तिलिचाेकाे ‘अफ ट्रयाक’ यात्रा




घुम्न डुल्न कस्लाई मन लाग्दैन र? त्यसमाथि नयाँ–नयाँ ठाउँ। साथीहरुले मनाङको तिलिचो ताल घुम्न जाने प्रस्ताव गर्दा नाई भन्नै सकिनँ।

 तर, मनाङ नै घर हुने साथी लक्ष्मी लामा, जिल्ला आयुर्वेद कार्यालय मनाङका प्रमुख नरबहादुर ठकुरी लगायतले ‘अब तिलिचो ताल पुग्न सकिँदैन। मौसम प्रतिकूल भइसक्यो। असोज, कात्तिकमै जानुपथ्र्यो, अहिले नजानुस्, खतरा हुनसक्छ,’ भन्नुभयो।

केही दिनअघि मात्रै तिलिचो जाँदा बाटैमा एकजना पर्यटकको मृत्यु भएको रहेछ। उहाँहरुले त्यो घटना पनि सुनाउनुभयो। त्यो सुन्दा कताकता मनमा डर पस्यो। तर, मनाङ जाने सोच बनाइसकेका हामी काठमाडौँमा रोकिनै सकेनौँ।

११  मंसिरमा काठमाडौँबाट पाँच जनाको टोली मनाङतर्फ प्रस्थान गर्यौं। ५१ सय मिटर उचाईको तिलिचो ताल पुग्न नसके मनाङ सदरमुकाम चामेसम्म भए पनि जाने अठोट हाम्रो थियो। काठमाडौँबाट बिहान हिँडेका हामी मध्यान्ह १२ बजे लमजुङ सदरमुकाम बेसिसहर पुग्यौँ । त्यहाँबाट अगाडिको बाटो कच्ची थियो। कच्ची बाटो हुँदै हामी मनाङतर्फ अघि बढ्यौं।

हिमाल पारि पुग्ने अभिलासा

हिमाल पारीको जिल्ला मनाङ। त्यहाँ पुग्ने अभिलासाले मनमा छुट्टै उमङ्ग र उत्साह थियो। बाटो कच्ची भएपछि यात्राका क्रममा देखिएका सुन्दर प्राकृतिक दृष्यले मन फुरुङ्ग हुन्थ्यो। एकदमै साँघुरो कच्ची सडक, ठाउँ–ठाउँमा निर्माण कार्य हुँदै थियो। कतिपय ठाउँमा रोकिँदै अघि बढ्यौँ। साँघुरा काठका पुल, ओर्लेर गाडीलाई बाटो देखायौँ।

बेसिसहरबाट १२ बजे हिँडेका हामी साँझ ५ बजे सदरमुकाम चामे पुग्यौं। यात्रामा हामीले निकै रमाइलो अनुभव गरेका थियौँ। तर, हामीलाई बाटोमा कुनै अप्ठ्यारो पो भयो कि भनेर मित्र लक्ष्मी र नरबहादुर जीलाई भने चिन्ता भएछ। पटक–पटक फोन गरेर सोधिरहनु भएको थियो।

चामेमा हामीलाई स्वागत गर्न मनाङका विद्यालय निरीक्षक खुलानाथ सर त्यो चिसोमा करिब एक घन्टादेखि बाटैमा बसेर कुरिहनु भएको रहेछ। उहाँको न्यानो स्वागत ग्रहण गर्दै हामीले तिलिचो ताल जान सकिने/नसकिने स्थितिको बारेमा जानकारी लियौँ। खुलानाथ सरले पनि अब सिजन सकिएको र मौसम प्रतिकूल भएकाले तिलिचो जान नसकिने राय दिनुभयाे। तर, हामीले उहाँलाई तिलिचो नपुगि नछाड्ने अठोट सुनायौँ। बेलुका नजिकैको तातोपानी कुन्डमा नुहाउँदा दिनभरिको थकान मेटिएँ झैँ भयो।

मित्र लक्ष्मी जीले ‘तिलिचो जाने नै हो भने लसुनको सुप खाएर जान’ सल्लाह दिनुभएको थियो। लसुनको सुप र टिम्मुरले हाइअल्टिच्युटमा सहयोग गर्ने, लेक लाग्ने जोखि नहुने मान्यता छ। तिलिचो तर्फ अघि बढ्नु अघि मंसिर १२ गते विहान मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तसँग एकछिन भलाकुसारी भयो।

उहाँले यात्राका क्रममा अल्कोहल, चुरोटजस्ता अम्मन नखान सल्लाह दिनुभयो। बाटोमा गाह्रो भयो भने जबर्जस्ती नगरी बीचबाटै फर्कन भन्नुभयो। आफूलाई गाह्रो हुँदाहुँदै जबर्जस्ती अघि वढेका धेरै मान्छे मरेका घटना समेत उहाँले हामीलाई सुनाउनुभयो।

‘तिलिचो जान नसके बेसक्याम्पबाटै फर्किउला सिडिओ सा’प’ भन्दै हामी अघि वढ्यौँ। हिड्ने बेलामा सिडिओ सा’पले लेक नलाग्ने औषधि भन्दै आफुसँग भएका केही औषधि हामीलाई दिनुभयो। साँघुरो बाटो, डर मान्दै अघि वढ्यौँ। डर भुलाउन गफ गर्दै, राम्रो दृष्य देखिए ठाउँ ठाउँमा गाडी रोकेर फोटो खिच्दै हामी तिलिचो तर्फ अघि वढ्यो।

चामेबाट बिहान सवा सात बजे हिँडेका हामी ११ बजे खाङसाङ पुग्यौँ। यो तिलिचो यात्रामा पर्ने अन्तिम मानब बस्ती थियो। त्यहाँ तिलिचो आधारभूत विद्यालयका शिक्षकसँग भेट भयो। त्यो विद्यालय अन्नपूर्ण पदमार्गमा पर्ने अन्तिम मानव बस्तिमा थियो। कक्षा ६ सम्म पढाइ हुने सो विद्यालयमा ७ जना विद्यार्थी र ५ जना शिक्षक रहेछन्। शिक्षक सूर्य सरसँग तिलिचो यात्रामा अपनाउनु पर्ने सावधानीका विषयमा कुराकानी भए।

खाङसाङ पुगेपछि गाडीको यात्रा टुंगिन्छ। माथि गाडी जाँदैन। यहाँबाट तिलिचो जाँनेले पैदल हिँड्नुको विकल्प छैन। खाना खाएपछि आवश्यक सामान भएको झोला तयार गर्यौँ। पिठ्युँमा झोला बोकेर बोकेर हामी तिलिचो तर्फ अघि वढ्यौँ। हाम्रो यात्रामा खाङसाङबाट स्थानीय दुई शिक्षक पनि थपिनुभयो। हाम्रो टोली सात जनाको भयो।

दुई साथी बीचैमा छुटे

अलिकति माथि जान नपाई काठमाडौँबाट सँगै गएका दुईजना साथीले ‘हामी यहाँबाट माथि जान नसक्ने भयौँ’ भन्ने निष्कर्ष सुनाउनुभयो। १० मिनेट नहिँड्दै उहाँहरुले हरेश खाँदा हामीलाई अचम्म लाग्यो। हामीले उहाँहरुलाई ‘बेश क्याम्पसम्म भए पनि जाउँ न’ भनेर आग्रह गर्यौं। तर, उहाँहरुले हिम्मत गर्नुभएन। ‘हामी सके आउँछौँ, नत्र यहीँबाट फर्किन्छौँ, तपाईंहरु अघि बढ्नुस्,  हामीलाई नपर्खनु,’ भन्नुभयो।

बाटोमा कतिपय मान्छे मौसम खराबीको कारण तिलिचो नपुगी बीचबाटोबाटै फर्किंदै गरेका भेटिए। त्यसले हाम्रो मनमा पनि कताकता ‘तिलिचो पुग्न सकिँदैन कि क्या हो?’ भन्ने नपरेको होइन। तर, जसरी पनि तिलिचो नपुगी नफर्किने अठोटमा हामी थियौँ। करिब २ घन्टा हिँडेपछि बाटोमा केही होटल भेटिए। स्थानीयले त्यसभन्दा माथि करिब ३/४ घन्टाको बाटोमा कतै मानब बस्ती र होटेल नभेटिने बताए। बाटोमा भोक लाग्न सक्ने भएकाले हामीले खाजा खाने निधो गर्यौं। चाउचाउ पकाउन लगायौँ। चाउचाउको पैसा तिर्दा भने अचम्म लाग्यो। साहुनीले पाँचवटा सादा चाउचाउको १५ सय रुपैयाँ लिइन्। ‘अरुलाई भए १७ सय ५० लिन्थ्यौँ। सरहरुलाई भनेर अढाई सय छुट गरको,’ पैसा लिँदै गर्दा उनले भनिन्। होटलवालाहरुको ब्रम्हलुट स्वीकार्नुको विकल्प हामीसँग थिएन।

पछाडि छोडिनु भएका साथीहरु कतै देखिन्छन् कि भनेर तलसम्म हेर्यौं। तर, कतै देखिएनन्। बोलायौं कतै आवाज आएन। हामी अघि बढ्यौं। बेलाबेलामा स्वास फेर्नै गाह्रो हुन्थ्यो। तिलिचो जाने पैदल बाटो अत्यन्तै साँधुरो थियो। कति साँधुरो भने, अगाडिबाट कोही यात्रु आउँदै छ भने उसलाई बाटो छाड्न पनि नमिल्ने।

आफू भित्तापट्टि च्यापिएर, बाटो छोड्नु पर्ने। गेगरको कारण अडिन पनि गाह्रो। खुट्टा चिप्लिने डर। समाउने, अडिन सक्ने ठाउँ कतै छैन। मास्तिर हेर्दा खसुला जसरी बसेको ढुङ्गा र चट्टान। तल हेर्दा मस्र्याङदी नदी कहाँ हो कहाँ खोँचमा बगिरहेको। जति नै अप्ठ्यारो बाटो भए पनि बेलाबेलामा वरिपरिको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्न भने हामीले छाडेनौँ। ठाउँ–ठाउँमा जंगली भेडाको बथान भेटिन्थे। त्यस्ता भेडा डिस्कभरी च्यानल र एनिमल प्लान्ट्स च्यानलमा मात्रै देखेका हामीलाई आँखै अगाडि नै देख्दा अचम्म लाग्थ्यो।

अप्ठ्यारो भीर पहरामा पनि ती सजिलै हिँडिरहेका थिए। त्यस्ता दृश्य हामीलाई निकै रोचक लाग्यो। पदमार्गमा ठाउँ–ठाउँमा खाल्डो खनेर फोहोर फाल्ने निश्चित ठाउँ बनाइएको रहेछ। अन्यत्र फोहोर फाले पाँच हजार रुपैयाँ जरिवाना लेखिएको थियो वोर्डमा। खाङसाङबाट बेसक्याम्पसम्म ४/५ घण्टाको बाटोमा कतै आराम गर्ने, हिमपात हुँदा ओत लाग्ने ठाउँ भेटिएन। हिँड्दा लडेर कोही घाइते भयो, बिरामी पर्यो, गाह्रो भने भगवान भरोसा भने जस्तो रहेछ।

हिमाल मुनी बेसक्याम्प

साँझको करिब ५ बज्नै लागेको थियो। निकै टाढा दुई डाँडाको बीचमा हिमाल मुनि २/३ वटा घर देखिए। ती घर देखाउँदै खाङसाङका शिक्षक साथीले भन्नुभयो, ‘आज राती हामी बास बस्ने ठाउँ त्यही हो, बेसक्याम्प। अब भने अलि साहस आयोे। कम्तिमा बेसक्याम्प पुगिने भैयो भनेर। कतिबेला त्यहाँ पुगौँ र थुचुक्क बसौँ जस्तो हुँदै थियो। झमक्क साँझ परेपछि बेसक्याम्प पुग्यौँ। हामी बस्ने होटल त्यहीँ थियो।

होटल पुग्ने वित्तिकै ग्राहकलाई तातोपानीले स्वागत गर्लान् भन्ने आशा थियो, तर गरेनन्। जिउँ चिसोले कठ्यांग्रिएको थियो। अति भएपछि तातोपानी माग्यौं। लसुनको सुप अडर गर्यौँ। अलिअलि थकान, अलिअलि मानसिक प्रभाव र अलिअलि प्राकृतिक प्रभावले होला सास फेर्न सकस हुँदै थियो।

निकै गाह्रो मानेर होटल वालाले मन तातो पानी ल्याए। त्यो खायौं। तर, पुरै तातो पानी दिनुस् न भनेको सुनेको नसुन्यै गरे। हामीलाई भनेजति तातो पानी खान दिएनन्। पछि थाहा भयो, उनीहरु एक थर्मस तातो पानीको एक हजार रुपैयाँसम्म लिँदा रहेछन्, बिदेशी पर्यटसँग।

खाङसाङका सरहरु नभएको भए हामीसँग पनि लिन्थे होलान्। त्यसैले तातोपानी माग्दा सुनेको नुसन्यै गरे। पानी दिएनन्। तिलिचो पुगेर फर्केका काठमाडौँका दुई युवासँग होटेलमै भेट भयो। हामीले पनि भोलि विहान ताल जाने योजना उनीहरुलाई सुनायौँ। बाटोको अबस्था, ताल पुग्दा लाग्ने समयको विषयमा उनीहरुसँग जानकारी लियौँ।

मोबाइल चार्ज गरेको एक सय

बास बस्ने कोठामा कोठामा मोवाइल चार्ज गर्ने व्यवस्था रहेनछ। काउन्टर गएर मोवाइल चार्ज गर्ने विषयमा बुझ्दा होटल साहुले एउटा मोबाइल चार्ज गरेको एक सय रुपैयाँ लाग्ने बताए। झनक्क रिस उठ्यो। किन यस्तो? प्रश्न गरेँ। उनले सोलार जडान गर्दा लागेको खर्च उठाउँन मोवाइल चार्ज गरेको शुल्क लिने गरेको बताए।

त्यहाँ २/३ वटा मात्रै होटेल थिए। उनीहरुकै हालीमुहाली थियो, त्यहाँ। एक सय रुपैयाँ तिरेर मोवाइल चार्ज गरेँ। थकान र भोकले होला, मलाई खाना राम्रै रुच्यो। तर जीवन जी र अन्य सरहरुले भने खाना राम्ररी खान सक्नु भएन।

हामी ४१ सय मिटरको उचाईमा थियौँ। हाइ अल्टिच्युटको कारण मेरो टाउको झुम्म भएको थियो। अन्य साथीहरुले पनि आफूलाई त्यस्तै भएको सुनाउनुभयो। भोलि बिहान ४ बजे नै तिलिचो ताल तर्फ अघि वढ्ने सल्लाहसहित हामी सुत्न गयौँ। विहान ढिलो गर्दा हावा जोडले चल्ने र हिँड्न कठिनाइ हुने, धुलो र सुख्खा पहिरो जाने खतरा थियो।

जीवन जी, अनुप जी र मेरो सुत्ने कोठा एउटै थियो । औसधी, तातो पानी लसुनको सुप खाएर हामी ओछ्यानमा पल्टियौँ। ओछ्यानमा पल्टिँदा मलाई सकस भयो। सास फेर्न अप्ठ्यारो भए जस्तो भयो। म उठ्दै बस्तै गरिरहेको थिएँ। बेलाबेलामा जीवनजी र अनुपजीलाई हेर्थें। सिरक भित्र उहाँहरुको जीउ हल्लिएको छ कि छैन भनेर। तिलिचो जान हिंडेका धेरैले राती सुतेको बेला बेसक्याम्पै ज्यान गुमाएका घटना केही बेर अघि मात्र होटलवालाले हामीलाई सुनाएका थिए।

एकछिनपछि म निदाएछु। बेलाबेलामा शौचालय जान उठेँ। लसुनको सुप र औषधिको कारणले हुनसक्छ, राती खासै गाह्रो भएन। मंसिर १३ गते बिहान पौने चार बजे नै हामी उठ्यौं। ५१ सय मिटर उचाईमा रहेको तिलिचो ताल पुग्नु पर्ने थियो। उठ्नासाथ लसुनको सुप खायौँ। ६ सय रुपैयँमा साना दुईवटा कोक किन्यौं। एक बोटल मिनरल वाटरको सय रुपैयाँ तिर्यौं।

औषधिसहितका आवश्यक सामग्री बोकेर साढे चार बजे हामी तिलिचो तर्फ अघि बढ्यौँ। ५ मिनेट जति हिँडेपछि साथी पवनजी र उपेन्द्र जी ‘तपाईंहरु अघि बढ्नुस्, हामी विस्तारै आउँछौं’ भन्नुभयो। माथि डाँडामा एउटा बत्ती बलेको देखियो। ती पनि बत्तिको सहायतामा तिलिचो जाँदै गरेका कुनै यात्रु थिए।

उभिँदै लामो श्वास फेर्दै, फेरि १०/१५ पाइला अघि बढ्दै फेरि लामो श्वास फेर्दै हामी अघि बढिरह्यौं। करिब एक घण्टा हिँडेपछि रीमरीम उज्यालो भयो। त्यसअघि हामी जुनको उज्यालोमा हिँडिरहेका थियौं। केही वेरअघि डाँडोमा बत्ती बालेर हिँड्ने बिदेशी पर्यटक रहेछन्। उनी ६०/६५ बर्षका जस्ता देखिन्थे। उनलाई हिँड्न गाह्र्रो भएछ। दुबै हातमा लठ्ठी टेक्दै हिँडेका उनलाई पछि पार्दै हामी अघि बढ्यौं।

हाम्रो टोलीका एकजना सर दशैँ तिहारको बीचमा बेसक्याम्पसम्म पुगेर मौसम खराबीको कारण तिलिचो नपुगी फर्किनु भएको रहेछ। डाँडामा पुगेपछि हामीले तल पवनजीहरुलाई नियाल्ने प्रयत्न गर्यौँ। तर, देखेनाैंँ। सँगै हिँड्दै गरेका एकजना साथीले केही बर्ष अघि तिलिचो जाँदा मनाङका सिडिओको अक्सिजनको कमिले मृत्यु भएको घटना सुनाउनुभयो।

२२ घुम्ती भन्ने ठाउँमा एक हप्ता अघि एकजना युवाको पनि अक्सिजनको कमीले मृत्यु भएको रहेछ। केही बर्ष अघि बेसक्याम्पमा सुतेकै ठाउँमा काठमाडौँका एकजना चिनेका साथीको पनि मृत्यु भएको थियो। म उहाँको काठमाडौंमा मलाम गएको थिएँ।

यी सबै घटना मनमा आए। बेसक्याम्पबाट तिलिचो ताल पुग्न छिटो हिँड्ने मान्छेलाई पनि कम्तिमा चार घन्टा र फर्किंदा दुई घन्टा लाग्छ। ६ घन्टाको बाटोमा न टुसुक्क बस्ने ठाउँ छ, न हिमपात हुँदा र पानी पर्दा ओत लाग्ने ठाउँ। वर्षेनी हजारौँ पर्यटक जाने पर्यटकीय स्थलको त्यो अबस्था देख्दा देशमा सरकार नभएझै लाग्यो।

२२ घुम्तीको कठिन यात्रा

सबैले अप्ठ्यारो भन्ने गरेको २२ घुम्ती आयो। त्यसलाई छिचोल्न हिँड्दै, उभिँदै, खुईया गर्दै हामी अघि बढ्यौं। हामी २२ घुम्ती काटेर ५१०० मिटरको उचाइमा पुग्यौँ। २२ घुम्ती नै धेरैले काट्न सक्दा रहेनछन्। त्यहाँ लेक लाग्ने खतरा हुँदोरहेछ। यही डरले धेरै त २२ घुम्ती नपुगी फर्किंदा रहेछन्।

मैले बेसक्याम्प बास बसेको बेला ‘भोलिको यात्रा तिलिचो ताल’ भनेर फेसबुकमा स्ट्याटस लेखेँको थिएँ। मेरो स्ट्याटस पढेपछि धेरैले ‘म त २२ घुम्ती तलैबाट फर्किएको, म त २२ घुम्ती देख्दै अब सकिँदैन भनेर फर्किएको, म २२ घुम्ती आधाबाटै फर्किएको’ भनेर कमेन्ट गर्नु भएको थियो। यसले पनि २२ घुम्तीको उकालो कति अप्ठ्यो छ भन्ने प्रष्ट हुन्छ।

५१ सय मिटरको उचाईमा बसेर हामीले रोटि र पानी खायौँ। केही बेर थकाई मार्यौँ। हामी बसेकै ठाउँमा गृह मन्त्रालयका ४ जना कर्मचारीको टोली पनि आइपुग्यो। नजिकै एटा बोर्ड देखियो। त्यसमा ‘तिलिचो ताल पुग्न अब ३५ मिनेटको बाटो’ लेखिएको थियो। त्यहाँबाट बाटो तेर्सो थियो।

जब देखियो तिलिचो ताल

२२ घुम्तीको उकालो काटेका हामीलाई तेर्सो बाटो देख्दा ठूलै राहत महसुश भयो। आधा घण्टा हिँडेपछि हामी एउटा डाँडामा पुग्यौँ। त्यहाँ करिब ३०/३५ जना अन्य मान्छे थिए। डाँडाबाट तल निलो, सफा कञ्चन तिलिचो ताल देखियो। हामीलाई युद्ध जितेजस्तो भयो। मस्र्याङ्दी नदको उद्गम स्थल तिलियो ताल देख्दा खुसीले चिच्याउन मन लाग्यो, तर अरुले के भन्लान भनेर चिच्याउने हिम्मत गरिनँ।

५१ सय मिटर उचाईमा नपुग्दै मस्र्याङ्दी नदीको पानी भूमिगत भैसकेको थियो, नदेखिने गरी। हामी उभिएको डाँडोबाट करिब २०० मिटर तल थियो ताल। कोही त्यहाँ गएर आउने हिम्मत गरिरहेका थिएनन्। फर्किंदा ठाडो उकालो आउँन गह्रो हुन्छ भनेर।

हामीलाई भने त्यहाँ पुगेपछि तालको पानी नछोइ के फर्किनु भन्ने लाग्यो। म, जीवन जीसहित हाम्रो टोलीका चार जना तालको पानी तर्फ अघि बढ्यौँ। तालमा पुगेर एकछिन फोटो खिच्दै रमाइलो गर्यौँ। ओह्रालो झर्न त सजिलै भएको थियो। अब दुई सय मिटर ठाडो उकालो उक्लिन सजिलो थिएन।

फेरि हावा जोडले चल्न थाल्यो। त्यहाँ निकैबेर बस्नु झन् खतरा थियो। हामी ठाडो उकालो उक्लिन थाल्यौँ। सिडिओ सा’पले ‘तालमा पुगेपछि थकाई लागे पनि, घुँडा दुखे पनि कतै नबस्नु होला, उभिएरै थकाई मार्नुहोला, बसेपछि उठ्न सकिँदैन’ भन्नु भएको थियो। तर, तालमा पुगेपछि यति थकित भइयो कि नबसी सकिएन। ४/५ ठाउँमा बस्दै, उभिँदै गरेर हामी माथि उक्लिन थाल्यौँ।

बीचमा एकदुई चोटि त घाँटिमा आएर सास रोकिएला जस्तो भएको थियो। त्यतिबेला भने अब नबाँचिने भइयो भन्ने नलागेको होइन। तर, हिम्मत नहारी छातीलाई थिचथाच पार्दै बस्दै उभिदै, खोक्दै, गीत गुनगुनाउँदै, लामो सास फर्दै, एकैछिन उभिएर वरिपरि हेर्दै हामी माथि डाँडामा उक्लियौँ।

चार घन्टाको हिँडाई र एक घन्टाको घुमाईपछि हामी अघिल्लो दिन बास बसेको क्याम्पतर्फ अघि बढ्यौँ।

प्रकाशित २८ मंसिर २०७५, शुक्रबार | 2018-12-14 14:57:26
Max TV
Max TV
Zen Travels
Vianet

author photo

सुदर्शन पराजुली शिक्षासेवी हुन्

सुदर्शन पराजुलीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।