प्रदीप देवानः जनयुद्धमा जनवादी गायन, अहिले गणेशको भजन




प्रदीप देवान
प्रदीप देवान
प्रबिन कोइराला

०६१ साल फागुन महिना। माओवादी जनयुद्धले देश आक्रान्त थियो। रेडियो र टिभीमा नेपाली सेना र जनमुक्ति सेनाबीचको भिडन्त र सहादतको खबर आइरहन्थ्यो। त्यति नै बेला माओवादी नेतृत्वबाट भोजपुर सदरमुकाम आक्रमण गर्ने निर्देशन आयो। पूर्व ब्रिगेडका जनमुक्ति सेना, स्वयंमसेवक, केही गायक गरी झन्डै एक हजारको टोली पाँचथरबाट संखुवासभा हुँदै तमोर र अरुण नदी तरेर भोजपुर पुग्यो।

रातभरको जंगल यात्रा, उकाली–ओराली, भीर–पाखा, नदी–नाला गर्दै जसोतसो तमोर नदी पार भयो। त्यसपछि अरुण नदी पार गर्नुपर्ने भयो।

झोलुङ्गे पुल भत्किएर कोल्टे फेरेको थियो। एकापट्टीको लहरालेमात्र पुल ढल्नबाट बचेको रहेछ। तलपट्टी ठूलो नदी सुसाइरहेको थियो।

हजार जनाको टोलीले कसरी नदी पार गर्ने?

अर्को विकल्प छैन। मध्यरातमा भोजपुर आक्रमण गर्ने योजनाअनुरुप जसरी हुन्छ, पुल पार गर्नुपर्ने छ।

जे त होला भनेर भत्किएको पुलमा टेकेर लहरा समाउँदै टोली अगाडि बढ्यो।

माओवादी सेनाका लागि भोजपुरसम्मको यो यात्रा निकै कष्टकर रह्यो। बाटोमा विभिन्न स्थानमा रातो झन्डा गाडेको देखिन्थ्यो। रातो झन्डाको अर्थ रहेछ, माओवादी लडाकुले सहादत प्राप्त गरेको स्थान।

लडाईं सकियो। आफ्नै आँखा अगाडि साथीहरुले सहादत प्राप्त गरेको देख्दा माओवादी लडाकुको मन खिन्न भयो।

त्यसका एक साक्षी थिए कुनै समय जनवादी गीतमार्फत चर्चामा आउन सफल गायक प्रदीप देवान।

भोजपुर आक्रमणपछि देवानको आँखामा भोजपर पुग्दाको दृश्य झलझली आइरह्यो। यस विषयमा तत्कालिन कमाण्डर मणी थापासँग कुरा भयो। थापाले त्यहाँ आफूहरुले देखेका र भोगेका विषयलाई शब्दमा उतारे। देवानले त्यसमा संगीत र स्वर दिए। र, बन्यो इतिहासकै चर्चित जनवादी गीतः

अरुण तरेर नाना तमोर तरेर
आयौँ हामी वीरताको गाथा कोरेर

कति साथी सहिद भए तमोर तिरैमा
कति साथी अपाङ्ग छन् लडी भिरैमा

रगतका छिर्काहरुले बाटो रंगिएको छ
अलैंचीको पातहरुमा रगत भरिएको छ

गीत रेकर्ड नहुँदै पूर्व–पश्चिम मोर्चामा स्वरहरु गुञ्जिन थाले। गीत सुनेर धेरैका आँखा त रसाए। तर, त्यसले लडाकुलाई कत्ति पनि कमजोर पारेन। झन्, युद्ध मोर्चामा होमिने शक्ति प्रदान गर्यो। देवानलाई पनि यो गीतले जनवादी गायकका रुपमा चर्चाको शिखरमा पुर्यायो।

यसरी देवानले युद्ध मोर्चामा रहेर युद्ध र क्रान्तिका दर्जनौँ गीत गाए। उनकै गीत सुनेर कतिपय युवा क्रान्तिमा होमिए। जनयुद्धकै क्रममा उनले प्रशिक्षण दिएर थुप्रै जनवादी गायक–गायिका जन्माए।

तर, हिजो आक्रोश र आवेगका साथ युद्ध र क्रान्तिका गीत गाउने देवान अहिले भने फेरिएका छन्। उनी शान्त र मलिन छन्। या भनौँ, पछिल्लो राजनीतिक परिवर्तनसँगै उनी पनि बदलिएका छन्।

उनी अहिले काठमाडौँका मन्दिरहरुमा भजन गाउँछन्। एउटा आरती भजनमा स्वरसमेत दिएका छन्ः

जय गणेश जय गणेश देव ...

यसरी नै उनको दिनचर्या चलिरहेको छ।

फेरिएको यात्रा
२०६२–०६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भयो। २७ मंसिर २०६१ मा काठमाडौँबाट पक्राउ परेर नख्खु जेलमा झन्डै दुई वर्ष बिताएर देवान जेलमुक्त भए। उनले हिजो आफू सँगसँगै मोर्चामा हिँडेका साथीहरुको फरक खालको जीवनशैली देखे। साथै पार्टीमा विभिन्न गुट र स्वार्थहरु हाबी हुन थालेको अनुभूत गरे।

त्यसपछि देवानको राजनीतिप्रति बितृष्णा बढ्दै गयो। उनले नेपाल टेलिभिजनमा ‘आस्थाको स्वर’ नामक सांगीतिक कार्यक्रम चलाउन थाले। तर, त्यसको कुनै कदर भएन। न पार्टीले जनयुद्धमा उनको योगदानको नै कदर गर्यो।

देवानलाई यत्रो राजनीतिक आन्दोलनले समाजभन्दा व्यक्तिलाई बलियो र आफू जस्ता नागरिकलाई कमजोर गराएको महसुस हुन थाल्यो।

उनले जानेको दुई कुरा थियो। एउटा होटल चलाउने र अर्को गीत गाउने। जनवादी गीत गाएर चर्चामा आएका देवानलाई अब ती गीत चल्छन् जस्तो लाग्न छाड्यो। भन्छन्, ‘हिजो पो पार्टीका लागि हामी आवश्यक थियौँ र प्रयोग भयौँ। अब न जनवादी गीत आवश्यक छ, न त हाम्रो आवश्यकता नै।’

अन्तमा उनले होटल संचालनमा ल्याए। यसैबाट गुजारा निर्वाह हुन थाल्यो। उनले यसरी केही पैसा त कमाए तर, संगीतबाट प्राप्त हुने सन्तुष्टि भने पाउन सकेनन्।

त्यसपछि उनले जनवादी गीतबाट भजनमा फड्को मारे। हिजो क्रान्ति र युद्धका लागि युवाहरुलाई गीतमार्फत जुरुक्–जुरुक् उचाल्न सक्ने देवान आज शान्ति खोज्दै छन्। चाहे त्यो आफ्नो मनको होस्, चाहे अरु कसैका लागि।

‘अहिले म यसमै सन्तुष्ट छु’, देवान भन्छन्, ‘हिजो जुन परिवर्तनका लागि क्रान्तिमा होमिएका थियौँ, त्यसबाट सन्तुष्ट हुन नसकेर म आज आत्मसन्तुष्टी खोज्दै छु।’

देवान यतिबेला भजनमार्फत् पूर्खाको अस्तित्व रक्षा गर्ने प्रयत्न गरिरहेका छन्। भन्छन्, ‘संस्कार–संस्कृतिको रक्षाका लागि भजन गाउँदै छु।’

‘जनवाद प्रेम र धर्ममा परिणत भएको हो?’

यो प्रश्नमा देवान अलि तात्तिए। र, उनले हिजोका दिनमा प्रेम र धर्मलाई जनवादसँग होस् वा आजका दिनमा जनवादलाई प्रेम र धर्मसँग तुलना गर्नु जनता झुक्याउने खेल भएको बताए।

‘यी दुवैले एकअर्काको अस्तित्व नस्वीकार्ने भन्ने होइन, विचारमात्र फरक हो’, उनी तर्क गर्छन्।

यसलाई प्रष्ट्याउन देवान चेतनाले पदार्थ र पदार्थले चेतनाको विकास गर्ने काल माक्र्सको विचार अघि सार्छन्। चेतनालाई उनी अध्यात्म र पदार्थलाई भौतिकवादसँग तुलना गर्छन्।

संगीतको कुनै दायरा हुँदैन भन्ने देवानले राम्रोसँग बुझिसकेका छन्। त्यसैले, उनी आजभोलि भजन गाउन विभिन्न स्थानमा पुग्छन्। पहिले पहिले जनावादी गीत गाउन बोलाइने उनलाई धार्मिक कार्यक्रमहरुबाट भजन गाउनकै लागि बोलाइन्छ। दिउँसो ३ बजेदेखि ५ बजेसम्म मैतिदेवी मन्दिरमा दैनिक भजन गाउँछन्।

मन्दिरमा भजन सुन्न धेरैजसो बृद्धबृद्धाहरु आउँछन्। देवानको भजन सुनेर उनीहरु खुसी हुन्छन्। र, उनीहरुको खुसीमा देवान।

देवानमात्र होइन, उनले जनयुद्धमा गीत–संगीत सिकाएका प्राय गायक–गायिकाहरु अहिले प्रेमका गीत गाउँछन्। यसमा उनको कुनै गुनासो छैन।

‘उनीहरुले जीवन जिउने बाटो रोजेका छन्’ देवान भन्छन्, ‘के गर्ने, बाँच्न प¥यो नि!’

माओवादी आन्दोलनसँगको साइनो
देवान गीत–संगीतमा अमर गुरुङका चेला हुन्। २०४२–४५ सम्म उनले गुरुङसँग संगीत सिके। गुरुङ उनलाई सधैँ हौसाइरहन्थे। भन्थे, ‘तिम्रो राम्रो छ, मेहनत ग¥यौ भने अझ राम्रो गर्न सक्छौ।’

उनको पहिलो गीत २०४५ सालमा रेडियो नेपालमा रेकर्ड भयो:

बाटो लामो रोजेँ मैले, छोटो रहेछ जिन्दगी
सबैलाई आफन्त सम्झेँ मैले, पराई रहेछ दुनियाँ नै

त्यतिबेला उनी रेडियो नेपालमा जागिरे थिए। गीत–संगीतमै रमाएर दिनहरु बितिरहेका थिए।

त्यससँगै उनले काठमाडौँको पुरानो बानेश्वरमा डान्स रेस्टुरेन्ट खोले। तर, रेस्टुरेन्ट चलाउन त्यति सहज भएन। सुरक्षाकर्मीदेखि गुण्डा नाइकेसम्मलाई हप्ता बुझाउनुपर्ने। अनेकखालका मानिसहरुको दलाली गर्नुपर्ने।

२०४६ सालको राजनीतिक परिवर्तनपछि देवानले देशले उन्नति–प्रगति हुनेछ भन्ने निकै ठूलो आशा पालेका थिए। आफ्नो व्यवसाय राम्रोसँग चलाउन पाइएला भन्ने उनलाई लागेको थियो। तर, उनको आशा निराशामा परिणत हुँदै गयो।

त्यसको पाँच वर्षपछि माओवादी जनयुद्ध सुरु भयो। जनयुद्धका विषयमा सम्प्रेषित विचारहरु उनलाई मन पर्न थाले। सुरक्षाकर्मी र गुण्डा नाइकेको किचलो सहने या जनयुद्धमा भाग लिने?

यिनै दुई विकल्पमाथि उनले निकै गम्भीरतासाथ विचार गरे।

‘अरुलाई पैसा खुवाएर वा कसैको दलाली गरेर जीवन चल्न सक्दैन .भन्ने लाग्यो’ उनी भन्छन्, ‘आफू विद्रोही स्वभावको भएकाले पनि होला, शासक र शोषणविरुद्ध लड्छु भनेर जनयुद्धमा होमिएँ।’

देवानका गीतहरु रेडियो नेपालमा बजिसकेको र अम्मर गुरुङसँग संगीत सिकेकाले उनमा गायकी चेत छँदै थियो। जनयुद्धमा लागेपनि कहिलेकाहीँ साथी–भाइको अगाडि आधुनिक गीत गाउँथे।

विस्तारै जनयुद्धले देश तताउँदै लग्यो। राज्य र माओवादी पक्षबीच हुने भिडन्तमा गोलीका स्वरहरु सुनिन थाले। भीर–पाखा, उकाली–ओराली गर्दै भोको पेट सयौँ किलोमिटरको यात्रा तय गर्नुपर्ने भयो। यससँगै उनले गाउने गीतका शब्दहरु पनि फेरिन थाले।

एक ठाउँबाट अर्को ठाउँ गर्दा होस् या सामूहिक मेसमा, देवानले गुनगुनाउँदा क्रान्तिकारी स्वरहरु सुनिए। आफूले देखेका, भोगेका कुरालाई गुनगुनाए। ‘मैले जोश, जाँगर र उत्साहले भरिएका गीतहरु गाउन थालेपछि साथीहरु पनि हौसिनु भयो’ ती दिनहरु सम्झँदै उनी भन्छन्।

संगीतमा एउटा यस्तो लुप्त शक्ति हुन्छ, जसले ऊर्जा थपिदिने काम गर्छ। देवानको साथमा सधैँभरि एउटा गितार हुन्थ्यो। उनी त्यही गितार बजाएर गीत गाउँथे। जनयुद्धमा लागेका युवाहरु वरिपरी झुम्मिएर उनका गीत सुन्थे।

बगेको नदी सुकेको कहाँ छ र
जनयुद्ध हाम्रो रुकेको कहाँ छ र

‘यस्ता गीत सुनेपछि उनीहरुमा ऊर्जा थपिएको म महसुस गर्थेँ’ देवान भन्छन्। अर्थात्, देवानको गीतले उनीहरुको रगतमा क्रान्तिको राग उत्पन्न हुन्थ्यो।

०५९ सालमा देवानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रोल्पामा पहिलो भेट भएको थियो। राति सांगीतिक कार्यक्रम भयो। देवानले गितार बजाएर क्रान्तिका गीत गाए। उनको गीतमा प्रचण्ड मन्त्रमुग्ध बने ।

यस्ता किस्सा त कति छन् कति उनको जीवनमा। उनी त्यसलाई न बिर्सन सक्छन्, न सम्झन नै चाहन्छन्। कहिलेकाहीँ सम्झना आउँदा एउटा मीठो संयोग सम्झिएर मुस्काराइदिन्छन्।
अनि, गाइदिन्छन्:

जय गणेश जय गणेश देव...

प्रकाशित १७ पुस २०७५, मंगलबार | 2019-01-01 14:48:22
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।