सूर्य कार्की: अमेरिका, चीन र भेनेजुएलामा अध्ययन, विद्यालय शिक्षा रूपान्तरणमा काम




सूर्य कार्की
सूर्य कार्की

अब उनलाई लाग्न थालेको छ, धेरै पैसा कमाएरभन्दा धेरै सेवा गरेर सन्तुष्टि मिल्ने रहेछ। भन्छन्, ‘सायद अब म जीवनभर यसरी नै समुदायस्तरमा रहेर काम गर्छु होला।’

धेरै नेपालीकाे सपनाकाे देश अमेरिकामा तीन वर्ष बसेपछि सूर्य कार्की सन् २०१७ मा आफ्नै देशमा केही गरौँ भन्ने भावना बोकेर नेपाल फर्किए। अाम नेपाली युवाभन्दा फरक उनले रोजेको याे बाटो सहज थिएन। उनीसँग त्यतिबेला कुनै स्रोत साधन थिएन। न त पूँजी नै थियाे। उनीसँग त्यतिबेला भएकाे चिज सपना र दरिलाे अात्मविश्वास मात्रै हो। सपनामा उनी स्पष्ट थिए, 'सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने।'

‘समृद्धिको सबैभन्दा ठूलो आधार शिक्षा हो र शैक्षिकस्तर सुधार गर्नका लागि सामुदायिक विद्यालयको अवस्था सुधार गर्नुपर्छ भन्ने लाग्यो’ जोशका साथ सूर्य सुनाउँछन्, ‘त्यसैले यही सपना बोकेर आफ्नै देश नेपाल फर्किएँ।’

भनिन्छ सपना देख्न छोड्नु हुन्न, देखेको सपना पछ्याउन पनि छोड्नु हुन्न। उनले आफ्नो जीवनमा यही दर्शन लागू गरे। आफूले देखेको सपना पछ्याउन कहिलै छोडेनन्। त्यसकै परिणाम हो बितेका चार वर्षमा यी २६ वर्षे युवाले निकै थोरै खर्चमा २५ वटा सामुदायिक विद्यालयको कायाकल्प गर्न सफल भएका छन्। भौतिक रूपमा मात्र होइन शिकाइ पद्धतिकै तौर तरिका समेत परिवर्तन हुनेगरी। 

शैक्षिक जागरण फैलाउने अभियानकै लागि सन् २०१७ मा उनी विश्वका धनाढ्यहरूकाे सूची प्रकाशन गर्ने अमेरिकी म्यागेजिन फाेर्ब्सको ‘सोसल इन्टरप्रेनर युथ’ विधामा एसियाका उत्कृष्ट ३० मा पर्न सफल भए। केही समयअघि विश्वकै ठूलो सामाजिक सञ्जाल फेसबुकको ‘कम्युनिटी लिडरसिप प्रोग्राम’मा विश्वभरिबाट परेका ६ हजार निवेदनमध्येबाट सूर्य छानिएका छन्। ‘फेसबुक कम्युनिटी फेलोसिप’ नामको यो कार्यक्रमबाट उनले ५० हजार अमेरिकी डलर पाउनेछन्।

सपना कतारको, उडान अमेरिकाको

सूर्य पूर्वी नेपालको पहाडी जिल्ला संखुवासभाको माडी नगरपालिका वडा नम्बर २ मा एउटा मध्यम वर्गीय परिवारमा जन्मिए। मकैको भात र ढिँडो खाएर आफ्नो बाल्यकाल गुजारे। परिवार खेती–किसानी गरेर आफ्नो जीविका चलाउँथ्यो। उनी नितान्त गाउँले परिवेशमा हुर्किए।

विद्यालयस्तरमा पढ्दा उनले सुनेको सबैभन्दा टाढाको देश कतार थियो। काकाहरु कतारमा बेल्चा हानेर रेडियो घन्काउँदै घर फर्किएको देख्दा उनलाई के के न भएजस्तो लाग्थ्यो।

त्यो बेला उनको पनि एउटा सपना थियो। ठूलो भएपछि आफू पनि कतार जाने र त्यसैगरी रेडियो घन्काउँदै घर आउने। परिस्थिति उनले सोचेजस्तो भएन। विद्यालयमा राम्रो अंक ल्याएर पास भएपछि पढ्नका लागि उनलाई काठमाडौंको ढोका खुल्यो। बुढानिलकण्ठ स्कूलबाट विज्ञान विषयमा ‍प्लस टु सिध्याएपछि उनको लक्ष्य विश्वविद्यालय तहको पढाई थियो।

पढाइमा अब्बल सूर्यलाई हिमालय शमशेरले छात्रबृत्तिमा स्नातक पढ्न भेनेजुएलाको ‘युनाइटेड वर्ल्ड स्कुल’ पठाए। त्यहाँबाट उनले कृषिमा डिग्री सिध्याए। त्यसपछि उनको जीवनले अर्को मोड लियो। अमेरिकाको कलेज अफ एट्लान्टिकमा ‘सस्न्टेनेवल बिजनेस एन्ड इकोनमिक्स’को छात्रबृत्ति मिल्यो। अमेरिकाको पढाईपछि उनको दोस्रो अध्ययन गन्तव्य चीन रह्यो। चीन पढ्न जान विश्वभरबाट छानिएका ११० मध्ये उनी एक थिए। चिनियाँ राष्ट्रपति सी चिङफिङ, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र चिफ स्वार्जमेनले सुरु गरेको एउटा कार्यक्रममा उनी छानिए। त्यही छात्रवृत्तिमा उनले चीनबाट ‘इकोनोमिक्स एन्ड बिजनेस’मा स्नातकोत्तर पूरा गरे।

विदेश पढ्दा उनी ६ महिना नेपाल र ६ महिना उता हुन्थे। पढाईले प्रयोगात्मक सिकाईमा जोड दिने भएकाले पनि उनलाई नेपालमै आएर केही गरौँ भन्ने सधैँ लागिरहन्थ्यो। त्यसकै सफलस्वरुप जन्मिएका संस्था हन् दियालो फाउन्डेसन र युनाइटेड वल्र्ड फाउन्डेसन नेपाल। हाल उनी दुवै संस्थाका निर्देशक छन्।

त्यसो त उनलाई छात्रबृत्ति दिएर दक्षिण अमेरिकी मुलुक भेनेजुएला पढ्न पठाउँदा हिमालय शमशेरले उनीबाट देशका लागि केही आशा गरेका थिएनन्। सूर्यको भविष्य राम्रो होस् भन्ने चाहेका थिए। तर अहिले उनको नेतृत्वमा भइरहेको सामुदायिक विद्यालय सुधारको कार्यक्रमबाट ग्रामीण नेपालका २ हजार ७ सय लाभान्वित भइसकेका छन्। ‘देशको यस्तो अवस्था देख्दादेख्दै म उता रमाउन सकिनँ’ सूर्य भन्छन्।

परिवर्तनका लागि आफ्नै ‘केस स्टडी’

अमेरिका बस्दै गर्दा उनले नेपालमा अत्यधिक समस्या देख्थे। अमेरिका बसेका नेपालीहरु नेपालमा के हुन्छ र? के छ र भन्थे। उनीहरु नेपालका समस्या मज्जैसँग देख्थे तर त्यसलाई कसरी समाधान गर्ने भन्ने सोच्दैनथे। सूर्यले अरुभन्दा फरक सोचे। अमेरिका बसाइकै क्रममा सन् २०१४ मा एउटा संस्था स्थापना गरे– दियालो फाउन्डेसन। त्यतिबेला उनी २२ वर्षका थिए।

एट्लान्टिक कलेज, अमेरिकामा पढिरहँदा एक दिन कक्षामा समुदायलाई कसरी अगाडि लान सकिन्छ भन्ने विषयमा छलफल चल्यो। सूर्यलाई प्रयोगात्मक रुपमै केही गरेर देखाउने मन थियो। आफ्ना गुरु जेफ्री ल्यान्डर समक्ष प्रस्ताव राखे। प्रस्ताव स्वीकृत भयो। उनी आफ्नो सपना जोडिएको योजनाका मोडल तयार पार्न थाले।

उनले आफ्नै जीवनलाई फर्केर हेरे। आफ्नै घर, नेपाली परिवशेलाई मनन गरे। आफ्नो बाल्यकाल सम्झिए। उनलाई लाग्यो नेपाली समाज कृषि र ऊर्जामा अब्बल छ। यी दुईमा केही गर्न सक्ने हो भने शिक्षाको वातावरण बन्छ अनि विद्यार्थीको भविष्य उज्जवल हुन्छ। यही सोचाइअनुसार तीन महिना लगाएर नेपालको कृषि, शिक्षा र ऊर्जाको क्षेत्रका सम्भावना र समस्याको अध्ययन गरे। उनले यिनै तीन क्षेत्रमा काम गर्ने सोच बनाए। कृषिमार्फत आर्थिक उपार्जन र ऊर्जामार्फत बत्ती मुख्य लक्ष्य बनाए। यति भएपछि अब ग्रामीण बालबालिकालाई शिक्षा आर्जन गर्न एउटा राम्रो विद्यालय आवश्यक हुन्छ भन्ने देखाइदिए। यो अवधारण उनका प्राध्यापकले रुचाए। यिनै विषयलाई मूलमन्त्र बनाएर अमेरिकामा दियालो फाउन्डेसन दर्ता भयो।

त्यसअघि उनी केही संस्थामा आवद्ध भइसकेका थिए। ती संस्थामा उनले देखाएको तत्परताका कारण २०१३ मा बेलायतका राजकुमार चाल्र्सको हातबाट युनिलिभरले विश्वभरबाट ७ जना युवालाई प्रदान गर्ने ‘सेभेन योङ्गेस्ट लिभिङ सस्टेनेबल इन्टरपेनर्स’ अन्तर्गत पुरस्कार पाइसकेका थिए। यो पुरस्कार भविष्यमा दिगो विकासको पक्षमा काम गर्न प्रोत्साहनस्वरुप दिइएको थियो।

‘त्यसले पनि ममा केही गर्नुपर्छ भन्ने भावना जातृत भइसकेको थियो। रातदिन दियालोलाई कसरी नेपालको सामुदायिक विकासको पक्षमा प्रयोग गर्ने भन्ने सोचिरहन्थेँ’ सूर्य भन्छन्।

नेपालमा कसैले पत्याएनन्
केही विदेशी दाता जुटाएर नेपालमै काम गर्ने सोचका साथ सन् २०१५ मा उनी नेपाल फर्किए। संस्थाको मोडालिटी कलेजमै बनाइसकेका थिए। अब उनी त्यसलाई व्यवहारमा लागू गर्न चाहन्थे।

तर उनी नेपाल आएको केही समयमै नेपालमा भूकम्प गयो। अर्कै उद्देश्य लिएर फर्किएका उनले दियालो फाउन्डेसनका नाममा भूकम्पपीडितलाई राहत बाँड्ने काम गरे। त्यही बेला उनको मनमा एउटा प्रश्न तेर्सियो, ‘सबै राहतमा लाग्ने हो भने दिगो विकासका लागि कसले काम गर्ने?’

सामुदायिक विद्यालयको क्षेत्रमा काम गर्ने उनको उद्देश्य त थियो तर उहाँ संस्था थिएन। दर्ता गर्न खोजे सरकारले साथ दिएन। तर उनले हार खाएनन्। ‘युनाइटेड वल्र्ड स्कुल नेपाल’ स्थापना गरेर काम अघि बढाउने संकल्प कसे। युकेमा रहेको ‘युनाइटेड वल्र्ड स्कुल’ले उनलाई सहयोग गर्ने भयो। युनाइटेड वल्र्ड स्कूलमार्फत् सोही वर्ष नेपाल सरकारसँग ३५ वटा सामुदायिक विद्यालय बनाउने योजनामा सहमति भयो। विद्यालय निर्माण तथा सञ्चालनको मोडल तयार भइसकेको थियो। तर सन् २०१५ को अन्तिमतिर आएर सरकारले कुरा परिवर्तन गर्याे।

३० लाखमा ८ कोठे भवन बन्छ भन्ने कुरामा सरकारी अधिकारी पत्याउन तयारै भएनन्। त्यसको एउटा पक्ष उनी आफ्नो उमेरलाई पनि मान्छन्। त्यतिबेला उनी मात्र २४ वर्षका थिए। अर्को कुरा उनलाई नेपालको बेथिति थाहा नभएको विषय उनीहरुले कमजोरीको रुपमा लिए। ‘तिमी अमेरिका बसेको मान्छे यहाँ अमेरिकामा जसरी काम चल्दैन। नेपालको राजनीति थाहा नभई यहाँ काम गर्न निकै गाह्रो छ’, सरकारी अधिकारीले सूर्यलाई सुनाए। अरुले ३० लाखमा विद्यालय बनाउन कुनै हालतमा सम्भव नहुने दाबी गरे।

यसले सूर्यको मनमा चिसो पस्यो। ‘आफ्नै देशमा आएर केही गर्छु भनेर लागि परेको छु तर सरकार पत्याउँदैन’, उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘त्यतिबेला निकै चित्त दुख्यो।’

सेवालुङको सफल परीक्षण

उनको स्वभाव नै छ, हत्तपत्त हार नमान्ने। आफैँप्रति विश्वास गर्न छाडेनन्। विदेशी दाता गुहारे। जसोतसो ३० लाख रुपैयाँ जम्मा गरे। त्यही पैसाबाट संखुवासभाको सेवालुङबाट काम सुरु हुने भयो। समुदायस्तरबाट पनि ३० लाखमा ८ कोठे आरसीसी भवन बन्छ भनेर कसैले पत्याएका थिएनन्। कम्तिमा दुई करोड लाग्ने अनुमान लगाइयो। सूर्यको अगाडि अब अर्को चुनौती थपियो। उनी पछि हटेनन्। विद्यालय भवन निर्माणका लागि समिति गठन गरियो। सबै काम समितिमार्फत हुने भयो। सामान खरिद गर्ने जिम्मा संस्थाले लियो। त्यसको सबै रेकर्ड समितिले राख्ने भयो। कामदार सूर्यको संस्था र स्थानीयस्तरबाट व्यवस्था गरिने भयो।

वर्ल्ड स्कुलका कामदारले रफ्तारमा काम गरे। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खटे। अर्कोतर्फ समुदायस्तरबाट काम ढिला भयो। त्यै पनि सम्पूर्ण टोलीसहित सूर्य लागिरहे।

अन्ततः दुई महिनापछि ८ कोठे पक्की भवन निर्माण सम्पन्न भयो। हिसाब गरियो। जम्माजम्मी २८ लाख रुपैयाँ खर्च विवरण निस्कियो। यो ठोस काम थियो, धेरैलाई यो जवाफ पनि सावित भयो। ‘त्यो समय मेरो जीवनकै महत्वपूर्ण रह्यो’ उत्साही मुद्रामा उनी सुनाउँछन्, ‘आफ्नो सबैभन्दा ठूलो सपना पूरा भएजस्तो लाग्यो।’

उनकाअनुसार उनीहरुले भवन निर्माण गरेको छेउमै एक विद्यालयले ४ कोठे भवनका लागि झन्डै ६० लाख बजेट छुट्याएको थियो। नजिकै २८ लाखमा ८ कोठे भवन बनेपछि उनीहरुहरुलाई दबाब प¥यो। त्यसपछि बजेट घटाइयो।

यसलाई उनी आफ्नो टीमको सफलतासँग जोडेर हेर्छन्। ‘मैले नेतृत्व गरेको हुनाले धेरैले सूर्यले नै गर्याे भन्ने सोच्नुहुन्छ’ उनी भन्छन्, ‘तर यो सफलता टीम वर्कबाट प्राप्त भएको हो।’ हाल वल्र्ड स्कुल र दियालोमा गरी सयको हाराहारीमा मानिसहरु आवद्ध छन्। यो टोली दिनरात फिल्डमा खटिन्छ।

तीन वर्षमा २५ विद्यालय

सूर्यको टोलीको कार्यशैली फरक छ। उनीहरु सबैतिर जाँदैनन्। स्थानीय सरकार, समुदाय, शिक्षा कार्यालय, प्रदेश सरकारले माग गरेको ठाउँमा सूर्यको टोली परिचालन हुन्छ। समुदायस्तरमा एउटा भेलाको आयोजना गर्छ। यस्तो भेलामा कम्तिमा ९० प्रतिशत घरधुरीको प्रतिनिधित्व हुनैपर्छ। छलफलमा विद्यालय बनेपछि हरेक बच्चा विद्यालय आउनुपर्ने र समुदायको तर्फबाट ३० प्रतिशत काममा सहयोग हुनुपर्ने शर्त राखिन्छ। समुदायस्तरबाट विद्यालयको आवश्यकता पुष्टि भएमा युनाइटेड वर्ल्ड स्कुलले लगानी गर्छ। बढीमा ३० लाखमा भूकम्पप्रतिरोधी घर तयार हुन्छ। यसरी बनेका विद्यालय समुदायलाई हस्तान्तरण गरिन्छ। सूर्यकाअनुसार यसो गर्दा स्थानीय सरकारलाई विद्यालय रेखदेखको जिम्मेवारी दिइन्छ ।

अहिले समुदायस्तरबाट निकै राम्रो प्रतिक्रिया आइरहेको छ। छिटो र छरितो काम सक्नु, हरपल समुदायसँग जोडिएर रहनु र पारदर्शी ढंगले काम हुने हुँदा धेरैले विश्वास गरेका छन्।

यसैगरी तीन वर्षको अवधिमा संखुवासभा र गुल्मीमा २५ वटा विद्यालय बनिसककेका छन्। ‘हरेक वर्ष कम्तिमा १२ र बढीमा १५ वटा विद्यालय बनाउने भन्ने योजना छ’ सूर्य भन्छन् ‘२०२० सम्ममा सय वटा विद्यालय बनाउने हाम्रो लक्ष्य हो।’
देशभर सय विद्यालय बनिसकेपछि ती विद्यालय प्रविधिमैत्री बनाउन उनले योजना बुनिरहेका छन्। विद्यालयमा कम्युटर ल्याब बनाउन तयारी तीब्र पारिरहेका छन्।

कस्तो हुन्छ विद्यालय ?
सूर्यको संस्थाले बनाएको विद्यालय सरकारको भन्दा तुलनात्मक रुपमा निकै भिन्न हुन्छ। कक्षा कोठामा यू आकारको डेस्क–बेन्च राखिन्छ। यसको मतलब हो शिक्षकले सबै विद्यार्थीको माझमा आएर पढाउन सकुन्। विद्यार्थीमा पनि फस्ट–लास्ट बेन्चको मानसिकता नहोस्।

त्यस्तै साना कक्षामा बालबालिकाका लागि भूँइमा बसेर लेख्न, पढ्न सक्ने टेवल हुन्छन्। ट्वाइलेटहरु २४ सैं घण्टा पानी आउने, उज्यालो छिर्ने र महिला–पुरुषका लागि उस्तै हुन्छन्। शिक्षक र विद्यार्थीका लागि उही ट्वाइलेट हुन्छ। एउटै ट्वाइलेट प्रयोग गर्ने भएपछि विद्यार्थीले फोहर गर्दा शिक्षकले सफा गर्न निर्देशन दिउन् भन्ने उद्देश्य हो।

कक्षा कोठामा आवश्यक सामग्रीहरु पनि संस्थाले नै उपलब्ध गराउँछ। शिशुमैत्री शिक्षाका लागि पाठ्यक्रम पनि केही परिवर्तन हुन्छ। बालबालिकाले बुझने गरी चित्रहरु भएका पुस्तक पढाई हुन्छ। यसमा सरकारसँग पनि सहकार्य गरिने सूर्यको भनाई छ।

‘हामीले प्रत्येक कक्षाको बाहिर पुस्तकहरु पढ्न मिल्ने खालको मिनी लाइब्रेरी पनि राख्ने सोच बनाएका छौँ’ सूर्य भन्छन्, ‘यसो गर्दा विद्यार्थीहरु खाली समयमा नजिकै गएर पढ्न सक्छन्।’ तल्लो तहदेखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने प्राणालीको विकास सामुदायिक विद्यालयले गर्छ। गरिबका छोराछोरीले समुदायिक विदालयमै अंग्रेजीमाध्यमबाट पढ्न पाउँछन्।

सूर्यको संस्थाको मुख्य उद्धेश्य गुणस्तरीय शिक्षा हो। अर्थात् गन्न, पढ्न, लेख्न र सपना देख्न सिकाउने शिक्षा। त्यसैले एउटा विद्यार्थीले नर्सरीदेखि पाँच कक्षासम्म पढ्दा यो मोडलमा तयार पारिएको विद्यालयमा यी सबै कुरा सिक्छ। 

पैसा होइन सेवाले दिन्छ सन्तुष्टि

सूर्यका गुरु जेफ्री ल्यान्डर र डेभिड किम हाल एसिया फाउन्डेसनमा कार्यरत छन्, उनीहरुले सूर्यलाई भरपूर सहयोग गरिरहेका छन्। फेसबुकबाट पुरस्कृत हुनुमा पनि उनको त्यही गुरु–चेला कनेक्सनले काम गरेको छ।

फेसबुकले समुदायस्तरमा काम गर्ने विश्वभरका ११३ जना युवालाई पुरस्कृत गर्ने घोषणा गर्याे। त्यसका लागि आवेदन गर्ने ६ हजारमध्ये सूर्य पनि एक थिए। फाइनल राउन्डका लागि अन्तर्वार्ता हुने भयो। त्यसका लागि उनी फेसबुकको हेडक्वाटर मेन्लो पार्क, क्यालिफोर्निया पुगे। ‘उत्कृष्ट ११३ मा छानिएर पाउने ५० हजार अमेरिकी डलरले तपाइँ के गर्नुहुन्छ’, अन्तर्वार्ताकारले उनलाई प्रश्न सोधे।

उनीसँग अनुभव छँदै थियो। निर्धक्कसँग भनिदिए,‘समुदायस्तरमा विज्ञान र प्रविधिलाई कसरी जनमैत्री बनाउन सकिन्छ भन्ने प्रश्नको खोजी गर्दै त्यसमै काम गर्छु।’ ५० हजार अमेरिकी डलरको फेलोसिपका लागि उनी छनौट भए।

ग्रामीण शिक्षा सुधारमा काम गर्न पाएकोमा सूर्य सन्तुष्ट छन्। अब उनलाई लाग्न थालेको छ, धेरै पैसा कमाएरभन्दा धेरै सेवा गरेर सन्तुष्टि मिल्ने रहेछ। भन्छन्, ‘सायद अब म जीवनभर यसरी नै समुदायस्तरमा रहेर काम गर्छु होला।’

प्रकाशित १३ मंसिर २०७५, बिहिबार | 2018-11-29 17:16:36
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।