त्यो समय

७० वर्षअघि कोलकाताबाट कृष्णले यसरी नेपाल भित्र्याए ‘कृष्ण पाउरोटी’




कृष्णबहादुरका छोरा घनश्याम राजकर्णिकार (फाइल फोटो)
कृष्णबहादुरका छोरा घनश्याम राजकर्णिकार (फाइल फोटो)

वीर शमशेर किशोरावस्थामा हुँदा गजराजको हलुवाई पसलमा आएर मिठाइ झिकेर सित्तैमा खपाखप खाइदिन्थे। गजराजकी पत्नी झर्केर वीरलाई गाली गर्थिन्। तर गजराज आफ्नी पत्नीलाई सम्झाउँदै भन्थे, ‘यसलाई नहकार्नू, जे खान्छ खान दिनू। पछि यो ठूलो मान्छे हुन्छ।’

धेरै पुरानो कथा हो। त्यतिबेला जङ्गबहादुर राणा नेपालका श्री ३ महाराज भइसकेका थिएनन्। गजराज राजकर्णिकारसँग उनको घनिष्ठ सम्बन्ध थियो, एउटा हलुवाईका नाताले। गजराज ललितपुरबाटै जङ्गबहादुरकहाँ जेरी, स्वारी, पेडा, बर्फी जस्ता मिठाइ पु¥याउँथे।

जब जङ्गबहादर श्री ३ महाराज भए, उनले गजराजलाई आफू नजिक राख्ने विचार गरे। त्यसबेला आफूलाई काम लाग्ने विभिन्न पेशाका मानिसलाई आफ्नै वरिपरि राख्ने दरबारको चलन थियो। र, जङ्गबहादुरले पनि गजराजलाई पाटनबाट थापाथलीमा झिकाएर घरजग्गाको प्रबन्ध गरी हलुवाईको कामको ठेक्का दिए। त्यसपछि गजराज सपरिवार थापाथलीमा बसाइँ सरे। र, हलुवाईको नाताले दिनहुँ जङ्गबहादुरको सेवामा रहन थाले।

धीर शमशेरका छोरा भए पनि वीर शमशेर मूल नक्षत्रमा परेकाले बावुआमालाई पिर्छ भनेर जङ्गबहादुरकी पत्नी पुतली महारानी आफैँले वीरको लालनपालन गर्दै आइरहेकी थिइन्। उनी बढो उपद्य्राहा स्वभावका थिए। त्यसैले जङ्गबहादुर वीरलाई अलि हेलाँ गर्थे। गजराजका पनाति प्रसिद्ध नियात्राकार तथा कृष्ण पाउरोटी भण्डारका प्रमुख घनश्याम राजकर्णिकारले एकदिन यस पङ्क्तिकारसँग आफ्ना पुर्खाका पौरखका कथा सुनाए।

वीर शमशेर किशोरावस्थामा हुँदा गजराजको हलुवाई पसलमा आउँथे, भाँडामा बेच्न राखेको मिठाइ झिकेर सित्तैमा खपाखप खाइदिन्थे। गजराजकी पत्नी झर्केर वीरलाई गाली गर्थिन्। तर गजराजले खै कसरी वीर शमशेरको भविष्य देखे थाहा छैन। उनी आफ्नी पत्नीलाई सम्झाउँदै भन्थे अरे, ‘यसलाई नहकार्नू, जे खान्छ खान दिनू। पछि यो ठूलो मान्छे हुन्छ।’

नभन्दै गजराजको भविष्यवाणी सत्य सावित भयो। उनले रणोद्दीपको हत्या गरे, नेपालको शासन हत्याए, श्री ३ महाराज भए। आफू श्री ३ भइसकेपछि उनले आफूलाई गुन लगाउने गजराजराई पनि सम्झेछन्।

त्यसबेला सायद गजराज बितिसेका थिए या बिरामी परेर थलिएका थिए, त्यसैले वीरले गजराजका छोरा हीरामानलाई बोलाउन आठपहरियाहरू पठाएछन्। हीरामान त एक किसिमले वीरका समवयी नै थिए, साथी जस्ता। तर आठपहरिया आफ्नो घरअगाडि तैनाथ भएको देखेर उनी थर्कमान भएछन्। आफूबाट कुनै बेला वीरमाथि कुनै अभद्र व्यवहार भयो र श्री ३ भएपछि त्यसैको बदला लिन आठपहरियाहरू पठाए भन्ने आशंकाले भयभीत भएर उनी बुँइगलमा लृुक्न गएछन्।

त्यस बेला जस्तै ठूलो खपराध गरेको भए पनि बुँइगल–वासमा भएको व्यक्तिलाई गिरफ्तार गर्न पाइँदैनथ्यो। ‘ज्यानमारालाई पनि बुँइगल–वासमा छ भने समात्न पाइँदैन थियो रे’, घनश्याम भन्छन्, ‘त्यसबेला बुँइगलमा लुक्नु हिजोआज सीमापारि भागेजस्तै हो।’

आठपहरियाले वीरलाई यही कुरा जाहेर गरे। तर वीर त वीर नै ठहरिए। किशोरावस्थादेखिकै हुल्याहा। अनि कड्किएर आठपहरियाहरूलाई फेरि आदेश दिएछन्, ‘त्यो हीरामानलाई बुँइगलमा त के, चारभञ्ज्याङपारि छ भने पनि समातेर ल्याओ!’

नेपाली पाउरोटीका जनक कृष्णबहादुर राजकर्णिकार

नेपाली पाउरोटीका जनक कृष्णबहादुर राजकर्णिकार

वीर कतिजना राणाहरूको हत्या गरेर श्री ३ भएका थिए। त्यो त्रास पनि उनको मनमा थियो र हीरामान बुँइगल चढेका थिए। तर आठपहरियाहरूले उनलाई बुँइगलमा पनि छोडेनन्। उनलाई खुरमु¥याएर वीरका सामु पेस गरे। वीर शमशेरको थेगो थियो– ‘बुझिस्’। अनि हीरामानलाई आफ्नो अघिल्तिर देखेपछि उनले मुसुमुसु हाँस्दै भनेछन्– ‘बुझिस् हीरामान ! अब म त श्री ३ भएँ। अब तैँले मलाई मन्नुपर्छ।’

वीरको हँसिलो पारा देखेपछि हीरामानले यसले मार्न नै बोलाएको चाहिँ होइन रहेछ भन्ने ठानेर हात जोडेर भनेछन्, ‘जो हुकुम सरकार!’

अनि वीरले भनेछन्, ‘बुझिस् हीरामन, तँलाई के चहिन्छ? मान, पदवी, जग्गाजमिन, बुझिस् जे चाहिन्छ म दिन्छु।’

हीरामानले त ज्यान जोगिएको मै लाख पाएका थिए। उनले भनेछन्, ‘मलाई अरू केही चाहिँदैन सरकार ! खालि यी आठपहरियाहरूबाट छुटकारा पाऊँ!’

त्यसपछि वीरले हीरामानलाई आफ्नो दरबारमा मिठाइ पठाइदिन ठेक्का दिएछन्। अनि आफ्ना छोरा–छोरी, बुहारी परिवारका सबै सदस्यलाई बोलाएर उर्दी जारी गरेछन्, ‘मलाई यसका बाबुले ठूलो गुन लगाएको छ, त्यसैले यसका सन्तानलाई पनि हाम्रा सन्तानले पाल्नुपर्छ बुझ्यौ।’

हीरामानलाई वीरशमशेरले आफ्नै दरवारछेउको तीनधारानिर घर–जग्गा दिएर राखेछन्। वीर सेतोदरबारमा बस्थे। हीरामानले तीनधाराबाट नियमित वीर शमशेरको दरबारमा मिठाइका परिकारहरू सप्लाइ गर्न थाले।

घनश्याम भन्छन्, ‘यसरी मेरो जिजुबाजेले जङ्गबहादुरको र मेरो बाजेले वीर शमशेरको हलुवाई भएर सेवा गरे।’

वीर शमशेरकी भित्रिया नेवार्नी पत्नीतिरका छोरा थिए तेज शमशेर, जसलाई सानु हजुर भनिन्थ्यो। लाल दरबार उनको भागमा परेको थियो। वीर शमशेरको निधनपछि तिनै तेज शमशेरका छोरा इन्दु शमशेरका सेवामा कार्यरत भए हीरामान राजर्णिकारका छोरा कृष्णबहादुर राजकर्णिकार। अहिले कमलपोखरी सडक दक्षिणको कृष्ण पाउरोटी भण्डार जहाँ छ, त्यसबेला त्यस ठाउँलाई ‘कुत्ताघर’ भनिन्थ्यो। तेज शमशेर कुकुरका खुब शोखिन थिए, उनले त्यहाँ जातजातका कुकुर पाल्थे रे। हो, त्यही ‘कुत्ताघर’ भित्रको एउटा कोठामा बसेर कृष्णबहादुरले मिठाइका परिकारहरू बनाउँदै इन्दु शमशेरकहाँ लैजान थालेछन्।

पछि जुद्ध शमशेर श्री ३ भए। उनी श्री ३ भएपछि विद्रोह गर्लान् कि भन्ने आशङ्काले तेस्रो दर्जाका राणाहरूलाई उपत्यका बाहिर धपाए। यसरी धपाइनेमध्ये इन्दु शमशेर पनि परे। १९९९–२००० सालतिर उनलाई इलामको बडाहाकिम बनाएर पठाइयो। राणाजीको ताल त त्यही हो– जहाँ जाँदा पनि आफ्ना हुक्के, बैठकै, छाते, हलुवाईलगायत आफूलाई आवश्यक पर्ने सबै पेसाका मानिसहरूलाई लस्कर लगाएर लैजान्थे। यही क्रममा कृष्णबहादुर पनि इन्दुको हलुवाई भएर काठमाडौँबाट इलाम पुगे।

‘सेवकले त मालिकसँग जानै पर्यो’, घनश्याम भन्छन्, ‘यसरी मेरा पिताजी पनि इलाम पुग्नु भयो।’

त्यतिबेला इन्दु शमशेरले हीरा–जवाहरले भरिएका अनगिन्ती कन्तुरहरू बोकाएर सँगै लगेका रहेछन्। वीर शमशेरले लखनउ लूट गरेर ल्याएको सम्पत्ति इन्दुको भागमा पनि परेको रहेछ। अरू राणहरूसँग भन्दा वीर शमशेरसँग अलि बढी नै हीरा–जवहरातको छेलोखेलो थियो अरे। संयोगवश इलाम पुगेर कन्तुर गन्ती गर्दा एउटा कन्तुर गायव भएछ। कुनाकाप्चा जहाँजहाँ सम्भावना थियो, ती सबै ठाउँ खोतल्दा पनि भेटिएन। यसले ठूलो हल्लीखल्ली भयो। हल्लीखल्ली भइ नै रहेको थियो।

एक दिन उनीहरूसँगै जाने एकजना सेवकले कृष्णबहादुरलाई कानमा सुटुक्क भनेछ, ‘गोठमा पनि खोज्नुपर्छ, त्यहाँ पनि त हुनसक्छ।’

कृष्णबहादुरलाई पत्यार लागेको थिएन, त्यही पनि खोजी हालौँ न भनेर परालको कुन्यू उधिन्दै खोज्न थालेछन्। अचम्म ! त्यो कन्तुर त त्यहीँ पो भेटियो। उनले तुरुन्तै इन्दु शमशेरलाई यो कुरा जाहेर गरे। अनि इन्दुले केरकार गरे– कसरी भेटियो भनेर। कृष्णबहादुरले जसले खोज्नु भनेको थियो त्यसैको नाम लिएर खोज्दा भेटिएको बयान दिए। इन्दुले ‘त्यो मानिसलाई हाजिर गराओ’ भन्ने आदेश दिएपछि खोज्दा त्यो मानिसले उहिल्यै सुइँकुच्चा ठोकिसकेछ। अनि त्यसैले लुकाएको ठहर भयो।

त्यसबेलाका राणाजी खुसाउनु र रिसाउनु भनेको भगवान्ले सुखी हुँदा वरदान र रिसाउँदा श्राप दिएजस्तै हुन्थ्यो। उनीहरू खुसी हुँदा सर्वस्व दिन्थे र रिसाउँदा सर्वस्व हरण गर्थे। यति बहुमूल्य खजाना कृष्णबहादुरले भेटाएका थिए। त्यसैले त्यस दिन इन्दु पनि उनीसँग औधी खुसी भएका थिए।

उनले कृष्णबहादुरलाई भने, ‘माग् कृष्णे तँलाई के चाहिन्छ, म त्यही दिन्छु।’

उनले के मागून्!

‘सरकार हजुरको इच्छाले जे बक्सिन्छ, मलाई त्यही स्वीकार छ’, उनले भनेछन्।

राणाको बारा, रौतहटतिर ठूलो मौजा थियो। त्यहीँको ५० बिगाहा जग्गा उनलाई बक्सिस दिने घोषणा गरे। यति जग्गाले त उनका सन्तान–दरसन्तानलाई जीवनभरि खान लाउन पुग्थ्यो। उनी यो बक्सिस पाएर खुसी र हर्षले विभोर भए। उनका खुट्टा भुइँमै थिएनन्।

तर यो खुसी धेरै दिन टिक्न सकेन। इन्दुले हुकुम त दिए तर जग्गा उनको नाममा नामसारी गरेका थिएनन्। अलि दिनसम्म त उनी नामसारी होला भनेर पर्खे। तर इन्दुका ज्वाइँ तपेन्द्रबहादुर शाहले यसको सुइँको पाएछन् र उनलाई फस्लाइ–फुलाइ गरेर आफ्नै नाममा पो नामसारी गराएछन्। यो कुरा कृष्णबहादुले थाहा पाएपछि उनी सीमान्त विरक्तिए। उनको मनै बाँउडियो। अनि यस्ता राणाजीको सेवा गर्नुभन्दा आफ्नै कुनै इलम गरेर जीवन गुजारा गर्छु भन्ने इखले कोलकातातिर हान्निए।

जसोतसो उनी कोलकाता त पुगे तर उनले त्यहाँ न चिनेजानेको कोही थियो, न भाषा नै बुझ्थे। हप्ता दिनसम्म त्यसै बरालिएर ठाउँठाउँ चाहरे। खल्तीमा भएको अलिअलि दाम पनि सकिइसकेको थियो। काम कतै पाएनन्। अब उनी नितान्त बेसहारा भए। बिखलबन्दमा परे। बाटामा माग्नेहरूको लाम लागेको हुन्थ्यो। यो देखेर यहीँ बसिरह्यो भने आफ्नो पनि यही दुर्गति हुन्छ भन्ने पीरले पनि उनलाई सताउन थाल्यो। अनि काठमाडौँ फर्किने निर्णयमा पुगे।

उनी भोलिपल्ट काठमाडौँका लागि कोलकाता छोड्दै थिए। त्यसैले उनी फर्किनुअघि त्यहाँको प्रसिद्ध काली मन्दिरमा कालीको दर्शन गर्न गए। मन्दिरमा एकदमै घुँइचो थियो। खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल। उनले त्यही बेला देखे– एउटी आठ–नौ वर्षकी बालिका भीडमा चेप्टिएर कहालिँदै रोइरहेकी थिई। उनले हात र कुइनाले पन्छाउँदै भीड छिचोलेर त्यस बालिकालाई मन्दिर बाहिर निकालेर त्यसका अभिभावक खोज्न थाले। बालिकाका बाबु भीड छिचोल्न नसकेकर लाचार भएर बाहिर बसेर त्यो दृश्य हेरिरहेका रहेछन्। कृष्णबहादुरले आफ्नी छोरीको उद्धार गरिदिएकोमा उनी असाध्य अनुगृहीत भए। अनि सुस्ताएर कृष्णबहादुरका बारेमा सोधखोज गर्न थाले। कृष्णबहादुरले पनि आफ्ना सारा नालीबेली सुनाउँदै काम नपाएर काठमाडौँ फर्किन लागेको बताएछन्। त्यसपछि उनलाई साक्षात् कालीको दर्शन गरेकोमा वरदान नै प्राप्त भएको अनुभूति भयो।

अनि कृष्णबहादुरको भाग्योदय भयो। ती व्यक्ति रहेछन् अङ्ग्रेजी पाउरोटी बनाउने हेड मिस्त्री। उनले कोलकातामा पाउरोटी त देखेका थिए तर यसका बारेमा उनी पूर्णतः अनभिज्ञ थिए। त्यस दिन ती व्यक्तिले कृष्णलाई आफ्नो घरमा लगेर खुब खातिरदारी गरे र भोलिपल्ट पाउरोटी बनाउने नामी कम्पनी ‘फर्पुज’ मा पु¥याए। अनि कृष्णलाई उनले एक हप्तासम्म पाउरोटी बनाउने सीप सिकाए। कृष्ण त यसै हलुवाई थिए। मिठाइ आदि बनाउँदै आएका थिए। त्यसैले उनलाई पाउरोटी बनाउने सीप सिक्न बेर लागेन। उनी एक हप्तापछि पाउरोटी फुलाउने हब्स भन्ने धूलो बोकेर काठमाडौँ फर्के। यो २००३ सालको कुरा हो।

त्यसपछिका दुई वर्ष लगाएर उनले पाउरोटी बनाउने प्रविधि जुटाए र २००५ सालमा नेपालमा पहिलोपल्ट उनले पाउरोटी बनाएर बेच्न राखे। र हातैले लेखेको एउटा सानो बोर्ड पनि झुन्ड्याए– ‘कृष्ण पाउरोटी भण्डार’। यसरी कृष्णबहादुर राजकर्णिकारले नेपालमा पहिलोपटक पाउरोटी भित्र्याए।

(अर्को अंकमा कृष्ण पाउरोटी सञ्चालनका संघर्ष कथा) 

 

प्रकाशित २१ पुस २०७५, शनिबार | 2019-01-05 11:12:32
Max TV
Max TV
Vianet

author photo

रमण घिमिरे कला–साहित्य क्षेत्रका वरिष्ठ पत्रकार हुन्

रमण घिमिरेबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...