पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

ककपिट सेयर गर्दै उडान गर्ने सुरज-माेनिकाको सपना


Infocus



पाइलट जाेडी माेनिका र सुरज
पाइलट जाेडी माेनिका र सुरज

नेपालको उड्डयन क्षेत्र बृहत् छैन। यहाँ पाइलट जोडी हुनु एउटा दुर्लभ विषय हो। मोनिका र सुरजकाे जाेडी त्यस्तै दुर्लभमध्ये एक हो जो पति–पत्नी कम र साथी बढी लाग्छन्।

दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका लागि दशैँ सबैभन्दा बढी काम गर्नुपर्ने समय हो।

हुन पनि चाडवाडमा हवाई यात्रुको चाप बढ्छ। यही कारण दशैँ तिहारमा पाइलटले बिदा पाउँदैनन्। दम्पत्ति नै पाइलट भएकालाई त झन् दशैँमा समय व्यवस्थापन गर्न कठिन पर्छ।

यति एयरलाइन्सकी मोनिका प्रजापति र हिमालय एयरलाइन्सका सुरज भण्डारी यस्तै एउटा पाइलट जोडी हो। विवाह गरेको तीन वर्ष पूरा हुँदा दशैँबारे यो जोडीले आफ्नै किसिमको अनुभव बटुलेको छ।

‘लामो विदा लिएर दशैँ मनाउने रहर त हुन्छ तर पाइलट पेशाले त्यो इच्छालाई सधैँ छेकबार गरिदिन्छ’, सात वर्षको उडान अनुभव भएका सुरज भन्छन्, ‘दशैँमा लामो विदा पाउने सम्भावना कमै हुन्छ, विदा नै हुँदैन भने पनि हुन्छ।’

सुरज अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सका पाइलट हुन्। ‘विदा लिएर श्रीमती अघि लाएर ससुराली जाने रहर एउटा कुरा हो। छोटो समयका लागि श्रीमान्–श्रीमती सँगै निस्किन समेत धेरै पक्ष मिलाउनु पर्छ’, उनी भन्छन्।

‘दुवै जनाको उडान तालिका बाहेकको समय मिलाएर मात्र आफन्त भेट्न जान सकिन्छ’, मोनिका सुरजको कुरामा सही थप्छिन्।

दुवै जनाको उडान तालिका नमिल्दा सुरज र मोनिकाको भेट हुन नै गाह्रो हुन्छ।

दशैँमा विदा नमिल्ने भएपछि यो जोडीले यस पटक फरक रणनीति बनाएको छ। दशैँमा काम गर्ने र दशैँपछि घुम्न निस्किने।

‘दशैँपछि एक हप्ताका लागि घान्द्रुकसहितका स्थानमा घुम्न जान्छौं होला’, मोनिका सुनाउँछिन्।

‘सानी छँदा दशैँमा महिना दिनसम्म स्कूल विदा हुन्थ्यो। घुम्न, आफन्तसँग भेटघाट गर्न प्रशसस्त समय हुथ्यो,’ उनी सुनाउँछिन्, ‘अहिले जिम्मेवारी बढ्यो, दशैँ एउटा औपचारिकतामा सीमित हुन पुगेको छ।’

तालिममा मन साटासाटा
नेपालको उड्डयन क्षेत्र बृहत् छैन। यहाँ पाइलट जोडी हुनु एउटा दुर्लभ विषय हो। मोनिका र सुरज त्यस्तै दुर्लभ जोडी हुन् जो पति–पत्नी कम र साथी बढी लाग्छन्।

त्यतिबेला दुवै यती एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ ट्रेनिङमा थिए। लगत्तै सिमुलेटरमा तालिम लिन जाँदा पनि उनीहरु सँगै भए। एउटा भनाइ छ– विश्वविद्यालयमा पढाई मात्रै हुँदैन त्योभन्दा बाहेक अरु धेरै कुरा हुन्छन्।

त्यो तालिममा पनि व्यवसायिक तालिम मात्र भएन। आकर्षित हुनु एउटा पक्ष हो तर त्यहाँ उनीहरुले एकअर्कालाई बुझ्ने अवसर पाए। यो सन् २०११ को कुरा हो।

सुरजलाई भेटेर मन पराइसकेपछि मोनिकाले त्यो कुरा बुबालाई सुनाइन्। ‘आफ्नो जिन्दगी उहीसँग बिताउन चाहन्छौ भने हामीलाई केही फरक पर्दैन भन्नुभयो’, मोनिका सम्झिन्छन्।

सुरज र मोनिकाको भेट भएको ४ वर्षपछि मात्र उनीहरु विवाहका लागि तयार भए।

दुवै आ–आफ्नो करिअरप्रति गम्भीर थिए। आफूलाई व्यवसायिक रुपमा स्थापित गरेपछि मात्र विवाह गर्ने सोच दुवैले बनाए।

त्यतिबेला के हुन्थ्यो नि? ‘सुरजसँग राती टेलिफोनमा ४–५ घण्टा जति कुरा हुन्थ्यो’, मोनिका सुनाउँछिन्, ‘त्यो एउटा उच्च इमोसनको समय थियो।’

पुराना दिनका कुरा गर्दा सुरज न्युरोडको एउटा घटना सम्झेर अझै रोमाञ्चित हुन्छन्। त्यो दिन मोनिका सुरजको हात समातेर न्युरोडमा हिँडिरहेकी थिइन्। त्यति नै बेला अचानक मोनिकाका एक आफन्त त्यहीँ भेटिए।

‘मोनिकाले चोर समातिए झैँ मेरो हात छोडिन्’, सुरज भन्छन्।

प्रेम सम्बन्ध झांगिँदै जाँदा सम्बन्धलाई संस्थागत गर्ने सोचमा दुवै पुगे। एक दिन दुवैतिरका परिवार सदस्यबीच विवाहको कुरा छिन्न रेष्टुरेन्टमा भेटघाट कार्यक्रम तय गरियो। दुवैतिरका परिवार सदस्य जम्मा भए। तर त्यहाँ धेरै बेरसम्म विवाहको कुराले प्रवेशै पाएन। मोनिकाले सुरजलाई केही भन्न इसारा गरिन्। सुरज जुरुक्क उठेर अलि ठूलो श्वरमा बोले।

‘तपाईंहरु हाम्रो बिहेको कुरा सुरु नगर्ने भए म आफैँ भन्छु’, सुरजले सबै माझ भने, ‘हामी एकअर्कालाई मन पराउँछौ। अब बिहे गर्न चाहन्छौँ। तपाईंहरुको विचार के छ?’

सुरजको कुरा सुनेर सबै शान्त देखिए। त्यो सन् २०१४ को कुरा थियो। मोनिकाको हजुरबा बितेकाले त्यो वर्ष विवाह हुन त सकेन। सन् २०१५ मा उनीहरु आफ्नो सपना पूरा गर्दै जग्गेमा बसे।

उडानले तय गर्छ श्रीमान्–श्रीमती भेट
कुनै बेला घण्टौं फोनमा कुरा गर्ने मोनिका र सुरज विवाहपछि परिवार र करिअर केन्द्रित छन्। एउटै पेशामा भएका उनीहरुलाई पारिवारिक जीवन अघि बढाउन खासै गाह्रो छैन। सुरजको घरमा छोरी नभएकाले पनि मोनिकालाई सासुससुराले छोरीलाई जस्तै माया गर्छन्। परिवारमा सबैले स्नेह देखाउँदा जिन्दगी रमाइलो लागेको मोनिकाको अनुभव छ।

दुवै एउटै पेशामा हुँदा केही सहज र केही असहज हुने गरेको उनीहरुको अनुभव छ।

‘सुरज अन्तर्राष्ट्रिय उडान गर्ने भएकाले दुई तीन दिनमा मात्र घर आइपुग्छ, त्यतिबेला केही असहज लाग्छ’, मोनिका भन्छिन्।

आन्तरिक उडान गर्ने भएकाले मोनिका दिनभरि काम गरे पनि साँझ घर फर्किन पाउँछिन्।

मोनिका र सुरज श्रीमान्–श्रीमती कम र साथी बढी लाग्छन्। केही समय कुरा गरिसकेपछि लाग्छ दुवै एक अर्काका लागि आइडियल हुन्। मोनिकाको सकारात्मक सोच र सहयोगी भूमिका सुरजलाई विशेष लाग्छ। सहयोगी, केयरिङ र मिहिनेतपूर्वक काम गर्ने सुरजको बानी मोनिकालाई विशेष लाग्छ।

‘साँच्चै यो उमेरमा ऊजस्तो मिहिनेती मान्छे मैले दोस्रो देखेको छैन, माया, केयरिङ र सपोर्ट सबैमा उस्तै’, मोनिकाले सुरजबारे भनिन्।

सुरजको उडान यात्राः अमेरिका छोडेर नेपाल
सुरजको बुवा गैरसकारी संस्थामा काम गर्थे। कामको सिलसिलामा उनको बुवा विभिन्न जिल्लामा जानुपथ्र्यो। बुवाले कहिले कहीँ सुरजलाई पनि सँगै लान्थे। तीन दशक पहिले २ वर्षीया सुरजले पहिलो पटक बुवासँग सुर्खेत–जुम्ला हवाई यात्रा गरे। उडानको त्यो उनुभवले उनलाई मोहित बनायो।

‘त्यही पहिलो घटना थियो जसले मलाई पाइलट बन्न प्रेरित गर्यो’, उनी सम्झन्छन्।

सानैदेखि पाइलट बन्ने सोच पालेका सुरज २००७ फेब्रुअरीमा पाइलट पढाईका लागि अमेरिका गए। सन् २००८ को अन्त्यमा तालिम सकियो। त्यसपछि फ्लाइट इन्स्ट्रक्टर लाइसेन्स लिन उनी फेरि अमेरिका नै पुगे। अमेरिका गएको १ वर्षमा उनले सिएफआइ (सर्टिफाईड फ्लाइट इन्स्ट्रक्टर) र सिएफआइआई (सर्टिफाईड फ्लाइट इन्स्ट्रक्टर इन्स्ट«ुमेन्ट) को लाइसेन्स लिए। त्यसपछि केही समय अमेरिकामै पढाए।

सन् २०११ को जुलाईमा उनी नेपाल फर्किंदा काठमाडौंमा पाइलट पेशाबारे राम्रो चर्चा थिएन। त्यतिबेला नेपालमा १५० भन्दा बढी पाइलट बेरोजगार थिए। नेपाली सेनाले त्यतिबेलै ४ जना पाइलटको आवश्यकता विज्ञापन निकाल्यो। त्यसमा ८६ जानाले फारम भरेका थिए र, ती मध्ये एक थिए सुरज। उनले पहिलो नम्बरमै नाम निकाले। वर्ष दिन जति आर्मी पाइलट भएका उनले सन् २०१२ मार्चदेखि यती एयरलाइन्समा काम थाले।

सुरजको पहिलो व्यवसायिक उडान यतीबाटै सुरु भएको हो।

‘पहिलो दिन ५ वटा उडान थियो,’ उनले भने, ‘पहिलोे व्यवसायिक उडान गर्न उत्साही भएर घरबाट निस्किएको म ५ वटा उडान गरेर घर फर्किंदा थकित भएको थिएँ।’

उनको पहिलो उडान काठमाडौ– विराटनगरको थियो। आन्तरिक उडान गरिरहँदा उनले जेट विमान उडान गर्ने सपना बुनेका थिए।

‘त्यसैले २०१५ मा जोखिम मोलेर विमान नै नभएको हिमालय एयरलइन्समा जागिरका लागि निवेदन दिएँ’, सुरज भन्छन्, ‘बिहेको भोलिपल्ट म हिमालयमा अन्तर्वार्ता दिन गएको थिएँ, उनीहरुले मलाई छाने।’

ठूलो विमान उडाउन पाउने सपनाले रोमाञ्चित बनाइरहेका थिए उनी।

‘पौडी खेल्न नजान्ने मान्छे समुद्रमा हाम्फालेजस्तो भयो’, आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडान जुन दोहाको लागि थियो, सम्झँदै उनी सुनाउँछन्। सुरज भण्डारी हिमालय एयरलाइन्सका जुनियर फस्ट अफिसर हुन्।

मेनिकाः बुवाको सपना पछ्याउँदै ककपिटमा
बुबाले सधैँ मोनिकालाई छोरी तिमी पाइलट बन्नु पर्छ भनिरहन्थे। उनले पनि बुवाको सपनालाई आफ्नो मानिन्। बाल्यकालमा चक्चके स्वभावकी मोनिका फिलिपिन्सको डबलु सिसीमा सन् २००७ को अन्तमा पाइलट ट्रेनिङ लिन गइन्। नेपाल फर्केको केही महिनामा उनले एयर कास्टमण्डपमा काम सुरु गरिन्।

मोनिकाको पहिलो उडान अक्टोबर २००९ मा सिमकोटका लागि थियो। सुर्खेतबाट लुक्ला, जुम्ला, बाजुरा लगायतका दुर्गम क्षेत्रमा उडान गर्ने उनी त्यहाँको मौसम देखेर छक्क पर्थिन्। विमानस्थलहरु फुटबल ग्राउन्ड जस्ता थिए। अझै पनि त्यस्तै छन्।

५ वर्षको दुर्गम क्षेत्रको उडान अनुभव बटुलेपछि सन् २०१४ मा उनले यती एयरलन्समा काम सुरु गरिन्। मोनिका हाल यती एयरलाइन्समा जुनियर क्याप्टेन हुन्। मोनिकाले उडान गर्दा सुरजले धेरै पटक यात्रु भएर यात्रा धेरै गरेका छन्। मोनिका पनि सुरजले उडान गरेको विमानमा यात्रु सिटमा धेरै पटक बसेकी छिन्।

‘यसरी यात्रा गर्दा मज्जा आउँछ’, दुबै भन्छन्, ‘एक अर्काप्रति गर्व लाग्छ।’

सुरज र मोनिकाको अबको योजना के छ त? भन्छन्, ‘सँगसँगै ककपिट सेयर गरेर उडान गर्ने।’

तर एउटै परिवार सदस्यलाई ककपिट सेयर गरेर उडान गर्न सामान्यतः दिइँदैन।

प्रकाशित ३० असोज २०७५, मंगलबार | 2018-10-16 17:47:01
Max TV
Max TV
Zen Travels
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...