सुनिलबाबुको बयानः यसकारण मैले नेपाल छाडेँ




सुनिलबाबु पन्त
सुनिलबाबु पन्त
फोटो: प्रविन कोइराला

लैङ्गिक तथा यौनिक समानताको वकालत गर्दै आएका अधिकारकर्मी एवं पूर्वसभासद सुनिलबाबु पन्त केही वर्षदेखि गुमनाम छन्। लैङ्गिक अल्पसंख्यका विषयमा हुने हरेक मुद्दा तथा अभियानमा अग्रमोर्चामा उभिने उनी नदेखिएपछि धेरैले चासो पोखे– ‘सुनिलबाबु कता हराए?’

उनी कहाँ, के गर्दैछन् भन्ने सीमित व्यक्तिबाहेक धेरैलाई अत्तोपत्तो भएन। उनीमाथि विभिन्न आक्षेप लागेपछि त्यसलाई थेग्न नसकेर देश छाडेको आरोप पनि लागाइयो। तर, न कतैबाट सुनिलले त्यसको खण्डन गरे न आरोप लगाउनेले प्रमाण नै जुटाउन सके। 

अन्ततः पाँच वर्षपछि उनले फेरि नेपाली भूमिमा पाइला टेके। आफूनिकट केहीलाई भेटे अनि उसैगरी पुनः हराए। यसबीचमा नेपालखबरले उनीसँग छोटो कुराकानी गर्ने अवसर पायो। पूर्वसहमति अनुसार ‘यतिका समय कता हराए सुनिलबाबु?’ भन्ने कतुहलताका बीच नयाँ बानेश्वरस्थिति पञ्चकुमारी मन्दिर छेउमा उनीसँग भेट भयो।

हामी त्यहाँबाट नजिकैको एक क्याफेमा छिर्यौँ। हँसिलो मुहारका साथ पन्त मेरो अगाडि छन्। मैले मोबाइलको रेकर्डर अन गरेँ र कुराकानी अगाडि बढाएँ–लामो समय हराउनु भो नि तपाईं त? प्रश्न खस्न पाउँदा नपाउँदै उनी निराश देखिए। केहीबेर अघिको उनको हँसिलो मुहार एकाएक मलिन भयो। जसरी खुलिरहेको आकासमा एकाएक बादल मडारिन्छ त्यसैगरी फेरियो उनको मुखाकृति।

भित्रैबाट लामो सास ताने र विस्तारै बोले उनी, ‘मेरो जीवनसाथी (पिटर) को न्यूरोलजिकल डिसअर्डर भएका कारण डाइलासिस गर्नुपर्ने भयो। म उनीसँगै बेलायत गएँ।’

सुनिलबाबु पन्त

सुनिलबाबु पन्त

पिटर बेलायती नागरिक हुन्। एनआईजिओको कामको सिलसिलामा उनी नेपाल आएका थिए। त्यतिबेलै उनको चिनजान ‘ब्लू डायमण्ड सोसाइटी’का संस्थापक सुनिलबाबुसँग भयो। मित्रता बढ्दै गयो र पछि यो सम्बन्ध सधैँका लागि गाँसियो– ‘समलिंगी विवाह’मार्फत्।

बेलायत पुगेपछि उतैको रमझममा हराएर पन्तले नेपाललाई बिर्सिएका हुन् त? यसको उत्तरमा उनको गहिरो भावुकता जोडिएको छ। ‘जीवनसाथीको अवस्था दिनप्रतिदिन बिगँ्रदै गयो, मैले दिनरात उनको हेरचाहमै बिताएँ’, सुनिलबाबु मलिन स्वरमा भन्छन्, ‘दुर्भाग्यबस् एक वर्षअघि उनको मृत्यु भयो। मैले उनलाई बचाउन सकिनँ।’

यतिबेला उनको मन रोइरहेको छ। आँसु भित्रभित्रै लुकाइरहेका छन्। लुकाउन खोज्दा खोज्दै उनको मुहारले भनिरहेछ यी कुरा। अहिले उनलाई आफूले जीवनको एक हिस्सा गुमाएजस्तै लागिरहेको छ। त्यो पीडाबाट उनी विस्तारै तंग्रिदै छन्।
‘आशा गरौँ जीवन विस्तारै सामान्य लाग्न थाल्ला। तर, एकवर्ष भइसक्यो अझै सामान्य भइसकेको छैन’ उनको भावुक पारामा उनले भने।

०००
के सुनिलबाबु अब नेपालमै बस्छन्?

यसको रेडिमेट जवाफ छ उनीसँग, ‘होइन, म फेरि फर्कन्छु।’

त्यसोभए उनले हिजो संसदमा होस् या सडकमा ‘एलजिबिटिआई’ समुदायको हक, अधिकार र पहिचानका लागि उठाएको मुद्दा छाडेका हुन्?

‘मैले आफ्नोतर्फबाट पुर्याउनुपर्ने योगदान पुर्याइ सकेँजस्तो लाग्छ’, सुनिलबाबु भन्छन्, ‘अहिले नयाँ पुस्ता नयाँ जोश र जाँगरका साथ आउनुभएको छ। मलाई आशा छ, मैले सुरु गरेको यो अभियानलाई उहाँहरुले एउटा निचोडमा पुर्याउनुहुनेछ।’

समलिंगी, तेस्रोलिंगी तथा समग्र लैंगिक तथा यौनिक अल्पसंख्यका लागि सुनिलबाबुले पुर्याएको योगदान चानचुने छैन। त्यसैले त उनको नाम खुला रुपमा आफ्नो समुदायका लागि आवाज उठाउने एसियाकै पहिलो ‘गे’ विद्यायकका रुपमा इतिहासमा दर्ज छ।

२०७० सालमा उनी एउटा ठूलो टीमसहित तत्कालिन एमालेमा प्रवेश गरेका थिए। त्यसको पनि एउटा कारण रहेछ– ठूलो पार्टीमा भएपछि आवाज पनि चर्कै सुनिन्छ भन्ने। तर, उनले त्यो भोटका लागि पार्टीले गरेको एउटा ‘स्टन्ड’ थियो भन्ने अहिले बुझिसकेका छन्।

उनी नेपाल ओर्लिएर एयरपोर्टबाट बाहिर निस्कदा पोल–पोलमा केपी ओलीको पोस्टर टाँसिएको थियो। समानताको नारा थियो।

तर, देशको अवस्था?

उनको मनमा यो प्रश्न पटक–पटक खेल्यो। ‘झन्डै दुई दशकदेखि एलजिबीटीआई समुदायको हक, हितका लागि आवाज उठिरहेको छ। संविधानले पनि त्यसको ग्यारेन्टी गरिसक्यो’ सुनिलबाबु भन्छन्, ‘तर, कानुनीरुपमा पूर्णता पाउन सकेको छैन।’ देवानी संहिता, फौजदारी संहितामा समलिंगी, तेस्रोलिंगीलाई नसमेटिएकोप्रति उनको गुनासो छ। ‘अनि ओलीजीले कुन आधारमा समानताको नारा लगाउँदै हुनुहुन्छ?’ प्रश्नसँगै उनले आक्रोश पनि पोखे।

‘तपाईंमाथि पनि त भ्रष्टचार मुद्दा परेको होइन र?’ राजनीतिप्रति उनको वितृष्णाका बीच प्रश्न तेर्सियो।

‘हाम्रो मुद्दा कमजोर पार्न समूह नै बनाएर केही व्यक्ति लागिपरेका थिए। म नाम लिन चाहन्नँ। तर, को–को लागे, कहाँबाट कसलाई, कति पैसा आएको थियो भन्ने सबै थाहा छ’ सुनिलबाबु भन्छन्, ‘ममाथि लागेको भ्रष्टचारको मुद्दामाथि सर्वोच्चले म निर्दोष रहेको फैसला गरिसकेको छ नि।’

अन्य अरोपहरु पनि प्रमाणित हुन नसकेकाले ती सबै आफूमाथि नियोजित प्रहार गर्न फैलाइएको भ्रम रहेको उनी बताउँछन्।

०००
०५८ सालतिरको कुरा हो । सुनिलबाबुले आफू अरुभन्दा फरक भएको थाहा पाइसकेपछि आफूजस्तै अन्यको खोजीमा लागे। केही दिनको दौडधूपपछि रत्नपार्कमा केही मानिस भेटे पनि।

‘प्रहरीले दुःख दिने, ब्ल्याकमेल गर्ने गरेको देखेँ’, सुनिबलबाबु विगत सम्झन्छन्, ‘केही घरबाट, केही जागिरबाट त केही स्कुलबाट निकालिएकाहरु थिए। पाँच महिना उहाँहरुसँग बिताएपछि त्यसको समाधान कसरी गर्ने भन्ने लाग्यो र सन् २००१ मा ब्यू डायमण्ड सोसाइटी दर्ता गर्यौँ।’

त्यतिबेला समलिंगीलाई सामाजिक रुपमा बहिस्कार गरिन्थ्यो। परिवारमा आफ्नो पहिचान खुलाउने अवस्था थिएन। पहिचान खुलेकाहरु कुटिन्थे, समाजबाट लखेटिन्थे। अनि, यसरी विस्थापित भएकाहरुको जीवन जिउने एउटै आधार हुन्थ्यो– यौन पेशा।
यसको अन्त्यका लागि सुनिलबाबुले आवाज उठाइरहे । संकटकालको बेला भएकाले आन्दोलनमै जाने वातावरण भने थिएन। त्यसैले, केही समय पर्ख र हेरको अवस्था रह्यो।

०६२–६३ को जनआन्दोलनपछि अन्तरिम सरकार बन्यो । त्यसपछि सुनिलबाबु खुलेर लाग्न थाले। त्यतिबेला यस समुदायको एउटा राम्रै टीम बनिसकेको थियो। झन्डै एक लाख ५० हजार मानिस सम्पर्कमा आए।

यसकै बलमा पहिलो संविधानसभामा उनी नेकपा संयुक्तको तर्फबाट समानुपातिक सभासद बन्न पुगे। त्यसपछि संसदमा पनि आफ्नो समुदायको प्रतिनिधित्व गर्दै आवाज उठाए।

०६४ सालमा सर्वोच्च अदालतले ‘अन्य’ उल्लेख गरेर तेस्रोलिंगीलाई पहिचानसहितको नागरिकता दिन अध्यादेश जारी गरिसकेको थियो। तर, सरकार भने अहिलेसम्म मौन छ।

यस विषयमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट्न पटक–पटक समय मागे सुनिलबाबुले। तर, भेट जुरेन।

‘त्यसपछि मलाई अधिकार मागेर होइन, खोसेर पाइन्छ भन्ने लाग्यो’ उनी भन्छन्। फलस्वरुप उनी केही मानिस भेला पारेर सिंहदरबार अगाडि धर्नामा बसे। प्रहरीले उनीहरुलाई पक्राउ गरी थुनामा राख्यो। घटनाका कारण मिडियामा यस विषयले प्राथमिकता पायो।

सुनिलबाबु पन्त

सुनिलबाबु पन्त

हालसम्म समलिंगी, तेस्रोलिंगी समुदाय सर्वोच्चको सोही आदेशलाई कानुनीरुपमा मान्यता दिन सरकारी अड्डा, नेताको चौको धाइरहेका छन्। तर, कतैबाट सुनुवाई हुन सकेको छैन।

केही समयअघि बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा समेत सांसदहरु एलजिबीटीआई समुदायको विषयमा अन्यौलमा देखिए। थाहा छैन, उनीहरुले बुझेर बुझ पचाए या बुझेकै छैनन्।

‘हामी हक र अधिकारका लागि लडेको १८ वर्ष भइसक्यो’, सुनिलबाबु भन्छन्, ‘अहिलेसम्म नागरिकता ऐन संशोधन हुन सकेको छैन। हेर्नुस् त कति दुःखको कुरा छ।’

नेपालको सर्वोच्च अदालतले गरेको निर्णयलाई आधार मान्दै जर्मनी, थाइल्याण्ड र हालसालै छिमेकी राष्ट्र भारतमा नयाँ नियम–कानुन बनाइए। भारतकै कुरा गर्ने हो भने भारतीय सर्वोच्च अदालतले समलिंगी, तेस्रोलिंगी समुदायलाई उद्धृत गर्दै गोपनियता र विवाहसम्बन्धी फैसला गरेको केही समयमै सरकारले त्यसको कार्यान्वयनका लागि सक्रियता देखाइसकेको छ। यस समुदायका माग, आवश्यकता र अधिकारका विषयमा छलफल गरेर टुंगोमा पुग्न एउटा बोर्डसमेत गठन भइसकेको छ। सरकारी जागिरमा समेत उनीहरुले प्रवेश पाउन थालिसकेका छन्।

तर, नेपालमा?

‘यो राजनीतिक प्रवृत्ति हो। उहाँहरु अहिलेसम्म पनि समलिंगी, तेस्रोलिंगी साथीहरुलाई अप्राकृतिक मान्नुहुन्छ’ सुनिलबाबु भन्छन्, ‘पहिले राजनीतिक नेतृत्व र यसका तह–तप्काको सोचमा आमुल परिवर्तन आउनुपर्छ।’

लैंगिक तथा यौनिक अल्पसंख्यहरु अप्राकृतिक होइनन्। न यो कुनै रोग नै हो। उनीहरुको महिला र पुरुषभन्दा फरक पहिचान हुन्छ। जसलाई उसको पहिचानका हिसावले एलजिबीटीआई (लेस्बियन, गे, बायोसेक्सुअल, ट्रान्सजेन्डर र इन्टरसेक्सुअल) को रुपमा नामाकरण गरिएको छ।

०००
सुनिलबाबुसँग विगतका थुप्रै तीता क्षणहरु छन्।

पहिलोपटक संविधानसभामा छिर्दा सभासदहरु उनलाई हेरेर हाँस्थे। यो त यस्तो मान्छे हो रे, उस्तो हो रे भनेर कानेखुसी गर्थे।

यसले चर्कोरुप लिएपछि एकदिन प्रुमख दलका शीर्ष नेताहरु (तत्कालीन कांग्रेस सभापति सुशील कोइराला, एमाले नेताहरु झलनाथ खनाल, केपी ओली, माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आदि) बीच एकदिन गोप्य बैठकमा छलफल चलेछ।

छलफलमा सुनिलबाबुको विषय उठेपछि सुशील कोइराला अचम्म परेछन्। ‘उहाँले सुनिलबाबु त्यस्तो पो हो भन्नुभएछ। मैले पछि चाल पाएँ’ सुनिलबाबु भन्छन्।

उनकाअनुसार सरकारी कार्यालय र पार्टीको उच्च तहका थुप्रै नेता एलजिबीटीआई समुदायका छन्। तर, उनीहरु आफ्नो पहिचान खुलाउन चाहन्नन्। तर, त्यस्ता केही नेता र कर्मचारी उतिबेला सुनिलबाबुसमक्ष भने खुल्थे। ‘कुरा बाहिर नल्याउन आग्रह गर्नुहुन्थ्यो, उहाँहरुको ईच्छाविपरीत बोल्ने कुरा पनि भएन’ उनी भन्छन्।

अन्तरिम संविधान लेख्ने क्रममा सुनिलबाबुले १५ जिल्लामा पुगेर त्यहाँका समलिंगी, तेस्रोलिंगीको अवस्थाबारे अध्ययन गरे। त्यसकै आधारमा एउटा प्रतिवेदन बनाएर सिंहदरबारमा दर्ता गरे।

तर, अन्तरिम संविधानको छलफल हुनुअघि सो प्रतिवेदन च्यातेर फालिएछ। ‘रेकर्डमा पनि मेटाइएको रहेछ’ उनी सम्झन्छन्।

आफ्नो समुदायको मुद्दामा विभिन्न निवेदन हालेको फाइल हराएका प्रसंग त उनीसँग कति छन् कति। नेताले गरेका गाली पनि कति छन् कति । तर, उनी थाकेनन् र निरन्तर लागिरहे।

‘चुनौतीलाई मैले घृणाको रुपमा मैले कहिल्यै लिइनँ’, सुनिलबाबु भन्छन्, ‘मलाई लाग्छ मैले आफ्नोतर्फबाट गर्नुपर्ने गरिसकेँ।’ अब उनी पुराना कुराहरु सम्झन चाहन्नन्। यसलाई तीतो यथार्थ मान्छन्।

यतिबेला सुनिलबाबु पहिलेजस्ता छैनन् पनि। जीवनसाथीको निधनपछि आफूलाई अध्यात्म र ध्यानमा केन्द्रित गरेका छन्। दार्शनिक पुस्तकहरु पढ्छन्। शान्त वातावरणमा बस्न रुचाउँछन्। बुद्ध धर्मप्रति उनको आस्था र विश्वास बढेको छ। नेपालबाट फर्कदा पनि उनी भारतमा विपासनाको ध्यानमा बसेरमात्र बेलायत जानेछन्।

बेलायतमा उनी कुनै काम गर्दैनन्। केवल अध्ययन र ध्यान गर्छन्।

‘अनि गुजारा कसरी चल्छ त?’

‘जीवनसाथीको देहान्त भइसकेपछि पेन्सनबापत केही रकम आउँछ’ सुनिलबाबु भन्छन्, ‘त्यसले गुजारा चलिरहेको छ ।’

उनले भविष्यबारे केही सोचेका छैनन्। अध्यात्म र ध्यान गरेर नै जीवन चलाउने सोच बनाएका छन्।

भन्छन्, ‘मरेर लानु केही छैन। त्यसैले जे कुरामा आत्मसन्तुष्टि मिल्छ त्यही गर्छु।’

प्रकाशित ५ पुस २०७५, बिहिबार | 2018-12-20 13:15:01
Max TV
Max TV
Zen Travels
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।