प्रधानमन्त्री निवासमा १० कुकुरः जसले कारगेट सुँघेर हतियार फेला पार्छन्


Infocus



अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर नेपाल भ्रमणमा थिए। होटल सोल्टीमा उनका लागि तयारी अवस्थामा राखिएको कारगेट गाडीमा तालिमप्राप्त कुकुरले सुँघेर हतियार रहेको संकेत गर्यो।

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर नेपाल भ्रमणमा थिए। २०६४ मंसिर ७ गते उनका लागि तयारी अवस्थामा राखिएको कारगेट गाडी तालिमप्राप्त कुकुरबाट चेकजाँच गराइयो। होटल सोल्टी परिसरमा राखिएको गाडीमा तालिमप्राप्त कुकुरले सुँघेर हतियार फेला पारे। सो घटनालाई गोप्य राखेर प्रहरीले अनुसन्धान गरे पनि थप खुलासा हुन सकेन।

४ भदौमा बबरमहलस्थित आफ्नै निवासमा हत्या गरिएका पूर्व राजदूत केशवराज झाको हत्याकाण्डको प्रहरी अनुसन्धान जारी छ। प्रहरीले घटना अनुसन्धानका लागि खटाएको प्रहरी कुकुर म्याक्सलको संकेतलाई नै आधार मानेर प्रहरी अनुसन्धान अघि बढिरहेको छ। म्याक्सलले घटनाका आरोपी घर बाहिर नगएको संकेत गरेको छ।

बाराका पत्रकार वीरेन्द्र साहको शव गाडेको पत्ता लगाउन तालिम प्राप्त कुकुरको प्रयोग भएको थियो। २०६४ असोज १८ मा अज्ञात व्यक्तिको अपहरणमा परेका साहको शव गाडिएको अवस्थामा २३ कार्तिक २०६४ मा तालिम प्राप्त कुकुरले पत्ता लगायो। साहको शव बाराको डुमरवाना टगिया बस्तीमा फेला परेको थियो।

नेपाल प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेका यी केही उदाहरण हुन्। नेपाल प्रहरी केन्द्रीय कुकुर तालिम स्कुलबाट सञ्जु, टेम, लियो र लिजाजस्तै ५० तालिप्राप्त कुकुर काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएर अनुसन्धानमा संलग्न छन्।

मलेसियाबाट ल्याएर अनुसन्धान
प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रले मंगलबार स्वर्ण जयन्ती मनाउँदैछ। नेपाल प्रहरीका केही अधिकारी २०२६ मा तालिमका लागि मलेसिया गएसँगै प्रहरीले विधिवत रुपमा अपराध अनुसन्धानमा कुकुरको प्रयोग थालेको हो। तालिममा गएका प्रहरी अधिकारीले उतैबाट अब्बल जातका कुकुर ल्याएर नेपालमा अनुसन्धान सेवा सुरु भएको हो। प्रहरीले २०३२ मा कुकुर शाखाको स्थापना गरेर यसको उपयोग र विकासको पहल थालेको हो।

तालिम स्कुलबाट तालिमप्राप्त कुकुरले हातहतियार तथा बिस्फोटक पदार्थको खोजी, लागूऔषधको खोजी, हत्या, बलात्कार र लुटपाटका घटनामा संलग्न व्यक्तिको पहिचान र विपतमा हराएका व्यक्तिको खोजीमा सक्रिय रहेका छन्।

घटनामा अभियुक्तको पदचापदेखि उसले छोएका र छाडेका वस्तुलाई सुँघ्दै लामो दुरीसम्म कुकुरले पछ्याउने गर्छ। हाल नेपालमा रहेका तालिमप्राप्त कुकुरले घटना भएकको २४ घण्टासम्मका सबुत प्रमाणलाई सुँघेर संलग्न व्यक्तिको पहिचान गर्न सक्छन्।

भारत सरकारको सहयोगमा ग्वालियरको टोकनपुरबाट ल्याइएका उन्नत जातका कुकुर र नेपालमै जन्मिएका कुकुरलाई तालिम दिएर प्रयोग गरिँदै आएको स्कुलले भावी दिनमा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्दै स्कुलमा थप उन्नत जातका कुकुर ल्याउने योजना बनाएको छ।

प्रधानमन्त्रीको सुरक्षामा १० कुकुर
प्रधानमन्त्रीको सुरक्षाका लागि हतियारधारी सुरक्षाकर्मी, बुलेटप्रुफ कार र सादा पोशाकका सुरक्षा अधिकारी बाहेक तालिमप्राप्त कुकुर समेत २४ घण्टा खटिएका हुन्छन्। यो विषयमा धेरैलाई जानकारी नहुन सक्छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई वर्ष अघिबाट तालिमप्राप्त १० कुकुर र त्यसका सहयोगीको नियमित दरबन्दी नै छ।

प्रधानमन्त्री निवासमा नियमित चेकजाँच, आउने सवारीसाधनको जाँच र सहभागी हुने स्थलमा प्रधानमन्त्री पुग्नु अघि नेपाल प्रहरीका तालिमप्राप्त कुकुरबाट जाँच हुन्छ। प्रधानमन्त्रीको सुरक्षामा खटिने कुकुरलाई बिस्फोटक पदार्थ र हातहतियारको खोजीका लागि खटाइन्छ। निवासमा प्रधानमन्त्रीको प्रवेश अघि समेत आवश्यकता अनुसार कुकुरले सिंगो निवासकै फन्को लगाएर जाँच गर्छ।

प्रधानमन्त्री निवास र प्रधानमन्त्रीको भ्रमणका लागि सोही अनुसार तालिम दिएका कुकुर खटिएका छन्। बिस्फोट पदार्थ र हातहतियारबाट हुनसक्ने सम्भावित खतराको पहिचानका लागि यस्ता कुकुर तयारी अवस्थामा रहन्छन्। सुरक्षा गर्नुपर्ने स्थानमा तालिप्राप्त कुकुरले बिस्फोटक पदार्थ र हातहतियार सुँघेर पहिचान गर्ने भएकाले कार्यक्रममा प्रधानमन्त्री पुग्नु अघि अनिवार्य रेकी हुन्छ।

यस्तै नेपाली सेना र सशस्त्र प्रहरीसँग रहेका कुकुर समेत विशिष्ठ व्यक्तिको सुरक्षामा प्रयोग भैरहेका छन्। सेनाले राष्ट्रपतिको सुरक्षामा कुकुरको प्रयोग गर्दै आएको छ। सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुर विपतका बेला प्रयोग हुन्छन्।

विमानस्थलमा पनि कुकुर
लागूऔषध नियन्त्रण ब्यूरो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा गार्डका लागि तालिमप्राप्त कुकुरले सघाउँदै आएका छन्। लागूऔषध ओसारपसारका अन्तर्राष्ट्रिय माफियाले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गर्ने खतराको सामनामा चौबिसै घण्टा तालिमप्राप्त कुकुर खटिएका हुन्छन्। विदेशबाट आउने यात्रुका लगेज र जाने यात्रुका लगेजबाट दर्जनौं पटक कुकुरले सुँघेर लागूऔषध पत्ता लगाएका छन्। विमानस्थलमा नियमित रुपमा ६ वटा तालिप्राप्त कुकुर खटिन्छन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौं उपत्यकाका महानगरीय प्रहरी अवधारण लागू भएपछि कुकुर खटाउन थालिएको हो। यस्तै देशको क्षेत्रीय विमानस्थल बिराटनगरमा समेत तालिमप्राप्त कुकुर खटिँदै आएका छन्। बिराटनगर विमानस्थलमा चारवटा तालिमप्राप्त कुकुर प्रयोग भइरहेका छन्।

विपतमा विकल्प
२०७२ को महाभुकम्पमा भत्किएका संरचनाबाट दर्जनौं शव र जीवितको उद्दारमा तालिमप्राप्त कुकुर एकमात्र विकल्प र बरदान सवित भए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तालिप्राप्त कुकुरले काठमाडौं उपत्यकासहित रसुवाको लाङटाङ क्षेत्रबाट समेत भग्नावशेषमा पुरिएका शव निकालेका थिए।

विपत बाहेक कुटनीतिक नियोगका विशेष कार्यक्रममा समेत कार्यक्रमस्थल र व्यक्तिको सुरक्षाका लागि कुकुरको माग हुने गर्छ। प्रहरी प्रधान कार्यालय हुँदै कुटनीतिक नियोगको आग्रह स्कुलसम्म आइपुग्छ। प्रहरी वरिष्ठ उपरीक्षक देउती गुरुङकाअनुसार बारम्बार अनुरोध गर्नेमा नेपालस्थित अमेरिकी दूतावास एक नम्बरमा पर्छ।

अमेरिकी उपहारः ९६ घण्टापछि सबुत सुँघ्ने कुकुर
प्रहरी कुकुर तालिम स्कुलका लागि अमेरिकाबाट विशेष कुकुर ल्याइएको छ। हाल अमेरिका र युरोपका प्रहरीले प्रयोग गरिरहेका बेल्जियम सेफर्ड र मेलोनाइज जातका कुकुर ल्याएको हो। यसका लागि अमेरिकी सरकारले नेपाल प्रहरीका अधिकारीका लागि तालिमको व्यवस्था समेत गरेको थियो। अमेरिका र युरोपमा भएका ठूला बिस्फोटनका घटनाको अनुसन्धानमा बेल्जियम सेफर्ड र मेलोनाइजको प्रयोग भइरहेको छ।

देशभरका प्रहरी युनिटमा कुकुर
देश संघीय संरचनामा गएसँगै प्रहरीले नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम स्कुललाई सातवटै प्रदेश प्रहरी कार्यालयमा पुर्याउने योजनाअनुसार काम गरिरहेको छ। सुरुवातमा स्कुलले तत्कालीन चारवटा क्षेत्रीय प्रहरी कार्यालयमा शाखाहरु खोलेर सेवा दिएको थियो।

केन्द्रीय स्कुलकाअनुसार हाल काठमाडौंमा ५०, प्रदेश १ प्रहरी मुख्यालयमा ८, प्रदेश ३ मा ६, प्रदेश ४ मा ८ र प्रदेश ६ मा ६ वटा तालिमप्राप्त कुकुर छन्। स्कुलमा जर्मन सेफर्ड, ल्याभारडर र गोल्डेन रिट्राइभर जातका कुकुर रहेका छन्। प्रदेश १ का लागि धरान र बिराटनगर विमानस्थल, प्रदेश ३ का लागि हेटौंडा, प्रदेश ४ को पोखरा र प्रदेश ६ को कोहलपुरलाई बेस बनाएर प्रहरीका तालिमप्राप्त कुकुरहरुले काम गरिरहेका छन्।

एउटा कुकुरलाई दैनिक ३ सय रुपैयाँको खाना
नेपाल प्रहरीले चार वर्ष अघिसम्म कुकुरका लागि स्कुलमै खाना बनाएर खुवाउँदै आएको थियो। कुकुरका लागि आवश्यक निश्चित मात्रामा मासु, पिठो, साग र दुध दिँदै आएको प्रहरीले दुर्इ वर्षदेखि भने तयारी अवस्थामा रहेको कुकुरको बनिबनाउ खाना खुवाउँदै आएको छ। तालिम स्कुलका अधिकारीका अनुसार बनाएर खुवाउँदा कुकुरमा देखिएको समस्या हाल निकै कम भएको छ। कुकुरका लागि आवश्यक खानाको बार्षिक रुपमा आपूर्तीका लागि टेण्डर हुने गर्छ। प्रहरी कुकुर तालिम स्कुलमा रहेको एउटा कुकुरका लागि सरदर दैनिक तीनसय रुपैयाँ बराबरको खर्च राज्यले ब्यहोर्दै आएको छ।

मुख्य तीन जातका कुकुर प्रयोगमा
जर्मन सेफर्ड सबै क्रियाकलापमा सक्रिय हुने कुकुर भए पनि यसको पालनपोषण र रोगसँग लड्ने क्षमता कम भएका कारण हुर्काउन र स्वस्थ्य राख्न निकै कठिन हुन्छ। यसको औसत आयु ६–७ वर्षमात्र हुन्छ।

सुँघ्नमा अति सिपालु मानिने ल्याभारडरको आयु ८–१० वर्षसम्म हुन्छ। तर यसले एउटै प्रकृतिको घटनाको मात्र अनुसन्धानमा अब्बल दर्जाको नतिजा दिन सक्छ।

कुकुरबाट अनुसन्धानको पहिलो र मुख्य कमजोरी समयावधि हो। नेपाल प्रहरीसँग रहेका तालिप्राप्त कुकुरले घटना भएको २४ घण्टासम्म मात्र सुँघेर अभियुक्त पत्ता लागउन सक्छन्। यस्तै अभियुक्तले नदी पार गरेमा समेत कुकुरबाट अनुसन्धानमा बाधा पुग्छ।

प्रकाशित २० कार्तिक २०७५, मंगलबार | 2018-11-06 12:19:41
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भेगन

    के माछामासु नखाने मानिस बढी बाँच्छन्?

    विश्वमा माछामासु दूध दही नखानेहरुको जनसंख्या बढ्दो छ। पश्चिमा मुलुकहरुमा भेगन हुने लहर नै चलेको छ।

  • सुदर्शन रन्जित

    पोखरा चिनाउने फोटोग्राफर

    पोखरा रामबजारमा रहेको उनको घरको बैठक कोठामा प्रवेश गर्ने जोकसैलाई भित्तामा झुण्डाईएको ठूलो फ्रेमिङले तान्छ।

  • मेसोपोटामियामा युद्धरत गोर्खाली सैनिक, सन् १९१७

    पहिलो विश्वयुद्धका १०० वर्ष: नेपालले के पायो, के गुमायो?

    बेलायती सेनामा गोर्खालीहरुलाई भर्ति गर्न पठाएवापत राणा शासकहरुले वार्षिक दस लाख रुपैयाँ सलामीस्वरुप प्राप्त गर्दथे।

  • केपी शर्मा ओली

    २५ अर्ब माथिका सबै योजना अब प्रधानमन्त्री कार्यालय मातहत

    दुई तिहाई बहुमत लिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई झन् झन् शक्तिशाली बनाउँदै लगेका छन्।