यी हाइ–प्रोफाइल लमी, जसले सय जोडीको बिहे गराइदिए


Infocus



नारायणप्रसाद पाैडेल
नारायणप्रसाद पाैडेल

कसैले आफ्नो जीवनको उत्तरार्द्धमा सय जोडीको बिहे गरिदियो भनेको सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर यो तथ्य हो।

२०६४ को संविधानसभाको निर्वाचनमा समानुपातिक सभासद बनेका नारायणप्रसाद पौडेलले २० वर्षको अवधिमा झन्डै सय जोडीको बिहे गरिदिए। ०२८ सालमा विद्यार्थी राजनीतिबाट वाम राजनीति (मसाल) प्रवेश गरेका शर्माले ०३८ सालदेखि ०५९ सालसम्म थुप्रै जोडीलाई सामाजिक, धार्मिक, पारिवारिक तथा कानुनीरुपमा आपसमा जोडिदिए। र, एकाध बाहेक उनले बाँधिदिका जोडी आज खुसीसाथ जीवनयापन गरिरहेका छन्। उनीहरु आफ्ना नाति–नातिनासँग रमाइरहेको आफ्नै आँखाले देख्दा पौडेलको मन खुसीले गदगद हुन्छ। ‘अाफूले बिहे गरिदिएका जाेडीकाे राम्राे देख्दा ठिकै गरिएछ भन्ने लाग्छ। आत्मसन्तुष्टि हुन्छ’, उनी भन्छन्।

केटी चोरेर बिहे
अध्यापन पेसामा लागेका पाैडेलकाे  २०३७ सालमा दाङबाट रुकुममा सरुवा भयो। स्कुलमा धेरै राजनीति गर्न थालेपछि उनलाई त्यहाँबाट फेरि जाजरकोट सरुवा गरियो। रुकुममा  एक वर्ष बिताउन नपाउँदै उनकाे  विद्यार्थीहरुसँग राम्रो सम्बन्ध स्थापित भइसकेको थियो।

जाजरकोट पुगेका पाैडेलले एकदिन रुकुममा अाफूले पढाएकी वली थरकी एक विद्यार्थीको चाहनाविपरीत बिहे हुन लागेको थाहा पाए। त्यसपछि उनी रुकुम हानिए। बालिकाले पौडेलसँग आफूले परिवारका सदस्यले खोजेको केटासँग बिहे नगर्ने बताइन्। त्यसपछि केही अग्रजसँग सल्लाह गरेर पौडेलले बिहे आउन दुई दिनअघि उनलाई रातारात हिँडाएर जाजरकोट पुर्‍याए।

गाउँ–घरमा हल्लाखल्ला भयो। प्रहरीमा उजुरी गरियो। प्रहरीले पौडेलसहित शंकास्पद सबैको घरमा छापा हान्यो। तर, ती बालिकालाई भने भेट्टाउन सकेन। ‘जाजरकोट पुर्‍याए भन्ने प्रहरीले सोच्नै सकेन नि’, रोमाञ्चक हुँदै उनले सुनाए।

अब पौडेललाई बालिकाका लागि केटो खोज्ने  झन्झट अाइलाग्याे। त्यसका लागि उनी दाङ आए। उनको नजरमा परे दाङका नरबहादुर अधिकारी। उनीसँग बालिकाको जोडी मिल्ने देखेपछि पौडेलले आईए पढ्दै गरेका नरबहादुरसँग बिहेको  प्रस्ताव राखे। पौडेलको प्रस्तावमा नरबहादुर सकारात्मक देखिए। सल्यानमा बिहे गर्ने सल्लाह भयो।

करिब ८ जना जम्मा भए। पौडेलले उतिबेलै एउटा कविता लेखेर सुनाए। त्यसपछि नरबहादुरले बालिकालाई सिन्दुर लगाइदिए। सबैले ताली बजाए र विवाह सम्पन्न भयो। अहिले नरबहादुरकाे जाेडी राम्रै व्यवसाय चलाएर खुसीसाथ बसेका छन्।

हाइप्राेफाइलका लमी

हाल नेकपा केन्द्रीय सदस्य रहेका पौडेलले थुप्रै हाईप्रोफाइलको बिहे गरिदिएका छन्। त्यसमध्ये देव गुरुङ, जनार्दन शर्मा र रेखा शर्मा मन्त्री भइसकेका छन्। अन्य जिल्लास्तरका नेताको सूची पनि लामो छ।

तत्कालीन मशालका जल्दाबल्दा नेता देव गुरुङ र नेतृ यशोदा सुवेदीको बिहे पौडेलले नै गरिदिएका हुन्। कुरा ०४२ सालको हो। त्यतिबेलाका मशालका जल्दाबल्दा नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विष्णु पोखरेल दाङ गएका थिए। त्यतिबेलासम्म पौडेलले केही जोडीको बिहे गराएर लमीको रुपमा पार्टीमा आफूलाई चिनाइसकेका थिए। सायद त्यही कारण पनि होला प्रचण्ड र पोखरेलले पौडेलको अगाडि देव गुरुङको बिहेको कुरा उठाए।

कुरा चल्दै जाँदा यशोदा सुवेदी (पौडेलकी भान्जी) को नाम आयो। प्रस्ताव पोखरेलले राखेका थिए। पौडेललाई फसाद पर्‍यो। भान्जीभन्दा १० वर्ष जेठो (यशोदा १७ र गुरुङ २७ वर्ष) केटासँग कसरी बिहे गरिदिने? दाङमा दुःख नगरी हुर्किएकी चेली मनाङमा गएर कसरी बस्न सक्ली भन्ने कुरा पनि उनको मनमा खेल्यो। आफूभन्दा सिनियर नेताले भनिसकेपछि नकार्ने अवस्था थिएन। फेरि गुरुङ पार्टीमा राम्रै छवि बनाएका युवा नेता थिए। त्यसैले पौडेलले एकछिन सोचेर भने, ‘तपाईंहरुले भन्नुहुन्छ भने हुन्छ। आखिर मेरी भान्जीले गुरुङ जत्तिको राम्रो केटा पनि त पाउँदिनन्।’

यति भनेपछि पौडेलले दिदीको घरमा गएर यशोदालाई सबै कुरा सुनाए। आफ्ना अभिभावकजस्ता मामाले भनेपछि उनी पनि गुरुङसँग बिहे गर्न राजी भइन्।

कुरा ०४६ सालको हो। नेकपा नेता जनार्दन शर्माको परिवारले पौडेलसँग उनको बिहेको कुरा गर्याे। पौडेलले आफ्ना मित्र हिमप्रकाशलाई कोही केटी छ कि भनेर सोधे। ती मित्रले आफ्नी मामाकी छोरी (लक्ष्मी पौडेल) रहेको बताए। टाठी–बाठी र एसएलसी पास गरेको हुनाले पौडेललाई लक्ष्मी जनार्दनका लागि उपयुक्त हुने लाग्यो। त्यसपछि केही दिनमै उनीहरु जनार्दनलाई काठमाडौंबाट बोलाएर केटी हेर्न दाङको लमही पुगे।

लक्ष्मीले सबैलाई भात पकाएर खुवाइन्। एकछिन परिवारका सदस्यबीच कुराकानी भयो। त्यसको तीन दिनपछि (फागुन ३० गते) उनीहरुको बिहे नै भयो। बिहे गरेर जनार्दनले लक्ष्मीलाई काठमाडौँ लिएर आए। जनार्दन मात्र होइन उनको परिवारका अधिकांश सदस्यको बिहे पौडेलले गरिदिएका छन्। जनार्दनसँगै उनका अन्य तीन दाजु–बहिनीको बिहे आफूले गरिदिएको उनी बताउँछन्।

पूर्वमन्त्री रेखा शर्मा र प्युठानका कम्युनिष्ट नेता कृष्णध्वज खड्काको बिहे पनि पौडेलले गरिदिएका हुन्। पौडेलले रेखासँग बिहेको कुरा गरिरहन्थे। रेखा भने तत्काल बिहे नगर्ने अड्डी कसेर बसेकी थिइन्। तर, एकदिन रेखाले आफैँ घरकाले बिहे गर्नुपर्छ भनेर सताउन थालेकाले गर्ने होला भनेर पौडेललाई सुनाइन्।

पौडेलले तत्काल रेखाका लागि उत्तम केटा खोजे। कुरा गर्दै जाँदा कृष्णध्वजको नाम आयो। उतिबेला दुवै भर्भराउँदा नेता थिए। समस्या जातको थियो। परिवारलाई क्रस गर्नुपर्ने भयो। रेखा राजी भइन् । पौडेलले कृष्णध्वजसँग कुरा गरे। दुवैको परिवारलाई मनाउने काममा समेतपछि हटेनन्। यसरी ०४९/५० सालतिर उनीहरुको जोडी कसियो।

केटी नहेरी बिहे

लमी बनेर धेरैको जोडी कसिदिएका पौडेलले आफ्नै भतिजोका लागि केटी खोज्नुपर्ने भयो। उनको नजरमा प्रा.डा. गोविन्द पौडेलको मामाकी छोरी (रिता) थिइन्। ब्याचलर गरेको भतिजो र एसएलसी गरेकी रिताको जोडी गज्जबको जम्छ भन्ने पौडेलले सोचे।

घरमा कुरा चल्यो। रितासँग बिहे गर्न उनका भतिजो तयार भए। रमाइलो के भयो भने उनले सानोबुबा (नारायण पौडेल) ले हेरेको केटी आफूले नहेर्ने ढिपी कसे। ‘केटी हेर्ने कुरा भयो। भतिजोले सानुबुबाले हेरेको केटी मैले हेर्नै पर्दैन भनेर ढिपी कस्यो। मैले हेर फेरि भोलि मलाई दोष देलास् भनेँ तर उनले मरिकाटे मानेन’, पौडेल भन्छन्, ‘केही दिनपछि केटी नै नहेरी बिहे भयो।’ यो २०४५ सालतिरको कुरा हो।

पौडेलले बिहे गरिदिएका झन्डै सय जोडीमध्ये असफल भएको एउटा मात्र जोडी उनलाई याद छ। प्रा.डा. गोविन्द पौडेल उनका जिग्री थिए। साथी मात्र होइन, उनीहरुबीच दाजु–भाइको सम्बन्ध थियो। एकदिन गोविन्दको राइलो भाइको बिहेको कुरा चल्यो। कयौँको बिहे गरिदिएका शर्माले आफ्नै साथीको भाइका लागि केटी नखोज्ने कुरै थिएन। उनले आफ्ना अर्का मित्र पूर्वपरीक्षा नियन्त्रक श्रीधर अधिकारीसँग उनकी बहिनीको हात मागिदिए। कुरा चल्यो। केटा–केटीले एकअर्कालाई हेराहेर गरे। मन मिल्यो। बिहे भयो। तर सम्बन्ध दीगो हुन सकेन। एकदिन दुवै औपचारिक रुपमा छुट्टिए। यता लमी बनेका पौडेलको मन कटक्क खायो। ‘कस्सो परिवारका सदस्य सबै शिक्षित थिए, मलाई अपजस दिएनन्। नत्र त त्यस कुराले जिन्दगीभर सताइरहँदो रहेछ’ उनले दुःखीत मुद्रामा सुनाए।

जब मोहन वैद्यले गाली गरे...
कुरा ५१ सालको हो। त्यतिबेला मोहन वैद्य ‘किरण’ नेकपा एकता केन्द्रका नेता थिए। आफ्ना नेता भएकाले पनि पौडेल उनलाई आदर्श मान्थे।

एकदिन वैद्यले पौडेललाई लमी बन्ने काम बन्द गर्न निर्देशन दिए। पौडेल विगत सम्झन्छन्, ‘उहाँले भयो नारायणजी दुनियाको बिहे गरिदिने काम छाड्नुस् भन्नुभयो। त्यसपछि मलाई मैले गर्दा पार्टीमा केही नराम्रो प्रभाव पर्यो कि भन्ने लाग्यो। नेतृत्वको निर्देशनको सम्मान गर्दै त्यो काम छाडिदिएँ।’

आफ्नै बिहेको रोचक कथा
सय जोडीको बिहे गरिदिएका पौडेलको आफ्नै विवाहको कथा पनि रोचक छ। ०३८ सालमा उनको बिहेको प्रशंग चलेपछि दुई जना केटी बिहेका लागि उपयुक्त ठानियो। त्यसमा पहिलो नम्बरमा उनकी बहिनीकी साथी र दोस्रो नम्बरमा हालकी श्रीमती (शान्ता शर्मा) थिए।

पहिलो नम्बरसँग कुरा चल्यो। केटी दिने लगभग टुंगो नै लागिसकेको थियो। एक्कासि घटनाले रोचक मोड लियो। साथीको परिवार दाङको मुखिया परिवार थियो। इष्टमित्रहरु त्यतिबेलाका हुनेखाने थिए जसलाई पार्टीले सामन्ती भन्थ्यो। केटीको घरबाट फलानोसँग बिहे गरिदिने भनेर इष्टमित्रसम्म कुरा पुग्यो। इष्टमित्रले पौडेललाई आफ्नी छोरी दिन मानेनन्। पौडेल भन्छन्, ‘मेरो बुबा मुखिया परिवारमा भान्छे भएर बसेकाले उनीहरुले आफ्नी चेली मेरो हातमा दिन मानेनन्। त्यसपछि पहिलो नम्बरको च्याप्टर क्लोज भयो।’

अब दोस्रो नम्बरसँग प्रयास हुने भयो। भइदियो के भने पौडेलले आफ्नी बहिनीलाई दोस्रो नम्बरमा राखेको भनेर दाइ (सुशील) ले पौडेललाई पनि दोस्रोमा राखिदिए। शान्ताको अर्कै केटासँग कुरा चल्यो। कारणबस शान्ताको अर्को केटासँग कुरा मिलेन। त्यसपछि पौडेल र शान्ता एक भए।

बिहेमा कृष्णसेन इच्छुकले ‘तिम्रा पहरहरु’ नामक कविता सुनाएका थिए। पौडेल आफैँले पनि कविता सुनाए र शान्तालाई सिन्दुर हाललिदिएर हात मिलाए। उपस्थितले ताली बजाए। बिहे सकियो।

भारतमा अन्तिम बिहे
कुरा ०५९ सालको हो। माओवादी आन्दोलन उत्कर्षमा थियो। नेताहरुको टाउकोको मूल्य तोकिएको थियो। माओवादीमा लागेका पौडेल पनि भारतमा भूमिगत थिए।

त्यही बेला उनले माओवादी नेता जगप्रसाद शर्मा ‘अपार’ को बिहे पार्टीकै महिला संगठनकी तत्कालिन संयोजक सुनिता रोकायसँग गरिदिए। मोहन वैद्यले बिहे नगर्न निर्देशन दिएको धेरैपछि उनले सो बिहे गरिदिए। भन्छन्, ‘वैद्य दाइले भनेदेखि बिहे गरिदिने काम छाडेको थिएँ तर त्यतिबेला त्यस्तै अाइपर्याे।’ त्यसपछि भने उनले आफन्तबाहेक कसैको जोडी बाँध्ये काम गरेका छैनन्।

विवाहमा कविता वाचन
पौडेलले जोडी बाँधिदिएका सबैको जनवादी बिहे भएको हो। त्यसैले बिहेमा खर्च पनि खासै भएन। त्यतिबेला ५० पैसाको सिन्दुरबाहेक बिहेमा खर्च हुन्थेन। ‘उतिबेला फलानोले त ५० पैसामा बिहे गरिदिन्छ रे भन्थे। बिहेमा केटीलाई नयाँ बस्त्र दिनुपर्छ भन्ने थियो। केहीले साडी वा सुरुवाल–कुर्ता दिन्थे’, पौडेल भन्छन्, ‘त्यो पनि ४० रुपैयाँमा आउँथ्यो। ४० रुपैयाँ ५० पैसामा बिहे सकिन्थ्यो।’

बिहेमा कविता सुनाउने उनको चलन थियो। पौडेल आफै राम्रा कविता पनि लेख्थे। त्यसैले धेरैको बिहेमा उनले कविता सुनाएका छन्। सो कविता बिहेपछि जोडीलाई उपहारस्वरुप दिन्थे। अरु तामझाम केही हुन्थेन। बरु कहिलेकाहीँ बिहेपछि पार्टीस्वरुप पिकनिक हुन्थ्यो। त्यस्ता पिकनिकमा पनि कति पार्टीले सहयोग गथ्र्यो त कति स्पोन्सर हुन्थे। कतिपय पिकनिक केटीको परिवारबाट आयोजना गरिएका हुन्थे। यसरी पौडेलले ५० पैसादेखि साढे ४० रुपैयाँमा बिहे सम्पन्न गरिदिन्थे।

फेसबुकमा फाेटा देख्दा खिन्न
पौडेलको बुझाइमा बिहे एउटा पारिवारिक, सामाजिक समस्या र आवश्यकता हो। पार्टीमा काम गर्ने भएपछि ती समस्याको समाधान र आवश्यकता पूरा गर्ने क्रममा उनले धेरैको बिहे गरिदिएका हुन्। पछि त्यसमै रस बस्यो। योभन्दा बढी उनले बिहे गरिदिएर जनता र कार्यकर्ताको सेवा गरेको अनुभव गर्न थाले। ‘धेरैले जवान छोरा–छोरीको बिहेको समस्या सुनाउँदा मलाई त्यो गम्भीर लाग्न थाल्यो र पहल गर्दै जान थाले’, उनी भन्छन्।

उनले बिहे गरिदिएका प्रायः जोडीको बैवाहिक जीवन सफल छ। धेरैको छोरा–छोरी भएर नाति–नातिनासमेत भइसके। वर्षेनी ‘म्यारिज एनिभर्सरी’ मनाउँछन्। पौडेलले ती सबै तस्बिर फेसबुकमा हेर्छन्। सो दिन उनलाई कसैले सम्झँदैनन्। ‘सबैको घर–परिवार सफल भएको छ, त्यो देख्दा खुसी लाग्छ तर आफूले मेहनत, दुःख र केही खर्च पनि गरेर गाँसिदिएको जोडीले कहिल्यै विशेष समारोहमा सम्झदैनन्। यस कुरामा भने दुःख लाग्छ’, उनी गुनासो पोख्छन्। यसलाई पनि उनी आफ्नो बढी अपेक्षा र मानिसको व्यस्ततासँग जोडेर चित्त बुझाउँछन्।

मान्छे खोज्नुपर्ने, परिवारलाई एक–अर्काबारेमा भनिदिनु पर्ने, केटा–केटी भेटाइ दिनुपर्ने अनि फेरि बिहेको चाँजोपाँजो पनि मिलाइदिनुपर्ने भएकाले यो काम सजिलो नभएको उनको अनुभव छ।

उनले बिहे गरिदिएकाहरुको सम्बन्ध नबिग्रिए पनि उनलाई राम्रो भयो भनेर जस कसैले दिने गरेका छैनन्। ‘अभिभावकले यस्तो अपजस पाउने काम नगर भनेर हकार्थे’ पौडेल विगततर्फ फर्कन्छन्, ‘तर निस्वार्थरुपमा गर्ने सामाजिक काम भन्दै म लागिरहेँ। जस, अपजह लिन तयार रहेँ।’

प्रकाशित ३० कार्तिक २०७५, शुक्रबार | 2018-11-16 11:02:42
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’