त्यो विछोडपछि नारायणगोपाल बने वियोगका गायक (भाइसँग भिडियो वार्ता)



Kshamadevi Group


नारायणगोपाल गुरुवाचार्य
नारायणगोपाल गुरुवाचार्य
तस्बिर सौजन्यः रवी मानन्धर

१७ दिनसम्म जयनेपाल हलबाहिर उभिएर सान्दाइ (नारायणगोपाल) ले ‘बैजू–बावरा’ फिल्मको ‘तु गङ्गा की मौज, मैं जमुना की धारा’ गीत कण्ठ गरेछन्। बाहिर उनले त्यो गीत गाउँदा फिल्म हेरेर निस्केका दर्शकको भीड लाग्थ्यो रे।

स्वरसम्राट नारायणगोपालका साइँला भाइ मनोहर गुरुवाचार्यले नारायणगोपालबारे अहिलेसम्म नखुलेका केही सन्दर्भहरू नेपालखबरका लागि रमण घिमिरेसँग प्रकाश पारे। प्रस्तुत छः नारायणगोपालको २८ औँ स्मृति दिवस (१९ मंसिर) को सन्दर्भमा मनोहर गुरुवाचार्यको संस्मरणः

***
त्यसबेला हाम्रो घर काठमाडौंको किलागलमा सङ्गीतको महफिल चलिरहन्थ्यो। बुवा आशागोपाल गुरुवाचार्य स्वयम् धुरन्धर सङ्गीतज्ञ हुनुहुन्थ्यो, सितारवादनमा ओस्ताद। घरनजिकैको मच्छिन्द्र बहालमा हरेक साँझ भजनको कार्यक्रम चल्थ्यो। त्यहाँ कार्यक्रम सकेर कलाकारहरू हाम्रो घरमा आउँथे र फेरि अर्को महफिल सुरु हुन्थ्यो।

त्यतिबेला कलाकारहरूले गाँजा खानु खासै नयाँ कुरा थिएन। एकदुई चिलिम गाँजा सुइँक्याइसकेपछि राती अबेरसम्म हाम्रो घर सङ्गीतले गुन्जायमान भइरहन्थ्यो। हाम्रो घरमा शास्त्रीय सङ्गीत धुरन्धर स्रष्टा–कलाकारहरूको नियमित जमघट हुन्थ्यो। त्यो समय सम्झिँदा म आज पनि स्मृतिको एउटा न्यानो अनूभुतिले लफक्कै भिज्छु।

मेरा माइला दाइ नारायणगोपालले त्यही सङ्गत र वातावरणमा स्वतःस्फूर्त स्वरीय ज्ञान र शिल्प सिक्नुभयो। यद्यपि, पिताजी आफू सितारवादनका ओस्ताद भएकाले नारायणगोपाल दाइलाई पनि त्यसैमा अभ्यास गराउन चाहनुहुन्थ्यो।

तर सान्दाइ (हामी नारायण दाइलाई घरमा सन्दाइ भनेर बोलाउँथ्यौँ र टोलियाहरू सान्बाबु भन्थे) लाई कालान्तरमा स्वरसम्राट हुनु रहेछ, त्यसैले, उहाँ वाद्यवादनमा भन्दा गायनमा बढी रुचि राख्नु हुन्थ्यो।

२०१४ सालतिर त उहाँ गायनमा राम्रैसँग परिचित भइसक्नु भएको थियो। मलाई सम्झना भएसम्म पछि माणिकरत्न र प्रेमध्वजले उहाँलाई रेडियो नेपालमा पुर्याउनु भएको हो। तर योभन्दा झन्डै पाँच वर्षअघि नै उहाँले मञ्चमा गाएर प्रसिद्धि कमाइसक्नु भएको थियो।

मेरा ठूल्दाइ नन्दगोपाल पनि सङ्गीतमा थोरबहुत रुचि राख्नुहुन्थ्यो। तर उहाँ त्यतिबेला कम्युनिस्ट विचारधाराबाट प्रभावित हुनुहुन्थ्यो। २००७ सालमा त जेल नै पर्नुभएको थियो।

मनोहरगोपाल गुरुवाचार्य

मैले सुनेको– यो २००९ सालको कुरा हो, सान्दाइ १३ वर्षको मात्र हुनहुन्थ्यो। गाईजात्राको अवसर थियो। काठमाडौँमा गाईजात्राका बेला विभिन्न डबलीहरूमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्थे। त्यो गाईजात्रामा ठूल्दाइले कम्युनिस्ट विचारधारामै आधारित एउटा नाटक लेख्नुभएछ– ‘किसान’। अनि त्यसलाई प्रसिद्ध साहित्यकार कृष्णचन्द्रसिँह प्रधान (जो आफैँ पनि कम्युनिस्ट हुनुहुन्थ्यो) बाट सम्पादन गराई ठूल्दाइले आफ्नै निर्देशनमा गाईजात्रामा त्यो नाटक प्रस्तुत गर्नुभयो।

त्यसबेलाका नाटकमा गीत पनि राख्ने चलन थियो। ‘किसान’ नाटकमा प्रसिद्ध सङ्गीतकार गणेशलाल श्रेष्ठले धुन हाल्नु भएको थियो। हो, त्यही नाटकमा एउटा अन्धो गायकको भूमिकामा ठूल्दाइले सान्दाइलाई पहिलोपटक मञ्चमा उतार्नुभयो। विभिन्न व्यक्तिहरूले नारायणगोपाललाई पहिलोपटक मञ्चमा मैले उतारेको हो भन्ने दावी गर्छन्। तर उहाँ पहिलोपटक मञ्चमा उत्रेको यही किसान नाटकबाट नै हो। यो कुरा म पहिलोपटक उल्लेख गरिरहेछु।

त्यतिबेला मनोरञ्जनको एक मात्र माध्यम डबली थियो। अनि, त्यस नाटकमा सान्दाइले एउटा अन्धोगायकको पनि कुशल भूमिका निर्वाह गर्दै यति सुमधुर स्वरमा गीत गाइदिनु भयो, त्यो गीत सुनेर सारा दर्शकहरू मन्त्रमुग्ध भए। सान्दाइको गायनले त्यसबेलाका मानिसहरुलाई यसरी आकर्षित गर्यो कि, दर्शकले त्यही दृश्यका लागि मात्र पनि त्यो नाटकलाई कैयौँपटक हेरे। वरिपरिका टोलेदर्शकहरूको जमघट त लाग्यो नै, सान्दाइको स्वर सुन्नकै लागि आएका टाढा–टाढाका दर्शकहरूको पनि ‘किसान’ नाटक हेर्न घुँइचो लाग्यो। यसरी सान्दाइ पहिलो गायनबाटै प्रशंसाको शिखरमा पुग्नुभयो।

त्यसको केही समयपछि उहाँले जेपी हाइस्कुलबाट एसएलसी पास गर्नुभयो। यस अवधिमा उहाँ प्रायः राती अबेर घर आउनुहुन्थ्यो। साथीभाइहरूको महफिलमा गाएर फर्किंदा कहिलेकाहीँ त बिहानपनि भइसकेको हुन्थ्यो। यसै निहुँमा उहाँले एकदुईचोटि बुवाबाट कुटाइपनि भेट्नु भएको छ।

बुवा हामी सबैलाई सङ्गीतमा लाग्ने प्रेरणा दिनुहुन्थ्यो । मलाई लाग्छ सान्दाइको गायनको पहिलो प्रेरणा बुवा हुनुहुन्थ्यो। र, दोस्रो प्रेरणा ठूल्दाइको ‘किसान’ नाटक। यस नाटकमा गाएपछि उहाँ रातारात स्टार हुनुभयो।

बुवा आशागोपालका हामी छ भाइ छोरा र चार बहिनी छोरीहरू थियौँ। नन्दगोपाल, नारायणगोपाल, हेमगोपाल, म मनोहरगोपाल, जुम्ल्याहा रामगोपाल र लक्ष्मणगोपाल। यीमध्ये ठूल्दाइ नन्दगोपाल, म, रामगोपाल र लक्ष्मणगोपाल अहिले पनि जीवित छौँ। हाम्रो सबैभन्दा जेठी दिदी पहिल्यै बितिसक्नु भएकाले उहाँको नाम मलाई थाहा छैन। तर दिदीहरू उमादेवी, मीना र बहिनी शान्ति अहिले पनि हुनुहुन्छ।

बुवा धुरन्धर सितारवादक हुनहुन्थ्यो, रेडियोमा बजाउनु हुन्थ्यो भन्ने कुरा मैले अघि उल्लेख गरिसकेको छु। त्यहाँबाट पारिश्रमिकस्वरूप केही रकम त प्राप्त हुन्थ्यो। तर त्यसले घरखर्च चल्दैन्थ्यो। उहाँको आम्दानीको स्रोत भनेकै औधषोपचार थियो। उहाँ जति प्रसिद्ध सङ्गीतज्ञ हुनुहुन्थ्यो, त्यति नै नामी कविराज (वैद्य) पनि हुनुहुन्थ्यो। टाढा–टाढाबाट मानिसहरू उपचारका लागि उहाँकहाँ आउँथे। त्यतिबेला सङ्गीतबाट जीविका चलाउनु भनेको कल्पनाभन्दा परको कुरा थियो।

‘किसान’ नाटकमा गाएर ख्याति कमाएपछि सान्दाइमा गायनप्रति विशेष रस बस्यो। त्यसबेला कसैका घरमा रेडियो हुदैनथ्यो। अलि हुनेखानेका घरमा हुन्थे तर हाम्रा लागि त्यो उपलब्ध हुने कुरै थिएन। त्यसैले सान्दाइ सिनेमा–घरहरूमा गएर गीत सुन्नुहुन्थ्यो। सिनेमा हेरेरै सदृश्य गीत सुन्ने आर्थिक हैसियत त थिएन। तर मानिसलाई चाख लागेपछि जसरी पनि उपाय निकालिछाड्छ भन्ने उदाहरण पनि हुनुहन्थ्यो सान्दाइ।

उहाँ काठमाडौँका सीमित सिनेमाघरमा बाहिर बसेर हलभित्र बजेका गीतहरू सुनेर कण्ठ पार्नुहुन्थ्यो र अरूलाई गाएर सुनाउनु हुन्थ्यो। यसलाई म उहाँको प्रतिभा नै भन्छु। दुईचारचोटि सुनेपछि उहाँलाई गीत र लय कण्ठस्थ हुन्थ्यो। उहाँ हिन्दी पाश्र्वगायक मोहम्मद रफीको बढी र मन्ना डेको पनि फ्यान हुनुहुन्थ्यो।

यस सम्बन्धमा एउटा रोचक र मर्मस्पर्शी घटना छ।

काठमाडौंको जयनेपाल हलमा ‘बैजू–बावरा’ भन्ने हिन्दी सिनेमा लागेको थियो। त्यसमा रफीले गाएको एउटा लोकप्रिय गीत छ– ‘तु गङ्गा की मौज, मैं जमुना की धारा’। त्यो गीत उहाँले हलबाहिर आएको आवाज सुनेर कण्ठ गर्नुभएछ।

मैले सुनेको, त्यो गीत सुन्न उहाँ १७ पटकसम्म जयनेपालको हलबाहिर दिनहुँ तीन घन्टा उभिनु भएको थियो रे।

अनि भएछ के भने, दर्शकहरू सिनेमा हेरेर बाहिर निस्किँदा त्यही गीत त्यति नै मीठासका साथ उहाँ गाइरहनु भएको हुन्थ्यो रे। पछिपछि त सिनेमा हेर्न भन्दा पनि उहाँको गीत सुन्न जयनेपाल अगाडि दर्शकहरूको भीड लाग्न थालेछ।

एक दिन उहाँले यसरी गाइरहेका बेला सिनेमाहलका प्रबन्धकले सुनेछन् र सोधेछन्, ‘ए बावु, तिमी त राम्रो गाउँदा रहेछौ। यो सिनेमा कतिपटक हेर्यौ?’

सान्दाइले सिनेमा हेरेको भए पो।

‘मैले एकपटक पनि हेरेको छैन, पैसा भए पो हेर्नु’, उहाँले भन्नुभएछ।

तिनले झन् आश्चर्यकासाथ सोधेछन्, ‘अनि कसरी कण्ठ गरेर ठ्याक्कै रफीले गाएजस्तै गायौ त?’

दाजुले जवाफ दिनुभएछ, ‘यहीँ बाहिर बसेर, दिनदिनै सुनेर।’

त्यसपछि ती प्रबन्धकले सान्दाइलाई अँगालो हालेर हलभित्र लगेछन् र ‘बैजू–बावरा’ सिनेमा फ्रिमा देखाएछन्।

खासमा नारायण दाइ रफीकै गीतमा अभ्यास गरेर गायनमा लाग्नुभएको हो। त्यसैले, उहाँको गायनका आरोह–अवरोहको कुनै सीमा थिएन। रफी र सुमन कल्याणपुरले गाएको अर्को क्लासिक गीत ‘आज हुँ न आये बालमा’ पनि उहाँ घरकै भर्याङ ठटाएर गाइरहनु हुन्थ्यो। भनौँ न, रफीबाटै प्रभावित भएर उहाँले शास्त्रीय शैलीको गीत गाउनुभएको हो।

गीत–सङ्गीतको छनोटमा सान्दाइको नाम विशेष रूपमा लिइन्छ। सङ्गीतको छनोट गर्ने कला त पहिला बुवाको प्रभावबाटै र पछि बरोदाबाट शास्त्रीय सङ्गीको अध्ययन गरेर आएपछि सिक्नुभएको हो। गीतको छनौटमा पनि यस्तै मानिसहरूको सङ्गतले ठूलो भूमिका खेलेको छ। भूपी शेरचन दाइसँग उहाँको निकट सम्बन्ध थियो।

यस सम्बन्धमा पनि एउटा रोचक प्रसङ्ग छ।

एकपटक भूपी दाइ हाम्रो घरमा १५ दिनसम्म बस्नुभएको थियो। उहाँ किन आउनुभयो, मलाई थाहा छैन। तर यी दुई हप्तामा भूपी दाइले हाम्रो घरको एक गाँस अन्न पनि खानु भएन। सायद हाम्रो र उहाँको खानपिनको स्वाद नमिलेर होला। उहाँले खालि ह्विस्की मात्र पिउनु भयो। मलाई सधैँ आधा बोतल ‘इ ग्रेन’ भन्ने ह्विस्की किन्न पठाउनु हुन्थ्यो।

उहाँ आर्थिकरूपले सम्पन्न मानिस, खल्तीबाट पैसा झिकेर ‘जा हाफ बोलत इ ग्रेन लिएर आइज’ भन्नु हुन्थ्यो। म केटाकेटी खुर्र दौडेर जान्थेँ र मिलिक्क गर्दा ल्याइदिन्थेँ। त्यही ‘इ ग्रेन’ पिएर उहाँ सान्दाइको कोठाबाट बाहिर ननिस्की १५ दिन बस्नु भयो। उहाँ ममार्फत नै पारस होटलबाट स्न्याक्सहरू मगाएर खानुहुन्थ्यो। त्यो पनि कहिलेकाहीँ मात्र। त्यसपछि उहाँ सिधै अस्पताल जानुभयो जस्तो लाग्छ।

सुरुमा नारायण दाइले ‘स्वर्गकी रानी मायाकी खानी’, ‘भो भो नसोध अब केही मलाई’ जस्ता रोमान्टिक गीतहरू गाउनु भयो।

मलाई लाग्छ, यसको पनि कारण छ।

त्यतिबेला उहाँ एक जना युवतीसँग प्रेममा पर्नुभएको थियो। उहाँहरूको प्रेमलाई मान्यता दिएर हाम्रो परिवारले विवाहका लागि अनुमति दिइसकेको थियो। तर बीचमा उहाँहरूबीच नै खै के खटपट पर्यो, यति प्रगाढ प्रेम अचानक ‘ब्रेक’ भयो। त्यही प्रेमवियोगले मन व्यथित भएका बेला हो, उहाँको सम्बन्ध पेमाला भाउजूसँग हुनपुगेको।

उहाँले पेमाला भाउजूमा बह पोख्ने ठाउँ भेट्नुभयो। तर भनिन्छ नि, मानिसले पहिलो प्रेम कहिल्यै भुल्न सक्तैन। हो, त्यही प्रेमवियोगले गर्दा उहाँ व्यथित हृदयको गायक हुनुभयो। त्यसपछि उहाँले ‘तिम्रोजस्तो मुटु मेरो पनि’, ‘बिर्सेर फेरि मलाई नहेर’ जस्ता विरहका गीतहरू मात्र गाउनुभयो।

उहाँका दोस्रो चरणका अधिकांश गीतहरूमा यही वियोगी भाव अभिव्यक्त भएका छन्। 

प्रकाशित १८ मंसिर २०७५, मंगलबार | 2018-12-04 13:26:17
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।