भारत र चीनमै छन् नेपाली पुस्तकका दुई अर्ब पाठकः कृष्ण धरावासी (अन्तर्वार्ता)




कृष्ण धरावासी
कृष्ण धरावासी

अमेरिकीहरू राजनीति र सरकारको गफ गरेर समय बर्बाद गर्दैनन्, बरु पुस्तक पढ्छन्। हवाई यात्रा होस् वा बस–रेल यात्रा, धेरै मानिस पुस्तक पढिरहेका हुन्छन्।

पाँच वर्षे अमेरिका बसाइपछि हालसालै नेपाल फर्किएका छन् लेखक कृष्ण धरावासी। हालसम्म २८ पुस्तक प्रकाशन गरेका धरावासी तिखोरुपमा कलम चलाउने लेखकका रुपमा परिचित छन्। कृषि विकास बैंकको अधिकृत पदबाट अवकास लिएर पूर्णकालिन लेखनममा लागेका उनी लेखेरै जीविकोपार्जन गर्ने आधार खडा गर्ने पहिलो पुस्ताका लेखकका रुपमा चिनिन्छन्। ‘राधा’ उपन्यासमार्फत मदन पुरस्कारसमेत हात पारेका उनले विगत चार दशकदेखि नेपाली साहित्यलाई नजिकबाट नियालेका छन्। अमेरिकाबाट नेपाल फर्केका लेखक कृष्ण धरावासीसँग नेपालखबरका कृष्ण आचार्यले गरेको वार्ताको सम्पादित अंशः

पाँच वर्ष अमेरिका बसेर नेपाल फर्कनु भएको छ। यसबीचमा नेपाली साहित्यमा कस्तो परिवर्तन पाउनुभयो?
पाँच वर्ष अमेरिका बसेको भन्नुभयो। तर, म यसबीचमा हरेक वर्ष ७ महिना अमेरिका र पाँच महिना नेपाल बस्दै आएँ। नेपालमा रहँदा आफ्नै पुस्तक प्रकाशनको चटारो हुन्थ्यो। याताउता गर्दा समय बितेको पत्तै हुँदैनथ्यो। योबीच मैले निकै कम नेपाली साहित्यिक पुस्तकहरु अध्ययन गर्ने मौका पाएँ। र, अहिले त्यो ग्याप पूरा गर्ने तरखरमा छु। त्यै पनि नेपाली साहित्यको विषयमा अपडेट भने भइरहेँ। मलाई जहाँसम्म लाग्छ यो बीचमा साहित्यमा युवा पुस्ताको जमात बढेको छ। नयाँ पुस्ता विशेषगरी आख्यानमा शसक्त भएर आएको छ। साहित्य केही हदसम्म भए पनि व्यवसायिक भएको छ।

पाठक चाहिँ बढेका छैनन्?
बढेका छन् नि। बजारमा जति धेरै सामान हुन्छ क्रेता पनि उति नै बजार जान्छन्। पुस्तकको सवालमा पनि यही हो। पहिला थोरै लेखक थिए, सीमित टेस्टका लेखक पाइन्थे। अहिले लेखकको संख्या बढेको छ, आफूले चाहेअनुसारका पुस्तकहरु आइरहेका छन् र यसले पाठकको संख्या पनि बढाएको छ। २०४८ सालमा झापा जिल्लामा वर्षमा ८ वटा किताब छापिँदा ठूलै समाचार बनेको मलाई अझै सम्झना छ। किनभने त्यसअघि तीन–चार वर्षमा एउटामात्र किताब छापिन्थ्यो। यसरी लेखन एउटा व्यवसाय बनेको छ भने पठनको दायरा पनि फराकिलो बन्दै गइरहेको छ।

पुस्तक व्यवसाय त बन्यो होला तर, त्यसको आडमा प्रकाशन गृह मोटाउने र लेखक भने जिल्ल पर्ने अवस्था छ भनिन्छ, होइन?
यो जहाँ पनि हुन्छ। लेखकले कति पुस्तक छापियो, कति बिक्यो भन्ने एक–एक आँकडा राख्न सम्भव छैन। डाटा खोज्दै बजार–बजार चाहार्ने अवस्था पनि छैन। प्रकाशकले १० हजार प्रति छापेर पाँच हजार छाप्यौँ भन्दा पत्याउने अवस्था छ। कि त यसलाई डिजिटल सिस्टममा लैजानु पर्यो। त्यो नेपालको सन्दर्भमा अहिले नै सम्भव छैन। केही प्रकाशनले रोयल्टीवापतको रकम नदिएको हल्ला पनि सुनिन्छ। तर, सबै त्यस्ता हुँदैनन्। आफ्नो व्यवसाय चलाइरहन उसले लेखकलाई विश्वासमा लिन सक्नुपर्छ। चारैतिर प्रतिस्पर्धा छ, आफूसँगै राख्न सक्नुपर्छ। त्यसैले पछिल्लो समय यदि पुस्तकको राम्रो व्यापार भएको छ भने लेखक पनि मोटाउने अवस्था बन्दै गइरहको छ। केही लेखकहरु पूर्णकालिन बनिसकेका छन्।

नेपालमा लेखककलाई पुस्तक बिक्रिवापत दिइने रोयल्टी सन्तोषजनक नै छ?
संसारभर लेखकलाई दिइने रोयल्टीको सबैभन्दा ठूलो हिस्सा भनेको २० प्रतिशत हो। हामीकहाँ पनि चलेका लेखकले त्यति नै पाउँछन्। अधिकांश नयाँ लेखकहरुसँग चाहिँ १५ प्रतिशतमा सम्झौता भएको हुन्छ। पुस्तक बिक्रिवापत प्राप्त हुने रोयल्टी प्रकाशकले सम्झौताअनुसार समय–समयमै लेखकलाई उपलब्ध गराउनु पर्छ।

०४८ देखि ०५५ सालसम्म मेरा छ वटा पुस्तक प्रकाशित भए। प्रत्येक पुस्तक हजार प्रति छापिए। ती सबै पुस्तक मैले झोलामा हालेर बाँडेर सकेँ। एक रुपैयाँ पनि पाइनँ। लगानी पनि आफूले गरेको थिइनँ, चन्दा उठाएर छापेको थिएँ। तर, अहिले त्यस्तो अवस्था छैन। कसैको पहिलो कृति आउँदै छ भने त्यसमा आफ्नो लगानी लगाउनु पर्दैन। प्रकाशकले छाप्छ, धेर–थोर जति भए पनि रोयल्टी आउँछ। यसरी व्यवसायिक लेखक बन्ने वातावरण अहिले छ। केही लेखकहरु जागिर छाडेर रोयल्टीको भरमा गुजारा चलाइरहेका छन्। जस्तोसुकै किताब लेखेर ‘मेरो किताब बिकेन, मलाई प्रकाशकले पैसा दिएन’ भनेर रुने कुरा त भएन नि। राम्रो किताब लेख्दा अहिले त्यसको कदर पक्कै हुन्छ। वर्षमा दुई–चार लाख कमाउन गाह्रो छैन। किताब लेखेर बिल्डिङ नै ठोक्छु भन्ने कुरा भने अलि परको होला।

मैले २०४० सालदेखि पत्रकारिता गरेँ। त्यसको १० वर्षपछि रेडियो नेपालमा जागिरे भएपछि बल्ल मासिक १९०० रुपैयाँ तलब आउन थाल्यो। अहिले महिनाको ३०–४० हजार सामान्य भएको छ। त्यसैले यो विस्तारै परिवर्तन हुँदै जाने कुरा हो।

स्तरोन्नतिको सवालमा हामी कहाँ छौ त?
यसमा पनि हामी हिजोभन्दा अलि फरक छौँ। नयाँ पुस्ता र पुरानो पुस्ताबीच जहिल्यै लडाइँ हुन्छ। पुरानो पुस्ता आफ्नो पुस्ताले राम्रो गरेको अहम बोक्छ। यो उसको कुण्ठा पनि हो। नयाँ पुस्ताको हामीले नयाँ गर्यौँ भन्ने आफ्नै अहम छ। सामाजिक परिवर्तन र संजालसँग जोडिएको वर्तमान पुस्ताको लेखन शैली र हाम्रो पुस्ताको लेखन शैली निकै भिन्न छ।

नयाँ पुस्ताले जति नै राम्रा कृति लेखे पनि पुरानो पुस्ताले त्यसलाई साहित्य नमान्ने परिपाटी छ भनिन्छ, तपाईंलाई कस्तो लाग्छ?
यो निकै पुरानो परिपाटी हो। मेरो पालामा मैले पनि भोगेको हुँ र मभन्दा अघिल्लो पालाका साहित्यकारले पनि भोग्नुभएको हो। लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्यालहरुले गोपालप्रसाद रिमाललाई कहाँ पत्याउँथे त? माधव घिमिरे अहिले पनि गद्य कवितालाई कविता मान्नुहुन्न। यो चलिरहन्छ। मेरै कुरा गर्ने हो भने हालसम्म प्रकाशित भएका २८ पुस्तक बजारमा बिक्रि भइरहेका छन्। धेरैका थुप्रै संस्करण आएका छन्। तर, समालोचकको नजरमा म पर्दिनँ।

हाम्रा समालोचकहरु पूर्वाग्रही छन् त्यसो भए?
त्यसो भनेको होइन। बजारमा हप्तैपिच्छे किताबहरु आउँछन्, समालोचकहरु कम छन्। अब उनीहरुले कति किताब पढ्ने र समालोचना लेख्ने? अर्को कुरा, समालोचकको मार्केट नै छैन। समालोचना लेखेवापत उसलाई न कुनै आम्दानी हुन्छ न समालोचनाको पुस्तक छाप्दा बिक्रि नै। उसका त पाठक नै हुँदैनन्। फेरि, रामको बारेमा लेख्दा हनुमानहरु रिसाउँछन्। एउटा कृतिको समालोचना गर्दा अन्य ५० जना लेखक उसँग रुष्ट हुन्छन्, आफूलाई नसमेटेकोमा। यस्तो अवस्थामा उसको बौद्धिकता, समय, रोजगारीको प्रश्न आउँछ। लेखकको कृति बजारमा आएपछि उसले रोयल्टी पाउँछ, त्यही उपन्यासको समालोचना गर्ने समालोचकले के पाउँछ? न लेखकले पारिश्रमिक दिन्छ, न प्रकाशकले नै। पत्रपत्रिका, अनलाइनमा प्रकाशित भएर पैसा पनि आउँदैन। त्यसैले म के भन्छु भने यदि साहित्य व्यवसायिक भएको छ भने समालोचना पनि व्यवसायिक हुनुपर्छ। समालोचकलाई कि प्रकाशकले पारिश्रमिक दिनुपर्छ कि लेखकले। उनीहरुलाई पनि संरक्षण गर्नुपर्छ।

पैसा लिएर समालोचना लेख्दा त्यो ‘नुनको सोझो’ लेखिएला नि फेरि?
त्यो समालोचकको क्षमतामा भर पर्ने कुरा हो। यदि समालोचक आफ्नो नैतिकतामा टिकीराख्न चाहन्छ भने उसले पैसा लिएर पनि सही विवेचना गर्छ। यो उसका लागि ठूलो परीक्षा हो। तर, हामीले के बुझ्नुपर्छ भने एक रुपैयाँ पनि नतिरेर पाउने चीज के नै छ र यहाँ, जहाँ पिसाव फेरेको पाँच रुपैयाँ तिर्नुपर्छ। लेखकले रोयल्टीबाट आएको पैसा तिरेर पिसाव फेर्ला, समालोचकले कहाँबाट तिर्ने? दिनमा पाँचपटक पिसाव लाग्यो भने डुबेन त ऊ। दिसा लाग्यो भने त अझ १० रुपैयाँ तिर्नुपर्छ। त्यस्तै, खान, लगाउन पनि पर्यो। यहाँ पैसा नतिरी केही चीज पाइँदैन अनि समालोचकले चाहिँ सित्तैमा लेखिदिने?

अर्को कुरा यतिठूलो पाण्डुलिपी बोकेर आउँछन्, त्यो पढिदिनु पर्यो, त्यसका गल्ती, कमी–कमजोरी औंल्याइदिनु पर्यो, सके भाषा पनि मिलाइदिनु पर्यो। अनि एउटा राम्रो भूमिका पनि लेखिदिनुपर्यो। त्यो पनि तुरुन्त। त्यसका लागि समय, मेहनत कति लाग्छ? दुई महिना लाग्यो भने दुई महिना त उसले जागिर दिएको भयो नि। उसका लागि फेरि आफ्नो सबै काम छाड्नु पर्ने। त्यसवापत उसले पाउने के त? सम्पादन गरेको पैसा तिर्न हुने, प्रुफ हेरेको तिर्न हुने, छापेको तिर्न हुने, अरु अकरम बकरमको पैसा तिर्न सक्ने, छापिएपछि किताब बेच्नेले पनि पैसा पाउने तर, भूमिका लेख्नेले केही नपाउने। यो कहाँसम्मको अन्याय हो। कतिसम्मको हेपाहा प्रवृत्ति हो। त्यसको बजेटिङ गर्नु पर्दैन? कृष्ण धारावासी पो एउटा हुन्छ त, लेखक त ५० जना हुन्छन् नि। साध्य हुन्छ त? बिना पैसा कसैले काम गर्नु हुँदैन र बिना पैसा अरुलाई काम पनि लगाउनु हुँदैन। मैले अमेरिकाबाट सिकेर आएको यत्ति हो।

अमेरिका बसाईका क्रममा त्यहाँको लेखनलाई कसरी नियाल्नुभयो? नेपाली साहित्य विश्व बजारमा विस्तार गर्ने अवस्था, सहजता र असहजता कस्तो रहेछ?
अमेरिकामा बसेर मैले नेपाली साहित्य क्षेत्रको काम गरेँ। अंग्रेजी त्यति धेरै राम्रो नभएकाले पनि होला मेरो त्यहाँका साहित्यकारसँग खासै घुलमेल भएन। लाइब्रेरीमा गएर पुस्तकहरु पढ्ने काम भने गरेँ। यसअर्थमा मैले केहीमात्र अनुभव संकलन गर्न पाएको छु।

आफ्नो ‘राधा’ उपन्यास त अंग्रेजी संस्करणमा छाप्नुभयो नि?
राधा अंग्रेजीमा अनुवाद गरेवापत मैले महेश पौडेलजीलाई १५ सय डलर दिएँ। त्यसपछि पब्लिकेशनले सेटिङ गरेको, प्रुफ हेरेको र अरु के–के गरेको भनेर झन्डै १२ सय डलर लियो। त्यसपछि त्यहाँको दुईवटा पत्रिकामा बुक रिभ्युका लागि १५ सय डलर लिए। रिभ्यु एक वर्षपछि बल्ल यही नोभेम्बरमा आउँदै छ। त्यहाँ पैसाबिना कसैले–कसैको काम गर्दैन। न यसो गर्दे भन्छन् नै। पैसा पनि पहिल्यै दिनुपर्ने अझ। बहुत गाह्रो भयो।

अनि राधा उपन्यासको मार्केट कस्तो रह्यो अमेरिकामा?
अब के भन्ने, हाम्रोमा जस्तो चल्दै नचलेका पुस्तक पनि छन्, अलिअलि चलेका पनि छन् र धेरै चलेका पनि छन्। तर, के हुन्छ भने धेरै चलेकाले करोडौँ कमाएका छन्। अलिअलि चलेकाले पनि लाखौँ कमाएका छन्। कतिपय राम्रा पुस्तकले बजार पिट्न सकेका छैनन्, कतिपय हावा पुस्तक लाखौँ बिकेका छन्।

व्यवसायिकाताको हिसाबले भने अत्यन्त पारदर्शिता र इमानदारिता छ। लेखकले बिक्रि भएको पुस्तकको पैसा मज्जाले पाउँछ। अर्थात, ऊ ठगिनु पर्दैन।

मेरो किताब पनि अहिलेसम्म करिब छ सय प्रति बिक्यो। मेरो जम्माजम्मी ४१ सय डलर लगानी भएको छ। र, बिक्रिबाट १२ सय डलरजति उठेको छ। प्रकाशकले पुस्तकको मूल्यको आफ्नै अनलाइनबाट बेचेको २५ प्रतिशत र अरुलाई बेच्न दिएकोबाट आएको १० प्रतिशत मलाई दिन्छ।

त्यहाँको पठन संस्कृति र पाठक कस्तो पाउनु भयो?
निकै लोभलाग्दो छ। नेपाल आउने पर्यटकलाई नै हेरौँ न धेरैको हातमा कुनै न कुनै पुस्तक हुन्छ। हवाई यात्रा होस्, बस यात्रा होस् या रेल यात्रा– मानिसहरू पुस्तक पढिरहेका हुन्छन्। अमेरिकीहरू राजनीति र सरकारको गफ गरेर समय बर्बाद गर्दैनन्, बरु पुस्तक पढ्छन्। हातमा पुस्तक नभए तापनि कोही मोबाइल त कोही अनलाइनमा पढिरहेका हुन्छन्।

अमेरिकामा नेपाली पुस्तकका पाठक कत्तिको पाउनुभयो?
पाठक नै छैनन्। अहिले अमेरिकामा नेपालीको पहिलो जेनेरेसन नै सक्रिय छ। उनीहरु दिनको १५–१६ घन्टा काम गर्छन्। बाँकी समय, खाना पकाउनु पर्यो, खानु पर्यो अनि आराम गर्नुपर्यो। किताब कतिबेला पढ्नु? मन भए पनि समय हुँदैन। मैले आफै नेपालबाट छापेर लगेका धेरै किताब त्यहाँ डम्पिङ भए।

साहित्यमा रुची भएका, आफ्ना पुस्तकहरु पनि छाप्न लागेका वा छापेका केही व्यक्तिले मात्र हो किताब पढ्ने भनेको। ती नेपालीका छोराछोरी जो त्यहाँ अध्ययनरत छन्, उनीहरु त्यहीँको संस्कृतिमा हराए। त्यहाँ विद्यालयस्तरबाटै किताब पढ्ने संस्कृतिको विकास हुन्छ। यसरी उनीहरु अंग्रेजीका रिडर बने र त्यतैका किताब पढ्छन्। नेपाली त अक्षर नै चिन्दैनन्, नेपाली साहित्यका किताब अंग्रेजीमा अनुवाद नै हुँदैनन्। अनि कसरी हुन्थे पाठक।

भनेपछि अंग्रेजीमा अनुवाद गर्ने हो भने अमेरिकामा नेपाली पुस्तकको पनि बजार चाहिँ छ?
अहिलेसम्म हामीसँग जुन स्तरका किताबहरु छन् तिनको आकर्षित ढंगले भाषान्तर गरेर विदेशी पाठकमाझ लान सक्ने प्राविधिक व्यक्तिको हामीकहाँ कमी छ। अब हामीले राम्रा किताब विश्व बजारमा लाने हो भने राम्रा अनुवादक उत्पादन गर्नुपर्छ। त्यसमा विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठानको योगदान चाहियो। अनुवादकलाई आर्थिक रुपमा सक्षम बनाउने वातावरणको पनि निर्माण हुनुपर्यो। यसरी राम्रा किताब जान थाले भने त भोली विदेशीले खोजिखोजि नेपाली किताब पढ्छन् नि।

नेपाली पुस्तक जति अनुवाद भएका छन् ती धेरै अंग्रेजी भाषामै भएका छन्, बजार नभएर अरु भाषामा अनुवाद नभएको हो?
कामीकहाँ एउटा भ्रम छ, हामी अनुवाद भन्नासाथ नेपालीलाई अंग्रेजीमा रुपान्तरण गर्ने भन्ने बुझ्छौँ। अंग्रेजीमा लाँदा विश्व बजारमा छिटो पुग्छ भन्ने एउटा तर्क होला तर, विश्वमा अंग्रेजी भाषी मानिसहरु कति होलान्? के चीनमा अंग्रेजी भाषी छन्? जापान, फ्रान्स, जर्मनीमा छन्? युरोपको बेलायतबाहेक अरु ठाउँमा अंग्रेजीभाषी कति छन्? विश्वभरमा अंग्रेजी पाठक एक अर्ब छन् त? सायदै होलान्। तर, भारतमा त हिन्दीका पाठक एक अर्ब छन् होला नि। चीनमा चिनियाँ भाषा बोल्ने डेढ अर्ब होलान्। हाम्रै देशका दुई छिमेकीको भाषामा हामीले पुस्तक लग्यौँ भने करिब दुई अर्ब मानिस हाम्रा पाठक हुने सम्भावना हुन्छ। यति ठूलो बजारलाई बेवास्ता गरेर छिरलिएर रहेको अंग्रेजी भाषाको पछि हामी किन मरिहत्ते गरिरहेका छौँ?

प्रकाशित ७ मंसिर २०७५, शुक्रबार | 2018-11-23 08:20:21
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।