुने तरखरमा थिए।

त्यसबेला डिल्लीबजारका पन्त थरका एकजना शिक्षित व्यक्ति कृष्णबहादुरकहाँ आइरहन्थे। सधैँ हातले पाउरोटी बनाइरहेको देखेर उनलाई कृष्णबहादुरप्रति माया लागेछ। अनि उनले भनेछन्, ‘कृष्णजी अब तपाईं हातले पाउरोटी मुछेर कति दिन दुःख गर्नुहुन्छ, पाउरोटी मुछ्ने एउटा मेसिन झिकाउनुस्, भारतमा पाइन्छ।’

कृष्णबहादुरलाई पनि यो कुरा जँचेछ र एक दिन पन्तले भनेका मानिसलाई भेट्न उनी साइकल चढेर भारतीय दूतावासतिर हान्निए। तर बाटोमा एकजना गुरुङ थरका परिचित भेटिएछन्। सामान्य भलाकुसारीपछि सोधिने प्रश्न त्यस दिन ती गुरुङले पनि कृष्णबहादुरसँग सोधेछन्, ‘अनि कता जान लाग्नु भएको त?’

कृष्णले मनका सारा कुरा उदाङ्ग पारेर सुनाइदिएछन्। अनि ती गुरुङले कृष्णबहादुरको भारतीय दूतावासतिर बढेको साइकलको चक्का बृटिश दूतावासतिर मोडिदिएछन्। गुरुङ परेछन् बृटिश दूतावासका कर्मचारी। अनि उनले भनेछन्– ‘यस्तो मेसिन पनि केको भारतबाट झिकाउने ? आखिर भारतमा पनि बृटेनबाटै आउने हो। तपाईं सोझै बृटेनबाटै झिकाउनूस्।’

गुरुङले सम्पर्क सूत्र पनि बताइदिएछन्।

एक वर्षपछि, २०१६ सालमा कृष्णबहादुर राजकर्णिकारले बेलायतबाट सारा ढुुवानी खर्चसमेत जोडेर २० हजार रुपैयाँमा झिकाएको बेलायतको ‘अर्टो फेस कम्पनी’ को पाउरोटीको पीठो मुछ्ने मेसिन कमलपोखरी आइपुग्यो। तर बिडम्बना ! त्यो मेसिन यहाँ आएको छ सात दिनमै मुटुको ब्यथाले कृष्णबहादुर राजकर्णिकारको निधन भयो। त्यो मेसिनले बनाएको पाउरोटी हेर्ने उनको सपना अधुरै रह्यो।

तर कृष्ण पाउरोटीको ख्याति भने दिन दुई गुणा, रात चार गुणाको हिसाबले फैलियो। पिताजीको शेषपछि घनश्यामलगायत उनका चारजना दाजुहरू मिलेर यो व्यवसायलाई प्रगतिको बाटोतिर डो¥याउँदै लगे। यसको ख्याति कतिसम्म फैलियो भने राजा महेन्द्र स्वयम्ले कृष्ण पाउरोटी खान थाले। राजा महेन्द्रले खाने पाउरोटी भनेपछि आममानिसमा यसको चाख बढ्नु स्वाभाविक थियो। त्यसपछि यसको व्यवसाय प्रशस्त मल हालेको बारीको मूलाभन्दा बढी फस्टाउन थाल्यो।

पछि २०२९ सालमा फेरि जर्मनीबाट १६ लाख रुपैयाँमा प्रति खेप १६ हजार पाउरोटी बनाउने स्वचालित मेसिन झिकाइयो। यसबीचमा हिस्सेदारमध्ये एकजना दाइको निधन भयो। अनि उनका सन्तान यसमा आवद्ध भए। दाजुभाईले चलाउँदा यसको जुन ख्याति थियो, नयाँ पुस्ताका नयाँ विचारमा लादिएर यसको साखमा क्रमशः गिरावट आउन थाल्यो। २०४६ सालमा त एक जना हिस्सेदारले अंशबण्डा नै गरे। बिस्तारै कृष्ण पाउरोटी भण्डारमा विभाजनका रेखाहरू खिचिन थाले। र कृष्ण पाउरोटी तीन चिरामा विभाजित हुनपुग्यो। अहिले जेनतेन आफ्नो नामसम्मलाई धानिरहेको छ।

तर पनि घनश्यामलाई एउटा कुराले सधैँ आनन्दित तु¥याउँछ र जस्तै प्रतिकूलता र विसङ्गत पस्थितिमा पनि सान्त्वना र साहस दिन्छ। त्यो हो– उनका पिताजी कृष्णबहादुरले राणाहरूलाई चुनौती दिएर खडा गरेको संस्था, जहाँ कुनै समय बीपी कोइराला उनका पिताजीसँगै बसेर चिया, पाउरोटी खान्थे। उनले यसको बीउ मासिन दिएका छैनन्।

त्योभन्दा पनि गर्व लाग्ने अर्को कुरा छ। घनश्याम २०३७ सालतिर विश्वेश्वरप्रसाद कोइरालालाई भेट्न उनको निवास चाबहिल गएका थिए। सानो हुँदा मात्र देखेकाले त्यो बेला बीपीले उनलाई चिनेनन्। अनि घनश्यामले आफूलाई चिनाए, ‘म कृष्ण पाउरोटीको कृष्णबहादुरको कान्छो छोरा घनश्याम।’

त्यसपछि बीपीले ‘तपाईंको बुवाले त्यस्तो कठिन परिस्थितिमा हुर्काएको कृष्ण पाउरोटी भण्डारलाई कहिल्यै मासिन नदिनुहोला’ भन्दै घनश्यामको पिठ्यूँमा धाप मारे। जुन अहिले पनि घनश्यामको स्मृतिमा न्यानो आशीर्वाद भएर बसिरहेको छ।

बीपीले आफ्ना पितालाई ‘कृष्णबहादुर दाई, प्रजातन्त्र आएपछि तपाईंको भलो हुन्छ, कहिल्यै हरेस नखानूस् है’ भनेका मिठा वचन पनि उत्तिकै सम्झिरहन्छन् घनश्याम।

यसरी एउटा राजनीतिक इतिहाससँग जोडिएको नेपाली व्यवासाय– कृष्ण पाउरोटी भण्डारको अस्तित्व बचाउन जस्तोसुकै प्रतिकुलता सामना गर्न पनि प्रतिवद्ध छन् घनश्याम।

यो पनिः
७० वर्षअघि कोलकाताबाट कृष्णले यसरी नेपाल भित्र्याए ‘कृष्ण पाउरोटी’

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 14:18:29
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।