‘कमरेड रोहित’ को २६ वर्षे संसद–सम्झना




नारायणमान बिजुक्छे
नारायणमान बिजुक्छे
प्रविन कोइराला

७८ वर्षीय बिजुक्छे अब जीवनमा कहिल्यै निर्वाचन लड्ने छैनन्। अर्थात्, सांसदका रुपमा न उनी संसद भवन प्रवेश गर्नेछन्, न ड्यासमा उभिएर सरकार र बेथितिविरुद्ध बोल्नेछन्। भक्तपुर घरमा उनी भन्छन्, ‘काठमाडौँ जानु नपरेपछि फुर्सदिलो भएको छु।’

२६ वर्षे संसद यात्रापछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुरस्थित आफ्नै निवासमा विश्राम गरिरहेका छन्। उनी नेपाली राजनीतिमा ‘कमरेड रोहित’ का नाममा बढी परिचित छन्।

७८ वर्षीय बिजुक्छे अब जीवनमा कहिल्यै निर्वाचन लड्ने छैनन्। अर्थात्, सांसदका रुपमा न उनी संसद भवन प्रवेश गर्नेछन्, न ड्यासमा उभिएर सरकार र बेथितिविरुद्ध बोल्नेछन्।

तर, यसको मतलव उनले राजनीतिबाटै सन्यास लिएका चाहीँ होइनन्।

खासमा उनी भक्तपुरस्थित आफ्नो निवासमै बसेर राजनीतिक गतिविधि नियालिरहेका छन्। संसदमा उठ्ने हरेक प्रश्नको अस्तित्व केलाइरहेका छन्। नेमकिपाको तर्फबाट प्रतिनिधित्व गर्दै संसद छिरेका सांसदलाई सल्लाह–सुझाव दिइरहेका छन्।

अनि, भक्तपुर वरिपरी हुने विभिन्न राजनीतिक, सामाजिक तथा शैक्षिक गतिविधिमा आफूलाई समाहित गराइरहेका छन्।

‘काठमाडौँ जानु नपरेपछि फुर्सदिलो भएको छु’, बिजुक्छे भन्छन्, ‘साथी–भाइसँगको भेटघाट र विभिन्न कार्यक्रममा सहभागी भएरै दिनहरु बितिरहेका छन्।’

बिजुक्छे बिहान ८ बजेमात्र उठ्छन्। धेरै अल्छी भएर होइन, विहान ढिलो उठ्ने गरेका। खासमा राति ढिला (११–१२ बजे) सुत्छन् उनी। बिहान उठेपछि कालो चिया पिउँदै पत्रपत्रिका पढ्न सुरु गर्छन्। त्यसपछि कार्यक्रमको ‘सेड्युल’ हेर्छन्। कुनै कार्यक्रम छ भने घरबाहिर निस्कन्छन्, छैन भने घरमै पुस्तक पढेर–लेखेर बस्छन्।

उनको अधिकांश समय लेखपढीमै बितिरहेको छ।

बिजुक्छे निवास

बिजुक्छे निवास

संसदबाहिरबाट संसदलाई नियाल्दा
बिजुक्छेले घरबाट देशको राजनीति र संसद दुबै नियालिरहेका छन्। तर, दुबैप्रति उनको असन्तुष्टी छ। उनलाई न राजनीति राजनीतिजस्तो लाग्छ, न संसद संसदजस्तो।

‘राजनीतिमा जुन सेवाभाव हुनुपर्ने हो, त्यो छैन’, बिजुक्छेले असन्तुष्टि पोखे, ‘राजनीतिले ठेकेदार जन्माउने र उनीहरुलाई पाल्ने काम गरेपछि देश बन्छ?’

एकदिन बिजुक्छे काम विशेषले भक्तपुरबाट काठमाडौँ आउँदै रहेछन्। उनले मीनभवनस्थित यातायात व्यवस्था विभाग अगाडि सांसदहरुको हुल देखे। के भएको रहेछ भनेर बुझ्न गाडीबाट ओर्लिए।

‘यहाँ के भइरहेको छ’, विभाग अगाडि पुगेपछि बिजुक्छेले एक अपरिचित व्यक्तिसँग सोधे, ‘ठेक्का खुलेको छ दाई’, ती व्यक्तिले जवाफ दिए।

उनको कुरा सुनेपछि बिजुक्छे त्यहाँबाट फरक्क फर्किए।

उनी केही समयअघिको यस घटनालाई उदाहरणको रुपमा प्रस्तुत गर्दै सांसदहरुको काममाथि व्यंग्य गर्छन्।

सांसदहरु संसद बैठक छाडेर एनजिओको कार्यक्रममा लाम लागेर जाने गरेको उनलाई चित्त बुझेको छैन। भन्छन्, ‘एनजिओले नेताहरुलाई खत्तम पारिदियो।’

पछिल्लो समय नेताले ठेकेदार जन्माउने र तिनै ठेकेदार चुनाव लडेर मन्त्री हुने प्रबृत्ति बढेकोप्रति बिजुक्छेको गुनासो छ। भन्छन्, ‘राजनीतिमा दूधलाई बिरालो साथी भइरहेको छ।’

अहिलेको संसदप्रति बिजुक्छेका केही असहमति छन्।

जसरी प्रधानमन्त्री–मन्त्रीहरुले संसदबारे अवगत गराउनुपर्ने हो, त्यसो हुन नसकेको उनको भनाई छ। अमेरिकासँग हतियार ल्याउने विषयमा भएका सम्झौताबारे संसदमा प्रश्न उठ्नुपर्ने उनी बताउँछन्।

भारतसँगको रेल सम्झौताका विषयमा पनि संसदमा कुरा नउठेको बिजुक्छेको ठहर छ। जापानले भारतलाई आधुनिक रेल दिन लागेकाले भारतले आफ्नो पुरानो रेल नेपालमा थन्काउन लागेको उनको दाबी छ।

‘के नेपाल भारतको डम्पिङ साइट हो?’ बिजुक्छे प्रश्न गर्छन्, ‘यस विषयमा संसदमा किन कुरा उठ्दैन?’

कहिलेकाहीँ संसदमा उठ्ने विषयमा पनि सांसदहरुको व्यक्तिगत स्वार्थ हावी हुने र त्यो स्वार्थ पूरा भएपछि विषय साम्य हुने बिजुक्छेले राम्रोसँग बुझेका छन्।

‘कहिलेकाहीँ मन्त्रीमाथि प्रश्न गरिन्छ’, उनी भन्छन्, ‘संसद बैठकपछि मन्त्रीले ल भन्नुस् के गर्नुपर्ने हो?’ भन्छन्, ‘त्यसपछि आफन्त–कार्यकर्तालाई जागिर, सरुवा–बढुवा वा अन्यमा कुरा मिल्छ। अनि, अर्कोपटक त्यस विषयलाई कसले फलो गर्ने?’

अहिले संसदमा निस्वार्थ भावनाले देश–जनता र राष्ट्रियताको पक्षमा प्रश्न गर्नेको कमी रहेको बिजुक्छेको निचोड छ। जसरी हिजो उनी निर्धक्क भएर संसदमा आफ्ना कुरा राख्थे।

उनलाई व्यक्तिगत रुपमा कसैको विरोध गरेर पाउनु केही छैन। तर, सबैले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्ने हो भने देश परिवर्तन हुन धेरै समय नलाग्ने उनको बुझाई छ।

‘नेतृत्वले राम्राभन्दा पनि हाम्रालाई टिकट दिने, मन्त्री बनाउने र पक्षपोषण गर्ने गरेका कारण यस्तो अवस्था आएको हो’, बिजुक्छेको निस्कर्ष छ।

संसदमा बोल्न मन्त्रीहरु पर्याप्त तयारी गरेर जानुपर्ने र सांसदहरु पनि आफूले बोल्ने, प्रश्न गर्ने विषयमा पोख्त भएर आउनुपर्ने उनको सुझाव छ।

एकपटक उनी भारतको संसद बैठकको अवलोकन गर्न गएका थिए। उनले देखे, सांसदले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रालयका मन्त्रीले तथ्य र तथ्यांकसहित जवाफ फर्काउँदा रहेछन्।

त्यसपछि ती सांसदले फेरि मन्त्रीले प्रस्तुत गरेको तथ्यांकमा कहाँ–कहाँ गल्ती छ र तथ्यांकमा के–के कुरा मिलेका छैनन् भनेर एक–एक कुरा केलाएको पनि उनले आफ्नै आँखाले देखे।

उनी भन्छन्, ‘हामीकहाँ यसरी अध्ययन गर्ने परिपाटी नै छैन।’

त्यस्तै, श्रीलंकामा कुन विषयमा कुन सांसदले के बोल्ने भन्ने पहिल्यै छलफल गरेर संसद बैठकमा जाने गरेको बिजुक्छे बताउँछन्।

तर, नेपालमा भने एउटै विषयमा बोल्दा पनि एउटै पार्टीका चार सांसदहरुबाट चारथरि कुरा आउने गरेकोप्रति उनको गुनासो छ।

नारायणमान बिजुक्छे

नारायणमान बिजुक्छे

सम्झनामा संसद
२०४८ देखि २०७० सालसम्म भएका ५ निर्वाचनमा बिजुक्छे भक्तपुर–१ बाट निर्वाचित भए। ७८ वर्षीय बिजुक्छेले यसरी आफ्नो जीवनको तीन भागको एक भाग संसदमै बिताए।

प्रष्ट विचार र राजनीति भइका, नेतृत्वप्रति तीक्ष्ण प्रहार गर्ने, मनमा लागेका कुरा निसंकोच प्रवाह गर्ने, राष्ट्रियताको पक्षमा वकालत गरिरहने बिजुक्छेका मुख्य विशेषता हुन्। संसदमा उनले आफूलाई सधैं प्रतिपक्षको रुपमा उभ्याए। र, राष्ट्रियताको पक्षमा वकालत गरिरहे।

२६ वर्षे संसद यात्राका क्रममा बिजुक्छेले जीवनमा तिता–मीठा दुबै अनुभव संगालेका छन् ।

संसद कसरी चल्छ भन्ने उनले बेलायत, स्वीट्जरल्याण्ड, अमेरिका, फ्रान्स, भारत र चीन लगायतका देशको संविधान पढेर राम्रोसँग बुझेका थिए।

२०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनस्र्थापना गरेपछि २०४८ सालमा प्रतिनिधि सभा निर्वाचन भयो। सभामुख दमननाथ ढुंगाना थिए। १ मिनेट बोल्न पाउने गरी शुन्य समयको व्यवस्था हुन्थ्यो।

तर, संसदमा सभामुख, पार्टी नेतृत्व, पत्रकारलगायतलाई सम्बोधन गर्दागर्दै सांसदहरुको १ मिनेटको समय सकिन्थ्यो। बिजुक्छे भने विषय केन्द्रित भएर बोल्थे।

विशेष समयमा दिइएको ५ मिनेटको समयमा उनी विधेयक र सार्वजनिक महत्वका कुरा राख्थे।

कुनै विषयमा ध्यानाकर्षण गराउनु पर्दा लेखेर दिने र एक हप्तापछि बोल्न पाउने व्यवस्था थियो ।

बिजुक्छे त्यतिबेला सरकारी कार्यालयमै पुगेर त्यहाँका बेथिति केलाउँथे। कर्मचारीसँग नाम गोप्य राख्ने शर्तमा सूचना संकलन गर्थे र संसदमा त्यो कुरा उठाउँथे।

संसद छिर्नुअघि बिजुक्छेले संसदमा देश र जनता, विकास र समृद्धि, राष्ट्रियता र स्वाभिमानका विषयमा कुरा हुन्छन् होला भन्ने सोचेका थिए। तर, २६ वर्षे संसद यात्राका क्रममा उनले यी विषयमा छलफल भएको कमै सुने।

भन्छन्, ‘त्यहाँ त व्यक्तिगत स्वार्थका कुरा पो हुँदारहेछन्। मलाई अहिलेसम्म पनि अचम्म लाग्छ।’

नारायणमान बिजुक्छे

नारायणमान बिजुक्छे

२६ वर्षे संसद यात्राका क्रममा बिजुक्छे आफूलाई पार्टीको सिद्धान्त र जनताले दिएको अभिभारा अनुरुप प्रस्तुत गरेको बताउँछन्।

सुजाता कोइरालासँग जर्मनको नागरिकता भएको विषयमा आफूले पहिलोपटक संसदमा कुरा उठाएको स्मरण गर्दै उनी भन्छन्, ‘उहाँ कहाँको नागरिक भनेर प्रश्न गरेको त सबै चुप लागे, कोही बोलेनन्।’

एकपटक बिजुक्छेले भक्तपुरलगायतका केही स्थानलाई सांस्कृतिक शहर घोषणा गर्नुपर्ने कुरा संसदमा उठाए। सांस्कृतिक पर्यटकीय स्थल वरिपरि पक्की घरहरु ठड्याउन नपाइयोस् भन्ने उनको उद्देश्य थियो।

संसदले यस विषयमा ऐन बनाएर पास गर्नुपर्ने हुन्थ्यो। तर, ऐन संसदमा नै आएन। यसबारे बिजुक्छेले बारम्बार प्रश्न उठाइरहे। मन्त्रीसँग पनि कुरा गरे।

उनी सम्झन्छन्, ‘तर, मन्त्रीलाई सांस्कृतिक सहर भनेको के हो भन्ने नै थाहा थिएन।’

त्यस्तै, एकजना भारतीय पत्रकारले संसदमा ‘यसो बोल, उसो गर’ भनेर आफूलाई सिकाउने गरेको बिजुक्छे सम्झन्छन्।

‘संसदमा मैले एमालेको पनि आलोचना गर्ने भएकाले उसले मलाई के सम्झिएछ कुन्नि, भारतको तारिफ गर्न सिकाउँथ्यो’, बिजुक्छे भन्छन्, ‘पछि म कम्युनिष्ट हो भन्ने थाहा पाएपछि मेरो नजिक नै आएन।’

बिजुक्छे संसदमा दलालहरुको पनि हालिमुहाली हुने गरेको बताउँछन्। उनकाअनुसार राजाले पनि संसदमा अप्रत्यक्षरुपमा हस्तक्षेप गर्थे।

बिजक्छेले संसदमा पहिलोपटक भ्रष्टाचार र नेपाल–भारत सीमाको विषयमा कुरा उठाए। आफूलाई देशको चिन्ता भएको र मन्त्री हुने लालच नभएका कारण प्रष्टरुपमा कुरा राख्ने गरेको उनी बताउँछन्।

उनले २६ वर्षे संसद यात्राका क्रममा थुप्रै गैरजिम्मेवार सांसदपनि भेटेका छन्। यस्ता सांसदहरुले देशभित्र मात्र होइन, विदेश जाँदासमेत लाजमर्दो काम गरेको उनको दाबी छ।

एकपटक बिजुक्छेसहित केही सांसदहरु नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन गएका थिए। राष्ट्रसंघीय महासभामा भाग लिन पाउनु नेपाली सांसदहरुका लागि राम्रो अवसर थियो। तर, बैठकमा भाग लिन गएका सांसदहरु त्यहाँ पुगेपछि आफन्त भेटघाट र घुमघाममै रमाए।

‘बैठकमा नेपालका लागि ४–५ वटा कुर्सी छुट्याइएको थियो’, उनी सम्झन्छन्, ‘तर, मबाहेक बैठकमा कोही भएनन्। सबै राम–रमाइलोमा लागे।’

भरतमोहन अधिकारीले २०५६ सालमा संसदमा गरेको एउटा संबोधनलाई कहिल्यै बिर्सँदैनन् उनी। अधिकारी त्यतिबेला विराटनगरको एक व्यापारीका सल्लाहकार थिए। उनले संसदमा उनकै कम्पनीको पक्षपोषण गर्दै बोले।

भरतमोहन बोल्दै गर्दा बिजुक्छेले उठेर नियमापत्ति गरे। भने, ‘सभामुख महोदय, उहाँ त्यही कम्पनीको सल्लाहकार हुनुहुन्छ।’

त्यसपछि भरतमोहन लाजले थचक्क बसे।

प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 15:41:29
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...