पाकिस्तानबाट बंगलादेश अलग गराउन युद्ध लड्ने यी नेपाली साहित्यकार




एलबी क्षेत्री
एलबी क्षेत्री

एकाबिहानै एलबी क्षेत्री हाईस्कूल पास गरेको मार्कसिट र केही जोर लुगा पोको पारेर घरबाट निस्किए। नारायणगढ बजार पुगेपछि गोजीबाट एउटा मोहोर (सिक्का) निकाले र टस गरे।

‘हेड आए काठमाडौँ र टेल आए भारत’, उनीसामु दुई विकल्प थियो। टसमा टेल आयो अर्थात् उनको गन्तव्य भारत तय भयो।

एलबी चितवनको कैलाशनगर (कविडाँडा) को जीवनशैलीदेखि विरक्तिएका थिए। वि.सं. २०२२ मा भारतबाट हाईस्कूल पास गरेर नेपाल आएपछि उनले चितवनकै एक प्राविमा अध्यापन गराउन थाले। तर, उनको पढाउनेभन्दा पढ्नेमा रुचि बढी थियो।

कलेजको नाममा भरतपुरमा एउटामात्र रात्री पाठशाला थियो। केही दिन त पाठशाला गए पनि। दिनभर पढाउँथे, त्यसैले राति पढ्ने वातावरण त्यति बनेन। पढाउन छाडेर पढ्नमात्र घरको आर्थिक अवस्थाले दिएन।

यसैगरी दिन, महिना र वर्ष बित्यो। तर, उनको उच्च शिक्षा हासिल गर्ने भोक मरेन। परिणाम, उनले नारायणगढ बजारमा उभिएर मोरको सहारा लिनुपर्‍यो।

क्याप्टेन गुरुङको आशीर्वाद
भारत पुगेपछि उनी सिधै उत्तर प्रदेशको गोरखपुरमा अवस्थित ‘महाराणा प्रताप इन्टर कलेज’ पुगे। त्यहाँका हेडमास्टरलाई भेटे। आफूलाई कलेजमा चौकिदारको जागिर दिन बिन्ती कसे। भारतबाटै हाईस्कूल पास गरेको र कलेज पढ्ने आफ्नो ठूलो सपना भएको बताए।

तर, हेडमास्टरले उनको कुरा सुनेको नसुन्यै गरे। उनले चौकिदारको जागिर पनि पाएनन्।

‘ती हेडमास्टरले मेरो कुरा खुब मन पराए। तर, मलाई पिएनको जागिर भने दिएनन्’ एलबी ती दिन सम्झन्छन्।

अब के गर्ने ? एलबीसामु कुनै विकल्प थिएन। नेपालबाट लगेको पाँच सय रुपैयाँ पनि सकिइसकेको थियो। केही दिन उनी छटपटिए। जागिरको खोजीमा भौतारिए। लामो दौडधुपपछि पेट्रोल पम्पमा काम पाए। तर, उनी त्यहाँ पनि टिक्न सकेनन्।

नियतिले एलबीलाई गोरखपुरको पुनाघाट पुर्‍यायो, जहाँ नेपालीहरु छाती फुलाएर भारतीय सेनामा भर्ती हुन पुग्थे। परिस्थितिले उनको पनि छाती फुलाइदियो। उनी जोखिए, नापिए।

अहँ, योग्यता पुगेन।

एक सिपाहीले उनलाई त्यहाँबाट खुच्याइदिए। एलबीको आँखा रसायो। एकैछिनमा आँसुले भरियो।

भर्ती केन्द्रबाट फर्किदै गर्दा आँखामा आँसु देखेपछि गुरुङ थरका एक क्याप्टेनले उनलाई बोलाए। उनले आफूलाई खुच्याउने सिपाहीबारे अंग्रेजीमा सिकायत गरे, ‘योर सोल्जर इन्सल्टेड मी।’

एलबीले अंग्रेजीमा गरेको सिकायत सुनेर क्याप्टेन उनीप्रति आकर्षित भए। तत्कालै त्यो सिपाहीलाई बोलाए। फेरि एलबीको शरीरको उचाईदेखि तौल लगायत आवस्यक सबै कुरा नाप्न लगाए।

‘वेट कित्ना हुवा’ क्याप्टेन गुरुङले सोधे।

‘४७ केजी’, सिपाहीले भने ।

‘भर्ती होने के लिए कित्ना चाहिए?’, क्याप्टेन गुरुङले फेरि प्रश्न गरे।

‘५० केजी’, सिपाहीले उत्तर दिए।

‘तो ५१ केजी लिखो’, क्याप्टेन गुरुङले भने।

सबै प्रक्रिया यसैगरी मिलाइयो। उसै दिन उनलाई मेडिकलमा पनि पास गराइयो। साँझपख त उनी भारतीय आर्मीमा भर्ती भए।

१३ दिने त्यो युद्ध
आर्मीमा भर्ती भएको केही दिनपछि एलबी तालिमका लागि हैदराबाद पुगे। त्यहाँबाट क्लर्क (खरदार, प्रशासनमा काम गर्ने सैनिक) तालिमका लागि अहमावाद पुर्‍याइयो। त्यहाँ उनले खुब ‘इन्ज्वय’ गरे।

तालिम दिने अध्यापकहरु आएर विभिन्न कुरा सिकाउँथे। सैनिक तालिम त उनलाई ‘कलेज लाइफ’ जस्तै लाग्न थाल्यो। ‘कलेज पढ्ने भूत जो सवार थियो’ एलबी मुस्कुराउँछन्।

डेढ वर्षको तालिम सकिएपछि उनी भारतीय सेना अन्तर्गतको एउटा ‘गोर्खा रेजिमेन्ट’ मा पठाइए। पल्टन पश्चिम पाकिस्तान (हालको बंगलादेश) मा खटाइयो।

यो सन् १९७१ तिरको कुरा हो, जतिबेला पाकिस्तानबाट स्वतन्त्रताका लागि लडिरहेका बंगालीहरुलाई सघाइरहेको थियो। र, त्यसले भारत–पाकिस्तान युद्धको रुप लिँदै थियो।

भारत–पाकिस्तानबीच साँच्चिकै युद्ध सुरु भयो। भारत पूर्वी पाकिस्तान (पछि बंगलादेश) लाई पाकिस्तानबाट अलग गर्न चाहन्थ्यो। यसको नेतृत्व ‘बंगाली नेस्नलिस्ट फोर्स’ ले गरेको थियो। तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले एक गोर्खाली पल्टनलाई युद्धका लागि पठाएकी थिइन्। त्यो पल्टनको एक सदस्य एलबी पनि थिए।

युद्ध १३ दिनसम्म चल्यो। युद्ध न हो, गोला-बारुदको बर्षा हुनु स्वभाविक थियो। भारतले नै स्वतन्त्रता संग्रामीहरुलाई साथ दिएपछि पाकिस्तानको केही सीप लागेन। पाकिस्तानी सेनाको पश्चिमी कमाण्डले आत्मसमर्पण ग¥यो। १६ डिसेम्बर १९७१ मा ढाकामा एक सहमति पत्रमा हस्ताक्षर भएपछि पूर्वी पाकिस्तान बंगलादेश बन्यो।

एलबी युद्धको अग्र मोर्चामा सामेल भएनन्, ‘रेयर’ (पछाडिबाट लड्ने) समूहमा थिए। त्यसैले उनको ज्यान अन्य सिपाहीको भन्दा कम जोखिममा थियो।

तर, युद्ध न हो। कतिबेला कहाँबाट आएर गोली लाग्ने हो भन्ने भयले उनलाई सताइरहन्थ्यो।

‘युद्धभर भगवानसँग मलाई गोली नलागोस् भन्ने कामना गर्थेँ’, एलबी रोमाञ्चित हुँदै ती दिन सम्झन्छन्, ‘म युद्ध लड्न सेनामा गएको थिइनँ। मलाई त केवल केही पैसा जम्मा गएर उच्च शिक्षा हासिल गर्नु थियो।’

त्यो युद्धबारे कुरा गर्दा एलबी अहिले खुब ‘इन्ज्वय’ गर्छन्।

एउटा कुरा उनको दिमागमा सधै ताजा छ। सिपाहीहरु स्थानीय र विरोधी सेनाको धनमाल–सामाग्री लुटेर साँझपख सेल्टरमा आउँथे। एलबी दिनभर कहाँ के भयो, खुब चासो दिएर सुन्थे। लुटेर ल्याएका धनमालमा भन्दा किताबमा उनको बढी रुचि हुन्थ्यो।

‘किताब हो तो बुझे दो’, साँझपख क्याम्पमा आएका सिपाहीहरुसँग उनी भन्थे। यो उनको साहित्यप्रतिको प्रमाण थियो। त्यतिबेला सिपाहीहरुले दिएको पाकिस्तानी जनरल अयुव खानको ‘फ्रेन्डस् नट मास्टर्स ः अ पोलिटिकल अटोबायोग्राफी’ पुस्तक अझै पनि उनीसँग छ।

हात मिलाएर गए, लास बनेर फर्के 
एलबीसँग युद्धका केही अविस्मरणीय क्षण पनि छन्। जसलाई सम्झँदा उनको मन चसक्क हुन्छ। हात लगलग काप्छ। केहीबेर आफ्नै हात हेरिरहन मन लाग्छ।

अनि हराउन थाल्छन्, त्यो स्पर्शको स्मरणमा- जसलाई उनले अब कहिल्यै महसुस गर्न पाउने छैनन्।

गोरखा राईफल अन्तर्गत एउटा नेपाली पल्टन थियो। एलबी र उनका साथीहरुले त्यो पल्टनसँग बसेर निकै रमाइलो गरे। मादल बजाए, गीत गाए, नाचे।

एकछिनको रमाइलोपछि पल्टन सबैसँग हात मिलाईवरि ‘मुभ’ भयो।

एलबी र उनका साथीहरु भने त्यहीँ बसेर रमाइलो गरिरहेका थिए। करिब एक घन्टापछि हात मिलाएर गएका नेपाली पल्टनका जवानहरु माइनमा परेर लास बनेर रमाइलो गरिरहेको स्थान वरिपरी झरे।

झर्ने साथीहरुको साथमा कतिपयको शरीरमात्र थियो, शरीरमा प्राण थिएन। एलबीको सास नै रोकियो। माइनमा फसेर उनीहरुले ज्यान गुमाएछन्।

‘भर्खरै हात मिलाएर गएका साथीको लास आफ्नै अगाडि आउँदा आफूलाई सम्हाल्नै सकिनँ’ भावुक हुँदै एलबी भन्छन्, ‘कुरा गर्दा अहिले पनि त्यो क्षण झलझली आँखामा आउँछ।’

यसो भन्दै गर्दा उनका आँखा रसाइसकेका थिए।

१७ रजाकारको एकै चिहान
युद्धकै दौरान रजाकार (पूर्वी पाकिस्तानका गुप्तचर) हरु पक्राउ पर्थे। केहीलाई यातना दिइन्थ्यो भने केहीलाई केरकारपछि छाडिन्थ्यो। तर, एकदिन निकै भयावहपूर्ण घटना भयो।

अहिलेपनि एलबीको मुटु कपाउने त्यो पनि एउटा घटना हो।

१७ जना रजाकार पक्राउ परेका थिए। हबल्दार (पञ्जाबी सरदार) ले उनीहरुलाई एउटा पोखरीको अगाडि उभ्याएर केही सोधिरहेको थियो।

उनीहरुको शरीरमा कपडा थिएन। हात पछाडि फर्काएर बाँधिएको थियो। उनीहरुलाई पालैपालो पोखरीको चिसो पानीमा चोबल्दै–निकाल्दै गरिन्थ्यो। यो युद्ध सुरु भएको तीन-चार दिनपछिको कुरा हो।

सरदारको हातमा ‘स्टेन गन’ थियो। उसले पालैपालो रजाकारमाथि गोली चलायो। उनीहरु ठाउँका ठाउँ ढले।

यो सबै नजिकबाट नियालिरहेका एलबीलाई भने सरदारले गोली चलाएको एकरत्ति चित्त बुझेको थिएन। उनीहरुलाई यसरी मार्नुभन्दा एउटा अवसर दिनुपर्ने भन्ने उनको मनले आफैसँग भन्यो। एलबीलाई छटपटी भइरहेको थियो।

‘कतिबेला सरदारलाई के भन्नेवाला थिएँ, म आफैलाई थाहा छैन’, उनी भन्छन् ।

तर, केही भन्न नपाउँदै पछाडिबाट उनका एक साथी आए। तिनले सोधे, ‘आप क्या कर रहे हो?’

‘हम देख रहे है’, एलबीले जवाफ फर्काए। एलबीको आँखा रातोरातो भइसकेको थियो। उनी औधी रिसाएका थिए। यो सब चाल पाएका साथीले तुरुन्तै एलबीलाई भने, ‘आप मत देखिए। उसके दिमागमे फितुर है। आप कुछ कहेंगेतो ओर भी कुछ हो सकता है।’

साथीको कुराले एलबी झसंग भए। तत्कालै त्यहाँबाट अलप भए।

युद्धपछिको यात्रा
युद्ध सकिएपछि एलबीको पल्टन भारत फर्कियो। त्यसपछि १७ वर्ष भारतीय आर्मीमा क्लर्कको रुपमा काम गरे उनले। र, सैन्य सेवाबाट राजिनामा दिए।

त्यसबीचमा भारतमै निजी कलेजबाट अंग्रेजी साहित्यमा मास्टर्स पनि सकिसकेका थिए। त्यसयता उनको जीवन चितवनकै कविडाँडामा बितिरहेको छ।

उनी अहिले ‘कविडाँडा साहित्य समाज’ को अध्यक्ष छन्। चितवनमा विभिन्न साहित्यिक कार्यक्रम र साहित्यसम्बन्धी बहस चलाउँछन्। काठमाडौँबाट चितवन झर्ने हरेक साहित्यकारले उनको घरमा न्यानो आथित्यता पाउँछन्।

‘साहित्यकारलाई घरमा बोलाएर भोजन गराउँदै मीठा-मीठा साहित्यिक गफ गर्न मज्जा आउँछ’, उनी भन्छन्। आगन्तुकलाई युद्ध अनुभव र जीवनका किस्सा सुनाउँछन्।

एलबी चितवनको वीरेन्द्र क्याम्पसको प्रध्यापक हुँदै प्रमुखसमेत बने। यसबीच उनले ‘भीडमा हराएको मान्छे’ (कविता संग्रह) र दुई कथा संग्रह ‘त्रिशंकुको देशमा’ र ‘इन्द्रमायाको देशमा’ प्रकासन गरिसके।

फुर्सद निकालेर उनी कहिले विदेश त, कहिले देशका विभिन्न स्थान घुम्छन्। ‘देश–विदेश गरिरहेको हुन्छु’ आफ्नी श्रीमतीतर्फ पुर्लुक्क हेर्दै ६८ बर्षीय क्षेत्री भन्छन्, ‘कतै नगएकाबेला यिनै मेरी सुन्दर श्रीमतीको वरिपरि घुमिरहन्छु।’

प्रकाशित २९ मंसिर २०७५, शनिबार | 2018-12-15 11:55:45
Max TV
Max TV
Zen Travels
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।