त्यस बखत

झ्याली पिटेर यसरी फुक्थ्यो पञ्चकमा राजाको जूवा


Infocus



तरुनी सुसारे सुत्ने कोठा सदा रातोदिन खुला रहने हुँदा नै, राणाजीहरुका अविवाहित छोराहरु आफ्नो कोठामा राति सुतेपछि, कोठाबाहिरको ढोकामा बैठके अथवा द्वार्नीले ताल्चा मारिदिने चलन थियो– बाबुका पेवाजस्ता अनेक तरुनी तालीमी र सुसारेपट्टि छोराहरु नसल्कून् भनी।

त्यस बखत काठमाडौंमा अनेक किसिमका सस्ता, नेपालीपनाका र रसरङ्गपूर्ण खेलबाड हुन्थे। जूवाबाहेक अरु जुनसुकै र जस्तोसुकै खेलको जितहारको बाजी प्रायः जिनिसमै राखिन्थ्यो। खास गरेर दिल बहलाउने ध्येयले खेलिने ती खेल हुँदा, हारजितले कसैलाई पनि कुनै ठूलो मर्का पार्दैनथ्यो। साना–ठूला, धनी–गरीब सबले आफ्नो उमेर र इज्जत सुहाउँदा खेल फुर्सदका समयमा खेल्दथे–मन बहलाउनलाई। 

पञ्चकमा अधिराज्यभरि फुकेको जूवामा बाहेक अरु बेलामा ठूलो काँटमा बाह्रमासे खेलिने चलन कम थियो। खेलिहाले भने दश–पन्ध्र रुपैयाँमा पाइने जक्खू खसीसम्म बाजी राखेर पासा खेल्दथे। तर जुन बेला–बखतमा जे खेल खेलिने हो त्यो भने सबले छाती फुकाएर खेल्दथे। जूवा फुक्दा डिल्लीबजारको चारखाल अड्डादेखि कसाई र कुस्लेले झ्याली, पिठ्न थाल्दथे, ‘राजाको जूवा फुक्यो’ भन्ने घोषणा गर्दै। अनि झ्यालीको पछिपछि खाल थापिन र कौडी हानिन शुरु हुन्थ्यो– फेरी जूवा रोक्ने झ्याली नपिटिँदासम्म। जूवाका भोका नेपालीहरु सो फुक्दा एकछिन पनि खेल फाल्न चाहँदैनथे।

यसरी झ्याली पिटेर उपत्यकाभित्र हरेक जूवा फुक्दथे र बन्द हुन्थे। खालि पञ्चकमा अधिराज्यभर पाँच दिन जूवा खेल्ने चलन र नियम त मुलुकी बन्दोबस्त ऐनमा नै किटिएको थियो। नेपाल खाल्डोमा भने चैते दशैंमा टुँडिखेलमा, कोजाग्रतमा उपत्यकाभरि, भोटो देखाउँदा जाउलाखेलमा, बीस्केटजात्रामा भक्तपुरमा र विशेष समारोहमा काठमाडौंमा जूवा फुक्दथ्यो।

सिंहदरबारमा लहडबाजी गर्न प्रधानमन्त्रीले जहिले फुकाए पनि जूवा फुक्ने हुँदा, त्यहाँ बराबर ठूलोसानो खालमा पयठ जूवा खेलिन्थ्यो। यसलाई फर्मायस जूवा भन्दथे। ठूलो खालमा सत्र भाइका बाबुखलक र सानामा छोरा तथा भाइ–भारदार जूवा खेल्दथे। ठूलो खालमा पयठ (मुखले यति राखें र उति राखें भनेर खेलिने) जूवा हुन्थ्यो। एकजना कर्मचारीले त्यस्तो पयठे जूवाको हिसाब राख्तथ्यो र खाल उठेपछि जितहार सुनाइन्थ्यो र लेनदेन हुन्थ्यो। यस्तै खेलमा एक दिन श्री ३ पद्मको पालामा मे.ज. महावीरले पू.क.ज. केशशम्शेरको चार लाख रुपैयाँ मारेथे। त्यस बखतको चार लाख रुपैयाँ आजकलको हिसाबमा चार करोड रुपैयाँ पुग्दछ।

भातै नखाएर र आँखा झिमिक्क नगरीकन पञ्चकमा रातदिन जूवाका खालमा जूवाडीले लम्पट कस्दथे। त्यस्ता जूवाडी दाजु–भाइले भाइटीकामा दिदी–बहिनीको हातबाट टीका थाप्नसम्म पनि उच्छार नपाउने हुँदा, सो दिन केही घण्टा जूवा बन्द गर्ने चलन पछि श्री ३ जुद्धको पालामा बस्यो। घर–घर, टोल–टोलमा जूवाको खाल थापिन्थे। विष्णुध्वज, मुञ्जा, डिल्लीबजारे तर्कराज बडागुर्जु, विक्रमराज पुरोहितकहाँ थापिएका खालमा च्याँखे थापेका चाँदीका रुपैयाँ गन्न समय लाग्ने हुँदा, तुलामा जोखिन्थ्यो। शहरका सडक, चोक, डबली जताततै जूवाका खाल थापिन्थे– खालको बहालबाट निकै पैसा कमिने हुँदा।

मोहरभन्दा भारतीय नोट र गिन्नीको खालमा बढी चल्ती हुन्थ्यो, जोख्न नपरी जूवाको खेल चाँडो सर्ने हुँदा। जत्ति धेरैबाजि हानथाप भयो उत्ति बढी खालेले कटनी पाउँदथ्यो। त्यसैले च्याँखेलहरुले प्रायः देशी नोट (२००२ सालसम्म नेपाली नोट निस्केको थिएन) र गिन्नी नै प्राय च्याँखे थाप्दथे। एक गिन्नीलाई खालमा सोह्र रुपैयाँ पर्दथ्यो, जूवाको बेला गिन्नीमा बट्टा लाग्ने हुँदा। ठूला–ठूला खालमा लक्कुका लक्कु गिन्नी राखेर जूवा खेलेको देखिन्थ्यो। हरेक बाजिको हार–जीतमा खालेले खालको बहाल हातैपिच्छे एकाध प्रतिशत उठाउँदथ्यो।

जूवा रहँदासम्म जूवाडीको भाउ निकै बढ्दथ्यो। खाल थाप्नेहरुले जूवाडीलाई खूब ख्वाउँदथे र मोटरमा चढाएर ल्याउँदथे। त्यस बखत नेपालमा नामी जूवाडी कहलिएका थिए– श्री दिव्यदेव पन्त, झ्याउँकीरी सरदार, मे.ज. महावीरशम्शेर, तर्कराज बडागुर्जु, विक्रमराज पुरोहित, केशरशम्शेरहरु। दिव्यदेव पन्तले त मुख्तियारले च्याँखे थापेको मो.रु. दश–बाह्र हजारको रकमसम्मलाई ‘चानुचुने भारेभुरे बात’ भन्दथे अरे। उनले मोतीटारकी भगवती साधेकाले अक्सर जूवा हार्दैनथे भन्ने कुरा पनि सुनिन्थ्यो।

मोतीटारकारका मानिसहरु बढी जूवाबाज हुँदा, जूवाको खालमा झेल बखेडा भयो भने ‘कस्तो मोतीटारेजस्तै रहेछ’ भन्ने चलन थियो। खालमा सबैले कौडा खेल्दथे, त्यो खेल्ने नियम मुलुकी सवालमा किटिएको थियो। पञ्चकमा सबैले थोर–बहुत जूवा खेल्दथे बूढाहरुले पासा र गञ्जीफा, युवकले कौडी, तास र बालकहरुले लङ्गुरबुर्जा। कौडी खिपेर हान्न मनाही थियो; खाल थाप्नेहरुले दाउ हान्नेलाई भन्दा च्याँखे थाप्नेलाई बढी रुचाउँदथे– च्याँखेले पैसा बल्झाएपिच्छे, खालको बहाल कटाउन पाइने हुँदा। केही मोतीटारेजस्तो जूवाडीले ध्यानसिंग कौडा (जसरी हाने पनि खालि एकै दाउ मात्र पर्ने) हानेर पक्डाउमा परेको हल्ला पनि चल्दथ्यो। जूवा सकिएपछि एकाध हरुवा जूवाडेहरु रानीपोखरीमा हामफालेको बराबर देखिन्थ्यो।

लडाइँ र जूवामा सुरिने नेपालीहरुको, एक प्रकारले पुरानो जातीय बानी हो; समयान्तरमा लडाइँ लड्ने चलन घट्दै गए पनि, जूवा खेल्ने जोश जस्ताकोतस्तै थियो। वर्षको एकबाजि चार–पाँच दिनसम्म मन फुकाएर जूवा खेल्न नेपालीहरु अति रमाउँदथे। जापानीजस्तै भोगी थिए नेपाली जूवामा।

.... तासको खेल त्यस बेला उति जमिसकेको थिएन। बढी पासाकै खेल हुन्थ्यो। तास खेली हाले पनि कताकति तुरुप र छक्काचाल खेल्थे–त्यो पनि स्याल कराउने अथवा थोर–बहुत हलुवाईको रोटी खाने बाजी राखिकन। विष्णुमती र वागमतीमा बाढी आउँदा लडकाहरु जानी–नजानी पौडी खेल्दथे। व्याड्मिन्टन र क्यारम खेल्ने चलन १९०९ सालतिर नेपालमा बल्ल भेटिएको थियो। राणाजीको कुनैकुनै घरमा टेनिस खेलिन्थ्यो। ठूलो गोचरमा राणाजी र एकाध अङ्ग्रेजले गल्फ खेल्दथे। लात्ती भकुण्डाको खेलको निकै चल्ती भइसकेको थियो।

लाग्दो कार्तिक ताका साना–ठूला सबैले चङ्गा उडाउँदथे। शुरुमा चङ्गा लखनउबाट आएकोले होला राम्रो ठूलो चङ्गालाई ‘लखनउया’ भन्ने चलन थियो। वर्षको एक–दुईबाजि चङ्गा उडाउने ताका श्री ५ महाराजाधिराज त्रिभुवन आफै पनि छाउनीमा चङ्गा उडाउन सवारी हुन्थ्यो। महाराजाधिराजले उडाएको चङ्गा काटियो भने ह्लासा पुग्दछ भन्ने किम्वदन्ती थियो। तर त्यो काटिएको चङ्गा उडाउने धागोमा अक्सर गरेर हाँसको फुलमा ऐनाको धुलो मिसाएर माजा लगाइन्थ्यो– अरुको चङ्गा सजिलैसँग काट्नलाई। सुका पैसाका एक रिल धागो र एक–दुई पैसामा ठूला–ठूला चङ्गा पाइन्थे।

कपर्दी, ढाडे, डण्डीबियो, कुस्ती खेल्ने चलन त्यस बखत नेपालमा निकै थियो। प्रायः टोलैपिच्छे कुस्ती खेल्ने अखडा र पहलमानहरु हुन्थे। कपर्दी र ढाडे खेल्ने ठूला–साना बहाल र चौर टोलैपिच्छे थिए र डण्डीबियो त सडकैमा पनि खेल्दथे– सडकमा कम मानिस हिंड्ने र घण्टौंमा एकाध मोटर चल्ने हुँदा। त्यस बखत काठमाडौंमा ठहिटीका साञ्चा पहलमानको निकै नाम चलेको थियो। उनी मे.ज. आनन्दशम्शेरसँग कुस्तीको अभ्यास गर्दथे। यस्ता पहलमाहरु कुनै न कुनै राणाजीको दरबारबाट पालिएका हुन्थे। त्यो सहकाल र सामन्ती जमाना हुँदा बाबुबाजेको पालादेखि दरबारबाट पालिएर आएका, किसिम–किसिमका व्यवसाय भएका– वस्दात, पहलमान, सवार, नगिनी, छिपानी, बैद्यहरुलाई काम लागे पनि नलागे पनि राणाजीहरु पालिरहन्थे एक पुस्ताले लगाएका गुण धेरै पुस्ताले सम्झने चलन हुँदा। मतलब पर्दा कोरीको पनि पाउ दाप्ने, नपर्दा एकबाजि गुन लगाएको मानिसलाई देखे पनि नदेखेजस्तो गर्ने त नेपालको आधुनिक चलन हो। अघिअघि मानिस त्यस्ता थिएनन्।

गाउँका पण्डितले गाउँले केटाहरुलाई निःशुल्क विद्या दिने खानदानी चलनजस्तै नेपाल शहरमा टोल–टोलका लडकाहरुलाई टोलका वस्ताजले हारमानियम, तबला, पकवाज, बेला इत्यादि निःशुल्क बजाउन सिकाउँदथे। टोलका वस्ताजको घरमा रोज बिहान–बेलुकी टोले लडकाको गानाको अभ्यास हुन्थ्यो। यसरी गानाबाजाना र नाच सिकेका ठिटाहरु नै गाईजात्रामा नाच्दथे र माघेजात्रामा गाउँदथे। टोलैपिच्छेका भजनघरहरु नै टोले लडकालाई हारमोनियम, तबला, पकवाज, बजाउन, र गाउन सिकाउने र बूढाहरुलाई गाँजा ख्वाउने अखडासमान थिए। बाहुनहरुका घरमा संघघण्टा बजेझैं टोलका वस्तादको घरमा बेहानभरि हारमोनियम तबला बज्दथे।

बथानका–बथान ज्यापूहरु कानमा गुनकेसरीको गुच्छा, चाँदीको खिप भएको इष्टकोट, पिँडौलासम्म सेहारेको छोटो प्रायः घरबुना र खेसको सुरुवाल, लामो लवेदा, कम्मरभरि पटुका बाँधी, भादगाउँले टोपी लगाएर, बाँसुरी र खिँबाजा बजाउँदै पर्व–पर्वमा देव–देवीका मन्दिरमा गएको देखिन्थ्यो। राता, काला र सेता चमरीको पुच्छर गाँसिएका दश–बाह्र हात लामा बाँसका टाँगालाई जाँडले मस्त भएका ज्यापूले आफ्नो टाउकामाथि भुरुङ रिँगाएझैं किसिम–किसिमले धुन्या–मुन्या रिँगाउँदथे।

धेरैजसो राणाको दरबारमा तालीमी (दरबारभित्र सुसारेलाई बाजा बजाउन, नाच्न र गाउन सिकाउने चलनलाई तालीम भनिन्थ्यो) र बैण्डबाजा हुन्थे। कति टुटेका मानिसले आफ्ना राम्रा छोरी–बहिनीलाई तालीमी हुन दरबार हुल्दथे। राम्रो अनुहार र मीठो स्वर भएका त्यस्ता तालीमी ठिटीहरुको भाग्य पनि भए नानी र काकताली परे रानीसाहेव र महारानीसम्म पनि हुने गुञ्जायस थियो। श्री ५, श्री ३ हरुकहाँ बाहेक, केशरशम्शेर, तर्कराज गुरुज्यू, विक्रमराज पुरोहितहरुका घरका तालीमीहरुको नाच गानको बयान त्यस ताका काठमाडौंमा निकै चलेको थियो। सबै दरबारमा साँझ सुसारेहरुले भजन गर्दथे, नाच्दथे, र कुनैकुनै दिग्गज राणाको दरबारमा दमाई र कुस्लेहरुले बैण्डबाजा बजाउँदथे। ठूला–ठूला दरबारमा बैण्ड स्टायण्ड थिए। त्यस्ता नानीहरु बस्ने ठाउँलाई खलङ्ग अथवा नानीगञ्ज भनिन्थ्यो। त्यो प्रायः दरबारका बुइँगलमा हुन्थ्यो। दुई–तीनजना नानीहरु एकै कोठामा सुत्ने मात्र हैन, कुनैकुनै दरबारमा त उनीहरु राति सुत्दा प्रायः कोठामा ढोका लगाउन मनाही हुन्थ्यो। मुख्य मालिकबाहेक अरु कुनै लोग्नेमासिन पनि बिना साथी नानीहरु बस्ने लङ्गमा जान पाउँदैनथे।

तरुनी सुसारे सुत्ने कोठा सदा रातोदिन खुला रहने हुँदा नै, राणाजीहरुका अविवाहित छोराहरु आफ्नो कोठामा राति सुतेपछि, कोठाबाहिरको ढोकामा बैठके अथवा द्वार्नीले ताल्चा मारिदिने चलन थियो– बाबुका पेवाजस्ता अनेक तरुनी तालीमी र सुसारेपट्टि छोराहरु नसल्कून् भनी। धेरैजसो राणाजीहरुमा बाबुछोराको मनोमालिन्य हुनाको एक कारण दरबारका तरुनी तालीमी र सुसारे बन्दथे। राणाजीहरुको एक परम सोखको विषय बन्दथ्यो दरबारभित्रका तरुनी सुसारेहरुको नाच–गान। धनी राणाजीको दरबारैपिच्छे नाच्ने स्टेज हुन्थे; नहुनेकहाँ पनि बत्ती बल्दा सुसारेहरुले बाजा बजाएर मङ्गल गीत रोज गाउँदथे। बेलुकाको बत्ती बलेपछि मान्यजनलाई ढोग्ने र दर्शन गर्ने दरबारमा आम चलन थियो।

जुनसुकै अभिप्रायले तालीमी राखिएका भए पनि यसको जरियाबाट नाच्ने र गाउने–पुरानो कला नेपालमा जिनतिन चलि नै राखेको र परम्परादेखि यसै पेशाबाट एकथरीको जीवन निर्वाह पनि भएको थियो। एक न एक स्वदेशी–विदेशी वस्ताज नभएका दिग्गज राणाजीका दरबार हुँदैनथे। त्यस बेला नेपालमा नामी वस्ताज कहलिएका थिए– बद्री, झुम्मक, आनन्द, अन्धा गणेशलाल, रामबहादुर, भागतकृष्ण, खेमचन इत्यादिहरु। कसैकसैकहाँ त भारतबाट पनि वस्ताज झिकाएर तालीमीहरुलाई नाच्न–गाउन सिकाइन्थ्यो।

बैंस ढल्केपछि ती तालीमीहरु अरु सुसारेभन्दा बढी पैसा कमाएर दरबारबाट निस्कन्थे, निस्कन पाए भने। सुसारेको मासिक तलब एकाध रुपैयाँ भए पनि मालिक रिझाएर उनीहरुले निकै पैसा कमाउँदथे। दरबारबाट सुसारे अथवा तालीमी निस्कनासाथ शहरी गुण्डा (त्यस ताका राम्रो लुगा लगाएर काम नगरी गल्लीमा डुलेर खाने मानिसहरुलाई ‘गुण्डा’ भन्ने चलन थियो– आजकल ‘लोफर’ भनेझैं। गुण्डामध्ये पनि राति घरमा सुकुल बिछ्याएर सुत्ने, धोवीकहाँबाट बहालगिरीमा चुनेका लुगा ल्याई दिउँसो डटेर निस्कने खालका गुण्डाहरु ‘सुकुलगुण्डा’ भनिन्थे) को होडबाजी हुन्थ्यो दरबारबाट निस्केकी माल्दार सुसारे र तालीमी उछिट्याउन र तिनले ल्याएको पैसा कुमल्याउन। तर जागीरदारले दरबारबाट निस्केका सुसारे र तालीमीलाई नोकर्नी बनाउन ल्यायो भने पनि बात लाग्दथ्यो–जागीरै जाने गरी।

१९८२ सालमा करियामोचन भएपछि दरबारका नानीहरुलाई पनि राजीखुशी गराउँदा (दरबारमा बस्न मन छ, छैन भनेर सोद्धा) अति कोकिलमय गला भएकी र श्री ३ चन्द्रशम्शेरको पनि निकै मनपरेकी मेलवा भन्ने तालीमी दरबारको वैभवबाट मिच्छिएर बाहिर निस्कन खोज्दा सबैले आश्चर्य माने। दरबारबाट निस्केकी मेलवा दरबारकै वस्ताद श्री भगवतकृष्णसँग क्षेत्रपाटीमा बस्न जाँदा, वस्तादको जागीर खोसियो, दबारबाट निस्केका नानीहरुलाई जागीदारकहाँ राख्न नहुने चलनले गर्दा। दरबार छाडे पनि दरबारको हाउले छाड्दैनथ्यो।

हनुमान ढोकामा चिर गाडेदखि सो नढाल्दासम्म सात दिन नेपालमा फागु अति रमाइलोसँग खेलिन्थ्यो। चार पैसामा एक पाउ अबीर पाइने हुँदा, फागु सकिँदा शहरका गल्ली नै राताम्ये हुन्थे। फागु ताका थरीथरीका मइनका लोला बनाउने त नेपालमा एक किसिमले कुटीर उद्योग थियो। कति लोलासा अबीरसँग सितारा र अभ्रख मिसाइएको हुन्थ्यो। ‘राजाको फागु जाइजान लाग्यो फुट्न लाग्यो छाती हो’, भन्ने गीत गाउँदै डफ्फाका–डफ्फा युवकहरु बाटोमा आएको दृष्यलाई कर्के झ्याल पारेर हेर्ने तरुनी नानीमाथि यस्तै लोला सडकबाट बर्साउँथे। स्त्रीहरुलाई हात हालेर अबीर घस्न मनाही हुँदा, लोला हान्ने चलन चलेको थियो।

श्री ५ र श्री ३ का दरबारमा कर्मचारीहरुलाई फागुको उर्दी हुँदा सबले रङ्गीचङ्गी चुनेका पोशाक लगाएर जानपर्दथ्यो। ठूलठूला ताउला र फोसीमा रङ्ग र ठाउँ–ठाउँमा थैलाका–थैला अबीर दरबारमा राखिएको हुन्थ्यो। श्री ५ ले श्री ३ लाई नारायणिहिटी दरबारमा र श्री ३ ले मुख्तियारलाई सिंहरबारमा अबीरको टीका अथवा पचकाले रङ्ग हालेपछि त्यहाँ फागु फुक्दथ्यो। उपस्थित कर्मचारीले रङ्ग छेपाछेप र अबीर हालाहाल गर्दथे र घर फर्कंदा सबैको तीन खल्ती अबीरले टन्न भरिएको हुन्थ्यो। परम्परावाद अथवा सामन्दतवाद जे भने पनि ती सब नेपालमा त्यस बखत प्रचुर मात्रामा हँुँदा, यी सब खेलवाड र रसरङ्ग तिनैका उपज हुन् भने हुन्छ।

.... पचास–साठी वर्षअघि, पनि आजकलजस्तै, नेपालमा निकै लोकप्रिय खेल बन्दै आएको थियो फुटबल। नेपालमा यस खेलका गुरु हुन् ठमेलका नर्सिङ्ग, राणा र नक्सालका थापाहरु। प्रथम महायुद्धमा भारतको वजिरिस्थानको लडाइँमा जाने नेपाली पल्टनमा प्रशस्त राणाजीका छोरा भतिजाहरु र भारदारहरुका छोराहरु पनि सरिक भएकोले उनीहरु भारतबाट फर्केर आएपछि दरबार– दरबारमा फुटबलको खेल बढाए। ठमेलमा धेरै नर्सिङ्ग राणाहरु, नक्सालमा थापाहरु जङ्गीमा अधिकृत भएकाले त्यहाँ आफ्ना–आफ्ना फुटबल टीम जमाएका थिए। थापाहरुले सानो गौचर र नर्सिङ्ग राणाहरुले लैनचौरमा फुटबल खेल्दथे।

चारबुर्जा, लालदरबार, सिंहरदबार, टङ्गालदरबार र जाउलाखेलका फुटबल टीम तगडा थिए। ‘सी’ क्लासका रोलमा चढेका राणाहरु चाकरीदारहरु चारबुर्जा, लालदरबार, टङ्गालदरबारमा र ‘ए’ क्लासका रोलवालाको सिंहदरबार, लक्ष्मीनिवास र जाउलाखेलमा फुटबलको टीम जमाएका थिए। यी दुई थरीको बीच खेल हुँदा भकुण्डो भन्दा पनि राजनीतिक वातावरणको बढी प्रदर्शन हुन्थ्यो– कोभन्दा को कम भन्ने यी दुई रोल र बेरोलवाला राणाजीको भित्री भावना बढेकाले। त्यस बखत फुटबल खेलमा कहलिएका थिए, सर्वश्री शेरबहादुर सिंह, क. शेरजङ्ग थापा, जुद्धवीर गुरुङ, थापाथलीका नानीराजा, ख. बिजुलीमान, नजरमानहरु।

.... जनतामा त्यस बखत आजकलजस्तो सन्तान दरसन्तानलाई मनग्य खान पुग्ने गरी धन कमाउन मरिमेट्ने प्रवृत्रि पनि उस्तो मौलाई नसकेकोले र जमीन्दारी, बिर्ता, भत्ता, खवा, मानोचामल, जजमानी इत्यादि साना–ठूला खान्दानी व्यवसायको आम्दानीबाट घरमा बसीबसी खान पुग्ने मानिसको सङ्ख्या कम नभएकाले, पुगिसरी आउने मानिसहरुले यस्तै खेलबाड रसरङ्ग र लहडबाजीमा आनन्दले जीवन बिताउँदथे। सबैजसो शहरियाहरुको घरमा मोहीले बताएका तौली, मार्सी र मसिनो धान बोकेर ल्याइदिन्थे। बजारमा महँगीले प्रवेश पनि गरिसकेको थिएन।

पचास–साठी वर्षअघि नेपाल उपत्यकाको जनसङ्ख्या करीब दुई लाख जति थियो र उब्जनी त्यस बेला प्रशस्त हुन्थ्यो। त्यसैले सहकाल थियो। त्यस्ताका खेत मासेर घर बनाउने चलन पनि थिएन र चार भज्याङभित्र स्वदेशी–विदेशी पर्यटकहरु पनि कत्ति आउँदैनथे। त्यसैले उपत्यकाको उब्जनीले सबैलाई मनग्य खान पुग्ने हुँदा बहुत–थोरै थिए के खाऊँ, के लाऊँ भन्ने खालका मानिस। उहिले (धेरैअघि) फुक्कादास र एकमुरी धानको बराबर दरबन्दी भएको लगत्र पशुपतिनाथको गुठीमा अझै पाइन्छ। राणाकालको पछिसम्म पनि पैसाको सङ्ख्या र चल्ती–फिर्ती कम हुँदा महँगीले नेपालमा प्रवेश गरेको थिएन।

त्यसैले एकाध माग्नेलाई सबैले मुठी दिन्थे र देवताहरुलाई मुठीभर अच्छेता चढाउँदथे। मध्यमवर्गका जनताको मौजा, बिर्ता, भत्ता हुने र उनीहरु कुनै न कुनै सानो–ठूलो व्यवसायमा लाग्ने हुँदा राजीखुशी पनि थिए। शान्त तवरले बगिरहेको नदीको निर्मल पानीजस्तै आनन्दले बितिरहेको थियो त्यस सहकालमा काठमाडौंको एकथरी जनताको जीवन। भरी पेट र सीमित आकाङ्क्षाले गर्दा मध्यमवर्गका मानिसहरु आफ्नै किसिमले आनन्दी थिए, त्यसैले एक थरी मानिस त खेलेर खान्थे।

खास कुरो, त्यस बेला नेपालमा औगात नाघेर खर्च कसैले पनि नगर्ने हुँदा आजकलजस्तो बढ्दो ठस्सा र भडक पु¥याउन दुई नम्बरी धन्दा, कालोबजार, तस्करी व्यापार गर्न र घूस खान पर्दैनथ्यो। त्यसैले मानिसको मन कालो नभएकोले मुख हँसिलो थियो– हँसिलो मुख हो, निर्दोष र कञ्चन दिलको प्रतिबिम्ब। हँसिलो मुखका लागि पनि नेपालीहरु विश्वप्रखयात हुनाको कारण यही हो।

पेट खोक्रिँदै गएपछि मुख पनि चाउरिँदै जाने हुँदा, चाउरी परेको मुखमा, करबलले हाँसेको हाँसो सुहाउँदैन भन्ने तथ्य नेपालका भावी सन्ततिले पछिपछि बुझ्लान यदि उनीहरु निर्धन हुँदै गएनन् भने। तर आजतक नेपालीहरु हँसिलो मुखलाई विश्वप्रख्यात हुनाको खासकारण हो, पुस्तान्देखि उनीहरुमा बस्दै आएको मुसुक्क हाँसेर बोल्ने, खानदानी बानी र अखण्ड राष्ट्रिय स्व्तन्त्रता। अझै पनि नेपाललाई कसै–कसैले ‘अजीव’ भन्नाको एक कारण हो, नेपालीको मुखमा झुण्डिएको त्यो मधुर मुस्कान। अरु गुणहरु मासिँदै गए पनि हाम्रो खिस्स हाँसेर बोल्ने बानी यथावत् छ। त्यो कसैले रोकेर नरोकिने र मारेर नमर्ने कुरा हुँदा।

(सरदार भमिबहादुर पाँडेको पुस्तक ‘त्यस बखतको नेपाल– राणकालीन आखिरी तीन दशक’– पहिलो भागः राणा व्यवस्था चरमचोटीमाबाट)

प्रकाशित १७ कार्तिक २०७५, शनिबार | 2018-11-03 18:27:39
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’