सुरेशकाे शालीन संगीत यात्रा




सुरेश गैरे
सुरेश गैरे

सुरेश के कुरामा निर्धक्क छन् भने जिन्दगीले ७० प्रतिशत पाठ पढाइसक्यो। अब मृत्यु ठूलो विषय होइन।

त्यो सशस्त्र द्वन्द्वको उत्कर्षको समय थियो। माओवादी विद्रोही र प्रहरीबीच भिडन्त भइरहन्थे। मृत्युको खबर आइरहन्थे।

उनी पर्वत सुरक्षा कमाण्ड अन्तगर्त थिए। माओवादीले फायरिङ गरेकै बेलामा मोबाइलमा घन्टी बज्याे।

‘मेरो एउटा गीतमा संगीत भर्नुपर्ने थियो’, गीतकार डा.कृष्णहरि बरालले फाेनमा भने। याे २०६२ सालकाे कुरा हो।

सुरेशलाई झनक्क रिस उठ्यो। ‘यहाँ भिडन्त चलिरहेको छ। ज्यान रहने हो होइन थाहा छैन। तपाइँ संगीतको कुरा गर्ने?’, उनले फोन काट्दिए। त्यही दिन साँझ फेरि उनै बरालको फोन आयो। सुरेशको फोन उठ्नासाथ उनले श्वास नरोकी सुनाए, ‘यहाँ देशको छ चिन्ता, तिमी माया–माया भन्छौं।’

एक सुरक्षाकर्मीकाे मनाेविज्ञान बुझेर बरालले याे गीत त्यही दिनभरमा तयार पारेका थिए। फाेनमै नयाँ गीतकाे सांगीतक फ्रेमबारे दुवैबीच छलफल भयाे। सुरेश संगीत भर्न उत्साही बने। अन्तत: गीत चर्चित बन्यो।

यसपछि सुरेशकाे सांगीतिक यात्राले नयाँ उचाइ लियो। ‘किन हजुर नबोलेको, केही कुरा बिराए कि ?’, ‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन’जस्ता चर्चित गीतमा संगीत भरे। संगीत भरेका गीतहरुको संख्या अहिले २५० भन्दा बढी पुगेको छ। यिनै कालजयी गीतले सुरेशलाई सक्षम प्रहरी सँगै कुशल संगीतकारको रुपमा स्थापित गराइदिएको छ।

२४ सै घण्टा जनताको खबरदारी गर्ने पेशामा रहेर सुरेशले राष्ट्रप्रेमदेखि माया–प्रेमले ओतप्रोत गीतमा  मधुरता पस्केका छन्।

सुरेश गैरे

सुरेश गैरे

छोरालाई ट्युसन पढाउने निहूँ

वरिष्ठ संगीतकार शक्ति बल्लभले ०५४ सालमा जुराइदिएको एउटा अवसरका कारण सांगीतिक संसारमा प्रवेश पाएका उनको पहिलो गीत आफ्नै शब्द–संगीतमा आएको थियो। यसको प्रसंग पनि रोचक छ।

सुरेश र उनका साथी राजेश थापाको कोठा नजिकै थियो। राजेशको कोठाबाट हार्मोनियमको सुमधुर धुन आउँथ्यो। त्यही संगीतले उनलाई लोभ्यायो। र, उनी बरिष्ठ संगीतकार न्यु बज्राचार्यसँग संगीत सिक्न थाले।

संगीतमा रस पस्दै जान थालेपछि शक्ति बल्लभको छोरालाई ट्युसन पढाउने निहुमा उनी उनको घर जान थाले। बिस्तारै बल्लभ र उनको निकटता बढ्दै गयो। सुरेशको प्रतिभा देखेर बल्लभ उनीप्रति आकर्षित भए। उनकै सहयोगमा सुरेशको पहिलो गीत एउटा बालगीत संग्रहमा समावेश भयो ।

रातो रातो रगतले, रंगीएको झण्डा
हामीलाई प्यारो छ आफ्नै प्राण भन्दा।

संगीत भर्न जन्मिएको आभाष
आत्मसन्तुष्टिका लागि गीतमा संगीत भर्न रुचाउने सुरेशको जीवन पनि गीत–संगीतजस्तै मीठासपूर्ण छ। बाल्यअवस्थामा निकै चञ्चले स्वभावका उनी घरायसी काममा भने आमालाई सघाउँथे। खेतीपाती, गाईगोरु चराउने, घाँस काट्ने र परेको बेला खानासमेत बनाउने जिम्मेवारी उनको काँधमा थियो। त्यो जिम्मेवारी आफूले निष्ठापूर्वक पूरा गरेको उनी बताउँछन्।

बुबा भारतमा बस्ने भएकाले सुरेशले नर्सरीदेखि कक्षा १ सम्म उतै पढे। त्यसपछि गाउँकै श्री बाल कल्याण भगवती प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढे। पढाईमा उनी अब्बल थिए। सधैँ सेकेण्ड हुन्थे। कक्षा ६ देखि उनले फेरि जनता माध्यमिक विद्यालय तानसेनमा अध्ययन गरे। तानसेन आएदेखि उनले पढाइमा मिहिनेत गर्न थालेका थिए। त्यसपछि उनी दोस्रोबाट कक्षामा प्रथम हुन थाले। २०५३ सालमा उनले प्रथम श्रेणीमा एसएलसी पास गरे।

उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौं प्रवेश गरे। आरआर क्याम्समा भर्ना भए। त्यहीँबाट स्नातक हुँदै अंग्रेजीमा स्नाकोत्तरसम्म गरे।

जीवनमा सबैको एउटा सपना हुन्छ, केही बन्ने, केही गर्ने। सुरेशको पनि त्यस्तै सपना थियो। अंग्रेजीमा मास्टर्स गरेपछि उनले अध्यापन पेशामा सक्रिय हुन्छु भन्ने सोचेका थिए। ‘टिचिङ’ उनको शोख पनि थियो। पढाउन उनलाई बिछिट्टै आनन्द आउँथ्यो। त्यसलाई उनी शब्दमा बयान गर्न सक्दैनन्। उनलाई लाग्थ्यो– एकदिन म प्रोफेसर हुन्छु।

जीवन सोचे र चाहेजस्तो कहाँ हुन्छ र? कुनै बेला लिएका साना निर्णयका परिणामले पनि जीवनभर फन्को लगाइरहन्छन्। कुरा ०६० सालको हो। उनले एकदिन सशस्त्र प्रहरीको निरीक्षकका लागि आवेदन खुलेको चाल पाए। प्रयास गरौँ न त भन्ने लाग्यो। निवेदन दिए। पहिलो प्रयासमैसफल भयो। ०६१ साल असारमा उनी शसस्त्र प्रहरीको प्रहरी निरीक्षक भए।

संगीतप्रतिको रुचि त छँदै थियो। आफूलाई यस क्षेत्रमा स्थापित गराउन प्रयासरत सुरेशले ०५७ सालमा आफ्नै शब्द, संगीत र स्वरमा एउटा गीत निकाले।

लाहुरेको जिन्दगी यो खुकुरीको धार
पैसासँग रगत साटे जित भनु कि हार।

सुरेश गैरे

सुरेश गैरे

गीत चले पनि उनी यस गीतमा रहेको आफ्नो स्वरप्रति सन्तुष्ट हुन सकेनन्। भन्छन्, ‘मलाई लाग्यो म गाउन नभएर संगीत भर्नकै लागि जन्मिएको हुँ।’

त्यसपछि उनको संगीतमा ‘बिम्ब’ एल्बम आयो। त्यो एल्बममा समेटिएको ‘किन हजुर नबोलेको, केही कुरा बिराएँ कि ?’ गीत हिट भयो। सुरेश पनि हिट भए। यो एल्बममा रहेका गीत सत्य स्वरुप, कुन्ती मुक्तानहरुको स्वर थियो।

सुरेशले जीवनमा विवाहअघि किशोर–किशोरीबीच हुने प्रेमको अनुभूत गर्न पाएनन्। उनीसँग प्रेम गर्ने समय पनि कहाँ थियो र। उनको प्रेम पढाईसँग जो थियो। फेरि त्यतिबेला प्रेम अहिलेजस्तो खुला थिएन। धेरै पढ्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ भन्ने परिवारको मार्गदर्शन हुन्थ्यो। कसैले–कसैलाई मन पराए पनि मनभित्रै गुम्साएर राख्नुपथ्र्यो। ‘सायद मेरो मनमा पनि प्रेम गुम्सिएरै रह्यो कि’ सुरेश मुस्कुराउँछन्।

गाउँले युवाका लागि काठमाडौं एउटा संघर्ष अजमाउने ठाउँ हो। उनले पनि यहाँ सपना कोरले। आफूले कोरलेका सपना कसलाई प्रिय लाग्दैन र? तर उनी ती सपना पूरा गर्न दिनरात मिहिनेत गर्थे। पढ्थे, पढ्थे अनि पढ्थे मात्र।

कलेज साथीहरु भेटघाट हुँदा कहिले कहीँ पुराना प्रसंग निस्कन्छन्। फलानीले तँलाई मन पराउँथी भन्छन्। अनि कसैले उसको त छोरा वा छोरी भइसक्यो नि भनिदिन्छ। सबै हाँस्छन्।

गीतकारकै छोरीसँग विहे

डा. कृष्णहरी बरालसँग उनको पहिलो चिनजान ०६२ सालमा भएको हो। सुरेशको सांगीतिक यात्रा अघि बढ्दै जाँदा त्यो झाँगिदै गयो। गीतकार र संगीतबारबीच भेटघाट र आउनेजाने हुनु स्वभाविकै भयो। त्यही क्रममा बरालकी छोरी स्वकृति उनको नजरमा परिन्।

दुवैको परिवारमा बिहेको कुरा चलिरहेको थियो। एकदिन सुरेशले कृष्णहरीसँग छोरी दिने भए आफूले बिहे गर्ने कुरा राखे। ग्रिन सिग्नल आयो। हालका आईजिपी सर्वेन्द्र खनाल (सुरेशका मामाका छोरा दाइ) र उनकी श्रीमती (सरिता) लाई सुरेशले बराल निवास पठाए। उनीहरुले सुरेशका लागि स्वीकृति मागिदिए। सुरेश र स्वीकृतिका अहिले एक छोरा छन्।

सुरेश नयाँ, पुराना सबै गीत सुन्न रुचाउँछन्। विदेशी गायकका गीत पनि मज्जाले अध्ययन गर्छन्। अफ्रिकन, स्पेनिस, पाकिस्तानी, भारतीय (राजस्थानी, बंगाली), अफगानी, फिलिपिनी, इन्डोनेशियन, श्रीलंकन, चिनियाँ गीतहरु सुन्छन्।

‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्। गीत–संगीतको आयु लामो हुनुपर्छ भन्ने उनको धारणा छ। आफूले संगीत भर्ने गीतलाई उनी कालजयी बनाउन प्रयास गर्छन्।

सुरेश गैरे

सुरेश गैरे

उनी अब आफूलाई सांगीतिक क्षेत्रभन्दा टाढा राख्न सक्दैनन्। भविष्यमा संगीतमा अझै थुप्रै गीतमा काम गर्ने उनको रुचि छ। एकान्तमा बसेर पुस्तक पढ्न, संगीत भर्न, गीतहरु सुन्न, नयाँ–नयाँ ठाउँ घुम्नलाई रमाइलो लाग्छ। ‘जहाँ समयको कुनै पावन्दी नहोस्, कहिल्यै १० नबजोस्, १२ नबजोस्’ उनी भन्छन्, ‘कतै गएर बस्न मन लागे महिनौँ बस्न पाइयोस्।’

लडेपछि उठ्नुपर्छ
सुरेशले जीवनबाट एउटा महत्वपूर्ण कुरा सिकेका छन्, लडेपछि उठ्नुपर्छ। पाल्पामा रहँदा बिताएको बाल्यकाल, काठमाडौं आएपछिको विद्यार्थी जीवन र संघर्ष र अहिलेको जागिरे जीवन। जीवनका यी हरेक कालखण्डमा उनी लडेका छन् र आफैँ उठेका पनि छन्। ‘लडेपछि उठ्न नजान्ने मानिस सधैँभरि सुतिरहन्छ’ उनी भन्छन्।

परिवारका विषयमा पनि उनको आफ्नै धारणा छ। पाल्पामा रहेका आफ्ना वृद्ध आमाबुबा आफूसँगै राख्न नपाएकोमा पश्चाताम पनि। परिवारमा आमाबुबा, भाइबहिनी, श्रीमती र एक छोरा छन्। भन्छन्, ‘जीवनमा सबैकुरा गुमोस् तर परिवार नगुमोस्।’
कहिलेकहीँ सुरेश मृत्युबारे सोच्छन्। ‘सोच्दा–सोच्दै यस्तो लाग्छ कि अहिले नै मृत्युबारे सोच्ने बेला भइसकेको छैन’, उनी सुनाउँछन्। सुरेश के कुरामा निर्धक्क छन् भने जिन्दगीले ७० प्रतिशत पाठ पढाइसक्यो। अब मृत्यु ठूलो विषय होइन।

प्रकाशित २५ मंसिर २०७५, मंगलबार | 2018-12-11 16:04:24
Max TV
Max TV
Zen Travels
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।