मिडिया र राजनीतिका विसंगति केलाउने लेखक




राजेन्द्र पराजुली
राजेन्द्र पराजुली

राजेन्द्र पराजुलीको नयाँ किताब बजारमा आउँदा सधै एउटा समूहलाई चासो हुन्छ।

पत्रकार, मिडिया मालिक र राजनीतिक नेताहरुलाई यसले के लेख्यो भन्ने सबैभन्दा बढी चासो हुन्छ। यसो हुनुको खास कारण छ। साहित्य क्षेत्रमा उनी एक यस्ता हस्ती हुन्, जसले आफ्ना कृतिमा यी तीन क्षेत्रका व्यक्ति र प्रवृत्तिलाई उजागर गर्छन्। त्यहाँभित्रको बेथिति र नाजायजपनलाई उदांगो परिदिन्छन्। उनका प्रत्येक किताबमा राजनीति र पत्रकारिताभित्रका केही विशेष बिम्ब हुन्छन्। तिनका कारण उनले धेरै पटक सम्पादकलाई स्पष्टिकरण दिएका छन्। गाली खाएका छन्।

पराजुली कहिल्यै बिचलित भएनन्। आफूलाई मन लागेका कुरा लेखिरहे। अर्थात् उनले जीवनमा आफ्नो इमान बिक्नेगरी कहिल्यै कसैसँग कुनै सम्झौता गरेनन्। त्यसैले त आज उनी शिर ठाडो पारेर हिँडिरहेका छन्।

‘मलाई खासगरी राजनीतिक विषयवस्तुको यथार्थ चित्रण गर्न मन पर्छ। यहाँभित्र रहेका विकृति, विसंगतिको भण्डाफोर गर्न मजा आउँछ’ पराजुली भन्छन्, ‘राजनीतिसँग हरेक मानिसको कुनै न कुनै रुपमा सम्बन्ध जोडिएको छ। त्यसैले आफूले देखेका, भोगेका र महसुस गरेका कुरालाई कथामार्फत आम पाठकमाझ ल्याउने चेष्ठा गर्छु।’

राजनीतिसँगै पराजुली पत्रकारिता क्षेत्रका विषयमा पनि लेख्छन्। ‘यो क्षेत्र त झन् मैले नजिकैबाट महसुस गरेको क्षेत्र हो। यहाँभित्रको यथार्थ परिवेशलाई बाहिर ल्याउनु त मेरो कर्तव्य नै हो नि’, उनी भन्छन्। उनी जुन मिडियामा काम गर्छन्, इमानदारिताका साथ गर्छन्। अहिलेसम्म उनले त्यस्तो ठाउँ कमै देखेका छन् जहाँ विसंगति नहोस्। त्यसैले उनको कलम त्यसविरुद्ध चलिहाल्छ। उनकै भाषामा भन्ने हो भने जहाँ काम गर्छन् त्यहाँ उनी ‘इन्जोय’ गर्छन्। त्यहीँका विविध पाटाहरुबारे लेख्छन् र फेरि त्यसमा पनि ‘इन्जोय’ गर्छन्। त्यसैले जागिर उनका लागि उद्योग भएको छ। किन कि श्रम गरेर उनले पैसासँगै खुराक पनि पाएका छन्।

चुनाव हार्ने हाई–प्रोफाइल र सभासदको कथा
पराजुलीले नजिकबाट नियालेका एक राजनीतिक नेता थिए। ती हाई–प्रोफाइल व्यक्ति आफ्नो जुँगा कहिले लामो त कहिले छोटो पार्थे। खासगरी चुनावको समयमा। यो सबै नियालेका पराजुलीले ती नेताले ज्योतिषको सल्लाहअनुसार यसो गरेको अनुमान लगाए। र, कथामार्फत् उनलाई ज्योतिषकोमा पठाइदिए।

ज्योतिषको सल्लाअनुसार उनले अर्को चुनावमा अझ लामो जुँगा पाले जित्ने पक्का भयो। ती नेताले त्यसै गरे। तर चुनाब हारे। त्यसपछि त ज्योतिषले उनलाई चुनाव जित्न दाह्री–जुँगा दुवै फाल्न सुझाव दिए। यो भविष्यवाणी पनि फेल खायो।
‘सपनामा माक्र्स’ नामक कथाको यो कथानक एक दिन रेडियोमा बज्यो। सोही क्रममा ती नेताका कार्यकर्ताले सुने। कथामार्फत आफ्नो नेताको मजाक उडाएको भन्दै उनका कार्यकर्ताले पराजुलीलाई बेस्मरी गाली गरे। ‘खासमा मैले लेखेको पनि उनै नेतामाथि हो र कार्यकर्ताले बुझेको पनि सही हो। काहाँबाट रेडियोमा सुनेछन् र खुब गाली गरे’, पराजुली हाँस्दै भन्छन्।

उनले एक सभासदको कथासमेत लेखेका छन्। आफ्ना छिमेकी सभासदलाई पराजुलीले लामो समय पछ्याए। पराजुलीका अनुसार ती सभासद निकै लालची थिए। पसलमा गएर सित्तैमा पान मागेर खान्थे, जुत्ता पलिस गर्नेसँग ब्रस मागेर आफै जुत्ता सफा गर्थे, सडकपेटीमा सुपारी बेच्न बसेकी बुढी आमासँगसमेत सुपारी मागेर खान्थे।

‘उनलाई पछ्याएपछि मैले उनको कर्तुत थाहा पाएँ। यो कुराले मलाई निकै पिरोल्यो र कथा बनाइदिएँ’ पराजुली मुस्कुराउँछन्। उनले आफ्नो पुस्तक ‘शुक्रराज शास्त्रीको चस्मा’ भित्रको ‘गुलाफी सुट’ शीर्षकको कथामा ती समानुपातिक सभासदलाई मन्त्री शंककुमार बनाइदिएका छन्।

एक समय पराजुलीसँग नजिकिएका ती सभासद् पछि आफै टाढिए। हालसम्म कथाको विषयमा भने कुनै गुनासो गरेका छैनन्। सायद उनी लज्जित छन्। प्राय पराजुली जीवित पात्रलाई नै आफ्नो कथाको पात्र चयन गर्छन्। आफ्नै वरिपरी घुमिरहेका पात्रलाई टप्प टिपेर कथा बुन्छन्।

तरवारले चटक्कै पार्ने धम्की
पराजुलीले कथामात्र होइन समाचार लेखेका कारण पनि थुप्रै धम्की खानु परेको छ। समाचारमार्फत यथार्थ घटनाक्रम बाहिर ल्याउँदा उनले हत्केलामा ज्यान राखेर हिँड्नुपरेका थुप्रै घटना छन्। ‘मेरो बुटमा सधैँ डेढ फिटको तरबार हुन्छ, तँलाई त्यही तरबारले चटक्क पार्छु’ एकपटक एक अपरिचित व्यक्तिले पराजुलीको मोबाइलमा फोन गरेर भने। ती व्यक्तिले आफ्नाबारेमा समाचार लेखेको भन्दै यस्तो धम्की दिएका थिए। धम्कीदेखि पराजुली कत्ति विचलित भएनन्। चित्त नबुझे सम्पादकलाई चिठ्ठी लेखेर पठाउन आग्रह गरे।

उनको मनमा डर र चिन्ता भने थियो। ‘ज्यानको माया कसलाई हुँदैन र ?’ पराजुली भन्छन्, ‘तर, म उसँग माफी माग्ने वा पत्रिकामार्फत गल्ती स्वीकार्ने पक्षमा भने थिइनँ। किन कि मैले लेखेको कुरा सत्य थियो। मैले मेरो धर्म, कर्तव्य र जिम्मेवारी निभाएको थिएँ।’

बेरोजगार युवालाई तालिम दिएर रोजगारी दिने नाममा एउटा कम्पनीले सरकारसँग अढाई करोड लिएको थियो। तालिम लिएकाले लामो समयसम्म काम पाएनन्। युवाहरु आक्रोशित भए। यसै विषयमा पराजुलीले समाचार लेखे।

यही समाचारका कारण उनले एक महिनासम्म तारन्तर धम्की खानुपर्यो। धम्की दिनेलाई पराजुली बस्ने घर, मोटरसाइकल नम्बर, उनी अफिस आउने–जाने समय सबै थाहा थियो। उनीहरु समाचारको खण्डन गर्छस् कि ज्यान गुमाउँछस् भन्दै धम्क्याउथे। पराजुलीले ज्यान बचाउने धाउन्नमा गलत कामलाई सही करार दिने सोच्दासमेत सोचेनन्। बरु, अफिसको काम सकेर राति घर जाँदा आउने साना गल्लीमा भेटिने अपरिचित अनुहारहरुमा तरबारवाललाई देखे र मोटरसाइकलको एक्सिलेटर अलि जोडले बटारे। ‘हिजो ती धम्कीले कैयौँ रात मेरो निद्रा हराम पारिदिए’ पराजुली भन्छन्, ‘आजभोलि तिनै धम्की मलाई रमाइलो लाग्छ।’

लेखाइमा भोगाई
पराजुलीले कथा लेखेकै कारण सम्पादकलाई स्पष्टिकरणसमेत दिएका छन्। ‘शुक्रराज शास्त्रीको चस्मा’मा पराजुलीले मिडियाको विषयमा केही कथा लेखेका थिए। सम्बन्धित मिडियाका सम्पादकले उनीसँग ‘यस्तो कथा किन लेखेको ?’ भनेर स्पष्टीकरण मागे।

त्यतिबेला पराजुलीले कल्पनामा कथा लेख्दा यथार्थताका झिल्का आउनु स्वभाविक भएको भन्दै टारिदिएका थिए। मिडिया हाउस अर्थात मालिकको घोषणा, पत्रकारको दही चिउरे प्रवृत्ति, यहाँभित्रको बेथितिबारे कथा लेख्दा आउने प्रश्नलाई उनी यसैगरी टारिदिन्छन्। वास्तवमा ती सत्य घटना हुन्छन्। सबैले नबुझे पनि जसको विषयमा लेखिएको हुन्छ, उसले बुझ्छ।

भन्छन्, ‘लेखक आफ्नो कृतिमा के–कस्ता विषयलाई उठान गर्ने भन्नेमा स्वतन्त्र हुन्छ। आफूले देखेका, भोगेका विषयलाई उठान गर्नु उसको कर्तव्य हो। अरुले सक्लान् तर म खलनायकलाई नायक बनाउन सक्दिनँ।’
पराजुली उनले लेखेका सबै पात्र दुरुस्त हुन् भन्ने कुरामा भने सहमत छैनन्। कथालाई पठनीय बनाउन आफूले कुनैमा केही र कुनैमा केहीभन्दा धेरै काल्पनिय विषयवस्तु, घटनाक्रम र सन्दर्भ मिसाउने गरेको बताउँछन्। कुनै न कुनै रुपमा सम्बन्धित पात्रको चरित्र चित्रण गर्न भने उनी भुल्दैनन्।

त्यसो त उनी राजनीति र पत्रकारिताबाहेक सामाजिक विषयमा पनि लेख्छन्। आफूले देखेका र भोगेका कुरालाई कथाका माध्यमबाट आम पाठकमाझ पुर्याउँदा उनलाई एक किसीमको सन्तुष्टि प्राप्त हुन्छ।

लेखन भूँइमान्छेबारे पाँच तलामाथिबाट लेख्नु नभई आफू पनि भूँइमै झरेर लेख्नु हो भन्ने पराजुलीको बुझाई छ। त्यसैले आफूले जुन अपरिवेश र अवस्था भोगेका छन्, प्रत्यक्ष देखेका छन् र त्यससँग साक्षात्कार गरेका छन्, तिनै विषय बढी उठान गर्छन्। उनले कथामा पत्रकारिता र राजनीतिका केही पाटालाई उदांगो पार्नुको खास कारण पनि यही हो । झन्डै तीन दशक जो बिताएका छन् यस क्षेत्रमा ।

उनी खासमा विभेद, अन्याय र थिचोमिचोमा परेका मानिस, दबेका आवाज, विसंगति, विकृति, बेथितिका विषयमा लेख्न रुचाउँछन्। जसको न कुनै सीमित क्षेत्र हुन्छ न कुनै मापदण्ड। यी विषयलाई रमाइलो तवरले प्रस्तुत गरी पठनीय बनाउनु उनको अर्को विशेषता हो।

पराजुली दमन, शोषण र उत्पीडनमा परेकाका लागि कथामार्फत मात्र होइन, रियल लाइफमा पनि आवाज उठाउन पछि हट्दैनन्।कुनै समय उनी एक पत्रिकाका सम्पादक थिए। उनले काम गर्ने पत्रिकाले दुई महिनादेखि सहकर्मीलाई तलब दिएको थिएन। उनले प्रकाशकसँग पटक–पटक तलब दिनका लागि आग्रह गरे। उनको कुराको सुनुवाई भएन। त्यसपछि उनले पदबाट राजीनामा नै दिए। यतिसम्म कि कर्पोरेट मिटिङमा आफूले सहकर्मीलाई तलब नदिएका कारण राजीनामा दिएको खुलस्त पारिदिए। पछि यो कुराले हंगामा नै भयो।

लेख्न नसकेको पाटो
पराजुलीले ५० हजार शब्दको एउटा उपन्यास तयार पारेका थिए। उपन्यासमा उनले अहिलेसम्म कथामा लेख्न नसकेका विषय उठान गरेका थिए। केही साथीलाई पढ्न पनि दिए। सबैले प्रकाशन गर्न सुझाव दिए। तर उनले हात झिके। ‘झन्डै सात वर्ष लगाएर लेखेको उपन्यास थियो। निकै मेहनत गरेको थिएँ। पछि आफैलाई चित्त बुझेन र फाइल नै डिलिट गरिदिएँ’ उनी भन्छन्।

त्यो उपन्यास महिलामाथि हुने यौन शोषणको विषयमा थियो। मिडियामा कसरी महिलामाथि यौन शोषण हुन्छ भन्ने कुरा उनले उपन्यासमा लेखेका थिए जुन प्रकाशित भएन। उनी आफूले चाहेको अहिलेसम्म लेख्न नसकेको कुरा मिडियामा हुने महिला यौन शोषण भएको बताउँछन्।

‘मिडियामा मालिकदेखि कामदारसम्मले महिलामाथि यौन शोषण गर्छन्’ पराजुली भन्छन्, ‘यस विषयमा मैले अहिलेसम्म लेख्न सकेको छैन तर समयले साथ दिएमा कुनै दिन अवश्य लेख्नेछु।’

प्रकाशित १४ मंसिर २०७५, शुक्रबार | 2018-11-30 16:19:30
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।