बाँस्तोला भन्थेः राजा वीरेन्द्रको चीन भ्रमणबारे प्रश्न उठाएँ, भारतीय सेनाबाट लिएको हतियार बंगलादेश पुर्‍याएँ




चक्र बास्तोला
चक्र बास्तोला

बाँस्तोलाको प्रस्तावमा बीपी सहमत भए। बंगलादेशी स्वतन्त्रता सेनानीहरुलाई हतियार हस्तान्तरण गर्ने जिम्मा बाँस्तोलाले नै पाए। बाँस्तोलाका साथ हतियार पुर्‍याउन सुशील कोइराला, सुधीर उपाध्याय र कर्णेल डीबी राई बंगलादेश पुगे।

पाकिस्तानले बंगलादेशमाथि आक्रमण गरेपछि बंगलादेशका केही स्वतन्त्रता सेनानीहरु मद्दतका लागि मकहाँ आए। जयप्रकाश (समाजवादी नेता जयप्रकाश नारायण) ले पनि ‘जगेडा हातहतियार भए मैले उनीहरुलाई हतियार दिएरै मद्दत गर्नुपर्छ’ भन्नुभयो। ... मैले एक ट्रक हतियार बिहारको पूर्णिया जिल्ला नजिकै पर्ने बंगलादेशको एक ठाउँमा पठाएँ। ... हाम्रा दुई युवाहरु– चक्र (बाँस्तोला) र सुशील (कोइराला) त्यो ट्रकसँगै बंगलादेश गए।

बीपी कोइरालाका विभिन्न ८ वटा अन्तर्वार्ता समेटेर बंगाली अध्येता भोला चटर्जीले तयार गरेको ‘बीपी कोइरालाः पोट्रेट अफ ए रिभोल्यूसनरी’ पुस्तकमा उल्लेखित माथिको पंक्ति नै चक्रप्रसाद बाँस्तोलासँग मेरो भेटघाटको एउटा प्रस्थानविन्दू थियो।

म बाँस्तोलाबाट जान्न चाहन्थें– नेपालमा सशस्त्र क्रान्तिका लागि बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले संकलन गरेका हतियार कसरी बंगलादेशको स्वतन्त्रता संग्राममा प्रयोग भयो? ती हतियार कसरी बाँस्तोलाहरुले तत्कालिन पूर्वी पाकिस्तान (हाल बंगलादेश) सम्म पुर्‍याए?

बाँस्तोलासँग मैले जान्न चाहेको अर्को विषय थियो– १९ जेठ २०५८ को दरवार हत्याकाण्ड भन्दा केही महिनाअघि चीनको हाइनानमा आयोजित बोआओ एशिया सम्मेलनमा र त्यसमा राजा वीरेन्द्रलाई चीनले दिएको सम्मान। बोआओ सम्मेलनको सिलसिलामा चीन भ्रमणमा गएका राजा वीरेन्द्रको सवारी मन्त्रीका रुपमा सहभागी थिए, बाँस्तोला।

‘कन्स्पिरेसी थ्योरी’ मा विश्वास गर्ने कतिपयको ‘थेसिस’ अझै पनि के रहँदै आएको छ भने, चीनले आयोजना गरेको बोआओ सम्मेलनमा राजा वीरेन्द्रको उपस्थिति नै १९ जेठ २०५८ को दरवार हत्याकाण्डको भित्री कारण थियो। अहिले हरेक वर्ष चीनले आयोजना गर्ने बोआओ फोरमको त्यो पहिलो सम्मेलन थियो जहाँ राजा वीरेन्द्र सहभागी भएका थिए। उतिबेला यो पनि भनिन्थ्यो, भारतसँग ‘सुमधुर सम्बन्ध’ रहेका कारण सवारीमन्त्रीका रुपमा चीन गएका बाँस्तोलालाई चिनियाँहरुले सम्मेलन अवधिमा राजा वीरेन्द्र भन्दा केही पर राखे, अपमान गरे।

दरवार हत्याकाण्डताका प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाको निधन भएको जम्मा दुई हप्ता मात्र भएको थियो। बाँस्तोला एक हिसावले शोकमै थिए। त्यस्तो बेला म उनीसँग यस्तो जटिल भूराजनीतिक विषयमा कुराकानी गर्दै थिएँ, जसबारे उनले त्यसअघि कसैसँग छलफल गरेका रहेनछन्।

मैल कुरा गर्न चाहेको विषयवस्तु जानकारी गराउँदै बाँस्तोलालाई भनेको थिएँ, ‘यी विषयमा तपाईं बोल्न चाहनु हुन्नँ भने म जोड गर्दिनँ। तर यी विषयबारे मलाई केही जानकारी दिनु भयो भने आभारी हुनेछु।’

बाँस्तोला अप्ठ्यारा खालका मानिस थिएनन्। विषयवस्तुको जानकारी गराउनासाथ कुराकानीका लागि उनी तयार भए र भोलिपल्ट विहान ८ बजेका लागि समय दिए।

२२ चैत २०६६ मा तोकिएकै समयमा म खुमलटारस्थित उनको निवासमा पुगेँ।

***
मैले बाँस्तोलासँग कुराकानी सुरु गर्दै सोधें, ‘बोआओ सम्मेलनमा राजा वीरेन्द्रसँग तपाईं सवारी मन्त्रीको रुपमा जानु भएको थियो। तर, सम्मेलन अवधिमा चिनियाँ पक्षले तपाईंलाई राजाबाट अलग गरेर अलिक पर राखेको थियो रे, यो कुरा साँचो हो?’

‘तपाईंले कसरी यो विषयलाई बुझ्नु भएको छ थाहा छैन, मलाई भने कहीँ कतै यस्तो आभाष भएन’, बाँस्तोलाले भने, ‘एउटा कुरा के हो भने, चाइनिजहरुले राजा वीरेन्द्रलाई असाध्यै मान्थे, सम्मान गर्थे। उनीहरुको बोली र व्यवहारबाट प्रष्टैसँग यो कुरा बुझ्न सकिन्थ्यो।’

राजा वीरेन्द्रको चीन भ्रमणबारे आफूले केही प्रश्न उठाएको खुलासा बाँस्तोला आफैले गरे।

‘म परराष्ट्रमन्त्री थिएँ। मैले परराष्ट्र मन्त्रालयका कर्मचारीहरुसँग प्रश्न उठाएँ– राजा भिजिटमा जाने, तर यो कस्तो खालको भिजिट हो’, बाँस्तोलाले आफूले राजा वीरेन्द्रको चीन भ्रमणबारे उठाएको प्रश्नबारे थप प्रष्ट पार्न खोज्दै भने, ‘किनभने, हाम्रो राष्ट्र प्रमुखको भिजिटका लागि चीनबाट निम्तो आउनुपर्थ्यो र त्यो भिजिटको हैसियत स्टेट भिजिट नै हुनुपर्थ्यो।’

बाँस्तोलाले राजाका इच्छा अनुसार नै चीन भ्रमण भएको पछि खुलेको जनाउँदै भने,, ‘त्यो कस्तो खालको भिजिट हो, क्लियर थिएन। यस विषयमा म स्पष्ट हुन चाहेँ। मैले प्रश्न उठाएपछि भ्रमणमा जाने राजाकै इन्ट्रेष्ट रहेको मलाई जानकारी भयो।’

यति भन्दै उनले थपे, ‘यसबाट पुष्टि भयो, मैले उठाएको टेक्निकल प्रश्न करेक्ट रहेछ। होइन, यसमा चीनको इन्ट्रेष्टको कुरा पनि छ, सम्मेलनमा जान उनले इच्छा राखेका रहेछन् भन्ने बुझेपछि मैले उठाएको प्रश्नलाई थप अघि बढाइनँ।’

चीन भ्रमणमा जाँदा बीचमा राजा वीरेन्द्रसँग आफ्नो कुरा भएको भन्दै बाँस्तोलाले थपे, ‘राजा वीरेन्द्र आफैले भने– मन्त्री, तिमीले जे प्रश्न उठाएका थियौ, त्यो जायज थियो।’

त्यसबेला राजा वीरेन्द्रको भ्रमण ‘हेड अफ दि स्टेट’ को रुपमा भएको थिएन। उनलाई ‘बोआओ सम्मेलनमा सहभागी हुन’ निम्तो दिइएको थियो। बोआओ सम्मेलन सकिएपछि मात्र उनी बेइजिङ्ग पुगेका थिए।

बाँस्तोलाले थपे, ‘मेरो अडान भने राजालाई बोलाउँदा स्टेट भिजिट हुनुपर्छ, अर्को खालको भिजिट हुनुहुँदैन भन्ने थियो।’

चीनले रणनीतिक उद्देश्यका साथ राजा वीरेन्द्रलाई बोलाएको थियो र?

मेरो थप प्रश्नमा बाँस्तोलाले भने, ‘उनीहरुको उद्देश्य त पक्कै त्यही थियो होला। स्वीट्जरल्याण्डको जेनेभामा एउटा आर्थिक सम्मेलन हुने गरेको छ। चाइनिजहरुले पनि त्यस्तै आर्थिक सम्मेलन गर्न खोजेका थिए। त्यस्तो सम्मेलनमा चाइनिजहरु भीभीआइपी स्ट्याटसमा राजा वीरेन्द्रको उपस्थिति चाहन्थे। राजा वीरेन्द्रपनि यही कुरा बुझेर त्यहाँ जान चाहेका थिए।’

बाँस्तोलाले थपे, ‘मैले प्रोटोकलको कुरा उठाएँ। राजालाई बोलाएको कसले हो, बोआओ सम्मेलनले हो कि, चाइनिज प्रेसिडेन्टले बोलाएको हो? कस्तो खालको भिजिट हो?’

मैले बाँस्तोलालाई थप प्रश्न गरें– तपाईं परराष्ट्र मन्त्री छँदा बोआओ सम्मेलन र त्यहाँ राजा वीरेन्द्रको उपस्थितिबारे भारतीयहरुले चासो राखेका थिए?

‘अहँ, मसँग त्यस्तो खालको रुची उनीहरुले लिएको, केही कुरा भनेको मलाई थाहा छैन।’

राजा वीरेन्द्र बोआओ सम्मेलनमा सहभागी भएपछि चीनसँग अझ बढी नजिकिए र त्यही कारण दरवार हत्याकाण्ड भयो भन्ने एकथरिको अनुमान छ। तपार्इंलाई के लाग्छ? 
बोआओ सम्मेलन भएको दुई महिना पछाडि दरवार हत्याकाण्ड भयो। तर, मैले बोआओ सम्मेलन र दरवार हत्याकाण्डबीच तादम्यता भेटेको छैन।

***
अब हाम्रो कुराकानीको विषय थियो– बंगलादेशी स्वतन्त्रता सेनानीहरुलाई दिइएको हतियारको विषय।

हामी बाँस्तोला निवासको बाहिरपट्टि बसेर कुराकानी गरिरहेका थियौँ। यो विषयमा प्रवेश गर्नुअघि ‘एक छिन है’ भन्दै बाँस्तोला आफ्नो कोठाभित्र छिरे र केहीबेर हराए।

बाहिर निस्कँदा उनको हातमा ‘तरुण’ पत्रिकाका पुराना अंकहरु बाइण्डिङ गरिएको ढड्डा थियो। त्यसलाई उनले सामुन्नेको टेवुलमा राखे। अनि किन र कसरी बंगलादेशीहरुलाई कांग्रेसले जम्मा गरेको हतियार दिइयो भनेर पृष्ठभूमि बाँधेः

त्यो बेला नयाँ दिल्लीमा स्वतन्त्र बंगलादेशको पक्षमा एउटा ‘इन्टरनेसनल कन्फरेन्स’ भएको थियो। जयप्रकाश नारायणहरु सत्याग्रह गरिरहेका थिए। त्यसको बिकल्पमा इन्दिरा गान्धीले भारतमा संकटकाल लगाएकी थिइन्। त्यतिबेला रुसी फौज ‘कन्सोलिडेटेट’ भैरहेको थियो। त्यो बेला रुसी कम्युनिष्ट पार्टीका नेताहरु भारत आएका थिए। हृषिकेश शाह र मैले मिलेर त्यहाँ पेश गरिने स्टेटमेन्ट ड्राफ्ट गरेका थियौँ। यो २०२८ सालतिरको कुरा हो।

भारतमा इन्दिरा गान्धी सत्तामा थिइन्। नेपालमा पञ्चायत विरुद्ध सशस्त्र संघर्ष सुरु भयो। बंगलादेशमा पनि मुक्ति आन्दोलन भइरहेको थियो। बीपीले सशस्त्र संघर्ष घोषणा गरेपछि हामीले त्यसका लागि हतियार जम्मा गर्न थाल्यौँ।

सशस्त्र संघर्षका लागि हतियार कसरी जम्मा भयो, भोला चटर्जीसँगको कुराकानीमा बीपीले त्यसलाई तत्काल सार्वजनिक नगर्न अनुरोध गरेका छन्। र, बीपी कोइरालाः एक क्रान्तिकारी व्यक्तित्व पुस्तकमा चटर्जीले पनि हतियारका स्रोत सम्बन्धी प्रसङ्गलाई खालि नै राखिदिएका छन्। कांग्रेसले सशस्त्र संघर्षका लागि जम्मा गरिएका हतियार कोबाट कसरी लिएको थियो भन्ने कुरा अहिलेसम्म आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन।

तर, त्यसदिन बाँस्तोलाले यस सम्बन्धमा यसरी खुलेर कुरा गरेः

खासमा कांग्रेसको हातमा आइपुगेका ती हतियार पाकिस्तानी सेनाका थिए, जुन भारतीय सेनाले कब्जा गरेको थियो। जब स्वतन्त्रता संग्राममा दमनका लागि पाकिस्तानी सेनाले पूर्वी पाकिस्तान (बंगलादेश) मा आक्रमण सुरु गर्‍यो, बंगलादेशीको पक्ष लिएर पाकिस्तानी सेनाविरुद्ध भारतीय सेनालेपनि मोर्चा खोल्यो।

ठूलो आकारको युद्ध सुरु भएपछि एउटा पक्षको हतियार अर्को पक्षको हातमा पुग्छ। कैयौँ हतियार हराउँछन्। युद्ध मैदानमा हारजीतमा ध्यान दिइन्छ, हतियारको गणनामा होइन। युद्धमोर्चामा हतियारको लेखाजोखा रहन्न।

जब बंगलादेश स्वतन्त्रका लागि सुरु भएको संघर्ष भारत–पाकिस्तान युद्धमा परिणत भयो, लडाईंमा सुरुदेखि नै भारतीय सेनाले बढत हासिल गर्‍यो। ठूलो संख्यामा पाकिस्तानी हातहतियार भारतीय सैनिकले हात पारे।

बाँस्तोलाको भनाईमा, पञ्चायतकालमा बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र संघर्षका लागि कांग्रेसले जम्मा गरेको हतियारको सबैभन्दा ठूलो स्रोत पाकिस्तानी सेनाका हतियार थिए। उनले भनेका थिएः

भारतीय सेनाले पाकिस्तानी सेनाको ठूलो परिणाममा हतियार लिएर आयो। ती हतियारहरु भारतीय सेनाको क्यान्टोनमेन्टमा रहे। लडाइँमा कब्जा गरेर ल्याएको भएकाले ती हतियारको हिसाव किताव गरिएन।

सबै सैनिकहरु असल नियतका हुँदैनन्। कतिपय सैनिकहरु बदमास र फटाहा स्वभावका हुन्छन्। त्यस्ता सैनिक अफिसरहरुले पाकिस्तानी सेनाबाट कब्जा गरिएका हतियार लुकाएर बेच्ने गर्थे, तिनै हतियार हामी किन्ने गर्थ्यौं।

हामीले पूर्वी पाकिस्तान (बंगलादेश) बाट ल्याएका हतियार भारतीय सेनाबाट किनेका थियौं। भारतीय सेनाले पाकिस्तानी सेनाबाट कब्जा गरेर हामीलाई बेचेका थिए, ती हतियार।

जहाँ दंगाफसाद भएको हुन्छ, त्यहीँ जाने हो हतियार खोज्न। पाकिस्तानतिर, बलुचिस्तानतिर, अफगानिस्तानतिर हो, हतियार पाउने। हामीकहाँ आउने हतियार भनेको त्यतातिरको हतियार हो।

हतियारको अर्को सेन्टर छ, मुगेर। त्यहाँ हतियारको फ्याक्ट्री छ। त्यहाँ चोरहरुले आफै हतियार बनाउँछन्। हामीले त्यहाँबाट पनि हतियार ‘कलेक्ट’ गरिरहेको अवस्था थियो।

बंगलादेशका स्वतन्त्रता सेनानीहरुलाई प्रारम्भमा भारतको सहयोग आइसकेको थिएन। जयप्रकाश नारायणलाई बंगलादेशीहरुले ‘केही सहयोग हुन्छ भने गर न’ भनेका रहेछन्। जयप्रकाश नारायणलाई नेपाली कांग्रेससँग हतियार छ भन्ने थाहा थियो। उनले बीपी कोइरालासँग कुरा गरेछन्। त्यसपछि बीपीले ‘ए चक्र के छ, जयप्रकाश नारायण यसो भन्दैछन् नि’ भने।

हतियारका लागि जुन मान्छेसँग मेरो सम्पर्क थियो, बीपीले सोधे– त्यो मान्छेलाई अहिले भेट्न सक्छौ?

मैले भनेँ, ‘धेरै भयो, त्यो मान्छेलाई मैले भेटेको छैन।’

बंगलादेशी स्वतन्त्रता सेनानीहरुपनि पाकिस्तानसँग सशस्त्र संघर्ष गर्न चाहन्थे। त्यसका लागि उनीहरुलाई बन्दुक नै चाहिने भयो। भारतले त्यहाँ सेना त पठाएको थियो, तर हतियार चाहिँ दिएको थिएन।

मैले बीपीसँग भनेँ, ‘हामीसँग जे जति हतियार छन्, ती हतियार तत्काल चलाउने होइन होला। त्यसैले, बंगलादेशीहरुलाई हतियार दिऊँ, उनीहरुको काम चलिसकेपछि फेरि हामी मागौँला।’

कांग्रेसले सशस्त्र संघर्ष सुरु गरेपनि त्यो ‘हिट एण्ड रन’ कै स्थितिमा रहेको र मोर्चावद्ध युद्धमा पुगिनसकेकाले संकलन गरिएका हतियार तत्कालका लागि बंगलादेशका स्वतन्त्रता सेनानीहरुलाई दिने प्रस्ताव आफुले बीपीसँग राखेको बाँस्तोलाले बताएका थिए।

बाँस्तोलाको प्रस्तावमा बीपी सहमत भए। बंगलादेशी स्वतन्त्रता सेनानीहरुलाई हतियार हस्तान्तरण गर्ने जिम्मा बाँस्तोलाले नै पाए। बाँस्तोलाका साथ हतियार पुर्‍याउन सुशील कोइराला, सुधीर उपाध्याय र कर्णेल डीबी राई बंगलादेश पुगे।

बाँस्तोलाका अनुसार, लगिएका एक ट्रक हतियार हस्तान्तरणका लागि भारतीय नम्बर प्लेटको गाडी चढेर उनीहरुले मध्यराती बंगलादेश (पूर्वी पाकिस्तान) को सीमामा प्रवेश गरेका थिए। जहाँसम्म हतियार लिन बंगलादेशीहरुको गाडी आएको थियो।

बाँस्तोलाले भन्दै गएः
हतियार बुझ्न आएका बंगलादेशीहरुले राति हामीलाई एउटा सुगरमिलको गेष्ट हाउसमा राखे। त्यहाँको इन्चार्ज चटर्जी भन्ने थियो, उ आयो। उसले सोध्यो, ‘तिमीहरुको कार्यक्रम के छ?’

हामीले ‘जहाँ लडाइँ भएको छ, त्यहाँ फ्रन्टमा लैजाऊ’ भन्यौँ। ‘ल लैजान्छौँ’ भनेर गाडीमा हालेर लगे। हामीहरु दिनभरि फ्रन्टमा बस्यौँ। ठ्याक्कै लडाइँ भएकै ठाउँमा गएका थिएनौं, युद्धमोर्चा भन्दा केही पछाडि थियौँ हामी।

त्यसैबेला चटर्जीले मलाई भने, ‘आइ एम सरी जेन्टलमेन। अब तपाईंहरु यहाँबाट हट्नुपर्छ। यो भन्दा बढी समय हामीले तपाईंहरुलाई यहाँ राख्न सक्दैनौँ। किनभने पाकिस्तानी सेना नजिकैबाट अगाडि बढिरहेको छ।’

उनीहरुले हामीलाई हतार हतार त्यहाँबाट हटाए। हामी भारतीय बोर्डर क्रस गरिसकेपछि अलइन्डिया रेडियोबाट सुन्यौँ, केहीबेरमै त्यो ठाउँ पाकिस्तानी सेनाले कब्जा गरेछ।

हतियार हस्तान्तरणका लागि उनीहरु जतिबेला त्यहाँ पुगेका थिए, त्यस क्षेत्रमा पाकिस्तानी फौज बलियो स्थितिमा थियो।

‘पाकिस्तानी हामी भएकै इलाकातिर आइरहेको रहेछ’ बाँस्तोलाले भनेका थिए, ‘पाकिस्तानी सेनासँग ट्याङ्क लगायतका आधुनिक हतियार थिए, बंगलादेशी स्वतन्त्रता सेनानीहरुसँग त्यस्ता हतियार थिएनन्। राइफलका लागि पर्याप्त गोलीपनि थिएन र बारुद पनि थिएन।’

बीपीले भोला चटर्जीसँगको कुराकानीमा भनेका छन्, ‘हामीले कर्णेल डिबी राई, चक्र बाँस्तोलालाई बंगलादेशी स्वतन्त्रता सेनानीहरुलाई तालिमका लागि पठायौँ। तर, बंगलादेशी स्वतन्त्रता सेनानीहरुको यस्तो हालत थियो कि, उनीहरुसँग पुल तोड्ने सानो बमपनि थिएन।’

‘बीपी कोइरालाः एक क्रान्तिकारी व्यक्तित्व’ मा उल्लेखित यो पंक्ति जब मैले बाँस्तोलालाई स्मरण गराएँ।

उनले थपे, ‘मैले नै भनेको हो यो कुरा बीपीलाई। के भयो भने, एउटा पुल थियो, हामी पुलको यतापट्टि थियौँ। उतापट्टि पाकिस्तानी फौज थियो। म त त्यतिबेला नेपाली कांग्रेसको गुरिल्ला। मैले भनेँ– यो पुल तोड्नुपर्‍यो नि। यसका लागि के छ साधन तिमीहरुसँग।

तर, पुल तोड्नका लागि उनीहरुसँग केहीपनि थिएन। त्यही पुलबाट ट्याङ्क लिएर आएका थिए पाकिस्तानीहरु।

मैले सोधेँ- त्यो ठाउँ कहाँ हो, याद छ तपाईंलाई? 
बाँस्तोलाको जवाफ थियो, ‘याद छ, ठाकुर गाउँ हो, त्यो ठाउँ। बंगलादेशको स्वतन्त्रता संग्राममा हामीले गरेको सहयोगबारे बंगलादेशीहरुले ‘रेकर्ड’ राख्न थालेका छन्। उनीहरुको स्वतन्त्रता संग्राममा हामीले गरेको सहयोगको विषयले भर्खर प्रवेश पाएको छ। अहिले बंगलादेशीहरु मलाई तिमी हाम्रो ‘फ्रिडम फाइटर हौ भन्छन्।

बंगलादेशका स्वतन्त्रता संग्रामीहरुका लागि नेपाली कांग्रेसका तर्फबाट जे जति हतियार प्रदान गरिएको थियो, ती हतियार पटना, बनारस लगायतका स्थानमा लुकाएर राखिएका थिए। र, ती सबैलाई एकठ्ठा गर्ने काम बाँस्तोलाले नै गरेका थिए। हतियार बंगलादेश (पूर्वी पाकिस्तान) सम्म पुर्‍याउनपनि बाँस्तोलाकै नेतृत्वदायी भूमिका रह्यो।

मैले जतिबेला बाँस्तोलासँग कुराकानी गरेको थिएँ, त्यसबेला नेपालमा शान्ति प्रक्रिया चल्दै थियो। एमाले नेता माधव नेपालको नेतृत्वमा रहेको एमाले–कांग्रेसको सरकार जतिसक्दो चाँडो क्यान्टोनमेन्टमा रहेका हतियार सरकारको नियन्त्रणमा ल्याउन चाहन्थ्यो, माओवादी चाहिँ आनाकानी गरिरहेको थियो।

क्यान्टोनमेन्टमा रहेका हतियार जतिसक्दो छिटो बुझाउन कांग्रेस–एमालेले ताकेता गर्दा माओवादी नेताहरू प्रतिप्रश्न गर्थे, ‘हाम्रो हतियारमात्र बुझाउनु पर्ने? सशस्त्र संघर्ष तपाईंहरुले पनि गर्नुभएको होइन? त्यसक्रममा तपाईंहरुले पनि हतियार संकलन गर्नुभएको होइन? हतियार हामीलेमात्र बुझाउनुपर्ने, तपाईंहरुले चाहिँ आफूसँग भएका हतियार बुझाउनु पर्दैन?’

शान्ति प्रक्रियाको जगको रुपमा रहेको माओवादी र संसदवादी ७ दलबीचको ‘१२ बुँदे सहमति’ को एक सूत्रधार बाँस्तोलापनि थिए, भलै उनलाई पछि शान्तिवार्ताबाट किनारा लगाइएको होस्। सरकार–माओवादी वार्तामा उठ्ने हतियारबारेको सवालजवाफ स्मरण गर्दै बाँस्तोलाले त्यसदिन मसँग भनेका थिए, ‘तिमीहरुले त्यो बेलाको हतियार के गर्‍यौ नि भनेर सोध्छन् आजकल। हामीले ती हतियार केही गरेका होइनौँ, बंगलादेशका स्वतन्त्रता संग्रामीहरुलाई दिएका हौँ।’

***
बाँस्तोलासँगको औपचारिक कुराकानी सकिइसकेको थियो। हाम्रो टेबुलमा चिया आइपुगेको थियो। चिया पिउँदै बाँस्तोला तरुण पत्रिकाको बण्डल खोल्न थाले। पल्टाउँदै–पल्टाउँदै गए। झण्डै आधा भाग पल्टाइसकेपछि उनी रोकिए। र, त्यसलाई मेरो अगाडि राखे।

मैले देखेँ, तरुण पत्रिकाको बुलेटिन नं ३, अप्रिल १९७१ अंकमा पुगेर उनी रोकिएका रहेछन्। उतिबेला पत्रिकाको सम्पादक रहिछन्, शैलजा आचार्य।

तरुणको त्यो अंकको पृष्ठभागमा बंगलादेशको स्वतन्त्रता संग्राम सम्बन्धी दुई सामाग्रीको हेडलाइन थियो। एउटा, बंगलादेशमा मुक्ति आन्दोलन शीर्षकमा थियो। लेखकको नाम हुने ठाउँमा ‘हाम्रो साथीको रिपोर्ट’ मात्र उल्लेख थियो।

अर्को, ‘ए अहमदको चिठीः ढाकाबाट’ भन्ने शीर्षकमा थियो।

‘खासमा यी दुबै सामाग्री मैले तयार पारेको हुँ, बंगलादेशमा मुक्ति आन्दोलन शीर्षकको लेखमा हामीले मुक्ति संग्रामीहरुलाई कसरी हतियार हस्तान्तरण गर्‍यौँ भन्ने फिल्ड रिपोर्ट छ’, बाँस्तोलाले भने, ‘वास्तविक नाम राख्दा अप्ठेरो पथ्र्यो, त्यसैले ‘हाम्रा साथीको रिपोर्ट’ भन्नेमात्र राखियो। ‘ए अहमदको चिठीः ढाकाबाट’ भन्नेपनि मैले आफै तयार पारेको हुँ।’

बाँस्तोलासँग मेरो कुराकानी गर्ने योजना थियो– बोआओ सम्मेलनमा राजा वीरेन्द्रको सहभागिता र दरवार हत्याकाण्ड, बंगलादेशको स्वतन्त्रता संग्राम र त्यसमा नेपाली कांग्रेसको योगदान।

उनीसँग भएका यी दुई विषयका कुराकानीलाई म कुनै प्राज्ञिक काममा प्रयोग गर्नेछु भन्ने मेरो योजना थियो। मैले सोचेकै थिइनँ, बाँस्तोलासँगको कुराकानी यसरी प्रस्तुत गर्नु पर्नेछ भनेर।

जब ६ बर्षअघि चक्र दाई अचेत भए, मलाई लागेको थियो– उनी ठिक हुनेछन् र ठिक भएपछि फेरि पहिलेजस्तै पुराना संघर्ष गाथाहरुको स्मरण सुनाउने छन्। तर ६ बर्षको अर्धचेत अवस्थाको अन्त्य गर्दै २७ असोज २०७५ मा उनले कहिल्यै नफर्कने बाटो तय गरे।

उनी भारतका लागि राजदूत भए। प्रतिनिधि सभाको सदस्य भए र पटक–पटक मन्त्री बने। तर, मेरो दृष्टिमा उनी पूर्व सांसद, पूर्व राजदूत वा पूर्वमन्त्री होइन, सधैं एउटा स्वतन्त्रता र शान्ति संग्रामी रहे।

यस्तो स्वतन्त्रता संग्रामी, जसको योगदान नेपाली नागरिकलाई तानाशाही शासनबाट मुक्त गर्नमा रह्यो र बंगलादेशको स्वतन्त्रता संग्रामसम्म त्यो विस्तार भयो। र, यस्तो शान्ति संग्रामी, जसले वार्ता मार्फत सशस्त्र संघर्षरत माओवादीलाई अहिलेको राजनीतिक प्रक्रियामा समावेश गराउन कुनै कालखण्डमा निर्णायक भूमिका खेले।

प्रकाशित ६ कार्तिक २०७५, मंगलबार | 2018-10-23 15:33:28
Max TV
Max TV
Vianet

author photo

सीताराम बराल नेपालखबर सम्पादक हुन्

@sitarambaral

सीताराम बरालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...