त्यो समय

मामाले ल्याएको बाकसमा जब ‘हाम्रो तेन्जिङ शेर्पाले’ गीत बज्न थाल्यो




कुनै बेला युद्धको समयमा रेकर्डिङका लागि पनि ग्रामोफोन प्रयोग हुन्थ्यो
कुनै बेला युद्धको समयमा रेकर्डिङका लागि पनि ग्रामोफोन प्रयोग हुन्थ्यो
इभिनिङ एक्स्प्रेस डट सीओ डट युके

त्यतिबेला आजजस्तो युट्युबको त कल्पनै थिएन। क्यासेटको चलन पनि तीसको दशकको अन्त्यतिर रत्न रेकर्डिङ संस्थाको उदय भएपश्चात् मात्र सुरु भएको हो। सीडीको त झन् कुरै नगरौँ।

हाम्रो गाउँमा एक साँझ एउटा अचम्मको बाकस आयो। सानो चिटिक्क परेको त्यो बाकस आजको ल्यापटप जत्रै, तर चारपाटे आकारको थियो। त्यो ल्याउने व्यक्ति थिए, गाउँकै कान्छा खत्री। उनलाई हामी कान्छा मामा भन्थ्यौँ। त्यसो त गाउँका सबै ठूला मानिसहरू हाम्रा मामा नै पर्थे। किनभने तिनीहरू हाम्री आमालाई बहिनी भनेर बोलाउँथे। तर खत्री मामा अरू मामाहरू भन्दा अलि अग्रगामी थिए। त्यही बेला यिनले कसोकसो जोडजाम गरेर झापाको धुलाबारी मोडमा एउटा घर बनाएका थिए। त्यति बेलाको जमानामा यो आफैँमा ठूलो पौरख थियो।

१२–१५ घरको एउटा सानो बस्ती थियो, गोमनसरी। खत्री मामाले त्यो अचम्मको बाकस ल्याएको गाइँगुइँ एकै छिनमा गोमनसरीभरि एक कान, दुई कान, मैदान भइहाल्यो। किनभने, त्यो चानचुने बाकस थिएन र पैसा या लत्ताकपडा राख्ने बाकस पनि थिएन। त्यो बाकस भित्रको घेरा नभएको कालो रिकापीले मानिसले जस्तै गाउँथ्यो। गाउँथ्यो मात्र होइन, अनेकौँ बाजागाजा पनि बजाउँथ्यो। त्यो बाकस हामीले त्यस बेला किताबमा पढेको ‘अलाउद्दिनको जादूको बाकस’ जस्तो हुनपुग्यो।

हाम्रो घर अलि पुछारमा थियो, खत्री मामाको घर गाउँको सिरानमा। गाइँगुइँ सुन्नासाथ हामी केटाकेटीहरू बेत्तोडले कुदेर तिनको आँगनमा पुग्यौँ। तिनले बाकस खोलिसकेका थिए। हामी बाकसका वरिपरि सेलरोटी जस्तो गोलाकार बनाएर थ्याच्च भुइँमा बस्यौँ। बाकसभित्र रातो मखमली कपडाले बेरेको एउटा गोलो कालो रिकापीजस्तो बस्तु थियो। त्यसको बीचमा एउटा सानो टुसो थियो। तिनले पहिला त्यस बाकसको दाहिने कुनामा भएको सानो ह्यान्डिललाई घुमाएर दम दिए र झोलाबाट एउटा बाक्लो कागजले बेरेको ठूलो खामबाट बीचमा दुलो भएको अर्को कालो रिकापी निकाले र त्यो टुसोमा थपक्क छिराए। अनि, अर्को छेउको सानो यन्त्रलाई थिचे। त्यो रिकापी फनन्न घुम्न थाल्यो। त्यसपछि तिनले त्यसको किनारमा एउटा सानो टाउको भएको यन्त्रमा मसिनो सुई घुसाएर कसे र त्यसलाई अत्यन्त जतन गरेर रिकापीको एकदमै किनारमा राखे।

हामीलाई खपी नसक्नु आश्चर्य भयो, त्यसले त गाउन पो थाल्यो बा!

हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बज खैजडी, झम्केर नाच मुजुरा
सगरमाथि चम्किने नेपाली तारा तेन्जिङलाई
छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ

यो आश्चर्यले हामीलाई निकै पछिसम्म पछ्याइरह्यो। त्यसमा अरूहरूका गीतहरू पनि थिए। अझ धेरै गीत सुन्ने उत्कण्ठा हुँदाहुँदै खत्री मामाले ‘भो आजलाई पुग्यो, जाओ आ–आफ्ना घर’ भनेर हामीलाई त्यस दिन धपाइदिए।

मेरो बाको सम्पत्ति भए पो अझै गीत सुन्छु भनेर घुक्र्याउनु!

तेन्जिङ शेर्पाले हिमाल चढेको बढाइँमा गाएको त्यो गीतले भने मलाई खुबै तान्यो।

बेलुकाबेलुका जब खत्री मामा फुर्सदमा हुन्थे, उनी त्यही कालो रिकापी बजाउँदै उपरखुट्टी लगाएर चुर बेरेर तान्दै निमग्न भएर सुन्थे। त्यही मौकाको फाइदा उठाएर हामी भुराभुरी कालो रिकापीले बजाएको गीत सुन्थ्यौँ।

तर त्यहाँ त्यो कालो रिकापीबाहेक केही थिएन। न गाउने गायक थियो, न यति धेरै बाजागाजा बजाउने मानिसहरू नै थिए। सुरुको दिनमा त मलाई त्यो भाँडो बजेकोमा नै आनन्द लागेको थियो। तर दिनैपिच्छे सुन्दै जाँदा कौतूहल जागृत भयो। म कोल्टिँदै त्यो भाँडो वरिपरि हेर्थेँ र आफूले जानेसम्म शोध–अनुसन्धान गर्थेँ। मरिगए भेउ पाउन सकिनँ। खत्री मामाले धेरैबेर छेउछाउ ठिम्किन पनि नदिने।

तैपनि म साथीहरूसँग मिसिएर गाउँदै हिँड्थेँ, यसरीः

हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
चुचुरामा बसेर खायो भाले कुखुरा

निकैपछि मात्र थाहा भयो, यो गीत जनकविकेशरी धर्मराज थापाले गाएका रहेछन् र उनले तेन्जिङलाई भाले कुखुरा पनि खुवाएका होइन रहेछन्।

अलि पछि हाम्रो गाउँमा एकजना मास्टर आए, गोपेन्द्र सर अर्थात् गोपेन्द्र कश्यप। गोपेन्द्र सर देश खाई शेष भएका प्राणी थिए। तिनले संसारमा नजानेको कुरा खालि एउटै थियो, विहे। जबकि उनी पाको उमेरमा दौडँदै थिए। अलिक पछि उनले विहेको कर्मपनि पुरा गरे। तिनै गोपेन्द्र सरले त्यस बाजाको रहस्योद्घाटन गरिदिए।

त्यो रहेछ ग्रामोफोन।

त्यतिखेर नेपाली गीतको रेकर्ड कोलकातामा हुन्थ्यो। रेडियो नेपाल त थियो, तर रेकर्ड गर्ने प्रविधि थिएन। पछि रत्न रेकर्डिङ संस्थानको स्थापना भएपछि मात्र संस्थागत तबरमा ग्रामोफोन रेकर्डहरू उत्पादन हुन थाले। तर यसका लागि पनि भारत नै पुग्नु पर्थ्यो। रेडियो नेपालले पनि कलाकारहरूलाई स्टुडियोमा नै बोलाएर प्रत्यक्ष गाउन लगाउँथ्यो।

त्यसैले, गायक–गायिकाहरूले आफूले गाएको गीत आफैँले सुन्न पाउँदैनथे। किनभने, स्टुडियोमा गाउँदा रेडियो सुन्ने कुरा भएन। स्टुडियोबाट बाहिर निस्केपछि गीत दोहोर्‍याएर बजाउने रेडियो नेपालको सामर्थ्य थिएन। त्यसैले, रेडियोबाट आफ्नो गीत सुनेकाहरूको मुखबाट प्रशंसा सुनेर कलाकारहरू मख्ख पर्थे।

गायक–गायिकाहरू कोलकाताको एचएमभी (हिज मास्टरभ्वाइस) मा गएर गीत रेकर्ड गर्थे र त्यो लाहाको रेकर्डमा हिजोआज सीडीमा जस्तो गीत सारेर ल्याएर रेडियोबाट प्रसारण गर्थे। त्यही थियो, ग्रामोफोन रेकर्ड। हुन त धर्मराज थापाको त्यो गीत रेकर्ड हुनुभन्दा बर्षौंअघि सेतुराम श्रेष्ठका गजलहरू रेकर्डवद्ध भइसकेका थिए। सेतुराम नेपाली गीत रेकर्ड गर्ने पहिलो गायक थिए।

तर मैले ग्रामोफोन रेकर्डमा सुनेको पहिलो गीत थापाले गाएको त्यही ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बज खैजडी, झम्केर नाच मुजुरा’ भन्ने थियो।

त्यतिबेला आजजस्तो युट्युबको त कल्पनै थिएन। क्यासेटको चलन पनि तीसको दशकको अन्त्यतिर रत्न रेकर्डिङ संस्थाको उदय भएपश्चात् मात्र सुरु भएको हो। सीडीको त झन् कुरै नगरौँ।

हिजोअस्ति जस्तो लाग्छ, राम्रोसँग बजारमा छाउनै नपाई ग्रामोफोन आज गायब भयो। प्रविधिको विकासले त्यसलाई कता पुर्‍यायो कता।

ग्रामोफोनको रेकर्ड राख्ने प्लेटमाथि मखमलीको रातो, नीलो या हरियो रङको कपडा ओछ्याइएको हुन्थ्यो। त्यसमा डिस्क (रिकापी) हाल्नुअघि दम दिइन्थ्यो। र, त्यसैको छेउमा रहेको एउटा सानो स्वीचलाई थिचेर घुम्न बन्द गरेपछि मात्र त्यसमाथि डिस्क राखिन्थ्यो। अनि, स्वीच थिचेर रेकर्ड घुम्न थालेपछि कालो रिकापीको किनारामा बिस्तारै यन्त्रजडित सुई राखिन्थ्यो। त्यो सुईको घर्षणबाट निस्किने ध्वनिलाई सुईमाथिको यन्त्रले प्रसारित गथ्र्यो।

हुन त, बेग्लै ढ्वाङका माइकजडित ग्रामोफोनहरू पनि चलनमा थिए। तर खत्री मामाजस्ता मध्यम वर्गका मानिसका लागि त्यो नै प्रशस्त थियो। अचम्म के लाग्थ्यो भने, यस्ता रेकर्डको बीचमा जहाँ कम्पनीको नाम हुन्थ्यो, त्यहाँ एउटा कुकुर टुक्रुक्क बसेर ढ्वाङ् माइकमा गीत सुनिरहेको चित्र हुन्थ्यो।

पछि थाहा भयो, त्यो कम्पनीको लोगो मात्र रहेछ। यस्तो लोगो एचएमभी कम्पनीमा मात्र होइन, अन्य ग्रामोफोन कम्पनीका रेकर्डमा पनि यस्तै चित्र अङ्कित हुँदा रहेछन्। यी समान चित्र देखेपछि त्यसबेला हाम्रो दिमागमा यस्ता रिकापी र यन्त्र बनाउने मुलुकमा कुकुरले पनि गीत सुन्दा रहेछन् भन्ने लाग्थ्यो।

डिस्कमाथि सुई मात्र घुस्ने धागोजस्ता मसिना घेरा हुन्थे। ती घेराहरू बीचमा कतै नजोडिई क्रमशः ठूलो आकारबाट सानासाना हुँदै जान्थे। बीचमा कथम्कदाचित कुनै घेरो टुट्यो भने गीतको त्यति पङ्क्ति मात्र बज्थ्यो, जति त्यो घेरामा छ।

यसको पनि रमाइलो स्मरण छ। त्यतिखेर अलइन्डिया रेडियोको ‘आकाशवाणी’ ले बुधबार र शुक्रबार दिउँसो आधा (अन्दाजी) घन्टा नेपाली गीत प्रसारण गथ्र्यो। फ्रिक्वेन्सीले नभ्याएर हामी पूर्वतिरका नेपालीहरु रेडियो नेपालको प्रसारण त्यति सुन्न पाउँदैन थियौँ। तर आकाशवाणीले नेपाली गीत प्रसारण गर्दा रेडियो खर्साङले रिले गरिदिन्थ्यो र सजिलै सुन्न सक्थ्यौँ।

आफ्नो घरमा रेडियो राख्ने सामर्थ्य थिएन। त्यसैले, गाउँका एक जना अलिक हुनेखानेको घरमा हरेक बुधबार र शुक्रबार दिउँसो आकाशवाणीले प्रसारण गर्ने नेपाली गीत सुन्न म नियमित धाउँथे। अहिले पनि मलाई सम्झना छ, त्यतिखेर दीप श्रेष्ठको ‘म पत्थरको देवता होइन, तोडिएर जोडिने’ बोलको गीत खुबै प्रसिद्ध थियो। त्यो गीत आकाशवाणीबाट नबिराई बजाइन्थ्यो। सुरुसुरुमा त ठीकै बज्दै थियो। तर अलिपछि त्यस गीतको ‘म पत्थरको दे’, ‘म पत्थरको दे’ पङ्क्ति मात्र बज्न थाल्यो। सुरुमा पुरा नबज्ने। देवताको ‘दे’ मा पुगेपछि फेरि त्यति मात्र पङ्क्ति दोहोर्‍याउने। अनि आकाशवाणीले प्राविधक कठिनाइ देखाएर लगत्तै त्यसको सट्टा अर्को गीत बजाउँथ्यो। तर त्यसपछि फेरि ‘म पत्थरको देवता’ पुरै बजाउँथ्यो।

जब म अलिक पाको भएर कुरा बुझ्ने भएँ, त्यसपछि मात्र थाहा भयो, त्यहाँनेरको घेरो टुटेर ग्रामोफोनको सुई त्यही घेरोमा मात्र घुम्दोरहेछ र यस्तो हुँदोरहेछ।

त्यसबेलाका गीतहरू औसत तीन मिनेटका हुन्थे। अहिलेका सीडी, डीभीडीमा जस्तो लामा र धेरै गीत अटाउन सकिन्नथ्यो। दुई किसिमका रेकर्ड हुन्थे, ‘एलपी’ (लङ् प्लेयर) र ‘इपी’ (एक्सेन्डेड प्लेयर)।

एलपी ठूलो थाल जत्रो आकारको हुन्थ्यो। दुबैतिर गरी बढीमा आठवटा गीत अटाउँथ्यो। समयावधि ४५ मिनेट हुन्थ्यो।

तर, इपी त्योभन्दा आधै सानो हुन्थ्यो। यसमा बढीमा चारवटा गीत अटाउँथे। समयावधि ३० मिनेट हुन्थ्यो। त्यतिबेलाका नेपाली गीतहरू छोटा हुनुको कारण यही थियो। एउटै रेकर्डमा धेरै गीत अटाउन ‘प्रिल्युड’ (गीत सुरु हुनअघि बज्ने सङ्गीत) र ‘इन्टरल्युड’ (गीतको स्थायीपछि बज्ने सङ्गीत) आजजस्तो लामा–लामा हुँदैनथे। दुई–तीनवटा बाजा बज्नासाथ स्वर उठाइहालिन्थ्यो।

रेडियो प्रसारणमा बजाउने गीतहरू ग्रामोफोनमार्फत् नै भएपनि सुन्नलाई त रेडियो नै चाहिन्थ्यो। खत्री मामाले जस्तो गाउँका सबैको ग्रामोफोन किन्ने सामथ्र्य थिएन। सामथ्र्य थियो नै भनेपनि त्यसमा बजाउने सबै गीतका रेकर्ड किन्न असम्भव थियो। त्यसैले, रेडियो एक मात्र मनोरञ्जनको साधन थियो। तर यो पनि सबैका पहुँचमा थिएन। घरमा रेडियो राख्नु आफैँमा महँगो विलासिताको कुरा थियो। हिजोआज सवारी साधनलाई जस्तै रेडियो राख्न लाइसेन्स लिनुपर्थ्यो।

रेडियो पनि बडेमानका बाकस जत्रै हुन्थे। बोकेर यताउता राख्न पनि सकस हुने फिलिप्स कम्पनीका प्रायः यस्ता रेडियोहरू सीमित सम्भ्रान्त वर्गका घरहरूमा मात्र घन्किन्थे।

तर बीसको दशकको अन्त्य र तीसको सुरुवाततिर जापानी नेसनल पानासोनिक कम्पनीको चकलेटी रङको छालाको खोल भएको काँध भिर्ने सतङ्गो रेडियो बजारमा आयो। हिम्मत गरेर आठ–दस मन धान या दुई–चार मन पाटा (सनपाट) बेच्दा किन्न सकिने सहुलियत दरमा प्राप्त भएपछि मानिसका काँधमा फाट्टफुट्ट रेडियो झुन्डिन थाले।

नेसलन पानासोनिक कम्पनीको त्यो रेडियो मानिसका काँधमा यसरी झुन्डिन थाले, मानौँ त्यो उसको अङ्गरक्षक नै हो। हटिया जाँदा पनि काँधमा झुन्डेको छ। पिसाब फेर्न बाटाका छेउमा बस्दा पनि काँधमा झुन्डेकै छ। खेतमा गोडमेल गर्न जाँदा पनि त्यो आली या रुखको हाँगामा झुन्डेकै छ। बिहान ब्यूँझेदेखि बेलुका ओछ्यानमा ननिदाएसम्म घन्केको छ, घन्केको छ। कतिपयका घरका मानिस त रेडियो सुन्दासुन्दै भुसुक्क निदाउँथे र रातभरि रेडियो बजेको बज्यै हुन्थ्यो। बिहान उठ्दा रेडियोको ब्याट्री खत्तम्। अनि एकाबिहानै हतारहतार ब्याट्री किन्न बजारतिर दौडेका दृश्यपान गर्दा पनि आनन्दै लाग्थ्यो।

यसरी त्यस बखत नेसलन पानासोनिक ट्रान्जिस्टर नामको रेडियो, रेडियो नहुनेहरू छरछिमेकीहरूका अगाडि सान देखाउने एउटा गतिलै साधन बनेको थियो ।

यही सान देखाउने क्रममा मेरा छिमेकी सुरेन चौधरीले पनि एउटा पानासोनिक रेडियो किनेका थिए, चार मन पाटा बेचेर। उनी गीत कति सुन्थे या समाचार कति बुझ्थे, त्यो छुट्टै विश्लेषणको विषय हुनसक्ला। तर भालेको डाकदेखि स्यालको हुइँया नचलेसम्म त्यो चकलेटी पानासोनिक उनको काँधबाट एक निमेष पनि अलग हुँदैनथ्यो।

एक दिनको कुरा हो। झम्के साँझ परिसकेको थियो। घरघरमा टुकी, लालटिन बल्न थालिसकेका थिए। घरको छेउको झाडीबाट गीत बज्न थाल्यो। रेडियो हुनेका घरमा राती अबेरसम्म पनि गीत बज्थे। त्यसैले, गीत बज्नु त्यति अस्वाभाविक थिएन। तर चोरडाँकाको बिगबिगी हुने मधेशमा अँध्यारो झाडीबाट गीत बज्नु पटक्कै स्वाभाविक लागेन।

त्यसैले, गाउँका आठ–दस जना लाठेहरू हातमा लाठीमुग्री बोकेर टर्चलाइट बाल्दै पसे गुह्य कुरा ‘सर्च’ गर्न। झाडी छिचोल्दै ध्वनि आएको जुन ठाउँमा पुगेर त्यो जमात रोकियो। त्यहाँ सबै लाठेहरू हतप्रभ र लज्जित भए। सुरेन चौधरीका काँधमा रेडियोले समुधुर गीत गाइरहेको थियो र उनी गीत बजाइबजाइ आनन्दले शौच गरिरहेका थिए।

यो घटनाले देखाउँछ, त्यतिबेलाका मानिसमा नेसनल पानासोनिक रेडियोको मोह कति थियो!

प्रकाशित ६ पुस २०७५, शुक्रबार | 2018-12-21 17:40:25
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।